मार्च २३-२९, २०२६
गीत १८ फिरौतीको बलिदानप्रति कृतज्ञ
फिरौतीको बलिदानप्रति कृतज्ञ भएको तपाईँ कसरी देखाउन सक्नुहुन्छ?
“ख्रिष्टको प्रेमले हामीलाई बाध्य पार्छ।”—२ कोरि. ५:१४.
सिक्न सकिने कुरा
फिरौतीको बलिदानप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ?
१-२. येसुको फिरौतीको बलिदानले हामीलाई के गर्न बाध्य पार्छ र किन? (२ कोरिन्थी ५:१४, १५) (चित्र पनि हेर्नुहोस्।)
मानौँ, तपाईँ गर्ल्यामगुर्लुम ढलेको भवनमा फस्नुभएको थियो। तर कसैले आएर तपाईँलाई त्यहाँबाट उद्धार गऱ्यो। हुनत उद्धारकर्मीले थुप्रैलाई बचाएका थिए होलान्। तर के तपाईँ आफै तिनलाई धन्यवाद दिन चाहनुहुन्न र? तपाईँको ज्यान बचाएकोमा तिनीप्रति जिन्दगीभरि ऋणी महसुस गर्नुहुन्न र?
२ अघिल्लो लेखमा सिकेझैँ जन्मजात पाएको पाप र मृत्युबाट हामी आफै मुक्त हुन सक्दैनौँ। त्यसैले यहोवाले फिरौतीको बलिदानको प्रबन्ध मिलाउनुभयो। त्यसले गर्दा (१) पापहरूको क्षमा पाउन, (२) त्रुटिरहित हुने आशा पाउन र (३) परमेश्वरसित मिलाप गर्न सम्भव भएको छ। त्यही बलिदानले गर्दा हामीले सधैँभरि बाँच्ने आशा पाएका छौँ। फिरौतीको बलिदानबाट येसु हामीलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा पनि देखिन्छ। उहाँ त्रुटिरहित मानिसको रूपमा पृथ्वीमा आउनुभन्दा धेरै अघिदेखि नै मानिसहरूलाई प्रेम गर्नुहुन्थ्यो। (हितो. ८:३०, ३१) त्यसकारण प्रेषित पावलले यस्तो लेखे: “ख्रिष्टको प्रेमले हामीलाई बाध्य पार्छ।” (२ कोरिन्थी ५:१४, १५ पढ्नुहोस्।) के गर्न बाध्य पार्छ? येसुले देखाउनुभएको प्रेमप्रति कृतज्ञता देखाउन अनि उहाँको त्यागलाई कहिल्यै नबिर्सन।
३. फिरौतीको बलिदानप्रति कृतज्ञता देखाउने तरिका मानिसअनुसार किन फरक हुन सक्छ?
३ यहोवा र येसुले देखाउनुभएको प्रेमप्रति तपाईँ कसरी कृतज्ञता देखाउन सक्नुहुन्छ? यसको जवाफ मानिसअनुसार फरक हुन सक्छ। किन? एउटा उदाहरण विचार गरौँ। मानौँ, तीन जना मानिसले फरक-फरक ठाउँबाट यात्रा सुरु गर्छन् तर पुग्नुपर्ने गन्तव्य एउटै छ। त्यसरी नै हाम्रो “गन्तव्य” भनेको फिरौतीको बलिदानप्रति कृतज्ञता देखाउनु हो। तर कसरी कृतज्ञता देखाउने भन्ने कुरा यहोवासितको सम्बन्धमा तपाईँ कहाँनेर हुनुहुन्छ, त्यसले फरक पार्छ। यस लेखमा यी तीन वटा समूहले आ-आफ्नो ठाउँबाट कसरी कृतज्ञता देखाउन सक्छन् भनेर छलफल गर्नेछौँ: (१) बाइबल विद्यार्थीहरू, (२) बप्तिस्मा गरिसकेकाहरू र (३) बगालबाट हराएका भेडाहरू।
बाइबल विद्यार्थीहरू
४. बाइबल विद्यार्थीहरूले गरेका कस्ता कुराहरू यहोवा याद गर्नुहुन्छ?
४ तपाईँ बाइबल अध्ययन गर्दै हुनुहुन्छ भने यहोवा र उहाँका शिक्षाहरूबारे अझ सिक्न चाहनुहुन्छ भन्ने कुरा देखिन्छ। यहोवा तपाईँलाई आफ्नो साथी बनाउन चाहनुहुन्छ र त्यसो गर्न मदत दिँदै हुनुहुन्छ। (युह. ६:४४; प्रेषि. १३:४८) “मानिसको हृदय जाँच्ने” यहोवा हुनुहुन्छ। यसको मतलब, उहाँबारे सिक्न तपाईँले गर्नुभएको प्रयास उहाँ याद गर्नुहुन्छ। साथै उहाँको स्तरअनुसार जीवन बिताउन तपाईँले छाँटकाँटहरू गर्नुभएको देख्दा उहाँ खुसी हुनुहुन्छ। (हितो. १७:३; २७:११) फिरौतीको बलिदानले गर्दा नै तपाईँ यहोवासित घनिष्ठ मित्रता गाँस्न सक्नुहुन्छ। (रोमी ५:१०, ११) के तपाईँ त्यसको लागि कृतज्ञता देखाउन चाहनुहुन्न र?
५. बाइबल विद्यार्थीहरूले कसरी फिलिप्पी ३:१६ को सल्लाह लागू गर्न सक्छन्?
५ तपाईँ कसरी फिरौतीको बलिदानप्रति कृतज्ञता देखाउन सक्नुहुन्छ? एउटा तरिका, पावलको यो सल्लाह लागू गरेर हो: “हामीले जुन हदसम्म प्रगति गरिसकेका छौँ, त्यहीबमोजिम व्यवस्थित ढङ्गमा अघि बढिरहौँ।” (फिलि. ३:१६) तपाईँ यो सल्लाह कसरी लागू गर्न सक्नुहुन्छ? अनन्त जीवनको यात्रामा थुप्रै बाधा-अवरोध आउन सक्छन् तर त्यसलाई पन्छाउँदै अघि बढिरहनुहोस्।—मत्ति ७:१४; लुका ९:६२.
६. कुनै शिक्षा स्विकार्न वा जीवनमा छाँटकाँट गर्न गाह्रो भइरहेको छ भने बाइबल विद्यार्थीहरूले के गर्न सक्छन्? (व्यवस्था ३०:११-१४) (चित्र पनि हेर्नुहोस्।)
६ के तपाईँलाई बाइबलको कुनै शिक्षा स्विकार्न गाह्रो भइरहेको छ? छ भने त्यस विषयमा अनुसन्धान गर्नुहोस् र त्यसलाई अझ राम्रोसित बुझ्न यहोवाको मदत माग्नुहोस्। (भज. ८६:११) तर अझै पनि त्यो शिक्षा स्विकार्न गाह्रो भइरहेको छ भने त्यसैमा अल्झिएर नबस्नुहोस्। बरु बाइबल अध्ययन गरिरहनुहोस्। अथवा के तपाईँलाई बाइबलको स्तरसित नमिल्ने कुनै कुरा त्याग्न गाह्रो भइरहेको छ? त्यसो हो भने यो कुरा नबिर्सनुहोस्: यहोवा हामीले गर्नै नसक्ने कुरा माग गर्नुहुन्न। अनि उहाँले हामीलाई मदत गर्ने प्रतिज्ञा पनि गर्नुभएको छ। (यसै. ४१:१०, १३; १ कोरि. १०:१३) हो, तपाईँ यहोवाको इच्छाअनुसार जीवन बिताउन सक्नुहुन्छ। (व्यवस्था ३०:११-१४ पढ्नुहोस्।) त्यसैले आफूले गर्न नसकेका कुराहरूबारे बढ्तै चिन्ता गरेर नबस्नुहोस्। बरु यहोवाले तपाईँको लागि गरिदिनुभएका कुराहरूबारे, अझ विशेषगरि फिरौतीको बलिदानबारे मनन गर्नुहोस्। यहोवाप्रति तपाईँको प्रेम बढ्दै जाँदा “उहाँका आज्ञाहरू बोझिला छैनन्” भनेर महसुस गर्नुहुनेछ।—१ युह. ५:३.a
७. साना केटाकेटीले फिरौतीको बलिदानलाई बहुमूल्य ठानेको कसरी देखाउन सक्छन्?
७ साक्षी परिवारमा हुर्किरहनुभएका तपाईँ साना केटाकेटीबारे के भन्न सकिन्छ? तपाईँहरू पनि बाइबल विद्यार्थी हुनुहुन्छ। साँच्चै भन्ने हो भने, तपाईँहरू आफ्ना आमाबुबाको सबैभन्दा बहुमूल्य बाइबल विद्यार्थी हुनुहुन्छ। बाइबल भन्छ: “परमेश्वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकु. ४:८; १ इति. २८:९) तपाईँले यहोवाको नजिक हुन कदम चाल्नुभयो भने उहाँ पनि तपाईँको नजिक आउनुहुनेछ। तपाईँ साक्षी परिवारमा हुर्कनुभएकोले मात्र उहाँ तपाईँसित नजिक हुन चाहनुभएको होइन। बरु उहाँ तपाईँमा व्यक्तिगत चासो राख्नुहुन्छ र तपाईँलाई आफ्नो साथी बनाउन चाहनुहुन्छ। तपाईँ यहोवाको साथी बन्न सकोस् भनेर उहाँले फिरौतीको बलिदानको प्रबन्ध गर्नुभएको हो। यो उहाँले तपाईँलाई नै दिनुभएको उपहार हो; यसलाई सधैँ बहुमूल्य ठान्नुहोस्। (रोमी ५:१, २) यस उपहारलाई साँच्चै बहुमूल्य ठानेको तपाईँ कसरी देखाउन सक्नुहुन्छ? अब चाँडै स्मरणार्थ उत्सव आउँदै छ। त्यसैले यहोवा र येसुले तपाईँको लागि के गर्नुभएको छ, त्यसबारे सोच्नुहोस्। तपाईँ कस्तो जीवन बिताउन चाहनुहुन्छ अनि कस्ता आध्यात्मिक लक्ष्यहरू राख्न सक्नुहुन्छ, त्यसबारे पनि विचार गर्नुहोस्।b
बप्तिस्मा गरिसकेकाहरू
८. बप्तिस्मा गरिसकेकाहरूले फिरौतीको बलिदानप्रति कृतज्ञ भएको कसरी देखाएका छन्?
८ तपाईँले बप्तिस्मा गरिसक्नुभएको छ भने फिरौतीको बलिदानप्रति कृतज्ञ भएको विभिन्न तरिकामा देखाइसक्नुभयो। जस्तै, यहोवासित नजिक हुन र उहाँको स्तरअनुसार चल्न तपाईँले छाँटकाँटहरू गर्नुभयो। येसुको आज्ञा पालन गर्दै अरूलाई आफ्नो विश्वासबारे बताउनुभयो। तपाईँले यहोवालाई जीवन समर्पण गर्नुभयो र बप्तिस्मा गर्नुभयो। यहोवाको साक्षी भएकोले तपाईँले खेदो पनि भोग्नुपरेको हुन सक्छ। (२ तिमो. ३:१२) तर तपाईँले यहोवाको सेवा गर्न छोड्नुभएन। यसबाट तपाईँ यहोवालाई प्रेम गर्नुहुन्छ र फिरौतीको बलिदानप्रति कृतज्ञ हुनुहुन्छ भन्ने कुरा देखिन्छ।—हिब्रू १२:२, ३.
९. बप्तिस्मा गरिसकेकाहरू होसियार हुनुपर्ने एउटा कुरा के हो?
९ बप्तिस्मा गरिसकेकाहरू होसियार हुनुपर्ने एउटा कुरा छ। समय बित्दै जाँदा फिरौतीको बलिदानप्रतिको हाम्रो कृतज्ञता घट्दै जान सक्छ। प्रथम शताब्दीको एफिससका ख्रिष्टियनहरूबारे विचार गरौँ। फेरि जीवित हुनुभएका येसुले तिनीहरूको सहनशीलताको प्रशंसा गर्नुभयो। तर उहाँले यसो पनि भन्नुभयो: “तिमीविरुद्ध मसित यो कुरा छ कि तिमीसित पहिले जुन प्रेम थियो, त्यो अहिले छैन।” (प्रका. २:३, ४) समय बित्दै जाँदा हाम्रो उपासना दैनिकीजस्तो मात्र भइरहेको हुन सक्छ भनेर येसुले सङ्केत गर्दै हुनुहुन्थ्यो। कुनै ख्रिष्टियनले प्रार्थना गर्ने, सभामा जाने र प्रचारकार्यमा भाग लिने जस्ता कामहरू गरिरहेका होलान्। तर तिनले प्रेमले उत्प्रेरित भएर नभई बानी परेकोले मात्र ती कुराहरू गरिरहेका हुन सक्छन्। तपाईँलाई पनि यहोवाप्रतिको आफ्नो प्रेम पहिलाजत्तिको प्रगाढ छैन जस्तो लागिरहेको छ भने नि?
१०. पावलले तिमोथिलाई दिएको सल्लाह तपाईँ कसरी लागू गर्न सक्नुहुन्छ? (१ तिमोथि ४:१३, १५)
१० प्रेषित पावलले तिमोथिलाई यहोवाको उपासनासित सम्बन्धित कुराहरूमा ‘चिन्तनमनन गर्न’ र ‘ती नै कुराहरूमा डुबिरहन’ सल्लाह दिए। (१ तिमोथि ४:१३, १५ पढ्नुहोस्।) त्यो सल्लाह तपाईँ कसरी लागू गर्न सक्नुहुन्छ? यहोवालाई कसरी अझ अर्थपूर्ण तरिकामा उपासना गर्न सकिन्छ भनेर विचार गर्नुहोस्। यसो गर्नुभयो भने तपाईँ ‘पवित्र शक्तिले भरिएर जोसिलो भइरहन’ सक्नुहुनेछ। (रोमी १२:११) जस्तै, तपाईँ सभाको लागि अझ राम्ररी तयारी गर्न सक्नुहुन्छ कि? यसो गर्नुभयो भने सभामा ध्यान दिएर सुन्न र लाभ उठाउन सक्नुहुनेछ। अथवा व्यक्तिगत अध्ययनबाट अझ धेरै लाभ उठाउन आफू मात्र हुने समय वा ठाउँ रोज्न सक्नुहुन्छ कि? यसो गर्नुभयो भने आफूले पढेको कुरामा मनन गर्न सक्नुहुनेछ। आगो बालिरहन त्यसमा दाउरा थपिरहनुपर्छ। त्यसरी नै फिरौतीको बलिदानलगायत सबै कुराको लागि यहोवाप्रति कृतज्ञ भइरहन सभा र अध्ययनजस्ता गतिविधिमा लागिरहनुपर्छ। साथै स्मरणार्थ उत्सव नजिकिँदै जाँदा यहोवाको साक्षीको रूपमा आफूले पाएका आशिष्हरूमा मनन गर्न सक्नुहुन्छ। यसो गर्दा फिरौतीको बलिदानप्रतिको तपाईँको कृतज्ञता अझ बढ्नेछ। यो बलिदानले गर्दा नै तपाईँले यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न सक्नुभएको हो।
११-१२. आफू पहिलाको जस्तो जोसिलो हुन सकिरहेको छैनँ जस्तो लाग्छ भने के गर्न सक्नुहुन्छ? व्याख्या गर्नुहोस्। (चित्र पनि हेर्नुहोस्।)
११ तपाईँलाई आफू यहोवाको सेवामा पहिलाजस्तो जोसिलो हुन सकिरहेको छैनँ जस्तो लाग्छ भने नि? त्यसो हो भने निराश नहुनुहोस्। अथवा यहोवाले तपाईँलाई पवित्र शक्ति दिन छोड्नुभयो भन्ने नसोच्नुहोस्। प्रेषित पावलले आफ्नो सेवाबारे कोरिन्थका ख्रिष्टियनहरूलाई यसो भने: “नचाहँदा-नचाहँदै मैले यो काम गरेँ भने पनि मैले आफूलाई सुम्पिइएको भण्डारेको काम गरिरहेको हुन्छु।” (१ कोरि. ९:१७) तिनले के भन्न खोज्दै थिए?
१२ पावललाई कहिलेकाहीँ प्रचार गर्ने इच्छा नै नभएको जस्तो लागेको थियो। तैपनि तिनले हरेस खाएनन् अनि प्रचारकार्यमा लागिरहने आफ्नो सङ्कल्पलाई कमजोर हुन दिएनन्। तपाईँले पनि त्यस्तै सङ्कल्प गर्न सक्नुहुन्छ। तपाईँलाई आध्यात्मिक गतिविधिमा भाग लिन मनै छैन जस्तो लाग्दा पनि ती कुराहरूमा भाग लिन नछोड्नुहोस्। अनि आफूमा ‘इच्छा पैदा गरिदिनुहोस् र त्यो पूरा गर्ने शक्ति पनि दिनुहोस्’ भनेर यहोवालाई प्रार्थना गर्नुहोस्। (फिलि. २:१३) आध्यात्मिक गतिविधिमा व्यस्त भइरहनुहोस्। यसो गर्नुभयो भने समयको दौडान यहोवाप्रतिको तपाईँको प्रेम पहिलाजस्तै प्रगाढ हुनेछ अनि तपाईँ फेरि जोसिलो हुन सक्नुहुनेछ।
१३. हामी ‘विश्वासमा छौँ कि छैनौँ’ भनेर कसरी जाँचिरहन सक्छौँ?
१३ पावलले दोस्रो कोरिन्थी १३:५ मा यस्तो सल्लाह दिए: “तिमीहरू विश्वासमा छौ कि छैनौ भनी जाँचिरहो, तिमीहरू कस्ता मानिसहरू हौ, साबित गरिरहो।” हामीले पनि यो सल्लाह लागू गर्दै बेलाबेलामा आफूलाई जाँच्नुपर्छ। हामी आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्छौँ: ‘के मैले आफ्नो जीवनमा परमेश्वरको राज्यसित सम्बन्धित गतिविधिलाई पहिलो स्थान दिइरहेको छु?’ (मत्ति ६:३३) ‘के मैले छान्ने मनोरञ्जनबाट म खराब कुरालाई घृणा गर्छु भनेर देखिन्छ?’ (भज. ९७:१०) ‘के म मण्डलीको शान्ति र एकता कायम राख्न प्रयास गर्छु?’ (एफि. ४:२, ३) स्मरणार्थ उत्सव यी प्रश्नहरूबारे विचार गर्न सक्ने राम्रो समय हो। यहोवा र येसुले हाम्रो लागि गरिदिनुभएको कुरामा मनन गर्दा यहोवाप्रति धन्यवादी भएको देखाउन अनि आफ्नो लागि नभई ख्रिष्टको लागि बाँचेको देखाउन उत्प्रेरित हुनेछौँ।c
बगालबाट हराएका भेडाहरू
१४. केही भाइबहिनीले किन मण्डलीसित सङ्गत गर्न छोडेका छन्?
१४ केही भाइबहिनीले बप्तिस्मा गरेको केही महिनापछि नै अथवा वफादार भई वर्षौँ सेवा गरेपछि पनि मण्डलीसित सङ्गत गर्न छोडेका छन्। किन? कोही-कोही “जीवनको फिक्री”-ले गर्दा यत्ति दबिन्छन् कि उनीहरूलाई आफूसित यहोवाको सेवा गर्ने शक्ति नै बाँकी छैन जस्तो महसुस हुन्छ। (लुका २१:३४) कसै-कसैले चाहिँ भाइबहिनीको बोली वा व्यवहारले गर्दा ठेस खाएका छन्। (याकु. ३:२) अरू कतिपयचाहिँ गम्भीर गलत काम गर्न पुग्छन् तर एल्डरहरूसित मदत माग्न भने हिचकिचाउँछन्। तर कारण जेसुकै भए पनि तपाईँ फेरि यहोवाको परिवारमा फर्कन सक्नुहुन्छ। त्यसको लागि तपाईँ के गर्न सक्नुहुन्छ? फिरौतीको बलिदानको मायालु प्रबन्धले तपाईँलाई के गर्न बाध्य पार्छ?
१५. यहोवा हराएका भेडाहरूप्रति कस्तो महसुस गर्नुहुन्छ? (इजकिएल ३४:११, १२, १६)
१५ यहोवा हराएका भेडाहरूप्रति कस्तो महसुस गर्नुहुन्छ? उहाँ तिनीहरूलाई त्याग्नुहुन्न र बिर्सनुहुन्न। बरु तिनीहरूलाई खोज्नुहुन्छ, खुवाउनुहुन्छ र आफूकहाँ फर्कन मदत गर्नुहुन्छ। (इजकिएल ३४:११, १२, १६ पढ्नुहोस्।) के यहोवाले तपाईँप्रति पनि यस्तै महसुस गर्नुहुन्छ? पक्कै गर्नुहुन्छ। तपाईँले अहिले यो लेख पढिरहनुभएको कुराबाट तपाईँको हृदयमा अझै पनि यहोवालाई खुसी बनाउने इच्छा छ भनेर देखिन्छ। यहोवाले विगतमा तपाईँको हृदय हेरेर तपाईँलाई आफूतर्फ खिच्नुभएको थियो। के अहिले पनि उहाँले तपाईँको हृदय हेरेर तपाईँलाई आफूतर्फ खिचिरहनुभएको छैन होला र?
१६. हराएको भेडाले यहोवाकहाँ फर्कन कस्तो कदम चाल्न सक्छन्? (चित्र पनि हेर्नुहोस्।)
१६ यहोवाकहाँ फर्कनुहोस् पुस्तिकामा यस्ता मायालु शब्दहरू पाइन्छ: “तपाईँ यहोवाकहाँ फर्कँदा उहाँ तपाईँको साथमा हुनुहुनेछ भनेर निर्धक्क हुनुहोस्। उहाँले तपाईँलाई चिन्ता-फिक्रीको सामना गर्न, कसैले गर्दा चित्त दुखेको छ भने त्यस्तो भावना हटाउन र अन्तस्करण सफा हुँदा प्राप्त हुने मनोशान्ति पाउन मदत गर्नुहुनेछ। त्यसपछि तपाईँ दाजुभाइ दिदीबहिनीसँगै फेरि यहोवाको सेवा गर्न उत्प्रेरित हुन सक्नुहुन्छ।” यो कुरा पनि नबिर्सनुहोस्, एल्डरहरू तपाईँलाई मदत गर्न इच्छुक छन्। तिनीहरू तपाईँको लागि “हुरीबतास चल्दा लुक्ने ठाउँ अनि आँधीबेहरी आउँदा आड लिने ठाउँ हुनेछन्।” (यसै. ३२:२) तपाईँ फिरौतीको बलिदानप्रति कृतज्ञ हुनुहुन्छ र त्यो देखाउन पनि चाहनुहुन्छ भनेर हामी विश्वस्त छौँ। त्यसैले आफैलाई सोध्नुहोस्, ‘यहोवासितको “मामिला सुल्झाउन” म अहिले के गर्न सक्छु?’ (यसै. १:१८, फुटनोट; १ पत्रु. २:२५) जस्तै, सभाको लागि सभाभवनमै उपस्थित हुन सक्नुहुन्छ कि? कुनै एल्डरलाई भेटेर आध्यात्मिक मदत माग्न सक्नुहुन्छ कि? तिनले केही समयको लागि तपाईँलाई बाइबल अध्ययन गराउने प्रबन्ध पनि मिलाउन सक्छन्। यसरी फिरौतीको बलिदानप्रति कृतज्ञ भएको देखाउन तपाईँले गर्नुभएको प्रयासमा यहोवाले पक्कै आशिष् दिनुहुनेछ।
तपाईँ के गर्न चाहनुहुन्छ?
१७-१८. स्मरणार्थ उत्सव नजिकिँदै जाँदा हामी के गर्न सक्छौँ?
१७ “[येसुमाथि] विश्वास गर्ने कोही पनि नाश नहोस् तर उसले अनन्त जीवन पाओस्” भनेर फिरौतीको बलिदानको प्रबन्ध गरिएको हो। (युह. ३:१६) यसको आधारमा यहोवा हामीलाई पाप र मृत्युबाट छुटकारा दिनुहुन्छ। त्यसैले फिरौतीको बलिदानप्रतिको कृतज्ञतालाई कहिल्यै कम हुन नदेऔँ। (रोमी ३:२३, २४; २ कोरि. ६:१) स्मरणार्थ उत्सव नजिकिँदै जाँदा यहोवा र येसुले देखाउनुभएको प्रेमबारे मनन गर्न सक्छौँ। यसो गर्दा उहाँहरूप्रति कृतज्ञ भएको देखाउन बाध्य महसुस गर्नेछौँ।
१८ फिरौतीको बलिदानप्रति कृतज्ञ भएको तपाईँ कसरी देखाउन चाहनुहुन्छ? यसको जवाफ मानिसअनुसार फरक हुन सक्छ। तर तपाईँले गरिरहनुभएको प्रयासमा यहोवाले आशिष् दिनुहुनेछ भन्ने कुरामा ढुक्क हुनुहोस्। किनभने यहोवाका लाखौँ उपासकसँगै तपाईँ पनि ‘आफ्नो लागि होइन तर येसुको लागि बाँच्दै हुनुहुन्छ, जो तपाईँको लागि मर्नुभएको थियो।’—२ कोरि. ५:१५.
गीत १४ नयाँ राजाको जय!
a बाइबलबाट सिकेका कुराहरू लागू गर्न सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! किताबको प्रत्येक पाठको अन्ततिर भएको “लक्ष्य” भन्ने पेटी प्रयोग गर्नुहोस्।
b आध्यात्मिक रूपमा प्रगति गर्न मदत दिने सुझावहरूको लागि डिसेम्बर २०१७ अङ्कको प्रहरीधरहरा-मा भएको “केटाकेटी हो, ‘आफ्नो उद्धारको निम्ति . . . प्रयत्न गरिरहो’” लेख हेर्नुहोस्।
c यहोवाप्रति कृतज्ञ भइरहन मदत दिने सुझावहरूको लागि जून १५, १९९५ अङ्कको प्रहरीधरहरा-मा भएको “तपाईँलाई परमेश्वरको सेवा गर्न कुन कुराले उत्प्रेरित गर्छ?” लेख हेर्नुहोस्।