अध्ययन लेख २७
गीत ७९ दृढ हुन सिकाऔँ!
बाइबल विद्यार्थीलाई सत्यको पक्षमा अडान लिन मदत गर्नुहोस्
“विश्वासमा स्थिर भएर बस, साहसी होओ।”—१ कोरि. १६:१३.
सिक्न सकिने कुरा
हामी बाइबल विद्यार्थीहरूलाई सत्यको पक्षमा अडान लिन विश्वास र साहस विकास गर्न कसरी मदत गर्न सक्छौँ?
१-२. (क) केही बाइबल विद्यार्थीहरू सत्यको पक्षमा अडान लिन किन हिचकिचाउँछन्? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?
के तपाईँ कुनै कारणले गर्दा यहोवाको साक्षी बन्न हिचकिचाउनुभएको थियो? तपाईँका साथीभाइ वा परिवारका सदस्यहरू रिसाउलान् भन्ने डर लागेको थियो कि? अथवा परमेश्वरको स्तरअनुसार चल्न सक्दिनँ जस्तो लागेको थियो कि? यदि त्यस्तो लागेको थियो भने सत्यको पक्षमा अडान लिन हिचकिचाइरहेका बाइबल विद्यार्थीहरूको भावना तपाईँ बुझ्न सक्नुहुन्छ।
२ यस्तो डर-चिन्ताले गर्दा मानिसहरू यहोवाको सेवा गर्नदेखि पछि हट्न सक्छन् भनेर येसुलाई थाह थियो। (मत्ति १३:२०-२२) तैपनि उहाँले तिनीहरूलाई मदत गर्न छोड्नुभएन। बरु तिनीहरूलाई निम्न क्षेत्रमा मदत गर्न सकिन्छ भनेर चेलाहरूलाई बुझाउनुभयो: (१) उन्नति गर्न बाधा पुऱ्याइरहेको कुरा चिन्न, (२) यहोवाप्रतिको प्रेम बढाउँदै लैजान, (३) यहोवाको सेवालाई पहिलो स्थान दिन अनि (४) चुनौतीहरूको सामना गर्न। हामी बाइबल विद्यार्थीहरूलाई सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! किताबबाट सत्यको पक्षमा अडान लिन मदत गर्छौँ। त्यसो गर्ने क्रममा येसुले चेलाहरूलाई भन्नुभएको कुराहरू हामी कसरी लागू गर्न सक्छौँ?
विद्यार्थीलाई प्रगति गर्न बाधा पुऱ्याइरहेको कुरा चिन्न मदत गर्नुहोस्
३. निकोदेमसलाई येसुको चेला बन्नदेखि कुन कुराले बाधा पुऱ्याएको हुन सक्छ?
३ निकोदेमस यहुदीहरूका शासक थिए। तिनलाई येसुको चेला बन्नदेखि एउटा कुराले बाधा पुऱ्याइरहेको थियो। येसुले प्रचारकार्य सुरु गर्नुभएको छ महिनाभित्रै निकोदेमसले उहाँलाई यहोवाले नै पठाउनुभएको हो भनेर बुझिसकेका थिए। (युह. ३:१, २) तर “यहुदीहरूको डरले गर्दा” तिनले यो कुरा खुलेआम स्विकारेका थिएनन्। (युह. ७:१३; १२:४२) येसुको चेला भएँ भने आफ्नो ओहदा, प्रतिष्ठा सबै गुमाउनुपर्छ जस्तो तिनलाई लागेको हुन सक्छ।a
४. येसुले निकोदेमसलाई कसरी मदत गर्नुभयो?
४ निकोदेमसलाई मोसाको व्यवस्था राम्ररी थाह थियो। तर यहोवा तिनीबाट के चाहनुहुन्छ भन्ने कुरा बुझ्न तिनलाई मदत चाहिएको थियो। येसुले तिनलाई कसरी मदत गर्नुभयो? रातको समयमा निकोदेमस भेट्न आउँदा येसुले तिनलाई समय दिनुभयो। अनि उहाँको चेला बन्न तिनले के गर्नुपर्छ भनेर पनि प्रस्टसित बताइदिनुभयो। तिनले पापको पश्चात्ताप गर्नुपर्थ्यो, पानीमा बप्तिस्मा गर्नुपर्थ्यो र परमेश्वरको छोरामाथि विश्वास गर्नुपर्थ्यो।—युह. ३:५, १४-२१.
५. प्रगति गर्न बाधा पुऱ्याइरहेको कुरा चिन्न हामी विद्यार्थीलाई कसरी मदत गर्न सक्छौँ?
५ विद्यार्थीले बाइबलको कुरा राम्ररी बुझेका छन् भने पनि तिनलाई प्रगति गर्न बाधा पुऱ्याइरहेको कुरा चिन्न मदत चाहिन सक्छ। जागिर वा परिवारको विरोधले गर्दा तिनी यहोवाको सेवक बन्नदेखि पछि हटिरहेका हुन सक्छन्। त्यसैले तिनको कुरा राम्ररी बुझ्न तिनीसित समय बिताउनुहोस्। जस्तै, तिनीसँगै बसेर चिया खान सक्नुहुन्छ वा तिनलाई कुनै काममा सघाइदिन सक्नुहुन्छ। यस्तो बेलामा तिनलाई आफ्नो चुनौतीहरूबारे खुलेर कुराकानी गर्न सजिलो लाग्न सक्छ। त्यसपछि तिनलाई आवश्यक छाँटकाँट गर्न प्रोत्साहन दिनुहोस्। तर तिनले तपाईँलाई होइन, यहोवालाई खुसी बनाउन त्यस्तो छाँटकाँट गर्नुपर्छ भनेर पनि बुझाउनुहोस्।
६. साहसी भई सत्यको पक्षमा अडान लिन तपाईँ विद्यार्थीलाई कसरी मदत गर्न सक्नुहुन्छ? (१ कोरिन्थी १६:१३)
६ बाइबलका स्तरहरूअनुसार चल्न यहोवाले मदत गर्नुहुनेछ भन्ने कुरामा विद्यार्थी विश्वस्त छन् भने तिनले साहसी भएर सिकेको कुरा लागू गर्नेछन्। (१ कोरिन्थी १६:१३ पढ्नुहोस्।) अध्ययन सञ्चालकलाई स्कुलको शिक्षकसित तुलना गर्न सकिन्छ। स्कुलका दिनहरू सम्झनुहोस् त! तपाईँलाई कस्तो शिक्षक मन पर्थ्यो? सायद तपाईँलाई झर्को नमानी सिकाउने अनि हौसला दिने शिक्षक मन पर्थ्यो। त्यसैगरि राम्रो अध्ययन सञ्चालकले विद्यार्थीलाई परमेश्वर के चाहनुहुन्छ भन्ने कुरा मात्र बताउँदैनन्। बरु छाँटकाँट गर्न यहोवाले मदत गर्नुहुनेछ भन्ने कुरामा पनि विश्वस्त बनाउँछन्। तपाईँ पनि कसरी त्यस्तै अध्ययन सञ्चालक बन्न सक्नुहुन्छ?
विद्यार्थीलाई यहोवाप्रतिको प्रेम बढाउँदै लैजान मदत गर्नुहोस्
७. येसुले आफ्ना श्रोताहरूलाई यहोवाप्रतिको प्रेम बढाउन कसरी मदत गर्नुभयो?
७ चेलाहरूलाई सिकेको कुरा लागू गर्न परमेश्वरप्रतिको प्रेमले नै उत्प्रेरित गर्नेछ भनेर येसुलाई थाह थियो। त्यसकारण उहाँले चेलाहरूलाई स्वर्गमा बस्नुहुने बुबाप्रतिको प्रेम बढाउन मदत गर्ने कुराहरू सिकाउनुभयो। जस्तै, उहाँले यहोवालाई छोराछोरीलाई असल कुरा दिने बुबासित तुलना गर्नुभयो। (मत्ति ७:९-११) येसुको श्रोतामध्ये कसै-कसैले आफ्नो बुबाबाट त्यस्तो माया पाएका थिएनन् होला। तर यहोवा कस्तो बुबा हुनुहुन्छ भनेर बुझाउन येसुले हराएको छोराको उदाहरण बताउनुभयो। त्यो उदाहरणका बुबा मायालु थिए। तिनले आफ्नो बरालिएको छोरा घर फर्कँदा तिनलाई खुला मनले स्वागत गरे। यो उदाहरण सुनेपछि येसुका श्रोताहरूले यहोवा पनि त्यस्तै मायालु बुबा हुनुहुन्छ भनेर महसुस गरे होलान्।—लुका १५:२०-२४.
८. यहोवाप्रतिको प्रेम बढाउन तपाईँ विद्यार्थीलाई कसरी मदत गर्न सक्नुहुन्छ?
८ विद्यार्थीलाई अध्ययन गराउँदा यहोवाका गुणहरूतर्फ ध्यान खिच्नुहोस्। यसो गर्नुभयो भने तपाईँले तिनलाई यहोवाप्रतिको प्रेम बढाउन मदत गर्न सक्नुहुनेछ। हरेक चोटि अध्ययन गर्दा सिकिरहेको कुरामा यहोवाको प्रेम कसरी झल्किन्छ, छलफल गर्नुहोस्। जस्तै, फिरौतीको बलिदानबारे छलफल गर्दा विद्यार्थीलाई ‘येसु मेरै लागि मर्नुभएको हो’ भनेर महसुस गर्न मदत गर्नुहोस्। (रोमी ५:८; १ युह. ४:१०) तिनले ‘यहोवा मलाई धेरै प्रेम गर्नुहुन्छ’ भन्ने कुरा महसुस गरेपछि यहोवाप्रतिको तिनको प्रेम पनि बढ्दै जानेछ।—गला. २:२०.
९. मिकेललाई जीवनमा छाँटकाँट गर्न केले मदत गऱ्यो?
९ इन्डोनेसियाका मिकेलको उदाहरण विचार गर्नुहोस्। तिनले सानै छँदा बाइबल सत्य थाह पाएका थिए तर बप्तिस्मा भने गरेनन्। अठार वर्षको उमेरमा तिनी ट्रक ड्राइभरको काम गर्न विदेश गए। पछि तिनले विवाह गरे तर परिवारलाई घरमै छोडेर तिनी फेरि विदेश गए। तिनी विदेशमै छँदा तिनकी पत्नी र छोरीले अध्ययन गर्न थाले र प्रगति पनि गरे। आमाको मृत्यु भएपछि मिकेल बुबाको हेरचाह गर्न घर फर्के अनि तिनले पनि बाइबल अध्ययन सुरु गरे। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! किताबको पाठ २७ को “अझ खोतल्नुहोस्” भाग छलफल गर्दा तिनको निकै मन छोयो। यहोवालाई आफ्नो छोराले पीडा भोगेको देख्दा कत्ति दुःख लाग्यो होला भनेर मनन गर्दा मिकेल निकै भावुक भए र रोए। फिरौतीको बलिदानप्रति तिनको कृतज्ञता बढ्यो। त्यसपछि तिनले आफ्नो जीवनमा छाँटकाँट गरे र बप्तिस्मा गरे।
विद्यार्थीलाई यहोवाको सेवालाई पहिलो स्थान दिन मदत गर्नुहोस्
१०. यहोवाको सेवालाई पहिलो स्थान दिन येसुले आफ्ना चेलाहरूलाई कसरी मदत गर्नुभयो? (लुका ५:५-११) (चित्र पनि हेर्नुहोस्।)
१० येसुको सुरु-सुरुका चेलाहरूले उहाँ नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भनेर बुझिहाले। तर यहोवाको सेवालाई पहिलो स्थान दिन तिनीहरूलाई मदत चाहिएको थियो। पत्रुस र अन्द्रियासबारे विचार गरौँ। येसुले तिनीहरूलाई आफूसँगै पूरै समय प्रचारकार्यमा बिताउन आग्रह गर्नुभयो। त्यतिबेला तिनीहरू उहाँको चेला बनेको केही समय भइसकेको थियो। (मत्ति ४:१८, १९) तिनीहरूले याकुब र युहन्नासँगै मिलेर माछाको व्यापार गरेका थिए र त्यो व्यापार निकै फस्टाइरहेको थियो। (मर्कु. १:१६-२०) तर येसुले तिनीहरूलाई बोलाउनुहुँदा तिनीहरू उत्तिखेरै “आफ्ना जालहरू छोडेर” उहाँको पछि लागे। तिनीहरूले आफ्नो परिवारको लागि केही न केही प्रबन्धचाहिँ गरेको हुनुपर्छ। येसुसँगै प्रचारकार्यमा लाग्न तिनीहरू किन इच्छुक भए? यसको जवाफ हामी लुकाको विवरणमा पाउँछौँ। येसुले गर्नुभएको चमत्कार देखेपछि यहोवाले तिनीहरूको आवश्यकता पूरा गर्न सक्नुहुन्छ भन्ने कुरामा तिनीहरू ढुक्क भए।—लुका ५:५-११ पढ्नुहोस्।
येसुले चेलाहरूलाई यहोवाको सेवालाई पहिलो स्थान दिन मदत गर्नुभएको तरिकाबाट के सिक्न सक्छौँ? (अनुच्छेद १० हेर्नुहोस्)b
११. तपाईँको अनुभवले विद्यार्थीको विश्वास बलियो बनाउन कसरी मदत गर्छ?
११ हुनत हामी येसुले जस्तो चमत्कार गर्न सक्दैनौँ। तर यहोवाको सेवालाई पहिलो स्थान दिँदा उहाँले कसरी मदत गर्नुहुन्छ भनेर विद्यार्थीलाई अनुभवहरू सुनाउन सक्छौँ। जस्तै, तपाईँ सभामा उपस्थित हुन थाल्दा यहोवाले कसरी मदत गर्नुभयो, के तपाईँलाई याद छ? तपाईँले पनि सभाको दिन कामबाट छिटो फर्कनुपर्छ भनेर हाकिमसित कुरा गर्नुपरेको थियो कि? तपाईँले यहोवाको सेवालाई पहिलो स्थान दिँदा उहाँले कसरी साथ दिनुभयो भनेर बताउनुहोस्। अनि त्यसले गर्दा तपाईँको विश्वास कसरी बलियो भयो भनेर पनि सुनाउनुहोस्।
१२. (क) अध्ययनमा विभिन्न भाइबहिनीलाई लैजानु किन राम्रो हो? (ख) तपाईँ भिडियोहरू प्रयोग गरेर विद्यार्थीलाई कसरी मदत गर्न सक्नुहुन्छ? एउटा उदाहरण बताउनुहोस्।
१२ अरू भाइबहिनीको अनुभव सुनेर पनि विद्यार्थीहरूले यहोवाको सेवालाई पहिलो स्थान दिन मदत पाउन सक्छन्। त्यसैले विभिन्न पृष्ठभूमिका भाइबहिनीलाई अध्ययनमा लैजानुहोस्। तिनीहरू कसरी सत्यमा आए अनि यहोवाको सेवालाई पहिलो स्थान दिन तिनीहरूले के गरे भनी बताउन आग्रह गर्नुहोस्। साथै सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! किताबको “अझ खोतल्नुहोस्” वा “अझ धेरै जान्नुहोस्” भागमा भएका भिडियोहरू विद्यार्थीसँगै हेर्न समय निकाल्नुहोस्। उदाहरणको लागि, पाठ ३७ छलफल गर्नुहुँदा यहोवाले हाम्रो आवश्यकता पूरा गर्नुहुनेछ भिडियो हेर्नुहोस्। त्यसपछि यहोवालाई पहिलो स्थान दिने सन्दर्भमा कस्ता पाठहरू सिक्न सकिन्छ, छलफल गर्नुहोस्।
विद्यार्थीलाई चुनौतीहरूको सामना गर्न मदत गर्नुहोस्
१३. येसुले चेलाहरूलाई खेदोको सामना गर्न कसरी तयार बनाउनुभयो?
१३ येसुले चेलाहरूलाई तिनीहरूले खेदो भोग्नुपर्नेछ भनेर पटक-पटक बताउनुभयो। यहाँसम्म कि आफन्तहरूले समेत खेदो गर्नेछन् भन्नुभयो। (मत्ति ५:११; १०:२२, ३६) येसुले आफ्नो सेवाको अन्ततिर चेलाहरूलाई तिनीहरूले विश्वासको खातिर ज्यानै दिनुपर्ने हुन सक्छ भनेर पनि बताउनुभयो। (मत्ति २४:९; युह. १५:२०; १६:२) त्यसैले उहाँले तिनीहरूलाई प्रचारमा जाँदा चनाखो हुन सल्लाह दिनुभयो। साथै विरोधीहरूसित वादविवाद नगर्न अनि प्रचारमा आफूले भन्ने र गर्ने कुरामा होस पुऱ्याउन पनि सल्लाह दिनुभयो।
१४. हामी विद्यार्थीलाई खेदोको सामना गर्न कसरी तयार बनाउन सक्छौँ? (२ तिमोथि ३:१२)
१४ हामी पनि बाइबल विद्यार्थीलाई खेदोको सामना गर्न तयार बनाउन सक्छौँ। हामी तिनलाई साथीभाइ, परिवार वा आफन्तहरूले के भन्न वा गर्न सक्छन् भनेर बताउन सक्छौँ। (२ तिमोथि ३:१२ पढ्नुहोस्।) बाइबलको शिक्षाअनुसार चल्न थाल्दा सँगै काम गर्ने साथीहरूले तिनलाई हाँसोमा उडाउन सक्छन् अथवा नजिकका आफन्तहरूले समेत तिनको विश्वासको खिल्ली उडाउन सक्छन्। हामीले विद्यार्थीलाई खेदो आउनेछ भनेर सकेसम्म छिटो बुझाउनु राम्रो हो। त्यसो गऱ्यौँ भने पछि साँच्चै खेदो आइपर्दा तिनी त्यसको सामना गर्न तयार रहनेछन्।
१५. परिवारको विरोध सहन बाइबल विद्यार्थीलाई केले मदत गर्न सक्छ?
१५ परिवारले विरोध गर्दा त्यसको कारण के हुन सक्छ भनेर विद्यार्थीलाई सोच्न लगाउनुहोस्। जस्तै, तिनलाई कसैले फकाइफुस्ल्याइ गऱ्यो कि भनेर तिनको परिवारलाई चिन्ता लागेको हुन सक्छ वा तिनीहरूले यहोवाका साक्षीहरूप्रति नै नकारात्मक सोचाइ राखेका हुन सक्छन्। येसुलाई समेत उहाँका नातेदारहरूले नानाथरी भने। (मर्कु. ३:२१; युह. ७:५) खेदो आउँदा अरूसित मात्र होइन, आफ्ना परिवारका सदस्यहरूसित पनि धीरजी हुन र दयालु भई बोल्न विद्यार्थीलाई सिकाउनुहोस्।
१६. आफ्नो विश्वासबारे बताउँदा बाइबल विद्यार्थीलाई विवेकी हुन हामी कसरी मदत दिन सक्छौँ?
१६ परिवार वा आफन्तले चासो देखाए पनि सबै कुरा एकै चोटि बताउनु बुद्धिमानी होइन भनेर विद्यार्थीलाई बुझाउनुहोस्। सबै कुरा एकै चोटि बताउन थाल्दा तिनीहरू आत्तिन सक्छन् र अर्को चोटि कुरा गर्नै नचाहन सक्छन्। त्यसैले विद्यार्थीलाई अर्को चोटिको लागि पनि बाटो खुला रहने गरी कुराकानी गर्न प्रोत्साहन दिनुहोस्। (कल. ४:६) जस्तै, तिनले हाम्रो वेबसाइटबारे बताउन सक्छन्। यसो गर्दा तिनीहरू आफैले यहोवाका साक्षीहरूबारे थप जानकारी लिन सक्छन्।
१७. अरूले यहोवाका साक्षीहरूबारे सोध्न सक्ने प्रश्नहरूको जवाफ दिन तपाईँ विद्यार्थीलाई कसरी सिकाउन सक्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्।)
१७ आफन्त वा साथीभाइले सोध्न सक्ने प्रश्नहरूको सरल जवाफ दिन विद्यार्थीलाई सिकाउनुहोस्। (२ तिमो. २:२४, २५) यसको लागि हाम्रो वेबसाइटमा भएको “अक्सर सोधिने प्रश्नहरू” प्रयोग गर्न सक्नुहुन्छ। अनि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! किताबको हरेक पाठको अन्तमा भएको “कोही-कोही भन्छन्” भन्ने भाग छलफल गर्न नबिर्सनुहोस्। अरूले प्रश्न सोध्दा विद्यार्थीलाई आफ्नै शब्दमा जवाफ दिन प्रोत्साहन दिनुहोस् र त्यसको लागि तिनीसँगै अभ्यास पनि गर्नुहोस्। तिनको जवाफ सुन्दा केही छाँटकाँट गर्नुपर्छ जस्तो लाग्यो भने तिनलाई भन्न नहिचकिचाउनुहोस्। यसरी अभ्यास गर्दा तिनले आफ्नो विश्वासबारे ढुक्क भई बताउन सक्नेछन्।
बाइबल विद्यार्थीसित अभ्यास गरेर तिनलाई आफ्नो विश्वासबारे बताउन मदत गर्नुहोस् (अनुच्छेद १७ हेर्नुहोस्)c
१८. प्रचारकार्यमा भाग लिन तपाईँ विद्यार्थीलाई कसरी प्रोत्साहन दिन सक्नुहुन्छ? (मत्ति १०:२७)
१८ येसुले आफ्ना चेलाहरूलाई सुसमाचार प्रचार गर्ने आज्ञा दिनुभयो। (मत्ति १०:२७ पढ्नुहोस्।) विद्यार्थीले अरूलाई आफ्नो विश्वासबारे बताउन थालेपछि यहोवामाथिको तिनको भरोसा पनि बढ्दै जानेछ। त्यसोभए मण्डलीका भाइबहिनीहरूसितै मिलेर प्रचार गर्न थाल्न तपाईँ विद्यार्थीलाई कसरी मदत गर्न सक्नुहुन्छ? मण्डलीमा कुनै अभियान हुँदै छ भने विद्यार्थीको लागि त्यो प्रचार गर्न थाल्ने राम्रो मौका हुन सक्छ। त्यसैले अभियानबारे घोषणा हुँदा तिनलाई प्रकाशक बन्नेबारे सोच्न प्रोत्साहन दिनुहोस्। अभियानको बेला प्रचारमा जान थाल्न धेरैलाई सजिलो लागेको कुरा पनि तिनलाई बताउनुहोस्। तिनलाई मध्यहप्ताको सभामा असाइनमेन्ट दिने लक्ष्य राख्न पनि प्रोत्साहन दिनुहोस्। यस्तो तालिमले तिनलाई आफ्नो विश्वासबारे निर्धक्क भई बताउन मदत गर्नेछ।
विद्यार्थीलाई भरोसा गर्नुहोस्
१९. येसुले चेलाहरूलाई भरोसा गरेको कुरा कसरी देखाउनुभयो अनि हामी कसरी उहाँको अनुकरण गर्न सक्छौँ?
१९ स्वर्ग जानुअघि येसुले चेलाहरू पछि आफूसँगै हुनेछन् भनेर बताउनुभयो। उहाँले तिनीहरू स्वर्ग जानेछन् भनेर बताउन खोज्दै हुनुहुन्थ्यो तर तिनीहरूले त्यो कुरा बुझेनन्। तैपनि येसुले तिनीहरूको शङ्कामा होइन, वफादारीमा ध्यान दिनुभयो। (युह. १४:१-५, ८) स्वर्गीय आशा अनि अरू त्यस्तै केही कुराहरूबारे बुझ्न तिनीहरूलाई समय लाग्नेछ भनेर येसुलाई थाह थियो। (युह. १६:१२) त्यसरी नै हाम्रा विद्यार्थीहरूले यहोवालाई खुसी बनाउन चाहन्छन् भनेर हामीले पनि भरोसा गर्नुपर्छ।
विद्यार्थीले अरूलाई आफ्नो विश्वासबारे बताउन थालेपछि यहोवामाथिको तिनको भरोसा पनि बढ्दै जानेछ
२०. मलावीकी एक बहिनीले आफ्नो विद्यार्थीलाई भरोसा गरेको कुरा कसरी देखाइन्?
२० हाम्रो विद्यार्थीले सही कुरा गर्न चाहन्छन् भनेर हामी भरोसा गर्छौँ। मलावीकी चिफुन्डो बहिनीको अनुभव विचार गरौँ। तिनले क्याथोलिक धर्म मान्ने एक युवती अलिनाफेलाई सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! किताबबाट अध्ययन गराउन थालिन्। पाठ १४ छलफल गरेपछि चिफुन्डोले अलिनाफेलाई ‘मूर्तिपूजा गर्नु तपाईँलाई कस्तो लाग्छ?’ भनेर सोधिन्। अलिनाफेले अनुहार निन्याउरो बनाउँदै यसो भनिन्, “यो त मेरो आफ्नै छनौट हो नि!” यो सुनेर चिफुन्डोलाई तिनले अध्ययन गर्न छोड्ने हुन् कि जस्तो लाग्यो तर चिफुन्डोले हरेस नखाई अध्ययन गराइरहिन्। केही महिनापछि पाठ ३४ छलफल गर्ने क्रममा चिफुन्डोले अलिनाफेलाई यस्तो प्रश्न सोधिन्: “बाइबल र साँचो परमेश्वर यहोवाबारे अध्ययन गरेर तपाईँले कस्तो फाइदा उठाउनुभएको छ?” तिनले दिएको जवाफबारे चिफुन्डो यसो भन्छिन्, “तिनले थुप्रै फाइदाहरूबारे बताइन्। साथै साक्षीहरू बाइबलले निषेध गरेको कुरामा भाग लिँदैनन् भनेर बुझेको कुरा पनि बताइन्।” त्यसको केही समयपछि नै अलिनाफेले मूर्तिपूजा गर्न छोडिन् र बप्तिस्मा पनि गरिन्।
२१. विद्यार्थीलाई सत्यको पक्षमा अडान लिन हामी कसरी मदत गर्न सक्छौँ?
२१ हुनत ‘हुर्काउने’ यहोवा नै हुनुहुन्छ तर विद्यार्थीलाई प्रगति गर्न मदत गर्ने काममा हाम्रो पनि भूमिका छ। (१ कोरि. ३:७) हाम्रो काम भनेको परमेश्वर के चाहनुहुन्छ भनेर तिनलाई सिकाउनु मात्र होइन। हामीले तिनलाई यहोवाप्रतिको प्रेम बढाउँदै लैजान मदत गर्नुपर्छ। त्यो प्रेम व्यक्त गर्न यहोवाको सेवालाई पहिलो स्थान दिन प्रोत्साहन दिनुपर्छ अनि विरोध आइपर्दा उहाँमाथि भरोसा राख्न पनि सिकाउनुपर्छ। साथै हामीले तिनलाई भरोसा गरेको देखाउनुपर्छ। यसो गऱ्यौँ भने यहोवाको स्तरअनुसार चल्न अनि सत्यको पक्षमा अडान लिन तिनले बल पाउनेछन्।
गीत ५५ तिनीहरूसँग नडराऊ!
a येसुलाई भेटेको साढे दुई वर्षपछिसम्म पनि निकोदेमस यहुदी न्यायपरिषद्का सदस्य नै थिए। (युह. ७:४५-५२) केही इतिहासकारअनुसार निकोदेमस येसुको मृत्युपछि मात्रै उहाँको चेला बने।—युह. १९:३८-४०.
b चित्रको व्याख्या: पत्रुस र अरू जलारीहरूले येसुसित पूरै समय प्रचारकार्यमा बिताउन माछाको व्यापार छोडे।
c चित्रको व्याख्या: एक बहिनी आफ्नो बाइबल विद्यार्थीसँगै अभ्यास गरेर तिनलाई प्रचार गर्न सिकाउँदै छिन्।