शुक्रबार, अक्टोबर १०
यहोवाको डर मान्नु बुद्धिको सुरुवात हो।—हितो. ९:१०.
आफ्नो डिभाइसमा कुनै अश्लील दृश्य देखा पर्दा हामीले के गर्नुपर्छ? हामीले तुरुन्तै आफ्नो आँखा फर्काउनुपर्छ। यहोवासितको सम्बन्ध हामीसित भएको सबैभन्दा बहुमूल्य कुरा हो भनेर सम्झन्छौँ भने हामीले त्यस्तो कदम चाल्न सक्नेछौँ। कुनै-कुनै तस्बिर अश्लील नभए तापनि त्यसले यौनइच्छा जगाउन सक्छ। हामीले किन त्यस्ता कुराहरूलाई तिरस्कार गर्नुपर्छ? किनकि मनमनै व्यभिचार गर्नतर्फ धकेल्न सक्ने ससानो कुरादेखि पनि हामी अलग्गै रहन चाहन्छौँ। (मत्ति ५:२८, २९) थाइल्याण्डका डेभिड भन्ने एल्डर यसो भन्छन्: “म आफैलाई यस्तो प्रश्न सोध्छु, ‘कुनै तस्बिर अश्लील नभए पनि मैले त्यो हेरिरहेँ भने के यहोवालाई त्यो मन पर्छ?’ यसरी सोच्दा मैले बुद्धिमानी कदम चाल्न सकेको छु।” हामी यहोवालाई अप्रसन्न तुल्याउने काम गर्नदेखि डराउँछौँ भने बुद्धिमानी कदम चाल्न मदत पाउनेछौँ। परमेश्वरको “डर मान्नु बुद्धिको सुरुवात हो।” w२३.०६ पृ. २३ अनु. १२-१३
शनिबार, अक्टोबर ११
हे मेरा मानिसहरू हो, जाओ! आ-आफ्नो भित्री कोठामा पस।—यसै. २६:२०.
“भित्री कोठा”-ले मण्डलीहरूलाई बुझाएको हुन सक्छ। महासङ्कष्टको बेला हामी भाइबहिनीसँगै एकतामा रहेर उहाँको सेवा गरिरह्यौँ भने उहाँले प्रतिज्ञा गर्नुभएको सुरक्षा पाउनेछौँ। त्यसैले हामीले भाइबहिनीलाई सहन मात्र होइन, तिनीहरूलाई प्रेम गर्न पनि धेरै प्रयास गर्नुपर्छ। यस्तो प्रयासमा हाम्रो जीवन निर्भर हुन सक्छ! “यहोवाको महान् दिन”-मा मानिसजातिले कठिनाइहरू भोग्नुपर्नेछ। (सप. १:१४, १५) यहोवाका मानिसहरूले पनि कठिनाइहरू भोग्नेछन्। तर हामी अहिल्यैदेखि तयार छौँ भने शान्त रहन र अरूलाई मदत गर्न सक्नेछौँ। अनि जस्तोसुकै चुनौती आइपरे तापनि सहनशील हुन सक्नेछौँ। दुःखमा परेका भाइबहिनीलाई कोमल करुणा देखाउन र तिनीहरूलाई आवश्यक मदत दिन हामी आफ्नो तर्फबाट सक्दो कोसिस गर्नेछौँ। अनि हामीले भाइबहिनीलाई अहिल्यैदेखि प्रेम गर्न सिक्यौँ भने भविष्यमा पनि त्यसरी नै प्रेम देखाउन सक्नेछौँ। यी गुणहरू देखाउन सक्दो कोसिस गऱ्यौँ भने यहोवाले हामीलाई कुनै प्रकोप र कठिनाइहरू नहुने संसारमा इनामस्वरूप अनन्त जीवन दिनुहुनेछ।—यसै. ६५:१७. w२३.०७ पृ. ७ अनु. १६-१७
आइतबार, अक्टोबर १२
[यहोवाले] तिमीहरूलाई स्थिर बनाउनुहुनेछ, तिमीहरूलाई बलियो पार्नुहुनेछ र तिमीहरूलाई दह्रोगरि खडा गर्नुहुनेछ।—१ पत्रु. ५:१०.
परमेश्वरको वचनमा वफादार पुरुषहरूलाई अक्सर बलिया मानिसहरूको रूपमा व्याख्या गरिएको छ। तर तिनीहरूमध्ये एकदमै बलिया व्यक्तिहरूले पनि कहिलेकाहीँ कमजोर महसुस गरे। जस्तै: राजा दाउदले कहिलेकाहीँ आफू “पहाडजत्तिकै अटल” भएको महसुस गरे तर कहिलेकाहीँ भने “त्रसित” भए। (भज. ३०:७) हुनत सिमसोन परमेश्वरको शक्ति पाएर बलवान् भएका थिए। तर परमेश्वरको शक्ति नपाएमा आफू पनि “कमजोर भएर अरू मानिसजस्तै हुनेछु” भनेर तिनलाई थाह थियो। (न्याय. १४:५, ६; १६:१७) यी वफादार पुरुषहरू परमेश्वरको शक्ति पाएर मात्रै बलिया हुन सकेका थिए। प्रेषित पावलले पनि आफूलाई यहोवाको शक्ति चाहिन्छ भनेर बुझेका थिए। (२ कोरि. १२:९, १०) तिनले स्वास्थ्य समस्याहरूको सामना गरिरहेका थिए। (गला. ४:१३, १४) कहिलेकाहीँ तिनलाई पनि असल काम गर्न गाह्रो भयो। (रोमी ७:१८, १९) कहिलेकाहीँ भने तिनी चिन्तित भए र तिनको ज्यानको समेत ठेगान थिएन। (२ कोरि. १:८, ९) तैपनि पावल कमजोर हुँदा बलिया भए। कसरी? यहोवाले तिनलाई चुनौतीहरूको सामना गर्न बल दिनुभयो। w२३.१० पृ. १२ अनु. १-२