आफ्ना विद्यार्थीहरूलाई ‘प्राण दिनुहोस्’
१. बाइबल विद्यार्थीलाई मदत गर्न के चाहिन्छ?
१ बाइबल विद्यार्थीलाई समर्पणको हदसम्म पुऱ्याउन नियमित रूपमा बाइबल अध्ययन गर्नु मात्र पर्याप्त छैन। आफूले सिकाएकाहरूसितको सम्बन्धलाई प्रेरित पावलले स्नेहपूर्वक छोराछोरीको पोषण गर्ने आमासित तुलना गरे। हाम्रा विद्यार्थीहरूलाई आध्यात्मिक रूपमा हुर्कन मदत गर्न हामी पनि आफ्नो “प्राण” दिन खुसी हुन्छौं।—१ थिस्स. २:७-९.
२. हामीले किन व्यक्तिगत चासो देखाउनुपर्छ र यो कसरी गर्न सकिन्छ?
२ व्यक्तिगत चासो लिनुहोस्: बाइबल विद्यार्थीले सिकेको कुरा लागू गर्न थालेपछि तिनको अन्तस्करणले बाइबल सिद्धान्तहरूअनुरूप नचल्ने मानिसहरूसित धेरै उठबस नगर्न घच्घच्याउनेछ। (१ पत्रु. ४:४) परिवारले तिनलाई त्याग्न सक्छ। (मत्ती १०:३४-३६) व्यक्तिगत तवरमा मायालु चासो देखाएर तिनले भावनात्मक रूपमा महसुस गर्ने शून्यता हटाउन मदत गर्न सक्छौं। एक अनुभवी मिसनरी यस्तो सुझाव दिन्छन्: “अध्ययन सकिनेबित्तिकै जुरुक्क उठेर गई नहाल्नुहोस्। उपयुक्त छ भने, केही बेर कुरा गर्नुहोस्।” विद्यार्थीलाई व्यावहारिक मदत दिन सजग हुनुहोस्। उदाहरणको लागि, तिनी बिरामी पर्दा के तपाईं टेलिफोन गर्न वा भेट्न जान सक्नुहुन्छ? उपयुक्त छ भने के तपाईं सभाहरूमा आफ्नो विद्यार्थीसँगै बस्न र छोराछोरीलाई मदत गर्न सक्नुहुन्छ?
३. हामी आफ्नो विद्यार्थीलाई मण्डलीबाट प्रोत्साहन पाउन कसरी मदत दिन सक्छौं?
३ मण्डलीबाट मदत: यदि तपाईं विद्यार्थीको घर नजिकैको इलाकामा प्रचार गर्दै हुनुहुन्छ भने आफूसितै गएको साथीलाई चिनाउन एकैछिन तिनको घरमा पसे कसो होला? उपयुक्त हुँदा, समय-समयमा प्राचीनहरूलगायत भिन्नाभिन्नै प्रकाशकलाई अध्ययनमा लानुहोस्। साथै, अध्ययन सुरु भएलगत्तै बाइबल विद्यार्थीलाई राज्यभवनका सभाहरूमा उपस्थित हुन प्रोत्साहन दिनुहोस्। यसले तिनलाई मण्डलीका भाइबहिनीहरूसित उत्थानदायी संगतिको आनन्द उठाउन मदत गर्नेछ जो पछि गएर तिनको आध्यात्मिक परिवार हुन सक्छन्।—मर्कू. १०:२९, ३०; हिब्रू १०:२४, २५.
४. लगनशील प्रयास गर्दा कस्तो इनाम पाउन सकिन्छ?
४ छोराछोरीलाई आध्यात्मिक मदत गर्न अथक प्रयास गरेका आमाबाबु, आफ्ना छोराछोरी यहोवाको पक्षमा खडा भएको र सत्यमा चलेको देख्दा दङ्ग पर्छन्। (३ यूह. ४) बाइबल विद्यार्थीहरूलाई मदत गर्न आफ्नो प्राण दिंदा हामीले पनि यस्तै आनन्द अनुभव गर्न सक्छौं।