उज्ज्वल भविष्यको पक्का आशा
के तपाईँ भविष्यप्रति आशावादी हुनुहुन्छ? अहिले थुप्रै मानिस विभिन्न समस्याको सामना गर्नुपर्दा पनि सकारात्मक भइरहने कोसिस गर्छन्। तर के हाम्रो भविष्य साँच्चै उज्ज्वल छ होला त? छ! बाइबलले हामीलाई उज्ज्वल भविष्यको पक्का आशा दिएको छ।
बाइबलले हामीलाई कस्तो आशा दिएको छ?
मानिसजातिले थुप्रै समस्याको सामना गर्नुपर्नेछ भनेर बाइबल बताउँछ तर यी समस्याहरू सधैँभरि रहनेछैनन् भनेर पनि बाइबलमा प्रतिज्ञा गरिएको छ। केही उदाहरण विचार गरौँ।
समस्या: घरबारविहीन
बाइबल के भन्छ? “तिनीहरूले घर बनाउनेछन् र त्यसमा बस्नेछन्।”—यसैया ६५:२१.
भविष्यमा के हुनेछ? सबैको आफ्नै घर हुनेछ।
समस्या: बेरोजगारी र गरिबी
बाइबल के भन्छ? “मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्।”—यसैया ६५:२२.
भविष्यमा के हुनेछ? सबै मानिसले सन्तोषजनक काम पाउनेछन् र तिनीहरूले आफ्नो कामबाट पूरापूर आनन्द उठाउनेछन्।
समस्या: अन्याय
बाइबल के भन्छ? “राजकुमारहरूले न्यायसित शासन गर्नेछन्।”—यसैया ३२:१.
भविष्यमा के हुनेछ? मानिसहरूले जात, सामाजिक ओहदा र आर्थिक स्तरको आधारमा अन्याय भोग्नुपर्नेछैन। सबैलाई निष्पक्ष व्यवहार गरिनेछ।
समस्या: कुपोषण र भोकमरी
बाइबल के भन्छ? “पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ; पहाडका टाकुराहरूमा समेत अन्नको कुनै कमी हुनेछैन।”—भजन ७२:१६.
भविष्यमा के हुनेछ? सबै जनाले प्रशस्त मात्रामा पोषणयुक्त खाना खान पाउनेछन्। कोही पनि भोको पेट सुत्नुपर्नेछैन वा कुपोषणको सिकार हुनुपर्नेछैन।
समस्या: अपराध र हिंसा
बाइबल के भन्छ? “तिनीहरू प्रत्येक आ-आफ्नो अङ्गुरको बोट र आ-आफ्नो अन्जिरको बोटमुनि बस्नेछन् अनि कसैले पनि तिनीहरूलाई तर्साउनेछैन।”—मिका ४:४.
भविष्यमा के हुनेछ? सबै जनाले सुरक्षित र ढुक्क महसुस गर्नेछन् किनभने “धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्” र दुष्टहरूको नामोनिसान मेटिनेछ।—भजन ३७:१०, २९.
समस्या: युद्ध
बाइबल के भन्छ? “एउटा जातिले अर्को जातिको विरुद्धमा तरबार उठाउनेछैन र तिनीहरूले फेरि युद्ध गर्न सिक्नेछैनन्।”—यसैया २:४.
भविष्यमा के हुनेछ? पृथ्वीभरि शान्ति छाउनेछ। (भजन ७२:७) कसैले पनि युद्धको कारण आफ्ना प्रियजन गुमाउनुपर्नेछैन वा शरणार्थी जीवन बिताउनुपर्नेछैन।
समस्या: रोगबिमार
बाइबल के भन्छ? “त्यस देशको कुनै बासिन्दाले यसो भन्नेछैन: ‘म बिरामी छु।’”—यसैया ३३:२४.
भविष्यमा के हुनेछ? कोही पनि अशक्त र बिरामी हुनुपर्नेछैन। (यसैया ३५:५, ६) बाइबलमा “मृत्यु हुनेछैन” भनेर समेत प्रतिज्ञा गरिएको छ।—प्रकाश २१:४.
समस्या: वातावरणको विनाश
बाइबल के भन्छ? “उजाड र सुक्खा भूमिले हर्ष मनाउनेछ। मरुभूमि रमाउनेछ र केशरको फूलझैँ फक्रनेछ।”—यसैया ३५:१.
भविष्यमा के हुनेछ? ईश्वरको सुरुको उद्देश्यअनुसारै पूरै पृथ्वी सुन्दर बगैँचा बनाइनेछ र त्यहाँ मानिसहरू सधैँभरि बस्न पाउनेछन्।—उत्पत्ति २:१५; यसैया ४५:१८.
के बाइबलले दिएको आशामा भरोसा गर्न सकिन्छ?
हुनत तपाईँलाई भरोसा गर्न सकिन्छ जस्तो लाग्ला तर बाइबलले भविष्यको लागि दिएको आशाबारे अझै सिक्नुभए कसो होला? मानिसहरूले गर्ने वाचा र अडकलबाजीभन्दा बाइबलमा गरिएका प्रतिज्ञाहरू बिलकुलै फरक छ किनभने ती प्रतिज्ञाहरू ईश्वरले नै गर्नुभएको हो। ईश्वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भन्ने कुरामा हामी किन विश्वास गर्न सक्छौँ? दुई वटा कारण विचार गरौँ।
ईश्वर भरोसायोग्य हुनुहुन्छ। बाइबलमा ईश्वरले ‘कहिल्यै झूट बोल्नुहुन्न’ भनेर बताइएको छ। (तितस १:२) साथै ईश्वरले मात्र हाम्रो भविष्यबारे बताउन सक्नुहुन्छ। (यसैया ४६:१०) ईश्वरले बताउनुभएका सबै कुरा पूरा हुन्छन् भनेर देखाउने थुप्रै उदाहरण बाइबलमा पाइन्छ। थप जानकारीको लागि के बाइबल भरपर्दो किताब हो? भन्ने भिडियो हेर्नुहोस्
ईश्वरसित हाम्रा सबै समस्या समाधान गर्ने शक्ति छ। ईश्वरसित ‘आफूलाई जे उचित लाग्छ, त्यो गर्ने’ शक्ति छ भनेर बाइबल बताउँछ। (भजन १३५:५, ६) अर्को शब्दमा भन्नुपर्दा ईश्वरलाई आफ्ना प्रतिज्ञाहरू पूरा गर्नदेखि कुनै कुराले रोक्न सक्दैन। अझै महत्त्वपूर्ण कुरा भनेको ईश्वरले हामीलाई माया गर्नुहुने भएकोले उहाँ हामीलाई मदत गर्न चाहनुहुन्छ।—युहन्ना ३:१६.
तपाईँलाई यस्तो लाग्ला, ‘यदि ईश्वर हामीलाई मदत गर्न चाहनुहुन्छ र उहाँसित त्यसो गर्ने शक्ति पनि छ भने किन दुःखकष्ट नहटाउनुभएको त?’ यस प्रश्नको जवाफ पाउन परमेश्वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ? भन्ने भिडियो हेर्नुहोस्।
यो आशा कसरी पूरा हुनेछ?
ईश्वरले आफ्नो राज्य अर्थात् स्वर्गीय सरकार चलाएर आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ। ईश्वरले येसु ख्रिष्टलाई आफ्नो राज्यको राजा नियुक्त गर्नुभएको छ। अनि उहाँलाई पृथ्वी र सबै मानिसको रेखदेख गर्ने जिम्मेवारी पनि दिनुभएको छ। येसु पृथ्वीमा हुनुहुँदा उहाँले बिरामीहरूलाई निको पार्नुभयो, भोकाहरूलाई खुवाउनुभयो, प्राकृतिक शक्तिहरूलाई नियन्त्रण गर्नुभयो र मरेकाहरूलाई ब्युँताउनुभयो। (मर्कुस ४:३९; ६:४१-४४; लुका ४:४०; युहन्ना ११:४३, ४४) यसरी उहाँले ईश्वरको राज्यको राजाको हैसियतमा पछि आफूले गर्ने कुराहरूको पूर्वझलक दिनुभयो।
यस राज्यले भविष्यमा के-के गर्नेछ भन्नेबारे थप जानकारीको लागि परमेश्वरको राज्य के हो? भन्ने भिडियो हेर्नुहोस्।
यो आशा कहिले पूरा हुनेछ?
चाँडै पूरा हुनेछ। हामी यो कुरामा किन पक्का हुन सक्छौँ? ईश्वरको राज्यले चाँडै नै पृथ्वीमा शासन गर्नेछ भन्ने कुराको सङ्केत दिने घटनाहरूबारे बाइबलमा भविष्यवाणी गरिएको थियो। (लुका २१:१०, ११) हुन पनि अहिले संसारको अवस्था त्यस्तै छ।
थप जानकारीको लागि “ईश्वरको राज्यले कहिले पृथ्वीमा शासन थाल्नेछ?” भन्ने लेख हेर्नुहोस्।
बाइबलमा पाइने आशाले अहिले हामीलाई कसरी मदत गर्छ?
एक जना बाइबल लेखकले हाम्रो आशालाई “जीवनको लङ्गर”-सित तुलना गरे। (हिब्रू ६:१९) आँधीहुरी आउँदा लङ्गरले जहाजलाई स्थिर रहन मदत गर्छ। त्यसरी नै बाइबलमा पाइने भविष्यको पक्का आशाले हामीलाई अहिले समस्याहरूसित जुझ्न मदत गर्छ। आशाले हामीलाई जस्तोसुकै समस्या आए पनि शान्त र खुसी रहन, राम्ररी सोचविचार गर्न र स्वस्थ रहन समेत मदत गर्छ।—१ थिस्सलोनिकी ५:८.