प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 सेप्टेम्बर pp. २०-२५
  • के तपाईँ चेतावनीहरूमा ध्यान दिँदै हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ चेतावनीहरूमा ध्यान दिँदै हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • भेडा र बाख्रा
  • बुद्धिमती र निर्बुद्धि कन्याहरू
  • टालेन्ट
  • कसलाई “लगिनेछ”?
  • चेतावनीहरूमा ध्यान दिनुहोस्‌
  • के तपाईं ‘जागा रहनुहुनेछ’?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • चनाखो र लगनशील हुनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • ‘विश्‍वासी दासले’ परीक्षा पार गर्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • दस कन्याको उदाहरण—चनाखो रहनेबारे पाठ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 सेप्टेम्बर pp. २०-२५

अध्ययन लेख ३८

गीत २५ विशेष सम्पत्ति

के तपाईँ चेतावनीहरूमा ध्यान दिँदै हुनुहुन्छ?

“एक जनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ।”—मत्ति २४:४०.

सिक्न सकिने कुरा

यस लेखमा हामी येसुले बताउनुभएका तीन वटा उदाहरण विचार गर्नेछौँ र यस युगको अन्त आउनुभन्दा ठ्याक्कै अघि उहाँले गर्नुहुने न्यायसित ती कसरी सम्बन्धित छन्‌ भनेर छलफल गर्नेछौँ।

१. चाँडै येसुले के गर्नुहुनेछ?

हामी अहिले निर्णायक समयमा बाँचिरहेका छौँ! चाँडै येसुले पृथ्वीमा जीवित सबैको न्याय गर्नुहुनेछ। त्यो न्याय हुनुअघि के हुनेछ भनेर येसुले आफ्ना चेलाहरूलाई बताउनुभयो। उहाँले आफ्नो अदृश्‍य उपस्थिति र “यस युगको आखिरी समयको” भविष्यसूचक “चिन्ह”-बारे बताउनुभयो। (मत्ति २४:३) यस भविष्यवाणीबारे मत्ति अध्याय २४ र २५, मर्कुस अध्याय १३ अनि लुका अध्याय २१ मा बताइएको छ।

२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

२ येसुले तीन वटा चेतावनीमूलक उदाहरण बताउनुभयो। ती हुन्‌: भेडा र बाख्राको, बुद्धिमती र निर्बुद्धि कन्याहरूको अनि टालेन्टको। प्रत्येक मानिसले के गर्छ, त्यसको आधारमा येसुले तिनको न्याय गर्नुहुनेछ भनेर बुझ्न ती उदाहरणहरूले मदत गर्नेछ। यस लेखमा हामी ती उदाहरणहरूबाट कस्ता पाठहरू सिक्न सक्छौँ र ती पाठहरू आफ्नो जीवनमा कसरी लागू गर्न सक्छौँ भनेर विचार गर्नेछौँ। आउनुहोस्‌, सुरुमा भेडा र बाख्राको उदाहरण छलफल गरौँ।

भेडा र बाख्रा

३. येसुले मानिसहरूको न्याय कहिले गर्नुहुनेछ?

३ भेडा र बाख्राको उदाहरणमा येसुले केको आधारमा मानिसहरूको न्याय गरिनेछ भनेर बताउनुभयो। मानिसहरूले सुसमाचार सुनेपछि कस्तो प्रतिक्रिया देखाउँछन्‌ र उहाँका अभिषिक्‍त भाइहरूलाई समर्थन गर्छन्‌ कि गर्दैनन्‌, त्यसको आधारमा तिनीहरूको न्याय गरिनेछ भनेर उहाँले बताउनुभयो। (मत्ति २५:३१-४६) “महासङ्‌कष्ट”-को दौडान आरमागेडोनको लडाइँ सुरु हुनुभन्दा ठीकअघि उहाँले न्याय गर्नुहुनेछ। (मत्ति २४:२१) गोठालोले भेडा र बाख्रा छुट्ट्याएझैँ येसुले अभिषिक्‍त भाइहरूलाई समर्थन गर्नेहरू र नगर्नेहरूलाई छुट्ट्याउनुहुनेछ।

४. यसैया ११:३, ४ अनुसार येसुले निष्पक्ष न्याय गर्नुहुनेछ भन्‍ने कुरामा हामी किन ढुक्क हुन सक्छौँ? ( चित्र पनि हेर्नुहोस्‌।)

४ बाइबलको भविष्यवाणीअनुसार यहोवाले नियुक्‍त गर्नुभएको न्यायाधीश येसुले निष्पक्ष न्याय गर्नुहुनेछ। (यसैया ११:३, ४ पढ्‌नुहोस्‌।) उहाँले मानिसहरूको आचरण, मनोवृत्ति र बोली नियाल्नुहुन्छ। साथै तिनीहरूले उहाँका अभिषिक्‍त भाइहरूसित कस्तो व्यवहार गर्छन्‌, त्यो पनि नियाल्नुहुन्छ। (मत्ति १२:३६, ३७; २५:४०) येसुका अभिषिक्‍त भाइहरू र तिनीहरूको कामलाई क-कसले समर्थन गरे, त्यो उहाँले हेर्नुहुनेछ।a भेडाखाले मानिसहरूले ख्रिष्टका भाइहरूलाई समर्थन गर्ने एउटा मुख्य तरिका भनेको साक्षीकार्यमा तिनीहरूलाई सघाउनु हो। यसरी सघाउनेहरू “धर्मी” ठहरिनेछन्‌ र तिनीहरूले पृथ्वीमा “अनन्त जीवन” बिताउने आशा पाउनेछन्‌। (मत्ति २५:४६; प्रका. ७:१६, १७) निष्ठावान्‌ रहनेहरूको लागि कत्ति ठूलो इनाम! महासङ्‌कष्टको दौडान र त्यसपछि पनि विश्‍वासी हुनेहरूको नाम “जीवनको पुस्तकमा” रहिरहनेछ।—प्रका. २०:१५.

येसु स्वर्गबाट पृथ्वीमा दुई समूहका मानिसहरूलाई हेर्दै हुनुहुन्छ। चित्रहरूको सँगालो: भाइबहिनीहरू यहोवाको उपासना गर्दै छन्‌। १. एक बहिनीको हातमा ट्याबलेट छ र तिनी आकाशतिर हेर्दै छिन्‌। २. एक दम्पती बाइबल पढ्‌दै छ। ३. भाइबहिनीहरू निर्माण परियोजनामा काम गर्दै छन्‌। ४. जेलमा परेका एक भाइ प्रार्थना गर्दै छन्‌। ५. एक वृद्धा सभामा टिप्पणी दिँदै छिन्‌। ६. अस्पतालमा भर्ना भएकी एक बहिनी नर्सलाई पर्चा दिँदै छिन्‌। ७. एक बुबा आफ्नो परिवारसँगै अध्ययन गर्दै छन्‌। चित्रहरूको सँगालो: मानिसहरू बाइबल सिद्धान्तविपरीत काम गर्दै छन्‌। १. एक जना मान्छे क्यासिनोमा प्रार्थना गर्दै छन्‌। २. एक जना मान्छेले एक जना महिलालाई पिट्‌दै छन्‌। ३. आक्रोशित प्रदर्शनकारीहरू। ४. बन्दुक भिरेका मानिस पार्किङ गर्ने ठाउँमा एक महिलाको पिछा गर्दै छन्‌। ५. एक पास्टर सैनिकहरूको लागि प्रार्थना गर्दै छन्‌। ६. एक महिला लागूपदार्थ सेवन गर्दै छिन्‌।

चाँडै येसुले मानिसहरूलाई भेडाखाले वा बाख्राखाले मानिसहरूको रूपमा न्याय गर्नुहुनेछ (अनुच्छेद ४ हेर्नुहोस्‌)


५. भेडा र बाख्राको उदाहरणबाट सिक्न सकिने पाठ के हो र यसमा पाइने चेतावनी कसलाई लागू हुन्छ?

५ विश्‍वासी र वफादार हुनुहोस्‌। भेडा र बाख्राको उदाहरणमा पाइने चेतावनी खासगरि पृथ्वीमा सधैँभरि जीवन बिताउने आशा भएकाहरूलाई लागू हुन्छ। तिनीहरू ख्रिष्टका भाइहरूलाई साक्षीकार्यमा सघाएर आफ्नो विश्‍वास देखाउँछन्‌। साथै तिनीहरू येसुले नियुक्‍त गर्नुभएको “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले दिने निर्देशन वफादार भई पालन गरेर पनि विश्‍वास देखाउँछन्‌। (मत्ति २४:४५) तर भेडा र बाख्राको उदाहरणमा पाइने चेतावनी स्वर्गमा जीवन बिताउने आशा भएकाहरूलाई पनि लागू हुन्छ। किन? किनभने येसुले तिनीहरूको आचरण, मनोवृत्ति र बोली याद गर्नुहुन्छ। तिनीहरू पनि विश्‍वासी रहनुपर्छ। येसुले मत्ति अध्याय २५ मा बताउनुभएको अर्को दुई वटा उदाहरणमा पाइने चेतावनी खासगरि अभिषिक्‍त जनहरूलाई लागू हुन्छ। आउनुहोस्‌, अब हामी बुद्धिमती र निर्बुद्धि कन्याहरूको उदाहरण छलफल गरौँ।

बुद्धिमती र निर्बुद्धि कन्याहरू

६. पाँच जना कन्या कसरी बुद्धिमती साबित भए? (मत्ति २५:६-१०)

६ येसुले दस कन्याबारे बताउनुभयो, जो आ-आफ्नो दियो लिएर दुलहालाई भेट्‌न निस्किए। (मत्ति २५:१-४) तिनीहरू दुलहासँगै विवाह भोजमा सहभागी हुन चाहन्थे। येसुले तीमध्ये पाँच जनालाई “बुद्धिमती” र पाँच जनालाई “निर्बुद्धि” भन्‍नुभयो। बुद्धिमती कन्याहरू तयार र सजग थिए। तिनीहरू दुलहा राती ढिलो आए पनि पर्खिरहन तयार थिए। त्यसैले तिनीहरूले दियोका साथै आ-आफ्नो भाँडोमा तेल पनि लगेका थिए। (मत्ति २५:६-१० पढ्‌नुहोस्‌।) दुलहा आउँदा बुद्धिमती कन्याहरू तिनीसितै विवाह भोजमा सहभागी हुन भित्र पसे। त्यसैगरि ख्रिष्ट नआउन्जेल सजग र विश्‍वासी रहेका अभिषिक्‍त ख्रिष्टियनहरू येसुको स्वर्गीय राज्यमा उहाँसँगै सहभागी हुन योग्य ठहरिनेछन्‌।b (प्रका. ७:१-३) पाँच निर्बुद्धि कन्याहरूले चाहिँ के गरे?

७. निर्बुद्धि कन्याहरूलाई के भयो? किन?

७ निर्बुद्धि कन्याहरू तयार थिएनन्‌। तिनीहरूको दियो निभ्नै लागेको थियो र तिनीहरूले दियोमा थप्न तेल ल्याएका थिएनन्‌। त्यसैले तिनीहरू तेल किन्‍न गए। “तिनीहरू पसल जाँदै गर्दा दुलहा आइपुगे र तयार भएर बसेका कन्याहरू विवाह-भोजमा सहभागी हुन तिनीसँगै भित्र पसे अनि ढोका बन्द गरियो।” (मत्ति २५:१०) पछि निर्बुद्धि कन्याहरू पनि आइपुगे। तिनीहरूले दुलहालाई ढोका खोलिदिन आग्रह गरे। तर दुलहाले तिनीहरूलाई यस्तो जवाफ दिए: “मैले तिमीहरूलाई चिनेकै छैनँ।” (मत्ति २५:११, १२) ती निर्बुद्धि कन्याहरू दुलहा नआउन्जेल पर्खन तयार थिएनन्‌। यसबाट अभिषिक्‍त जनहरूले कस्तो पाठ सिक्न सक्छन्‌?

८-९. कन्याहरूको उदाहरणबाट अभिषिक्‍त जनहरूले कस्तो पाठ सिक्न सक्छन्‌? (चित्र पनि हेर्नुहोस्‌।)

८ तयार र सजग रहनुहोस्‌। येसुले यस युगको अन्तसम्म पर्खन तयार रहने र नरहने अभिषिक्‍त जनहरूको दुइटा समूह हुनेछ भनेर भविष्यवाणी गरिरहनुभएको थिएन। बरु अन्तसम्मै सहन तयार रहेनन्‌ भने नतिजा के हुनेछ भनेर बताउँदै हुनुहुन्थ्यो। तिनीहरूले आफ्नो इनाम पाउने थिएनन्‌। (युह. १४:३, ४) कस्तो दुःखलाग्दो नतिजा! चाहे हाम्रो आशा स्वर्ग जाने होस्‌ वा यसै पृथ्वीमा सधैँभरि बाँच्ने, हामीले कन्याहरूको उदाहरणमा पाइने चेतावनीलाई गम्भीरतासाथ लिनुपर्छ। हामी प्रत्येक नै अन्तसम्म सहन जागा र तयार रहनुपर्छ।—मत्ति २४:१३.

९ तयार र सजग रहनुपर्ने महत्त्वलाई जोड दिन कन्याहरूको उदाहरण बताउनुभएपछि येसुले टालेन्टको उदाहरण बताउनुभयो। टालेन्टको उदाहरणले मेहनती हुनुको महत्त्वलाई जोड दिन्छ।

एक भाइ आफूले हेरिरहेको समाचारलाई बाइबलमा सिकेको कुरासित तुलना गर्दै छन्‌। गोलो घेराभित्र येसुले बताउनुभएको दस कन्याको उदाहरण देखाइएको छ।

हामी अन्तसम्मै सहन तयार र सजग भएर कन्याहरूको उदाहरणमा पाइने चेतावनीमा ध्यान दिन्छौँ (अनुच्छेद ८-९ हेर्नुहोस्‌)


टालेन्ट

१०. दुई जना दासले आफूलाई कसरी विश्‍वासी साबित गरे? (मत्ति २५:१९-२३)

१० टालेन्टको उदाहरणमा येसुले तीन जना दासबारे बताउनुभयो। तिनीहरूमध्ये दुई जना विश्‍वासी थिए तर एक जना भने विश्‍वासी थिएनन्‌। (मत्ति २५:१४-१८) मालिकले तिनीहरूलाई प्रशस्तै चाँदीका सिक्काहरू दिए र परदेशतिर लागे। ती दुईजना दासले आफ्नो मालिकको सम्पत्तिलाई बढाउन कडा मेहनत गरे र आफूलाई विश्‍वासी साबित गरे। तिनीहरू मेहनती थिए। तिनीहरूले बुद्धिमानीपूर्वक पैसाको प्रयोग गरे। नतिजा कस्तो भयो? मालिक परदेशबाट फर्कँदा तिनीहरूले मालिकले दिएको भन्दा दुई गुणा पैसा कमाइसकेका थिए। मालिकले तिनीहरूको प्रशंसा गरे र ‘तिनीहरू आफ्नो मालिक सँगसँगै रमाए।’ (मत्ति २५:१९-२३ पढ्‌नुहोस्‌।) तर तेस्रो दास नि? तिनले मालिकले दिएको पैसा के गरे?

११. “अल्छे” दासलाई के भयो र किन?

११ तेस्रो दासले एक टालेन्ट पाएको थियो। त्यसले त्यो टालेन्ट बुद्धिमानीपूर्वक प्रयोग गरेको मालिक चाहन्थे। तर “अल्छे” भएकोले त्यसले त्यो धन जमिन खनेर लुकायो। मालिक फर्कँदा त्यसले त्यही एक टालेन्ट मात्र दिन सक्यो। त्यसको नियतै खराब थियो। मालिकको लागि केही पनि कमाउन नसकेकोले क्षमा माग्नुको साटो त्यसले मालिकलाई “कठोर मानिस” भन्यो। मालिक ती दासदेखि खुसी भएनन्‌। त्यति मात्र होइन, त्यससित भएको टालेन्ट खोसियो र त्यस दासलाई घरबाहिर फालियो।—मत्ति २५:२४, २६-३०.

१२. दुई विश्‍वासी दासले कसलाई बुझाउँछ?

१२ दुई विश्‍वासी दासले विश्‍वासी अभिषिक्‍त ख्रिष्टियनहरूलाई बुझाउँछ। मालिक येसु ‘तिनीहरूलाई आफू सँगसँगै रमाउन’ निम्तो दिनुहुन्छ। तिनीहरूले स्वर्गीय इनाम पाउँछन्‌ अर्थात्‌ तिनीहरूलाई “मृत्युबाट सुरुमा जीवित पारिन्छ।” (मत्ति २५:२१, २३; प्रका. २०:५ख) अर्कोतर्फ अल्छे दासको उदाहरणबाट अभिषिक्‍त जनहरूले चेतावनी पाउन सक्छन्‌। कस्तो चेतावनी?

१३-१४. टालेन्टको उदाहरणबाट अभिषिक्‍त ख्रिष्टियनहरूले कस्तो पाठ सिक्न सक्छन्‌? (चित्र पनि हेर्नुहोस्‌।)

१३ मेहनती र लगनशील हुनुहोस्‌। कन्याहरूको उदाहरणमा जस्तै टालेन्टको उदाहरणमा पनि येसुले केही अभिषिक्‍त जनहरू अल्छे हुनेछन्‌ भनेर भविष्यवाणी गरिरहनुभएको थिएन। बरु तिनीहरू अल्छे भए भने के हुन सक्छ भनेर बताउँदै हुनुहुन्थ्यो। अल्छे भए भने तिनीहरू “परमेश्‍वरले बोलाउनुभएको अनि छान्‍नुभएको व्यक्‍तिको रूपमा लायक भइरहन” सक्ने थिएनन्‌ न त स्वर्गको राज्यमा प्रवेश गर्न सक्ने थिए।—२ पत्रु. १:१०.

१४ कन्याहरूको र टालेन्टको उदाहरणबाट सबै अभिषिक्‍त ख्रिष्टियनहरू तयार र सजग रहनुपर्छ अनि मेहनती र लगनशील हुनुपर्छ भनेर स्पष्ट हुन्छ। तर येसुले अभिषिक्‍त ख्रिष्टियनहरूलाई अर्को एउटा चेतावनी पनि दिनुभएको थियो। त्यो चेतावनी हामी मत्ति २४:४०, ४१ मा पाउँछौँ।

एक अभिषिक्‍त बहिनी एक युवतीलाई बाइबल अध्ययन गराउँदै छिन्‌। गोलो घेराभित्र येसुले बताउनुभएको टालेन्टको उदाहरण देखाइएको छ।

अभिषिक्‍त जनहरू अन्तसम्मै मेहनती र लगनशील भएको येसु चाहनुहुन्छ (अनुच्छेद १३-१४ हेर्नुहोस्‌)d


कसलाई “लगिनेछ”?

१५-१६. जागा रहिरहनुपर्छ भनेर मत्ति २४:४०, ४१ मा कसरी जोड दिइएको छ?

१५ यस लेखमा छलफल गरिएका तीन वटा उदाहरण बताउनुअघि येसुले अभिषिक्‍त जनहरूको अन्तिम न्यायबारे बताउनुभयो। परमेश्‍वरको अनुमोदन पाएकाहरू को हुन्‌ भनेर त्यतिबेला प्रकट हुनेछ। उहाँले खेतमा काम गरिरहेका दुई जना पुरुष र जाँतो घुमाइरहेका दुइटी स्त्रीबारे बताउनुभयो। ती दुईजना पुरुष एउटै काम गर्दै थिए जस्तो देखिन्छ तर येसुले “एक जनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ” भन्‍नुभयो। ती दुइटी स्त्रीले पनि एउटै काम गरिरहेको जस्तो देखिए तापनि येसुले “एउटीलाई लगिनेछ अनि अर्कीलाई छोडिनेछ” भन्‍नुभयो। (मत्ति २४:४०, ४१ पढ्‌नुहोस्‌।) त्यसपछि येसुले आफ्ना अनुयायीहरूलाई यस्तो आग्रह गर्नुभयो: “जागा रहो किनकि तिमीहरूका प्रभु कुन दिन आउँदै हुनुहुन्छ, तिमीहरूलाई थाह छैन।” (मत्ति २४:४२) कन्याहरूको उदाहरण बताउनुभएपछि पनि येसुले यस्तै कुरा बताउनुभयो। (मत्ति २५:१३) के यी कुराहरू आपसमा सम्बन्धित छन्‌? छन्‌ जस्तो देखिन्छ। किनभने येसुले विश्‍वासी रहेका अभिषिक्‍त जनहरूलाई मात्र आफ्नो स्वर्गीय राज्यमा ‘लैजानुहुनेछ।’—युह. १४:३.

१६ जागा रहनुहोस्‌। जागा रहिरहन नसक्ने अभिषिक्‍त ख्रिष्टियनहरू “परमेश्‍वरले चुन्‍नुभएका जनहरू”-सित जम्मा गरिनेछैनन्‌। (मत्ति २४:३१) अभिषिक्‍त ख्रिष्टियनहरू मात्र होइन, पृथ्वीमा सधैँभरि जीवन बिताउने आशा पाएकाहरू पनि जागा रहनुपर्छ र विश्‍वासी हुनुपर्छ।

१७. यहोवाले हालैका वर्षहरूमा अभिषिक्‍त जनहरू रोज्नुभए तापनि हामी किन निराश हुनुपर्दैन?

१७ यहोवा कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर हामीलाई थाह छ। त्यसैले उहाँले सही न्याय गर्नुहुन्छ भनेर हामी भरोसा गर्छौँ। यहोवाले हालैका वर्षहरूमा अभिषिक्‍त जनहरू छान्‍नुभएको छ भने पनि हामी निराश हुँदैनौँ।c बरु अङ्‌गुर बगानको उदाहरणमा येसुले भन्‍नुभएको कुरा सम्झन्छौँ। (मत्ति २०:१-१६) अङ्‌गुर बगानमा एघारौँ घडीमा काम सुरु गर्ने खेतालाहरूले पनि पहिला बोलाइएकाहरूले जत्तिकै ज्याला पाए। त्यसैगरि अभिषिक्‍त जनहरूलाई जहिले छानिएको भए तापनि वफादार रहिरहेको खण्डमा तिनीहरूले स्वर्गीय इनाम पाउनेछन्‌।

चेतावनीहरूमा ध्यान दिनुहोस्‌

१८-१९. हामीले कस्ता कुराहरू सिक्यौँ?

१८ यहाँसम्म हामीले के सिक्यौँ? पृथ्वीमा सधैँभरि जीवन बिताउने आशा पाएकाहरूले भेडा र बाख्राको उदाहरणबाट एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छन्‌। त्यो हो: अहिले र आउँदै गरेको महासङ्‌कष्टको दौडान हामी यहोवाप्रति विश्‍वासी र वफादार रहिरहनुपर्छ। येसुले विश्‍वासी ठहराउनुभएकाहरूलाई आरमागेडोनको ठ्याक्कै अघि “अनन्त जीवन”-को इनाम दिनुहुनेछ।—मत्ति २५:४६.

१९ हामीले अभिषिक्‍त जनहरूलाई लागू हुने दुइटा चेतावनीमूलक उदाहरणबारे पनि छलफल गऱ्‍यौँ। बुद्धिमती र निर्बुद्धि कन्याहरूको उदाहरणमा पाँच जना कन्याहरू बुद्धिमानी साबित भए। किनभने तिनीहरू दुलहालाई जत्ति लामो समय पर्खन पनि तयार र सजग थिए। तर निर्बुद्धि कन्याहरू भने तयार थिएनन्‌। त्यसैले दुलहाले तिनीहरूलाई आफ्नो विवाह भोजमा सहभागी हुन दिएनन्‌। त्यसैगरि हामी पनि येसुले यस दुष्ट युगलाई नाश नगर्नुभएसम्म कुर्न तयार हुनुपर्छ। साथै टालेन्टको उदाहरणमा दुई जना विश्‍वासी दासहरू मेहनती र लगनशील थिए भनेर हामीले छलफल गऱ्‍यौँ। तिनीहरूले आफ्नो मालिकको सम्पत्ति बढाउन कडा मेहनत गरे र मालिक तिनीहरूदेखि खुसी भए। तर अल्छे दासदेखि भने मालिक खुसी भएनन्‌। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हामीले अन्तसम्मै यहोवाको सेवा गरिरहनुपर्छ। साथै अभिषिक्‍त जनहरू स्वर्ग ‘लगिन’ तिनीहरू जागा रहिरहनुपर्छ भनेर पनि छलफल गऱ्‍यौँ। तिनीहरू स्वर्गमा ‘येसुसित हुन जम्मा गरिने’ दिनको उत्सुकतासाथ प्रतीक्षा गर्छन्‌। आरमागेडोनको युद्धपछि तिनीहरू येसुको दुलही हुनेछन्‌।—२ थिस्स. २:१; प्रका. १९:९.

२०. येसुका चेतावनीहरूमा ध्यान दिनेहरूले कस्तो इनाम पाउनेछन्‌?

२० न्यायको दिन झन्‌झनै नजिकिँदै गइरहेको छ। तर हामी डराउनुपर्दैन। किनभने हामी विश्‍वासी रहिरह्‍यौँ भने हाम्रो मायालु बुबाले हामीलाई “असाधारण शक्‍ति” दिनुहुन्छ ताकि हामी “मानिसको छोरासामु खडा हुन” सकौँ। (२ कोरि. ४:७; लुका २१:३६) चाहे हाम्रो आशा स्वर्ग जाने होस्‌ वा यसै पृथ्वीमा सधैँभरि जीवन बिताउने, येसुका चेतावनीमूलक उदाहरणहरूमा ध्यान दियौँ भने हामीले यहोवालाई खुसी बनाइरहेका हुन्छौँ। यहोवाले असीम अनुग्रह देखाउनुहुनेछ र हाम्रो नाम जीवनको ‘पुस्तकमा लेखिनेछ।’—दानि. १२:१; प्रका. ३:५.

हामी निम्न उदाहरणहरूबाट कस्तो पाठ सिक्न सक्छौँ?

  • भेडा र बाख्रा

  • बुद्धिमती र निर्बुद्धि कन्याहरू

  • टालेन्ट

गीत २६ यिनलाई जे गऱ्‍यौ, मलाई नै गऱ्‍यौ

a मे २०२४ अङ्‌कको प्रहरीधरहरा-को “यहोवाले भविष्यमा गर्नुहुने न्यायबारे हामीलाई के थाह छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

b थप जानकारीको लागि मार्च १५, २०१५ अङ्‌कको प्रहरीधरहरा-को “के तपाईं ‘जागा रहनुहुनेछ’?” भन्‍ने लेख हेर्नुहोस्‌।

c जनवरी २०२० अङ्‌कको प्रहरीधरहरा-को पृ. २९-३०, अनु. ११-१४ हेर्नुहोस्‌।

d चित्रको व्याख्या: एक अभिषिक्‍त बहिनी साक्षीकार्यमा भेटेकी एक युवतीलाई बाइबल अध्ययन गराउँदै छिन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने