प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 फेब्रुअरी pp. २०-२४
  • यहोवाले मलाई ‘सही बाटो देखाउनुभएको छ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले मलाई ‘सही बाटो देखाउनुभएको छ’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मेरो बुबाआमाले मलाई सही बाटो देखाउनुभयो
  • मैले यहोवामा भरोसा राख्न सिकेँ
  • यहोवामा भरोसा राख्दा कहिल्यै पछुताउनु पर्दैन
  • हाम्रो असाइनमेन्ट परिवर्तन भयो
  • हाम्रा यात्राहरू
  • अवस्थामा आएका परिवर्तनहरू
  • मिसनरी मनोभाव कायम राखेकोले प्रचुर मात्रामा आशिषित्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • पूर्ण-समय सेवा गर्दा मैले थुप्रै सुअवसर पाएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • सत्तरी वर्षसम्म एउटा यहूदीको लुगा समात्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • बाल्यकालदेखि नै यहोवाद्वारा सिकाइएको
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 फेब्रुअरी pp. २०-२४
स्टिफन हार्डी।

जीवनी

यहोवाले मलाई ‘सही बाटो देखाउनुभएको छ’

स्टिफन हार्डीको वृत्तान्तमा आधारित

“तपाईँको मनपर्ने शास्त्रपद कुन हो?” भनेर एक जना जवान भाइले मलाई सोध्यो। मैले तुरुन्तै जवाफ दिएँ: “हितोपदेश ३:५, ६, जहाँ यस्तो लेखिएको छ: ‘आफ्नो सारा हृदयले यहोवामा भरोसा राख, आफ्नै बुद्धिमा भर नपर। जुनसुकै काम गर्दा उहाँलाई सम्झ; उहाँले तिमीलाई सही बाटो देखाउनुहुनेछ।’” साँच्चै, यहोवाले मलाई सही बाटो देखाउनुभएको छ। कसरी?

मेरो बुबाआमाले मलाई सही बाटो देखाउनुभयो

मेरो बुबाआमाले १९२० को दशकमा सत्य सिक्नुभएको थियो। त्यतिबेला उहाँहरूको विवाह पनि भएको थिएन। म १९३९ मा इङ्‌गल्यान्डमा जन्मेँ। मेरा बुबाआमाले मलाई सानैदेखि ख्रिष्टियन सभाहरूमा लैजाने गर्नुहुन्थ्यो र केही समयपछि मैले ईश्‍वरतान्त्रिक स्कुलमा पनि भाग लिएँ। पहिलो पटक त्यस स्कुलमा असाइनमेन्ट दिएको मलाई अझै पनि याद छ। म सानो भएकोले माइकसम्म पुग्न एउटा बाकसमाथि चढ्‌नुपरेको थियो। त्यतिबेला म छ वर्षको मात्र थिएँ र अरूको अगाडि बोल्नुपर्दा मलाई धेरै डर लागेको थियो।

स्टिफन हार्डी सानो छँदा बुबाआमा र अरूसँगै प्रचार गर्दै छन्‌। तिनीहरूले सम्मेलनमा प्रस्तुत गरिने जनभाषणको विषय भएको पोस्टर बोकेका छन्‌।

आमाबुबासँगै सडक साक्षीमा

प्रचारको लागि बुबाले मलाई एउटा कार्डमा सरल प्रस्तुति टाइप गरेर दिनुभएको थियो। पहिलो पटक एक्लै घरघरको प्रचारमा जाँदा म आठ वर्षको मात्र थिएँ। घरधनीले कार्डमा भएको सन्देश पढेर तुरुन्तै “परमेश्‍वर सत्य ठहरिऊन्‌” (अङ्‌ग्रेजी) भन्‍ने किताब स्विकार्दा खुसीले मेरो खुट्टा भुईँमै थिएन। म दौडेर यो कुरा बुबालाई बताउन गएँ। प्रचार र सभामा जान मलाई धेरै रमाइलो लाग्थ्यो र यसले ममा पूर्ण-समय यहोवाको सेवा गर्ने इच्छा पनि जगायो।

बुबाले मेरो लागि प्रहरीधरहरा मगाइदिन थाल्नुभएपछि बाइबल सत्यले मेरो मनमा बलियो जरा गाड्यो। पत्रिका पाउनेबित्तिकै म पढिहाल्थेँ। यहोवाप्रतिको मेरो भरोसा बढ्‌दै गयो र मैले उहाँलाई आफ्नो जीवन समर्पण गर्ने निर्णय गरेँ।

हामी परिवारै मिलेर १९५० मा न्यु योर्कमा आयोजना गरिएको ईश्‍वरतन्त्रको वृद्धि भन्‍ने सम्मेलनमा उपस्थित भयौँ। बिहीबार, अगस्त ३ को मूल विषय थियो: “मिसनरी दिन।” भाइ क्यारी बार्बर जो पछि परिचालक निकायको सदस्य बन्‍नुभयो, उहाँले बप्तिस्मा भाषण दिनुभएको थियो। भाषणको अन्तमा उहाँले बप्तिस्मा गर्न लागेकाहरूलाई दुई वटा प्रश्‍न सोध्नुहुँदा म उठेँ र “छ!” भनेर जवाफ दिएँ। म ११ वर्षको मात्र भए पनि मैले महत्त्वपूर्ण कदम चाल्दै छु भनेर महसुस गरेँ। तर मलाई पानीमा जान डर लाग्यो। किनभने मलाई पौडी खेल्न आउँदैनथ्यो। मेरो अङ्‌कलले मलाई पुलसम्म लग्नुभयो र डराउनु पर्दैन भन्‍नुभयो। तर म कतिखेर पानीमा डुबेर निस्केँ, मलाई पत्तै भएन। एक जना भाइले मलाई बप्तिस्मा गराउनुभयो र अर्को भाइले मलाई पुलबाट निस्कन मदत गर्नुभयो। त्यस महत्त्वपूर्ण दिनदेखि यहोवाले मलाई सही बाटो देखाइरहनुभएको छ।

मैले यहोवामा भरोसा राख्न सिकेँ

स्कुल सकिएपछि म अग्रगामी गर्न चाहन्थेँ। तर मेरा शिक्षकहरूले मलाई उच्च शिक्षा हासिल गर्न दबाब दिए। उहाँहरूको दबाबमा परेर म विश्‍वविद्यालयमा भर्ना भएँ। तर पढाइमा ज्यादै जोड दिएँ भने सत्यमा अडिग रहन सक्दिनँ भनेर मैले चाँडै महसुस गरेँ। त्यसैले पढाइ छोड्‌ने निर्णय गरेँ। त्यस विषयमा मैले यहोवालाई प्रार्थना गरेँ। पहिलो वर्ष सिद्धिएपछि पढाइ छोड्‌दै छु भनेर शिक्षकहरूलाई आदरपूर्वक पत्र लेखेँ। यहोवामा पूरा भरोसा राख्दै मैले तुरुन्तै अग्रगामी सेवा सुरु गरेँ।

मैले जुलाई १९५७ मा वेलिङबोरो सहरमा पूर्ण-समय सेवा सुरु गरेँ। मसँगै सेवा गर्न कोही अनुभवी अग्रगामी भाइ हुनुहुन्छ कि भनेर मैले लन्डन बेथेललाई सोधेँ। मैले भाइ बर्ट भाइजेसँगै सेवा गर्न थालेँ। उहाँले मलाई थुप्रै कुरा सिकाउनुभयो। उहाँ जोसिलो प्रचारक हुनुहुन्थ्यो र उहाँले मलाई प्रचारको राम्रो तालिका बनाउन मदत गर्नुभयो। हामीले सेवा गर्ने मण्डलीमा म, भाइ बर्ट अनि छ जना वृद्ध दिदीहरू हुनुहुन्थ्यो। सभाहरूको लागि तयारी गर्दा र त्यसमा भाग लिँदा मैले यहोवाप्रतिको आफ्नो भरोसा बलियो बनाउने र आफ्नो विश्‍वास व्यक्‍त गर्ने थुप्रै मौका पाएँ।

सैन्य सेवामा भाग लिन इन्कार गरेकोले मलाई केही समय जेलमा हालियो। जेलबाट छुटेको केही समयपछि मैले एक विशेष अग्रगामी बहिनी बार्बरालाई भेटेँ। हामीले १९५९ मा विवाह गऱ्‍यौँ र हामी जहाँ खटाइए तापनि जान तयार थियौँ। सुरुमा हामीलाई इङ्‌गल्यान्डको उत्तरपश्‍चिममा पर्ने ल्यान्कसायरमा खटाइयो। त्यसपछि जनवरी १९६१ मा मैले लन्डन बेथेलमा सञ्चालन गरिने एक महिना लामो राज्य सेवा स्कुलमा उपस्थित हुने निम्तो पाएँ। अचम्मको कुरा, स्कुल सकिएपछि मलाई परिभ्रमण कार्यमा खटाइयो। बर्मिङह्‍याम सहरमा मैले एक जना अनुभवी क्षेत्रीय निरीक्षकबाट दुई हप्ताको तालिम पाएँ र बार्बराले पनि मसँगै जाने अनुमति पाइन्‌। त्यसपछि हामीले ल्यान्कसायर र चेसायरमा परिभ्रमण कार्य सुरु गऱ्‍यौँ।

यहोवामा भरोसा राख्दा कहिल्यै पछुताउनु पर्दैन

अगस्त १९६२ मा हामीले शाखा कार्यालयबाट एउटा पत्र पायौँ। त्यतिबेला हामी बिदामा थियौँ। खाम खोलेर हेर्दा त गिलियड स्कुलको आवेदन फाराम पो थियो! यस विषयमा प्रार्थना गरेपछि शाखा कार्यालयको निर्देशनअनुसारै बार्बरा र मैले फाराम भरेर तुरुन्तै पठायौँ। पाँच महिनापछि हामी गिलियडको ३८औँ कक्षामा उपस्थित हुन न्यु योर्कको ब्रुक्लिनतर्फ लाग्यौँ। हामीले त्यो दस महिनामा बाइबलबाट थुप्रै कुरा सिक्यौँ।

गिलियडमा हामीले परमेश्‍वरको वचन र उहाँको सङ्‌गठनबारे मात्र होइन, विश्‍वव्यापी भ्रातृत्वबारे पनि सिक्यौँ। त्यतिबेला म २४ वर्षको थिएँ अनि बार्बराचाहिँ २३ वर्षकी थिइन्‌। हामीले अरू विद्यार्थीहरूबाट थुप्रै कुरा सिक्यौँ। मैले एक जना प्रशिक्षक भाइ फ्रेड रस्कसँगै हरेक दिन काम गर्ने सुअवसर पाएँ। मैले उहाँबाट सिकेको एउटा पाठ भनेको हामीले दिने सल्लाह सधैँ धर्मशास्त्रमा आधारित हुनुपर्छ। स्कुलको दौडान हामीले अनुभवी दाइहरू, जस्तै: नेथन नोर, फ्रेडरिक फ्रान्ज र कार्ल क्लाइनबाट भाषणहरू सुन्‍ने मौका पनि पायौँ। अनि हामीले भाइ ए. एच. म्याकमिलनको नम्र उदाहरणबाट थुप्रै कुरा सिक्यौँ। उहाँको भाषणबाट १९१४ देखि १९१९ बीचको कठिन घडीमा यहोवाले आफ्ना जनहरूलाई कसरी डोऱ्‍याइ दिनुभयो भनेर अझ राम्ररी बुझ्न सक्यौँ।

हाम्रो असाइनमेन्ट परिवर्तन भयो

स्कुलको अन्ततिर भाइ नोरले बार्बरा र मलाई अफ्रिकाको बुरूण्डीमा खटाइनेछ भनेर जानकारी दिनुभयो। हामी दौडेर बेथेलको पुस्तकालयमा गयौँ र वार्षिक पुस्तक पल्टाएर बुरूण्डीमा कति जना प्रकाशक छन्‌ भनेर हेऱ्‍यौँ। तर अचम्मको कुरा, बुरूण्डीमा कति जना प्रकाशक छन्‌ भनेर लेखिएको कतै पाएनौँ। हो, हामी कहिल्यै पनि प्रचार नगरिएको देशमा जाँदै थियौँ अनि अफ्रिकाबारे हामीलाई त्यति धेरै थाह थिएन। हामीलाई असाध्यै चिन्ता लाग्यो। तर व्यग्र प्रार्थना गर्दा हामीले मनोशान्ति पायौँ।

हाम्रो नयाँ असाइनमेन्टमा हाम्रो लागि सबै कुरा नयाँ थियो, जस्तै: हावापानी, रहनसहन अनि भाषा। हामीले फ्रान्सेली भाषा पनि सिक्नुपर्ने भयो। हामीले कोठा पनि खोज्नुपर्ने थियो। त्यहाँ पुगेको दुई दिनपछि हाम्रो गिलियडको साथी ह्‍यारी आर्नोट हामीलाई भेट्‌न आउनुभयो। उहाँ आफ्नो असाइनमेन्ट जाम्बियातर्फ फर्कने क्रममा त्यहाँ रोकिनुभएको थियो। उहाँले हामीलाई एउटा अपार्टमेन्ट खोज्न मदत गर्नुभयो। त्यही नै हाम्रो पहिलो मिसनरी होम बन्यो। त्यसको केही समयपछि नै हामीले स्थानीय अख्तियारवालाबाट विरोधको सामना गर्नुपऱ्‍यो। तिनीहरूलाई यहोवाका साक्षीहरूबारे केही थाह थिएन। हामीले आफ्नो असाइनमेन्ट सुरु मात्र के गरेका थियौँ, अख्तियारवालाहरूले त्यहाँ बस्ने हो भने हामीसित काम गर्ने अनुमति हुनुपर्छ भनेर बताए। दुःखको कुरा, हामीले बुरूण्डी छोड्‌नुपर्ने भयो। त्यसपछि हामीलाई युगाण्डामा खटाइयो।

युगाण्डामा भिसाविना जाने कुरा सोच्दा हामीलाई डर लागिरहेको थियो। तर यहोवामा भर पर्दा हामीले डरलाई जित्न सक्यौँ। युगाण्डाको आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गरिरहेका क्यानाडाका एक जना भाइले अध्यागमन अधिकृतलाई हाम्रो अवस्थाबारे राम्ररी बुझाउनुभयो। अनि हामीले केही महिना त्यहीँ बसेर भिसाको प्रक्रिया अघि बढाउने अनुमति पायौँ। त्यस घटनाबाट यहोवा हामीलाई मदत गर्दै हुनुहुन्छ भनेर हामीले महसुस गर्न सक्यौँ।

युगाण्डाको अवस्था बुरूण्डीको भन्दा निकै फरक थियो। त्यहाँ प्रचारकार्य सुरु भइसकेको थियो। तर त्यतिबेला पूरै देशभरि जम्मा २८ जना साक्षी मात्र थिए। इलाकामा हामीले अङ्‌ग्रेजी भाषा बोल्न सक्ने थुप्रैलाई भेट्टाउन सक्यौँ। तर चासो देखाएकाहरूलाई प्रगति गर्न मदत गर्ने हो भने हामीले कम्तीमा एउटा स्थानीय भाषा सिक्नुपर्ने कुरा महसुस गऱ्‍यौँ। हामीले काम्पाला सहर र त्यसवरपर प्रचार गर्न सुरु गऱ्‍यौँ। त्यहाँका धेरैजसो मानिसहरू लुगान्डा भाषा बोल्थे। त्यसैले हामीले त्यही भाषा सिक्ने निर्णय गऱ्‍यौँ। त्यो भाषामा पोख्त हुन हामीलाई थुप्रै वर्ष लाग्यो। त्यो भाषा सिकेकोले हामीले प्रभावकारी तरिकामा प्रचार गर्न सक्यौँ। हामीले बाइबल विद्यार्थीहरूको आध्यात्मिक आवश्‍यकता राम्ररी बुझ्न सक्यौँ। बाइबल विद्यार्थीहरूले पनि हामीलाई आफ्नो मनको कुरा बताउन थाले अनि आफूले सिकिरहेको कुरा कस्तो लागिरहेको छ भनेर व्यक्‍त पनि गर्न थाले।

हाम्रा यात्राहरू

चित्रहरूको सँगालो: १. अफ्रिकाको नक्सामा स्टिफन हार्डीले सेवा गरेका ठाउँहरू देखाइएको छ। २. स्टिफन आफ्नो गाडीबाहिर कुर्सीमा बसिरहेका छन्‌। ३. स्टिफनको पहिलो पत्नी बार्बरा बाटामा तरकारी पखाल्दै छिन्‌।

युगाण्डाको हाम्रो यात्रामा

नम्र मानिसहरूलाई बाइबलको कुरा सिकाउन पाउँदा हामी निकै आनन्दित थियौँ। त्यतिबेला हामीले पूरै देशभरि परिभ्रमण कार्य गर्ने सुअवसर पनि पायौँ। यस्तो सुअवसर पाइएला भनेर हामीले सोचेका पनि थिएनौँ। केन्या शाखाको निर्देशनमा कुन-कुन ठाउँमा विशेष अग्रगामीको आवश्‍यकता छ भनेर थाह पाउन हामीले पूरै देशको यात्रा गऱ्‍यौँ। हामीले कहिल्यै नभेटेका मानिसहरूले थुप्रै पटक हामीलाई न्यानो अतिथिसत्कार देखाए। तिनीहरूले हामीलाई मनैदेखि स्वागत गरे र हाम्रो लागि खानेकुरा बनाइदिए।

म अर्को यात्रामा पनि निस्केँ। काम्पालादेखि रेलमा दुई दिन यात्रा गरेर म केन्याको मोम्बासा सहर गएँ। त्यसपछि पानीजहाज चढेर हिन्द महासागरमा पर्ने टापुहरूको समूह सेशेल्समा पुगेँ। पछि १९६५ देखि १९७२ सम्म बार्बरा र म सेशेल्सको नियमित भ्रमणमा गयौँ। सुरुमा त त्यहाँ दुई जना प्रकाशक मात्र थिए। तर पछि त्यहाँ एउटा समूह बन्यो र त्यही समूह पछि मण्डली बन्यो। म एरिट्रिया, इथियोपिया र सुडानको भ्रमणमा पनि गएँ।

युगाण्डामा सैनिक शासन लागू भएपछि त्यहाँको राजनैतिक अवस्थामा थुप्रै परिवर्तन आयो। त्यसपछिका दिनहरूमा अवस्था झन्‌झन्‌ कठिन हुँदै गयो। त्यतिबेला ‘जे-जे सिजरका हुन्‌, सिजरलाई देओ’ भन्‍ने आज्ञा पालन गर्नु नै बुद्धिमानी हो भनेर महसुस गर्न सकेँ। (मर्कु. १२:१७) एकचोटि युगाण्डामा बस्ने सबै विदेशीले नजिकैको प्रहरी चौकीमा गएर आफ्नो जानकारी दर्ता गराउनुपर्ने भयो। हामीले तुरुन्तै त्यसो गऱ्‍यौँ। केही दिनपछि काम्पाला हुँदै यात्रा गरिरहेको बेला केही प्रहरीहरूले मलाई र एक जना मिसनरी भाइलाई रोकेर सोधपुछ गर्न थाले। हाम्रो मुटु ढुकढुक भइरहेको थियो। तिनीहरूले हामीलाई जासुस भएको आरोप लगाए र प्रहरी मुख्यालयमा लगे। त्यहाँ हामीले तिनीहरूलाई हामी शान्तिप्रिय मिसनरीहरू हौँ भनेर बतायौँ। हामीले प्रहरी चौकीमा आफ्नो जानकारी दर्ता गराइसक्यौँ भनेर तिनीहरूलाई बतायौँ तर तिनीहरूले हाम्रो कुरा सुन्दै सुनेनन्‌। हामीलाई पक्राउ गरियो र मिसनरी होमनजिकैको प्रहरी चौकीमा पठाइयो। त्यस प्रहरी चौकीमा हामीले आफ्नो जानकारी पहिल्यै दर्ता गरिसकेकोले त्यहाँको प्रहरी अफिसरले हामीलाई चिनिहाले र हामीलाई छोडिदिन आदेश दिए।

ती दिनहरूमा सैनिकहरूले हामीलाई बाटोमा रोक्दा निकै डर लाग्थ्यो। कहिलेकाहीँ त तिनीहरू रक्सीले फिट्टु भएर बसिरहेका हुन्थे। यस्तो अवस्थामा पर्दा हामी यहोवालाई प्रार्थना गर्थ्यौँ र तिनीहरूले हामीलाई केही नगरी जान दिँदा ढुक्क महसुस गर्थ्यौँ। दुःखको कुरा, १९७३ मा सबै विदेशी मिसनरीलाई युगाण्डा छोड्‌ने आदेश दिइयो।

स्टिफन हाम्रो राज्य सेवाको प्रतिलिपि बनाउँदै छन्‌।

हाम्रो राज्य सेवा-को प्रतिलिपि बनाउँदै, अबिद्‌जान, कोट डे’भ्वा शाखा

हाम्रो असाइनमेन्ट फेरि परिवर्तन भयो। यसपालि चाहिँ हामीलाई पश्‍चिम अफ्रिकामा पर्ने कोट डे’भ्वामा खटाइयो। यो हाम्रो लागि ठूलो परिवर्तन थियो। हामी बिलकुलै नयाँ रहनसहनमा घुलमिल हुनुपर्ने थियो, फेरि फ्रान्सेली भाषा बोल्न सिक्नुपर्ने थियो अनि विभिन्‍न देशबाट आएका मिसनरीहरूसँगै बस्नुपर्ने थियो। तर नम्र र इमानदार हृदय भएका मानिसहरूले सुसमाचारप्रति राम्रो प्रतिक्रिया देखाउँदा हामीले फेरि एकचोटि यहोवाको डोऱ्‍याइ अनुभव गर्न सक्यौँ। हामी दुवैले यहोवामा भरोसा गर्दा उहाँले हामीलाई सही बाटो देखाउनुभयो।

तर अचानक बार्बरालाई क्यान्सर भएको पत्ता लाग्यो। तिनको उपचारको लागि हामी बेलाबेलामा युरोप आउँथ्यौँ तर १९८३ मा हामी असाइनमेन्ट छोडेर फर्कनुपर्ने अवस्था आयो। त्यसरी फर्कनुपर्दा हामीलाई साह्रै दुःख लाग्यो।

अवस्थामा आएका परिवर्तनहरू

लन्डन बेथेलमा सेवा गरिरहेको बेला बार्बराको स्वास्थ्य अवस्था झन्‌झन्‌ बिग्रँदै गयो र तिनको मृत्यु भयो। बेथेल परिवारले मलाई निकै सान्त्वना दियो। विशेषगरि एक दम्पतीले मलाई आफ्नो परिस्थितिअनुसार छाँटकाँट गर्न र यहोवामा भरोसा राखिरहन मदत दिए। पछि मैले बेथेलमा घरबाट आवत्‌जावत्‌ गर्ने एक जना बहिनीलाई भेटेँ। तिनी पहिला विशेष अग्रगामी सेवा गर्थिन्‌ र यहोवालाई धेरै माया गर्थिन्‌। आन र मैले १९८९ मा विवाह गऱ्‍यौँ र त्यसपछि यता लन्डन बेथेलमा सँगै सेवा गर्दै छौँ।

स्टिफन र आन हार्डी।

आनसँगै बेलायतको नयाँ बेथेल भवनअगाडि

सन्‌ १९९५ देखि २०१८ सम्म मैले मुख्यालय प्रतिनिधिको रूपमा (पहिला प्रान्तीय निरीक्षक भनिन्थ्यो) झन्डै ६० वटा देशको भ्रमण गर्ने सुअवसर पाएँ। हरेक भ्रमणमा जाँदा यहोवाले विभिन्‍न परिस्थितिमा भएका आफ्ना जनहरूलाई कसरी आशिष्‌ दिँदै हुनुहुन्छ भन्‍ने कुरा आफ्नै आँखाले देख्न पाएँ।

विभिन्‍न देशको भ्रमण गर्ने क्रममा २०१७ मा म फेरि अफ्रिका गएँ। आनसँगै बुरूण्डी जान पाउँदा मलाई धेरै खुसी लागेको थियो। त्यहाँ भइरहेको उन्‍नति देखेर हामी असाध्यै खुसी भयौँ। सन्‌ १९६४ मा मैले जुन ठाउँमा घरघरको प्रचार गरेको थिएँ, त्यहाँ अहिले सुन्दर बेथेल भवन छ। बुरूण्डीमा अहिले १५ हजार ५ सयभन्दा धेरै प्रकाशक छन्‌।

सन्‌ २०१८ को भ्रमणको तालिका पाउँदा मलाई धेरै खुसी लागेको थियो। मैले भ्रमण गर्नुपर्ने देशहरूको सूचीमा कोट डे’भ्वा पनि थियो। त्यहाँको राजधानी अबिद्‌जानमा पुग्दा मलाई घर फर्केको जस्तो महसुस भयो। बेथेलको गेस्ट रुममा राखिएको टेलिफोन नम्बरको सूची पल्टाएर हेर्दा हामी सँगैको कोठामा भाइ सुसौ बस्नुहुँदो रहेछ भनेर थाह पाएँ। म अबिद्‌जानमा छँदा भाइ सुसौ नगर निरीक्षकको रूपमा सेवा गर्नुहुन्थ्यो। तर म झुक्किएछु। यो भाइ त उहाँको छोरा पो हुनुहुँदो रहेछ।

यहोवाले सधैँ आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ। विभिन्‍न चुनौतीहरूको सामना गर्नुपर्दा यहोवामा भरोसा राख्यौँ भने उहाँले हामीलाई सही बाटो देखाउनुहुनेछ भन्‍ने कुरामा म विश्‍वस्त छु। म नयाँ संसारसम्म पुऱ्‍याउने बाटोमा हिँडिरहन चाहन्छु, जुन बाटो झन्‌झन्‌ चहकिलो हुँदै गइरहेको छ।—हितो. ४:१८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने