प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 अगस्त पृ. २६-३१
  • यहोवाका मानिसहरू धार्मिकतालाई प्रेम गर्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाका मानिसहरू धार्मिकतालाई प्रेम गर्छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धार्मिकता भनेको के हो?
  • यहोवाको स्तरप्रतिको प्रेमलाई बलियो बनाउनुहोस्‌
  • धार्मिकतालाई सारा मनले प्रेम गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • पहिले “उहाँको धार्मिकता” खोजिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • यहोवाको धार्मिकतामा आनन्दित हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • धार्मिकता खोजी गर्दा हामी सुरक्षित हुनेछौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 अगस्त पृ. २६-३१

अध्ययन लेख ३६

यहोवाका मानिसहरू धार्मिकतालाई प्रेम गर्छन्‌

“आनन्दित हुन्‌ ती मानिसहरू, जो धार्मिकताका लागि भोकाउँछन्‌ र तिर्खाउँछन्‌।”—मत्ति ५:६.

गीत ९ यहोवा हाम्रा राजा!

परिचयa

१. युसुफमाथि कस्तो परीक्षा आइपऱ्‍यो र तिनले के गरे?

याकुबका छोरा युसुफले एउटा गाह्रो परीक्षाको सामना गर्नुपऱ्‍यो। एक स्त्रीले तिनलाई यसो भनिन्‌: “आऊ, मसित सुत।” ती स्त्री युसुफका मालिक पोतिफरकी पत्नी थिइन्‌। तर युसुफले उनको प्रस्ताव अस्वीकार गरे। कसै-कसैले यसो भन्लान्‌, ‘युसुफले किन त्यो प्रस्ताव अस्वीकार गरेका होलान्‌?’ त्यतिबेला पोतिफर घरमा थिएनन्‌। युसुफ एक साधारण नोकर मात्र थिए अनि मालिक्नीको प्रस्ताव अस्वीकार गर्दा उनले युसुफको जीवन झनै कठिन बनाइदिन सक्थिन्‌। मालिक्नीले जत्ति नै फकाउन खोजे तापनि युसुफले मानेनन्‌। तिनले यसो भने: “यस्तो घोर दुष्ट काम गरेर म कसरी परमेश्‍वरको विरुद्धमा पाप गर्न सक्छु र?”—उत्प. ३९:७-१२.

२. व्यभिचार गर्नु भनेको परमेश्‍वरको विरुद्धमा पाप गर्नु हो भनेर युसुफले कसरी थाह पाए?

२ यहोवा व्यभिचारलाई “घोर दुष्ट काम” ठान्‍नुहुन्छ भनेर युसुफले कसरी थाह पाए? मोसाको व्यवस्थामा “तिमीहरूले व्यभिचार नगर्नू” भनेर स्पष्ट नियम दिइएको थियो। (प्रस्थ. २०:१४) तर यो नियम युसुफको समयभन्दा दुई सय वर्षपछि मात्र लेखिएको थियो। युसुफले यहोवालाई राम्ररी चिनेकोले व्यभिचारप्रति उहाँको दृष्टिकोण बुझेका थिए। जस्तै, विवाह एक जना पुरुष र स्त्रीबीच मात्र भएको यहोवा चाहनुहुन्छ भनेर युसुफलाई थाह थियो। साथै तिनको जिज्यूआमा साराको इज्जतमा कलङ्‌क लाग्न नदिन यहोवाले कदम चाल्नुभएको दुई वटा घटनाबारे युसुफले सुनेका हुन सक्छन्‌। त्यसैगरि इसहाककी पत्नी रिबेकालाई बचाउन पनि यहोवाले कदम चाल्नुभएको थियो। (उत्प. २:२४; १२:१४-२०; २०:२-७; २६:६-११) यी कुराहरू विचार गर्दा युसुफले सही र गलतबारे परमेश्‍वरको दृष्टिकोण बुझे। तिनी परमेश्‍वरलाई प्रेम गर्थे। त्यसैले यहोवाको धार्मिक स्तरलाई पनि तिनी प्रेम गर्थे र त्यसैअनुसार चल्न चाहन्थे।

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

३ के तपाईँ धार्मिकतालाई प्रेम गर्नुहुन्छ? पक्कै गर्नुहुन्छ। तर हामी त्रुटिपूर्ण भएकोले होसियार भएनौँ भने सही र गलतबारे संसारको दृष्टिकोणले हामीलाई असर गर्न सक्छ। (यसै. ५:२०; रोमी १२:२) त्यसैले यस लेखमा धार्मिकता भनेको के हो र यसलाई प्रेम गर्दा कस्तो फाइदा हुन्छ भन्‍नेबारे छलफल गर्नेछौँ। साथै परमेश्‍वरको धार्मिक स्तरप्रतिको प्रेमलाई बलियो बनाउन चाल्नुपर्ने तीन वटा कदमबारे पनि विचार गर्नेछौँ।

धार्मिकता भनेको के हो?

४. धेरैजसोको विचारमा धर्मी व्यक्‍ति कस्तो हुन्छ?

४ कोही-कोही घमन्डी, आलोचक वा आत्मधर्मी भए तापनि आफूलाई धर्मी ठान्छन्‌। तर परमेश्‍वरलाई यस्ता दुर्गुणहरू पटक्कै मन पर्दैन। येसु पृथ्वीमा हुनुहुँदा उहाँले त्यतिबेलाका धर्मगुरुहरूको घोर भर्त्सना गर्नुभयो किनकि तिनीहरूले धार्मिकताबारे आफ्नै स्तर बनाएका थिए। (उप. ७:१६; लुका १६:१५) धर्मी व्यक्‍तिले आफू अरूभन्दा श्रेष्ठ छु भन्‍ने सोचाइ कहिल्यै पनि राख्दैन।

५. बाइबलअनुसार धार्मिकता भनेको के हो? उदाहरण दिनुहोस्‌।

५ धार्मिकता एउटा सुन्दर गुण हो। धार्मिकता भनेको यहोवाको नजरमा जे सही छ, त्यही गर्नु हो। बाइबलमा प्रयोग गरिएको “धार्मिकता” शब्दले यहोवाको उच्च नैतिक स्तरअनुसार चल्नु भन्‍ने अर्थ दिन्छ। उदाहरणको लागि, यहोवाले व्यापारीहरूलाई “ठीक तौलको ढक” प्रयोग गर्न आदेश दिनुभएको थियो। (व्यव. २५:१५) “ठीक” भनेर अनुवाद गरिएको मौलिक हिब्रू शब्दलाई “इमानदार” वा “धर्मी” भनेर पनि अनुवाद गर्न सकिन्छ। त्यसैले परमेश्‍वरको नजरमा धर्मी हुन चाहने व्यक्‍ति आफ्ना सबै व्यापारिक कारोबारमा इमानदार हुनै पर्छ। धर्मी व्यक्‍तिले न्यायलाई पनि प्रेम गर्छ। उसलाई कसैमाथि अन्याय भएको फिटिक्कै मन पर्दैन। “[यहोवालाई] पूर्ण रूपले प्रसन्‍न बनाउन” चाहने व्यक्‍तिले आफूले गर्ने निर्णयलाई उहाँ कसरी हेर्नुहुन्छ भन्‍ने कुरा विचार गर्छ।—कल. १:१०.

६. परमेश्‍वरको धार्मिक स्तर सही छ भन्‍ने कुरामा हामी किन ढुक्क हुन सक्छौँ? (यसैया ५५:८, ९)

६ बाइबलमा यहोवालाई “धार्मिकताको वासस्थान”-को रूपमा चित्रण गरिएको छ। (यर्मि. ५०:७, फुटनोट) त्यसैकारण उहाँ धार्मिकताको स्रोत हुनुहुन्छ। उहाँ सृष्टिकर्ता हुनुभएकोले सही र गलतको स्तर तोक्ने अधिकार उहाँसित मात्र छ। हामी पापी र त्रुटिपूर्ण छौँ तर यहोवा त्रुटिरहित हुनुहुन्छ। त्यसैले सही र गलतबारे उहाँको धारणा हाम्रो भन्दा धेरै उच्च छ। (हितो. १४:१२; यसैया ५५:८, ९ पढ्‌नुहोस्‌।) तर हामी परमेश्‍वरको स्वरूपमा बनिएकोले उहाँको धार्मिकताको स्तर पालन गर्ने क्षमता हामीसित छ। (उत्प. १:२७) अनि हामी त्यसो गर्न मन पराउँछौँ। परमेश्‍वरप्रतिको प्रेमले हामीलाई सक्दो उहाँको देखासिकी गर्न उत्प्रेरित गर्छ।—एफि. ५:१.

७. हामीलाई किन भरपर्दा स्तरहरू चाहिन्छ? उदाहरण दिनुहोस्‌।

७ सही र गलतबारे परमेश्‍वरको स्तर पालन गर्दा हाम्रै भलाइ हुन्छ। केही उदाहरण विचार गरौँ। प्रत्येक सहरले आ-आफ्नै ट्राफिक सङ्‌केतहरू र नियमहरू बनायो भने अवस्था कस्तो हुन्छ होला? दुर्घटना बढ्‌छ र सडक पूरै अस्तव्यस्त हुन्छ। यदि स्वास्थ्यकर्मीहरूले तोकिएको नियमअनुसार बिरामीको हेरविचार गरेनन्‌ भने बिरामीको ज्यान पनि जान सक्छ। त्यसैले भरपर्दा स्तरहरूले वास्तवमा सुरक्षा दिन्छ। त्यसैगरि सही र गलतबारे परमेश्‍वरको स्तरले हामीलाई सुरक्षा दिन्छ।

८. धार्मिकतालाई प्रेम गर्नेहरूले कस्ता आशिष्‌हरू पाउनेछन्‌?

८ यहोवा उहाँको स्तरअनुसार चल्नेहरूलाई आशिष्‌ दिनुहुन्छ। उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।” (भज. ३७:२९) सबै मानिस परमेश्‍वरको स्तरअनुसार चल्दा संसार कस्तो हुन्छ होला, के तपाईँ कल्पना गर्न सक्नुहुन्छ? त्यतिबेला शान्ति, एकता र आनन्द छाउनेछ। हामीले यस्तै वातावरणमा जीवन बिताएको यहोवा चाहनुहुन्छ। त्यसैले हामीले धार्मिकतालाई प्रेम गर्नुपर्छ। त्यसोभए हामी यस गुणप्रतिको प्रेमलाई कसरी बलियो बनाउन सक्छौँ? आउनुहोस्‌, यसो गर्न हामीले चाल्नुपर्ने तीन वटा कदम विचार गरौँ।

यहोवाको स्तरप्रतिको प्रेमलाई बलियो बनाउनुहोस्‌

९. धार्मिकतालाई प्रेम गर्न हामीले के गर्नुपर्छ?

९ कदम १: सही र गलतको स्तर तोक्नुहुने परमेश्‍वरलाई प्रेम गर्नुहोस्‌। धार्मिकतालाई प्रेम गर्न सही र गलतको स्तर तोक्नुहुने परमेश्‍वरप्रतिको प्रेम पनि बढाउँदै लैजानुपर्छ। हामी परमेश्‍वरलाई जति धेरै प्रेम गर्छौँ, उहाँको स्तरअनुसार चल्ने हाम्रो चाहना पनि त्यति नै बढ्‌नेछ। आदम र हव्वालाई विचार गर्नुहोस्‌। तिनीहरूले यहोवालाई प्रेम गरेको भए तिनीहरूले कहिल्यै उहाँको आज्ञा उल्लङ्‌घन गर्ने थिएनन्‌।—उत्प. ३:१-६, १६-१९.

१०. यहोवाको सोचाइ अझ राम्ररी बुझ्न अब्राहामले के गरे?

१० हामी पक्कै पनि आदम र हव्वाको गल्ती दोहोऱ्‍याउन चाहँदैनौँ। हामीले परमेश्‍वरबारे सिकिरह्‍यौँ, उहाँका गुणहरूको कदर गरिरह्‍यौँ र उहाँको सोचाइ बुझ्ने कोसिस गरिरह्‍यौँ भने हामी यस्तो गल्ती दोहोऱ्‍याउनदेखि जोगिन्छौँ। यसो गर्दा यहोवाप्रतिको प्रेम पनि बढ्‌नेछ। अब्राहामलाई विचार गर्नुहोस्‌। तिनी यहोवालाई साँच्चै प्रेम गर्थे। यहोवाका निर्णयहरू बुझ्न गाह्रो भए तापनि अब्राहामले विद्रोह भने कहिल्यै गरेनन्‌। बरु तिनले उहाँलाई अझ राम्ररी चिन्‍ने कोसिस गरे। उदाहरणको लागि, यहोवाले सदोम र गमोरालाई नाश गर्ने आफ्नो निर्णय बताउनुहुँदा अब्राहामलाई “सारा पृथ्वीका न्यायकर्ताले” दुष्टसँगै धर्मीहरूलाई पनि नाश गर्नुहुने हो कि भन्‍ने चिन्ता लागेको थियो। अब्राहामलाई यहोवाबाट यस्तो कहिल्यै हुन सक्दैन भन्‍ने लागेकोले तिनले नम्र हुँदै उहाँलाई एकपछि अर्को प्रश्‍न सोधे। उहाँले धीरजी हुँदै तिनका प्रश्‍नहरूको जवाफ दिनुभयो। यहोवाले प्रत्येक मानिसको हृदय जाँच्नुहुन्छ र दोषीहरूसँगै निर्दोषहरूलाई कहिल्यै नाश गर्नुहुन्‍न भनेर अब्राहामले बुझे।—उत्प. १८:२०-३२.

११. यहोवालाई प्रेम गरेको र उहाँमाथि भरोसा गरेको अब्राहामले कसरी देखाए?

११ सदोम र गमोराबारे यहोवासितको कुराकानीले अब्राहाममा गहिरो छाप पारेको थियो। यसपछि तिनले यहोवालाई झन्‌ धेरै प्रेम र आदर गर्न सके। त्यसको वर्षौँपछि अब्राहामको विश्‍वासको ठूलो जाँच भयो। यहोवाले तिनको प्यारो छोरा इसहाकलाई बलि चढाउन भन्‍नुभयो। तर यतिबेलासम्म अब्राहामले यहोवालाई राम्ररी चिनिसकेका थिए। त्यसैले तिनले यसपटक भने कुनै प्रश्‍न गरेनन्‌। तिनले यहोवाले भन्‍नुभएजस्तै गरे। तर आफ्नो छोरालाई बलि चढाउन तयारी गर्दै गर्दा तिनलाई कत्ति पीडा भइरहेको थियो होला! अब्राहामले यहोवाबारे सिकेका कुराहरूमा मनन गरेका हुन सक्छन्‌। तिनलाई परमेश्‍वरले कहिल्यै गलत वा निर्दयी काम गर्नुहुन्‍न भनेर थाह थियो। परमेश्‍वरले इसहाकलाई मृत्युबाट समेत ब्युँताउन सक्नुहुन्छ भनेर अब्राहाम विश्‍वास गर्थे। (हिब्रू ११:१७-१९) हुन पनि यहोवा परमेश्‍वरले इसहाकबाट एउटा जाति आउनेछ भनेर प्रतिज्ञा गर्नुभएको थियो। तर त्यतिबेलासम्म इसहाकको छोराछोरी भइसकेको थिएन। अब्राहाम यहोवालाई प्रेम गर्थे। त्यसैले परमेश्‍वरले कुनै पनि गलत काम गर्नुहुन्‍न भनेर तिनी ढुक्क थिए। विश्‍वासैले गर्दा तिनले गाह्रो भए पनि परमेश्‍वरको आज्ञा पालन गरे।—उत्प. २२:१-१२.

१२. हामी कसरी अब्राहामको अनुकरण गर्न सक्छौँ? (भजन ७३:२८)

१२ हामी कसरी अब्राहामको अनुकरण गर्न सक्छौँ? हामीले पनि यहोवाबारे सिकिरहनुपर्छ। यसो गर्दा हामी उहाँसित अझ नजिक हुनेछौँ र उहाँलाई अझ धेरै प्रेम गर्न सक्नेछौँ। (भजन ७३:२८ पढ्‌नुहोस्‌।) हाम्रो अन्तस्करणले पनि तालिम पाउनेछ र परमेश्‍वरको जस्तै सोचाइ राख्न सक्नेछौँ। (हिब्रू ५:१४) फलस्वरूप, गलत काम गर्ने प्रलोभन आउँदा त्यसलाई तुरुन्तै इन्कार गर्न सक्नेछौँ। यहोवालाई दुःखी बनाउने र उहाँसितको सम्बन्धलाई खतरामा पार्ने कुनै पनि काम हामी गर्नेछैनौँ न त त्यस्तो कुरा सोच्ने नै छौँ। तर हामी धार्मिकतालाई प्रेम गरेको अरू कुन तरिकामा देखाउन सक्छौँ?

१३. हामी कसरी धार्मिकताको बाटोमा हिँड्‌न सक्छौँ? (हितोपदेश १५:९)

१३ कदम २: धार्मिकताप्रतिको प्रेमलाई बढाउँदै लैजान मेहनत गर्नुहोस्‌। जसरी मांसपेशीलाई बलियो बनाउन हरेक दिन व्यायाम गर्नुपर्छ, त्यसरी नै यहोवाको धार्मिक स्तरप्रतिको प्रेमलाई बढाउँदै लैजान हरेक दिन मेहनत गर्नुपर्छ। यहोवा व्यावहारिक हुनुहुन्छ र उहाँ कहिल्यै पनि हामीले सक्नेभन्दा धेरै माग गर्नुहुन्‍न। (भज. १०३:१४) “धार्मिकताको बाटोमा हिँड्‌ने मानिसलाई उहाँ मन पराउनुहुन्छ” भनेर बाइबल बताउँछ। (हितोपदेश १५:९ पढ्‌नुहोस्‌।) हामीले परमेश्‍वरको सेवामा कुनै खास लक्ष्य राखेका छौँ भने त्यो हासिल गर्न मेहनत गर्नुपर्छ। धार्मिकताको बाटोमा हिँड्‌ने सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। यस क्षेत्रमा उन्‍नति गर्दै जाँदा यहोवा हामीलाई धीरजी भई मदत गर्नुहुन्छ।—भज. ८४:५, ७.

१४. “धार्मिकताको कवच”-ले केलाई बुझाउँछ र यो हामीलाई किन चाहिन्छ?

१४ धार्मिकताको बाटोमा हिँड्‌नु बोझिलो कुरा होइन बरु यसले हामीलाई सुरक्षा दिन्छ र यस्तो सुरक्षा हामीलाई दिनदिनै चाहिन्छ। (१ युह. ५:३) प्रेषित पावलले उल्लेख गरेको आध्यात्मिक हातहतियारबारे सम्झनुहोस्‌ त! (एफि. ६:१४-१८) ती हातहतियारमध्ये एउटा “धार्मिकताको कवच” हो, जसले परमेश्‍वरको धार्मिक स्तरलाई बुझाउँछ। कवचले सिपाहीको मुटुलाई जोगाएझैँ यहोवाको स्तरले हाम्रो प्रतीकात्मक मुटु अर्थात्‌ हाम्रो इच्छा, भावना र सोचाइलाई सुरक्षा दिन्छ। त्यसैले अन्य हातहतियारसँगै धार्मिकताको कवच लगाउन कहिल्यै नबिर्सनुहोस्‌!—हितो. ४:२३.

१५. तपाईँ कसरी धार्मिकताको कवच लगाउन सक्नुहुन्छ?

१५ तपाईँ कसरी धार्मिकताको कवच लगाउन सक्नुहुन्छ? हरेक दिन विभिन्‍न छनौट गर्नुपर्दा परमेश्‍वरको धार्मिक स्तरबारे सोच्नुहोस्‌। कस्ता विषयहरूमा कुराकानी गर्ने, कस्तो गीत-सङ्‌गीत सुन्‍ने, कस्तो फिल्म हेर्ने वा कस्तो किताब पढ्‌ने भनेर निर्णय गर्नुअघि आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘मैले यसो गर्दा आफ्नो मनमा कस्ता कुराहरू भरिरहेको हुन्छु? के यस्तो कुरा परमेश्‍वरले स्विकार्नुहुन्छ? अथवा यसले अनैतिकता, हिंसा, लोभ र स्वार्थजस्ता परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई बढावा दिन्छ कि?’ (फिलि. ४:८) तपाईँले गर्ने निर्णयहरू परमेश्‍वरको इच्छासित मेल खान्छ भने उहाँको धार्मिक स्तरले तपाईँको प्रतीकात्मक मुटुलाई सुरक्षा दिनेछ।

एक बहिनी सूर्यास्तको बेला समुद्रका छालहरू हेर्दै छिन्‌।

तपाईँको धार्मिकता “समुद्रका छालहरूझैँ” हुन सक्छ (अनुच्छेद १६-१७ हेर्नुहोस्‌)

१६-१७. हामी यहोवाको स्तरअनुसार चल्न सक्छौँ भनेर यसैया ४८:१८ ले कसरी आश्‍वासन दिन्छ?

१६ वर्षहरू बित्दै जाँदा परमेश्‍वरको स्तरअनुसार चल्न नसकिने हो कि भनेर के तपाईँलाई कहिलेकाहीँ चिन्ता लाग्छ? यसैया ४८:१८ मा यहोवाले चलाउनुभएको एउटा उदाहरण विचार गर्नुहोस्‌। (पढ्‌नुहोस्‌।) उहाँले हाम्रो धार्मिकता “समुद्रका छालहरूझैँ” हुनेछ भनेर प्रतिज्ञा गर्नुभएको छ। कल्पना गर्नुहोस्‌, तपाईँ एउटा विशाल समुद्रको किनारामा उर्लिरहेका छालहरू हेर्दै हुनुहुन्छ। यस्तो रमणीय दृश्‍य हेरिरहेको बेला कुनै दिन यी छालहरू उर्लिन बन्द हुने हो कि भनेर के तपाईँ चिन्ता गर्नुहुन्छ? पक्कै गर्नुहुन्‍न। किनभने हजारौँ वर्षदेखि ती छालहरू उर्लिँदै आएका छन्‌ र पछि पनि आइरहनेछन्‌ भनेर तपाईँलाई थाह छ।

१७ तपाईँको धार्मिकता पनि समुद्रका छालहरूजस्तै हुन सक्छ। कसरी? कुनै निर्णय गर्नुअघि यहोवा तपाईँले के गरेको चाहनुहुन्छ भनेर सोच्नुहोस्‌ अनि त्यसैअनुसार गर्नुहोस्‌। जतिसुकै गाह्रो निर्णय गर्नुपरे तापनि उहाँले तपाईँलाई बल दिनुहुनेछ र दिनदिनै उहाँको स्तरअनुसार चल्न मदत गर्नुहुनेछ।—यसै. ४०:२९-३१.

१८. हामीले किन आफ्नै स्तरको आधारमा अरूलाई गलत ठहराउनु हुँदैन?

१८ कदम ३: न्याय गर्ने काम यहोवाको हातमा छोडिदिनुहोस्‌। हामी यहोवाको धार्मिक स्तरअनुसार चल्न प्रयास गर्छौँ। तर हामीले अरूको आलोचना गर्नु हुँदैन र आत्मधर्मी हुनु हुँदैन। हामीले आफ्नै स्तरको आधारमा अरूलाई गलत ठहराउनु हुँदैन। बरु यहोवा “सारा पृथ्वीका न्यायकर्ता” हुनुहुन्छ भनेर मनमा राख्नुपर्छ। (उत्प. १८:२५) अरूको न्याय गर्ने काम यहोवाले हामीलाई सुम्पनुभएको छैन। येसुले हामीलाई यस्तो आज्ञा दिनुभएको छ: “अरूको न्याय गर्न छोडिहाल ताकि तिमीहरूको पनि न्याय नगरियोस्‌।”—मत्ति ७:१.b

१९. न्याय गर्ने काम यहोवाकै हातमा छोडिदिएको युसुफले कसरी देखाए?

१९ धर्मी पुरुष युसुफको उदाहरण फेरि विचार गरौँ। अरूबाट दुर्व्यवहार भोग्नुपरे तापनि तिनले जस्तालाई त्यस्तै गरेनन्‌। तिनका दाइहरूले तिनलाई दुर्व्यवहार गरे, दासत्वमा बेचिदिए र तिनीहरूका बुबालाई युसुफ मरिसके भनेर झूटो खबर दिए। वर्षौँपछि युसुफले आफ्नो परिवारलाई फेरि भेटे। तिनी यतिबेलासम्म फारोपछिको दोस्रो शक्‍तिशाली व्यक्‍ति भइसकेका थिए। तिनले चाहेका भए आफ्ना दाइहरूसित बदला लिन सक्थे। हुनत तिनीहरूले आफ्नो गल्तीको पश्‍चात्ताप गरेका थिए तर तिनीहरूलाई युसुफले बदला लिने हो कि भन्‍ने डर थियो। तर युसुफले तिनीहरूलाई यस्तो आश्‍वासन दिए: “नडराउनुहोस्‌, तपाईँहरूको निसाफ गर्न म परमेश्‍वर हुँ र?” (उत्प. ३७:१८-२०, २७, २८, ३१-३५; ५०:१५-२१) यसरी युसुफले नम्र हुँदै न्याय गर्ने काम यहोवाकै हातमा छोडिदिए।

२०-२१. के गऱ्‍यौँ भने हामी आत्मधर्मी भइरहेका हुन्छौँ?

२० युसुफजस्तै हामी पनि न्याय गर्ने काम यहोवाकै हातमा छोडिदिन्छौँ। उदाहरणको लागि, कुनै भाइ वा बहिनीले कुनै काम गर्नुपछाडिको मनसाय यस्तो हुनुपर्छ भनेर हामी अड्‌कल काट्‌दैनौँ। हामी मानिसहरूको हृदय पढ्‌न सक्दैनौँ; यहोवाले मात्र मानिसहरूको ‘मनसाय जाँच्न सक्नुहुन्छ।’ (हितो. १६:२) उहाँ सबै पृष्ठभूमि र संस्कृतिका मानिसहरूलाई प्रेम गर्नुहुन्छ। उहाँ हामीलाई “ठूलो मनका” हुन प्रोत्साहन दिनुहुन्छ। (२ कोरि. ६:१३) हामी भाइबहिनीको मनसायमा शङ्‌का गर्दैनौँ बरु तिनीहरूलाई प्रेम गर्छौँ।

२१ साथै हामी मण्डलीबाहिरका मानिसहरूको न्याय गर्ने काम पनि गर्दैनौँ। (१ तिमो. २:३, ४) के हामी बेग्लै आस्था भएका आफन्तहरूबारे ‘ऊ त कहिल्यै सत्यमा आउँदैन’ भनेर अड्‌कल काट्‌ने गर्छौँ? त्यसो गर्नु भनेको अहङ्‌कारी र आत्मधर्मी हुनु हो। यहोवाले अझै पनि “सबै ठाउँका मानिसहरूलाई” पश्‍चात्ताप गर्ने मौका दिइरहनुभएको छ। (प्रेषि. १७:३०) यो कुरा कहिल्यै नबिर्सनुहोस्‌, आत्मधर्मी मानिसलाई यहोवा अधर्मी मानिसको रूपमा हेर्नुहुन्छ।

२२. तपाईँ किन धार्मिकतालाई प्रेम गरिरहन चाहनुहुन्छ?

२२ यहोवाको धार्मिक स्तरलाई प्रेम गर्दा हामी आनन्दित हुन सक्छौँ अनि अरूलाई यहोवा र हामीसित अझ नजिक हुन मदत गरिरहेका हुन्छौँ। त्यसैले ‘धार्मिकताका लागि भोकाउन र तिर्खाउन’ कहिल्यै नछोडौँ। (मत्ति ५:६) उहाँको धार्मिक स्तरअनुसार चल्न तपाईँले गर्नुभएको प्रयास यहोवाले याद गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। यस संसारमा अधर्मी मानिसहरू झन्‌झनै बढ्‌दै गइरहेको भए तापनि निराश नहुनुहोस्‌ बरु यो कुरा मनमा राख्नुहोस्‌: “यहोवा धर्मी मानिसलाई प्रेम गर्नुहुन्छ।”—भज. १४६:८.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • धार्मिकता भनेको के हो?

  • यहोवाको धार्मिक स्तरअनुसार चल्दा हामीलाई कस्तो फाइदा हुन्छ?

  • यहोवाको धार्मिक स्तरप्रतिको प्रेमलाई हामी कसरी बलियो बनाउन सक्छौँ?

गीत १३९ नयाँ संसारको जीवन कल्पना गरौँ!

a यस दुष्ट संसारमा धर्मी मानिसहरू भेट्टाउन गाह्रो छ। तैपनि लाखौँ मानिस धार्मिकताको बाटोमा हिँडिरहेका छन्‌। तपाईँ पनि पक्कै त्यस्तै गर्दै हुनुहुन्छ। किनकि तपाईँ यहोवालाई प्रेम गर्नुहुन्छ र उहाँ धार्मिकतालाई प्रेम गर्नुहुन्छ। हामी धार्मिकतालाई कसरी अझ धेरै प्रेम गर्न सक्छौँ? यस लेखमा धार्मिकता भनेको के हो र यसलाई प्रेम गर्दा कस्तो फाइदा हुन्छ भनेर छलफल गर्नेछौँ। साथै यस गुणप्रतिको प्रेमलाई बलियो बनाउन कस्ता कदमहरू चाल्न सक्छौँ भनेर पनि विचार गर्नेछौँ।

b एल्डरहरूले कहिलेकाहीँ गम्भीर पाप मुछिएका मामिलाहरू सम्हाल्नुपर्ने हुन्छ। (१ कोरि. ५:११; ६:५; याकु. ५:१४, १५) मानिसहरूको हृदय पढ्‌न सकिँदैन र यहोवाको तर्फबाट न्याय गर्ने काम गर्दै छौँ भन्‍ने कुरा एल्डरहरू मनमा राख्छन्‌। (२ इतिहास १९:६ तुलना गर्नुहोस्‌।) तिनीहरू परमेश्‍वरको अनुकरण गर्दै व्यावहारिक, दयालु र निष्पक्ष भई निर्णय गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने