के तपाईँलाई थाह थियो?
पुरातन इस्राएलमा सङ्गीत कत्तिको महत्त्वपूर्ण थियो?
पुरातन इस्राएलमा सङ्गीतको महत्त्वपूर्ण स्थान थियो। बाइबलमा मानिसहरूले बाजागाजा बजाएको र गीतहरू गाएको विवरणहरू पाउँछौँ। वास्तवमा बाइबलको दस भागको एक भाग गीतहरू हुन्। तीमध्ये केही किताबको नाम भन्नुपर्दा भजन, श्रेष्ठगीत र विलाप हुन्। बाइबलकालीन समयमा सङ्गीत (अङ्ग्रेजी) भन्ने किताबअनुसार इस्राएलीहरू थुप्रै अवसरहरूमा गीतहरू गाउने र बाजागाजा बजाउने गर्थे भनेर बाइबल पढ्दा स्पष्टसित बुझ्न सक्छौँ।
दैनिक जीवनमा सङ्गीत। इस्राएलीहरू आफ्नो भावना व्यक्त गर्न बाजा बजाउँथे र गीत गाउँथे। (यसै. ३०:२९) राज्याभिषेकको बेला, चाडपर्वमा अनि लडाइँमा जित हासिल गरेको बेला स्त्रीहरू खैंजडी र बाजा बजाउँदै खुसीले गाउँथे र नाच्थे। (न्याय. ११:३४; १ समु. १८:६, ७; १ राजा १:३९, ४०) इस्राएलीहरू प्रियजनको मृत्यु हुँदा आफ्नो दुःख व्यक्त गर्न शोकगीतहरू गाउँथे। (२ इति. ३५:२५) बाइबलविद् म्याक्लिन्टक र स्ट्रङले लेखेको विश्वकोशअनुसार “हिब्रूहरूलाई सङ्गीत धेरै मन पर्थ्यो।”
राजदरबारमा सङ्गीत। इस्राएलका राजाहरूलाई सङ्गीत असाध्यै मन पर्थ्यो। राजा साउलले दाउदलाई वीणा बजाउन दरबारमा बोलाए। (१ समु. १६:१८, २३) राजा भएपछि दाउदले बाजाहरू बनाए, सुन्दर गीतहरू रचे र वाद्यवादन टोलीको प्रबन्ध मिलाए, जुन टोलीले पछि यहोवाको भवनमा पनि बजाए। (२ इति. ७:६; आमो. ६:५) राजा सुलेमानको दरबारमा गायक-गायिकाहरू थिए।—उप. २:८.
उपासनामा सङ्गीत। सबैभन्दा महत्त्वपूर्ण कुरा, इस्राएलीहरू यहोवाको प्रशंसा गर्न बाजा बजाउँथे र गीतहरू गाउँथे। यरुसलेमको मन्दिरमा ४ हजार जना सङ्गीतकारहरू बाजा बजाएर यहोवाको प्रशंसा गर्थे। (१ इति. २३:५) तिनीहरू झ्याली, तारेबाजा र वीणा बजाउँथे अनि बिगुल फुक्थे। (२ इति. ५:१२) तर अरू इस्राएलीहरू पनि यहोवाको उपासनामा बाजा बजाउने र गीत गाउने गर्थे। थुप्रै इस्राएलीहरू हरेक वर्ष यरुसलेममा चाड मनाउनको लागि यात्रा गर्दा ‘उकालीको गीत’ भनिने भजन गाउँथे। (भज. १२०–१३४) यहुदीहरूको लेखोटअनुसार इस्राएलीहरू निस्तार चाडको बेला ‘हल्लेल भजन’a गाउँथे।
परमेश्वरका जनहरूको लागि आज पनि सङ्गीत उत्तिकै महत्त्वपूर्ण छ। (याकु. ५:१३) हामी यहोवाको उपासना गर्न गीतहरू गाउँछौँ। (एफि. ५:१९) सङ्गीतले हामीलाई दाजुभाइ दिदीबहिनीहरूसित एकतामा बाँध्छ। (कल. ३:१६) अनि यसले कठिनाइहरू सहन बल दिन्छ। (प्रेषि. १६:२५) सङ्गीत यहोवाप्रतिको प्रेम र उहाँमाथिको विश्वास देखाउने एउटा सुन्दर तरिका हो।
a यहुदीहरू भजन ११३ देखि ११८ लाई ‘हल्लेल भजन’ भन्छन्, जुन यहोवाको प्रशंसा गर्न गाइन्थ्यो।