प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 मार्च pp. ८-१३
  • यहोवा र येसुको जस्तै सोचाइ राख्न सिक्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा र येसुको जस्तै सोचाइ राख्न सिक्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको जस्तै सोचाइ राख्न सिक्नुहोस्‌
  • नम्र हुनुहोस्‌
  • ‘सुझबुझ चलाउन’ सिक्नुहोस्‌
  • तिनले आफ्नो गुरुबाट क्षमा दिन सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • परीक्षा आइपर्दा तिनी वफादार रहे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • पत्रुसजस्तै यहोवाको सेवामा लागिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 मार्च pp. ८-१३

अध्ययन लेख १०

गीत ३१ परमेश्‍वरसित हिँडौँ!

यहोवा र येसुको जस्तै सोचाइ राख्न सिक्नुहोस्‌

“मानिसको रूपमा हुनुहुँदा ख्रिष्टले दुःख भोग्नुभएको हुनाले तिमीहरूले पनि उहाँको जस्तै मानसिक झुकाव विकास गर।”—१ पत्रु. ४:१.

सिक्न सकिने कुरा

प्रेषित पत्रुसले कसरी येसुको जस्तै सोचाइ राख्न सिके र हामी पनि कसरी त्यसो गर्न सक्छौँ?

१-२. यहोवालाई प्रेम गर्नुमा के-के मुछिएको छ अनि येसुले यहोवालाई आफ्नो सारा दिमागले प्रेम गरेको कसरी देखाउनुभयो?

येसुले मोसाको व्यवस्थाको सबैभन्दा महत्त्वपूर्ण आज्ञा कुन हो भनेर प्रस्ट पार्नुभयो। उहाँले यसो भन्‍नुभयो: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले, आफ्नो सारा बलले र आफ्नो सारा दिमागले प्रेम गर्नू।” (लुका १०:२७) त्यसैले हामीले यहोवालाई आफूसित भएको सबै कुराले प्रेम गर्नुपर्छ। यसमा हाम्रो इच्छा, भावना र बल मुछिएको छ। साथै हामीले यहोवालाई आफ्नो सारा दिमागले पनि प्रेम गर्नुपर्छ। सारा दिमागले प्रेम गर्नुमा हाम्रो सोचाइ मुछिएको छ। हुनत हामी यहोवाको सोचाइ पूर्ण रूपमा कहिल्यै पनि बुझ्न सक्दैनौँ। तर उहाँको जस्तै सोचाइ राख्न सक्दो प्रयास गर्नुपर्छ। हामीले “ख्रिष्टको सोचाइ” कस्तो छ भनेर बुझ्यौँ भने परमेश्‍वरको सोचाइ पनि अझ राम्ररी बुझ्न सक्नेछौँ किनभने येसु सधैँ आफ्नो बुबाको जस्तै सोचाइ राख्नुहुन्छ।—१ कोरि. २:१६.

२ पृथ्वीमा हुनुहुँदा येसुले यहोवालाई सारा दिमागले प्रेम गरेको देखाउनुभयो। येसुलाई परमेश्‍वरको इच्छा राम्रोसँग थाह थियो। उहाँ जस्तोसुकै दुःख भोग्नुपरे पनि परमेश्‍वरको इच्छाअनुसार गर्न तयार हुनुहुन्थ्यो। उहाँको जीवनको मुख्य उद्देश्‍य भनेको परमेश्‍वरको इच्छा पूरा गर्नु थियो। त्यसैले उहाँ अरू कुराहरूमा अलमलिनुभएन।

३. प्रेषित पत्रुसले येसुबाट के सिके र तिनले ख्रिष्टियनहरूलाई कस्तो प्रोत्साहन दिए? (१ पत्रुस ४:१)

३ पत्रुस र अरू प्रेषितहरूले येसुसँग समय बिताउने र उहाँको सोचाइ कस्तो छ भनेर बुझ्ने मौका पाएका थिए। त्यसैले पत्रुसले आफ्नो पहिलो पत्रमा ख्रिष्टियनहरूलाई ख्रिष्टको जस्तै मानसिक झुकाव विकास गर्न प्रोत्साहन दिए।a (१ पत्रुस ४:१ पढ्‌नुहोस्‌।) यहाँ “विकास गर” भनेर अनुवाद गरिएको मूल भाषाको क्रियाले सिपाहीले युद्धमा जान हातहतियार धारण गर्नुलाई बुझाउँछ। त्यसैले ख्रिष्टियनहरूले येसुको जस्तै मानसिक झुकाव विकास गर्दा अर्थात्‌ उहाँको जस्तै सोचाइ राख्न सिक्दा एउटा शक्‍तिशाली हतियार धारण गरिरहेका हुन्छन्‌। यसले तिनीहरूलाई आफ्नै पापी झुकावविरुद्ध र सैतानको संसारविरुद्ध लड्‌न तयार बनाउँछ।—२ कोरि. १०:३-५; एफि. ६:१२.

४. यस लेखमा हामी के छलफल गर्नेछौँ?

४ यस लेखमा हामी येसुको सोचाइ कस्तो थियो र हामी कसरी उहाँको जस्तै सोचाइ राख्न सक्छौँ भनेर बुझ्नेछौँ। साथै येसुको उदाहरणबाट हामी कसरी (१) यहोवाको जस्तै सोचाइ राख्न, (२) नम्र हुन र (३) सुझबुझ चलाउन सिक्न सक्छौँ भनेर पनि बुझ्नेछौँ।

यहोवाको जस्तै सोचाइ राख्न सिक्नुहोस्‌

५. पत्रुस कसरी यहोवाको जस्तै सोचाइ राख्नदेखि चुके?

५ पत्रुस यहोवाको जस्तै सोचाइ राख्नदेखि चुकेको एउटा घटना विचार गरौँ। येसुले प्रेषितहरूलाई आफू यरुसलेममा जानु, धर्मगुरुहरूको हातबाट धेरै दुःख भोग्नु अनि मारिनु आवश्‍यक छ भनेर बताउनुभएको थियो। (मत्ति १६:२१) पत्रुसलाई येसु प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ र उहाँले परमेश्‍वरका जनहरूलाई छुटकारा दिनुहुनेछ भनेर थाह थियो। त्यसैले यहोवाले येसुलाई मर्न दिनुहुनेछ भन्‍ने कुरा स्विकार्न तिनलाई असाध्यै गाह्रो भएको हुनुपर्छ। (मत्ति १६:१६) येसुको कुरा सुनेपछि पत्रुसले उहाँलाई अलग्गै लगेर यसो भने: “प्रभु, आफ्नो विषयमा यस्तो अनिष्ट कुरा नगर्नुहोस्‌। तपाईँलाई कुनै हालतमा यस्तो हुनेछैन।” (मत्ति १६:२२) यस मामिलामा पत्रुसको सोचाइ येसुको सोचाइसित मेल खाएन किनभने तिनले यहोवाको जस्तै सोचाइ राखिरहेका थिएनन्‌।

६. येसुले यहोवाको जस्तै सोचाइ राखेको कसरी देखाउनुभयो?

६ येसुले भने यहोवाको जस्तै सोचाइ राख्नुभएको थियो। त्यसैले उहाँले पत्रुसलाई यसो भन्‍नुभयो: “ए सैतान, यहाँबाट गइहाल! तिमी मेरो लागि ठेस लाग्ने कारण रहेछौ किनकि तिम्रो सोचाइ परमेश्‍वरको होइन तर मानिसहरूको हो।” (मत्ति १६:२३) परमेश्‍वरको इच्छाअनुसार गर्दा आफूले दुःख र मृत्यु भोग्नुपर्नेछ भन्‍ने कुरा येसुलाई थाह थियो। त्यसैले पत्रुसको मनसाय राम्रै भए तापनि उहाँले तिनको कुरा सुन्‍नुभएन। यसबाट पत्रुसले यहोवाको जस्तै सोचाइ राख्नुपर्छ भनेर सिके। हामीले पनि यहोवाको जस्तै सोचाइ राख्न सिक्नुपर्छ।

७. पत्रुसले यहोवाको जस्तै सोचाइ राख्न तयार भएको कसरी देखाए? ( चित्र हेर्नुहोस्‌।)

७ पछि पत्रुसले यहोवाको जस्तै सोचाइ राख्न चाहेको कुरा देखाए। यहोवा अन्यजातिका मानिसहरू पनि आफ्नो उपासक बनेको चाहनुहुन्थ्यो। त्यसैले उहाँले पत्रुसलाई कर्निलियसलाई सुसमाचार सुनाउन पठाउनुभयो। यहुदीहरू अन्यजातिका मानिसहरूसित उठबस गर्दैन थिए। त्यसैले अन्यजातिकहाँ गएर सुसमाचार सुनाउन पत्रुसले आफ्नो सोचाइमा छाँटकाँट गर्नुपर्ने थियो। तिनले अन्यजातिका मानिसहरूप्रति यहोवाको दृष्टिकोण कस्तो छ भनेर बुझेपछि आफ्नो दृष्टिकोण सच्याए। त्यसपछि तिनी “कुनै नाइँनास्ति नगरी” कर्निलियसकहाँ गए। (प्रेषि. १०:२८, २९) तिनले कर्निलियस र उनको घरमा भएका सबैलाई सुसमाचार सुनाए र उनीहरूले बप्तिस्मा गरे। अन्यजातिका मानिसहरूमध्येबाट ख्रिष्टियन बन्‍ने पहिलो व्यक्‍ति कर्निलियस नै थिए।—प्रेषि. १०:२१-२३, ३४, ३५, ४४-४८.

कर्निलियस पत्रुस र तिनका सहयात्रीहरूलाई आफ्नो घरको माथिल्लो तलाको कोठामा लैजाँदै छन्‌।

पत्रुस कर्निलियसको घरभित्र छिर्छन्‌ (अनुच्छेद ७ हेर्नुहोस्‌)


८. हामी यहोवाको जस्तै सोचाइ राखेको कसरी देखाउन सक्छौँ? (१ पत्रुस ३:८ र फुटनोट)

८ यसको वर्षौँपछि पत्रुसले ख्रिष्टियनहरूलाई “विचारमा एक” हुन आग्रह गरे। (१ पत्रुस ३:८ र फुटनोट पढ्‌नुहोस्‌।) हामी बाइबलबाट यहोवाको सोचाइ बुझ्न सक्छौँ। त्यसैले उहाँको जस्तै सोचाइ राखेर हामी भाइबहिनीसित विचारमा एक हुन सक्छौँ। उदाहरणको लागि, येसुले आफ्ना चेलाहरूलाई परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिन आग्रह गर्नुभयो। (मत्ति ६:३३) त्यसैले परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिन मण्डलीको कुनै भाइबहिनीले पूर्ण-समय सेवा थाल्ने निर्णय गर्न सक्छन्‌। त्यतिबेला हामीले तिनलाई पूर्ण-समय सेवा थालेपछि गाह्रो हुन्छ भनेर निरुत्साहित पार्नु हुँदैन। बरु पूर्ण-समय सेवा गर्नु भनेको राम्रो कुरा हो भनेर तिनलाई हौसला दिन सक्छौँ र तिनलाई पूरापूर साथ दिने कुरा पनि बताउन सक्छौँ।

नम्र हुनुहोस्‌

९-१०. येसुले नम्र हुने सन्दर्भमा कसरी उत्कृष्ट उदाहरण बसाल्नुभयो?

९ येसुले आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात पत्रुस र अरू प्रेषितहरूलाई नम्रताबारे एउटा महत्त्वपूर्ण पाठ सिकाउनुभयो। आफ्नो मृत्युअघि येसु प्रेषितहरूसँगै खान चाहनुहुन्थ्यो। त्यसैले उहाँले पत्रुस र युहन्‍नालाई सबै कुराको बन्दोबस्त मिलाउन आफूहरूभन्दा अगाडि पठाउनुभयो। त्यतिबेला आफ्नो घरमा आएका पाहुनाहरूको खुट्टा धोइदिने चलन थियो। त्यसैले तिनीहरूले बाटा र तौलिया पनि तयार पारेको हुनुपर्छ। तर खुट्टा धोइदिन को अघि सर्ने थिए?

१० त्यतिबेला येसुले नम्र हुने सन्दर्भमा उत्कृष्ट उदाहरण बसाल्नुभयो। उहाँले साधारणतया एक जना दासले गर्ने काम गरेको देख्दा ती प्रेषितहरू छक्क परेको हुनुपर्छ। येसुले आफ्नो खास्टो छेउमा राख्नुभयो, तौलिया लिएर कम्मरमा बेर्नुभयो, बाटामा पानी हाल्नुभयो अनि तिनीहरूको खुट्टा धोइदिन थाल्नुभयो। (युह. १३:४, ५) पालैपालो सबैको खुट्टा धोइदिन पक्कै पनि केही समय लागेको हुनुपर्छ। उहाँले आफूलाई धोका दिने चेला यहुदाको समेत खुट्टा धोइदिनुभयो। सबै जनाको खुट्टा धोइसकेपछि येसुले तिनीहरूलाई यसो भन्‍नुभयो: “मैले तिमीहरूका निम्ति के गरेँ, के तिमीहरूले बुझ्यौ? तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ। तिमीहरूले ठीक भनेका हौ किनकि म त्यही हुँ। त्यसैले यदि प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएँ भने तिमीहरूले पनि एकअर्काको खुट्टा धुनुपर्छ।”—युह. १३:१२-१४.

साँचो नम्रतामा हाम्रो भित्री सोचाइ मुछिएको छ

११. पत्रुसले नम्र हुन सिके भनेर हामी किन भन्‍न सक्छौँ? (१ पत्रुस ५:५) (चित्र पनि हेर्नुहोस्‌।)

११ पत्रुसले येसुबाट नम्र हुन सिके। येसु स्वर्ग गइसक्नुभएपछिको कुरा हो, पत्रुसले एक जना जन्मैदेखिको लङ्‌गडो मानिसलाई चमत्कार गरेर निको पारिदिए। (प्रेषि. १:८, ९; ३:२, ६-८) यो देखेर मानिसहरूको भीड जम्मा हुने नै भयो! (प्रेषि. ३:११) पत्रुस मानसम्मान र ओहदालाई अत्यन्तै महत्त्व दिने समाजमा हुर्केका थिए। तर तिनले नम्रता देखाए र मानिसहरूको ध्यान आफूतर्फ खिचेनन्‌। बरु आफूले गरेको चमत्कारको श्रेय यहोवा र येसुलाई नै दिए। तिनले यसो भने: “[येसुको] नामले गर्दा र हामीले उहाँको नाममा राखेको विश्‍वासले गर्दा यो मानिस बलियो भएको छ, जसलाई तपाईँहरू देख्दै हुनुहुन्छ र चिन्‍नु पनि हुन्छ।” (प्रेषि. ३:१२-१६) पछि पत्रुसले ख्रिष्टियनहरूलाई पत्र लेख्दा “नम्रताको पोसाक लगाओ” भने। यो अभिव्यक्‍ति सुन्दा सायद हामी येसुले आफ्नो कम्मरमा तौलिया बेरेर प्रेषितहरूको खुट्टा धोइदिनुभएको विवरण सम्झन्छौँ होला।—१ पत्रुस ५:५ र फुटनोट पढ्‌नुहोस्‌।

पत्रुस र युहन्‍ना मन्दिरमा उभिरहेका छन्‌। पत्रुस स्वर्गतिर इसारा गर्दै छन्‌। उनीहरूको बीचमा उभिरहेको मानिस जन्मैदेखि लङ्‌गडो थिए तर तिनी अहिले निको भएका छन्‌।

पत्रुसले चमत्कार गरेपछि नम्र हुँदै त्यसको श्रेय यहोवा र येसुलाई दिए। हामी पनि अरूको वाहवाही वा केही पाउने आस नगरी असल काम गरेर नम्रता देखाउन सक्छौँ (अनुच्छेद ११-१२ हेर्नुहोस्‌)


१२. हामी कसरी पत्रुसजस्तै नम्र हुन सक्छौँ?

१२ हामी पत्रुसको उदाहरणबाट नम्र हुन सिक्न सक्छौँ। नबिर्सनुहोस्‌, साँचो नम्रता भनेको शब्दमा मात्र व्यक्‍त हुने कुरा होइन। पहिलो पत्रुस ५:५ मा “नम्र होओ” भनेर अनुवाद गरिएको शब्दमा हामी आफूबारे र अरूबारे कस्तो सोच्छौँ भन्‍ने कुरा पनि समावेश छ। त्यसैले साँचो नम्रतामा हाम्रो भित्री सोचाइ मुछिएको छ। हामी मानिसहरूको वाहवाही पाउन होइन, बरु यहोवा र मानिसहरूलाई प्रेम गरेकोले अरूको हित हुने कामहरू गर्छौँ। अरूले हाम्रो काम याद गरोस्‌ या नगरोस्‌, हामी राजीखुसीले यहोवा र भाइबहिनीको सेवा गर्छौँ। यसो गर्दा हामी नम्र भइरहेका हुन्छौँ।—मत्ति ६:१-४.

‘सुझबुझ चलाउन’ सिक्नुहोस्‌

१३. ‘सुझबुझ चलाउनु’ भनेको के हो?

१३ ‘सुझबुझ चलाउनु’ भनेको के हो? (१ पत्रु. ४:७) सुझबुझ चलाउने ख्रिष्टियनले यहोवाको सोचाइसित मेल खाने निर्णयहरू गर्न सक्दो प्रयास गर्छन्‌। तिनले यहोवासितको सम्बन्धभन्दा महत्त्वपूर्ण कुरा अरू केही छैन भनेर राम्ररी बुझेका हुन्छन्‌। तिनले आफूप्रति सन्तुलित दृष्टिकोण राख्छन्‌ अनि आफूलाई सबै कुरा थाह छैन भनेर स्विकार्छन्‌। तिनले डोऱ्‍याइको लागि यहोवालाई प्रार्थना गरेर उहाँमा भर परेको देखाउँछन्‌।b

१४. पत्रुस कसरी यहोवामाथि भर पर्नदेखि चुके?

१४ आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात येसुले चेलाहरूलाई यसो भन्‍नुभयो: “आज राती ममाथि आइपर्ने कुराहरूले गर्दा तिमीहरू सबैले ठेस खानेछौ।” तर पत्रुसले अति विश्‍वस्त हुँदै यसो भने: “तपाईँमाथि आइपर्ने कुराहरूले गर्दा अरू सबैले ठेस खाए पनि म भने कहिल्यै ठेस खानेछैनँ!” त्यही रात येसुले पत्रुस र अरू चेलाहरूलाई यस्तो सल्लाह पनि दिनुभयो: “तिमीहरू जागा रहो र प्रार्थना गरिरहो।” (मत्ति २६:३१, ३३, ४१) यदि पत्रुसले त्यो सल्लाह पालन गरेका भए तिनले साहसी भएर आफू येसुको चेला हुँ भनेर बताउन सक्ने थिए। तर पत्रुसले येसुलाई तिरस्कार गरे र त्यसो गरेकोमा तिनी एकदमै पछुताए।—मत्ति २६:६९-७५.

१५. येसुले आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात सुझबुझ चलाएको कसरी देखाउनुभयो?

१५ येसु यहोवामा पूरै भर पर्नुभयो। हुनत उहाँ त्रुटिरहित हुनुहुन्थ्यो। तैपनि उहाँले आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात यहोवालाई थुप्रै चोटि प्रार्थना गर्नुभयो। त्यसरी प्रार्थना गर्नुभएकोले येसु साहसी हुनुभयो र यहोवाको इच्छाअनुसार गर्न सक्नुभयो। (मत्ति २६:३९, ४२, ४४; युह. १८:४, ५) येसुले त्यो रात थुप्रै चोटि प्रार्थना गर्नुभएको कुरा पत्रुसले कहिल्यै बिर्सेनन्‌।

१६. पत्रुसले सुझबुझ चलाउन सिके भनेर हामी किन भन्‍न सक्छौँ? (१ पत्रुस ४:७)

१६ पत्रुसले पनि प्रार्थना गरेर यहोवामाथि भर पर्न सिके। फेरि जीवित हुनुभएका येसुले पत्रुस र अरू प्रेषितहरूलाई सुसमाचार सुनाउने जिम्मेवारी पूरा गर्न पवित्र शक्‍ति दिने आश्‍वासन दिनुभयो। तर उहाँले तिनीहरूलाई पवित्र शक्‍ति नपाएसम्म यरुसलेममै बसिरहन पनि भन्‍नुभयो। (लुका २४:४९; प्रेषि. १:४, ५) त्यतिन्जेल पत्रुसले के गरे? तिनी र अरू ख्रिष्टियनहरूले “प्रार्थना गरिरहे।” (प्रेषि. १:१३, १४) पछि पत्रुसले आफ्नो पहिलो पत्रमा ख्रिष्टियनहरूलाई सुझबुझ चलाउन र प्रार्थना गरेर यहोवामाथि भर पर्न प्रोत्साहन दिए। (१ पत्रुस ४:७ पढ्‌नुहोस्‌।) पत्रुस आफैले पनि यहोवामाथि भर पर्न सिके र तिनी आध्यात्मिक रूपमा परिपक्व भएर मण्डलीको खम्बा बने।—गला. २:९.

१७. हामीसित जस्तोसुकै क्षमता भए पनि हामीले के गरिरहनुपर्छ? (चित्र पनि हेर्नुहोस्‌।)

१७ सुझबुझ चलाउन हामीले यहोवालाई प्रार्थना गरिरहनुपर्छ। हामीसित जस्तोसुकै क्षमता भए पनि हामीले प्रार्थना गर्दै यहोवामाथि भर पर्नुपर्छ। विशेषगरि जीवनमा महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा हामी डोऱ्‍याइको लागि यहोवालाई प्रार्थना गर्छौँ। किनकि के गर्दा हाम्रो हित हुन्छ भन्‍ने कुरा उहाँलाई नै सबैभन्दा राम्रोसँग थाह छ।

पत्रुसले प्रार्थना गरेर यहोवामाथि भर पर्न सिके। हामी पनि विशेषगरि महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा मदतको लागि यहोवालाई प्रार्थना गरेर सुझबुझ चलाउन सक्छौँ (अनुच्छेद १७ हेर्नुहोस्‌)c


१८. हामीले कस्तो प्रयास गरिरहनुपर्छ?

१८ यहोवाले हामीलाई उहाँका गुणहरू झल्काउन सक्नेगरि सृष्टि गर्नुभएकोमा हामी उहाँप्रति कृतज्ञ छौँ। (उत्प. १:२६) हामी त्रुटिपूर्ण भएकोले आफ्नो सोचाइलाई पूर्णतया यहोवाको जस्तै बनाउन त सक्दैनौँ। (यसै. ५५:९) तर यस लेखबाट पत्रुस आफ्नो सोचाइलाई यहोवाको जस्तै बनाउन निकै हदसम्म सफल भए भनेर हामीले बुझ्यौँ। त्यसैले हामी पनि यहोवाको जस्तै सोचाइ राख्न, नम्र हुन र सुझबुझ चलाउन प्रयास गरिरहौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • हामी कसरी यहोवाको जस्तै सोचाइ राख्न सिक्न सक्छौँ?

  • हामी कसरी नम्र हुन सक्छौँ?

  • हामी कसरी ‘सुझबुझ चलाउन’ सक्छौँ?

गीत ३० यहोवा नै मेरा बुबा, ईश्‍वर र साथी

a पहिलो पत्रुस ४:१ मा चलाइएको “मानसिक झुकाव” भन्‍ने अभिव्यक्‍तिलाई “मनसाय, मनोवृत्ति, सोचाइ” भनेर पनि अनुवाद गर्न सकिन्छ।

b सुझबुझ चलाउनेबारे थप जानकारीको लागि jw.org वा JW लाइब्रेरी एपमा “शास्त्रपदको व्याख्या” अन्तर्गत “२ तिमोथि १:७—‘परमेश्‍वरले . . . डरको आत्मा होइन’” भन्‍ने लेखको “सुझबुझ” हेर्नुहोस्‌।

c चित्रको व्याख्या: एक बहिनी जागिरको इन्टरभ्यु दिन पालो कुर्दा प्रार्थना गर्दै छिन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने