प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 अप्रिल pp. २०-२५
  • हामी कहिल्यै एक्लो छैनौँ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी कहिल्यै एक्लो छैनौँ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हामीलाई डोऱ्‍याउनुहुन्छ
  • यहोवा हाम्रो आवश्‍यकता पूरा गर्नुहुन्छ
  • यहोवा हामीलाई जोगाउनुहुन्छ
  • यहोवा हामीलाई सान्त्वना दिनुहुन्छ
  • यहोवा सधैँ हाम्रो साथमा हुनुहुन्छ
  • यहोवा “जीवित परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवा ‘मन भाँचिएकाहरूलाई निको पार्नुहुन्छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • अरूलाई दिँदा तपाईँ आनन्दित हुन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 अप्रिल pp. २०-२५

अध्ययन लेख १७

गीत ९९ लाखौँ-हजारौँ भाइबहिनी

हामी कहिल्यै एक्लो छैनौँ!

“म . . . तिमीलाई मदत गर्नेछु।”—यसै. ४१:१०.

सिक्न सकिने कुरा

यहोवाले हाम्रो ख्याल राख्नुहुने चार वटा तरिका।

१-२. (क) जस्तोसुकै समस्या भोग्नुपरे पनि हामी किन कहिल्यै एक्लो हुनेछैनौँ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

जीवनमा असाध्यै गाह्रो समस्याहरू भोग्नुपर्दा हामीलाई एक्लो महसुस हुन सक्छ। घना जङ्‌गलमा बाटो नभेट्टाएर भौँतारिरहेको जस्तो लाग्न सक्छ। तर हामी एक्लो छैनौँ। हाम्रो मायालु बुबा यहोवा हामीले भोगिरहेका समस्याहरू देख्नुहुन्छ र उहाँले हामीलाई ती पार गर्न मदत गर्ने प्रतिज्ञा पनि गर्नुभएको छ। उहाँले आफ्ना वफादार जनहरूलाई यस्तो आश्‍वासन दिनुभएको छ: “म . . . तिमीलाई मदत गर्नेछु।”—यसै. ४१:१०.

२ यस लेखमा यहोवाले हामीलाई मदत गर्नुहुने चार वटा तरिका छलफल गर्नेछौँ: (१) उहाँ हामीलाई डोऱ्‍याउनुहुन्छ, (२) हाम्रो आवश्‍यकता पूरा गर्नुहुन्छ, (३) हामीलाई जोगाउनुहुन्छ र (४) हामीलाई सान्त्वना दिनुहुन्छ। जीवनमा जस्तोसुकै समस्या भोग्नुपरे तापनि हामी कहिल्यै एक्लो हुनेछैनौँ; यहोवा हाम्रो साथमा हुनुहुन्छ। उहाँले हामीलाई कहिल्यै त्याग्नुहुनेछैन र बिर्सनुहुनेछैन।

यहोवा हामीलाई डोऱ्‍याउनुहुन्छ

३-४. यहोवा हामीलाई कसरी डोऱ्‍याउनुहुन्छ? (भजन ४८:१४)

३ भजन ४८:१४ पढ्‌नुहोस्‌। मानिसले आफैले आफैलाई डोऱ्‍याउन सक्दैन भन्‍ने कुरा यहोवालाई थाह छ। त्यसैले उहाँ हामीलाई डोऱ्‍याउनुहुन्छ। कसरी? एउटा तरिका हो, आफ्नो वचन बाइबलमार्फत। (भज. ११९:१०५) बाइबलमार्फत यहोवा हामीलाई बुद्धिमानी निर्णय गर्न र असल गुणहरू विकास गर्न मदत गर्नुहुन्छ।a उदाहरणको लागि, उहाँले हामीलाई रिसाउन छोड्‌न, सबै कुरामा इमानदार भई चल्न अनि एकअर्कालाई हृदयदेखि प्रगाढ प्रेम गर्न सिकाउनुभएको छ। (भज. ३७:८; हिब्रू १३:१८; १ पत्रु. १:२२) यस्ता गुणहरू विकास गर्दा हामी अझै असल आमाबुबा, जीवनसाथी र मित्र बन्‍न सक्नेछौँ। हो, बाइबलमा पाइने डोऱ्‍याइअनुसार चल्यौँ भने हामी अहिले पनि आनन्दित हुन सक्छौँ र भविष्यमा अनन्त जीवन पाउनेछौँ।

४ साथै यहोवाले बाइबलमा हामीले जस्तै परीक्षाहरू भोगेका अनि हाम्रो जस्तै भावना भएका मानिसहरूको विवरण लेख्न लगाउनुभएको छ। (१ कोरि. १०:१३; याकु. ५:१७) ती विवरणहरू पढ्‌दा अनि त्यसबाट सिकेका पाठहरू लागू गर्दा हामीले कम्तीमा दुई वटा लाभ उठाउन सक्छौँ। पहिलो, जीवनमा समस्याहरू भोग्ने हामी मात्रै होइनौँ भनेर थाह पाउन सक्छौँ। विगतमा अरूले पनि हामीले जस्तै समस्याहरू भोगेका थिए र यहोवाको मदत पाएर तिनीहरूले ती पार लगाउन सके। (१ पत्रु. ५:९) दोस्रो, हामी कसरी परीक्षाहरू सहन सक्छौँ र आनन्दित भइरहन सक्छौँ भनेर पनि सिक्न सक्छौँ।—रोमी १५:४.

५. यहोवा हामीलाई डोऱ्‍याउन कसलाई चलाउनुहुन्छ?

५ यहोवा हामीलाई भाइबहिनीहरू चलाएर पनि डोऱ्‍याउनुहुन्छ।b उदाहरणको लागि, क्षेत्रीय निरीक्षकहरूले मण्डलीहरूको भ्रमण गरेर भाइबहिनीहरूलाई प्रोत्साहन दिन्छन्‌। तिनीहरूका भाषणहरूले हामीलाई विश्‍वास बलियो बनाउन र भाइबहिनीहरूसँगै एकतामा रहिरहन मदत गर्छ। (प्रेषि. १५:४०–१६:५) एल्डरहरूले पनि मण्डलीका प्रत्येक भाइबहिनीको गहिरो चासो राख्छन्‌ र तिनीहरूको हेरचाह गर्छन्‌। (१ पत्रु. ५:२, ३) आमाबुबाले छोराछोरीलाई आध्यात्मिक रूपमा डोऱ्‍याउँछन्‌। तिनीहरू छोराछोरीलाई सही निर्णय गर्न, असल आनीबानी विकास गर्न र राम्रो आध्यात्मिक तालिका कायम राख्न मदत गर्छन्‌। (हितो. २२:६) साथै मण्डलीका परिपक्व दिदीहरूले जवान बहिनीहरूको लागि राम्रो उदाहरण बसाल्छन्‌ र तिनीहरूलाई व्यावहारिक सल्लाह र प्रोत्साहन पनि दिन्छन्‌।—ति. २:३-५.

६. यहोवाको डोऱ्‍याइबाट लाभ उठाउन हामीले के गर्नुपर्छ?

६ यहोवाले हामीलाई डोऱ्‍याउन आवश्‍यक सबै कुराको प्रबन्ध मिलाउनुभएको छ। त्यसको लागि कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ? हितोपदेश ३:५, ६ यसो भन्छ: “आफ्नो सारा हृदयले यहोवामा भरोसा राख, आफ्नै बुद्धिमा भर नपर।” यो सल्लाह लागू गऱ्‍यौँ भने ‘उहाँले हामीलाई सही बाटो देखाउनुहुनेछ।’ यसको मतलब हामी थुप्रै समस्याहरूदेखि जोगिनेछौँ र आनन्दित भई जीवन बिताउन सक्नेछौँ। यहोवा हामीलाई राम्ररी चिन्‍नुहुन्छ अनि हामी प्रत्येकलाई माया गरेर आवश्‍यक सल्लाह दिनुहुन्छ। त्यसको लागि हामी यहोवाप्रति कृतज्ञ छैनौँ र?—भज. ३२:८.

यहोवा हाम्रो आवश्‍यकता पूरा गर्नुहुन्छ

७. यहोवा हामीलाई अर्को कुन तरिकामा मदत गर्नुहुन्छ? (फिलिप्पी ४:१९)

७ फिलिप्पी ४:१९ पढ्‌नुहोस्‌। यहोवा हामीलाई आध्यात्मिक तवरमा डोऱ्‍याउनुका साथै भौतिक आवश्‍यकता पूरा गर्न पनि मदत गर्नुहुन्छ। गाँस, बास र कपास जुटाउन हामीले गर्ने मेहनतमा उहाँ हामीलाई आशिष्‌ दिनुहुन्छ। (मत्ति ६:३३; २ थिस्स. ३:१२) हुनत भौतिक आवश्‍यकताहरू कसरी पूरा गर्ने भनेर चिन्ता लाग्नु स्वाभाविकै हो। तर यहोवाले हामीलाई त्यस्ता कुराहरूमा अति नै चिन्ता नगर्न भन्‍नुभएको छ। (मत्ति ६:२५) किन? किनभने यहोवा आफ्ना वफादार सेवकहरूलाई कहिल्यै त्याग्नुहुन्‍न। (मत्ति ६:८; हिब्रू १३:५) उहाँले हाम्रो भौतिक आवश्‍यकता पूरा गरिदिने प्रतिज्ञा गर्नुभएको छ र हामी उहाँमा पूरा भरोसा गर्न सक्छौँ।

८. यहोवाले कसरी दाउदको ख्याल राख्नुभयो?

८ राजा साउलले मार्न खोजेकोले दाउदले थुप्रै वर्ष भगुवा जीवन बिताउनुपऱ्‍यो। यस्तो कठिन समयमा यहोवाले दाउदलाई त्याग्नुभएन। बरु तिनी र तिनका मानिसहरूको भौतिक आवश्‍यकता पूरा गर्नुभयो। यहोवाले ख्याल राख्नुभएको कुरा सम्झँदै दाउदले पछि यस्तो लेखे: “म जवान थिएँ, अहिले बूढो भएको छु तर धर्मी मानिसको बिचल्ली भएको र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको मैले कहिल्यै देखेको छैनँ।” (भज. ३७:२५) यहोवाले तपाईँको अनि अरू भाइबहिनीको आवश्‍यकता पूरा गरिदिनुभएको तपाईँले पनि देख्नुभएको छ होला।

९. यहोवा प्रकोपको मारमा परेका आफ्ना जनहरूको आवश्‍यकता कसरी पूरा गर्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्‌।)

९ प्रकोपको बेला पनि यहोवा आफ्ना जनहरूको आवश्‍यकता पूरा गर्नुहुन्छ। उदाहरणको लागि, प्रथम शताब्दीमा अनिकाल पर्दा विभिन्‍न ठाउँका ख्रिष्टियनहरूले खाँचोमा परेका भाइबहिनीहरूको लागि राहत सामग्री पठाए। (प्रेषि. ११:२७-३०; रोमी १५:२५, २६) आज पनि यहोवाका जनहरू त्यस्तै उदारता देखाउँछन्‌। प्रकोपको मारमा परेकाहरूको लागि खानेकुरा, पानी, लुगाफाटा अनि औषधीजस्ता आवश्‍यक कुराहरूको प्रबन्ध गर्न यहोवा आफ्ना मानिसहरूलाई चलाउनुहुन्छ। निर्माण टोलीले क्षति पुगेका घर अनि सभाभवनहरू मर्मतसम्भार गर्छन्‌। साथै यहोवाका सेवकहरू आफ्नो घरबार अनि प्रियजन गुमाएकाहरूलाई भावनात्मक र आध्यात्मिक तवरमा मदत दिन तुरुन्तै अघि सर्छन्‌।c

चित्रहरूको सँगालो: मलावीमा प्राकृतिक प्रकोप गएपछि आध्यात्मिक र भौतिक कुराहरूको प्रबन्ध गरिँदै छ। १. बाढीले डुबेको क्षतिग्रस्त इलाका। २. भाइ गेज फ्लिगल भाइबहिनीहरूसित कुरा गर्दै हुनुहुन्छ। ३. भाइहरू गाडीबाट खानेकुरा भएका झोलाहरू निकाल्दै छन्‌।

प्रकोपको बेला यहोवा हामीलाई कसरी सान्त्वना दिनुहुन्छ? (अनुच्छेद ९ हेर्नुहोस्‌)e


१०-११. बोरिसको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१० यहोवा उहाँको सेवा नगर्नेहरूको आवश्‍यकता पनि उदार भई पूरा गर्नुहुन्छ। त्यसैले हामी पनि आफ्नो भन्दा फरक विश्‍वास भएकाहरूको समेत भलाइ गर्ने मौका खोज्छौँ। (गला. ६:१०) त्यसो गर्दा मानिसहरूले यहोवाबारे राम्रो साक्षी पाउन सक्छन्‌। युक्रेनको एउटा स्कुलका प्रिन्सिपल बोरिसको अनुभव विचार गरौँ। हुनत तिनी यहोवाका साक्षी होइनन्‌ तैपनि साक्षी विद्यार्थीहरूलाई राम्रो व्यवहार गर्थे र तिनीहरूको विश्‍वासको कदर गर्थे। युद्धको कारण बोरिसले आफ्नो गाउँ छोडेर युक्रेनको अलि सुरक्षित ठाउँमा बसाइँ सर्ने निर्णय गरे। त्यस्तो गाह्रो अवस्थामा भाइहरूले तिनलाई निकै मदत गरे। पछि बोरिस स्मरणार्थ उत्सवमा पनि उपस्थित भए। भाइबहिनीहरूले गरेको मदत सम्झँदै तिनी यसो भन्छन्‌: “यहोवाका साक्षीहरूले मेरो धेरै ख्याल राख्नुभयो। म उहाँहरूलाई मनैदेखि धन्यवाद दिन चाहन्छु।”

११ हामी पनि कृपालु बुबा यहोवाको अनुकरण गर्दै खाँचोमा परेकाहरूलाई मदत गर्न सक्छौँ, चाहे तिनीहरू हाम्रै भाइबहिनी होऊन्‌ वा अरू कोही। (लुका ६:३१, ३६) यसरी प्रेम देखाउँदा पछि गएर तिनीहरू ख्रिष्टको चेला बन्‍न पनि सक्छन्‌। (१ पत्रु. २:१२) तर तिनीहरू चेला बनून्‌ या नबनून्‌, हामीले दिँदा पाइने आनन्द भने अनुभव गर्न सक्नेछौँ।—प्रेषि. २०:३५.

यहोवा हामीलाई जोगाउनुहुन्छ

१२. यहोवाले आफ्ना जनहरूलाई कस्तो सुरक्षा दिने प्रतिज्ञा गर्नुभएको छ? (भजन ९१:१, २, १४)

१२ भजन ९१:१, २, १४ पढ्‌नुहोस्‌। यहोवाले हामीलाई उहाँसितको सम्बन्धलाई खतरामा पार्ने कुराहरूदेखि जोगाउने प्रतिज्ञा गर्नुभएको छ। उहाँले सैतानलाई कहिल्यै पनि शुद्ध उपासनालाई भ्रष्ट पार्न दिनुहुनेछैन। (युह. १७:१५) अनि महासङ्‌कष्टको बेला यहोवाले आफ्ना जनहरूलाई आध्यात्मिक तवरमा मात्र होइन, शारीरिक तवरमा पनि जोगाउने प्रतिज्ञा गर्नुभएको छ। उहाँले यो प्रतिज्ञा पूरा गर्नुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ।—प्रका. ७:९, १४.

१३. यहोवा हामी व्यक्‍तिविशेषलाई कसरी सुरक्षा दिनुहुन्छ?

१३ यहोवा हामी व्यक्‍तिविशेषलाई पनि सुरक्षा दिनुहुन्छ। उहाँले हामीलाई बाइबल दिनुभएको छ। त्यसैले हामी सही र गलत छुट्ट्याउन सक्छौँ। (हिब्रू ५:१४) परमेश्‍वरको वचनमा पाइने सिद्धान्तहरूअनुसार जीवन बिताउँदा हामी आध्यात्मिक र शारीरिक तवरमा सुरक्षित हुन सक्छौँ। (भज. ९१:४) यसका साथै यहोवा हामीलाई मण्डलीमार्फत पनि सुरक्षा दिनुहुन्छ। (यसै. ३२:१, २) यहोवालाई प्रेम गर्ने अनि उहाँका स्तरहरूअनुसार जीवन बिताउने भाइबहिनीहरूमाझ रहँदा हामी प्रोत्साहन पाउँछौँ र खराब कुराहरूलाई तिरस्कार गर्न मदत पाउँछौँ।—हितो. १३:२०.

१४. (क) यहोवा किन हामीलाई सबै परीक्षाहरूबाट जोगाउनुहुन्‍न? (ख) भजन ९:१० बाट हामी कुन कुरामा ढुक्क हुन सक्छौँ? (फुटनोट पनि हेर्नुहोस्‌।)

१४ विगतमा यहोवाले कहिलेकाहीँ आफ्ना जनहरूलाई शारीरिक तवरमा हानि भोग्नदेखि जोगाउनुभएको थियो। तर उहाँले सधैँ त्यसो गर्नुभएन। “कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्‌न सक्छ।” (उप. ९:११) साथै इतिहास हेर्ने हो भने यहोवाले सैतानलाई झूटो साबित गर्न आफ्ना जनहरूलाई खेदो अनि मृत्युसमेत भोग्न दिनुभएको छ। (अय्यु. २:४-६; मत्ति २३:३४) हाम्रो सन्दर्भमा पनि कुरा त्यही हो। हुनत यहोवाले हामीले भोगिरहेका सबै परीक्षा नहटाउनुहोला। तर उहाँलाई प्रेम गर्नेहरूलाई उहाँ कहिल्यै त्याग्नुहुनेछैन भन्‍ने कुरामा चाहिँ हामी ढुक्क हुन सक्छौँ।d—भज. ९:१०.

यहोवा हामीलाई सान्त्वना दिनुहुन्छ

१५. हामी प्रार्थना, बाइबल अनि सभामार्फत कसरी सान्त्वना पाउन सक्छौँ? (२ कोरिन्थी १:३, ४)

१५ दोस्रो कोरिन्थी १:३, ४ पढ्‌नुहोस्‌। कहिलेकाहीँ हामीलाई चिन्ता-फिक्रीले छोप्न सक्छ, तनाव हुन सक्छ वा कसैको मृत्युले गर्दा शोकमा डुब्न सक्छौँ। सायद अहिले पनि तपाईँले कुनै गाह्रो परिस्थितिको सामना गर्नुपरेकोले एक्लो महसुस गर्दै हुनुहुन्छ होला। यस्तो बेला तपाईँलाई कसैले आफ्नो भावना बुझ्न सक्दैन जस्तो लाग्न सक्छ। तर यहोवाले बुझ्नुहुन्छ। त्यति मात्र होइन, उहाँ हामीले भोगिरहेको पीडा महसुस गर्नुहुन्छ र “हाम्रा सबै परीक्षामा सान्त्वना” पनि दिनुहुन्छ। कसरी? हामीले उत्कट बिन्ती चढायौँ भने “परमेश्‍वरको शान्ति” पाउन सक्छौँ, “जुन मानिसको समझभन्दा बाहिरको छ।” (फिलि. ४:६, ७) यहोवाले बाइबलमा हाम्रो लागि लेख्न लगाउनुभएका कुराहरू पढ्‌दा पनि हामी सान्त्वना पाउन सक्छौँ। किनकि यसबाट यहोवाले हामीलाई कत्ति माया गर्नुहुन्छ भनेर थाह पाउन सक्छौँ। हामीले आशा पाउँछौँ र यसमा लेखिएका कुराहरूअनुसार चल्दा बुद्धिमान्‌ हुन सक्छौँ। यसबाहेक हामी सभाहरूमा मायालु भाइबहिनीहरूमाझ रहन पाउँछौँ अनि बाइबलआधारित प्रोत्साहनदायी कुराहरू सिक्न सक्छौँ। त्यसैले सभाहरूबाट पनि हामी सान्त्वना पाउन सक्छौँ।

१६. नेथन र प्रिसिलाको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१६ यहोवा आफ्नो वचनबाट हामीलाई प्रोत्साहन अनि सान्त्वना दिनुहुन्छ भनेर बुझ्न अमेरिकामा बस्ने नेथन र प्रिसिलाको अनुभव विचार गरौँ। केही वर्षअघि तिनीहरू आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न गएका थिए। नेथन भन्छन्‌: “यहोवाले हाम्रो यस निर्णयमा आशिष्‌ दिनुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क थियौँ।” तर बसाइँ सरेपछि तिनीहरूको अचानक स्वास्थ्य बिग्रियो र काम पाउन पनि गाह्रो भयो। त्यसैले तिनीहरू आफ्नै ठाउँमा फर्कनुपर्ने भयो। तर फर्केपछि पनि तिनीहरूलाई आर्थिक तवरमा गाह्रै भयो। त्यतिबेलाको कुरा सम्झँदै नेथन यसो भन्छन्‌: “यहोवाले हामीलाई किन आशिष्‌ दिनुभएन जस्तो लाग्यो। कतै मैले नै केही गल्ती गरेकोले हो कि भन्‍ने सोचाइ पनि आउन थाल्यो।” तर पछि नेथन र प्रिसिलाले परमेश्‍वरले तिनीहरूलाई त्याग्नुभएको थिएन भनेर महसुस गरे। नेथन भन्छन्‌: “त्यस्तो गाह्रो अवस्थामा बाइबलले हामीलाई एक जना असल साथीले जस्तै प्रोत्साहन अनि डोऱ्‍याइ दियो। त्यतिबेला हामीले आफ्नो समस्याहरूमा नभई यहोवाले कसरी सहन मदत गर्दै हुनुहुन्छ भन्‍ने कुरामा ध्यान दियौँ। त्यसले गर्दा भविष्यमा आइपर्न सक्ने चुनौतीहरूको सामना गर्न पनि तयार हुन सक्यौँ।”

१७. हेल्गाले कसरी सान्त्वना पाइन्‌? (चित्र पनि हेर्नुहोस्‌।)

१७ हामी भाइबहिनीहरूबाट पनि सान्त्वना पाउन सक्छौँ। यो कुरा बुझ्न हङ्‌गेरीमा बस्ने हेल्गाको अनुभव विचार गरौँ। थुप्रै वर्षसम्म तिनले विभिन्‍न समस्याहरू भोग्नुपऱ्‍यो। त्यसले गर्दा तिनी निकै निराश भइन्‌ र आफू बेकामको छु भन्‍ने महसुस गरिन्‌। तर यहोवाले त्यो गाह्रो समयमा भाइबहिनीहरू चलाएर आफूलाई मदत गर्दै हुनुहुन्थ्यो भनेर तिनी अहिले महसुस गर्छिन्‌। तिनी यस्तो लेख्छिन्‌: “मैले वर्षौँसम्म बिरामी छोराको हेरविचार गर्नुपऱ्‍यो, अरू थुप्रै समस्याहरू पनि भोग्नुपऱ्‍यो। यसबाहेक म काममा पनि जानुपर्थ्यो। त्यसैले कहिलेकाहीँ म एकदमै कमजोर महसुस गर्थेँ। तर यहोवाले मेरो अवस्था बुझेर सधैँ मदत दिनुभयो। विगत ३० वर्षको दौडान यहोवाले मलाई एक दिन पनि एक्लो छोड्‌नुभएन। उहाँले अक्सर भाइबहिनीहरू चलाएर मलाई बलियो बनाउनुभयो। उहाँहरू मलाई प्रोत्साहनका कुराहरू लेखेर अनि मेरो प्रशंसा गरेर मेसेज वा कार्डहरू पठाउनुहुन्थ्यो। त्यसबाट मैले चाहिएकै समयमा सान्त्वना पाएँ।”

चित्रहरूको सँगालो: एक वृद्ध दाइले मण्डलीका भाइबहिनीबाट विभिन्‍न तरिकामा सान्त्वना पाउँदै हुनुहुन्छ। १. उहाँ केटाकेटीहरूले बनाएका चित्रहरू हेर्दै हुनुहुन्छ। २. एक भाइ उहाँलाई मेसेज पठाउँछन्‌। ३. एक दम्पती उहाँको लागि खानेकुराको झोला र पिज्जा ल्याउँछन्‌। ४. एक भाइ उहाँलाई फोन गर्छन्‌। ५. एक सानी केटी ती वृद्ध दाइको लागि नयाँ संसारको चित्र बनाउँछिन्‌ र त्यसमा सिंहको पनि चित्र कोर्छिन्‌।

अरूलाई सान्त्वना दिन यहोवा हामीलाई कसरी प्रयोग गर्नुहुन्छ? (अनुच्छेद १७ हेर्नुहोस्‌)


१८. हामी कसरी अरूलाई सान्त्वना दिन सक्छौँ?

१८ हामीले पनि अरूलाई सान्त्वना दिएर परमेश्‍वरको अनुकरण गर्न सक्छौँ। कसरी? गाह्रो अवस्थामा भएका भाइबहिनीहरूको कुरा धीरजी भई सुन्‍न सक्छौँ, सान्त्वनाका दुई/चार शब्द बोल्न सक्छौँ र अरू व्यावहारिक तरिकाहरूमा मदत गर्न सक्छौँ। (हितो. ३:२७) हामी सबैलाई नै सान्त्वना दिन्छौँ, यहोवाको सेवा नगर्नेहरूलाई समेत। छिमेकीहरू शोकमा पर्दा, बिरामी हुँदा वा चिन्तित हुँदा हामी तिनीहरूलाई भेट्‌न जान्छौँ, तिनीहरूको कुरा सुन्छौँ र तिनीहरूलाई बाइबलबाट प्रोत्साहनदायी कुरा सुनाउँछौँ। “सबै सान्त्वनाका परमेश्‍वर” यहोवाको अनुकरण गऱ्‍यौँ भने भाइबहिनीहरूले हामीबाट परीक्षाहरू सहने बल पाउन सक्छन्‌। त्यति मात्रै होइन, अहिले यहोवाको सेवा नगर्ने मानिसहरूको मन पनि परिवर्तन हुन सक्छ र उहाँबारे अझ धेरै सिक्न उत्प्रेरित हुन सक्छन्‌।—मत्ति ५:१६.

यहोवा सधैँ हाम्रो साथमा हुनुहुन्छ

१९. यहोवा कसरी हाम्रो ख्याल राख्नुहुन्छ र हामी कसरी उहाँको अनुकरण गर्न सक्छौँ?

१९ यहोवा उहाँलाई प्रेम गर्ने सबैको ख्याल राख्नुहुन्छ। हामीले गाह्रो परिस्थितिको सामना गर्नुपर्दा उहाँ हामीलाई एक्लै छोड्‌नुहुन्‍न। मायालु आमाबुबाले आफ्ना छोराछोरीको ख्याल राखेझैँ यहोवा आफ्ना वफादार उपासकहरूको ख्याल राख्नुहुन्छ। उहाँ हामीलाई डोऱ्‍याउनुहुन्छ, हाम्रो आवश्‍यकता पूरा गर्नुहुन्छ, हामीलाई जोगाउनुहुन्छ र हामीलाई सान्त्वना दिनुहुन्छ। परीक्षा भोगिरहेकाहरूलाई प्रोत्साहन अनि साथ दिँदा हामीले यहोवाको अनुकरण गरिरहेका हुन्छौँ। यस संसारमा हामीले विभिन्‍न कठिनाइ अनि भावनात्मक तवरमा गाह्रो बनाउने समस्याहरू भोग्नुपर्ने हुन सक्छ। तर यहोवा सधैँ हाम्रो साथमा हुनुहुन्छ। हामी कहिल्यै एक्लो छैनौँ। किनभने उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “नडराऊ किनकि म तिमीसित छु।”—यसै. ४१:१०.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • यहोवा कसरी हामीलाई डोऱ्‍याउनुहुन्छ?

  • यहोवा कसरी हाम्रो आवश्‍यकता पूरा गर्नुहुन्छ?

  • यहोवा कसरी हामीलाई जोगाउनुहुन्छ र सान्त्वना दिनुहुन्छ?

गीत १०० अतिथिसत्कार गरौँ!

a अप्रिल १५, २०११ अङ्‌कको प्रहरीधरहरा-को “परमेश्‍वरको आदर हुने निर्णय गर्नुहोस्‌” लेख हेर्नुहोस्‌।

b फेब्रुअरी २०२४ अङ्‌कको प्रहरीधरहरा-को “यहोवाको डोऱ्‍याइअनुसार हिँडिरहनुहोस्‌” लेखको अनुच्छेद ११-१४ हेर्नुहोस्‌।

c jw.org को सर्च बारमा “प्रकोप राहत” टाइप गरेर खोज्नुभयो भने हालै के-कस्ता राहतका कामहरू भइरहेका छन्‌, थाह पाउनुहुनेछ।

d फेब्रुअरी २०१७ अङ्‌कको प्रहरीधरहरा-को “पाठकहरूको प्रश्‍न” लेख हेर्नुहोस्‌।

e चित्रको व्याख्या: मलावीका भाइबहिनीले प्राकृतिक प्रकोपपछि भौतिक र आध्यात्मिक मदत पाइरहेका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने