आइतबार, अक्टोबर १२
[यहोवाले] तिमीहरूलाई स्थिर बनाउनुहुनेछ, तिमीहरूलाई बलियो पार्नुहुनेछ र तिमीहरूलाई दह्रोगरि खडा गर्नुहुनेछ।—१ पत्रु. ५:१०.
परमेश्वरको वचनमा वफादार पुरुषहरूलाई अक्सर बलिया मानिसहरूको रूपमा व्याख्या गरिएको छ। तर तिनीहरूमध्ये एकदमै बलिया व्यक्तिहरूले पनि कहिलेकाहीँ कमजोर महसुस गरे। जस्तै: राजा दाउदले कहिलेकाहीँ आफू “पहाडजत्तिकै अटल” भएको महसुस गरे तर कहिलेकाहीँ भने “त्रसित” भए। (भज. ३०:७) हुनत सिमसोन परमेश्वरको शक्ति पाएर बलवान् भएका थिए। तर परमेश्वरको शक्ति नपाएमा आफू पनि “कमजोर भएर अरू मानिसजस्तै हुनेछु” भनेर तिनलाई थाह थियो। (न्याय. १४:५, ६; १६:१७) यी वफादार पुरुषहरू परमेश्वरको शक्ति पाएर मात्रै बलिया हुन सकेका थिए। प्रेषित पावलले पनि आफूलाई यहोवाको शक्ति चाहिन्छ भनेर बुझेका थिए। (२ कोरि. १२:९, १०) तिनले स्वास्थ्य समस्याहरूको सामना गरिरहेका थिए। (गला. ४:१३, १४) कहिलेकाहीँ तिनलाई पनि असल काम गर्न गाह्रो भयो। (रोमी ७:१८, १९) कहिलेकाहीँ भने तिनी चिन्तित भए र तिनको ज्यानको समेत ठेगान थिएन। (२ कोरि. १:८, ९) तैपनि पावल कमजोर हुँदा बलिया भए। कसरी? यहोवाले तिनलाई चुनौतीहरूको सामना गर्न बल दिनुभयो। w२३.१० पृ. १२ अनु. १-२
सोमबार, अक्टोबर १३
यहोवा परमेश्वरले मानिसको हृदय हेर्नुहुन्छ।—१ समु. १६:७.
आफू बेकामको छु भन्ने भावनाले सताउँदा हामी यो कुरा सम्झन सक्छौँ: यहोवाले नै हामीलाई उहाँतर्फ खिच्नुभएको हो। (युह. ६:४४) हामीले आफूमा भएका असल गुणहरू नदेखे तापनि यहोवाले भने देख्नुहुन्छ किनकि उहाँ हाम्रो हृदयको कुरा जान्नुहुन्छ। (२ इति. ६:३०) त्यसैले यहोवाले हामी उहाँको नजरमा अनमोल छौँ भन्नुहुँदा त्यस कुरामा ढुक्क हुन सक्छौँ। (१ युह. ३:१९, २०) सत्य सिक्नुअघि हामीमध्ये केहीले गम्भीर पाप गरेका थियौँ होला, जसले गर्दा हामीलाई अझै पनि दोषी भावनाले सताइरहेको हुन सक्छ। (१ पत्रु. ४:३) वफादार ख्रिष्टियनहरू समेत पापी झुकावविरुद्ध लड्नुपर्छ। के तपाईँलाई पनि कहिलेकाहीँ आफू यहोवाको क्षमा पाउन योग्य छैनँ जस्तो लाग्छ? त्यस्तो लाग्छ भने विगतका वफादार सेवकहरूलाई समेत यस्तो भावनाले सताएको थियो भन्ने कुरा थाह पाउँदा तपाईँले पक्कै सान्त्वना पाउनुहुनेछ। उदाहरणको लागि, प्रेषित पावलले पनि आफ्ना कमीकमजोरीले गर्दा लाचार महसुस गरेका थिए। (रोमी ७:२४) हुनत तिनले पश्चात्ताप गरेर बप्तिस्मा गरेका थिए तैपनि तिनले आफूलाई “प्रेषितहरूमध्ये . . . सबैभन्दा सानो” र पापीहरूमध्ये “मुख्य” भने।—१ कोरि. १५:९; १ तिमो. १:१५. w२४.०३ पृ. २७ अनु. ५-६
मङ्गलबार, अक्टोबर १४
तिनीहरूले . . . यहोवाको भवनलाई त्यागे।—२ इति. २४:१८.
राजा यहोआसको गलत निर्णयबाट सिक्न सकिने एउटा पाठ भनेको हामीले यहोवालाई प्रेम गर्ने र उहाँलाई खुसी बनाउन चाहनेहरूलाई साथी बनाउनुपर्छ। त्यस्ता साथीहरूले हामीलाई असल काम गर्न उत्प्रेरित गर्छन्। हामीले आफ्नै उमेरकाहरूलाई मात्र साथी बनाउनुपर्छ भन्ने छैन। नबिर्सनुहोस्, यहोआस आफ्नो साथी यहोयादाभन्दा निकै साना थिए। साथी रोज्ने सन्दर्भमा आफैलाई सोध्नुहोस्: ‘के तिनीहरूले यहोवामाथिको मेरो भरोसालाई बलियो बनाउन मदत गर्छन्? के तिनीहरू मलाई उहाँको स्तरअनुसार जीवन बिताउन प्रोत्साहन दिन्छन्? के तिनीहरू यहोवा र उहाँका बहुमूल्य सत्यबारे कुरा गर्छन्? के तिनीहरू उहाँका स्तरहरूको कदर गर्छन्? के तिनीहरू मलाई सुन्न मन लाग्ने कुरा मात्रै भन्छन् या आवश्यक परेको बेला सच्याउँछन्?’ (हितो. २७:५, ६, १७) यदि तिनीहरू यहोवालाई प्रेम गर्दैनन् भने तिनीहरूसित मित्रता कायम राखिराख्नु उचित हो र? तर तिनीहरू यहोवालाई प्रेम गर्छन् भने तिनीहरूसितको मित्रतालाई कायम राख्नुहोस्; तिनीहरूले तपाईँलाई सधैँ मदत गर्नेछन्।—हितो. १३:२०. w२३.०९ पृ. ९-१० अनु. ६-७