जागा रहो!
ख्रिष्टियनहरूले कस्तो व्यवहार गर्नुपर्छ?—यसबारे बाइबल के भन्छ?
आज संसारभरि थुप्रै मानिसहरू गर्वका साथ आफूलाई ख्रिष्टियनको रूपमा चिनाउँछन्। तर अरूसित भने नराम्रो व्यवहार गर्छन्। कतिपय स्वार्थी, बेइमान र कठोर छन्। अरू कतिपय भने आफ्नो वैवाहिक जोडीप्रति वफादार छैनन्। तिनीहरूको त्यस्तो व्यवहारले गर्दा केही मानिसहरूको मनमा यस्तो प्रश्न उठ्छ: ‘के साँच्चै ख्रिष्टियनहरूले यस्तै व्यवहार गर्छन्?’
ख्रिष्टियन हुनु भनेको के हो?
कुनै पनि व्यक्तिलाई आफू ख्रिष्टियन हुँ भन्न निकै सजिलो छ। तर भन्नु मात्र पर्याप्त छैन। बाइबलअनुसार ख्रिष्टियनहरू येसुका चेलाहरू हुन्। (प्रेषित ११:२६) येसु आफैले यसो भन्नुभयो: “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ।” (युहन्ना ८:३१) हुनत कसैले पनि येसुको आज्ञा पूर्ण रूपमा पालन गर्न सक्दैन। तर ख्रिष्टियनहरू येसुले सिकाउनुभएका कुराहरू लागू गर्ने प्रयास गर्छन् र त्यो कुरा आफ्नो दैनिक जीवनमा झल्काउँछन्। केही उदाहरणहरू विचार गरौँ।
ख्रिष्टियनहरू नि:स्वार्थ प्रेम देखाउँछन्
येसुले के भन्नुभयो? “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदै छु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै तिमीहरूले पनि आपसमा प्रेम गर। तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्।”—युहन्ना १३:३४, ३५.
येसुले के गर्नुभयो? येसुले मानिसहरूको आर्थिक अवस्था, सामाजिक ओहदा वा पृष्ठभूमि नहेरी सबैलाई नि:स्वार्थ प्रेम देखाउनुभयो। उहाँले बिरामीहरूलाई निको पार्नुभयो, भोकाएकाहरूलाई खुवाउनुभयो र अरूको लागि आफ्नो ज्यान समेत दिनुभयो।—मत्ति १४:१४-२१; २०:२८.
ख्रिष्टियनहरू कस्तो व्यवहार गर्छन्? ख्रिष्टियनहरू उदार, निष्पक्ष र क्षमाशील भएर नि:स्वार्थ प्रेम देखाउँछन्। तिनीहरू खाँचोमा परेकाहरूलाई मदत गर्छन् र अरूको लागि त्यागहरू गर्न इच्छुक हुन्छन्।—१ युहन्ना ३:१६.
ख्रिष्टियनहरू इमानदार छन्
येसुले के भन्नुभयो? “सत्य . . . मै हुँ।”—युहन्ना १४:६.
येसुले के गर्नुभयो? येसुले भन्नुभएका र गर्नुभएका सबै कुराहरू सत्य थिए। उहाँले कहिले पनि मानिसहरूलाई आफ्नो कुरामा विश्वास दिलाउन गलत जानकारी दिनुभएन। येसु आफ्नो इमानदारिताको लागि चिनिनुहुन्थ्यो र विरोध खेप्नुपर्दा समेत उहाँ इमानदार भइरहनुभयो।—मत्ति २२:१६; २६:६३-६७.
ख्रिष्टियनहरू कस्तो व्यवहार गर्छन्? ख्रिष्टियनहरू झूट बोल्दैनन्। तिनीहरू कर तिर्छन्, तिनीहरू चोरी गर्दैनन् र काम गर्ने ठाउँमा इमानदार भई कडा परिश्रम गर्छन्। (रोमी १३:५-७; एफिसी ४:२८) तिनीहरू आफ्नो फाइदाको लागि अरूलाई धोका दिँदैनन्, परीक्षामा चिट चोर्दैनन् वा झूटो जानकारी दिएर कुनै जागिर पाउन खोज्दैनन्।—हिब्रू १३:१८.
ख्रिष्टियनहरू दयालु व्यवहार गर्छन्
येसुले के भन्नुभयो? “हे कठोर श्रमले थाकेका र भारले दबिएका सबै मानिस हो, मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु। मेरो जुवा बोक र मबाट सिक किनकि म कोमल स्वभावको र नम्र हृदयको छु अनि तिमीहरूले स्फूर्ति पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।”—मत्ति ११:२८-३०.
येसुले के गर्नुभयो? येसु दयालु हुनुहुन्थ्यो र मानिसहरूलाई उहाँसँग कुरा गर्न सजिलो लाग्थ्यो। उहाँले केटाकेटीलाई माया देखाउनुभयो, निराश भएकाहरूलाई सान्त्वना दिनुभयो र सबैसँग आदरपूर्ण व्यवहार गर्नुभयो।—मर्कुस १०:१३-१५; लुका ९:११.
ख्रिष्टियनहरू कस्तो व्यवहार गर्छन्? ख्रिष्टियनहरू अरूसित दयालु भई बोल्छन्। तिनीहरू अरूसित रुखो व्यवहार गर्दैनन्। (एफिसी ४:२९, ३१, ३२) तिनीहरू अरूको ख्याल राख्छन् र मदत गर्ने मौका खोज्छन्।—गलाती ६:१०.
ख्रिष्टियनहरू आफ्नो जीवनसाथीप्रति वफादार रहन्छन्
येसुले के भन्नुभयो? “जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”—मर्कुस १०:९.
येसुले के गर्नुभयो? हुनत येसुले कहिल्यै विवाह गर्नुभएन तर उहाँले विवाहित जोडीहरूलाई एकअर्काप्रति वफादार रहन भन्नुभयो। (मत्ति १९:९) उहाँले वैवाहिक सम्बन्ध टुट्न सक्ने कामकुराहरूबाट अलग रहन पनि चेतावनी दिनुभयो।—मत्ति ५:२८.
ख्रिष्टियनहरू कस्तो व्यवहार गर्छन्? ख्रिष्टियनहरू विवाहको अनादर हुने कामकुराहरूबाट टाढै रहन्छन्। (हिब्रू १३:४) विवाहित जोडीहरू एकअर्कासित प्रेम र आदरसाथ व्यवहार गर्छन्।—एफिसी ५:२८, ३३.