आइतबार, अक्टोबर १९
माछा समात्न तिमीहरूले आ-आफ्ना जाल हान।—लुका ५:४.
येसुले प्रेषित पत्रुसलाई यहोवाले तिनको ख्याल राख्नुहुनेछ भनेर आश्वासन दिनुभयो। फेरि जीवित हुनुभएका येसुले पत्रुस र अन्य प्रेषितहरूसामु फेरि अर्को एउटा चमत्कार गर्नुभयो। यसपालि पनि तिनीहरूले थुप्रै माछा समात्न सके। (युह. २१:४-६) यो चमत्कार देखेपछि पत्रुस यहोवाले तिनको भौतिक आवश्यकताहरू पूरा गर्नुहुनेछ भन्ने कुरामा विश्वस्त भएको हुनुपर्छ। येसुले भन्नुभएको यो कुरा पनि पत्रुसले सम्झेको हुनुपर्छ, ‘परमेश्वरको राज्यलाई पहिलो स्थान दिइरहनेहरूको’ भौतिक आवश्यकता यहोवाले पूरा गर्नुहुन्छ। (मत्ति ६:३३) त्यसपछि पत्रुसले माछा मार्ने व्यवसायलाई होइन तर सेवाको कामलाई प्राथमिकता दिए। इस्वी संवत् ३३ पेन्तिकोसमा तिनले साहसी भई साक्षी दिए र हजारौँले सुसमाचार स्विकारे। (प्रेषि. २:१४, ३७-४१) त्यसपछि तिनले सामरियाका र अन्यजातिका मानिसहरूलाई येसुबारे सिक्न अनि उहाँको पछि लाग्न मदत गरे। (प्रेषि. ८:१४-१७; १०:४४-४८) यहोवाले हर किसिमका मानिसहरूलाई मण्डलीमा ल्याउन पत्रुसलाई थुप्रै तरिकामा प्रयोग गर्नुभयो। w२३.०९ पृ. २० अनु. १; पृ. २३ अनु. ११
सोमबार, अक्टोबर २०
तिमीहरूले मलाई मेरो सपना र त्यसको अर्थ बताएनौ भने तिमीहरूलाई टुक्राटुक्रा पारिनेछ।—दानि. २:५.
बेबिलोनीहरूले यरुसलेमलाई नाश गरेको लगभग दुई वर्षपछि राजा नबुकद्नेजरले विशाल मूर्तिबारे डरलाग्दो सपना देखेका थिए। दानिएल र अन्य बुद्धिमान् मानिसहरूले राजाको सपना बताउन र त्यसको अर्थ खोल्न सकेनन् भने राजाले तिनीहरूलाई मार्ने धम्की दिएका थिए। (दानि. २:३-५) दानिएलले तुरुन्तै कदम चाल्नुपर्ने थियो। अन्यथा थुप्रैले आफ्नो ज्यान गुमाउनुपर्ने हुन्थ्यो। “दानिएल राजाकहाँ गए र राजाले देखेको सपनाको अर्थ बताउन केही समय पाऊँ भनी बिन्ती गरे।” (दानि. २:१६) यसो गर्न तिनलाई साहस र विश्वास चाहिन्थ्यो। यसअघि तिनले सपनाको अर्थ खोलेको विवरण कतै पाइँदैन। दानिएलले आफ्ना साथीहरूलाई “यस रहस्यको अर्थ खोलिदिएर कृपा देखाउन स्वर्गका परमेश्वरलाई बिन्ती गर्नू” भनी अनुरोध गरे। (दानि. २:१८) यहोवाले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो। उहाँको मदत पाएर दानिएलले राजा नबुकद्नेजरको सपनाको अर्थ खोलिदिए। यसरी दानिएल र तिनका साथीहरूको ज्यान जोगियो। w२३.०८ पृ. ३ अनु. ४
मङ्गलबार, अक्टोबर २१
जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।—मत्ति २४:१३.
धीरज देखाउँदा हुने फाइदाहरू विचार गर्नुहोस्। हामी धीरजी भयौँ भने अझ खुसी हुन र शान्त रहन सक्छौँ। त्यसैले धीरजी हुँदा हाम्रो मानसिक र शारीरिक स्वास्थ्य अझै राम्रो हुन सक्छ। हामीले अरूप्रति धीरज देखाउँदा तिनीहरूसितको सम्बन्ध अझै राम्रो हुन्छ। अनि मण्डलीका भाइबहिनीबीचको एकता पनि अझ बलियो हुन्छ। साथै कसैले रिस उठाउँदा हामी आफूलाई काबूमा राख्छौँ र यसले गर्दा अवस्था अझै बिग्रन पाउँदैन। (भज. ३७:८, फुटनोट; हितो. १४:२९) सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले यहोवाको अनुकरण गरिरहेका हुन्छौँ र उहाँसित अझ नजिक हुन्छौँ। धीरज साँच्चै मनमोहक गुण हो। यसले सबैलाई लाभ पुऱ्याउँछ। हुनत धीरजी हुन सधैँ सजिलो नहुन सक्छ तर यहोवाको मदत पायौँ भने हामी यो गुण विकास गरिरहन सक्छौँ। धीरजी भई नयाँ संसारको बाटो हेरिरह्यौँ भने हामी यस कुरामा ढुक्क हुन सक्छौँ: “यहोवासित डराउनेहरूमाथि र उहाँको अटल प्रेममा आशा राख्नेहरूमाथि उहाँको नजर रहिरहन्छ।” (भज. ३३:१८) त्यसैले हामी धीरज धारण गरिरहौँ! w२३.०८ पृ. २२ अनु. ७; पृ. २५ अनु. १६-१७