तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
“युद्धको कोलाहल अनि युद्धको खबर”-बीच राहतकार्य
मे २७, २०२२
यस अन्तको दिनमा हामी “युद्धको कोलाहल अनि युद्धको खबर” सुन्ने आशा गर्न सक्छौँ। (मत्ति २४:६) तर युद्धग्रस्त इलाकाका भाइबहिनीले मदत पनि पाइरहेका छन्। हामीले २०२२ परिचालक निकायबाट अपडेट #३ मा युक्रेनमा युद्धको चपेटामा परेकाहरूको लागि पूर्वी युरोपमा भइरहेको राहतकार्यबारे मनै छुने रिपोर्ट पाएका थियौँ। युद्ध चर्किरहेको बेला पनि राहतकार्य कसरी भइरहेको छ? यस्तो राहतकार्यले गर्दा युक्रेनका भाइबहिनीलाई कस्तो मदत पुगेको छ?
केको आवश्यकता थियो? कसरी ढुवानी गरियो?
फेब्रुअरी २४, २०२२ मा युक्रेनमा युद्ध सुरु भयो। त्यही दिन संयोजन समितिले युक्रेनका भाइबहिनीको लागि राहत सामग्री उपलब्ध गराउन बजेट छुट्ट्याउने अनुमति दियो। युक्रेन शाखाले स्थानीय बजारबाट तुरुन्तै आवश्यक सामग्री किन्यो अनि २७ वटा प्रकोप राहत समिति गठन गरेर ती सामग्री वितरण गर्न थाल्यो।
युक्रेनका भाइबहिनीलाई व्यावहारिक मदत दिन यहोवाका साक्षीहरूको विश्व मुख्यालयले तुरुन्तै काम सुरु गऱ्यो। परिचालक निकायको संयोजन समिति र प्रकाशन समितिले विश्वव्यापी किनमेल विभागलाई युक्रेन र पोल्याण्ड शाखाका प्रतिनिधिहरूसँग मिलेर राहतकार्यको योजना बनाउन निर्देशन दिए। दुवै शाखाका किनमेल, ढुवानी र कानुन विभागहरूका भाइहरू, युक्रेन शाखा समितिका एक जना सदस्य अनि विश्वव्यापी किनमेल विभागका सदस्यहरू हरेक दिन सँगै मिलेर काम गरे।
राहत सामग्रीको बाकसमा खानेकुरा, सरसफाइका सामग्री र हातैले लेखिएका नोटहरू थियो
विश्वव्यापी किनमेल विभागका जे स्विनी यसो भन्छन्: “सुरुमा हामीले युक्रेनका भाइबहिनीलाई के-कस्ता कुराहरूको आवश्यकता छ भनेर पत्ता लगाउनुपर्ने थियो। हामी त्यहाँका भाइबहिनीले सामान्यतया प्रयोग गर्ने सरसफाइका सामग्रीहरू र खाद्य वस्तुहरूको प्रबन्ध गर्न चाहन्थ्यौँ। तर भाइबहिनीलाई केको आवश्यकता छ भनेर पत्ता लगाउनु मात्र समस्याको समाधान त थिएन। युक्रेनमा युद्ध चर्किरहेकोले यी सामग्रीहरू कसरी सुरक्षितसाथ र छिटो पुऱ्याउने भन्ने उपाय पनि निकाल्नुपर्ने थियो।”
मार्च ९, २०२२ सम्ममा युक्रेनका भाइबहिनीलाई के-कस्ता सामग्रीहरूको आवश्यकता छ भनेर पक्का भयो। ती सामग्रीहरू राखेर बाकसहरू तयार पारिने थियो। प्रत्येक बाकसमा एक जनालाई चार हप्ता पुग्ने क्यानको माछा र मासु, अनाज र गेडागुडीजस्ता आधारभूत खानेकुरा अनि साबुन र ट्वाइलेट पेपरजस्ता सरसफाइका सामग्री राखिने थियो। त्यस्तो एउटा बाकस तयार पार्न अनुमानित ६५ अमेरिकी डलर (८ हजार ४ सय नेपाली रुपैयाँ) लाग्ने देखियो। तर युक्रेनका हजारौँ भाइबहिनीलाई यस्ता सामग्रीहरूको आवश्यकता भएकोले संयोजन समितिले यसको लागि ठूलै बजेट छुट्ट्याउने स्वीकृति दियो। तर भाइहरूको सुरक्षालाई पनि ध्यानमा राख्दै यस्ता सामग्रीहरू कसरी ठाउँ-ठाउँमा पुऱ्याउन सम्भव हुने थियो?
मार्च १३ मा पोल्याण्डका दुई जना भाइले पोल्याण्ड शाखा कार्यालयबाट युक्रेनको लभिभनजिकै भएको गोदामसम्म परीक्षणको रूपमा राहत सामग्री पुऱ्याए। त्यसको केही दिनअघिदेखि नै पोल्याण्ड र युक्रेन शाखाका भाइहरूले यी दुई जनालाई यात्राको तयारी गर्न आवश्यक मदत दिए। पोल्याण्ड शाखाले मानवीय सहयोगको लागि युक्रेनभित्र छिर्न नाकामा चाहिने कानुनी कागजात तयार पारिदियो अनि ती दुई जना भाइको गाडीमा राहत सामग्री बोक्ने गाडी हो भनेर स्पष्ट देखिनेगरि चिन्ह लाउने प्रबन्ध पनि मिलाइदियो। साथै पोल्याण्ड शाखाले युक्रेनका स्थानीय भाइहरूको मदत लिएर ती भाइहरू युक्रेन छिरेपछि लभिभ पुग्ने सबैभन्दा छोटो बाटो पत्ता लगायो। यस्तो राम्रो तयारी र यहोवाको आशिष्ले गर्दा राहत सामग्री लभिभ पुगेको २४ घण्टाभित्रै ती सामग्रीहरू प्रकोप राहत समितिहरूकहाँ पुग्यो अनि हाम्रा ती भाइहरू पनि सुरक्षितसाथ पोल्याण्ड फर्के।
हुनत परीक्षण सफल भयो तर त्यतिबेला हाम्रा भाइहरूले एक टनभन्दा थोरै मात्र राहत सामग्री ढुवानी गर्न सकेका थिए। युक्रेनमा भने अझै पनि २०० टन राहत सामग्रीको आवश्यकता थियो। यत्ति धेरै राहत सामग्री सकेसम्म छिटो ढुवानी र वितरण गर्न कसरी सम्भव हुने थियो?
“तिम्रा मानिसहरू राजीखुसीले तयार हुनेछन्”
युक्रेनमा भइरहेको युद्धले गर्दा हाम्रा भाइबहिनीलाई कत्ति गाह्रो भइरहेको छ भनेर हाम्रो वेबसाइट jw.org मा पढेपछि संसारभरिका भाइबहिनी मदत गर्न अघि सरेका छन्। टाढाका भाइबहिनीले यहोवाका साक्षीहरूको विश्वव्यापी कार्यको लागि आर्थिक अनुदान दिएका छन् किनकि आफ्नो अनुदान ठीक ठाउँमा प्रयोग हुन्छ भन्ने कुरा तिनीहरूले बुझेका छन्। युक्रेनको छिमेकी देशहरूमा बस्ने भाइबहिनीले भने आफ्नो समय, शक्ति र स्रोतसाधन खर्च गरेर ती युद्धपीडित भाइबहिनीलाई सघाइरहेका छन्। आउनुहोस्, केही उदाहरण विचार गरौँ।
पोल्याण्डमा इच्छुक स्वयम्सेवकहरूले हजारौँ प्याकेट उपहार अनि केटाकेटीले बनाएका कार्डहरू जम्मा गरे। पोल्याण्ड शाखाको किनमेल विभागमा सेवा गर्ने बार्तोस कोस्चलनेक यसो भन्छन्: “मैले भजन ११०:३ धेरै चोटि पढेको छु, जहाँ यहोवाका ‘मानिसहरू राजीखुसीले तयार हुनेछन्’ भनिएको छ। भाइबहिनी मदत गर्न अग्रसर भएको अनि सयौँ स्वयम्सेवक राहतकार्यमा सघाउन अघि बढेको देख्दा बाइबलको यो भनाइ सत्य हो भनेर बुझ्न सकेँ।”
अन्तरराष्ट्रिय आयात-निर्यात कम्पनी भएको एक जना यहोवाको साक्षीले आफ्ना ट्रकहरू प्रयोग गर्न दिए र त्यसको लागि चाहिने इन्धन पनि दिए। तिनी भन्छन्: “मेरो लागि यो यहोवा र भाइबहिनीलाई माया गरेको देखाउने मौका थियो। यसरी सहयोग गर्न पाएकोमा म धेरै खुसी छु।” ती भाइले अनुमानित ७,७०० लिटरभन्दा धेरै इन्धन अनुदान दिए अनि हाम्रा भाइहरूले राहत सामग्री पुऱ्याउन झन्डै ४८,००० किलोमिटर यात्रा गरे।
हाम्रा भाइबहिनीको इच्छुकता र मदतले गर्दा मार्च २८ सम्ममा अर्थात् पहिलो चोटि राहत सामग्री पठाएको १५ दिनभित्रै १०० टन खाद्य सामग्री अनि सरसफाइ र औषधी-उपचारका सामग्रीहरू युक्रेनमा ढुवानी गरियो। हाम्रा भाइहरू र विक्रेताहरूले उदार भई थुप्रै सरसमान दिएकोले राहत सामग्रीको लागि जति रकम छुट्ट्याइएको थियो, त्योभन्दा निकै कम खर्चमा भाइबहिनीलाई मदत गर्न सकियो। आजको मितिसम्म यहोवाका साक्षीहरूले युक्रेनमा १९० टनभन्दा धेरै राहत सामग्री पठाइसकेका छन्। यस्तो मदतले युक्रेनका भाइबहिनीमा कस्तो प्रभाव पारेको छ?
“त्यसमा तपाईँहरूको माया पनि रहेछ!”
राहत सामग्री लभिभ पुगेपछि युक्रेनका विभिन्न ठाउँमा भएका प्रकोप राहत समितिहरूले ती सामग्रीहरू खाँचोमा परेका भाइबहिनीलाई बाँडे। ती सामग्रीहरू युक्रेनका विभिन्न सहरहरूमा पठाइयो। कतिपय सहर त लभिभबाट १,३०० किलोमिटरभन्दा धेरै टाढा थियो। हुनत यो काम द्रुत गतिमा गरिएको थियो तैपनि समय त लाग्यो।a
युक्रेन शाखा समितिका एक सदस्य मार्कस रेइनहार्ट यसो भन्छन्: “यस्तो सङ्कष्टको घडीमा हाम्रा थुप्रै भाइबहिनीले यहोवाको माया आफैले महसुस गरिरहेका छन्। साथै युद्ध सुरु हुनुअघिदेखि नै यहोवाको सङ्गठनले दिएको निर्देशनअनुसार चल्दा कस्तो फाइदा हुन्छ भनेर आफैले अनुभव गरेका छन्। उदाहरणको लागि, सबै भाइबहिनीलाई आफ्नो घरमा केही हप्ताको लागि आवश्यक खानेकुरा र पानीको जोहो गर्न प्रोत्साहन दिइएको थियो। यस निर्देशनबारे किभका एक जना एल्डर एन्टोनले यसो भन्नुभयो: ‘यहोवाको सङ्गठनले हामीलाई कठिन अवस्थाको लागि पहिल्यै तयार पारेको थियो। यसको लागि हामी धेरै कृतज्ञ छौँ। खाना र पानीको जोहो गरेकोले र रेडियो पनि साथमा राखेकोले हाम्रो ज्यान जोगियो।’ भाइबहिनी यो निर्देशनअनुसार चलेकोमा हामी आभारी छौँ किनकि यसले गर्दा शाखा कार्यालयले राहतकार्यको योजना बनाउन समय पायो।”
राहत सामग्री पाएपछि हाम्रा भाइबहिनीले कस्तो महसुस गरे? खार्खिभमा बस्ने माइकला र जियानेटाले यसो भने: “तपाईँहरूको माया देखेर हाम्रो मनै छोएको छ। खानेकुरा र औषधीको लागि धेरै धन्यवाद! हामीले यसमा यहोवाको हात देख्न सक्यौँ।” त्यही इलाकामा बस्ने भ्यालेन्टिना यसो भन्छिन्: “युद्ध सुरु भएदेखि नै किराना पसलहरूमा मान्छेहरूको निकै लामो लाइन लाग्थ्यो। त्यसैले आवश्यक सामग्रीहरू किन्न सम्भव थिएन। तर यहोवाले हाम्रो अवस्था देख्नुभयो। उहाँले राहत सामग्री घरसम्म पुऱ्याइदिन भाइहरू खटाउनुभयो। त्यसमा हामीलाई चाहिएकै सामानहरू थिए! यस्तो आशाविहीन अवस्थामा हामीले यहोवा र उहाँको सङ्गठनको माया विशेष तरिकामा अनुभव गर्न सक्यौँ। . . . समयमै यस्तो मदत र साथ पाएकोमा हामीले ढुक्क महसुस गऱ्यौँ।”
मारिउपोलबाट भागेका यभ्हेन र इरिनाले यसो भने: “हाम्रो परिवारलाई तपाईँहरूले देखाउनुभएको माया र चासोको लागि धेरै कृतज्ञ छौँ। यो साँच्चै नै हामीलाई चाहिएकै मदत थियो। सुरुमा त हामीले ती बाकसहरूमा राहत सामग्री मात्र होला भनेर सोचेका थियौँ। तर त्यसमा तपाईँहरूको माया पनि रहेछ!”
“युद्धको कोलाहल अनि युद्धको खबर”-बीच भएको यस्तो राहतकार्यमाथि यहोवाको पवित्र शक्तिको मदत र डोऱ्याइ भरपुर मात्रामा थियो भनेर तपाईँहरूले पक्कै महसुस गर्नुभयो होला। विश्वव्यापी कार्यको लागि तपाईँहरूले दिनुभएको अनुदान, जुन प्रायजसो donate.jw.org मार्फत पनि दिइने गरिन्छ, त्यसले यस राहतकार्यमा ठूलो भूमिका खेल्यो। हामी तपाईँहरूको उदारताको धेरै कदर गर्छौँ।
राहत सामग्री सकेसम्म छिटो र सुरक्षितसाथ ढुवानी गरियो
फेब्रुअरी २४, २०२२: संयोजन समितिले युक्रेनको लागि राहत सामग्री उपलब्ध गराउन बजेट छुट्ट्याउने अनुमति दिन्छ, जसले गर्दा शाखाले राहतकार्य सुरु गर्न सक्यो
फेब्रुअरी २४–मार्च ८, २०२२: युक्रेन शाखाले स्थानीय बजारबाट केही सामग्री किन्छ अनि प्रकोप राहत समितिहरूमार्फत वितरण सुरु गर्छ। साथै शाखाले पोल्याण्डबाट आएको सामग्री प्राप्त र वितरण गर्न आवश्यक तयारी गर्छ
मार्च ९, २०२२: संयोजन समितिले मानवीय सहयोगस्वरूप युक्रेनमा राहत सामग्री पठाउन स्वीकृति दिन्छ
मार्च १०–१२, २०२२: पोल्याण्डबाट युक्रेनको लभिभसम्म परीक्षणको रूपमा राहत सामग्री पुऱ्याउने प्रबन्ध मिलाइन्छ
मार्च १३, २०२२: राहत सामग्री परीक्षणको रूपमा पोल्याण्डबाट युक्रेनको लभिभमा पठाइन्छ
मार्च १४–१६, २०२२: पोल्याण्डको पोज्नाननजिकै एउटा सम्मेलन भवनमा स्थानीय डिजाइन/निर्माण स्वयम्सेवकहरू खानेकुरा र सरसफाइका सामग्री प्याक गर्ने काम गर्छन्
मार्च १७, २०२२: परीक्षण सफल भएको चार दिनपछि १३ टन राहत सामग्री युक्रेन नाकामा पठाइन्छ
मार्च २१–२७, २०२२: त्यसरी नै बाँकी राहत सामग्री पोल्याण्डमा प्याक गरेर युक्रेन पठाइन्छ अनि २४ घण्टाभित्रै युद्ध प्रभावित इलाकाहरूमा पुऱ्याइन्छ
मार्च २८, २०२२: राहत सामग्री वितरण गर्ने अनुमति पाएको २० दिनभित्रै १०० टन खाद्य सामग्री अनि सरसफाइ र औषधी-उपचारका सामग्रीहरू युक्रेनमा ढुवानी गरिन्छ
आजको मितिसम्म यहोवाका साक्षीहरूले युक्रेनमा १९० टनभन्दा धेरै राहत सामग्री पठाइसकेका छन्।
a राहत सामग्रीको ढुवानी कसरी गरियो भनेर थाह पाउन “भाइहरू युक्रेनको युद्धग्रस्त ठाउँहरूमा उद्धार र राहत सामग्री वितरणको काम गर्छन्” भन्ने अङ्ग्रेजी लेख पढ्नुहोस्।