प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 अप्रिल pp. २६-३१
  • दौड पूरा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दौड पूरा गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कस्तो किसिमको दौड?
  • सही मार्ग पछ्याउनुहोस्‌
  • दौडमा ध्यान केन्द्रित गर्दै दौडनुहोस्‌
  • अवरोधहरू पार गर्दै दौडिरहनुहोस्‌
  • यहोवालाई प्रेम गर्नेहरूका लागि “ठेस खाने कुनै कारणै रहँदैन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • “पुरस्कार पाउन सक्ने गरी दौड”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • जीवनको दौडमा तपाईं कसरी दौडनु हुँदैछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • “धैर्य गरेर दौडौं”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 अप्रिल pp. २६-३१

अध्ययन लेख १८

दौड पूरा गर्नुहोस्‌

“मैले दौड पूरा गरेको छु।”—२ तिमो. ४:७.

गीत १२९ हामी सहिरहन्छौँ!

परिचयa

१. हामी सबैले के गर्नुपर्छ?

कुनै दौड गाह्रो छ भनेर तपाईँलाई थाह छ भने आफू बिरामी वा थकित भएको बेला के तपाईँ त्यो दौड दौडन चाहनुहुन्छ? सायद चाहनुहुन्‍न होला। तर सबै साँचो ख्रिष्टियनहरू एउटा दौड दौडिरहेका छन्‌ भनेर प्रेषित पावलले बताए। (हिब्रू १२:१) जवान होऔँ वा वृद्ध, बलियो होऔँ वा थकित, यहोवाले प्रतिज्ञा गर्नुभएको इनाम पाउन चाहन्छौँ भने हामी सबैले अन्तसम्म सहनै पर्छ।—मत्ति २४:१३.

२. दोस्रो तिमोथि ४:७, ८ अनुसार पावलले किन निर्धक्क भई साहसका साथ बोल्न सके?

२ पावलले निर्धक्क भई साहसका साथ बोल्न सके किनभने तिनले सफलतापूर्वक ‘दौड पूरा गरेका थिए।’ (२ तिमोथि ४:७, ८ पढ्‌नुहोस्‌) तर वास्तवमा पावलले कुन दौडबारे कुरा गरिरहेका थिए?

कस्तो किसिमको दौड?

३. पावलले कस्तो किसिमको दौडबारे उल्लेख गरे?

३ प्राचीन ग्रीसमा आयोजना गरिने खेलको कुनै-कुनै पक्षबारे कहिलेकाहीँ उल्लेख गरेर प्रेषित पावलले महत्त्वपूर्ण पाठहरू सिकाए। (१ कोरि. ९:२५-२७; २ तिमो. २:५) तिनले ख्रिष्टियन जीवनलाई थुप्रै चोटि दौडसित तुलना गरे। (१ कोरि. ९:२४; गला. २:२; फिलि. २:१६) कुनै व्यक्‍तिले आफूलाई यहोवामा समर्पण गरेर बप्तिस्मा गर्दा तिनले त्यो “दौड” सुरु गर्छन्‌। (१ पत्रु. ३:२१) अनि यहोवाले तिनलाई अनन्त जीवनको इनाम दिनुहुँदा तिनले त्यो दौड पूरा गर्छन्‌।—मत्ति २५:३१-३४, ४६; २ तिमो. ४:८.

४. यस लेखमा के छलफल गर्नेछौँ?

४ लामो दुरीको दौड दौडनु र ख्रिष्टियन जीवन बिताउनुबीच कस्ता समानताहरू छन्‌? थुप्रै समानता छन्‌। तीमध्ये तीन वटा विचार गरौँ। पहिलो, हामीले सही मार्ग पछ्याउनुपर्छ; दोस्रो, अन्तिम रेखामा ध्यान केन्द्रित गर्नुपर्छ; अनि तेस्रो, अवरोधहरू पार गर्दै दौडनुपर्छ।

सही मार्ग पछ्याउनुहोस्‌

अघि बढी रहेका एक धावकको चित्र। त्यस सँगैको तस्बिरमा एक जना पाको भाइ प्रचारकार्यको दौडान जवान भाइसित रमाइलो कुराकानी गर्दै।

हामी सबै ख्रिष्टियन मार्गमा हिँड्‌नुपर्छ (अनुच्छेद ५-७ हेर्नुहोस्‌)d

५. हामीले कुन मार्ग पछ्याउनुपर्छ र किन?

५ वास्तविक दौडमा पुरस्कार जित्न उक्‍त दौडका आयोजकहरूले तोकेको मार्गमै धावकहरू दौडनुपर्छ। त्यसैगरि अनन्त जीवनको इनाम हासिल गर्न हामी पनि ख्रिष्टियन मार्गमै हिँड्‌नुपर्छ। (प्रेषि. २०:२४; १ पत्रु. २:२१) तर सैतान र त्यसको पछि लाग्नेहरू भने हामीले त्यस मार्गअनुसार जीवन बिताएको चाहँदैनन्‌; हामी पनि तिनीहरूकै ‘मार्गमा हिँडिरहेको’ चाहन्छन्‌। (१ पत्रु. ४:४) तिनीहरूले हामी हिँडिरहेको मार्गको खिल्ली उडाउँछन्‌ र आफ्नो मार्ग नै उत्तम मार्ग हो र त्यसले स्वतन्त्रतातर्फ डोऱ्‍याउँछ भनेर दाबी गर्छन्‌। तर तिनीहरूको त्यो दाबी झूटो हो।—२ पत्रु. २:१९.

६. ब्रायनको उदाहरणबाट तपाईँले के सिक्नुभयो?

६ सैतानको संसारको प्रभावमा परेकाहरूसँगै दौडनेहरूले आफूले रोजेको मार्गले स्वतन्त्रतातर्फ नभई सैतानको दासत्वतर्फ डोऱ्‍याउँछ भनेर छिट्टै थाह पाउँछन्‌। (रोमी ६:१६) ब्रायनको उदाहरण विचार गर्नुहोस्‌। तिनका बुबाआमाले तिनलाई ख्रिष्टियन मार्गअनुसार चल्न प्रोत्साहन दिएका थिए। तर किशोरावस्थामा छँदा ख्रिष्टियन मार्गले आफूलाई खुसी बनाउला कि नबनाउला भनेर तिनले शङ्‌का गर्न थाले। ब्रायनले सैतानको स्तरअनुसार जीवन बिताउने मानिसहरूसित उठबस गर्ने निर्णय गरे। तिनी भन्छन्‌, “आफूले खोजेको स्वतन्त्रताले गर्दा दुर्व्यसनमा फस्छु भनेर मैले सोचेकै थिइनँ। . . . पछि रक्सी अनि लागूपदार्थको दुर्व्यसनी भएँ, छाडा जीवन बिताउन थालेँ। वर्षहरू बित्दै जाँदा झन्‌-झन्‌ कडा लागूपदार्थ लिन थालेँ अनि तीविना बाँच्नै नसक्ने भएँ। पछि त लागूपदार्थको बेचबिखनसमेत गर्न थालेँ।” तर पछि ब्रायनले यहोवाको स्तरअनुसार जीवन बिताउने निर्णय गरे। तिनले आफ्नो कुमार्ग त्यागे र २००१ मा बप्तिस्मा गरे। अहिले ख्रिष्टियन मार्गअनुसार जीवन बिताइरहेकोमा तिनी साँच्चै खुसी छन्‌।b

७. मत्ति ७:१३, १४ अनुसार हाम्रो अगाडि कुन दुई वटा बाटो छन्‌?

७ सही मार्गमा हिँड्‌ने छनौट गर्नु अत्यन्तै महत्त्वपूर्ण छ! हामी सबै “जीवनतर्फ लैजाने” साँघुरो बाटोमा दौडन छोडेर संसारका धेरैजसो मानिसहरू हिँडिरहेको फराकिलो बाटोमा हिँडेको सैतान चाहन्छ। त्यो बाटो सजिलो छ र त्यसमा धेरै मानिसहरू हिँड्‌न रुचाउँछन्‌। तर त्यो बाटोले ‘विनाशतर्फ लैजान्छ।’ (मत्ति ७:१३, १४ पढ्‌नुहोस्‌) सही मार्गमा हिँडिरहन र त्यसबाट नतर्किन हामीले यहोवामा भरोसा गर्नुपर्छ र उहाँको कुरा सुन्‍नुपर्छ।

दौडमा ध्यान केन्द्रित गर्दै दौडनुहोस्‌

एक धावक दौडँदै गर्दा ठेस खाएर लड्‌न लागेको चित्र। त्यस सँगैको तस्बिरमा एक पाको भाइ जवान भाइलाई अझै रक्सी थप्न आग्रह गर्छन्‌ तर जवान भाइ इन्कार गर्छन्‌।

हामीले ध्यान केन्द्रित गर्नुपर्छ अनि अरूलाई ठेस पुऱ्‍याउनु हुँदैन (अनुच्छेद ८-१२ हेर्नुहोस्‌)e

८. कुनै धावक ठेस खाएर लड्यो भने उसले के गर्छ?

८ लामो दूरीको दौडमा भाग लिने धावकहरूले ठेस खानदेखि जोगिन अगाडिको बाटोमा ध्यान केन्द्रित गर्छन्‌। तैपनि तिनीहरू अरू धावकहरूको खुट्टामा अल्झिन पुग्न सक्छन्‌ अथवा तिनीहरूले खाल्टाखुल्टीमा टेक्न सक्छन्‌। तिनीहरू लडिहाले तापनि उठ्‌छन्‌ र फेरि दौडन थाल्छन्‌। तिनीहरू आफूले ठेस खाएको कुरामा नभई अन्तिम रेखा र आफूले जित्ने आशा गरेको पुरस्कारमा नै ध्यान केन्द्रित गर्छन्‌।

९. हामीले ठेस खायौँ भने के गर्नुपर्छ?

९ हामी जीवनको दौडमा धेरै चोटि ठेस खान सक्छौँ किनभने हामी आफ्नो बोली अनि व्यवहारमा चुक्छौँ। अथवा अर्को धावकले गरेको गल्तीले हामीलाई चोट पुग्न सक्छ। तर त्यसो हुँदा हामीले अचम्म मान्‍नुपर्दैन। किनभने हामी सबै त्रुटिपूर्ण छौँ र जीवनतर्फ लैजाने साँघुरो बाटोमा दौडिरहेका छौँ। त्यसैले हामी कहिलेकाहीँ एकअर्कासित “ठोक्किन” सक्छौँ। कहिलेकाहीँ हामीले एकअर्काको विरुद्धमा “गुनासो” गर्ने कारण दिन्छौँ भनेर पावलले मानिलिए। (कल. ३:१३) तर आफूले ठेस खाएको कुरामा नभई आफ्नो अगाडि राखिएको इनाममा ध्यान केन्द्रित गरौँ। केही गरी ठेस खाइहाल्यौँ भने फेरि उठेर दौडने निर्णय गरौँ। हामी कसैसित रिसाएर मनमा द्वेष पालिराख्यौँ र यहोवाको सेवा गर्न छोड्यौँ भने अन्तिम रेखा पार गर्न सक्नेछैनौँ अनि इनाम पाउनेछैनौँ। त्यसको साथै जीवनतर्फ लैजाने साँघुरो बाटोमा दौडन प्रयास गरिरहेकाहरूको लागि पनि अवरोध साबित भइरहेका हुन सक्छौँ।

१०. अरूको लागि “ठेस खाने ढुङ्‌गा” नबन्‍न हामी के गर्न सक्छौँ?

१० अरू धावकको लागि “ठेस खाने ढुङ्‌गा” नबन्‍ने अर्को तरिका भनेको आफ्नै कुरामा जिद्दी गर्नुको सट्टा सम्भव भएसम्म तिनीहरूलाई आफ्नै तरिकाले काम गर्न दिएर हो। (रोमी १४:१३, १९-२१; १ कोरि. ८:९, १३) वास्तविक दौडका धावकहरू र हामीबीचको मुख्य भिन्‍नता यही हो। वास्तविक दौडका धावकहरू एकअर्कासित प्रतिस्पर्धा गर्छन्‌ र प्रत्येकले आफ्नो लागि मात्र पुरस्कार जित्ने प्रयास गर्छन्‌। ती धावकहरू कसरी दौड जित्ने भनेर आफ्नै कुरामा मात्र ध्यान दिन्छन्‌। त्यसैले सायद तिनीहरू अरूलाई धकेल्दै अगाडि बढ्‌न खोज्छन्‌। तर हामी भने एकअर्कासित प्रतिस्पर्धा गर्दैनौँ। (गला. ५:२६; ६:४) हाम्रो उद्देश्‍य धेरैभन्दा धेरै मानिसलाई हामीसँगै अन्तिम रेखा पार गर्न र जीवनको इनाम जित्न मदत गर्नु हो। त्यसैले हामी पावलले परमेश्‍वरको प्रेरणा पाएर दिएको यो सल्लाह पालन गर्ने प्रयास गर्छौँ: “तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”—फिलि. २:४.

११. धावकले केमा ध्यान केन्द्रित गर्छन्‌ र किन?

११ वास्तविक दौडका धावकहरूले आफ्नो अगाडिको बाटोमा ध्यान केन्द्रित गर्नुका साथै अन्तिम रेखामा पनि ध्यान दिन्छन्‌। तिनीहरूले त्यो रेखा आफ्नै आँखाले नदेखे तापनि त्यो रेखा पार गरेको र पुरस्कार जितेको कल्पना गर्न सक्छन्‌। पुरस्कारलाई मनमा ठप्प राखेर तिनीहरू दौडिरहन जुरमुरिन्छन्‌।

१२. यहोवाले हामीलाई कस्तो इनाम दिने मायालु प्रतिज्ञा गर्नुभएको छ?

१२ आफ्ना जनहरूले जुन दौड दौडिरहेका छन्‌, त्यो पूरा गरेमा यहोवाले तिनीहरूलाई इनाम दिने ग्यारेन्टी दिनुभएको छ। त्यो इनाम हो, स्वर्ग अथवा प्रमोदवनरूपी पृथ्वीमा अनन्त जीवन। त्यसबेला हाम्रो जीवन कत्ति आनन्दमय हुनेछ भनेर कल्पना गर्न सकियोस्‌ भनेर बाइबलले त्यो इनामबारे पूर्वझलक दिएको छ। हामीले त्यस आशालाई आफ्नो दिमाग र मनमा ताजा राखिरह्‍यौँ भने कुनै कुराले ठेस खाए तापनि दौड दौडिरहन कटिबद्ध हुनेछौँ।

अवरोधहरू पार गर्दै दौडिरहनुहोस्‌

एक धावक पानी पर्दै गर्दा डाँडा उक्लँदै गरेको चित्र। त्यस सँगैको तस्बिरमा अस्पतालमा भर्ना हुनुपरेका एक वृद्ध दाइ आफ्नो डाक्टरलाई पर्चा दिँदै छन्‌।

समस्याहरू भोगिरहेको भए तापनि हामीले जीवनको दौड दौडिरहनुपर्छ (अनुच्छेद १३-२० हेर्नुहोस्‌)f

१३. वास्तविक धावकहरूसित नभएको कुन कुरा हामीसित छ?

१३ ग्रीसमा आयोजना गरिने दौडका धावकहरूले थकान र दुखाइजस्ता अवरोधहरू पार गर्दै दौड दौडिरहनुपर्थ्यो। तिनीहरू आफूले पाएको तालिम र आफ्नो बलमा भर परेमा दौड पूरा गर्न सक्थे। हामी ती धावकहरूजस्तै हौँ किनभने दौड कसरी पूरा गर्ने भनेर हामीले पनि तालिम पाएका छौँ। तर हामीसित ती वास्तविक धावकहरूसित नभएको एउटा ठूलो मदत छ। हामी शक्‍तिको असीमित स्रोत यहोवामा भर पर्न सक्छौँ। उहाँमा भर पऱ्‍यौँ भने उहाँले हामीलाई तालिम दिने मात्र नभई हामीलाई बलियो पार्ने प्रतिज्ञा पनि गर्नुभएको छ।—१ पत्रु. ५:१०.

१४. दोस्रो कोरिन्थी १२:९, १० ले अवरोधहरू सामना गर्न हामीलाई कसरी मदत गर्छ?

१४ पावलले थुप्रै अवरोधको सामना गर्नुपरेको थियो। मानिसहरूले तिनको अपमान र खेदो गरे। त्यति मात्र होइन, तिनले कहिलेकाहीँ कमजोर महसुस गरे अनि आफ्नो “शरीरमा एउटा छेस्को” पनि सहनुपऱ्‍यो। (२ कोरि. १२:७) ती अवरोधहरूलाई ठेस लाग्ने कारण ठान्‍नुको साटो तिनले त्यसलाई यहोवामा भर पर्ने मौकाको रूपमा लिए। (२ कोरिन्थी १२:९, १० पढ्‌नुहोस्‌) पावलको यस्तो मनोवृत्तिले गर्दा यहोवाले तिनलाई सबै अवरोधहरू पार गर्दै अघि बढ्‌न मदत गर्नुभयो।

१५. पावलको अनुकरण गऱ्‍यौँ भने हामीले के अनुभव गर्नेछौँ?

१५ हामीले पनि आफ्नो विश्‍वासको कारण अपमान र खेदो सहनुपर्ने हुन सक्छ। साथै थकान अथवा स्वास्थ्य समस्याको सामना गर्नुपर्ने पनि हुन सक्छ। तर हामीले पावलको अनुकरण गऱ्‍यौँ भने ती सबै अवरोधहरू यहोवाको मायालु साथ अनुभव गर्ने मौका बन्‍न सक्छ।

१६. तपाईँ अशक्‍त हुनुहुन्छ भने पनि के गर्न सक्नुहुन्छ?

१६ के तपाईँ बिरामी परेकोले ओछ्यानमा अथवा व्हीलचेयरमा हुनुहुन्छ? के तपाईँको हातगोडा दुख्छ अथवा तपाईँको दृष्टि कमजोर छ? त्यसो हो भने पनि के तपाईँ जवान अनि स्वस्थ मानिसहरूसित मिलेर जीवनतर्फ लैजाने बाटोमा दौडन सक्नुहुन्छ? पक्कै सक्नुहुन्छ! थुप्रै वृद्ध र अशक्‍त मानिसहरू जीवनतर्फ लैजाने बाटोमा दौडिरहेका छन्‌। तिनीहरू आफ्नै बलको भरमा यो दौड दौडन सक्दैनन्‌। बरु टेलिफोनद्वारा सभाहरू सुनेर अथवा स्ट्रिमिङबाट हेरेर तिनीहरूले यहोवाबाट बल पाउँछन्‌। अनि तिनीहरूले डाक्टर, नर्स अनि आफन्तहरूलाई साक्षी दिएर चेला बनाउने काममा भाग लिन्छन्‌।

१७. शारीरिक अशक्‍तता भएकाहरूप्रति यहोवा कस्तो महसुस गर्नुहुन्छ?

१७ शारीरिक अशक्‍तताले गर्दा जीवनको दौड दौडन सक्दिनँ भनेर कहिल्यै निराश नहुनुहोस्‌। तपाईँले यहोवामाथि विश्‍वास राख्नुभएकोले र अहिलेसम्म सेवा गर्दै आउनुभएकोले उहाँ तपाईँलाई माया गर्नुहुन्छ। तपाईँलाई पहिलेभन्दा अहिले झनै उहाँको मदतको आवश्‍यकता छ र उहाँले तपाईँलाई कहिल्यै त्याग्नुहुन्‍न। (भज. ९:१०) बरु उहाँ तपाईँसित झनै घनिष्ठ हुनुहुनेछ। स्वास्थ्य समस्याको सामना गरिरहेकी एक बहिनीले भनेको कुरा विचार गर्नुहोस्‌: “स्वास्थ्य झन्‌-झनै बिग्रँदै जाँदा अरूलाई प्रचार गर्ने मौका थोरै हुँदै गएको महसुस गर्छु। तर मेरो सानो प्रयासले पनि यहोवाको हृदय आनन्दित तुल्याउँछ भनेर मलाई थाह छ र यसले गर्दा म खुसी हुन्छु।” निरुत्साहित महसुस गर्दा तपाईँ एक्लो हुनुहुन्‍न भनेर नबिर्सनुहोस्‌। पावलले बसालेको उदाहरण विचार गर्नुहोस्‌ र तिनका यी प्रोत्साहनदायी शब्दहरू सम्झनुहोस्‌: “कमजोरीमा [म] . . . खुसी हुन्छु किनकि जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु।”—२ कोरि. १२:१०.

१८. कसै-कसैले कस्तो गाह्रो अवरोधको सामना गरिरहेका छन्‌?

१८ जीवनको दौड दौडिरहेका केहीले अर्कै अवरोधको सामना गर्नुपरेको छ। तिनीहरूले व्यक्‍तिगत समस्याहरूको सामना गरिरहेका छन्‌, जुन अरूले देख्न र बुझ्न नसक्लान्‌। उदाहरणको लागि, तिनीहरूलाई डिप्रेसन वा अचाक्ली चिन्ताले व्याकुल बनाइरहेको हुन सक्छ। यहोवाका यी प्रिय जनहरूलाई यस्तो समस्याको सामना गर्न किन गाह्रो हुन्छ? किनभने कसैको हात भाँचिएको छ अथवा व्हीलचेयरको सहारा लिएर यताउता गर्नुपर्छ भने अरू तिनको समस्या देखेर मदत गर्न अग्रसर हुन सक्छन्‌। तर भावनात्मक वा मानसिक स्वास्थ्य समस्याको सामना गरिरहेकाहरू बाहिरबाट हेर्दा कुनै समस्या नभएको जस्तो देखिन सक्छन्‌। तर वास्तवमा तिनीहरूको दुःख हात भाँचिएको मानिसको जत्तिकै पीडादायी हुन्छ। तर अरूले तिनीहरूलाई हात भाँचिएको मानिसलाई जस्तै दया र चासो नदेखाइरहेका हुन सक्छन्‌।

१९. मपिबोसेतको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

१९ तपाईँ पनि जीवनमा गाह्रो अवस्थाको सामना गर्दै हुनुहुन्छ र अरूले तपाईँको कुरा नबुझेको जस्तो महसुस गर्नुहुन्छ भने मपिबोसेतको उदाहरणबाट प्रोत्साहन पाउन सक्नुहुन्छ। (२ समु. ४:४) तिनी शारीरिक रूपमा अशक्‍त थिए र राजा दाउदले तिनीसित अन्यायपूर्ण व्यवहार गरेका थिए। मपिबोसेतले त्यस्तो केही पनि गरेका थिएनन्‌, जसले गर्दा तिनीमाथि यस्तो अवस्था आइपरेको थियो। तैपनि तिनले इबी पालिराखेनन्‌ बरु आफ्नो जीवनमा भएका असल कुराहरूको लागि कृतज्ञ भए। विगतमा दाउदले आफूलाई देखाएको दयाको लागि तिनी धन्यवादी थिए। (२ समु. ९:६-१०) त्यसैले दाउदले तिनीमाथि अन्यायपूर्ण व्यवहार गर्दा तिनले त्यसको कारणसित सम्बन्धित सबै कुरा बुझ्ने प्रयास गरे। दाउदको गल्तीले गर्दा तिनले रिस पालिराखेनन्‌। दाउदले गरेको व्यवहारको लागि तिनले यहोवालाई दोष पनि दिएनन्‌। यहोवाले अभिषेक गर्नुभएको राजालाई आफूले कसरी मदत गर्न सक्छु भन्‍ने कुरामा मपिबोसेतले ध्यान केन्द्रित गरे। (२ समु. १६:१-४; १९:२४-३०) यहोवाले मपिबोसेतले बसालेको असल उदाहरण हाम्रो फाइदाको लागि बाइबलमा लेख्न लगाउनुभयो।—रोमी १५:४.

२०. कसै-कसैलाई चिन्ताले कसरी पिरोल्न सक्छ तर तिनीहरू कुन कुरामा ढुक्क हुन सक्छन्‌?

२० अचाक्ली चिन्ताले व्याकुल भएकोले केही दाजुभाइ दिदीबहिनी सामान्य दिनचर्यामा अरूसित कुराकानी गर्न डराउँछन्‌ र अप्ठेरो मान्छन्‌। तिनीहरूलाई हूलमूलमा बस्न गाह्रो लाग्न सक्छ तैपनि तिनीहरू सभा, सम्मेलन अनि अधिवेशनहरूमा उपस्थित हुन छोड्‌दैनन्‌। तिनीहरूलाई अपरिचित मानिसहरूसित बोल्न अप्ठेरो लाग्छ तैपनि तिनीहरू प्रचारकार्यमा अरूसित कुराकानी गर्छन्‌। तपाईँलाई पनि यस्तै लाग्छ भने तपाईँ एक्लो हुनुहुन्‍न भनेर नबिर्सनुहोस्‌। धेरैले यस्तै महसुस गर्छन्‌। तपाईँले मनैदेखि गर्नुभएको प्रयास देखेर यहोवा खुसी हुनुहुन्छ भनेर नबिर्सनुहोस्‌। तपाईँले अहिलेसम्म हार मान्‍नुभएको छैन भन्‍ने कुराले यहोवाले तपाईँलाई आशिष्‌ र आवश्‍यक बल दिँदै हुनुहुन्छ भन्‍ने प्रमाण दिन्छ।c (फिलि. ४:६, ७; १ पत्रु. ५:७) शारीरिक अशक्‍तता वा भावनात्मक समस्याको बाबजुद यहोवाको सेवा गर्दै हुनुहुन्छ भने तपाईँ उहाँलाई खुसी बनाउँदै हुनुहुन्छ भनेर ढुक्क हुनुहोस्‌।

२१. यहोवाको मदत पाएर हामी सबैले के गर्न सक्नेछौँ?

२१ खुसीको कुरा, वास्तविक दौड र पावलले उल्लेख गरेको दौडबीच भिन्‍नताहरू छन्‌। बाइबलकालीन समयको वास्तविक दौडमा एक जनाले मात्र पुरस्कार जित्न सक्थ्यो। तर जीवनको दौडमा भने विश्‍वासी भई धैर्य गर्ने सबैले अनन्त जीवनको इनाम पाउँछन्‌। (युह. ३:१६) वास्तविक दौडमा सबै धावक शारीरिक तवरमा स्वस्थ हुनुपर्थ्यो। त्यसो नभएको खण्डमा तिनीहरूले दौड जित्न सक्दैनथे। तर हामीमध्ये धेरैजसोको स्वास्थ्य अवस्था ठीक नभए तापनि धैर्य गर्दै दौडिरहेका छौँ। (२ कोरि. ४:१६) यहोवाको मदत पाएर हामी सबैले दौड पूरा गर्न सक्नेछौँ!

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • पावलले कस्तो किसिमको दौडबारे उल्लेख गरे?

  • हामी कस्ता अवरोधहरू सामना गर्छौँ?

  • हामी कसरी धैर्य गर्दै दौडन सक्छौँ?

गीत १४४ इनाममा दृष्टि राखौँ!

a आज यहोवाका थुप्रै सेवक ढल्कँदो उमेर र स्वास्थ्य समस्यासित जुझिरहेका छन्‌। हामी सबै कहिलेकाहीँ थकित महसुस गर्छौँ। त्यसैले दौड दौडने कुरा सोच्दा मात्र पनि हामीलाई अत्यास लाग्न सक्छ। हामी कसरी पावलले उल्लेख गरेको जीवनको दौड धैर्य गर्दै दौडन र त्यो पूरा गर्न सक्छौँ, त्यसबारे यस लेखमा छलफल गर्नेछौँ।

b प्रहरीधरहरा जनवरी १, २०१३ अङ्‌कको “बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” भन्‍ने लेख हेर्नुहोस्‌।

c चिन्ताको सामना गर्ने विषयमा थप व्यावहारिक सुझाव पाउन र सफलतासाथ त्यसको सामना गरिरहेकाहरूको अनुभव सुन्‍न मे २०१९ को कार्यक्रम jw.org/ne मा हेर्नुहोस्‌। प्रकाशनहरू > JW ब्रोडकास्टिङ अन्तर्गत हेर्नुहोस्‌।

d चित्रको व्याख्या: प्रचारकार्यमा व्यस्त भएकोले यी वृद्ध भाइ सही मार्गमा हिँडिरहन सकेका छन्‌।

e चित्रको व्याख्या: अरूलाई रक्सी पिउन दबाब दिँदा अथवा आफैले धेरै रक्सी पिउँदा हामीले अरूलाई ठेस पुऱ्‍याउन सक्छौँ।

f चित्रको व्याख्या: अस्पतालमा बस्नुपरे तापनि एक भाइ आफ्नो हेरचाह गर्नेहरूलाई साक्षी दिएर ख्रिष्टियन दौड दौडिरहन्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने