प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 नोभेम्बर pp. १४-१९
  • नवविवाहित दम्पतीहरू हो, यहोवाको सेवालाई प्राथमिकता दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नवविवाहित दम्पतीहरू हो, यहोवाको सेवालाई प्राथमिकता दिनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नवविवाहित दम्पतीहरूले कस्ता समस्याहरू सामना गर्नुपर्ने हुन्छ?
  • राजा यहोसापातले जस्तै यहोवामा भरोसा गर्नुहोस्‌
  • भविष्यवक्‍ता यसैया र तिनकी पत्नीले जस्तै यहोवाको सेवालाई प्राथमिकता दिनुहोस्‌
  • प्रिस्किला र अक्विलाले जस्तै राज्यसम्बन्धी गतिविधिलाई प्रथम स्थान दिनुहोस्‌
  • प्रेषित पत्रुस र तिनकी पत्नीले जस्तै यहोवाका प्रतिज्ञाहरूमा भरोसा गर्नुहोस्‌
  • “याहको ज्वाला” निभ्न नदिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • विवाहलाई परमेश्‍वरको वरदानको रूपमा आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • तपाईँका छोराछोरीलाई यहोवालाई माया गर्न सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • यहोशापात यहोवामाथि भरोसा गर्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 नोभेम्बर pp. १४-१९

अध्ययन लेख ४६

नवविवाहित दम्पतीहरू हो, यहोवाको सेवालाई प्राथमिकता दिनुहोस्‌

“यहोवा मेरो बल . . . हुनुहुन्छ; मेरो हृदयले उहाँमा भरोसा गर्छ।”—भज. २८:७.

गीत १३१ “जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ”

परिचयa

१-२. (क) नवविवाहित दम्पतीहरूले किन यहोवामा भरोसा गर्नुपर्छ? (भजन ३७:३, ४) (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

के तपाईँ चाँडै विवाह गर्दै हुनुहुन्छ वा भर्खरै विवाह गर्नुभएको छ? यदि त्यसो हो भने आफूले माया गरेको व्यक्‍तिसित पूरै जीवन हाँसीखुसी बिताउने प्रतीक्षामा हुनुहुन्छ होला। तर वैवाहिक जीवनमा पनि समस्याहरू आइपर्छन्‌ अनि महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्ने हुन्छ। हामी त्यस्ता समस्याहरूको कसरी सामना गर्छौँ र कस्ता निर्णयहरू गर्छौँ, त्यसले हाम्रो वैवाहिक जीवन खुसी वा दुःखी बनाउन सक्छ। तर यहोवामा भरोसा गऱ्‍यौँ भने बुद्धिमानी निर्णयहरू गर्न सक्नेछौँ। त्यसो गऱ्‍यौँ भने हाम्रो वैवाहिक सम्बन्ध बलियो हुन्छ अनि हामी खुसी हुनेछौँ। तर गरेनौँ भनेचाहिँ वैवाहिक जीवनमा समस्याहरू आउन सक्छ अनि हामी दुःखी हुनेछौँ।—भजन ३७:३, ४ पढ्‌नुहोस्‌।

२ यस लेखमा नवविवाहित दम्पतीहरूबारे छलफल गरिएको भए पनि सबै विवाहित दम्पतीले सामना गर्नुपर्ने समस्याहरूबारे छलफल गरिएको छ। साथै बाइबलकालीन समयका वफादार पुरुष र स्त्रीहरूले बसालेको उदाहरण पनि हामी छलफल गर्नेछौँ। तिनीहरूको उदाहरणबाट वैवाहिक जीवनलगायत जीवनका विभिन्‍न पक्षहरूमा लागू हुने पाठहरू सिक्नेछौँ। आधुनिक समयका दम्पतीहरूबाट हामी के सिक्न सक्छौँ, त्यो पनि छलफल गर्नेछौँ।

नवविवाहित दम्पतीहरूले कस्ता समस्याहरू सामना गर्नुपर्ने हुन्छ?

एक नवविवाहित दम्पती घरखर्चबारे कुरा गर्दै छन्‌।

कस्ता निर्णयहरूले नवविवाहित दम्पतीहरूलाई यहोवाको सेवामा अझ धेरै गर्नदेखि रोक्न सक्छ? (अनुच्छेद ३-४ हेर्नुहोस्‌)

३-४. नवविवाहित दम्पतीहरूले कस्ता समस्याहरू सामना गर्नुपर्ने हुन्छ?

३ कसै-कसैले नवविवाहित दम्पतीहरूलाई अरूले जस्तै सामान्य जीवन बिताउन सल्लाह दिन सक्छन्‌। जस्तै: आमाबुबा अनि आफन्तहरूले छोराछोरी जन्माउन दबाब दिन सक्छन्‌। अथवा केही साथीहरू वा परिवारका सदस्यहरूले राम्रै मनसायले धेरै पैसा कमाएर घरजग्गा किन्‍न अनि आफ्नो जीवनस्तर अझै राम्रो बनाउन प्रोत्साहन दिन सक्छन्‌।

४ होसियार भएनन्‌ भने नवविवाहित दम्पतीहरूले गलत निर्णयहरू गर्न सक्छन्‌, जसले गर्दा उनीहरू ऋणमा फस्न सक्छन्‌। अनि ऋण तिर्न पति-पत्नी दुवै जना लामो समय काममा खटिनुपर्ने हुन सक्छ। यसले गर्दा बाइबल पढाइ, पारिवारिक उपासना र साक्षीकार्यको लागि समय नै नरहन सक्छ। अनि अझ धेरै पैसा कमाउन अथवा जागिर नगुमाउन दम्पतीले सभाहरू छुटाउनुपर्ने हुन सक्छ। यसको नतिजास्वरूप यहोवाको सेवामा अझ धेरै गर्ने मौकाहरू गुम्न सक्छ।

५. क्लाउस र मरिसाको उदाहरणबाट तपाईँले के सिक्नुभयो?

५ भौतिक कुरा थुपार्नमै धेरै समय बितायौँ भने हामी खुसी हुन सक्दैनौँ भनेर अनुभवहरूले देखाउँछ। जस्तै: हामी क्लाउस र मरिसाको उदाहरण विचार गर्न सक्छौँ।b विवाह गरेको सुरु-सुरुमा तिनीहरूले आफ्नो जीवन आरामदायी बनाउने उद्देश्‍यले काममा धेरै समय बिताए। तर भित्रैदेखि भने तिनीहरू खुसी थिएनन्‌। क्लाउसले यसो भने: “हामी भौतिक रूपमा सम्पन्‍न त भयौँ तर आध्यात्मिक रूपमा हाम्रो कुनै लक्ष्य थिएन। इमानदार भएर भन्‍नुपर्दा, हाम्रो जीवन झनै तनावपूर्ण भयो।” तपाईँले पनि भौतिक कुराहरू प्राप्त गर्नमै बढी ध्यान दिँदा आफू सन्तुष्ट हुन नसकेको अनुभव गर्दै हुनुहुन्छ होला। त्यसो हो भने निराश नहुनुहोस्‌। अरूको राम्रो उदाहरण विचार गर्दा तपाईँले आवश्‍यक छाँटकाँट गर्न मदत पाउन सक्नुहुन्छ। पतिहरूले राजा यहोसापातबाट के सिक्न सक्छन्‌, सुरुमा त्यो विचार गरौँ।

राजा यहोसापातले जस्तै यहोवामा भरोसा गर्नुहोस्‌

६. एउटा ठूलो समस्याको सामना गर्नुपर्दा राजा यहोसापातले हितोपदेश ३:५, ६ को सल्लाह कसरी लागू गरे?

६ पतिहरू हो, के तपाईँ कहिलेकाहीँ आफूले पूरा गर्नुपर्ने जिम्मेवारीबारे सोच्दा आत्तिनुहुन्छ? त्यसो हो भने राजा यहोसापातको उदाहरण विचार गर्नुहोस्‌। यहोसापात राजा भएकोले पूरै राष्ट्रको सुरक्षा गर्ने जिम्मेवारी तिनको काँधमा थियो। त्यस्तो अवस्थामा यहोसापातले आफूले जे गर्न सक्थे, त्यही गरे। जस्तै: तिनले यहुदाका सहरहरूलाई अझै बलियो बनाए अनि ११ लाख ६० हजारभन्दा धेरै सैनिक भएको एउटा ठूलो सेना खडा गरे। (२ इति. १७:१२-१९) पछि यहोसापातले एउटा ठूलो समस्या सामना गर्नुपऱ्‍यो। अम्मोनी, मोआबी र सेइरको पहाडी इलाकाबाट आएको एउटा ठूलो सेनाले यहोसापात, तिनको परिवार र तिनका मानिसहरूलाई डर-धम्की देखायो। (२ इति. २०:१, २) यहोसापातले के गरे? हितोपदेश ३:५, ६ मा पाइने बुद्धिमानी सल्लाहअनुसारै तिनले मदत र बलको लागि यहोवालाई गुहारे। (पढ्‌नुहोस्‌।) दोस्रो इतिहास २०:५-१२ मा यहोसापातले गरेको प्रार्थना विचार गर्ने हो भने तिनले स्वर्गमा बस्नुहुने मायालु बुबामा भरोसा गरेको देखिन्छ। त्यसोभए यहोवाले तिनको प्रार्थनाको जवाफ कसरी दिनुभयो?

७. यहोवाले यहोसापातको प्रार्थनाको जवाफ कसरी दिनुभयो?

७ यहोवाले लेवी याहजिएलमार्फत यहोसापातलाई यसो भन्‍नुभयो: “आ-आफ्नो स्थानमा खडा रहो र यहोवा परमेश्‍वरले कसरी तिमीहरूको उद्धार गर्नुहुँदो रहेछ, सो हेर।” (२ इति. २०:१३-१७) साधारणतया युद्ध यसरी लडिँदैन। तर यो निर्देशन कुनै मानिसबाट होइन, यहोवाबाटै आएको थियो। त्यसैले यहोसापातले यहोवामा भरोसा राख्दै उहाँले भन्‍नुभएअनुसारै गरे। त्यसपछि तिनले शत्रुहरूसित युद्ध गर्न जाँदा सबैभन्दा अघिल्लो पङ्‌क्‍तिमा निपुण योद्धाहरूलाई नभई हातहतियार नभिरेका गायकहरूलाई राखे। यहोसापातलाई प्रतिज्ञा गर्नुभएअनुसारै यहोवाले शत्रुहरूलाई परास्त गर्नुभयो।—२ इति. २०:१८-२३.

त्यही दम्पती बाइबल र परमेश्‍वरको सङ्‌गठनले प्रबन्ध गरेका प्रकाशनहरू अध्ययन गर्दै छन्‌।

नवविवाहित दम्पतीहरूले यहोवालाई प्रार्थना गरेर र बाइबल पढेर यहोवाको सेवालाई प्राथमिकता दिन सक्छन्‌ (अनुच्छेद ८, १० हेर्नुहोस्‌)

८. पतिहरूले यहोसापातको उदाहरणबाट के सिक्न सक्छन्‌?

८ पतिहरू हो, तपाईँहरू यहोसापातको उदाहरणबाट पाठ सिक्न सक्नुहुन्छ। तपाईँले पनि आफ्नो परिवारको ख्याल राख्ने जिम्मेवारी पाउनुभएको छ। त्यसैले परिवारको हेरचाह गर्न र उनीहरूलाई सुरक्षा दिन कडा परिश्रम गर्दै हुनुहुन्छ। समस्याहरूको सामना गर्नुपर्दा तपाईँलाई ‘यो त म आफै सुल्झाउन सक्छु’ जस्तो लाग्ला। तर आफ्नै बलमा भर पर्ने त्यस्तो झुकावको तिरस्कार गर्नुहोस्‌ र प्रार्थना गरेर यहोवाको मदत माग्नुहोस्‌। साथै आफ्नी पत्नीसँगै बसेर पनि व्यग्र प्रार्थना गर्नुहोस्‌। बाइबल र बाइबलआधारित प्रकाशनहरू पढेर यहोवाको डोऱ्‍याइ खोज्नुहोस्‌ अनि पढेका कुराहरू लागू पनि गर्नुहोस्‌। कसै-कसैले पैसा र पैसाले किन्‍न सकिने कुराले नै तपाईँको परिवारलाई साँचो सुरक्षा दिन सक्छ भन्लान्‌। अनि तपाईँले गर्नुभएको बाइबलआधारित निर्णयहरूमा तिनीहरू सहमत नहुन सक्छन्‌ वा तपाईँलाई त्यस्तो निर्णय गरेकोमा मूर्खसमेत भन्‍न सक्छन्‌। तर यहोसापातको उदाहरण सधैँ मनमा राख्नुहोस्‌। तिनले यहोवामा भरोसा गरे अनि त्यो कुरा आफ्नो कामबाट पनि देखाए। त्यसैले उहाँले यहोसापातलाई त्याग्नुभएन र तपाईँलाई पनि त्याग्नुहुन्‍न। (भज. ३७:२८; हिब्रू १३:५) त्यसोभए दम्पतीहरूले आफ्नो वैवाहिक जीवनलाई सुखमय बनाउन के गर्न सक्छन्‌?

भविष्यवक्‍ता यसैया र तिनकी पत्नीले जस्तै यहोवाको सेवालाई प्राथमिकता दिनुहोस्‌

९. भविष्यवक्‍ता यसैया र तिनकी पत्नीबारे बताउनुहोस्‌।

९ भविष्यवक्‍ता यसैया र तिनकी पत्नीले यहोवाको सेवालाई प्राथमिकता दिएका थिए। बाइबलमा यसैयालाई मात्र होइन, तिनकी पत्नीलाई पनि “भविष्यवक्‍ता” भनिएको छ। भविष्यवक्‍ता भएकीले उनको पनि आफ्नै जिम्मेवारीहरू थिए जस्तो देखिन्छ। (यसै. ८:१-४) यसबाट यसैया र तिनकी पत्नी दुवैले यहोवाको सेवालाई पहिलो स्थानमा राखेका थिए भन्‍ने कुरा प्रस्ट हुन्छ। विवाहित दम्पतीहरूको लागि कत्ति राम्रो उदाहरण!

१०. बाइबलका भविष्यवाणीहरू अध्ययन गर्दा यहोवाको सेवामा सक्दो गर्ने सङ्‌कल्प कसरी अझ बलियो हुन्छ?

१० विवाहित दम्पतीहरूले यहोवाको सेवामा सक्दो गरेर उहाँको सेवालाई प्राथमिकता दिन सक्छन्‌। उनीहरूले बाइबलका भविष्यवाणीहरू र त्यसको पूर्तिबारे अध्ययन गरेर यहोवामाथिको भरोसा बलियो बनाउन सक्छन्‌।c (ति. १:२) साथै उनीहरूले बाइबलको कुनै खास भविष्यवाणीको पूर्तिमा आफ्नो भूमिका कस्तो छ भनेर मनन गर्न सक्छन्‌। जस्तै: उनीहरूले राज्यको सुसमाचार सारा पृथ्वीभरि सुनाइनेछ भन्‍ने भविष्यवाणीको पूर्तिमा भाग लिन सक्छन्‌। (मत्ति २४:१४) बाइबलका भविष्यवाणीहरू सधैँ पूरा हुन्छन्‌ भन्‍ने कुरामा दम्पतीहरूको विश्‍वास जति बलियो भयो, यहोवाको लागि अझ बढी गर्ने उनीहरूको सङ्‌कल्प पनि त्यति नै बलियो हुन्छ।

प्रिस्किला र अक्विलाले जस्तै राज्यसम्बन्धी गतिविधिलाई प्रथम स्थान दिनुहोस्‌

११. प्रिस्किला र अक्विलाले के गर्न सके र किन?

११ जवान दम्पतीहरूले रोममा बस्ने यहुदी दम्पती प्रिस्किला र अक्विलाबाट धेरै कुरा सिक्न सक्छन्‌। उनीहरूले येसु ख्रिष्टबारे सुसमाचार सुनेका थिए र ख्रिष्टियन भएका थिए। उनीहरूको जीवन पक्कै पनि सन्तोषजनक थियो। तर पछि सम्राट्‌ क्लौडियसले रोममा भएका सबै यहुदीलाई रोम छोड्‌ने आदेश दिए। नयाँ ठाउँमा सर्ने, बासको प्रबन्ध मिलाउने अनि पाल सिलाउने व्यवसाय फेरि सुरु गर्ने कुरा सोचेर अक्विला र प्रिस्किला आत्तिएको हुनुपर्छ। तर के यस्ता परिवर्तनहरूले गर्दा तिनीहरूले राज्यसम्बन्धी गतिविधिलाई बेवास्ता गरे? अहँ, गरेनन्‌। उनीहरू रोमबाट कोरिन्थ गएपछि नयाँ मण्डलीसँग सङ्‌गत गर्न थाले अनि प्रेषित पावलसँगै मिलेर मण्डलीका भाइबहिनीलाई बलियो बनाए। पछि उनीहरू आवश्‍यकता धेरै भएका ठाउँहरूमा सेवा गर्न गए। (प्रेषि. १८:१८-२१; रोमी १६:३-५) यसरी राज्यसम्बन्धी गतिविधिलाई प्रथम स्थान दिँदा उनीहरू आनन्दित हुन सके र उनीहरूको जीवन अर्थपूर्ण भयो।

१२. विवाहित दम्पतीहरूले किन आध्यात्मिक लक्ष्यहरू राख्नुपर्छ?

१२ आधुनिक समयका दम्पतीहरूले राज्यसम्बन्धी गतिविधिलाई प्रथम स्थान दिएर प्रिस्किला र अक्विलाको अनुकरण गर्न सक्छन्‌। विवाह गर्ने उद्देश्‍यले भेटघाट गरिरहेको जोडीले विवाहअघि नै आफ्ना आध्यात्मिक लक्ष्यहरूबारे कुराकानी गर्नु राम्रो हो। दम्पतीले सँगै मिलेर निर्णयहरू गर्दा र आध्यात्मिक लक्ष्यहरू हासिल गर्न प्रयास गर्दा तिनीहरूले यहोवाको पवित्र शक्‍तिको मदत अनुभव गर्ने अझ धेरै मौका पाउँछन्‌। (उप. ४:९, १२) यस सन्दर्भमा रसल र एलिजाबेथको उदाहरण विचार गरौँ। रसल भन्छन्‌: “हामीले विवाहअघिको भेटघाटमै आफ्नो आध्यात्मिक लक्ष्यहरूबारे कुराकानी गऱ्‍यौँ।” एलिजाबेथ पनि यसो भन्छिन्‌: “हामीले यसरी पहिल्यै कुराकानी गरेकोले विवाहपछि विभिन्‍न निर्णय गर्नुपर्दा हाम्रा आध्यात्मिक लक्ष्यहरूमा बाधा नपुग्ने तरिकामा निर्णयहरू गर्न सक्यौँ।” पछि रसल र एलिजाबेथ आवश्‍यकता धेरै भएको ठाउँ माइक्रोनेसियामा सेवा गर्न गए।

त्यो दम्पती क्यालेन्डरमा आफ्ना आध्यात्मिक लक्ष्यहरू लेख्दै छन्‌।

नवविवाहित दम्पतीहरूले आध्यात्मिक लक्ष्यहरू राखेर यहोवाको सेवालाई प्राथमिकता दिन सक्छन्‌ (अनुच्छेद १३ हेर्नुहोस्‌)

१३. भजन २८:७ अनुसार यहोवामा भरोसा गर्दा नतिजा कस्तो हुन्छ?

१३ रसल र एलिजाबेथले जस्तै थुप्रै दम्पतीले साक्षीकार्य र चेला बनाउने काममा अझ धेरै भाग लिन आफ्नो जीवन सरल बनाएका छन्‌। दम्पतीहरूले यहोवाको सेवामा विभिन्‍न लक्ष्य राख्दा र ती लक्ष्यहरू हासिल गर्न सँगै प्रयास गर्दा नतिजा राम्रो हुन्छ। यहोवाले ख्याल गर्नुभएको तिनीहरूले अनुभव गर्नेछन्‌, उहाँमाथिको तिनीहरूको भरोसा अझ बलियो हुनेछ र तिनीहरू साँच्चै आनन्दित हुनेछन्‌।—भजन २८:७ पढ्‌नुहोस्‌।

प्रेषित पत्रुस र तिनकी पत्नीले जस्तै यहोवाका प्रतिज्ञाहरूमा भरोसा गर्नुहोस्‌

१४. प्रेषित पत्रुस र तिनकी पत्नीले मत्ति ६:२५, ३१-३४ मा पाइने प्रतिज्ञामा भरोसा गरेको कसरी देखाए?

१४ आज विवाहित दम्पतीहरूले प्रेषित पत्रुस र तिनकी पत्नीबाट पनि महत्त्वपूर्ण पाठहरू सिक्न सक्छन्‌। पत्रुसले येसुलाई पहिलो चोटि भेटेको लगभग छ महिनादेखि एक वर्षभित्र एउटा महत्त्वपूर्ण निर्णय गर्नुपरेको थियो। पत्रुस आफ्नो जीविका चलाउन माछा मार्ने काम गर्थे। त्यसैले येसुले तिनलाई पूर्ण-समय उहाँको पछि लाग्न निम्तो दिनुहुँदा तिनले आफ्नो परिवारको अवस्थाबारे पनि विचार गर्नुपर्थ्यो। (लुका ५:१-११) पत्रुसले येसुको पछि लाग्ने बुद्धिमानी निर्णय गरे। तिनकी पत्नीबारे के भन्‍न सकिन्छ? उनले पनि पत्रुसको निर्णयमा साथ दिइन्‌। बाइबलमा हेर्ने हो भने येसु ख्रिष्ट मृत्युबाट जीवित हुनुभएपछि उनले पत्रुससँग केही समय यात्रा गरेको सङ्‌केत पाउँछौँ। (१ कोरि. ९:५) उनले पत्नीको रूपमा राम्रो उदाहरण बसालेकीले पत्रुसले ख्रिष्टियन पति-पत्नीलाई निर्धक्क भई सल्लाह दिन सके। (१ पत्रु. ३:१-७) यसरी यहोवाको राज्यलाई पहिलो स्थानमा राख्दा उहाँले हाम्रा आवश्‍यकताहरू पूरा गरिदिनुहुन्छ भन्‍ने प्रतिज्ञामा पत्रुस र तिनकी पत्नी दुवैले भरोसा गरे।—मत्ति ६:२५, ३१-३४ पढ्‌नुहोस्‌।

१५. टियागो र एस्तरको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१५ विवाह गरेको केही वर्ष भइसकेका दम्पतीहरूले पनि यहोवाको सेवामा अझ धेरै गर्ने इच्छा बढाउन सक्छन्‌। त्यसको लागि उनीहरूले हाम्रा प्रकाशनहरूबाट अरू दम्पतीहरूको अनुभव पढ्‌न सक्छन्‌। जस्तै: “तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे” भन्‍ने शृङ्‌खलाबद्ध लेखहरू पढ्‌न सक्छन्‌। त्यस्तै लेखहरूले टियागो र एस्तरलाई यहोवाको सेवामा अझ धेरै गर्ने इच्छा बढाउन मदत गऱ्‍यो। टियागो भन्छन्‌: “ती अनुभवहरू पढ्‌दा अहिले पनि यहोवाले आफ्ना जनहरूलाई कसरी मदत दिइरहनुभएको छ भनेर देख्न सकेँ। हामी पनि यहोवाको मदत अनुभव गर्न चाहन्थ्यौँ।” तिनीहरू आफ्नो अवस्था मिलेपछि पाराग्वे सरे अनि त्यहाँ पोर्चुगिज भाषाको इलाकामा २०१४ देखि सेवा गर्दै छन्‌। एस्तर यसो भन्छिन्‌: “हामी दुवै जनालाई मन पर्ने शास्त्रपद एफिसी ३:२० हो। यस पदमा लेखिएका शब्दहरू हामीले आफ्नो जीवनमा थुप्रै चोटि पूरा भएको अनुभव गरेका छौँ।” पावलले एफिसीहरूलाई लेखेको त्यस पत्रमा यहोवाले हामीले मागेको भन्दा बढी दिनुहुन्छ भनेर बताइएको छ। यहोवाको त्यो प्रतिज्ञा सधैँ साँचो साबित हुन्छ।

त्यो दम्पती फोटोहरू हेर्दै आफूभन्दा पाको दम्पतीसित कुराकानी गर्दै छन्‌।

नवविवाहित दम्पतीहरूले परिपक्व ख्रिष्टियनहरूसित सल्लाह मागेर यहोवाको सेवालाई प्राथमिकता दिन सक्छन्‌ (अनुच्छेद १६ हेर्नुहोस्‌)

१६. जवान दम्पतीहरूले आफ्ना लक्ष्यहरूबारे कोसँग सुझाव माग्न सक्छन्‌?

१६ जवान दम्पतीहरूले यहोवामाथि भरोसा गरेका अरू भाइबहिनीको उदाहरणबाट पनि लाभ उठाउन सक्छन्‌। जस्तै: तिनीहरूले लामो समयदेखि पूर्ण-समय सेवा गरिरहेका दम्पतीहरूबाट आफ्ना लक्ष्यहरूको सन्दर्भमा केही सुझाव माग्न सक्छन्‌। यसरी तिनीहरूले यहोवामाथि भरोसा गरेको देखाइरहेका हुन्छन्‌। (हितो. २२:१७, १९) यसबाहेक एल्डरहरूले पनि जवान दम्पतीहरूलाई आध्यात्मिक लक्ष्यहरू राख्न र त्यो लक्ष्यसम्म पुग्न मदत गर्न सक्छन्‌।

१७. क्लाउस र मरिसाले कस्तो अनुभव गरे अनि तिनीहरूको अनुभवबाट हामी के सिक्न सक्छौँ?

१७ आफ्नो सेवा विस्तार गर्ने निर्णय गरे पनि कहिलेकाहीँ हामीले आशा गरेको जस्तो नहुन सक्छ। यस सन्दर्भमा अगाडि उल्लेख गरिएका क्लाउस र मरिसालाई विचार गर्न सक्छौँ। विवाह गरेको तीन वर्षपछि तिनीहरू आफ्नो घर छोडेर फिनल्याण्ड शाखाको निर्माणकार्यमा स्वयंसेवा गर्न गए। तर त्यहाँ छ महिनाभन्दा बढी बस्न नपाउने रहेछ भनेर थाह पाउँदा सुरुमा त तिनीहरू निराश भए। पछि तिनीहरूले अरबी भाषा सिक्ने कक्षामा बस्ने निम्तो पाए। त्यो भाषा सिकेपछि तिनीहरू अरबी भाषाको इलाकामा सेवा गर्न अर्को देशमा गए। मरिसा भन्छिन्‌: “आफूले कहिल्यै नगरेको काम गर्न पक्कै पनि सजिलो त छैन। तर यस्तो अवस्थामा यहोवामा भरोसा गर्नुपर्ने हुन्छ। यसो गर्दा हामीले आशै नगरेको तरिकामा यहोवाको मदत अनुभव गर्न सक्यौँ अनि उहाँमाथिको हाम्रो भरोसा पनि अझ बलियो भयो।” हामीले पनि यहोवामाथि भरोसा गऱ्‍यौँ भने उहाँले जहिले पनि हामीलाई इनाम दिनुहुन्छ।

१८. विवाहित दम्पतीहरूले कसरी यहोवामा भरोसा गरिरहन सक्छन्‌?

१८ विवाह यहोवाले दिनुभएको उपहार हो। (मत्ति १९:५, ६) विवाहित दम्पतीहरू आनन्दित भएको उहाँ चाहनुहुन्छ। (हितो. ५:१८) त्यसोभए जवान दम्पतीहरू हो, तपाईँहरूले आफ्नो जीवनमा कुन कुरालाई प्राथमिकता दिइरहनुभएको छ भनेर जाँच्नुभए कसो होला? यहोवाले दिनुभएको यो उपहारको कदर गरेको देखाउन तपाईँहरूले कस्तो प्रयास गर्दै हुनुहुन्छ? यहोवालाई प्रार्थना गर्नुहोस्‌। तपाईँको अवस्थामा लागू हुने सिद्धान्तहरू बाइबलमा खोज्नुहोस्‌। अनि यहोवाले दिनुभएका सुझावहरू लागू गर्नुहोस्‌। आफ्नो जीवनमा यहोवाको सेवालाई प्राथमिकता दिएर अगाडि बढ्‌नुहोस्‌। यसो गर्नुभयो भने तपाईँहरूको वैवाहिक जीवन आनन्दित र अर्थपूर्ण हुन्छ भन्‍ने कुरामा ढुक्क हुन सक्नुहुन्छ।

यहोवामा भरोसा गर्ने सन्दर्भमा तपाईँले यी दम्पतीहरूबाट के सिक्नुभयो?

  • भविष्यवक्‍ता यसैया र तिनकी पत्नी

  • प्रिस्किला र अक्विला

  • प्रेषित पत्रुस र तिनकी पत्नी

गीत १३२ हामी एउटै शरीर भयौँ!

a हाम्रो केही निर्णयले गर्दा यहोवाको सेवामा पूरापूर भाग लिन गाह्रो हुन सक्छ। नवविवाहित दम्पतीहरूले पछिसम्म असर गर्ने निर्णयहरू गर्नुपर्ने हुन सक्छ। यस लेखले तिनीहरूलाई बुद्धिमानी निर्णय गरेर सुखी र अर्थपूर्ण जीवन बिताउन मदत गर्छ।

b केही नाम परिवर्तन गरिएका छन्‌।

c जस्तै, यहोवाको शुद्ध उपासना आखिरमा पुनर्स्थापित हुन्छ! किताबको अध्याय ६, ७ र १९ बाट सिक्न सकिने पाठहरू विचार गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने