बुधबार, अक्टोबर २२
विश्वास . . . कामबाट प्रकट हुँदैन भने त्यो मरेको हुन्छ।—याकु. २:१७.
कसैले आफूसित विश्वास भएको दाबी गर्लान्। तर तिनको कामबाट तिनीसित विश्वास भएको देखिनुपर्छ भनेर याकुबले बताउन खोज्दै थिए। (याकु. २:१-५, ९) याकुबले अर्को एक जना मानिसबारे पनि बताए, जसले ‘कुनै भाइ वा बहिनीसित लुगा वा दिनभरि खान पुग्ने भोजन नभएको’ देख्छन् तर मदत भने गर्दैनन्। तिनले आफूसित विश्वास भएको दाबी गरे तापनि कामबाट नदेखाएकोले तिनको विश्वास बेकारको थियो। (याकु. २:१४-१६) याकुबले विश्वास कामद्वारा देखाउने सन्दर्भमा राहाबको उदाहरण बताए। (याकु. २:२५, २६) राहाबले यहोवा र उहाँले इस्राएलीहरूलाई साथ दिनुभएको कुराबारे सुनेकी थिइन्। (यहो. २:९-११) उनले आफ्नो विश्वास कामद्वारा प्रकट गरिन्। एकचोटि दुई जना इस्राएली जासुसको ज्यान खतरामा पर्दा उनले तिनीहरूलाई बचाइन्। नतिजास्वरूप उनी त्रुटिपूर्ण र गैर-इस्राएली भए तापनि अब्राहामजस्तै धर्मी ठहरिन्। राहाबको उदाहरणबाट विश्वास कामद्वारा देखाउनुको महत्त्व बुझ्न सक्छौँ। w२३.१२ पृ. ५ अनु. १२-१३
बिहीबार, अक्टोबर २३
तिमीहरू विश्वासको जगमा जरा हालिएका र दृढ होओ।—एफि. ३:१७.
हामी बाइबलका आधारभूत शिक्षाहरूमा मात्र चित्त बुझाएर बस्न चाहँदैनौँ। बरु पवित्र शक्तिको मदत पाएर “परमेश्वरका गहिरा कुराहरू”-समेत सिक्न चाहन्छौँ। (१ कोरि. २:९, १०) यहोवासित अझै नजिक हुन कुनै विषयमा गहिरिएर अध्ययन गर्न थाल्नुभए कसो होला? जस्तै: परमेश्वरले इस्राएलीहरूलाई प्रेम गरेको कसरी देखाउनुभयो, त्यसबारे अध्ययन गर्नुहोस्। अनि त्यसबाट उहाँ हामीलाई पनि प्रेम गर्नुहुन्छ भनेर कसरी देखिन्छ, खोज्नुहोस्। यहोवाले उपासनाको सन्दर्भमा इस्राएलीहरूको लागि गर्नुभएका प्रबन्धहरू र अहिले हाम्रो लागि गर्नुभएका प्रबन्धहरूबीच कस्ता समानताहरू छन्, जाँच्नुहोस्। अथवा येसुसित सम्बन्धित भविष्यवाणीहरू उहाँ पृथ्वीमा हुनुहुँदा कसरी पूरा भए, गहिरिएर अध्ययन गर्नुहोस्। गहिरा विषयहरूमा अध्ययन गर्न यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी एउटा राम्रो साधन हो। गहिरिएर अध्ययन गर्दा तपाईँको विश्वास बलियो हुनेछ र तपाईँले ‘परमेश्वरको ज्ञान पाउनुहुनेछ।’—हितो. २:४, ५. w२३.१० पृ. १८-१९ अनु. ३-५
शुक्रबार, अक्टोबर २४
सबैभन्दा महत्त्वपूर्ण कुरा, आपसमा प्रगाढ प्रेम गर किनकि प्रेमले असङ्ख्य पापहरू ढाक्छ।—१ पत्रु. ४:८.
पत्रुसले यहाँ चलाएको “प्रगाढ” शब्दको शाब्दिक अर्थ “तन्काउनु” हो। त्यस पदको दोस्रो भागमा त्यस्तो प्रेमले के गर्छ भनेर बताइएको छ। त्यसले भाइबहिनीका पापहरू ढाक्छ। कल्पना गर्नुहोस्, एउटा टेबुलमा दागैदाग छ। हामी एउटा कपडालाई तनक्क तन्काएर टेबुलको एउटा वा दुइटा मात्र होइन, सबै दाग ढाक्न सक्छौँ। त्यसैगरि यदि हामीमा भाइबहिनीप्रति प्रगाढ प्रेम छ भने हामी तिनीहरूको एउटा वा दुइटा कमजोरी मात्र होइन, “असङ्ख्य पापहरू” ढाक्न अर्थात् क्षमा दिन सक्छौँ। भाइबहिनीप्रतिको हाम्रो प्रेम प्रगाढ छ भने क्षमा दिन एकदमै गाह्रो हुँदा समेत हामीले तिनीहरूलाई क्षमा दिन सक्नेछौँ। (कल. ३:१३) भाइबहिनीलाई क्षमा दिन सक्यौँ भने तिनीहरूप्रतिको हाम्रो प्रेम प्रगाढ छ र हामी यहोवालाई खुसी बनाउन चाहन्छौँ भनेर देखाइरहेका हुन्छौँ। w२३.११ पृ. १०-११ अनु. १३-१५