प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 अगस्त pp. २०-२५
  • “एकअर्काको उत्थान गरिरहो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “एकअर्काको उत्थान गरिरहो”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पावलले भाइबहिनीलाई परीक्षाहरू सहन मदत गरे
  • पावलले भाइबहिनीलाई शान्तिमा रहन मदत गरे
  • पावलले भाइबहिनीको विश्‍वास बलियो बनाए
  • “एकअर्कालाई प्रोत्साहन दिइरहो”
  • एल्डरहरू हो, प्रेषित पावलको अनुकरण गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • साहसी हुनुहोस्‌—यहोवा तपाईँको मदतगार हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • एल्डरहरू—‘हाम्रो आनन्दको निम्ति सहकर्मी’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मण्डलीका बहिनीहरूलाई मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 अगस्त pp. २०-२५

अध्ययन लेख ३५

“एकअर्काको उत्थान गरिरहो”

“एकअर्कालाई प्रोत्साहन दिइरहो अनि एकअर्काको उत्थान गरिरहो।”—१ थिस्स. ५:११.

गीत ९० एकअर्कालाई प्रोत्साहन देऔँ!

परिचयa

१. पहिलो थिस्सलोनिकी ५:११ अनुसार हामी सबैले कस्तो काममा भाग लिनुपर्छ?

के तपाईँको मण्डलीको सभाभवन निर्माण वा पुनर्निर्माण गरिएको छ? यदि छ भने तपाईँलाई त्यस नयाँ भवनमा पहिलो चोटि सभा गरिएको याद छ होला। तपाईँ यहोवाप्रति निकै कृतज्ञ हुनुभयो होला। भावुक हुनुभएकोले सुरुको गीत गाउन पनि गाह्रो भयो होला। हाम्रो यस्ता सुन्दर सभाभवनहरूले यहोवाको महिमा गर्छ। तर हामीले अर्को प्रकारको निर्माणकार्यमा भाग लिँदा अझै उहाँको महिमा गरिरहेका हुन्छौँ। त्यस्तो निर्माणकार्य साँच्चैको निर्माणकार्यभन्दा महत्त्वपूर्ण छ। त्यस्तो निर्माणकार्यमा उपासनास्थलमा आउनेहरूको उत्थान गर्नु समावेश छ। प्रेषित पावलले यस लेखको मूल शास्त्रपद १ थिस्सलोनिकी ५:११ का शब्दहरू लेख्दा यस्तै प्रतीकात्मक निर्माणकार्यबारे बताइरहेका थिए किनभने ‘उत्थान गर्नु’ भनेर अनुवाद गरिएको ग्रीक अभिव्यक्‍तिले ‘निर्माण गर्नु’ भन्‍ने अर्थ पनि दिन्छ।—पढ्‌नुहोस्‌।

२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

२ भाइबहिनीको उत्थान गर्ने सन्दर्भमा प्रेषित पावलले उत्कृष्ट उदाहरण बसाले। तिनी उनीहरूको अवस्था बुझेर सक्दो मदत दिन्थे। यस लेखमा तिनले भाइबहिनीलाई (१) परीक्षाहरू सहन, (२) एकअर्कासित शान्तिमा रहन र (३) यहोवामाथिको विश्‍वास बलियो बनाउन कसरी मदत गरे भनेर छलफल गर्नेछौँ। हामी कसरी तिनको अनुकरण गर्दै भाइबहिनीको उत्थान गर्न सक्छौँ, अब विचार गरौँ।—१ कोरि. ११:१.

पावलले भाइबहिनीलाई परीक्षाहरू सहन मदत गरे

३. पावलले यहोवाको सेवा र कामलाई कसरी सन्तुलनमा राखे?

३ पावल भाइबहिनीलाई धेरै प्रेम गर्थे। तिनी आफैले धेरै दुःख भोगेका थिए। त्यसैले परीक्षा भोगिरहेका भाइबहिनीको अवस्था तिनी राम्ररी बुझ्न सक्थे र उनीहरूलाई आवश्‍यक मदत दिन सक्थे। एकचोटि पावललाई पैसाको खाँचो परेको थियो र तिनले आफ्नो र आफूसित भएकाहरूको आवश्‍यकता पूरा गर्न काम खोज्नुपऱ्‍यो। (प्रेषि. २०:३४) त्यसैले कोरिन्थ गएपछि तिनले अक्विला र प्रिस्किलासँग पाल सिलाउने काम गरे। तर “हरेक विश्रामदिनमा” भने तिनी यहुदी र ग्रीकहरूलाई साक्षी दिन्थे। सिलास र तिमोथि त्यहाँ आएपछि “पावल वचन प्रचार गर्नमा व्यस्त भए।” (प्रेषि. १८:२-५) पावलले आफ्नो जीवनको मुख्य उद्देश्‍य यहोवाको सेवा गर्नु हो भनेर कहिल्यै बिर्सेनन्‌। तिनी आफैले राम्रो उदाहरण बसालेकोले तिनले भाइबहिनीलाई आफ्ना समस्याहरू र परिवारको पालनपोषणमा अचाक्ली चिन्ता गरेर “अझ महत्त्वपूर्ण कुराहरू”-लाई बेवास्ता नगर्न प्रोत्साहन दिन सके।—फिलि. १:१०.

४. पावल र तिमोथिले भाइबहिनीलाई खेदोको सामना गर्न कसरी मदत गरे?

४ थिस्सलोनिका मण्डली स्थापना भएलगत्तै भर्खरै ख्रिष्टियन भएका भाइबहिनीले भीषण विरोधको सामना गरे। विरोधीहरूको भीडले पावल र सिलासलाई फेला पार्न नसकेपछि तिनीहरूले “केही भाइलाई घिसार्दै नगर प्रशासकहरूकहाँ लगे अनि यसो भन्दै कराए: ‘यिनीहरू सबैले सिजरको आदेशको विरोध गर्छन्‌।’” (प्रेषि. १७:६, ७) सहरका मानिसहरू उनीहरूविरुद्ध खनिएका छन्‌ भनेर थाह पाउँदा ती ख्रिष्टियनहरू कत्ति डराए होलान्‌! उनीहरू यहोवाको सेवामा सुस्ताउन सक्थे तर पावल त्यसो भएको चाहँदैनथे। पावल र सिलास त्यो ठाउँ छोडेर जानुपऱ्‍यो तर तिनीहरूले नयाँ मण्डलीको ख्याल राख्न एउटा प्रबन्ध मिलाए। पावलले थिस्सलोनिकाका भाइबहिनीलाई यसरी सम्झाए: “[तिमोथिले] . . . तिमीहरूलाई स्थिर गराऊन्‌ र तिमीहरूको विश्‍वासलाई दह्रो बनाउन सान्त्वना देऊन्‌ भनेर तिनलाई तिमीहरूकहाँ पठायौँ ताकि यी सङ्‌कष्टहरूले गर्दा तिमीहरूमध्ये कोही पनि ढलपल नहोस्‌।” (१ थिस्स. ३:२, ३) तिमोथि आफैले पनि गृहनगर लिस्त्रामा खेदो भोगेका हुन सक्छन्‌। पावलले त्यहाँका भाइबहिनीलाई कसरी ढाडस दिए भनेर तिनले देखेका थिए। त्यसैले यहोवाले ती नयाँ ख्रिष्टियनहरूलाई पनि मदत दिनुहुनेछ भनेर तिमोथिले उनीहरूलाई आश्‍वासन दिन सक्थे।—प्रेषि. १४:८, १९-२२; हिब्रू १२:२.

५. एक जना एल्डरबाट मदत पाउँदा ब्रायन्टले कस्तो लाभ उठाए?

५ पावलले भाइबहिनीलाई अरू कुन तरिकामा बलियो बनाए? तिनी बर्णाबाससँगै फेरि लिस्त्रा, आइकोनियम र एन्टिओक फर्के अनि “प्रत्येक मण्डलीमा एल्डरहरू नियुक्‍त गरे।” (प्रेषि. १४:२१-२३) आजका एल्डरहरूजस्तै ती नियुक्‍त पुरुषहरू पक्कै मण्डलीको लागि सान्त्वनाको स्रोत भए। एक जना एल्डरबाट मदत पाएका ब्रायन्ट यसो भन्छन्‌: “म १५ वर्षको हुँदा बुबाले घर छोड्‌नुभयो अनि आमा बहिष्कृत हुनुभयो। मैले त्यागिएको महसुस गरेँ र निराश भएँ।” तिनलाई यस्तो गाह्रो अवस्था सहन केले मदत गऱ्‍यो? तिनी भन्छन्‌: “हाम्रो मण्डलीको एल्डर दाइ टोनी मसँग सभामा र अरू समयमा पनि कुरा गर्नुहुन्थ्यो। उहाँले मलाई परीक्षाहरू भोग्नुपरे पनि आनन्दित भएका व्यक्‍तिहरूबारे बताउनुभयो। उहाँले भजन २७:१० पनि देखाउनुभयो। उहाँ प्रायजसो मसँग हिजकियाहबारे कुरा गर्नुहुन्थ्यो। उनका बुबा राम्रो उदाहरण नभए तापनि उनले वफादार भई सेवा गरे।” ब्रायन्टले यस्तो मदत पाएकोले नतिजा कस्तो भयो? तिनी भन्छन्‌: “टोनी दाइको प्रोत्साहनले गर्दा मैले अग्रगामी सेवा सुरु गरेँ र म यो सेवामा सन्तुष्ट छु।” एल्डरहरू हो, ब्रायन्टलाई जस्तै “मीठो बोली” अर्थात्‌ प्रोत्साहन चाहिएकाहरूलाई मदत दिन सधैँ तयार रहनुहोस्‌।—हितो. १२:२५.

६. पावलले भाइबहिनीलाई कसरी प्रोत्साहन दिए?

६ पावलले भाइबहिनीलाई “साक्षीहरूको . . . बाक्लो बादल”-बारे बताए, जसले यहोवाबाट मदत पाएर कठिनाइहरू सहेका थिए। (हिब्रू १२:१) विगतमा विभिन्‍न कठिनाइ सहेका वफादार व्यक्‍तिहरूको जीवनीले ती भाइबहिनीलाई साहसी हुन र “जीवित परमेश्‍वरको सहर”-मा ध्यान केन्द्रित गरिरहन मदत गर्न सक्छ भनेर पावलले बुझेका थिए। (हिब्रू १२:२२) यहोवाको मदत पाएका गिदोन, बाराक, दाउद, समुएल र अरू थुप्रै व्यक्‍तिबारे पढ्‌दा हामीले पनि बल पाएका छौँ। (हिब्रू ११:३२-३५) आधुनिक समयको वफादार भाइबहिनीको अनुभवबारे चाहिँ के भन्‍न सकिन्छ? ती भाइबहिनीको जीवनी पढेर आफ्नो विश्‍वास बलियो बनाउन सकेका ख्रिष्टियनहरूबाट हामी मुख्यालयमा थुप्रै पत्र पाउँछौँ।

पावलले भाइबहिनीलाई शान्तिमा रहन मदत गरे

७. रोमी १४:१९-२१ मा पावलले दिएको सल्लाहबाट तपाईँले के सिक्नुभयो?

७ हामी बोली र व्यवहारद्वारा मण्डलीको शान्तिलाई बढावा दिएर भाइबहिनीको उत्थान गर्छौँ। हाम्रो फरक-फरक विचारधाराले गर्दा मण्डलीमा फुट हुन दिँदैनौँ। कुनै कुरा बाइबलको सिद्धान्तसित बाझिँदैन भने हामी आफूले भनेजस्तै हुनुपर्छ भनेर जिद्दी गर्दैनौँ। एउटा उदाहरण विचार गरौँ। रोमको मण्डलीमा यहुदी र अन्यजातिका ख्रिष्टियनहरू थिए। मोसाको व्यवस्था खारेज भएसँगै निषेधित खानेकुरासम्बन्धी नियम पनि खारेज भयो। (मर्कु. ७:१९) त्यतिबेलादेखि केही यहुदी ख्रिष्टियनले सबै प्रकारको खानेकुरा खान थाले। तर अरू यहुदी ख्रिष्टियनहरूलाई भने त्यसो गर्न उचित लागेन। यसले गर्दा मण्डलीमा फुट उत्पन्‍न भयो। पावलले शान्ति कायम गर्न प्रोत्साहन दिँदै यसो भने: “तिमीले मासु खाँदा, मद्य पिउँदा वा अरू केही गर्दा तिम्रो भाइलाई ठक्कर पुग्छ भने त्यसो नगर्नु नै बेस हो।” (रोमी १४:१९-२१ पढ्‌नुहोस्‌।) यस्तो मतभेद व्यक्‍तिविशेष र पूरै मण्डलीको लागि कत्ति घातक हुन सक्छ भनेर बुझ्न पावलले भाइबहिनीलाई मदत गरे। अरूलाई ठक्कर नपुऱ्‍याउन तिनी आफ्नै आनीबानी परिवर्तन गर्न पनि तयार थिए। (१ कोरि. ९:१९-२२) हामी पनि व्यक्‍तिगत रुचिलाई ठूलो बहसको विषय नबनाएर अरूको उत्थान गर्न र शान्ति कायम गर्न सक्छौँ।

८. मण्डलीको शान्ति कायम राख्न पावलले के गरे?

८ महत्त्वपूर्ण विषयहरूमा असहमति जनाउने व्यक्‍तिहरूसित शान्ति कायम गर्ने सन्दर्भमा पावलले राम्रो उदाहरण बसाले। जस्तै, धर्म परिवर्तन गरेर ख्रिष्टियन भएका गैर-यहुदीहरूको खतना गरिनुपर्छ भनेर प्रथम शताब्दीको मण्डलीका कसै-कसैले जिद्दी गरिरहेका थिए। यहुदीहरूको आलोचना खप्न नपरोस्‌ भनेर सायद तिनीहरूले यसो गरिरहेका थिए। (गला. ६:१२) तिनीहरूको यस्तो धारणासित पूर्णतया असहमत भए तापनि पावलले आफूले भनेजस्तै हुनुपर्छ भनेर जिद्दी गरेनन्‌। बरु तिनले नम्र हुँदै त्यो विषय यरुसलेमका प्रेषित र एल्डरहरूकहाँ पठाउने प्रबन्ध मिलाए। (प्रेषि. १५:१, २) तिनको यस्तो कदमले गर्दा मण्डलीको आनन्द र शान्ति कायम भयो।—प्रेषि. १५:३०, ३१.

९. हामी कसरी पावलको उदाहरण अनुकरण गर्न सक्छौँ?

९ गम्भीर प्रकारको मतभेद हुँदा हामी यहोवाले नियुक्‍त गर्नुभएका एल्डरहरूको डोऱ्‍याइ खोजेर शान्ति कायम गर्छौँ। हाम्रा प्रकाशनहरू र सङ्‌गठनले दिएका निर्देशिकाहरूमा बाइबलआधारित सल्लाह पाउन सक्छौँ। आफ्नो व्यक्‍तिगत धारणामा जिद्दी गर्नुभन्दा ती सल्लाहअनुसार चल्यौँ भने हामीले मण्डलीको शान्तिमा योगदान पुऱ्‍याइरहेका हुन्छौँ।

१०. मण्डलीको शान्ति कायम राख्न पावलले अरू के गरे?

१० पावलले भाइबहिनीको कमीकमजोरीमा नभई असल गुणहरूमा ध्यान दिएर शान्तिलाई बढावा दिए। जस्तै, रोमीहरूलाई लेखेको पत्रको अन्तमा तिनले थुप्रै भाइबहिनीको नाम उल्लेख गरेका छन्‌ र तिनीहरूमध्ये धेरैजसोको विषयमा केही राम्रा कुरा पनि लेखेका छन्‌। पावलले जस्तै हामी पनि भाइबहिनीको असल गुणहरूको प्रशंसा गर्न सक्छौँ। यसो गर्दा हामी तिनीहरूसित घनिष्ठ हुन्छौँ र हामीबीचको प्रेम पनि अझ बलियो हुन्छ।

११. मतभेद हुँदा हामी कसरी शान्ति कायम गर्न सक्छौँ?

११ कहिलेकाहीँ परिपक्व ख्रिष्टियनहरूबीच समेत मतभेद हुन सक्छ। दुई जना मिल्ने साथी पावल र बर्णाबासबीच पनि यस्तै भएको थियो। मर्कुसलाई अर्को मिसनरी यात्रामा सँगै लाने कि नलाने भन्‍ने विषयमा “तिनीहरूबीच चर्को भनाभन भयो” र तिनीहरू एकअर्काबाट छुट्टिए। (प्रेषि. १५:३७-३९) तर पछि पावल, बर्णाबास र मर्कुसले आपसी मतभेद सुल्झाए। यसरी तिनीहरूले मण्डलीको शान्ति र एकतालाई महत्त्वपूर्ण ठानेको देखाए। पछि पावलले बर्णाबास र मर्कुसबारे भनेको कुराबाट तिनले उनीहरूप्रति मनमा रिस पालेका थिएनन्‌ भन्‍ने देखिन्छ। (१ कोरि. ९:६; कल. ४:१०) कसैसित मतभेद भएको छ भने हामीले त्यसलाई सुल्झाउनुपर्छ र तिनीहरूका असल गुणहरूमा ध्यान दिनुपर्छ। यसरी हामीले शान्ति र एकता कायम गरिरहेका हुन्छौँ।—एफि. ४:३.

पावलले भाइबहिनीको विश्‍वास बलियो बनाए

१२. हाम्रो भाइबहिनीले कस्ता चुनौतीहरूको सामना गरिरहेका हुन सक्छन्‌?

१२ भाइबहिनीको विश्‍वास बलियो बनाउँदा हामीले तिनीहरूको उत्थान गरिरहेका हुन्छौँ। कसै-कसैलाई बेग्लै धर्म मान्‍ने परिवारका सदस्यहरू अथवा सहकर्मी वा सहपाठीहरूले हाँसोमा उडाउन सक्छन्‌। कसै-कसैले गम्भीर स्वास्थ्य समस्या भोगिरहेका हुन सक्छन्‌। कसै-कसैलाई भने मनमा लागेको चोट सहन गाह्रो भइरहेको हुन सक्छ। लामो समयदेखि यस दुष्ट संसारको अन्त पर्खिरहेका ख्रिष्टियनहरूलाई भने धीरज धर्न गाह्रो भइरहेको हुन सक्छ। यस्ता अवस्थाहरूमा ख्रिष्टियनहरूको विश्‍वासको जाँच हुन सक्छ। प्रथम शताब्दीका भाइबहिनीले पनि यस्तै चुनौतीको सामना गर्नुपरेको थियो। उनीहरूलाई बलियो बनाउन पावलले के गरे?

एक बुबा सानी छोरीसँग jw.org बाट एउटा लेख छलफल गर्दै। छोरीको हातमा क्रिसमस कार्ड छ।

हामी कसरी प्रेषित पावलले जस्तै अरूको उत्थान गर्न सक्छौँ? (अनुच्छेद १३ हेर्नुहोस्‌)b

१३. विश्‍वासको खातिर गिल्ला सहिरहेका भाइबहिनीलाई पावलले कसरी मदत दिए?

१३ पावलले भाइबहिनीको विश्‍वास बलियो बनाउन धर्मशास्त्र प्रयोग गरे। उदाहरणको लागि, परिवारका सदस्यहरूले यहुदी धर्म ख्रिष्टियन धर्मभन्दा श्रेष्ठ छ भनेर दाबी गर्दा कस्तो जवाफ दिने भनेर ती भाइबहिनीलाई थाह नभएको हुन सक्छ। पावलले हिब्रूहरूलाई लेखेको पत्रबाट तिनीहरूले आफ्नो विश्‍वासको पक्षमा बोल्न हौसला पाएको हुनुपर्छ। (हिब्रू १:५, ६; २:२, ३; ९:२४, २५) तिनीहरूले परिवारका सदस्यहरूलाई जवाफ दिन पावलको सशक्‍त तर्क चलाउन सक्थे। आज हामी पनि गिल्ला सहिरहेका भाइबहिनीलाई आफ्नो विश्‍वासबारे बताउन बाइबलआधारित प्रकाशनहरू कसरी प्रयोग गर्ने भनेर मदत दिन सक्छौँ। हाम्रो मण्डलीका जवानहरूले सृष्टिमा विश्‍वास गरेकोले गिल्ला सहिरहेका हुन सक्छन्‌। हामी तिनीहरूलाई जीवन सृष्टि कि संयोग? र जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न पुस्तिकामा आवश्‍यक जानकारी खोज्न मदत दिन सक्छौँ।

एक दम्पती विनाशकारी डढेलोले प्रभावित आमाछोरीलाई मदत गर्दै छन्‌।

हामी कसरी प्रेषित पावलले जस्तै अरूको उत्थान गर्न सक्छौँ? (अनुच्छेद १४ हेर्नुहोस्‌)c

१४. साक्षीकार्य र सिकाउने काममा व्यस्त भए पनि पावलले के गरे?

१४ पावलले भाइबहिनीलाई “सुकर्म”-द्वारा प्रेम देखाउन प्रोत्साहन दिए। (हिब्रू १०:२४) तिनले उनीहरूलाई बोलीद्वारा मात्र होइन, कामद्वारा पनि मदत गरे। उदाहरणको लागि, यहुदियामा ठूलो अनिकाल पर्दा तिनले त्यहाँका भाइबहिनीलाई राहत सामग्री वितरण गर्न मदत गरे। (प्रेषि. ११:२७-३०) साक्षीकार्य र सिकाउने काममा व्यस्त भए पनि पावल खाँचोमा परेका भाइबहिनीलाई मदत गर्ने मौकाहरू खोजिरहन्थे। (गला. २:१०) यसरी यहोवा सधैँ तिनीहरूको ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा तिनले भाइबहिनीलाई विश्‍वस्त हुन मदत गरे। आज हामीले पनि राहतकार्यमा आफ्नो समय, शक्‍ति र सीप खर्च गर्दा भाइबहिनीको विश्‍वास बलियो बनाइरहेका हुन्छौँ। विश्‍वव्यापी कार्यको लागि नियमित रूपमा अनुदान दिँदा पनि भाइबहिनीको उत्थान गरिरहेका हुन्छौँ। यी तथा अन्य तरिकामा हामी भाइबहिनीलाई यहोवा तिनीहरूलाई कहिल्यै त्याग्नुहुन्‍न भन्‍ने कुरामा भरोसा गर्न मदत गर्छौँ।

हामी कसरी प्रेषित पावलले जस्तै अरूको उत्थान गर्न सक्छौँ? (अनुच्छेद १५-१६ हेर्नुहोस्‌)d

१५-१६. विश्‍वास कमजोर भएका भाइबहिनीलाई हामी कसरी मदत गर्न सक्छौँ?

१५ पावलले विश्‍वास कमजोर भएका भाइबहिनीलाई मदत गरिरहे। तिनले उनीहरूलाई अनुकम्पा देखाए अनि उनीहरूसित न्यानो र प्रोत्साहन मिल्ने तरिकामा कुरा गरे। (हिब्रू ६:९; १०:३९) जस्तै, पावलले हिब्रूहरूलाई लेखेको पत्रमा “हामी” र “हाम्रा”-जस्ता शब्दहरू चलाएर आफूले दिएको सल्लाह तिनी आफैलाई पनि लागू हुन्छ भन्‍ने कुरा स्विकारे। (हिब्रू २:१, ३) तिनले जस्तै हामी पनि विश्‍वास कमजोर भएका भाइबहिनीलाई मदत दिइरहन्छौँ। अनि तिनीहरूप्रति साँचो चासो देखाएर तिनीहरूको उत्थान गर्छौँ। यसरी हामी तिनीहरूलाई प्रेम गरेको देखाउँछौँ। हाम्रो बोलीमा न्यानोपन र माया झल्किएको छ भने हामीले भनेको कुराबाट तिनीहरूले धेरै प्रोत्साहन पाउन सक्छन्‌।

१६ पावलले आफ्ना भाइबहिनीलाई यहोवा तिनीहरूको सुकर्म बिर्सनुहुन्‍न भनेर आश्‍वासन दिए। (हिब्रू १०:३२-३४) हामीले पनि विश्‍वास कमजोर भएको कुनै भाइ वा बहिनीलाई मदत गर्दा त्यसै गर्न सक्छौँ। जस्तै, हामी तिनलाई तिनी कसरी सत्यमा आए भनेर सोध्न सक्छौँ। अथवा विगतमा यहोवाबाट मदत पाएका क्षणहरूबारे सम्झन प्रोत्साहन दिन सक्छौँ। साथै तिनले यहोवालाई विगतमा देखाएको प्रेम उहाँले बिर्सनुभएको छैन र उहाँले तिनलाई कहिल्यै त्याग्नुहुनेछैन भनेर आश्‍वासन दिन सक्छौँ। (हिब्रू ६:१०; १३:५, ६) यसो गर्दा हाम्रा ती प्यारा भाइ वा बहिनी यहोवाको सेवामा फेरि जोसिलो हुन सक्छन्‌।

“एकअर्कालाई प्रोत्साहन दिइरहो”

१७. हामी आफूमा कस्ता सीपहरू विकास गरिरहन सक्छौँ?

१७ एक जना निर्माणकर्मीले आफ्नो सीप तिखार्दै लगेको जस्तै हामी पनि एकअर्काको उत्थान गर्ने सन्दर्भमा अझै सिपालु हुन सक्छौँ। हामी परीक्षा सहिरहेका भाइबहिनीलाई विगतमा परीक्षा सहेकाहरूको उदाहरण बताएर अझ बलियो हुन मदत गर्न सक्छौँ। साथै अरूमा भएका राम्रा गुणहरूको प्रशंसा गरेर, मण्डलीको शान्तिलाई जोगाएर अनि मतभिन्‍नता तुरुन्तै सुल्झाएर हामी मण्डलीको शान्तिलाई बढावा दिन सक्छौँ। अनि भाइबहिनीलाई बाइबलका महत्त्वपूर्ण सत्यहरूबारे बताएर, व्यावहारिक मदत दिएर अनि आध्यात्मिक रूपमा कमजोर भएकाहरूलाई साथ दिएर तिनीहरूको उत्थान गरिरहन सक्छौँ।

१८. तपाईँले कस्तो सङ्‌कल्प गर्नुभएको छ?

१८ विभिन्‍न निर्माण परियोजनामा सघाउन पाउँदा हाम्रा भाइबहिनी खुसी अनि सन्तुष्ट हुन्छन्‌। मण्डलीका भाइबहिनीको विश्‍वास बलियो र मजबुत बनाउन मदत गर्न पाउँदा हामी त्यस्तै आनन्द र सन्तुष्टि अनुभव गर्न सक्छौँ। मानिसले बनाएका भवनहरू एकदिन पुरानो भएर भत्किन्छन्‌ तर अहिले हामीले गरिरहेको कामको नतिजाचाहिँ सधैँभरि रहन्छ। त्यसैले ‘एकअर्कालाई प्रोत्साहन दिइरहौँ अनि एकअर्काको उत्थान गरिरहौँ।’—१ थिस्स. ५:११.

तपाईँ कसरी . . .

  • अरूलाई परीक्षाहरू सहन मदत गर्न सक्नुहुन्छ?

  • शान्ति कायम गर्न सक्नुहुन्छ?

  • विश्‍वास कमजोर भएकाहरूलाई बलियो बनाउन सक्नुहुन्छ?

गीत १०० अतिथिसत्कार गरौँ!

a यस युगमा जीवन निकै कठिन छ। हाम्रा भाइबहिनीले थुप्रै चुनौतीको सामना गर्दै छन्‌। त्यसैले हामीले तिनीहरूलाई प्रोत्साहन दिने तरिकाहरू खोजिरहनुपर्छ। यस सन्दर्भमा प्रेषित पावलको उदाहरण अनुकरण गर्न सक्छौँ।

b तस्बिरको व्याख्या: छोरीलाई क्रिसमस मनाउने दबाब आउँदा बुबाले हाम्रा प्रकाशनहरूमा भएका सुझावहरू कसरी लागू गर्न सकिन्छ भनेर सिकाउँदै छन्‌।

c तस्बिरको व्याख्या: राहतकार्यमा सघाउन एक दम्पती अर्को ठाउँमा गएको छ।

d तस्बिरको व्याख्या: एक एल्डर विश्‍वास कमजोर भएको भाइलाई भेट्‌न गएका छन्‌। तिनले वर्षौँअघि तिनीहरू सँगै अग्रगामी स्कुलमा भाग लिएको बेलाका फोटोहरू देखाउँदै छन्‌। तिनीहरू ती फोटोहरू हेर्दै सँगै बिताएका रमाइला क्षणहरू सम्झँदै छन्‌। ती भाइ यहोवाको सेवा गर्दा आफू कत्ति आनन्दित थिएँ भनेर महसुस गर्छन्‌। पछि उनी मण्डलीमा फर्कन्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने