अध्ययन लेख ३४
गीत ३ हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा
यहोवा तपाईँलाई क्षमा गर्नुहुन्छ भन्ने कुरामा ढुक्क हुनुहोस्
“तपाईँले मेरो गल्ती, मेरो पाप क्षमा गर्नुभयो।”—भज. ३२:५.
सिक्न सकिने कुरा
यहोवाले क्षमा गर्नुहुन्छ भन्ने कुरामा हामी किन ढुक्क हुनुपर्छ र पश्चात्ताप गर्नेहरूलाई उहाँले क्षमा गर्नुहुन्छ भनेर बाइबलले कसरी विश्वस्त बनाउँछ?
१-२. हाम्रा पापहरू यहोवाले क्षमा गर्नुभयो भनेर थाह पाउँदा कस्तो महसुस हुन्छ? (चित्र पनि हेर्नुहोस्।)
दाउदले गम्भीर गल्तीहरू गरे र तिनलाई दोषी भावनाले निकै पिरोल्यो। (भज. ४०:१२; ५१:३; शिर बेहोरा) तर तिनले पश्चात्ताप गरे र यहोवाले तिनलाई क्षमा दिनुभयो। (२ समु. १२:१३) यहोवाबाट क्षमा पाएको महसुस गरेपछि तिनको काँधबाट गह्रौँ भारी हटेझैँ भयो र तिनले हलुका महसुस गरे।—भज. ३२:१.
२ यहोवाबाट क्षमा पाउँदा हामी पनि दाउदले जस्तै हलुका महसुस गर्न सक्छौँ। यहोवा हाम्रा गम्भीर गल्तीहरू समेत क्षमा गर्न तयार हुनुहुन्छ भन्ने कुरा थाह पाउँदा हामी कत्ति ढुक्क महसुस गर्छौँ नि, होइन र? तर त्यसको लागि हामीले मनैदेखि पश्चात्ताप गर्नुपर्छ, आफ्नो गल्ती स्विकार्नुपर्छ र त्यो नदोहोऱ्याउन आफ्नो तर्फबाट सक्दो गर्नुपर्छ। हामीलाई क्षमा दिनुभएपछि यहोवाले फेरि त्यही गल्ती कोट्ट्याइरहनुहुन्न। (हितो. २८:१३; प्रेषि. २६:२०; १ युह. १:९) बरु उहाँ हामीलाई यसरी क्षमा गर्नुहुन्छ कि मानौँ हामीबाट त्यो गल्ती भएकै थिएन। यो कुरा थाह पाउँदा हाम्रो मन कत्ति हलुका हुन्छ नि, होइन र?—इज. ३३:१६.
यहोवाले दिनुहुने क्षमाबारे दाउदले थुप्रै भजनहरू रचेका छन् (अनुच्छेद १-२ हेर्नुहोस्)
३-४. एउटी बहिनीले कस्तो महसुस गरिन् र यस लेखमा हामी के छलफल गर्नेछौँ?
३ कसै-कसैलाई पश्चात्ताप गरिसकेपछि पनि यहोवाले क्षमा दिनुभयो भन्ने कुरा स्विकार्न गाह्रो लाग्न सक्छ। जेनिफर बहिनीले त्यस्तै महसुस गरिन्। तिनले आफ्नो आमाबुबाबाट सत्य सिकेकी थिइन्। किशोरावस्थामा तिनले खराब काम गर्न र दोहोरो जीवन बिताउन थालिन्। वर्षौँपछि तिनी यहोवाकहाँ फर्किन्, आफ्नो जीवनमा छाँटकाँट गरिन् र बप्तिस्मा गरिन्। तिनी भन्छिन्: “म अनैतिक जीवन बिताउँथेँ, बेस्सरी रक्सी पिउँथेँ अनि साह्रै रिसाहा स्वभावकी थिएँ। पैसा नै मेरो लागि सबथोक थियो। ख्रिष्टको बलिदानको आधारमा यहोवाले मलाई क्षमा गरिसक्नुभयो भनेर मलाई थाह थियो। तर यहोवाले साँच्चै क्षमा गर्नुभयो भन्ने कुरा स्विकार्न भने गाह्रो भइरहेको थियो।”
४ आफूले विगतमा गरेका गल्तीहरूको लागि यहोवाले क्षमा दिइसक्नुभयो भन्ने कुरा स्विकार्न के तपाईँलाई पनि कहिलेकाहीँ गाह्रो भएको छ? छ भने दाउदलाई सम्झनुहोस्! यहोवाबाट क्षमा पाएपछि दाउदले ढुक्क महसुस गरे। यहोवा तपाईँले पनि त्यस्तै महसुस गरेको चाहनुहुन्छ। यस लेखमा यहोवाले हामीलाई क्षमा दिनुहुन्छ भन्ने कुरामा हामी किन ढुक्क हुनुपर्छ र ढुक्क हुन के गर्न सक्छौँ, त्यसबारे छलफल गर्नेछौँ।
यहोवाले क्षमा गर्नुहुन्छ भन्ने कुरामा हामी किन ढुक्क हुनुपर्छ?
५. हामीले कुन कुरा पत्याएको सैतान चाहन्छ? एउटा उदाहरण दिनुहोस्।
५ यहोवा हामीलाई क्षमा गर्नुहुन्छ भन्ने कुरामा ढुक्क भयौँ भने हामी सैतानको एउटा पासोमा फस्नदेखि जोगिनेछौँ। नबिर्सनुहोस्, हामीलाई यहोवाको सेवा गर्नदेखि रोक्न सैतानले जे पनि गर्छ। जस्तै, त्यसले एउटा झूट फैलाएको छ। यहोवाले हाम्रा पापहरू कहिल्यै क्षमा गर्नुहुन्न भन्ने झूट। अनि हामीले त्यो कुरा पत्याएको सैतान चाहन्छ। कोरिन्थ मण्डलीको एक जना मानिसबारे विचार गरौँ। अवैध यौनसम्बन्ध राखेकोले तिनलाई मण्डलीबाट हटाइएको थियो। (१ कोरि. ५:१, ५, १३) पछि तिनले पश्चात्ताप गरे तर मण्डलीका भाइबहिनीले तिनलाई कहिल्यै क्षमा नदिएको अनि मण्डलीमा स्वागत नगरेको सैतान चाहन्थ्यो। साथै तिनले आफू क्षमा पाउन लायकको छैनँ भन्ने महसुस गरेको सैतान चाहन्थ्यो। त्यसो भएको खण्डमा तिनी “अति दुःखी भएर शोकमा” डुब्ने थिए र यहोवाको सेवा गर्न छोड्ने थिए। हामीले पनि यहोवाको सेवा गर्न छोडेको सैतान चाहन्छ र त्यसले विभिन्न चालहरू चल्छ। तर “त्यसका युक्तिहरूबारे हामी अनजान छैनौँ।”—२ कोरि. २:५-११.
६. दोषी भावनाले पिरोलिरहेको छ भने हामीले के गर्नुपर्छ?
६ यहोवा हामीलाई क्षमा गर्नुहुन्छ भन्ने कुरामा ढुक्क भयौँ भने हामीलाई दोषी भावनाले सताउनेछैन। पाप गरेपछि दोषी महसुस हुनु स्वाभाविकै हो। (भज. ५१:१७) अनि त्यो राम्रो कुरा पनि हो। किन? किनभने हाम्रो अन्तस्करणले हामीलाई गल्ती सुधारेर सही बाटोमा हिँड्न झकझकाउन सक्छ। (२ कोरि. ७:१०, ११) तर पश्चात्ताप गरिसकेपछि पनि दोषी महसुस गरिरह्यौँ भने हामी निराश हुन सक्छौँ र यहोवाको सेवा गर्न छोड्ने हदसम्म पुग्न सक्छौँ। यहोवा हामीलाई क्षमा गर्नुहुन्छ भन्ने कुरामा ढुक्क भयौँ भने हामीलाई दोषी भावनाले पिरोल्नेछैन। बरु हामी सफा अन्तस्करणले र आनन्दित हुँदै यहोवाको सेवा गर्न सक्नेछौँ। अनि यहोवा हामीले त्यसै गरेको चाहनुहुन्छ। (कल. १:१०, ११; २ तिमो. १:३) त्यसोभए यहोवा हामीलाई क्षमा गर्नुहुन्छ भन्ने कुरामा ढुक्क हुन हामी के गर्न सक्छौँ?
यहोवा हामीलाई क्षमा गर्नुहुन्छ भन्ने कुरामा ढुक्क हुन हामीले के गर्नुपर्छ?
७-८. यहोवाले मोसालाई आफूबारे के बताउनुभयो र हामी कुन कुरामा ढुक्क हुन सक्छौँ? (प्रस्थान ३४:६, ७)
७ यहोवाले आफूबारे के भन्नुभएको छ, सोच्नुहोस्। जस्तै, उहाँले मोसालाई सिनै पर्वतमा आफूबारे के भन्नुभयो, विचार गरौँ।a (प्रस्थान ३४:६, ७ पढ्नुहोस्।) यहोवाले मोसालाई आफ्नो जुनसुकै गुणबारे बताउन सक्नुहुन्थ्यो। तर उहाँले “म यहोवा कृपालु र दयालु छु” भन्नुभयो। के यस्तो दयालु परमेश्वरले मनैदेखि पश्चात्ताप गर्ने आफ्ना उपासकहरूलाई क्षमा नदिनुहोला र? त्यस्तो त हुनै सक्दैन। साँचो पश्चात्ताप गर्ने व्यक्तिलाई क्षमा नदिनु भनेको कठोर र निष्ठुर कुरा हो। तर यहोवा त्यस्तो कदापि हुनुहुन्न।
८ यहोवा सत्यका परमेश्वर हुनुहुन्छ। त्यसैले उहाँले आफूबारे झूटो कुरा कहिल्यै बताउनुहुन्न। (भज. ३१:५) उहाँले भन्नुभएको कुरामा हामी विश्वास गर्न सक्छौँ। विगतका गल्तीहरूले गर्दा दोषी महसुस गरिरहनुभएको छ भने आफैलाई सोध्नुहोस्: ‘यहोवा दयालु र कृपालु हुनुहुन्छ अनि पश्चात्ताप गर्नेहरूलाई क्षमा दिनुहुन्छ भन्ने कुरामा के म विश्वास गर्छु? गर्छु भने यहोवाले मलाई पनि क्षमा दिइसक्नुभयो भन्ने कुरामा म ढुक्क हुनु पर्दैन र?’
९. यहोवाले हाम्रो पाप क्षमा गर्नुहुन्छ भन्नुको अर्थ के हो? (भजन ३२:५)
९ यहोवाले कसरी क्षमा गर्नुहुन्छ भन्नेबारे बाइबल लेखकहरूले लेखेका कुराहरूमा मनन गर्नुहोस्। जस्तै, दाउदले यहोवाको क्षमाबारे के भने, विचार गरौँ। (भजन ३२:५ पढ्नुहोस्।) तिनले भने, “तपाईँले मेरो गल्ती, मेरो पाप क्षमा गर्नुभयो।” यस पदमा “क्षमा गर्नु” भनेर अनुवाद गरिएको हिब्रू शब्दले “उठाउनु,” “बोक्नु” वा “टाढा लैजानु” भन्ने अर्थ दिन्छ। दाउदलाई क्षमा गर्नुहुँदा यहोवाले एक अर्थमा तिनका पापहरू बोकेर तिनीदेखि टाढा लैजानुभयो। त्यसपछि तिनको काँधबाट गह्रौँ भारी हटेझैँ भयो र तिनलाई दोषी अन्तस्करणले पिरोल्न छोड्यो। (भज. ३२:२-४) हामी पनि त्यस्तै महसुस गर्न सक्छौँ। हामीले पनि आफ्ना पापहरूको लागि मनैदेखि पश्चात्ताप गऱ्यौँ भने यहोवाले हाम्रा पापहरू बोकेर हामीदेखि टाढा लैजानुहुन्छ। त्यसपछि हामीले दोषी महसुस गरिरहनु पर्दैन।
१०-११. ‘यहोवा क्षमा गर्न सधैँ तयार हुनुहुन्छ’ भन्नुको अर्थ के हो? (भजन ८६:५)
१० भजन ८६:५ पढ्नुहोस्। दाउदले यसो भने: ‘यहोवा क्षमा गर्न सधैँ तयार हुनुहुन्छ।’ यसको मतलब, हामीले गल्ती गर्दा यहोवा झट्टै रिसाइहाल्नुहुन्न। बरु पश्चात्ताप गर्नेहरूलाई क्षमा गर्न तत्पर हुनुहुन्छ। हामी किन त्यसो भन्न सक्छौँ? त्यसै पदको बाँकी भाग यसो भन्छ: “तपाईँलाई पुकार्ने सबैलाई तपाईँ प्रशस्तगरि अटल प्रेम देखाउनुहुन्छ।” अघिल्लो लेखमा छलफल गरिएझैँ यहोवा उहाँलाई प्रेम गर्नेहरूलाई अटल प्रेम देखाउनुहुन्छ र तिनीहरूलाई कहिल्यै त्याग्नुहुन्न। अटल प्रेमले गर्दा नै उहाँ पश्चात्ताप गर्नेहरूलाई “खुला मनले क्षमा” गर्नुहुन्छ। (यसै. ५५:७) यहोवाले क्षमा गर्नुभयो भन्ने कुरामा शङ्का लागिरहेको छ भने आफैलाई सोध्नुहोस्: ‘यहोवा क्षमा गर्न सधैँ तयार हुनुहुन्छ भन्ने कुरामा के म विश्वास गर्छु? आफ्ना गल्तीहरूको लागि पश्चात्ताप गरेर क्षमा माग्ने सबैलाई उहाँले क्षमा गर्नुहुन्न र? गर्नुहुन्छ भने उहाँले मलाई चाहिँ क्षमा गर्नुभएको छैन होला र?’
११ हामी त्रुटिपूर्ण छौँ भनेर यहोवालाई राम्ररी थाह छ। यस कुराले हामीलाई सान्त्वना दिन्छ। (भज. १३९:१, २) यहोवा हामीलाई राम्ररी चिन्नुहुन्छ भन्ने कुरा दाउदको अर्को भजनबाट पनि बुझ्न सक्छौँ। अब त्यो भजन केलाऔँ। त्यसले यहोवा हामीलाई क्षमा गर्नुहुन्छ भन्ने कुरामा ढुक्क हुन मदत गर्नेछ।
यहोवालाई हामीबारे के थाह छ?
१२-१३. यहोवालाई हामीबारे के थाह छ र यसले उहाँलाई के गर्न उत्प्रेरित गर्छ? (भजन १०३:१४)
१२ भजन १०३:१४ पढ्नुहोस्। दाउदले यहोवाबारे यसो भने: “हामी धुलोको कण मात्र हौँ भनी उहाँ बुझ्नुहुन्छ।” त्यसको मतलब, यहोवालाई हामी त्रुटिपूर्ण छौँ भन्ने कुरा थाह छ। त्यसैले दाउदले यहोवा पश्चात्ताप गर्नेहरूलाई क्षमा गर्न सधैँ तयार हुनुहुन्छ भने। दाउद के भन्न खोज्दै थिए? आउनुहोस्, तिनका शब्दहरू गहिरिएर विचार गरौँ।
१३ दाउदले यहोवाबारे यसो पनि भने, “हामी कसरी बनिएका हौँ, उहाँ राम्ररी जान्नुहुन्छ।” यहोवाले आदमलाई “भूमिको माटोबाट” बनाउनुभयो। (उत्प. २:७) त्यसैले मानिसहरू कसरी बनिएका हुन् र तिनीहरूको आवश्यकता के-के हो, उहाँ राम्ररी बुझ्नुहुन्छ। हुनत आदम र हव्वा त्रुटिरहित थिए। तैपनि बाँच्नको लागि तिनीहरूले खानुपर्थ्यो, सुत्नुपर्थ्यो र सास फेर्नुपर्थ्यो। तर तिनीहरूले पाप गरेपछि माटोबाट बनिएका हौँ भन्ने अभिव्यक्तिले नयाँ अर्थ लियो। तिनीहरूकै सन्तान भएकोले हामी जन्मजातै त्रुटिपूर्ण छौँ र हामीले गलत काम गर्ने झुकावविरुद्ध लड्नुपर्छ। हामी त्रुटिपूर्ण भएकोले हामीबाट बेलाबेलामा गल्ती हुन्छ भनेर यहोवालाई थाह छ। त्यसैले हामीले गल्ती गरे पनि पश्चात्ताप गऱ्यौँ भने उहाँ हामीलाई कृपा देखाउनुहुन्छ र क्षमा गर्नुहुन्छ।—भज. ७८:३८, ३९.
१४. (क) यहोवाले दिनुहुने क्षमाबारे दाउदले के भने? (भजन १०३:१२) (ख) यहोवाले दाउदलाई क्षमा दिनुभएको कुराबाट हामी के सिक्न सक्छौँ? (“यहोवाले क्षमा दिनुभएपछि हाम्रा पापहरू सम्झनुहुन्न” भन्ने पेटी हेर्नुहोस्।)
१४ भजन १०३ बाट हामी यहोवाको क्षमाबारे अरू के बुझ्न सक्छौँ? (भजन १०३:१२ पढ्नुहोस्।) हामीलाई क्षमा दिनुभएपछि “पूर्वबाट पश्चिम जति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा” राखिदिनुहुन्छ भनेर दाउदले बताए। पूर्वको सबैभन्दा पल्लो छेउ पश्चिम हो। ती दुईबिन्दुको मिलन कहिल्यै हुन सक्दैन। यसबाट यहोवाले क्षमा दिइसक्नुभएका हाम्रा पापहरूबारे के थाह पाउन सक्छौँ? यस पदबारे व्याख्या गरिएको एउटा किताबअनुसार “यहोवाले हाम्रा पापहरू यत्ति टाढा राखिदिनुहुन्छ कि मानौँ त्यसको गन्धसमेत बाँकी रहँदैन।” कुनै गन्ध वा बास्नाले हामीलाई विगतमा भएको कुनै घटनाको याद दिलाउन सक्छ। तर यहोवाले हाम्रो पापको कुनै पनि गन्ध बाँकी नरहनेगरि हामीलाई क्षमा दिनुहुन्छ। हो, उहाँ हामीले विगतमा गरेका पापहरू सम्झनुहुन्न र त्यसकै आधारमा हामीलाई दोषी ठहराउने वा सजाय दिने गर्नुहुन्न।—इज. १८:२१, २२; प्रेषि. ३:१९.
१५. दोषी महसुस भइरहेको छ भने हामी के गर्न सक्छौँ?
१५ यहोवाले क्षमा दिइसक्नुभयो भनेर ढुक्क हुन भजन १०३ का शब्दहरूले कसरी मदत गर्छ? यदि विगतमा आफूले गरेका पापहरूले गर्दा दोषी महसुस भइरहेको छ भने हामी यो कुरा विचार गर्न सक्छौँ: ‘हामी त्रुटिपूर्ण छौँ र गल्ती गर्छौँ भनेर यहोवालाई थाह छ अनि पश्चात्ताप गर्नेहरूलाई उहाँले क्षमा पनि दिनुहुन्छ। कतै मैले यो कुरा बिर्सिरहेको छु कि? यहोवाले क्षमा दिइसक्नुभएका हाम्रा पापहरू कहिल्यै सम्झनुहुन्न र त्यसको लागि हामीलाई सजाय दिनुहुन्न। कतै मैले यो कुरा पनि बिर्सिरहेको छु कि?’ यहोवा हामीले विगतमा गरेका पापहरूमा ध्यान दिइरहनुहुन्न अनि हामीले पनि त्यसमा ध्यान दिइरहनु हुँदैन। (भज. १३०:३) यहोवाले हामीलाई क्षमा दिइसक्नुभयो भन्ने कुरामा ढुक्क भयौँ भने हामीले दोषी महसुस गरिरहनेछैनौँ। बरु आनन्दित भई उहाँको सेवा गर्न सक्नेछौँ।
१६. विगतका गल्तीहरूमा घोरिएर बस्यौँ भने के हुन सक्छ? उदाहरणसहित बताउनुहोस्। (चित्र पनि हेर्नुहोस्)
१६ एउटा उदाहरण विचार गरौँ। दोषी महसुस गरिरहनु भनेको गाडी चलाउँदा लुकिङ् ग्लासमा हेरेको हेऱ्यै गर्नुजस्तै हो। बेलाबेलामा लुकिङ् ग्लासमा हेर्नु त राम्रै हो किनभने त्यसो गर्दा पछाडिबाट आइरहेका गाडीहरू देख्न सक्छौँ र खतराहरूबाट जोगिन सक्छौँ। तर गाडी चलाउँदा हाम्रो ध्यान अगाडि हुनुपर्छ। त्यसैगरि विगतमा आफूले गरेका गल्तीहरूबारे कहिलेकाहीँ सोच्नु त राम्रै हो किनभने हामी त्यसबाट पाठ सिक्न सक्छौँ र त्यो नदोहोऱ्याउन होसियार हुन्छौँ। तर विगतका गल्तीहरूमै घोरिएर बस्यौँ भने हामीलाई दोषी भावनाले सताउनेछ र आनन्दित भई यहोवाको सेवा गरिरहन सक्नेछैनौँ। त्यसैले यहोवाको सेवामा ध्यान केन्द्रित गरिरहौँ। हामी यहोवाले प्रतिज्ञा गर्नुभएको नयाँ संसारतर्फ लैजाने बाटोमा हिँडिरहेका छौँ, जहाँ पहिलेका तीता यादहरू “फेरि सम्झनामा आउनेछैनन्।”—यसै. ६५:१७; हितो. ४:२५.
गाडी चलाउँदा ड्राइभरले लुकिङ् ग्लासमा मात्र हेरेको हेऱ्यै गर्नुको साटो अगाडि हेर्नुपर्छ। त्यसरी नै हामीले पनि विगतमा गरेका गल्तीहरूमा होइन बरु भविष्यमा पाइने आशिष्हरूमा ध्यान दिनुपर्छ (अनुच्छेद १६ हेर्नुहोस्)
आफ्नो हृदयलाई विश्वस्त पार्नुहोस्
१७. यहोवा हामीलाई प्रेम र क्षमा गर्नुहुन्छ भन्ने कुरामा हामी किन विश्वस्त हुनुपर्छ?
१७ यहोवा हामीलाई प्रेम र क्षमा गर्नुहुन्छ भन्ने कुरामा हामीले आफ्नो हृदयलाई विश्वस्त पार्नुपर्छ। (१ युह. ३:१९, फुटनोट) किन? किनभने हामीले आफू यहोवाको प्रेम र क्षमा पाउन लायकका छैनौँ भन्ने सोचेको सैतान चाहन्छ। त्यसको उद्देश्य हामीले यहोवाको सेवा गर्न छोडोस् भन्ने हो र हामीलाई उहाँदेखि तर्काउन त्यसले जे पनि गर्छ। आफ्नो समय थोरै मात्र बाँकी छ भन्ने कुरा त्यसलाई थाह छ। (प्रका. १२:१२) त्यसैले त्यसले पक्कै झन् बढी प्रयास गर्नेछ तर हामी त्यसलाई कहिल्यै सफल हुन नदेऔँ!
१८. यहोवा तपाईँलाई प्रेम र क्षमा गर्नुहुन्छ भन्ने कुरामा तपाईँ कसरी विश्वस्त हुन सक्नुहुन्छ?
१८ यहोवा तपाईँलाई प्रेम गर्नुहुन्छ भन्ने कुरामा ढुक्क हुन यसअघिको लेखमा दिइएका सुझावहरू लागू गर्नुहोस्। यहोवा तपाईँलाई क्षमा गर्नुहुन्छ भन्ने कुरामा आफ्नो हृदयलाई विश्वस्त पार्न उहाँले आफूबारे भन्नुभएका कुराहरू सोच्नुहोस्। उहाँले दिनुहुने क्षमाबारे बाइबल लेखकहरूले भनेका कुराहरूमा मनन गर्नुहोस्। नबिर्सनुहोस्, तपाईँ त्रुटिपूर्ण हुनुहुन्छ भनेर उहाँलाई राम्ररी थाह छ अनि उहाँले तपाईँसित कृपालु तरिकामा व्यवहार गर्नुहुन्छ। यो कुरा पनि नबिर्सनुहोस्, तपाईँलाई क्षमा दिनुभएपछि उहाँले तपाईँको पाप सम्झनुहुन्न। यी कुराहरू मनमा राख्नुभयो भने यहोवा कृपालु हुनुहुन्छ भन्ने कुरामा तपाईँ दाउदजस्तै विश्वस्त हुन सक्नुहुनेछ र यसो भन्न सक्नुहुनेछ: “यहोवा, तपाईँलाई धन्यवाद छ किनभने तपाईँले ‘मेरो गल्ती, मेरो पाप क्षमा गर्नुभयो।’”—भज. ३२:५.
गीत १ यहोवाका गुणहरू
a जून १, २००९ को प्रहरीधरहरा-मा भएको “परमेश्वरको नजिक हुनुहोस्—यहोवाले आफूबारे बताउनुहुँदा” भन्ने लेख हेर्नुहोस्।