प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 डिसेम्बर पृ. २-७
  • दुःखकष्ट भोग्नुपर्दा अय्युबको किताबले हामीलाई कसरी मदत गर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दुःखकष्ट भोग्नुपर्दा अय्युबको किताबले हामीलाई कसरी मदत गर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले अय्युबलाई दुःख भोग्न दिनुभयो
  • अय्युबको विवरणले हामीलाई दुःख सहन कसरी मदत गर्छ?
  • अरूलाई मदत गर्न अय्युबको किताब प्रयोग गर्नुहोस्‌
  • अय्यूबले यहोवाको नाउँ उच्च पारे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “यहोवामा आशा राख”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • अय्यूबको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • “म . . . आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 डिसेम्बर पृ. २-७

अध्ययन लेख ४८

गीत १२९ हामी सहिरहन्छौँ!

दुःखकष्ट भोग्नुपर्दा अय्युबको किताबले हामीलाई कसरी मदत गर्छ?

“परमेश्‍वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्‍न।”—अय्यु. ३४:१२.

सिक्न सकिने कुरा

परमेश्‍वरले किन दुःखकष्ट हुन दिनुहुन्छ र हामी वफादार भई कसरी ती सहन सक्छौँ भनेर अय्युबको किताबबाट सिक्नेछौँ।

१-२. हामीले अय्युबको किताब पढ्‌नुपर्ने के-कस्ता कारणहरू छन्‌?

के तपाईँले हालै अय्युबको किताब पढ्‌नुभएको थियो? यो किताब लगभग ३,५०० वर्षअगाडि लेखिएको थियो। तर यसलाई साहित्यजगत्‌को एउटा उत्कृष्ट कृतिको रूपमा हेरिन्छ। हुनत अय्युबको किताब सरल तरिकामा लेखिएको छ तर यसमा लेखिएका कुराहरूलाई एकदमै सशक्‍त अनि सुन्दर ढङ्‌गमा वर्णन गरिएको छ। एउटा किताबमा यसका लेखकलाई “अत्यन्तै प्रतिभाशाली साहित्यकार” भनिएको छ। यो किताब मोसाले लेखेका थिए तर तिनलाई लेख्न प्रेरणा दिनुहुने यहोवा परमेश्‍वर नै हुनुहुन्छ।—२ तिमो. ३:१६.

२ अय्युबको किताब बाइबलको एउटा अभिन्‍न भाग हो। किन? एउटा कारण भनेको यस किताबमा सम्पूर्ण भौतिक प्राणीहरू मुछिएको एउटा महत्त्वपूर्ण विवादबारे चर्चा गरिएको छ। त्यो हो, यहोवाको नामको पवित्रीकरण। साथै यस किताबबाट यहोवाका केही अद्‌भुत गुणहरू, जस्तै: प्रेम, बुद्धि, न्याय र शक्‍तिबारे सिक्न सक्छौँ। उदाहरणको लागि, अय्युबको किताब मात्र हेर्ने हो भने पनि यहोवालाई २७ चोटि “सर्वशक्‍तिमान्‌” भनी सम्बोधन गरिएको छ। साथै यस किताबले हाम्रो जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पनि दिन्छ। तीमध्ये एउटा हो, “परमेश्‍वरले मानिसहरूलाई किन दुःख भोग्न दिनुहुन्छ?”

३. अय्युबको किताबबाट हामी के सिक्न सक्छौँ?

३ पहाडको टाकुराबाट हामी वरिपरिको दृश्‍य मजाले देख्न सक्छौँ। त्यसरी नै अय्युबको किताबले हामीलाई आफ्नो जीवनमा आइपर्ने समस्याहरूलाई मानिसको दृष्टिकोणबाट नभई यहोवाको दृष्टिकोणबाट हेर्न मदत गर्छ। इस्राएलीहरूले अय्युबको जीवनीबाट सिक्न सकिने पाठहरू लागू गरेका भए कस्तो लाभ उठाउन सक्थे र अहिले हामी कस्तो लाभ उठाउन सक्छौँ भनेर यस लेखमा छलफल गर्नेछौँ। साथै अरूलाई मदत गर्न यो विवरण कसरी प्रयोग गर्न सक्छौँ भनेर पनि सिक्नेछौँ।

परमेश्‍वरले अय्युबलाई दुःख भोग्न दिनुभयो

४. अय्युब मिश्रमा रहेका इस्राएलीहरूभन्दा कसरी भिन्‍न थिए?

४ उज देशमा अय्युब नाम गरेका मानिस बस्थे। त्यो ठाउँ सम्भवतः कनानको पूर्वतिर अनि अरबी भूमिको उत्तरी भूभागमा पर्थ्यो। त्यतिबेला मिश्रमा इस्राएलीहरूले निकै कष्टकर जीवन बिताइरहेका थिए अनि मूर्तिपूजा पनि गर्न थालिसकेका थिए। तर अय्युब भने वफादार भई यहोवाको सेवा गर्दै थिए। (यहो. २४:१४; इज. २०:८) यहोवाले तिनीबारे यसो भन्‍नुभयो: “पृथ्वीमा ऊजस्तो अरू कोही छैन।”a (अय्यु. १:८) अय्युब पूर्वतिरका मानिसहरूमध्ये सबैभन्दा धनी थिए अनि निकै प्रख्यात थिए। (अय्यु. १:३) यस्तो प्रभावशाली व्यक्‍ति यहोवाप्रति सत्यनिष्ठ रहेको देख्दा सैतान रिसले कत्ति मुरमुरियो होला!

५. यहोवाले अय्युबलाई किन दुःख भोग्न दिनुभयो? (अय्युब १:२०-२२; २:९, १०)

५ दुःख भोग्नुपऱ्‍यो भने अय्युबले यहोवालाई त्याग्नेछन्‌ भनेर सैतानले दाबी गऱ्‍यो। (अय्यु. १:७-११; २:२-५) हुनत यहोवा अय्युबलाई धेरै माया गर्नुहुन्थ्यो। तर सैतानले अय्युबमाथि लगाएको आरोपले गर्दा थुप्रै प्रश्‍नहरू खडा भए। त्यसैले यहोवाले सैतानलाई आफ्नो दाबी साबित गर्ने मौका दिनुभयो। (अय्यु. १:१२-१९; २:६-८) सैतानले अय्युबको वस्तुभाउ सखाप पारिदियो र तिनका दसै जना छोराछोरीलाई मारिदियो। त्यसले अय्युबलाई पनि प्रहार गऱ्‍यो र तिनको शिरदेखि पैतालासम्म पीडादायी पिलोहरू निस्कियो। सैतानले यसरी एकपछि अर्को प्रहार गरे तापनि अय्युबको सत्यनिष्ठा तोड्‌न सकेन। (अय्युब १:२०-२२; २:९, १० पढ्‌नुहोस्‌।) पछि यहोवाले अय्युबलाई निको पारिदिनुभयो, तिनलाई पहिलेभन्दा धेरै धनसम्पत्ति दिनुभयो अनि अरू दस जना छोराछोरी पनि दिनुभयो। साथै तिनले पहिलाजस्तै मानसम्मान पनि पाए। यहोवाले अय्युबको आयु लम्ब्याइदिनुभयो र तिनी थप १४० वर्ष बाँचे। तिनले सन्तान दरसन्तान गरेर चार पुस्तासम्म देख्न पाए। (अय्यु. ४२:१०-१३, १६) यस विवरणबाट विगतका परमेश्‍वरका सेवकहरूले कस्तो लाभ उठाउन सक्थे र आज हामी कस्तो लाभ उठाउन सक्छौँ?

६. अय्युबको उदाहरणबाट इस्राएलीहरूले कस्तो लाभ उठाएका हुन सक्छन्‌? (चित्र पनि हेर्नुहोस्‌।)

६ इस्राएलीहरूले कस्तो लाभ उठाउन सक्थे? मिश्रमा इस्राएलीहरूको जीवन सजिलो थिएन। जस्तै, यहोसु र कालेबले आफ्नो युवावस्था दासको रूपमा बिताए। अनि आफ्नो कुनै गल्ती नभए पनि पछि तिनीहरू ४० वर्षसम्म निर्जनभूमिमा भौँतारिनुपऱ्‍यो। यदि इस्राएलीहरूलाई अय्युबबारे थाह थियो भने तिनीहरूले दुःखकष्टको कारण यहोवा हुनुहुन्‍न बरु सैतान हो भनेर बुझेको हुनुपर्छ। अनि परमेश्‍वरले मानिसहरूलाई दुःख भोग्न दिनुको कारण के हो भनेर तिनीहरूले बुझेको हुनुपर्छ। साथै सत्यनिष्ठ र वफादार मानिसहरूलाई उहाँ इनाम दिनुहुन्छ भनेर पनि तिनीहरूले थाह पाएको हुनुपर्छ।

मिश्रमा एक इस्राएली पुरुष इँटाको चाङ लगाउँदै गर्दा केही सोच्दै छन्‌। काममा घोटिरहेका इस्राएलीहरूलाई मिश्रीहरूले लट्ठीले पिट्‌दै छन्‌।

लामो समय मिश्रको दासत्वमा परेका इस्राएलीहरूले पछि अय्युबबारे थाह पाए होलान्‌। तिनीहरूले तिनको उदाहरणबाट लाभ उठाउन सक्थे (अनुच्छेद ६ हेर्नुहोस्‌)


७-८. दुःखकष्ट भोगिरहेकाहरूलाई अय्युबको किताबले कसरी मदत गर्न सक्छ? एउटा अनुभव बताउनुहोस्‌।

७ हामी कस्तो लाभ उठाउन सक्छौँ? असल मानिसहरूले पनि दुःख भोग्नुपरेको देख्दा थुप्रैले परमेश्‍वरमाथि विश्‍वास गर्न छोडेका छन्‌। रुवाण्डाकी हेजलb बहिनीको अनुभव विचार गर्नुहोस्‌। सानी छँदा उनी ईश्‍वरमा विश्‍वास गर्थिन्‌। तर उनको जीवनमा एकपछि अर्को गर्दै थुप्रै अप्रिय घटनाहरू घटे। उनको आमाबुबाको सम्बन्धविच्छेद भयो अनि आमाले अर्कैसित विवाह गरिन्‌। सौतेनी बुबाले उनलाई दुर्व्यवहार गर्थे। किशोरावस्थामा छँदा एक जना पुरुषले उनलाई बलात्कार गऱ्‍यो। उनी सान्त्वनाको खोजीमा धार्मिक कार्यक्रमहरूमा जाने गर्थिन्‌ तर उनले त्यहाँबाट पनि केही सान्त्वना पाइनन्‌। पछि हेजलले ईश्‍वरलाई सम्बोधन गर्दै यस्तो चिठी लेखिन्‌: “हे ईश्‍वर, म तपाईँलाई सधैँ प्रार्थना गर्थेँ; कहिल्यै नराम्रो काम गरिनँ! तैपनि किन यस्तो दुःख दिनुभयो? अबदेखि म तपाईँलाई मान्दिनँ अनि मलाई जे मन पर्छ, त्यही गर्छु।” हेजलले जस्तै अरू थुप्रै मानिसहरूले पनि दुःखकष्टको कारण परमेश्‍वर नै हो भनेर सानैदेखि सिक्दै आएका छन्‌। यस्ता मानिसहरू देख्दा हामीलाई साह्रै दुःख लाग्छ र तिनीहरूलाई सत्य कुरा बुझ्न मदत दिन चाहन्छौँ।

८ हामीले अय्युबको किताबबाट दुःखकष्टको कारण परमेश्‍वर हुनुहुन्‍न बरु सैतान हो भनेर बुझेका छौँ। साथै दुःख पाएका मानिसहरूले आफ्नो पापको सजाय भोगिरहेका छन्‌ भन्‍ने सोचाइ राख्नु हुँदैन भनेर पनि बुझेका छौँ। किनभने बाइबलले जो-कोहीको जीवनमा “कुनै पनि बेला . . . चिताउँदै नचिताएको घटना घट्‌न सक्छ” भनेर बताउँछ। (उप. ९:११; अय्यु. ४:१, ८) साथै वफादार भई परीक्षाहरू सह्‍यौँ भने यहोवाले सैतानलाई झूटो साबित गर्न सक्नुहुनेछ भनेर पनि हामीले बुझेका छौँ। (अय्यु. २:३; हितो. २७:११) हामी आफूले सिकेका यस्ता बहुमूल्य कुराहरूलाई हल्कासित लिँदैनौँ। किनभने असल मानिसहरूले पनि दुःखकष्ट भोग्नुको कारण के हो भनेर हामीले राम्ररी बुझ्न सकेका छौँ। पछि हेजलले बाइबल अध्ययन गर्न थालिन्‌ र दुःखकष्टको कारण परमेश्‍वर हुनुहुन्‍न भनेर बुझ्न सकिन्‌। उनी भन्छिन्‌: “मैले फेरि परमेश्‍वरलाई मनैदेखि प्रार्थना गरेँ अनि यसो भनेँ, ‘हुनत मैले तपाईँलाई अबदेखि मान्दिनँ भनेकी थिएँ। तर मैले त्यो अनजानमै भनेकी थिएँ। किनभने मैले तपाईँलाई चिनेकै थिइनँ।’ यहोवा मलाई धेरै माया गर्नुहुन्छ भनेर मैले बुझेकी छु। म खुसी छु अनि मेरो मनमा कुनै गुनासो छैन।” परमेश्‍वरले हामीलाई किन दुःखकष्ट भोग्न दिनुहुन्छ भनेर बुझ्न पाएकोमा हामी धेरै कृतज्ञ छौँ। परीक्षा भोग्नुपर्दा अय्युबको विवरणले हामीलाई कसरी मदत गर्छ, अब विचार गरौँ।

अय्युबको विवरणले हामीलाई दुःख सहन कसरी मदत गर्छ?

९. अय्युब कस्तो अवस्थामा थिए? (याकुब ५:११)

९ अय्युबको यो अवस्था कल्पना गर्नुहोस्‌। तिनी एक्लै खरानीको थुप्रोमा बसिरहेका छन्‌। तिनको जीउभरि पिलो आएको छ र असह्‍य पीडा भोगिरहेका छन्‌। तिनी हड्डी र छाला मात्र भएका छन्‌। तिनको छाला डढेको छ र पत्रपत्र भएर झरिरहेको छ। तिनीसित खपटाले जीउ कन्याउनेबाहेक अरू केही गर्ने तागतै छैन। सहन असाध्यै गाह्रो भएकोले तिनले मनको तितोपना पनि पोखाइरहेका छन्‌। यस्तो गाह्रो अवस्थामा अय्युब जसोतसो बाँचिरहेका मात्र थिएनन्‌ बरु यहोवाप्रति वफादार हुँदै सहिरहेका थिए। (याकुब ५:११ पढ्‌नुहोस्‌।) तिनले सहन सक्नुको कारण के थियो?

१०. अय्युब यहोवासित घनिष्ठ थिए भनेर केले देखाउँछ? व्याख्या गर्नुहोस्‌।

१० अय्युबले आफ्ना भावनाहरू यहोवालाई पोखे। (अय्यु. १०:१, २; १६:२०) जस्तै, अध्याय ३ हेर्ने हो भने तिनले जीवनमा आइपरेको बज्रपातको लागि यहोवासित गुनासो गरे। अनि उहाँले गर्दा नै आफूले दुःख भोग्नुपरेको हो भन्‍ने गलत सोचाइसमेत राख्न पुगे। त्यसपछि तिनका तीन जना साथीले परमेश्‍वरले नै तिनलाई पापको सजाय दिनुभएको हो भनेर पटक-पटक भने। तर अय्युबले आफू यहोवाप्रति वफादार छु भन्‍ने कुरामा अड्डी कसे। अय्युबले भनेको कुनै-कुनै कुराबाट तिनले आफू परमेश्‍वरभन्दा धर्मी छु भन्‍न खोजिरहेको जस्तो पनि देखियो। (अय्यु. १०:१-३; ३२:१, २; ३५:१, २) तर तिनले आफूलाई सही साबित गर्ने धुनमा ‘आफ्नो बोलीलाई सम्हाल्नै नसकेको’ कुरा पनि स्विकारे। (अय्यु. ६:३, २६) अध्याय ३१ मा अय्युबले आफूमाथि लगाइएका आरोपहरू गलत हुन्‌ भनेर परमेश्‍वरले नै भनिदेऊन्‌ समेत भने। (अय्यु. ३१:३५) तर तिनले यसरी परमेश्‍वरसित जवाफ माग्नु गलत थियो।

११. यहोवाले अय्युबलाई सही सोचाइ राख्न कसरी मदत गर्नुभयो?

११ अय्युबले आफ्नो मनको सबै भावना यहोवालाई पोख्न सक्नुको कारण हामीले बुझ्यौँ। तिनले यहोवासित घनिष्ठ सम्बन्ध गाँसेका थिए अनि उहाँले तिनको सत्यनिष्ठा देख्नुहुनेछ भन्‍ने कुरामा पूरा भरोसा राखेका थिए। यहोवा आँधीबेहरीको बीचबाट बोल्नुहुँदा अय्युबले दुःख भोग्नुको कारण के हो भनेर एकएक कुरा बताउनुभएन। गुनासो गरेकोमा उहाँले तिनलाई सजाय दिनुभएन अनि तिनले आफू निर्दोष छु भन्‍ने दाबी गरेको विषयमा पनि केही भन्‍नुभएन। बरु तिनलाई एक जना मायालु बुबाले जस्तै सम्झाउनुभयो। वास्तवमा अय्युबलाई चाहिएको कुरा त्यही थियो। यहोवाको कुरा सुनेपछि अय्युबले आफूलाई कत्ति कुरा थाहै रहेनछ भनेर नम्र भई स्विकारे अनि जथाभाबी बोलेकोमा पश्‍चात्ताप पनि गरे। (अय्यु. ३१:६; ४०:४, ५; ४२:१-६) यो विवरणबाट विगतका परमेश्‍वरका सेवकहरूले कस्तो लाभ उठाउन सक्थे अनि आज हामी पनि कस्तो लाभ उठाउन सक्छौँ?

१२. इस्राएलीहरूले अय्युबको विवरणबाट कस्तो लाभ उठाउन सक्थे?

१२ इस्राएलीहरूले कस्तो लाभ उठाउन सक्थे? इस्राएलीहरूले अय्युबको उदाहरणबाट राम्रो पाठ सिक्न सक्थे। एकैछिन मोसाबारे विचार गर्नुहोस्‌। इस्राएल राष्ट्रको नाइकेको रूपमा सेवा गर्न तिनलाई पक्कै सजिलो थिएन। इस्राएलीहरू यहोवाप्रति थुप्रै चोटि अनाज्ञाकारी भए अनि तिनीहरूले गर्दा मोसा पनि निराश भए। गाह्रो अवस्था आउनेबित्तिकै इस्राएलीहरू यहोवाविरुद्ध गनगन गरिहाल्थे तर मोसा भने प्रार्थना गरेर यहोवासित मदत माग्थे। (प्रस्थ. १६:६-८; गन्ती ११:१०-१४; १४:१-४, ११; १६:४१, ४९; १७:५) पछि यहोवाले मोसालाई पनि सच्याउनुपरेको थियो। तर यहोवाको अनुशासन स्विकार्न तिनलाई अय्युबको उदाहरणले मदत गरेको हुनुपर्छ। जस्तै, इस्राएलीहरू मरुभूमिमा भौँतारिएको लगभग ४० वर्ष भइसकेको थियो र तिनीहरू कादेसनजिकै छाउनी हालेर बसेका थिए। त्यतिबेला मोसाले “बोल्न नहुने कुरा बोले” अनि यहोवालाई महिमा दिनबाट चुके। (भज. १०६:३२, ३३) त्यसैले उहाँले तिनलाई प्रतिज्ञा गरिएको देशमा जान दिनुभएन। (व्यव. ३२:५०-५२) यसले गर्दा मोसाको एकदमै चित्त दुखेको हुनुपर्छ। तैपनि तिनले नम्र हुँदै त्यो अनुशासन स्विकारे। तिनीपछिका पुस्ताहरूलाई पनि गाह्रो अवस्था सहन अय्युबको विवरणले मदत गरेको हुनुपर्छ। अय्युबको विवरण मनन गर्दा तिनीहरूले यहोवालाई आफ्नो भावना पोख्न सिक्न सक्थे। साथै आफूलाई यहोवाभन्दा धर्मी ठान्‍नु हुँदैन अनि उहाँले अनुशासन दिनुहुँदा नम्र भई स्विकार्नुपर्छ भनेर पनि सिक्न सक्थे।

१३. अय्युबको विवरणले हामीलाई सहनशील हुन कसरी मदत गर्छ? (हिब्रू १०:३६)

१३ हामी कस्तो लाभ उठाउन सक्छौँ? हामी अहिले गाह्रो समयमा बाँचिरहेकोले हामीलाई पनि सहनशीलता चाहिन्छ। (हिब्रू १०:३६ पढ्‌नुहोस्‌।) जस्तै: हामीमध्ये कोही-कोही शारीरिक वा भावनात्मक समस्यासित जुझिरहेका हुन सक्छौँ, हाम्रो परिवारमा कुनै समस्या भइरहेको हुन सक्छ, प्रियजनको मृत्यु भएको हुन सक्छ वा अरू कुनै गम्भीर समस्याको सामना गरिरहेका हुन सक्छौँ। त्यसमाथि अरूको बोली-व्यवहारले गर्दा हामीलाई सहनशील भइरहन झनै गाह्रो हुन सक्छ। (हितो. १२:१८) तर हामी यहोवालाई आफ्ना भित्री भावनाहरू पनि पोखाउन सक्छौँ र उहाँ ती सुन्‍नुहुन्छ भनेर ढुक्क हुन अय्युबको किताबले मदत गर्छ। (१ युह. ५:१४) हामीले आफ्नो मनको बह पोख्दा अय्युबले जस्तै कहिलेकाहीँ आफ्नो ‘बोली सम्हाल्न’ नसकौँला। तर यहोवा हामीसित रिसाउनुहुनेछैन बरु हामीलाई सहनशील हुन चाहिने शक्‍ति र बुद्धि दिनुहुनेछ। (२ इति. १६:९; याकु. १:५) आवश्‍यक पर्दा उहाँले हामीलाई अय्युबलाई जस्तै सच्याउनुहुनेछ। यहोवाको वचन, उहाँको सङ्‌गठन वा परिपक्व साथीहरूबाट सल्लाह वा अनुशासन पाउँदा हामीले नम्र भई ती स्विकार्नुपर्छ भनेर पनि अय्युबको किताबबाट सिक्न सक्छौँ। (हिब्रू १२:५-७) नम्र भई अनुशासन स्विकार्दा अय्युबको हित भयो। हामी पनि नम्र भई छाँटकाँट गर्न तयार भयौँ भने हाम्रै हित हुन्छ। (२ कोरि. १३:११) हो, अय्युबको विवरणबाट हामी राम्रा पाठहरू सिक्न सक्छौँ। अरूलाई मदत गर्न हामी यो विवरण कसरी प्रयोग गर्न सक्छौँ, अब विचार गरौँ।

अरूलाई मदत गर्न अय्युबको किताब प्रयोग गर्नुहोस्‌

१४. हामीले किन दुःखकष्ट भोग्नुपर्छ भनेर कसैले सोध्दा तपाईँ कस्तो जवाफ दिन सक्नुहुन्छ?

१४ प्रचारमा कसै-कसैले तपाईँलाई यस्तो प्रश्‍न सोधेको छ होला, “हामीले किन दुःखकष्ट भोगिरहेका छौँ?” तपाईँले तिनलाई बाइबलबाटै जवाफ दिनुभयो होला। अदनको बगैँचामा के भएको थियो भनेर बताउनुभयो होला। सायद तपाईँले दुष्ट स्वर्गदूत सैतानले आदम र हव्वासित झूट बोल्यो र तिनीहरूले त्यसको लहलहैमा लागेर परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरे भनेर बताउनुभयो। (उत्प. ३:१-६) यसरी आदम र हव्वाले गर्दा हामीले दुःखकष्ट भोग्नुपऱ्‍यो र मर्नुपऱ्‍यो भनेर बुझाउनुभयो होला। (रोमी ५:१२) अनि परमेश्‍वरले सैतानलाई झूटो साबित गर्न र चाँडै दुःखकष्ट हट्‌नेछ भन्‍ने सुसमाचार सुनाउन समय दिँदै हुनुहुन्छ भनेर बताउनुभयो होला। (प्रका. २१:३, ४) यसरी जवाफ दिनु पनि राम्रो हो अनि नतिजा राम्रो हुन सक्छ।

१५. हामी किन दुःख भोग्छौँ भनेर कसैले प्रश्‍न गर्दा तपाईँ अय्युबको किताबबाट कसरी जवाफ दिन सक्नुहुन्छ? (चित्रहरू पनि हेर्नुहोस्‌।)

१५ तपाईँ अय्युबको किताब चलाएर पनि जवाफ दिन सक्नुहुन्छ। यस्तो अर्थपूर्ण प्रश्‍न सोधेकोमा सुरुमा तपाईँ तिनको प्रशंसा गर्न सक्नुहुन्छ। त्यसपछि अय्युब भन्‍ने एक जना वफादार मान्छेले पनि निकै दुःख भोग्नुपरेको थियो र तिनले पनि यस्तै प्रश्‍न गरेका थिए भनेर बताउन सक्नुहुन्छ। तिनलाई परमेश्‍वरले गर्दा नै दुःख भोग्नुपरेको हो जस्तो समेत लागेको थियो। (अय्यु. ७:१७-२१) युगौँअघिको मान्छेले पनि यस्तै प्रश्‍न सोधेका रहेछन्‌ भनेर थाह पाउँदा तिनी दङ्‌ग पर्न सक्छन्‌। त्यसपछि अय्युबले दुःख भोग्नुको कारण परमेश्‍वर नभई परमेश्‍वरको विरोधी सैतान हो भनेर कौशलतापूर्वक बताउन सक्नुहुन्छ। सैतानले मानिसहरू आफ्नो स्वार्थ पूरा गर्न मात्र परमेश्‍वरको सेवा गर्छन्‌ भनेर दाबी गरेको थियो। त्यसले आफ्नो दाबी साबित गर्न अय्युबलाई दुःख दिएको थियो। वफादार मानिसहरूले सैतानको दाबीलाई झूटो साबित गर्नेछन्‌ भनेर यहोवा विश्‍वस्त हुनुहुन्थ्यो। त्यसैले उहाँले अय्युबलाई दुःख भोग्न दिनुभयो। यी कुराहरू बताइसकेपछि परमेश्‍वरले अय्युबलाई तिनको वफादारिताको इनाम दिनुभयो भनेर पनि बताउन सक्नुहुन्छ। यसरी तपाईँ अय्युबको विवरण चलाएर दुःखकष्टको कारण परमेश्‍वर कदापि हुनुहुन्‍न भनेर बुझाउन सक्नुहुन्छ।

चित्रहरूको सँगालो: १. डढेलोले सखाप गरेको ठाउँमा एक महिला फोटो हेरेर रुँदै छिन्‌। २. पछि ती महिला ट्रली भएको ठाउँमा पुग्छिन्‌। त्यो ट्रली प्रकोप राहत केन्द्रनजिकै छ। ट्रलीको छेउमा उभिरहेकी बहिनीले ती महिलालाई बाइबल पद पढेर सुनाउँदै छिन्‌।

“परमेश्‍वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्‍न” भनेर बुझाउन तपाईँ अय्युबको किताब कसरी प्रयोग गर्न सक्नुहुन्छ? (अनुच्छेद १५ हेर्नुहोस्‌)


१६. अय्युबको किताबले एक जना व्यक्‍तिलाई कसरी मदत गऱ्‍यो?

१६ अय्युबको किताबले एक जना व्यक्‍तिलाई कसरी मदत गऱ्‍यो, विचार गरौँ। सन्‌ २०२१ को कुरा हो। एक बहिनीले टेलिफोन साक्षी दिँदै थिइन्‌। त्यस दिन उनले फोनमा कुरा गरेको पहिलो व्यक्‍ति मारियो थिए। उनले मारियोलाई एउटा बाइबल पद पढेर सुनाइन्‌ अनि परमेश्‍वरले हाम्रो प्रार्थना सुन्‍नुका साथै हामीलाई उज्ज्वल भविष्य र आशा दिनुभएको छ भनेर बताइन्‌। त्यसपछि उनले मारियोलाई ‘यो कुरा तपाईँलाई कस्तो लाग्यो’ भनेर सोधिन्‌। मारियोले यस्तो जवाफ दिए: “म आत्महत्या गर्ने सोच्दै थिएँ। त्यसैले तपाईँले फोन गर्दा म सुसाइड नोट लेख्दै थिएँ।” तिनले यसो पनि भने: “हुनत म परमेश्‍वरमा विश्‍वास गर्छु तर आज बिहानकै कुरा हो, परमेश्‍वरले मलाई त्यागिसक्नुभयो जस्तो लाग्यो।” हाम्री बहिनीले मारियोलाई अर्को चोटि फोन गर्दा अय्युबले भोग्नुपरेको दुःखबारे बताइन्‌। त्यसपछि मारियोले अय्युबको पूरै किताब पढ्‌ने विचार गरे। त्यसैले हाम्री बहिनीले नयाँ संसार अनुवाद बाइबलको लिङ्‌क पठाइन्‌। नतिजा कस्तो भयो? मारियोले बाइबल अध्ययनको प्रस्ताव स्विकारे। आफूलाई व्यक्‍तिगत रूपमा चासो राख्ने मायालु परमेश्‍वरबारे अझ धेरै सिक्न तिनी उत्सुक भए।

१७. यहोवाले अय्युबको किताब बाइबलमा साँचेर राख्नुभएकोमा तपाईँ किन आभारी हुनुहुन्छ? (अय्युब ३४:१२)

१७ परमेश्‍वरको वचनमा हाम्रो जीवनै परिवर्तन गर्ने शक्‍ति छ र यसले दुःख भोगिरहेका मानिसहरूलाई सान्त्वना पनि दिन सक्छ। (हिब्रू ४:१२) परमेश्‍वरले तिनको अनुभव बाइबलमा साँचेर राख्नुभएकोमा हामी साँच्चै आभारी छौँ। (अय्यु. १९:२३, २४) अय्युबको किताबबाट “परमेश्‍वरले कहिल्यै कसैमाथि अन्याय गर्नुहुन्‍न” भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ। (अय्युब ३४:१२ पढ्‌नुहोस्‌।) साथै यसबाट परमेश्‍वर हामीलाई किन दुःख भोग्न दिनुहुन्छ र हामी कसरी त्यो सहन सक्छौँ भनेर सिक्न सक्छौँ। यो किताब चलाएर दुःख भोगिरहेकाहरूलाई हामी सान्त्वना पनि दिन सक्छौँ। अर्को लेखमा अरूलाई सल्लाह दिनुपर्दा अय्युबको किताबले हामीलाई कसरी मदत गर्न सक्छ भनेर छलफल गर्नेछौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • परमेश्‍वरले अय्युबलाई दुःख भोग्न दिनुभएको कारण थाह पाउँदा हामी कस्तो लाभ उठाउन सक्छौँ?

  • दुःखकष्ट सहन अय्युबको विवरणले हामीलाई कसरी मदत गर्छ?

  • अरूलाई मदत गर्न हामी अय्युबको किताब कसरी प्रयोग गर्न सक्छौँ?

गीत १५६ विश्‍वासको आँखाले

a अय्युब जीवित छँदा वफादार पुरुष युसुफको मृत्यु भइसकेको थियो र मोसा इस्राएलको नाइके नियुक्‍त भइसकेका थिएनन्‌। त्यसैले यहोवा र सैतानबीचको कुराकानी र अय्युबको परीक्षा ईसापूर्व १६५७ देखि ईसापूर्व १५१४ बीचको कुनै समयमा भएको हुनुपर्छ।

b केही नाम परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने