प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 नोभेम्बर पृ. २०-२५
  • वफादारीको जाँच हुँदा सचेत रहनुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वफादारीको जाँच हुँदा सचेत रहनुहोस्‌!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कुनै भाइबहिनीले नराम्रो व्यवहार गरेको जस्तो लाग्दा
  • अनुशासन पाउँदा
  • सङ्‌गठनमा हुने परिवर्तनअनुसार चल्न गाह्रो हुँदा
  • सबै कुरामा सचेत रहनुहोस्‌
  • तपाईँलाई कुनै कुराले यहोवादेखि अलग नपारोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • अनुशासनको उद्देश्‍यलाई बुझ्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • अनुशासन—परमेश्‍वरको प्रेमको प्रमाण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • अनुशासन—यहोवाको प्रेमको अभिव्यक्‍ति
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 नोभेम्बर पृ. २०-२५

अध्ययन लेख ४८

वफादारीको जाँच हुँदा सचेत रहनुहोस्‌!

“सबै कुरामा सचेत भएर बस।”—२ तिमो. ४:५.

गीत १२३ ईश्‍वरीय प्रबन्धलाई वफादार भई समर्थन गरौँ!

परिचयa

१. हामी कसरी सचेत रहन सक्छौँ? (२ तिमोथि ४:५)

कठिन परिस्थितिहरूको सामना गर्नुपर्दा यहोवा र उहाँको सङ्‌गठनप्रतिको हाम्रो वफादारीको जाँच हुन सक्छ। हामी कसरी त्यस्ता परिस्थितिहरूको सामना गर्न सक्छौँ? हामी सचेत र जागा रहनुपर्छ अनि विश्‍वासमा स्थिर रहनुपर्छ। (२ तिमोथि ४:५ पढ्‌नुहोस्‌।) हामी शान्त रहेर, राम्ररी सोचविचार गरेर अनि कुनै पनि मामिलालाई यहोवाको नजरले हेर्ने कोसिस गरेर सचेत रहन सक्छौँ। यसो गऱ्‍यौँ भने हाम्रो भावनाले हाम्रो सोचाइलाई वशमा पार्नेछैन।

२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

२ अघिल्लो लेखमा मण्डलीबाहिरबाट आउने तीन वटा चुनौतीबारे छलफल गऱ्‍यौँ। यस लेखमा मण्डलीभित्रैबाट आउने तीन वटा चुनौतीबारे छलफल गर्नेछौँ, जसले यहोवाप्रतिको हाम्रो वफादारीको जाँच गर्न सक्छ। ती हुन्‌: (१) कुनै भाइबहिनीले नराम्रो व्यवहार गरेको जस्तो लाग्दा, (२) अनुशासन पाउँदा र (३) सङ्‌गठनमा हुने परिवर्तनअनुसार चल्न गाह्रो हुँदा। यस्ता चुनौतीहरूको सामना गर्नुपर्दा हामी कसरी सचेत रहन अनि यहोवा र उहाँको सङ्‌गठनप्रति वफादार रहन सक्छौँ?

कुनै भाइबहिनीले नराम्रो व्यवहार गरेको जस्तो लाग्दा

३. कुनै भाइबहिनीले नराम्रो व्यवहार गरेको जस्तो लाग्दा हाम्रो प्रतिक्रिया कस्तो हुन सक्छ?

३ तपाईँलाई कुनै भाइबहिनीले वा सायद कुनै जिम्मेवार भाइले नराम्रो व्यवहार गरेको जस्तो लागेको हुन सक्छ। हुनत ती भाइको मनसाय तपाईँको चित्त दुखाउनु थिएन होला। (रोमी ३:२३; याकु. ३:२) तैपनि तिनको व्यवहारले गर्दा तपाईँको मन दुख्न सक्छ। त्यसबारे सोचेर तपाईँलाई निद्रै नलाग्न सक्छ। तपाईँको मनमा यस्तो कुरासमेत खेल्न सक्छ: ‘जिम्मेवार भाइले त यस्तो व्यवहार गर्छ भने यो कसरी परमेश्‍वरको सङ्‌गठन हुन सक्छ र?’ हामीले यस्तै सोचेको सैतान चाहन्छ। (२ कोरि. २:११) यस्तो नकारात्मक सोचाइले हामीलाई यहोवा र उहाँको सङ्‌गठनदेखि अलग पार्न सक्छ। त्यसैले कुनै भाइबहिनीले हामीलाई नराम्रो व्यवहार गरेको जस्तो लाग्दा सचेत रहन र सैतानले चाहेको जस्तै सोचाइ नराख्न के गर्न सक्छौँ?

४. दुर्व्यवहार गरिँदा युसुफले आफू सचेत रहेको कसरी देखाए र यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (उत्पत्ति ५०:१९-२१)

४ मनमा रिस नपाल्नुहोस्‌। युसुफ किशोर छँदा दाइहरूले तिनलाई दुर्व्यवहार गरे। उनीहरू युसुफलाई घृणा गर्थे र उनीहरूमध्ये केहीले त तिनलाई मार्न समेत खोजे। (उत्प. ३७:४, १८-२२) पछि उनीहरूले युसुफलाई दासत्वमा बेचिदिए। तिनले लगभग १३ वर्षसम्म कठिन परीक्षाहरूको सामना गर्नुपऱ्‍यो। त्यतिबेला तिनले ‘यहोवा मलाई माया गर्नुहुन्‍न’ र ‘दुःखमा पर्दा उहाँले मलाई त्याग्नुभयो’ भनेर सोच्न सक्थे। तर युसुफ यहोवासित रिसाएनन्‌ बरु शान्त रहेर सचेत भएको देखाए। आफ्ना दाइहरूसित बदला लिने मौका पाउँदा समेत तिनले त्यसो गरेनन्‌। बरु उनीहरूलाई प्रेम गरेको देखाए र क्षमा दिए। (उत्प. ४५:४, ५) युसुफले राम्ररी सोचविचार गर्न सकेकोले नै यस्तो दयालु व्यवहार गर्न सके। तिनले आफ्ना समस्याहरूमा नभई सबैभन्दा महत्त्वपूर्ण कुरा अर्थात्‌ यहोवाको उद्देश्‍यमा ध्यान दिए। (उत्पत्ति ५०:१९-२१ पढ्‌नुहोस्‌।) यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? कसैले नराम्रो व्यवहार गर्दा यहोवासित रिसाएर नबस्नुहोस्‌ वा ‘उहाँले मलाई त्याग्नुभयो’ भनेर नसोच्नुहोस्‌। बरु उहाँले परीक्षाहरू सहन कसरी मदत गर्दै हुनुहुन्छ भन्‍ने कुरामा मनन गर्नुहोस्‌। साथै अरूले तपाईँलाई नराम्रो व्यवहार गर्दा तिनीहरूको कमीकमजोरीलाई प्रेमले ढाक्ने कोसिस गर्नुहोस्‌।—१ पत्रु. ४:८.

५. नराम्रो व्यवहार गरिएको जस्तो लाग्दा मिकायासले आफू सचेत रहेको कसरी देखाए?

५ दक्षिण अमेरिकाका एक एल्डर मिकायासको अनुभव विचार गरौँ।b एकचोटि तिनलाई केही एल्डरले कठोर व्यवहार गरेको जस्तो लाग्यो। तिनले भने: “मलाई यस्तो तनाव कहिल्यै भएको थिएन। म साह्रै आत्तिएँ। राती पनि सुत्नै सकिनँ। निस्सहाय महसुस भएकोले म रोएँ।” तैपनि मिकायास सचेत रहे र आफ्नो भावनालाई नियन्त्रणमा राख्ने कोसिस गरे। तिनले यहोवालाई पवित्र शक्‍ति र सहने बलको लागि बारम्बार प्रार्थना गरे। तिनले हाम्रा प्रकाशनहरूमा आफूलाई मदत दिने जानकारीहरू पनि खोजे। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? कुनै भाइबहिनीले तपाईँलाई नराम्रो व्यवहार गरेको जस्तो लाग्दा शान्त रहनुहोस्‌ र नकारात्मक भावना आयो भने त्यसलाई हटाउने कोसिस गर्नुहोस्‌। ती भाइ वा बहिनीले किन त्यस्तो बोली बोले वा व्यवहार गरे भनेर तपाईँलाई थाह नहुन सक्छ। त्यसैले यहोवालाई प्रार्थना गर्नुहोस्‌ र त्यस मामिलालाई ती भाइ वा बहिनीको नजरबाट हेर्न सकूँ भनेर बिन्ती गर्नुहोस्‌। यसो गर्नुभयो भने ती भाइ वा बहिनीले नराम्रो मनसायले त्यस्तो भनेका वा गरेका थिएनन्‌ भनेर सोच्न र तिनलाई क्षमा दिन सक्नुहुनेछ। (हितो. १९:११) नबिर्सनुहोस्‌, यहोवालाई तपाईँको अवस्था राम्ररी थाह छ र उहाँले तपाईँलाई सहने बल दिनुहुनेछ।—२ इति. १६:९; उप. ५:८.

अनुशासन पाउँदा

६. यहोवाले दिनुहुने अनुशासन उहाँको प्रेमको अभिव्यक्‍ति हो भनेर बुझ्नु किन महत्त्वपूर्ण छ? (हिब्रू १२:५, ६, ११)

६ अनुशासन पीडादायी हुन सक्छ। तर आफ्नो पीडामा मात्र ध्यान दियौँ भने आफूले पाएको अनुशासन अन्यायपूर्ण र निकै कठोर थियो जस्तो लाग्न सक्छ। अनि हामीले एउटा महत्त्वपूर्ण कुरा बिर्सन सक्छौँ—यहोवाले दिनुहुने अनुशासन उहाँको प्रेमको अभिव्यक्‍ति हो। (हिब्रू १२:५, ६, ११ पढ्‌नुहोस्‌।) यदि हामीले आफ्नो भावनालाई वशमा राखेनौँ भने सैतानलाई त्यस्तो परिस्थितिको नाजायज फाइदा उठाउने मौका दिइरहेका हुन्छौँ। हामीले अनुशासनलाई तिरस्कार गरेको अनि यहोवा र उहाँको मण्डलीदेखि टाढा भएको त्यो चाहन्छ। यदि तपाईँले अनुशासन पाउनुभएको छ भने तपाईँ कसरी सचेत रहन सक्नुहुन्छ?

येसु पत्रुसलाई अरू प्रेषितहरूको अगाडि हप्काउँदै हुनुहुन्छ। चित्रहरूको सँगालो: पछि पत्रुसले पाएका जिम्मेवारीहरू: १. पत्रुस यरुसलेममा प्रेषितहरू र अन्य एल्डरहरूलाई भेट्‌दै छन्‌। २. तिनी कर्निलियस र उनको घरपरिवारलाई भेट्‌दै छन्‌। ३. तिनले मुठामा लेख्दै छन्‌।

पत्रुसले नम्र हुँदै सल्लाह र अनुशासन स्विकारेकोले तिनी यहोवाको लागि अझै उपयोगी भए (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. (क) चित्रमा देखाइएझैँ पत्रुसले अनुशासन स्विकारेपछि यहोवाले तिनलाई कसरी प्रयोग गर्नुभयो? (ख) तपाईँले पत्रुसबाट कस्तो पाठ सिक्नुभयो?

७ अनुशासन स्विकार्नुहोस्‌ र आवश्‍यक छाँटकाँट गर्नुहोस्‌। येसुले विभिन्‍न मौकामा पत्रुसलाई अरू प्रेषितहरूको अगाडि सच्याउनुभयो। (मर्कु. ८:३३; लुका २२:३१-३४) यसले गर्दा तिनले लज्जित महसुस गरेका हुन सक्छन्‌। तैपनि तिनी येसुप्रति वफादार रहे। तिनले अनुशासन स्विकारे र आफ्ना गल्तीहरूबाट पाठ सिके। पछि यहोवाले पत्रुसको वफादारीको इनाम दिनुभयो र तिनलाई मण्डलीमा गहन जिम्मेवारीहरू सुम्पनुभयो। (युह. २१:१५-१७; प्रेषि. १०:२४-३३; १ पत्रु. १:१) पत्रुसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? आफू लज्जित हुनुपरेको कुरामा मात्र ध्यान दिनुको साटो अनुशासन स्विकाऱ्‍यौँ अनि आवश्‍यक छाँटकाँट गऱ्‍यौँ भने हाम्रो आफ्नै र अरूको पनि हित हुन्छ। साथै हामी यहोवा र भाइबहिनीको लागि अझै उपयोगी हुन सक्छौँ।

८-९. अनुशासन पाउँदा बर्नाडोलाई सुरुमा कस्तो लाग्यो तर तिनलाई आफ्नो मनोवृत्ति सच्याउन केले मदत गऱ्‍यो?

८ मोजाम्बिकका बर्नाडोको अनुभव विचार गरौँ। तिनलाई एल्डरको जिम्मेवारीबाट हटाइयो। बर्नाडोलाई सुरुमा कस्तो लाग्यो? तिनी भन्छन्‌: “आफूले पाएको अनुशासन चित्त नबुझेकोले मलाई साह्रै रिस उठेको थियो।” मण्डलीका भाइबहिनीले कुन नजरले हेर्लान्‌ भनेर तिनलाई चिन्ता लागेको थियो। तिनी भन्छन्‌: “आफूले पाएको अनुशासनप्रति सही दृष्टिकोण राख्न अनि यहोवा र उहाँको सङ्‌गठनलाई फेरि भरोसा गर्न मलाई केही महिना लाग्यो।” बर्नाडोलाई आफ्नो मनोवृत्ति सच्याउन केले मदत गऱ्‍यो?

९ बर्नाडो भन्छन्‌: “एल्डर छँदा म अरूलाई हिब्रू १२:७ देखाएर यहोवाको अनुशासनप्रति सही दृष्टिकोण राख्न प्रोत्साहन दिन्थेँ। त्यो कुरा सम्झँदै आफैलाई सोधेँ: ‘यो पद कसलाई लागू हुन्छ?’ यो त यहोवाका सबै सेवकलाई अनि मलाई पनि लागू हुन्छ।” त्यसपछि बर्नाडोले यहोवा र उहाँको सङ्‌गठनप्रति फेरि भरोसा गर्न थप कदम चाले। तिनले अझ धेरै बाइबल पढ्‌न र त्यसमा मनन गर्न थाले। भाइबहिनीले तिनलाई कुन नजरले हेर्लान्‌ भनेर चिन्ता लागे तापनि तिनले उनीहरूसँगै साक्षीकार्यमा र सभाहरूमा भाग लिए। केही समयपछि बर्नाडो फेरि एल्डर नियुक्‍त भए। यदि तपाईँले पनि बर्नाडोले जस्तै अनुशासन पाउनुभएको छ भने आफू लज्जित हुनुपरेको कुरामा मात्र ध्यान दिनुको साटो सल्लाह स्विकार्नुहोस्‌ र आवश्‍यक छाँटकाँट गर्नुहोस्‌।c (हितो. ८:३३; २२:४) यहोवा र उहाँको सङ्‌गठनप्रति वफादार रहेकोमा उहाँले तपाईँलाई पक्कै इनाम दिनुहुनेछ।

सङ्‌गठनमा हुने परिवर्तनअनुसार चल्न गाह्रो हुँदा

१०. सङ्‌गठनमा भएको परिवर्तनले गर्दा केही इस्राएली पुरुषको वफादारीको कसरी जाँच गरेको हुन सक्छ?

१० सङ्‌गठनमा हुने परिवर्तनले हाम्रो वफादारीको जाँच गर्न सक्छ। होसियार भएनौँ भने यस्तो कुराले हामीलाई यहोवादेखि अलग पार्न सक्छ। जस्तै, मोसाको व्यवस्था दिइएपछि भएको एउटा परिवर्तनले केही इस्राएलीलाई कस्तो असर पारेको हुन सक्छ, विचार गरौँ। इस्राएलीहरूलाई व्यवस्था दिइनुअघि परिवारका शिरहरूले पुजारीको भूमिका पनि निर्वाह गर्थे। तिनीहरू वेदी बनाउँथे र आफ्नो परिवारको तर्फबाट यहोवाको लागि बलि चढाउँथे। (उत्प. ८:२०, २१; १२:७; २६:२५; ३५:१, ६, ७; अय्यु. १:५) तर व्यवस्था दिइएपछि परिवारका शिरहरूले बलि चढाउन नपर्ने भयो। बरु यस कामको लागि यहोवाले हारुनको घरानाबाट पुजारीहरू नियुक्‍त गर्नुभयो। यस्तो परिवर्तनपछि पुजारीले गर्नुपर्ने काम परिवारको शिरले गरे भने तिनलाई मृत्युदण्ड दिइन सक्थ्यो।d (लेवी १७:३-६, ८, ९) कोरह, दातान, अबिराम र २५० कुलनायक मोसा र हारुनविरुद्ध खडा हुनुको एउटा कारण यही थियो कि? (गन्ती १६:१-३) हामी यस कुरामा पक्का छैनौँ। तर जेहोस्‌, कोरह र तिनका साथीहरू यहोवाप्रति वफादार रहेनन्‌। यदि सङ्‌गठनमा भएको परिवर्तनले तपाईँको वफादारीको जाँच गऱ्‍यो भने तपाईँ के गर्न सक्नुहुन्छ?

चार जना कोहातीले करारको सन्दुक बोक्दै छन्‌। चित्रहरूको सँगालो: पछि कोहातीहरूले पाएका जिम्मेवारीहरू: १. एक कोहाती गीत गाउँदै छन्‌। २. अर्का कोहाती ढोका बन्द गर्दै छन्‌। ३. अर्का कोहाती भण्डारमा भएको खानेकुराको हिसाबकिताब राख्दै छन्‌।

कोहातीहरूको जिम्मेवारी परिवर्तन भएपछि तिनीहरूले खुसीसाथ गायक, ढोके वा भण्डारेको रूपमा सेवा गरे (अनुच्छेद ११ हेर्नुहोस्‌)

११. केही कोहाती लेवीबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

११ सङ्‌गठनमा हुने परिवर्तनलाई पूरापूर समर्थन गर्नुहोस्‌। निर्जनभूमिमा यात्राको दौडान कोहातीहरूलाई एउटा विशेष जिम्मेवारी दिइएको थियो। इस्राएलीहरूले आफ्नो छाउनी प्रत्येक चोटि सार्दा केही कोहातीले करारको सन्दुक सबैभन्दा अघिअघि लैजानुपर्थ्यो। (गन्ती ३:२९, ३१; १०:३३; यहो. ३:२-४) कत्ति ठूलो सुअवसर! तर इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा बसोबास गरिसकेपछि सन्दुकलाई बोकेर कतै लैजानुपरेन। त्यसैले सुलेमानको शासनकालसम्ममा त केही कोहातीले गायक, ढोके र भण्डारेको जिम्मेवारी सम्हाल्दै थिए। (१ इति. ६:३१-३३; २६:१, २४) तर पहिले पाएको विशेष जिम्मेवारी सम्झँदै कोहातीहरूले गनगन गरेको वा अझै ठूलो जिम्मेवारी खोजेको विवरण बाइबलमा कतै पाइँदैन। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? यहोवाको सङ्‌गठनले कुनै परिवर्तन गर्दा त्यसले तपाईँको असाइनमेन्टलाई पनि असर गर्न सक्छ। तैपनि त्यस परिवर्तनलाई पूरापूर समर्थन गर्नुहोस्‌। जुनसुकै असाइनमेन्ट दिइए तापनि त्यसमा रमाउनुहोस्‌। नबिर्सनुहोस्‌, यहोवाले तपाईँलाई असाइनमेन्टको आधारमा होइन, तपाईँले देखाएको आज्ञाकारिताको आधारमा अनमोल ठान्‍नुहुन्छ।—१ समु. १५:२२.

१२. असाइनमेन्ट परिवर्तन हुँदा जाइनाले कस्तो महसुस गरिन्‌?

१२ मध्यपूर्वकी जाइनाको अनुभव विचार गरौँ। तिनको असाइनमेन्ट परिवर्तन भयो। तिनले बेथेलमा २३ वर्षभन्दा धेरै सेवा गरेकी थिइन्‌ र तिनलाई यो असाइनमेन्ट एकदमै मन पर्थ्यो। तर तिनलाई क्षेत्रमा खटाइयो। तिनी यसो भन्छिन्‌: “मेरो असाइनमेन्ट परिवर्तन होला भनेर मैले सोचेकै थिइनँ। मलाई आफू बेकारको रहेछु जस्तो लाग्यो। मेरो मनमा ‘मैले के गल्ती गरेँ’ भन्‍ने प्रश्‍न आइरहन्थ्यो।” त्यसमाथि मण्डलीका केही भाइबहिनीले तिनको ‘घाउमा नुन-चुक छर्ने’ काम गरे। तिनीहरूले यसो भने: “तपाईँले राम्रो काम गरेको भए त बेथेलले तपाईँलाई राखिहाल्थ्यो होला नि!” केही समय त जाइना यत्ति निराश भइन्‌ कि तिनी हरेक रात रुन्थिन्‌। तर तिनी यसो भन्छिन्‌: “मैले यहोवाको प्रेम र उहाँको सङ्‌गठनप्रति कहिल्यै शङ्‌का गरिनँ।” जाइनालाई सचेत रहिरहन केले मदत गऱ्‍यो?

१३. जाइनाले नकारात्मक भावनाहरू कसरी हटाइन्‌?

१३ जाइनाले नकारात्मक भावनाहरू कसरी हटाइन्‌? तिनले आफूले भोगिरहेको समस्याको सामना गर्न मदत गर्ने लेखहरू पढिन्‌। फेब्रुअरी १, २००१ अङ्‌कको प्रहरीधरहरा-को “तपाईं निरुत्साहसँग सामना गर्न सक्नुहुन्छ!” भन्‍ने लेखले तिनलाई धेरै मदत गऱ्‍यो। त्यस लेखमा बाइबलका लेखक मर्कुसले आफ्नो असाइनमेन्ट परिवर्तन हुँदा के गरे भनेर बताइएको छ। जाइना भन्छिन्‌: “मर्कुसको उदाहरण मेरो लागि निरुत्साह हटाउने औषधी साबित भयो।” जाइनाले आफ्ना साथीहरूसित सरसङ्‌गत गर्न पनि छोडिनन्‌। तिनले आफूलाई अरूदेखि अलग्याइनन्‌ न त आफूलाई बिचराको पात्र ठानिन्‌। यहोवाले नै उहाँको सङ्‌गठनलाई डोऱ्‍याउँदै हुनुहुन्छ र नेतृत्व लिने भाइहरूले तिनको राम्ररी ख्याल राखेका छन्‌ भन्‍ने कुरा तिनले महसुस गरिन्‌। साथै यहोवाको काम सबैभन्दा राम्रो तरिकामा पूरा गर्न उहाँको सङ्‌गठनले कहिलेकाहीँ यस्ता परिवर्तनहरू गर्नुपर्ने हुन्छ भनेर पनि तिनले बुझिन्‌।

१४. भ्लाडोलाई सङ्‌गठनमा भएको कस्तो परिवर्तन स्विकार्न गाह्रो भयो र तिनलाई केले मदत गऱ्‍यो?

१४ स्लोभेनियाका ७३ वर्षीय एल्डर भ्लाडोको अनुभव विचार गरौँ। तिनको मण्डली अर्को मण्डलीसँग गाभिँदा तिनी गइरहेको सभाभवन बन्द भयो। तिनलाई त्यो परिवर्तन स्विकार्न गाह्रो भयो। तिनी भन्छन्‌: “यत्ति सुन्दर सभाभवन किन बन्द गरियो, मैले बुझ्नै सकिनँ। मेरो असाध्यै चित्त दुख्यो किनभने त्यो सभाभवन हामीले भर्खरै मर्मतसम्भार गरेका थियौँ। म पेसाले सिकर्मी हुँ अनि मैले सभाभवनको लागि नयाँ फर्निचरहरू पनि बनाएको थिएँ। मण्डलीहरू गाभिँदा थुप्रै छाँटकाँट गर्नुपर्ने भयो, जुन हामी उमेर ढल्किसकेका प्रकाशकहरूको लागि सजिलो थिएन।” यो परिवर्तन स्विकार्न भ्लाडोलाई केले मदत गऱ्‍यो? तिनी भन्छन्‌: “यहोवाको सङ्‌गठनमा हुने परिवर्तनहरू स्विकार्दा सधैँ आशिष्‌ पाइन्छ। यसले हामीलाई भविष्यमा हुने अझै ठूला परिवर्तनहरू स्विकार्न तयार बनाउँछ।” मण्डलीहरू गाभिँदा वा असाइनमेन्ट परिवर्तन हुँदा त्यसअनुसार चल्न तपाईँलाई गाह्रो भइरहेको छ कि? यहोवा तपाईँको भावना बुझ्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। यस्ता परिवर्तनहरूलाई समर्थन गरेर यहोवा र उहाँको सङ्‌गठनप्रति वफादार रहँदा तपाईँले पक्कै आशिष्‌ पाउनुहुनेछ।—भज. १८:२५.

सबै कुरामा सचेत रहनुहोस्‌

१५. मण्डलीभित्रैबाट चुनौतीहरू आइपर्दा हामी कसरी सचेत रहन सक्छौँ?

१५ यस युगको अन्त नजिकिँदै जाँदा मण्डलीभित्रैबाट चुनौतीहरू आउन सक्छन्‌ भनेर हामीलाई थाह छ। यस्ता चुनौतीहरूले यहोवाप्रतिको हाम्रो वफादारीको जाँच गर्न सक्छ। त्यसैले हामी हरघडी सचेत रहनुपर्छ। कुनै भाइबहिनीले नराम्रो व्यवहार गरेको जस्तो लाग्दा मनमा रिस पालेर नराख्नुहोस्‌। अनुशासन पाउँदा आफू लज्जित हुनुपरेको कुरामा बढ्‌तै ध्यान दिनुको साटो सल्लाह स्विकार्नुहोस्‌ र आवश्‍यक छाँटकाँट गर्नुहोस्‌। अनि सङ्‌गठनमा भएका परिवर्तनहरूले तपाईँलाई व्यक्‍तिगत रूपमा असर गरेको छ भने पनि त्यसलाई मनैदेखि स्विकार्नुहोस्‌ र निर्देशनअनुसार चल्नुहोस्‌।

१६. तपाईँ कसरी यहोवा र उहाँको सङ्‌गठनप्रतिको भरोसालाई कायम राख्न सक्नुहुन्छ?

१६ तपाईँको वफादारीको जाँच हुँदा तपाईँले यहोवा र उहाँको सङ्‌गठनप्रतिको भरोसालाई कायम राख्न सक्नुहुन्छ। तर त्यसको लागि तपाईँ सचेत रहनुपर्छ। मतलब तपाईँ शान्त रहनुपर्छ, राम्ररी सोचविचार गर्नुपर्छ र कुनै पनि मामिलालाई यहोवाको नजरले हेर्ने कोसिस गर्नुपर्छ। यस्तै परिस्थितिको सफलतापूर्वक सामना गरेका बाइबल पात्रहरूबारे पढ्‌नुहोस्‌ र त्यसमा मनन गर्नुहोस्‌। मदतको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌। आफूलाई मण्डलीदेखि कहिल्यै अलग नपार्नुहोस्‌। यसो गर्नुभयो भने जस्तोसुकै परिस्थिति आइपरे पनि सैतानले तपाईँलाई यहोवा र उहाँको सङ्‌गठनदेखि अलग पार्न सक्नेछैन।—याकु. ४:७.

हामी कसरी निम्न अवस्थामा यहोवा र उहाँको सङ्‌गठनप्रति वफादार रहन सक्छौँ?

  • कुनै भाइबहिनीले नराम्रो व्यवहार गरेको जस्तो लाग्दा

  • अनुशासन पाउँदा

  • सङ्‌गठनमा हुने परिवर्तनअनुसार चल्न गाह्रो हुँदा

गीत १२६ जागा रहौँ, दह्रो होऔँ र पराक्रमी हुँदै जाऔँ!

a विशेषगरि मण्डलीभित्रबाट आउने चुनौतीहरूले गर्दा यहोवा र उहाँको सङ्‌गठनप्रतिको हाम्रो वफादारीको जाँच हुन सक्छ। यस लेखमा तीमध्ये तीन वटा चुनौतीबारे अनि यहोवा र उहाँको सङ्‌गठनप्रति वफादार रहन हामी के गर्न सक्छौँ भन्‍नेबारे छलफल गर्नेछौँ।

b केही नाम परिवर्तन गरिएका छन्‌।

c अगस्त १, २००९ अङ्‌कको प्रहरीधरहरा, पृष्ठ २५ मा भएको “के तपाईं पहिले जस्तै फेरि जिम्मेवारी बहन गर्न सक्नुहुन्छ?” भन्‍ने लेखमा थप सुझाव पाउन सक्नुहुन्छ।

d परिवारको शिरले मासु खान मन लागेको बेला व्यवस्थाअनुसार आफ्नो घरपालुवा जनावर वासस्थानमा लैजानुपर्थ्यो। तर आफ्नो घर वासस्थानदेखि धेरै टाढा छ भने त्यहाँसम्म लैजानुपर्दैन थियो।—व्यव. १२:२१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने