प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 मार्च पृ. १-३२
  • एकअर्कालाई प्रगाढ प्रेम गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एकअर्कालाई प्रगाढ प्रेम गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • शान्ति कायम गर्नुहोस्‌
  • पक्षपाती नहुनुहोस्‌
  • अतिथि-सत्कार गर्नुहोस्‌
  • अतिथि-सत्कार गर्नु—रमाइलो अनि अत्यावश्‍यक!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • यहोवा र अरूप्रतिको प्रेमलाई बढाउँदै लैजानुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • हामी एकअर्काबीचको प्रेमलाई कसरी प्रगाढ बनाउन सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • आफ्नो उन्‍नतिमा रमाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 मार्च पृ. १-३२

अध्ययन लेख १३

एकअर्कालाई प्रगाढ प्रेम गर्नुहोस्‌

“एकअर्कालाई हृदयदेखि प्रगाढ प्रेम गर।”—१ पत्रु. १:२२.

गीत १०९ प्रगाढ प्रेम

परिचयa

येसु आफ्ना वफादार प्रेषितहरूसित कुरा गर्दै हुनुहुन्छ।

आफ्ना चेलाहरूसित बिताउनुभएको अन्तिम रात येसुले तिनीहरूलाई प्रेमको महत्त्वबारे जोड दिनुभयो (अनुच्छेद १-२ हेर्नुहोस्‌)

१. येसुले आफ्ना चेलाहरूलाई कस्तो सुस्पष्ट आज्ञा दिनुभयो? (आवरण पृष्ठको चित्र हेर्नुहोस्‌)

आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात येसुले आफ्ना चेलाहरूलाई एउटा सुस्पष्ट आज्ञा दिनुभयो। उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “मैले तिमीहरूलाई प्रेम गरेजस्तै तिमीहरूले पनि आपसमा प्रेम गर।” त्यसपछि उहाँले भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।”—युह. १३:३४, ३५.

२. एकअर्काप्रति प्रेम देखाइरहनु किन महत्त्वपूर्ण छ?

२ आफूले देखाएको जस्तै प्रेम देखाएमा तिनीहरू उहाँका साँचो चेलाहरू हुन्‌ भनेर सबैले चिन्‍नेछन्‌ भनी येसुले भन्‍नुभयो। त्यो भनाइ प्रथम शताब्दीमा साँचो साबित भयो र अहिले पनि साँचो साबित भइरहेको छ। त्यसैले गाह्रो हुँदा समेत एकअर्कालाई प्रेम गरिरहनु कत्ति महत्त्वपूर्ण छ भनेर हामी बुझ्न सक्छौँ।

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

३ हामी त्रुटिपूर्ण भएकोले एकअर्कालाई प्रगाढ प्रेम गर्न गाह्रो हुन्छ। तैपनि हामीले ख्रिष्टको अनुकरण गर्ने प्रयास गर्नुपर्छ। यस लेखमा प्रेमले कसरी हामीलाई शान्ति कायम गर्न, पक्षपाती नहुन र अतिथि-सत्कार गर्न मदत गर्छ भनेर छलफल गर्नेछौँ। यो लेख अध्ययन गर्दै जाँदा आफूलाई यो प्रश्‍न सोध्नुहोस्‌: ‘गाह्रो हुँदा समेत एकअर्कालाई प्रेम गरिरहेका भाइबहिनीबाट म के सिक्न सक्छु?’

शान्ति कायम गर्नुहोस्‌

४. मत्ति ५:२३, २४ अनुसार हाम्रो विरुद्धमा केही गुनासो हुने भाइसित हामीले किन मिलाप गर्नुपर्छ?

४ हाम्रो विरुद्धमा कुनै भाइसित केही गुनासो छ भने तिनीसित मिलाप गर्नुको महत्त्वबारे येसुले सिकाउनुभयो। (मत्ति ५:२३, २४ पढ्‌नुहोस्‌) परमेश्‍वरलाई खुसी बनाउन चाहन्छौँ भने अरूसित राम्रो सम्बन्ध कायम गर्नुपर्छ भनेर येसुले जोड दिनुभयो। आफ्ना भाइबहिनीसित मिलाप गर्न सक्दो प्रयास गर्दा यहोवा खुसी हुनुहुन्छ। हामी मनमा द्वेष पालिराख्छौँ र अरूसित मिलाप गर्न प्रयाससमेत गर्न चाहँदैनौँ भने उहाँले हाम्रो उपासना स्विकार्नुहुनेछैन।—१ युह. ४:२०.

५. एक जना भाइलाई मिलाप गर्न किन गाह्रो भयो?

५ हामीलाई कहिलेकाहीँ मिलाप गर्न गाह्रो लाग्न सक्छ। किन? मार्कको अनुभव विचार गर्नुहोस्‌।b अर्को भाइले तिनको आलोचना गर्दा र मण्डलीका अरू भाइबहिनीलाई तिनको विषयमा कुरा काट्‌दै हिँड्‌दा मार्कको चित्त दुख्यो। मार्कले के गरे? तिनी भन्छन्‌, “मैले आफ्नो भावनालाई काबूमा राख्न सकिनँ र उनीसित रिसाएँ।” पछि मार्क आफ्नो व्यवहार देखेर पछुताए अनि ती भाइसित क्षमा माग्न र मिलाप गर्न प्रयास गरे। तर ती भाइले मिलाप गर्न चाहेनन्‌। सुरुमा मार्कलाई यस्तो लाग्यो, ‘उनी मिलाप गर्न चाहँदैनन्‌ भने मैले किन बेकारमा प्रयास गरिरहने?’ तर क्षेत्रीय निरीक्षकले मार्कलाई मिलाप गर्ने प्रयास गरिरहन प्रोत्साहन दिए। मार्कले के गरे?

६. (क) मार्कले मिलाप गर्न कसरी प्रयास गरिरहे? (ख) मार्कले कलस्सी ३:१३, १४ को सल्लाह कसरी लागू गरे?

६ मार्कले आफ्नो सोचाइलाई केलाएर हेर्दा आफू नम्र नभएको र आत्म-धर्मी हुने झुकाव भएको याद गरे। तिनले आफ्नो मनोभाव परिवर्तन गर्नुपर्ने खाँचो महसुस गरे। (कल. ३:८, ९, १२) तिनी ती भाइलाई फेरि भेट्‌न गए र आफ्नो व्यवहारको लागि नम्र भई क्षमा मागे। मार्कले ती भाइलाई पत्रहरू लेखे; त्यसमा तिनले क्षमा माग्नुका साथै फेरि मित्रता गाँस्न चाहेको कुरा उल्लेख गरे। मार्कले ती भाइलाई मनपर्ने उपहारहरू पनि दिए। दुःखको कुरा, ती भाइले रिस पालिराखे। तैपनि मार्कले एकअर्कालाई प्रेम गर्नू र क्षमा दिनू भन्‍ने येसुको आज्ञा पालन गरिरहे। (कलस्सी ३:१३, १४ पढ्‌नुहोस्‌) येसुले जस्तै अरूलाई प्रेम गर्छौँ भने हामीले मिलाप गर्न प्रयास गर्दा अरूले मिलाप गर्न नचाहे पनि तिनीहरूलाई क्षमा दिइरहन र मिलाप गर्न सकियोस्‌ भनेर प्रार्थना गरिरहन छोड्‌नेछैनौँ।—मत्ति १८:२१, २२; गला. ६:९.

चित्रहरूको सँगालो: एक बहिनी आफूले चित्त दुखाएको साथीलाई प्रेम देखाउन पटक-पटक प्रयास गर्छिन्‌। १. चित्त दुखेको बहिनीले साथीको फोन आउँदा उठाउँदिनन्‌। २. चित्त दुखेको बहिनीले साथीले उपहार दिँदा स्विकार्दिनन्‌। ३. साथीले साँच्चै माया गर्ने कुरामा ढुक्क भएपछि चित्त दुखेको बहिनीले कुरा सुन्छिन्‌।

हाम्रो विरुद्धमा कसैसित गुनासो छ भने तिनीसित मिलाप गर्न विभिन्‍न तरिका अपनाउनुपर्ने हुन सक्छ (अनुच्छेद ७-८ हेर्नुहोस्‌)c

७. (क) येसुले हामीलाई के गर्न आग्रह गर्नुभयो? (ख) एउटी बहिनीले कस्तो गाह्रो अवस्थाको सामना गरिन्‌?

७ अरूले हामीलाई जस्तो व्यवहार गरेको चाहन्छौँ, हामीले पनि त्यस्तै व्यवहार गरिरहन येसुले आग्रह गर्नुभयो। हामीलाई प्रेम गर्नेहरूलाई मात्र हामीले प्रेम गर्नु हुँदैन भनेर पनि उहाँले बताउनुभयो। (लुका ६:३१-३३) मानौँ, मण्डलीको कसैले तपाईँलाई पन्छाउन खोज्छ र तपाईँलाई अभिवादन गर्दैन भने तपाईँ के गर्नुहुन्छ? हुनत यस्तो घटना विरलै होला तर लाराले यस्तै अनुभव गरिन्‌। उनी भन्छिन्‌: “एउटी बहिनीले मलाई देखे पनि नदेखेझैँ गर्नुभयो। उहाँले किन त्यसो गर्नुभयो भनेर मैले बुझ्नै सकिनँ। मलाई असाध्यै नमीठो लाग्यो र सभामा जानै मन लागेन।” सुरुमा त लाराले यस्तो तर्क गरिन्‌: ‘यसमा मेरो कुनै दोष छैन। आखिर, मैले मात्र नभई मण्डलीका अरूले पनि त्यो बहिनीको अनौठो व्यवहार याद गरेका छन्‌।’

८. लाराले मिलाप गर्न के गरिन्‌? उनको अनुभवबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

८ लाराले मिलाप गर्न कदम चालिन्‌। उनले यहोवालाई प्रार्थना गरिन्‌ र ती बहिनीसित कुरा गर्ने निधो गरिन्‌। उनीहरूले समस्याबारे कुरा गरे, एकअर्कालाई अङ्‌कमाल गरे अनि मिलाप गरे। सबै कुरा मिलेको जस्तो देखिन्थ्यो। लारा भन्छिन्‌: “तर पछि ती बहिनीले फेरि पहिलाको जस्तै मनोवृत्ति देखाइन्‌। म असाध्यै खिन्‍न भएँ।” ती बहिनीले आफ्नो मनोभाव परिवर्तन गरेमा मात्र आफू खुसी हुन सक्छु जस्तो लारालाई सुरुमा लागेको थियो। तर पछि लाराले ती बहिनीलाई माया गरिरहनु र “खुला मनले क्षमा” गरिरहनु नै सबैभन्दा बेस हो भनेर बुझिन्‌। (एफि. ४:३२–५:२) साँचो ख्रिष्टियन प्रेमले “खराबीको हिसाब राख्दैन। यसले सबै कुरा खप्छ, सबै कुरा पत्यार गर्छ, सबै कुराको आशा गर्छ र सबै कुरा सहन्छ” भनेर लाराले सम्झिन्‌। (१ कोरि. १३:५, ७) त्यसपछि उनले फेरि मनोशान्ति पाउन सकिन्‌। समय बित्दै जाँदा ती बहिनी मित्रैलो भइन्‌। भाइबहिनीसित मिलाप गर्न प्रयास गर्दा र उनीहरूलाई प्रेम गरिरहँदा ‘प्रेम र शान्तिका परमेश्‍वर तपाईँसित रहनुहुनेछ’ भन्‍ने कुरामा ढुक्क हुन सक्नुहुन्छ।—२ कोरि. १३:११.

पक्षपाती नहुनुहोस्‌

९. प्रेषित १०:३४, ३५ अनुसार हामी किन पक्षपाती हुनु हुँदैन?

९ यहोवा पक्षपाती हुनुहुन्‍न। (प्रेषित १०:३४, ३५ पढ्‌नुहोस्‌) पक्षपाती भएनौँ भने हामी उहाँका छोराछोरी हौँ भनेर देखाइरहेका हुन्छौँ। हामी छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू भन्‍ने आज्ञा पालन गर्छौँ अनि हाम्रो आध्यात्मिक परिवारको शान्ति कायम गर्छौँ।—रोमी १२:९, १०; याकु. २:८, ९.

१०-११. एउटी बहिनीले आफ्नो नकारात्मक भावना कसरी हटाउन सकिन्‌?

१० कसै-कसैलाई पक्षपाती नहुन गाह्रो लाग्न सक्छ। उदाहरणको लागि, रुथ नाम गरेकी बहिनीको अनुभव विचार गर्नुहोस्‌। किशोरी छँदा अर्कै देशको एक जना स्त्रीले उनको परिवारलाई साह्रै नराम्रो व्यवहार गरेकी थिइन्‌। त्यो घटनाले रुथलाई कस्तो असर गऱ्‍यो? उनी भन्छिन्‌: “त्यस स्त्रीको देशको सबै कुरालाई मैले घृणा गर्न थालेँ। त्यो ठाउँका सबै मानिस अनि हाम्रा ख्रिष्टियन भाइबहिनीसमेत त्यस्तै हुन्छन्‌ जस्तो लाग्थ्यो।” रुथले कसरी त्यस्तो नकारात्मक भावना हटाउन सकिन्‌?

११ रुथले आफ्नो नकारात्मक सोचाइ हटाउन कडा सङ्‌घर्ष गर्नुपर्ने कुरा बुझिन्‌। उनले त्यस देशबारे वार्षिक पुस्तक-मा लेखिएका अनुभव र रिपोर्ट पढिन्‌। उनी भन्छिन्‌: “मैले त्यस देशका मानिसहरूप्रति सकारात्मक दृष्टिकोण राख्न प्रयास गरेँ। त्यहाँका भाइबहिनीहरूको यहोवाप्रतिको जोस याद गर्न थालेँ। उहाँहरू पनि हाम्रो विश्‍वव्यापी भ्रातृत्वको भाग हुनुहुन्छ भनेर मैले स्पष्टसित बुझेँ।” त्यसपछि रुथले प्रेम देखाउन अझ कोसिस गर्नुपर्ने महसुस गरिन्‌। उनी भन्छिन्‌: “त्यस देशका भाइबहिनीलाई भेट्‌दा उहाँहरूसित मित्रैलो व्यवहार गर्न निकै प्रयास गरेँ। उहाँहरूसित कुरा गरेपछि मैले उहाँहरूलाई अझ राम्ररी चिन्‍न सकेँ।” नतिजा कस्तो भयो? रुथ भन्छिन्‌: “समय बित्दै जाँदा मेरो नकारात्मक भावना हराउँदै गयो।”

राज्यभवनमा दुई दम्पती मोबाइल हेरेर हाँसिरहेका छन्‌। पछाडितिर तीन जवान भाइ एकअर्कासित कुराकानी गरेर रमाउँदै छन्‌। एक वृद्ध भाइचाहिँ कसैले आफूलाई कुराकानी गर्न नबोलाएकोमा निराश देखिन्छन्‌।

“सबै भाइहरूलाई” प्रगाढ प्रेम गर्छौँ भने हामी पक्षपाती हुनेछैनौँ (अनुच्छेद १२-१३ हेर्नुहोस्‌)d

१२. सारा नाम गरेकी बहिनीको समस्या के थियो?

१२ कोही-कोही भने चालै नपाई पक्षपाती भइरहेका हुन सक्छन्‌। उदाहरणको लागि, सारालाई आफू पक्षपाती छैनँ जस्तो लाग्थ्यो किनभने उनी मानिसहरूको जात, आर्थिक अवस्था वा सङ्‌गठनमा तिनीहरूले पाएको जिम्मेवारीको आधारमा कसैलाई काखापाखा गर्दिन थिइन्‌। तर उनी यो कुरा मानिलिन्छिन्‌: “म वास्तवमा पक्षपाती रहेछु भन्‍ने कुरा महसुस गर्न थालेँ।” कुन अर्थमा? साराको परिवारका सबैले उच्च शिक्षा हासिल गरेका थिए अनि उनी आफूजस्तै पृष्ठभूमिबाट आएका मानिसहरूसित मात्र सरसङ्‌गत गर्न रुचाउँथिन्‌। एकचोटि उनले आफ्नो साथीलाई यसो भनेकी थिइन्‌: “म उच्च शिक्षा हासिल गरेका भाइबहिनीसित मात्र सङ्‌गत गर्छु, अरूसित गर्दिनँ।” स्पष्ट छ, साराले आफ्नो मनोभाव परिवर्तन गर्नुपर्ने थियो। कसरी?

१३. साराले आफ्नो मनोवृत्ति परिवर्तन गर्न सकेको कुराबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

१३ एक जना क्षेत्रीय निरीक्षकले सारालाई आफ्नो मनोवृत्ति केलाउन मदत गरे। उनी भन्छिन्‌: “मेरो वफादार सेवा, राम्रा टिप्पणीहरू र बाइबलको ज्ञानको उहाँले सराहना गर्नुभयो। हाम्रो ज्ञान जति-जति बढ्‌दै जान्छ, हामीले नम्रता, कृपा र मर्यादामा रहने जस्ता ख्रिष्टियन गुणहरू पनि बढाउँदै लैजानुपर्छ भनेर उहाँले मलाई बुझाउनुभयो।” साराले क्षेत्रीय निरीक्षकको सल्लाह पालन गरिन्‌। उनी भन्छिन्‌: “सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको अरूप्रति दयालु हुनु र अरूलाई माया गर्नु हो भनेर बुझेँ।” त्यसपछि उनले आफ्ना भाइबहिनीलाई फरक दृष्टिकोणले हेर्न थालिन्‌। उनी भन्छिन्‌: “कस्ता गुणले गर्दा ती भाइबहिनी यहोवाको नजरमा मूल्यवान्‌ छन्‌ भनेर मैले बुझ्न कोसिस गरेँ।” हामी नि? आफ्नो शिक्षादीक्षाको आधारमा हामीले कहिल्यै अरूलाई तुच्छ ठान्‍नु हुँदैन। “सबै भाइहरूलाई” प्रगाढ प्रेम गर्छौँ भने हामी पक्षपाती हुनेछैनौँ।—१ पत्रु. २:१७.

अतिथि-सत्कार गर्नुहोस्‌

१४. हिब्रू १३:१६ अनुसार अतिथि-सत्कार गर्दा यहोवा कस्तो महसुस गर्नुहुन्छ?

१४ हामीले अतिथि-सत्कार गर्दा यहोवा असाध्यै खुसी हुनुहुन्छ। (हिब्रू १३:१६ पढ्‌नुहोस्‌) हामीले विशेषगरि खाँचोमा परेकाहरूलाई मदत गर्दा उहाँ त्यसलाई हाम्रो उपासनाको भाग ठान्‍नुहुन्छ। (याकु. १:२७; २:१४-१७) त्यसैले बाइबल हामीलाई “अतिथि-सत्कार गर्ने” बानी बसाल्न प्रोत्साहन दिन्छ। (रोमी १२:१३) अतिथि-सत्कार गर्दा हामीले निष्कपट माया, स्नेह र मित्रता देखाइरहेका हुन्छौँ। हामीले अरूलाई दिँदा यहोवा खुसी हुनुहुन्छ, चाहे त्यो खानेकुरा होस्‌ वा हाम्रो समय र मायालु चासो। (१ पत्रु. ४:८-१०) तर अतिथि-सत्कार गर्न हामीलाई गाह्रो बनाउने अवरोधहरू पनि हुन सक्छन्‌।

एक बहिनी निर्माणकार्यमा चाहिने सरसामान लिएर आएको दम्पतीलाई पाहुना कोठा देखाउँदै छिन्‌।

“पहिला म अतिथि-सत्कार गर्न हिचकिचाउँथेँ तर मैले आफ्नो सोचाइ परिवर्तन गरेँ र अझै आनन्दित हुन सकेँ” (अनुच्छेद १६ हेर्नुहोस्‌)e

१५-१६. (क) कोही-कोही किन अतिथि-सत्कार गर्न हिचकिचाउँछन्‌? (ख) अतिथि-सत्कार गर्न एडिटले कस्तो कदम चालिन्‌?

१५ आफ्नो परिस्थितिले गर्दा हामी अतिथि-सत्कार गर्न हिचकिचाउन सक्छौँ। एडिट नाम गरेकी विधवाको अनुभव विचार गर्नुहोस्‌। उनी साक्षी बन्‍नुअघि अरू मानिससित त्यति सरसङ्‌गत गर्न रुचाउँदिन थिइन्‌। आफूले भन्दा अरूले राम्रो तरिकामा अतिथि-सत्कार गर्न सक्छन्‌ जस्तो उनलाई लाग्थ्यो।

१६ साक्षी बनेपछि एडिटले आफ्नो सोचाइ परिवर्तन गरिन्‌। उनले अतिथि-सत्कार गर्न कदम चालिन्‌। उनी भन्छिन्‌: “हाम्रो नयाँ राज्यभवनको निर्माणकार्यलाई सघाउन एउटा विवाहित दम्पती आउन लागेको कुरा एक जना एल्डरले बताउनुभयो। अनि उहाँहरूलाई मैले दुई हप्ताको लागि आफ्नो घरमा राख्न सक्छु कि भनेर सोध्नुभयो। यहोवाले सारपतकी विधवालाई आशिष्‌ दिनुभएको घटना मैले त्यतिबेला सम्झेँ।” (१ राजा १७:१२-१६) ती दम्पतीलाई घरमा राख्न एडिट राजी भइन्‌। उनले कस्तो आशिष्‌ पाइन्‌? उनी भन्छिन्‌: “मैले उहाँहरूलाई दुई हप्ता मात्र होइन, दुई महिना राख्ने मौका पाएँ। त्यतिबेला हामी एकअर्कासित असाध्यै घनिष्ठ भयौँ।” एडिटले मण्डलीका भाइबहिनीसित पनि घनिष्ठ मित्रता गाँस्न सकिन्‌। अहिले उनी अग्रगामी सेवा गर्दै छिन्‌ अनि प्रचारकार्यमा सँगै गएका साथीहरूलाई खाजा खान आफ्नो घरमा बोलाउँछिन्‌। उनी भन्छिन्‌: “अरूलाई दिँदा मज्जा लाग्छ! वास्तवमा भन्‍ने हो भने प्रचुर मात्रामा आशिष्‌ मैले पो पाएकी छु।”—हिब्रू १३:१, २.

१७. लुक र तिनकी पत्नीले कुन कुरा महसुस गरे?

१७ हुनत हामीले अतिथि-सत्कार गरिरहेका हौँला तर के हामी यस क्षेत्रमा अझै उन्‍नति गर्न सक्छौँ? उदाहरणको लागि, लुक र तिनकी पत्नी अतिथि-सत्कार गर्न मन पराउँछन्‌। तिनीहरू घरमा आफ्ना आमाबुबा, आफन्त, घनिष्ठ मित्र अनि क्षेत्रीय निरीक्षक र उनकी पत्नीलाई सधैँजसो बोलाउँथे। तर लुक भन्छन्‌: “आफूसित घनिष्ठ भएका व्यक्‍तिहरूलाई मात्र बोलाउने गर्दो रहेछौँ भनेर हामीले महसुस गऱ्‍यौँ।” लुक र तिनकी पत्नीले अतिथि-सत्कार गर्ने सन्दर्भमा कसरी उन्‍नति गरे?

१८. अतिथि-सत्कार गर्ने क्षेत्रमा लुक र तिनकी पत्नीले कसरी उन्‍नति गरे?

१८ लुक र तिनकी पत्नीले येसुका यी शब्दहरूमा मनन गरेपछि आफ्नो सोचाइ परिवर्तन गरे: “यदि तिमीहरू आफूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूले के इनाम पाउँछौ र?” (मत्ति ५:४५-४७) तिनीहरूले सबैप्रति उदार यहोवाको अनुकरण गर्नुपर्ने खाँचो महसुस गरे। त्यसैले तिनीहरूले अहिलेसम्म आफ्नो घरमा नबोलाएका भाइबहिनीलाई बोलाउने निर्णय गरे। लुक भन्छन्‌: “हामी सबैले अहिले आनन्द उठाइरहेका छौँ। अनि प्रोत्साहन र आध्यात्मिक बल पाएको महसुस गर्छौँ।”

१९. हामी येसुका चेलाहरू हौँ भनेर कसरी प्रमाणित गर्छौँ? तपाईँले कस्तो सङ्‌कल्प गर्नुभएको छ?

१९ एकअर्कालाई प्रगाढ प्रेम गर्दा हामी शान्ति कायम गर्न, पक्षपाती नहुन र अतिथि-सत्कार गर्न सक्छौँ भनेर यस लेखमा छलफल गऱ्‍यौँ। हामीले नकारात्मक भावना हटाउनुपर्छ र हाम्रा भाइबहिनीलाई हृदयदेखि प्रगाढ प्रेम गर्नुपर्छ। त्यसो गऱ्‍यौँ भने हामी आनन्दित हुनेछौँ र साँच्चै येसुका चेलाहरू हौँ भनेर प्रमाणित गर्नेछौँ।—युह. १३:१७, ३५.

निम्न कुराहरू गरेर हामी कसरी प्रगाढ प्रेम देखाउन सक्छौँ?

  • शान्ति कायम गरेर

  • पक्षपाती नभएर

  • अतिथि-सत्कार गरेर

गीत ८८ मलाई तपाईँको मार्ग सिकाउनुहोस्‌

a येसुले साँचो ख्रिष्टियनहरूको चिनारी प्रेम हो भन्‍नुभयो। भाइबहिनीप्रतिको प्रेमले हामीलाई शान्ति कायम गर्न, पक्षपाती नहुन र अतिथि-सत्कार गर्न उत्प्रेरित गर्छ। यसो गर्नु सधैँ सजिलो नहुन सक्छ। हामी एकअर्कालाई कसरी हृदयदेखि प्रगाढ प्रेम गरिरहन सक्छौँ भनेर यस लेखले केही व्यावहारिक सुझाव दिनेछ।

b यस लेखमा केही नाम परिवर्तन गरिएका छन्‌।

c चित्रको व्याख्या: एउटी बहिनीको पहिलो प्रयास असफल हुन्छ तर उनी मिलाप गर्न प्रयास गरिरहन्छिन्‌।

d चित्रको व्याख्या: एक जना वृद्ध भाइलाई मण्डलीका अरूले एक्लै पारेको महसुस हुन्छ।

e चित्रको व्याख्या: सुरुमा अतिथि-सत्कार गर्न हिचकिचाएकी बहिनी आफ्नो सोचाइ परिवर्तन गर्छिन्‌ र अझ आनन्दित हुन सक्छिन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने