प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 सेप्टेम्बर pp. ८-१३
  • आफूले वा अरूले अन्याय भोग्नुपर्दा तपाईँ के गर्न सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफूले वा अरूले अन्याय भोग्नुपर्दा तपाईँ के गर्न सक्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा र येसु अन्यायलाई घृणा गर्नुहुन्छ
  • अन्याय देख्दा येसुले के गर्नुभयो?
  • अन्याय देख्दा येसुको अनुकरण गर्नुहोस्‌
  • अन्याय देख्दा हामी के गर्न सक्छौँ?
  • अन्याय-अत्याचार भोग्नुपर्दा हामी के गर्न सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • के न्यायको लागि गरिएको पुकाराको सुनुवाइ हुनेछ?
    थप लेखहरू
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • अत्याचार बारे के परमेश्‍वरले कहिले केही गर्नु हुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 सेप्टेम्बर pp. ८-१३

अध्ययन लेख ३७

गीत ११४ “धैर्य गर”

आफूले वा अरूले अन्याय भोग्नुपर्दा तपाईँ के गर्न सक्नुहुन्छ?

“मैले न्यायको आशा गरेको थिएँ तर हेर, चारैतिर अन्याय भयो।”—यसै. ५:७.

सिक्न सकिने कुरा

अरूले अन्याय भोगेको देख्दा येसुले के गर्नुभयो र हामी कसरी उहाँको अनुकरण गर्न सक्छौँ?

१-२. अन्याय देख्दा थुप्रै मानिसहरू कस्तो प्रतिक्रिया देखाउँछन्‌ र हाम्रो मनमा कस्ता प्रश्‍नहरू उठ्‌न सक्छन्‌?

हामी अन्यायले भरिएको संसारमा बाँचिरहेका छौँ। थुप्रै मानिसहरूलाई तिनीहरूको आर्थिक स्तर, लिङ्‌ग, जात, रूपरङ्‌ग वा यस्तै अन्य कुराको आधारमा अन्यायपूर्ण व्यवहार गरिन्छ। अर्कोतर्फ लोभी व्यापारी र भ्रष्ट नेताहरूले गर्दा वातावरणसम्बन्धी समस्याहरू निम्तिएका छन्‌। अनि सर्वसाधारणले यसको नराम्रो असर भोगिरहेका छन्‌। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हामी सबै जना नै यस्ता अन्यायहरूको सिकार हुन पुगेका छौँ।

२ आफूले अन्याय भोग्नुपर्दा वा अरूले अन्याय भोगेको देख्दा रिस उठ्‌नु स्वाभाविकै हो। किनभने हामी सबै जना सुरक्षित अनि कुनै अन्याय नभएको संसारमा बाँच्न चाहन्छौँ। त्यसैले केही मानिसहरू समाज-सुधार अभियानहरूमा भाग लिन्छन्‌। तिनीहरू सरकार र देशको कानुनविरुद्ध आन्दोलन गर्छन्‌। अनि अन्याय हटाउँछु भनी झूटो आश्‍वासन दिने नेताहरूलाई समर्थन गर्छन्‌। तर हामी ‘यस संसारका होइनौँ’ भनेर हामीले बुझेका छौँ र परमेश्‍वरको राज्यले नै सबै अन्याय हटाउने समयको प्रतीक्षामा छौँ। (युह. १७:१६) तैपनि अरूले अन्याय भोगेको देख्दा हामीलाई दुःख लाग्छ अनि कहिलेकाहीँ त रिस पनि उठ्‌छ। हाम्रो मनमा यस्ता प्रश्‍नहरू आउन सक्छन्‌: ‘यस्तो अवस्थामा मैले के गर्नुपर्छ? यस्तो अन्यायविरुद्ध म केही गर्न सक्छु कि?’ यी प्रश्‍नहरूको जवाफ पाउनुअघि अन्याय देख्दा यहोवा र येसु कस्तो महसुस गर्नुहुन्छ, बुझौँ।

यहोवा र येसु अन्यायलाई घृणा गर्नुहुन्छ

३. अन्याय देख्दा हामीलाई किन रिस उठ्‌छ? (यसैया ५:७)

३ अन्याय देख्दा हामीलाई किन रिस उठ्‌छ भन्‍ने कुरा बाइबलबाट थाह पाउन सक्छौँ। यहोवाले हामीलाई आफ्नै स्वरूपमा बनाउनुभयो अनि “उहाँ धार्मिकता र न्यायलाई प्रेम गर्नुहुन्छ” भनी बाइबल बताउँछ। (भज. ३३:५; उत्प. १:२६) यहोवा कहिल्यै अन्यायपूर्ण व्यवहार गर्नुहुन्‍न र अरूले पनि त्यस्तो व्यवहार गरेको कदापि चाहनुहुन्‍न। (व्यव. ३२:३, ४; मिका ६:८; जक. ७:९) उदाहरणको लागि, भविष्यवक्‍ता यसैयाको समयका थुप्रै इस्राएलीहरूले आफ्नै दाजुभाइहरूबाट दुर्व्यवहार भोग्नुपऱ्‍यो अनि यहोवाले तिनीहरूको “रोदनको आवाज” सुन्‍नुभयो। (यसैया ५:७ पढ्‌नुहोस्‌।) त्यसकारण उहाँले बारम्बार उहाँको व्यवस्था उल्लङ्‌घन गर्ने र अरूलाई दुर्व्यवहार गर्ने ती मानिसहरूलाई सजाय दिनुभयो।—यसै. ५:५, १३.

४. अन्याय देख्दा येसु कस्तो महसुस गर्नुहुन्छ? एउटा विवरण बताउनुहोस्‌। (चित्र पनि हेर्नुहोस्‌)

४ यहोवाजस्तै येसु पनि न्यायलाई प्रेम गर्नुहुन्छ अनि अन्यायलाई घृणा गर्नुहुन्छ। एकचोटिको कुरा हो, येसुले हात पक्षाघात भएको एक जना मानिसलाई भेट्‌नुभयो। उहाँ ती मानिसलाई मदत गर्न उत्प्रेरित हुनुभयो तर दयामाया नभएका धर्मगुरुहरूको सोचाइ भने बिलकुलै फरक थियो। तिनीहरूले ती मानिसलाई कत्ति गाह्रो भइरहेको छ भनेर सोच्दै सोचेनन्‌। बरु उल्टै येसुले विश्रामदिनको नियम तोड्‌नुभयो भनेर आरोप लगाउन थाले। त्यो देख्दा येसुलाई कस्तो लाग्यो? “तिनीहरूको हृदय बोधो भएको देखेर उहाँ असाध्यै दुःखी हुनुभयो।”—मर्कु. ३:१-६.

येसु सभाघरमा यहुदी धर्मगुरुहरूसित हात पक्षाघात भएको मानिसबारे कुरा गर्दै हुनुहुन्छ, जसलाई उहाँले निको पार्न लाग्नुभएको छ। धर्मगुरुहरू येसुलाई रिसाउँदै हेरिरहेका छन्‌।

येसुले मानिसहरूप्रति समानुभूति देखाउनुभयो तर यहुदी धर्मगुरुहरूले त्यसो गरेनन्‌ (अनुच्छेद ४ हेर्नुहोस्‌)


५. अन्याय देख्दा रिस उठ्‌नु जायजै भए पनि हामीले किन रिस पालिराख्नु हुँदैन?

५ अन्याय देख्दा यहोवा र येसुलाई रिस उठ्‌छ भनेर हामीले बुझ्यौँ। त्यसैले हामीलाई पनि रिस उठ्‌नु स्वाभाविकै हो। (एफि. ४:२६) तर रिसाउनु जायजै भए पनि त्यसो गर्दैमा समस्या समाधान भने हुँदैन। वास्तवमा लामो समयसम्म रिस पाल्यौँ वा त्यसलाई काबूमा राखेनौँ भने हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा असर पुग्न सक्छ। (भज. ३७:१, ८; याकु. १:२०) त्यसोभए अन्याय भोग्नुपर्दा वा अरूले अन्याय भोगेको देख्दा हामीले के गर्नुपर्छ? हामी येसुको उदाहरणबाट सिक्न सक्छौँ।

अन्याय देख्दा येसुले के गर्नुभयो?

६. येसु पृथ्वीमा हुनुहुँदा मानिसहरूले कस्ता अन्यायहरू भोगिरहेका थिए? (चित्र पनि हेर्नुहोस्‌।)

६ पृथ्वीमा छँदा येसुले थुप्रै मानिस अन्यायको सिकार भएको देख्नुभयो। धर्मगुरुहरूले सर्वसाधारणलाई दमन गरिरहेका थिए। (मत्ति २३:२-४) साथै रोमी अख्तियारवालाहरूले मानिसहरूलाई कठोर व्यवहार गर्थे। त्यसैले थुप्रै यहुदीहरू रोमी शासनबाट स्वतन्त्र हुन चाहन्थे। केही यहुदी उग्रवादीहरू स्वतन्त्रताको लडाइँ लड्‌न समेत तयार थिए। तर येसुले यस्तो कुनै पनि लडाइँलाई समर्थन गर्नुभएन अनि आफैले पनि कुनै अभियान सुरु गर्नुभएन। एकचोटि मानिसहरूले येसुलाई राजा बनाउन खोज्दा उहाँ त्यहाँबाट निस्किहाल्नुभयो।—युह. ६:१५.

येसु एक्लै डाँडातिर जाँदै हुनुहुन्छ। डाँडाको फेदमा मानिसहरू झुम्मिएका छन्‌।

मानिसहरूले येसुलाई राजा बनाउन खोज्दा उहाँ त्यहाँबाट निस्किहाल्नुभयो (अनुच्छेद ६ हेर्नुहोस्‌)


७-८. पृथ्वीमा छँदा येसुले किन अन्याय हटाउने प्रयास गर्नुभएन? (युहन्‍ना १८:३६)

७ पृथ्वीमा छँदा येसु अन्याय हटाउन राजनीतिमा कहिल्यै मुछिनुभएन। किन? किनभने मानिसले मानिसलाई नै डोऱ्‍याउन सक्दैन र तिनीहरूसित त्यसो गर्ने अधिकार पनि छैन भनेर येसुलाई थाह थियो। (भज. १४६:३; यर्मि. १०:२३) साथै मानिसहरूले अन्यायको मूल कारणलाई पनि हटाउन सक्दैनन्‌। यो संसारमाथि सैतानले शासन गरिरहेको छ। त्यो क्रूर छ अनि त्यसले अन्यायलाई बढावा दिन आफ्नो अख्तियार प्रयोग गर्छ। (युह. ८:४४; एफि. २:२) त्यति मात्र होइन, हामी त्रुटिपूर्ण छौँ। त्यसैले हाम्रो मनसाय असलै भए पनि सधैँ सही काम गर्न सक्दैनौँ।—उप. ७:२०.

८ अन्यायको मूल कारणलाई परमेश्‍वरको राज्यले मात्र हटाउन सक्छ भनेर येसुलाई थाह थियो। त्यसैले उहाँले आफ्नो पूरै समय र शक्‍ति “परमेश्‍वरको राज्यको सुसमाचार प्रचार” गर्नमै लगाउनुभयो। (लुका ८:१) उहाँले “धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू”-लाई अब चाँडै भ्रष्टाचार र अन्यायको अन्त हुनेछ भनेर आश्‍वासन दिनुभयो। (मत्ति ५:६; लुका १८:७, ८) तर यो कुरा कुनै समाज-सुधार अभियानद्वारा होइन बरु परमेश्‍वरको राज्यले शासन गर्न थालेपछि सम्भव हुनेछ, जुन राज्य “यस संसारको होइन।”—युहन्‍ना १८:३६ पढ्‌नुहोस्‌।

अन्याय देख्दा येसुको अनुकरण गर्नुहोस्‌

९. परमेश्‍वरको राज्यले मात्र सबै अन्याय हटाउनेछ भन्‍ने कुरामा तपाईँ किन विश्‍वस्त हुनुहुन्छ?

९ अहिले पृथ्वीमा अन्याय येसुको समयमा भन्दा झनै व्याप्त भएको छ। तर यस “अन्तको दिनमा” अन्यायको मूल कारण सैतान र त्यसलाई समर्थन गर्ने त्रुटिपूर्ण मानिसहरू नै हुन्‌। (२ तिमो. ३:१-५, १३; प्रका. १२:१२) अन्यायको मूल कारणलाई परमेश्‍वरको राज्यले मात्र हटाउन सक्छ भनेर येसुलाई जस्तै हामीलाई पनि थाह छ। हामी त्यस राज्यलाई पूरापूर समर्थन गर्छौँ। त्यसैले अन्यायविरुद्धको लडाइँ जुलुस वा आन्दोलनहरूलाई कुनै तरिकामा समर्थन गर्दैनौँ। स्टेसीa बहिनीको अनुभव विचार गरौँ। सत्य सिक्नुअघि तिनी समाज-सुधार अभियानहरूमा सामेल भइरहन्थिन्‌। तर पछि तिनलाई आफूले गरिरहेको कुराले साँच्चै अन्याय हटाउन सक्ला र भनेर शङ्‌का लाग्न थाल्यो। तिनी भन्छिन्‌: “आन्दोलनहरूमा भाग लिँदा ‘के मैले सही पक्षलाई समर्थन गरिरहेको छु’ जस्तो लाग्थ्यो। अहिले म परमेश्‍वरको राज्यलाई समर्थन गर्छु अनि म सही कुराको पक्षमा छु भनेर विश्‍वस्त छु। यहोवाले अन्याय सदाको लागि नामेट पार्नुहुनेछ, जुन म कहिल्यै गर्न सक्दिनँ।”—भज. ७२:१, ४.

१०. हामी किन समाज-सुधार अभियानहरूमा भाग लिँदैनौँ? (मत्ति ५:४३-४८) (चित्र पनि हेर्नुहोस्‌।)

१० समाज-सुधार अभियानमा लागेका धेरैजसो मानिसहरू रिसको झोकमा जे पनि गर्छन्‌। तिनीहरू नियमकानुन तोड्‌छन्‌ अनि अरू मानिसहरूलाई हानि समेत पुऱ्‍याउँछन्‌। तर येसुले कहिल्यै पनि त्यसो गर्न सिकाउनुभएन। (एफि. ४:३१) जेफ्रि नाम गरेका एक भाइ यसो भन्छन्‌: “शान्तिपूर्ण तरिकामा सुरु भएको आन्दोलनले क्षणभरमै उग्र रूप लिन सक्छ। आन्दोलनकारीहरूले हिंसा मच्चाउन र लुटपाट गर्न थाल्छन्‌।” तर येसुले हामीलाई सबै मानिसलाई प्रेम गर्न सिकाउनुभएको छ, हाम्रो कुरामा सहमत नहुने वा हामीलाई खेदो गर्ने मानिसहरूलाई समेत। (मत्ति ५:४३-४८ पढ्‌नुहोस्‌।) हामी ख्रिष्टियनहरू येसुले हाम्रो लागि बसाल्नुभएको नमुना पछ्याउन सक्दो कोसिस गर्छौँ।

व्यस्त सडकमा आन्दोलन भइरहेको छ। एक बहिनी त्यहाँ ध्यान नदिई आफ्नो बाटो लागिरहेकी छिन्‌।

हामीले राजनैतिक अनि सामाजिक मामिलाहरूमा तटस्थ रहने सङ्‌कल्प गर्नुपर्छ (अनुच्छेद १० हेर्नुहोस्‌)


११. समाज-सुधार अभियानहरूलाई समर्थन नगर्ने हाम्रो सङ्‌कल्पलाई केले कमजोर बनाउन सक्छ?

११ हुनत परमेश्‍वरको राज्यले अन्यायलाई सदाको लागि नामेट पार्नेछ भनेर हामीलाई थाह छ। तर आफै अन्यायको सिकार हुनुपर्दा हामीलाई येसुको अनुकरण गर्न गाह्रो लाग्न सक्छ। अन्यायको सिकार भएकी जान्या बहिनीको अनुभव विचार गरौँ। तिनी भन्छिन्‌: “मानिसहरूले भेदभाव गर्दा मेरो साह्रै चित्त दुख्थ्यो। कहिलेकाहीँ त रिस पनि उठ्‌थ्यो। तिनीहरूले सजाय पाउनै पर्छ जस्तो लाग्थ्यो। त्यसैले मैले जातीय भेदभावविरुद्धको अभियानलाई समर्थन गर्ने विचार गरेँ। यसो गर्दा मात्र मेरो रिस शान्त हुन्छ जस्तो लाग्यो।” तर पछि जान्याले आफ्नो सोचाइ छाँटकाँट गर्नुपर्ने महसुस गरिन्‌। उनी भन्छिन्‌: “मैले यहोवामाथि नभई मानिसहरूमाथि भरोसा गर्न थालेको महसुस गरेँ। त्यसैले त्यस्ता अभियानहरूलाई कुनै पनि तरिकामा समर्थन नगर्ने निर्णय गरेँ।” हुनत अन्याय देख्दा हामीलाई रिस उठ्‌नु स्वाभाविकै हो तर हामीले त्यसलाई आफूमाथि हाबी हुन दिनु हुँदैन। बरु यस संसारको राजनैतिक र सामाजिक मामिलाहरूमा तटस्थ रहने सङ्‌कल्प गर्नुपर्छ।—युह. १५:१९.

१२. आफूले कस्तो जानकारी लिइरहेको छु भन्‍नेबारे हामी किन होसियार हुनुपर्छ?

१२ अन्याय देख्दा रिस उठ्‌नु स्वाभाविकै भए पनि त्यसलाई काबूमा राख्न हामी के गर्न सक्छौँ? हामी के पढ्‌छौँ, के हेर्छौँ अनि के सुन्छौँ भन्‍ने कुरामा होसियार हुनुपर्छ। कुनै-कुनै सामाजिक सञ्जाल अहिले भइरहेको अन्यायलाई सनसनीपूर्ण बनाउने अनि समाज-सुधार अभियानलाई बढावा दिने पोस्टहरूले भरिएको हुन्छ। समाचारहरूमा पनि प्रायः कुनै एउटा कुराको पक्ष लिइएको हुन्छ। तर हामीले सुनेको जानकारी सही नै रहेछ भने पनि के त्यसमै घोरिएर बस्दा केही फाइदा हुन्छ र? त्यस्ता जानकारीहरू लिनमै धेरै समय बितायौँ भने हामीलाई उल्टै तनाव हुन सक्छ। हो, हामी निराश हुन सक्छौँ। (हितो. २४:१०) अनि त्योभन्दा पनि नराम्रो कुरा त, परमेश्‍वरको राज्यले मात्र सबै अन्याय हटाउन सक्छ भन्‍ने कुरा हामीले बिर्सन सक्छौँ।

१३. बाइबल पढाइको राम्रो तालिकाले हामीलाई अन्याय सहन कसरी मदत गर्छ?

१३ बाइबल पढाइ अनि मननको राम्रो तालिकाले हामीलाई अन्याय सहन मदत गर्छ। आलिया बहिनीलाई मानिसहरूले दुर्व्यवहार भोग्नुपरेको देख्दा निकै दुःख लाग्थ्यो। त्यस्तो दुर्व्यवहार गर्नेहरूले कुनै सजाय नपाएको देख्दा तिनलाई रिस पनि उठ्‌थ्यो। तिनी भन्छिन्‌: “मैले आफैलाई यसरी सम्झाउनुपऱ्‍यो, ‘यहोवाले सबै समस्या समाधान गर्नुहुनेछ भनेर के म साँच्चै विश्‍वास गर्छु?’ त्यही समयतिर मैले अय्युब ३४:२२-२९ पढेँ। ती पदहरूले मलाई यहोवाको नजरबाट कोही लुक्न सक्दैन भनेर सम्झायो। यहोवाले मात्र सही न्याय गर्न सक्नुहुन्छ अनि उहाँले मात्र सबै समस्या समाधान गर्न सक्नुहुन्छ।” परमेश्‍वरको राज्यले सही न्याय स्थापना नगरुन्जेल हामीले अन्याय भोगी नै रहनुपर्नेछ। त्यतिन्जेल हामी के गर्न सक्छौँ?

अन्याय देख्दा हामी के गर्न सक्छौँ?

१४. अहिले हामीले गर्न सक्ने एउटा कुरा के हो? (कलस्सी ३:१०, ११)

१४ अरूले गर्ने व्यवहार हाम्रो नियन्त्रणमा हुँदैन तर हामी आफूले के गर्छौँ, त्योचाहिँ हाम्रै नियन्त्रणमा हुन्छ। हामीले अगाडि छलफल गरेझैँ अरूलाई प्रेम देखाएर हामी येसुको अनुकरण गर्न सक्छौँ। यस्तो प्रेमले हामीलाई अरूसित आदरपूर्ण तरिकामा व्यवहार गर्न उत्प्रेरित गर्छ, हामीलाई खेदो गर्नेहरूसित समेत। (मत्ति ७:१२; रोमी १२:१७) हामीले अरूलाई पक्षपात गरेनौँ अनि सबैसित दयालु व्यवहार गऱ्‍यौँ भने यहोवा खुसी हुनुहुनेछ।—कलस्सी ३:१०, ११ पढ्‌नुहोस्‌।

१५. हामीले सुनाउने सत्यले मानिसहरूमा कस्तो प्रभाव पार्छ?

१५ मानिसहरूलाई मदत गर्ने सबैभन्दा राम्रो तरिका भनेको तिनीहरूलाई बाइबलको सत्य सुनाउनु हो। किन? किनभने “यहोवाको ज्ञानले” हिंस्रक र रिसाहा व्यक्‍तिलाई समेत दयालु अनि शान्तिप्रेमी व्यक्‍ति बनाउन सक्छ। (यसै. ११:६, ७, ९) सत्य सिक्नुअघि जेमाल नाम गरेका एक व्यक्‍ति सरकार उल्टाउन लागिपरेको एउटा विद्रोही समूहको सदस्य थिए। किनभने सरकारले जनतालाई दमन गरिरहेको छ जस्तो तिनलाई लागेको थियो। तिनी भन्छन्‌: “तपाईँ कसैलाई पनि जबरजस्ती परिवर्तन गर्न सक्नुहुन्‍न। मलाई पनि कसैले जबरजस्ती गरेको होइन बरु बाइबल सत्यले ममा परिवर्तन ल्यायो।” सत्य सिकेपछि जेमालले सरकारको विरोध गर्न छोडिदिए। बाइबल सत्यले जत्ति धेरैलाई परिवर्तन गर्छ, अरूलाई हानि पुऱ्‍याउने मानिसहरू पनि त्यत्ति नै कम हुनेछन्‌।

१६. तपाईँ अरूलाई परमेश्‍वरको राज्यबारे किन बताउन चाहनुहुन्छ?

१६ येसुले जस्तै हामी पनि मानिसहरूलाई परमेश्‍वरको राज्यले मात्र सधैँको लागि अन्याय हटाउन सक्छ भनेर बताउँछौँ। यस्तो आशाले अन्यायको सिकार भएकाहरूलाई सान्त्वना दिन्छ। (यर्मि. २९:११) अगाडि उल्लेख गरिएकी स्टेसी यसो भन्छिन्‌: “आफूले अन्याय भोग्नुपर्दा वा अरूले अन्याय भोगेको देख्दा बाइबल सत्यले मलाई शान्त रहन मदत गरेको छ। हामीलाई सान्त्वना दिन यहोवा आफ्नो वचन प्रयोग गर्नुहुन्छ।” अन्याय नामेट हुनेछ भन्‍ने बाइबलको सान्त्वनादायी सन्देश सुनाउन सुरुमा हामी आफै त्यो कुरामा विश्‍वस्त हुनुपर्छ। दुःखकष्टबारे बाइबल के भन्छ भनेर तपाईँले जत्ति राम्ररी बुझ्नुभयो, त्यसमाथिको तपाईँको विश्‍वास पनि त्यत्ति नै बढ्‌दै जानेछ। त्यसपछि स्कुलमा होस्‌ वा काममा, तपाईँ आफ्ना साथीहरूलाई हामीले दुःखकष्ट भोग्नुको कारण के हो र चाँडै यहोवाले के गर्नुहुनेछ भनेर बताउन सक्नुहुनेछ।b

१७. अन्यायको सामना गर्न यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ?

१७ सैतान “यस संसारको शासक” रहुन्जेल हामीले अन्याय भोगिरहनुपर्नेछ भनेर हामीलाई थाह छ। तर हामी आशाविहीन छैनौँ किनभने यहोवाले हामीलाई अहिले पनि मदत गर्ने अनि भविष्यमा सैतान र सबै दुष्टतालाई हटाउने प्रतिज्ञा गर्नुभएको छ। (युह. १२:३१) यहोवाले बाइबलमा अन्याय हुनुको कारण मात्र होइन, बरु अन्यायको सिकार भएकाहरूप्रति उहाँ कस्तो महसुस गर्नुहुन्छ भनेर पनि बताउनुभएको छ। (भज. ३४:१७-१९) साथै उहाँले आफ्नो छोराको उदाहरणबाट हामीले अन्याय भोग्नुपर्दा वा अरूले अन्याय भोगेको देख्दा के गर्नुपर्छ भनेर बुझ्न मदत गर्नुभएको छ। अब चाँडै परमेश्‍वरको राज्यले सबै अन्यायलाई सदाको लागि नामेट पार्नेछ। (२ पत्रु. ३:१३) त्यसपछि सारा पृथ्वीमा “धार्मिकता र न्याय” स्थापना हुनेछ। (यसै. ९:७) तर त्यो समय नआउन्जेल जोसका साथ परमेश्‍वरको राज्यको सुसमाचार सुनाइरहौँ!

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • अन्याय देख्दा हामीलाई किन दुःख लाग्छ र रिस उठ्‌छ?

  • अन्यायविरुद्ध हुने अभियानहरूलाई हामी किन समर्थन गर्दैनौँ?

  • अन्याय भोग्नुपर्दा वा अरूले अन्याय भोगेको देख्दा हामी के गर्न सक्छौँ?

गीत १५८ हुँदैन ढिलो!

a केही नाम परिवर्तन गरिएका छन्‌।

b मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌ पुस्तिकाको अतिरिक्‍त लेख क, बुँदा २४-२७ पनि हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने