प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 फेब्रुअरी पृ. २-७
  • यहोवाले दिनुहुने क्षमाप्रति हामी किन कृतज्ञ छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले दिनुहुने क्षमाप्रति हामी किन कृतज्ञ छौँ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मिलाप
  • प्रायश्‍चित
  • फिरौती
  • पापबाट मुक्‍ति र परमेश्‍वरको नजरमा धर्मी
  • फिरौतीको बलिदानबाट हामी के सिक्न सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवाको प्रेमबाट हामी कस्तो लाभ उठाउन सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवाले दिनुहुने क्षमाबाट तपाईँ कस्तो लाभ उठाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवाले मानिसहरूलाई पाप र मृत्युबाट छुटकारा दिन के गर्नुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 फेब्रुअरी पृ. २-७

अध्ययन लेख ६

गीत १८ फिरौतीको बलिदानप्रति कृतज्ञ

यहोवाले दिनुहुने क्षमाप्रति हामी किन कृतज्ञ छौँ?

“परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो।”—युह. ३:१६.

सिक्न सकिने कुरा

यहोवाले हाम्रा पापहरू क्षमा गर्न के-के गर्नुभयो भनेर राम्ररी बुझ्यौँ भने उहाँले दिनुहुने क्षमाप्रति हाम्रो कृतज्ञता अझ बढ्‌छ।

१-२. अहिले मानिसहरूको अवस्था उदाहरणमा बताइएको मानिसको जस्तै छ भनेर किन भन्‍न सक्छौँ?

एउटा धनी परिवारमा हुर्किएका एक जना मानिसबारे कल्पना गर्नुहोस्‌। एकदिन तिनका आमाबुबा दुवै जनाको दुर्घटनामा मृत्यु हुन्छ। यो खबर सुनेपछि तिनको मुटु छियाछिया हुन्छ। त्यति मात्र कहाँ हो र, तिनका आमाबुबाले आफ्नो सबै धनसम्पत्ति उडाएका रहेछन्‌ र ऋणमा चुर्लुम्मै डुबेका रहेछन्‌ भनेर थाह पाउँदा तिनको होसहवासै उड्‌छ। आमाबुबाले तिनलाई सम्पत्ति छोडेर जानुको साटो ऋणको भारी बोकाएर गए अनि ऋण दिनेहरू पनि अहिले तिनीकहाँ आएर दिनरात कचकच गरिरहन्छन्‌। त्यति धेरै ऋण तिनले कहिल्यै तिर्न सक्दैनन्‌।

२ केही हदसम्म हाम्रो अवस्था पनि ती मानिसको जस्तै छ। हाम्रा प्रथम आमाबुबा आदम र हव्वा त्रुटिरहित थिए र सुन्दर प्रमोदवनमा बस्थे। (उत्प. १:२७; २:७-९) तिनीहरूले सधैँभरि सुखी जीवन बिताउन सक्थे तर अचानक सबै कुरा भताभुङ्‌ग भयो। तिनीहरूले पाप गरे। त्यसपछि तिनीहरू अदनको बगैँचाबाट निकालिए र तिनीहरूले सधैँभरि बाँच्ने मौका गुमाए। तिनीहरूका छोराछोरीले तिनीहरूबाट के पाए? बाइबल यसो भन्छ: “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु, त्यसैले मृत्यु सबै मानिसमा व्याप्त भयो किनकि तिनीहरू सबैले पाप गरे।” (रोमी ५:१२) आदमले हामीलाई दिएको कुरा पाप हो, जसले मृत्युसम्म पुऱ्‍याउँछ। यस पापलाई ठूलो ऋणसित तुलना गर्न सकिन्छ, जुन हामीमध्ये कसैले तिर्न सक्दैनौँ।—भज. ४९:८.

३. पापलाई किन “ऋण”-सित तुलना गर्न सकिन्छ?

३ येसुले पापलाई “ऋण”-सित तुलना गर्नुभयो। (मत्ति ६:१२; लुका ११:४) पाप गर्दा हामी एक अर्थमा यहोवाप्रति ऋणी भइरहेका हुन्छौँ। पाप गरेपछि हामीले पाउने सजाय भनेको मृत्यु हो। यहोवाले हाम्रा पापहरू क्षमा गर्ने कुनै प्रबन्ध नमिलाउनुभएको भए हामीसित फेरि बाँच्ने कुनै आशा हुने थिएन।—रोमी ६:७, २३.

४. (क) यहोवाको मदतविना हामीलाई के हुने थियो? (भजन ४९:७-९) (ख) बाइबलमा प्रयोग गरिएको “पाप” शब्दले केलाई बुझाउँछ? (“पाप” भन्‍ने पेटी हेर्नुहोस्‌।)

४ हामी आफ्नै बलबर्कतमा आदम र हव्वाले गुमाएका कुराहरू कहिल्यै फिर्ता पाउन सक्दैनौँ। (भजन ४९:७-९ पढ्‌नुहोस्‌।) यहोवाको मदतविना हामीले भविष्यको सुन्दर आशा पाउने थिएनौँ न त फेरि जीवित हुने आशा नै पाउने थियौँ। हामी पनि जनावरहरूजस्तै मर्ने थियौँ र फेरि कहिल्यै जीवित हुने थिएनौँ।—उप. ३:१९; २ पत्रु. २:१२.

पाप

बाइबलमा प्रयोग गरिएको “पाप” शब्दले विभिन्‍न कुरालाई बुझाउँछ।

  • पहिलो, आदमले यहोवा परमेश्‍वरविरुद्ध गरेको पाप।—उत्प. ३:१७-१९; रोमी ५:१४, १७.

  • दोस्रो, आदमबाट हामीले जन्मजात पाएको त्रुटिपूर्ण झुकाव।—भज. ५१:५.

  • तेस्रो, जन्मजात पाएको त्रुटिपूर्ण झुकावले गर्दा हामीबाट हुने गलत काम (जानेर वा नजानेर)।—युह. ८:३४; याकु. १:१४, १५.

५. हाम्रो पापको ऋण चुक्‍ता गर्न यहोवाले के गर्नुभयो? (चित्र हेर्नुहोस्‌।)

५ यस लेखको सुरुमै बताइएको मानिसबारे फेरि विचार गरौँ। एक जना धनी मानिसले तिनको सबै ऋण तिरिदिन्छु भन्यो भने तिनलाई कस्तो लाग्नेछ? यस्तो ठूलो उपहार पाएकोमा तिनी पक्कै खुसी हुनेछन्‌ र कृतज्ञ महसुस गर्नेछन्‌। त्यसैगरि हाम्रो मायालु बुबा यहोवाले हामीलाई एउटा उपहार दिनुभएको छ, जसले आदमबाट पाएको जन्मजात पापको ऋण चुक्‍ता गर्न सक्छ। त्यस उपहारबारे येसुले यसो भन्‍नुभयो: “परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो ताकि ऊमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” (युह. ३:१६) त्यही उपहारले गर्दा यहोवासित सुमधुर सम्बन्ध गाँस्ने बाटो पनि खुलेको छ।

चित्रहरूको सँगालो: १. येसु केही बोल्दै हुनुहुन्छ। २. रोमी सिपाहीहरू येसुको शव यातनाको खम्बाबाट झार्छन्‌।

येसुले फिरौतीको बलिदानको आधारमा यहोवा हाम्रा पापहरू क्षमा गर्नुहुन्छ भन्‍ने सुसमाचार सुनाउनुभयो। (युह. ३:१६) पछि उहाँले फिरौतीको बलिदानस्वरूप राजीखुसीले आफ्नो जीवन अर्पण गर्नुभयो (अनुच्छेद ५ हेर्नुहोस्‌)


६. यस लेखमा हामी बाइबलका कुन-कुन अभिव्यक्‍तिबारे छलफल गर्नेछौँ र किन?

६ यस बहुमूल्य उपहारबाट हामी कसरी लाभ उठाउन सक्छौँ? त्यसले कसरी हाम्रा पापहरू क्षमा गर्छ? यी प्रश्‍नहरूको जवाफ हामी बाइबलका यी अभिव्यक्‍तिहरूमा पाउँछौँ। ती हुन्‌: मिलाप, प्रायश्‍चित, फिरौती, पापबाट मुक्‍ति र परमेश्‍वरको नजरमा धर्मी। यस लेखमा हामी ती प्रत्येक अभिव्यक्‍तिको अर्थ छलफल गर्नेछौँ। हाम्रा पापहरू क्षमा गर्न यहोवाले गर्नुभएका यी कुराहरूमा मनन गऱ्‍यौँ भने उहाँप्रति अझ कृतज्ञ हुनेछौँ।

मिलाप

७. (क) आदम र हव्वाले के-के गुमाए? (ख) हामी आदम र हव्वाकै सन्तान भएकोले हामीले के गर्नुपर्छ? (रोमी ५:१०, ११)

७ पाप गरेपछि आदम र हव्वाले अनन्त जीवनको आशा मात्र होइन, यहोवासितको अनमोल सम्बन्ध पनि गुमाए। पाप गर्नुअघि तिनीहरू यहोवाको परिवारको भाग थिए। (लुका ३:३८) तर पाप गरेपछि यहोवाले तिनीहरूलाई आफ्नो परिवारबाट निकालिदिनुभयो। त्यतिबेला तिनीहरूले छोराछोरी जन्माइसकेका थिएनन्‌। (उत्प. ३:२३, २४; ४:१) हामी पनि तिनीहरूकै सन्तान भएकोले यहोवासितको हाम्रो सम्बन्ध बिग्रिएको छ। त्यसैले हामीले यहोवासित मिलाप गर्नुपर्छ। (रोमी ५:१०, ११ पढ्‌नुहोस्‌।) अर्को शब्दमा भन्‍ने हो भने हामीले उहाँसित फेरि सुमधुर सम्बन्ध गाँस्नुपर्छ। एउटा किताबअनुसार “मिलाप”-को लागि प्रयोग गरिएको ग्रीक शब्दले “शत्रुलाई मित्र बनाउनु” भन्‍ने बुझाउँछ। रोचक कुरा, मिलाप गर्न यहोवाले नै पहिलो कदम चाल्नुभयो। उहाँले कसरी त्यसो गर्नुभयो?

प्रायश्‍चित

८. प्रायश्‍चितको प्रबन्ध भनेको के हो?

८ प्रायश्‍चित भनेको पापी मानिसहरूले यहोवासित फेरि सुमधुर सम्बन्ध गाँस्न सकून्‌ भनेर उहाँले मिलाउनुभएको प्रबन्ध हो। यसमा दुई वटा बराबर मूल्यको चिज साटासाट गर्नु समावेश छ। यस प्रबन्धले गर्दा पहिला गुमेको वा नाश भएको कुरा फेरि पाउन सम्भव भयो। यसले गर्दा आदमका सन्तानले यहोवासित सुमधुर सम्बन्ध गाँस्न सकेका छन्‌।—रोमी ३:२५.

९. इस्राएलीहरूको पाप क्षमा गर्न यहोवाले कस्तो अस्थायी प्रबन्ध मिलाउनुभयो?

९ इस्राएलीहरूले यहोवासित सुमधुर सम्बन्ध गाँस्न सकून्‌ भनेर उहाँले तिनीहरूका पापहरू क्षमा गर्ने एउटा अस्थायी प्रबन्ध मिलाउनुभएको थियो। इस्राएलमा हरेक वर्ष प्रायश्‍चितको दिन मनाइन्थ्यो। त्यस दिन प्रधानपुजारीले इस्राएलीहरूले गरेका पापहरूको लागि पशुबलिहरू चढाउँथे। तर पशुबलिले मात्र इस्राएलीहरूको पाप पूर्णतया क्षमा गर्न सक्दैनथ्यो। किनभने पशुको जीवन र मानिसको जीवनको मूल्य बराबर हुँदैन। तर पश्‍चात्तापी इस्राएलीहरूले यहोवाले भन्‍नुभएझैँ बलिदानहरू चढाउँदा उहाँले तिनीहरूको पाप क्षमा गर्नुहुन्थ्यो। (हिब्रू १०:१-४) प्रायश्‍चितको दिनमा चढाइने पशुबलि र नियमित रूपमा चढाइने पापबलिहरूले इस्राएलीहरूलाई आफू पापी छु भन्‍ने कुरा सम्झाउँथ्यो। साथै पापहरूको पूर्णतया क्षमा पाउन एउटा स्थायी प्रबन्धको आवश्‍यकता छ भन्‍ने कुरा पनि सम्झाउँथ्यो।

१०. यहोवाले मानिसहरूको पाप क्षमा गर्न कस्तो स्थायी प्रबन्ध मिलाउनुभयो?

१० यहोवाले मानिसहरूको पाप क्षमा गर्न एउटा स्थायी प्रबन्ध मिलाउनेबारे सोचिसक्नुभएको थियो। उहाँले “धेरैका पापहरू बोक्न एकै चोटि सदाको लागि बलि” चढाउन आफ्नो प्यारो छोरा दिनुभयो। (हिब्रू ९:२८) येसुले “धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान” दिनुभयो। (मत्ति २०:२८) फिरौती भनेको के हो?

फिरौती

११. (क) बाइबलमा प्रयोग गरिएको फिरौतीले केलाई बुझाउँछ? (ख) फिरौतीको मूल्य कस्तो व्यक्‍तिले मात्र तिर्न सक्थे?

११ बाइबलमा प्रयोग गरिएको फिरौतीले क्षमा पाउन र मिलाप गर्न तिरिने मूल्यलाई बुझाउँछ।a यहोवाले फिरौतीकै आधारमा मानिसहरूले गुमाएको कुरा फिर्ता दिनुहुने थियो। याद गर्नुहोस्‌, आदम र हव्वाले त्रुटिरहित जीवन र सधैँभरि बाँच्ने आशा गुमाए। त्यसैले फिरौतीको मूल्य र तिनीहरूले गुमाएको कुराको मूल्य बराबर हुनुपर्थ्यो। (१ तिमो. २:६) एक जना वयस्क पुरुषले मात्र फिरौतीको मूल्य तिर्न सक्थे, जो (१) त्रुटिरहित, (२) पृथ्वीमा सधैँभरि जीवन बिताउन सक्ने र (३) हाम्रो लागि आफ्नो जीवन बलिदान दिन इच्छुक हुनुपर्थ्यो। तब मात्र ती मानिसको जीवन र आदमले गुमाएको जीवनको मूल्य बराबर हुने थियो।

१२. येसुले किन फिरौतीको मूल्य तिर्न सक्नुहुन्थ्यो?

१२ येसुले फिरौतीको मूल्य तिर्न सक्नुका तीन वटा कारण विचार गरौँ। (१) उहाँ त्रुटिरहित हुनुहुन्थ्यो र “उहाँले एउटै पाप गर्नुभएन।” (१ पत्रु. २:२२) (२) त्यसैले उहाँ पृथ्वीमा सधैँभरि बाँच्न सक्नुहुन्थ्यो र (३) उहाँ हाम्रो लागि आफ्नो जीवन बलिदान दिन तयार हुनुहुन्थ्यो। (हिब्रू १०:९, १०) पाप गर्नुअघि आदम त्रुटिरहित भएजस्तै येसु पनि त्रुटिरहित हुनुहुन्थ्यो। (१ कोरि. १५:४५) त्यसैले आदमले गुमाएको कुरा फिर्ता पाउन जति मूल्य तिर्नुपर्थ्यो, येसुले त्यति नै मूल्य तिर्न सक्नुहुन्थ्यो। (रोमी ५:१९) बाइबलमा येसुलाई “अन्तिम आदम” भनिएको छ। येसु “एकै चोटि सदाको लागि” मर्नुभयो। (हिब्रू ७:२७; १०:१२) त्यसैले आदमले गुमाएको कुरा फिर्ता पाउन फेरि अर्को त्रुटिरहित व्यक्‍तिको आवश्‍यकता परेन।

१३. प्रायश्‍चितको प्रबन्ध र फिरौतीबीचको भिन्‍नता के हो?

१३ प्रायश्‍चितको प्रबन्ध र फिरौतीबीचको भिन्‍नता के हो? प्रायश्‍चितको प्रबन्ध भनेको परमेश्‍वरले मानिसहरूसित फेरि सुमधुर सम्बन्ध गाँस्न चाल्नुभएको कदम हो। फिरौती भनेको मानिसहरूको पाप क्षमा गर्न तिरिएको मूल्य हो। त्यो मूल्य भनेको येसुले हाम्रो लागि बगाउनुभएको अमूल्य रगत हो।—एफि. १:७; हिब्रू ९:१४.

पापबाट मुक्‍ति र परमेश्‍वरको नजरमा धर्मी

१४. अब हामी के छलफल गर्नेछौँ र किन?

१४ प्रायश्‍चितको प्रबन्धका लाभहरू के-के हुन्‌? यस प्रबन्धका लाभहरूबारे बुझाउन बाइबलमा विभिन्‍न अभिव्यक्‍ति प्रयोग गरिएका छन्‌। ती अभिव्यक्‍तिहरूको अर्थबीच केही समानता छन्‌। तर प्रत्येक अभिव्यक्‍तिले प्रायश्‍चितको प्रबन्धको एउटा खास पक्षलाई जोड दिन्छ। आउनुहोस्‌, अब हामी यी अभिव्यक्‍तिहरूलाई केलाएर हेरौँ। यसो गऱ्‍यौँ भने त्यसले व्यक्‍तिगत तवरमा हामीलाई कस्तो लाभ पुऱ्‍याउँछ भनेर बुझ्नेछौँ।

१५-१६. (क) बाइबलमा प्रयोग गरिएको “मुक्‍ति” शब्दले केलाई बुझाउँछ? (ख) हामी पाप र मृत्युबाट छुटकारा पाउन सक्छौँ भनेर थाह पाउँदा कस्तो महसुस गर्छौँ?

१५ बाइबलमा प्रयोग गरिएको मुक्‍तिले फिरौतीको मूल्य तिरेपछि पाइने छुटकारालाई बुझाउँछ। यसबारे प्रेषित पत्रुसले यस्तो लेखे: “तिमीहरूलाई थाह छ, तिमीहरूले आफ्ना पुर्खाहरूबाट जुन निरर्थक जीवनशैली पाएका थियौ, त्यसबाट तिमीहरू मुक्‍त भएका छौ। [शा., “तिमीहरूलाई फिरौती तिरेर छुटाइएको छ।”] यो मुक्‍ति तिमीहरूले चाँदी वा सुनजस्ता नाशवान्‌ वस्तुहरूद्वारा पाएका होइनौ तर निष्खोट अनि बेदाग पाठो अर्थात्‌ ख्रिष्टको अमूल्य रगतद्वारा पाएका हौ।”—१ पत्रु. १:१८, १९; फुटनोट।

१६ फिरौतीको बलिदानले गर्दा हामी पाप र मृत्युको दासत्वबाट मुक्‍त हुन सक्छौँ। (रोमी ५:२१) येसुको अमूल्य रगतले गर्दा सम्भव भएको मुक्‍तिको लागि हामी यहोवा र येसुप्रति मनैदेखि कृतज्ञ छौँ।—१ कोरि. १५:२२.

१७-१८. (क) परमेश्‍वरको नजरमा धर्मी ठहरिनु भनेको के हो? (ख) परमेश्‍वरको नजरमा धर्मी ठहरिँदा हामीलाई कस्तो लाभ हुन्छ?

१७ परमेश्‍वरको नजरमा धर्मी ठहरिनु भनेको उहाँले हाम्रा पापका ऋणहरू माफी गर्नु र हाम्रा पापहरूलाई पखाल्नु हो। यसो गर्दा के यहोवाले आफ्नो न्यायको स्तर उल्लङ्‌घन गरिरहनुभएको हुन्छ? अहँ, हुँदैन। उहाँले हामीलाई हामीले गरेका असल कामहरूको आधारमा धर्मी ठहराउनुहुन्‍न न त उहाँ हाम्रा पापहरूलाई नै बेवास्ता गर्नुहुन्छ। हामी प्रायश्‍चितको प्रबन्धमा विश्‍वास गर्छौँ र हाम्रो लागि फिरौतीको मोल तिरिएको छ। त्यसैको आधारमा यहोवा हाम्रा पापहरू क्षमा गर्नुहुन्छ।—रोमी ३:२४; गला. २:१६.

१८ परमेश्‍वरको नजरमा धर्मी ठहरिँदा हामीलाई कस्तो लाभ हुन्छ? येसुसँग स्वर्गमा शासन गर्न छानिएकाहरूलाई परमेश्‍वरले आफ्नो सन्तानको रूपमा धर्मी ठहराउनुभएको छ। (ति. ३:७; १ युह. ३:१) उहाँले तिनीहरूका पापहरू क्षमा गर्नुभएको छ। उहाँले एक अर्थमा तिनीहरूको पापहरूको रेकर्ड पूर्ण रूपमा मेटाइदिनुभएको छ र तिनीहरू उहाँको राज्यमा पस्न योग्य भएका छन्‌। (रोमी ८:१, २, ३०) पृथ्वीमा सधैँभरि जीवन बिताउने आशा पाएकाहरूलाई उहाँले आफ्नो मित्रको रूपमा धर्मी ठहराउनुभएको छ र तिनीहरूका पापहरू क्षमा गर्नुभएको छ। (याकु. २:२१-२३) आरमागेडोनमा बच्ने ठूलो भीडसित कहिल्यै मर्नु नपर्ने आशा छ। (युह. ११:२६) मरिसकेका “धर्मी” र “अधर्मी”-हरू फेरि जीवित हुनेछन्‌। (प्रेषि. २४:१५; युह. ५:२८, २९) अन्तमा पृथ्वीमा रहेका सबै वफादार उपासकहरूले “परमेश्‍वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता” पाउनेछन्‌। (रोमी ८:२१) प्रायश्‍चितको प्रबन्धले गर्दा परमेश्‍वरकै सन्तानको रूपमा उहाँसित मिलाप गर्न पाउनु कत्ति ठूलो आशिष्‌को कुरा!

१९. अहिले हाम्रो अवस्था कस्तो छ? (“निम्न अभिव्यक्‍तिहरूले हाम्रो लागि कस्तो अर्थ राख्छ?” भन्‍ने पेटी हेर्नुहोस्‌।)

१९ पहिलो अनुच्छेदमा बताइएको मानिसबारे फेरि विचार गरौँ। तिनले आफ्नो सबै कुरा गुमाउनुपरेको थियो र कहिल्यै तिर्न नसकिने ऋणको भारी बोक्नुपरेको थियो। हाम्रो अवस्था पनि त्यस्तै थियो तर यहोवाले हामीलाई त्यत्तिकै छोड्‌नुभएको छैन। उहाँले प्रायश्‍चित र फिरौतीको प्रबन्ध गर्नुभयो। त्यसैले हामी निस्सहाय छैनौँ। येसु ख्रिष्टमाथिको विश्‍वासले गर्दा हाम्रो लागि पाप र मृत्युबाट छुटकारा पाउने बाटो खुलेको छ। अनि पापहरूको क्षमा पाउन र पापहरूको रेकर्ड मेटिन सम्भव भएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले मायालु बुबा यहोवासित सुमधुर सम्बन्ध गाँस्न सकेका छौँ।

चित्रहरूको सँगालो: १. विभिन्‍न पृष्ठभूमि र रहनसहनका मानिसहरू। २. येसुले यातनाको खम्बा बोकिरहनुभएको छ।

निम्न अभिव्यक्‍तिहरूले हाम्रो लागि कस्तो अर्थ राख्छ?

मिलाप: यो यहोवाको उद्देश्‍य हो। उहाँ त्रुटिपूर्ण मानिसहरूले उहाँसित घनिष्ठ सम्बन्ध गाँसेको चाहनुहुन्छ

प्रायश्‍चित: यो यहोवाको प्रबन्ध हो। यसले गर्दा पापी मानिसहरूले उहाँसित फेरि सुमधुर सम्बन्ध गाँस्न सक्छन्‌

फिरौती: यो येसुले आफ्नो रगत बगाउनुभएर तिर्नुभएको मूल्य हो। यसले गर्दा हामीले पापहरूको क्षमा पाउन सकेका छौँ

मुक्‍ति: यो प्रायश्‍चितको प्रबन्धको एउटा लाभ हो। यसले गर्दा हामी पापको सजायबाट छुटकारा पाउन सक्छौँ

परमेश्‍वरको नजरमा धर्मी: यो प्रायश्‍चितको प्रबन्धको अर्को लाभ हो। यसले गर्दा हाम्रा पापहरूको रेकर्ड मेटिन सम्भव भएको छ

२०. अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

२० यहोवा र येसुले हाम्रो लागि गर्नुभएका कुराहरूमा मनन गर्दा हाम्रो हृदय कृतज्ञताले भरिन्छ। (२ कोरि. ५:१५) उहाँहरूले मदत नगर्नुभएको भए हामीसित कुनै आशा हुने थिएन। तर यहोवाले दिनुहुने क्षमाबाट हामीले व्यक्‍तिगत रूपमा कस्तो लाभ उठाउन सकेका छौँ? यसबारे हामी अर्को लेखमा छलफल गर्नेछौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • यहोवाले हाम्रा पापहरू क्षमा गर्नुको उद्देश्‍य के हो?

  • यहोवा हाम्रा पापहरू केको आधारमा क्षमा गर्नुहुन्छ?

  • अहिले हामीले कस्तो लाभ उठाइरहेका छौँ र भविष्यमा कस्तो लाभ उठाउनेछौँ?

गीत १० हाम्रा परमेश्‍वर यहोवाको प्रशंसा गरौँ!

a केही भाषाहरूमा “फिरौती”-लाई शाब्दिक रूपमा “जीवनको मूल्य” वा “तिरिएको मूल्य” भनेर अनुवाद गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने