प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 सङ्‌ख्या १ पृ. ३-७
  • किशोरकिशोरीलाई हुने डिप्रेसन—यो किन हुन्छ? केले मदत गर्न सक्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • किशोरकिशोरीलाई हुने डिप्रेसन—यो किन हुन्छ? केले मदत गर्न सक्छ?
  • ब्यूँझनुहोस्‌!—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • किशोरकिशोरीलाई डिप्रेसन हुन सक्ने कारणहरू
  • आफ्नो दिमाग र शरीरको ख्याल राख्नुहोस्‌
  • म किन असाध्यै निराश हुन्छु?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
ब्यूँझनुहोस्‌!—२०१७
g17 सङ्‌ख्या १ पृ. ३-७
खाटमा निराश भएर बसिरहेका एक किशोर

आवरण लेख

किशोरकिशोरीलाई हुने डिप्रेसन—यो किन हुन्छ? केले मदत गर्न सक्छ?

साहानाa भन्छिन्‌, “डिप्रेसनले छोपेको बेला मलाई केही पनि गर्न मन लाग्दैन। अरू बेला एकदमै रमाइलो लाग्ने काम पनि गर्न मन लाग्दैन। खाली सुत्न मात्र मन लाग्छ। आफू बेकामको भएको र अरूको लागि बोझ भएको जस्तो लाग्छ।”

पुनम भन्छिन्‌, “म आत्महत्या गर्नेबारे सोच्ने गर्थें। मर्न मन लागेकोले त होइन, तर बेकारको महसुस गर्नदेखि मुक्‍त हुन चाहन्थें। हुन त म अरूको ख्याल राख्ने स्वभावकी छु तर डिप्रेसन भएको बेलाचाहिं कसैलाई पनि वास्ता गर्दिनँ।”

साहाना र पुनमले किशोरावस्थामा छँदै पहिलो पटक डिप्रेसनको सामना गरेका थिए। अरू जवानहरू पनि कहिलेकाहीं निराश हुन सक्छन्‌ तर साहाना र पुनमलाई चाहिं हप्तौं वा महिनौंसम्म डिप्रेसन हुन्थ्यो। साहाना भन्छिन्‌, “आफू एकदमै गहिरो अनि अँध्यारो खाल्टोमा फसेझैं लाग्थ्यो। दिमाग नै ठीक ठाउँमा नभएको जस्तो लाग्थ्यो।”

थुप्रैले साहाना र पुनमको जस्तै अवस्था सामना गरिरहेका छन्‌। डिप्रेसन भएका किशोरकिशोरीहरूको सङ्‌ख्या अकासिंदो छ। विश्‍व स्वास्थ्य सङ्‌गठनका अनुसार “१० देखि १९ वर्षका केटाकेटीहरू बिरामी वा असक्‍त हुनुको मुख्य कारण नै डिप्रेसन हो।”

डिप्रेसनका लक्षणहरू किशोरावस्थामै देखा पर्न सक्छन्‌। यस्ता लक्षणहरूमा भोक, निद्रा र तौलमा आउने परिवर्तनहरू पर्छन्‌। निराश हुने, दुःखी महसुस गर्ने र आफूलाई बेकम्मा ठान्‍नेजस्ता नकारात्मक भावना पनि आउन सक्छ। अन्य लक्षणहरू यस्ता हुन सक्छन्‌: एक्लोपन महसुस गर्ने, ध्यान दिन वा सम्झन गाह्रो हुने, आत्महत्या गर्ने विचार आउने वा त्यसो गर्न प्रयास गर्ने आदि। कुनै व्यक्‍तिमा यीमध्ये केही लक्षण हप्तौंसम्म देखा परेमा र यसले उसको दैनिक जीवनमा असर गरेमा मानसिक स्वास्थ्य विशेषज्ञहरूले यसलाई डिप्रेसनको लक्षणको रूपमा हेर्छन्‌।

किशोरकिशोरीलाई डिप्रेसन हुन सक्ने कारणहरू

विश्‍व स्वास्थ्य सङ्‌गठनका अनुसार “थुप्रै कारणले गर्दा डिप्रेसन हुन सक्छ। अरूले आफूलाई गरेको व्यवहार, मानसिक तनाव वा शारीरिक कारणहरूले गर्दा यस्तो हुन सक्छ।” यसमा निम्न कुराहरू समावेश छन्‌।

शारीरिक कारणहरू। डिप्रेसन प्रायजसो वंशानुगत रूपमा सर्छ। पुनमलाई पनि यस्तै भएको थियो। जीनले मस्तिष्कको रासायनिक गतिविधिमा असर गरेकोले यस्तो भएको हुन सक्छ। अन्य शारीरिक कारणमा मुटुसम्बन्धी रोग, हर्मोनको गडबडी र लागूपदार्थ दुर्व्यसनी समावेश छ। यी कुराहरूले डिप्रेसन हुन सक्छ।b

तनाव। थोरै तनाव स्वास्थ्यको लागि राम्रै भए तापनि धेरै तनाव लिंदा यसले शारीरिक र मानसिक स्वास्थ्यलाई नकारात्मक असर गर्न सक्छ। यसले भावनात्मक रूपमा कमजोर किशोरकिशोरीलाई डिप्रेसनतर्फ धकेल्न सक्छ। डिप्रेसन ठ्याक्कै यही कारणले हुन्छ भन्‍ने कुरा थाह नभए तापनि माथि उल्लेख गरिएका कारणमध्ये केहीले गर्दा डिप्रेसन हुन सक्छ।

आमाबुबाको सम्बन्धविच्छेद, प्रियजनको मृत्यु, शारीरिक वा यौन दुर्व्यवहार, ठूलो दुर्घटना, रोगबिमार, पढाइमा कमजोर भएकोले त्यागिएको महसुस हुनुजस्ता कारणले डिप्रेसन हुन सक्छ। आमाबुबाले पढाइको सन्दर्भमा बढी माग गरेकोले पनि यस्तो हुन सक्छ। दादागिरीको सिकार, भविष्यको चिन्ता, डिप्रेसन भएको आमा वा बुबाबाट पाएको भावनात्मक चोट अथवा आमाबुबाको आशै नगरेको व्यवहारले गर्दा पनि डिप्रेसन हुन सक्छ। यदि यसो भएमा किशोरकिशोरीहरूले कसरी डिप्रेसनको सामना गर्न सक्छन्‌?

आफ्नो दिमाग र शरीरको ख्याल राख्नुहोस्‌

सामान्य डिप्रेसनदेखि गम्भीर डिप्रेसन पनि औषधीद्वारा र मानसिक स्वास्थ्य विशेषज्ञहरूको परामर्शद्वारा रोकथाम गर्न सकिन्छ।c येशू ख्रीष्टले भन्‍नुभयो: “बलियाहरूलाई डाक्टर चाहिंदैन तर बिरामीहरूलाई चाहिन्छ।” (मर्कूस २:१७) रोग लाग्दा यसले शरीरको जुनसुकै भागलाई पनि असर गर्न सक्छ, हाम्रो मस्तिष्कलाई समेत! हाम्रो शरीर र दिमागको नजिकको सम्बन्ध भएकोले तपाईंले आफ्नो जीवनशैली परिवर्तन गर्नुभयो भने डिप्रेसनविरुद्ध लड्‌न सक्नुहुन्छ।

डिप्रेसनको सिकार हुनुभएको छ भने आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्न आवश्‍यक कदम चाल्नुहोस्‌। उदाहरणको लागि, स्वस्थकर खाना खानुहोस्‌, पर्याप्त मात्रामा सुत्नुहोस्‌, नियमित व्यायाम गर्नुहोस्‌। व्यायाम गर्दा यसले हाम्रो शरीरमा यस्तो रसायन पैदा गर्छ जसले हामीलाई आनन्दित र फुर्तिलो बनाउँछ अनि राम्ररी निदाउन मदत गर्छ। सम्भव भएमा तपाईंलाई डिप्रेसनमा पुऱ्‍याउन सक्ने कारणहरू र डिप्रेसन हुनुअगाडिको लक्षणहरू पत्ता लगाउनुहोस्‌ अनि यसलाई रोक्न सक्ने खास तरिकाहरू विचार गर्नुहोस्‌। भरोसा गर्न सक्ने व्यक्‍तिलाई आफ्नो समस्याबारे बताउनुहोस्‌। परिवारका सदस्यहरू र साथीहरूले तपाईंलाई डिप्रेसनविरुद्ध लड्‌न मदत गर्न सक्छन्‌। आफ्नो सोचाइ र भावनाहरू लेखेर राख्नुहोस्‌। अगाडि उल्लेख गरिएकी पुनमलाई पनि यसले मदत गरेको थियो। सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्नुहोस्‌। यसले जीवनलाई सकारात्मक तरिकाले हेर्न मदत गर्छ। येशू ख्रीष्टले भन्‍नुभयो: “आनन्दित हुन्‌ ती मानिसहरू, जसले परमेश्‍वरको मार्गनिर्देशनको खाँचो महसुस गर्छन्‌।”—मत्ती ५:३.

एक किशोरी आफ्नो आमाबुबासँग खाना खाँदै, व्यायाम गर्दै र सुत्दै

स्वस्थकर खाना खानुहोस्‌, व्यायाम गर्नुहोस्‌ र पर्याप्त मात्रामा सुत्नुहोस्‌

एक किशोरी बाइबल पढ्‌दै

आध्यात्मिक आवश्‍यकता पूरा गर्नुभयो भने सान्त्वना पाउन सक्नुहुन्छ

साहाना र पुनम येशूको यो कुरामा सहमत छन्‌। साहाना भन्छिन्‌: “आध्यात्मिक गतिविधिमा भाग लिंदा यसले मलाई आफ्नै समस्याहरूमा मात्र नभई अरू मानिसहरूमा ध्यान दिन मदत गर्छ। यसो गर्नु सधैं सजिलो छैन तर यसले मलाई आनन्दित बनाउँछ।” पुनमचाहिं प्रार्थना गरेर र बाइबल पढेर सान्त्वना पाउँछिन्‌। तिनी भन्छिन्‌: “परमेश्‍वरलाई आफ्नो मनको बह पोखाउँदा हल्का महसुस गर्छु। म परमेश्‍वरको नजरमा बहुमूल्य छु र उहाँ मेरो ख्याल राख्नुहुन्छ भनेर बुझ्न बाइबलले मदत गरेको छ। बाइबल पढाइले भविष्यलाई सकारात्मक तरिकाले हेर्न पनि मदत गरेको छ।”

यहोवा परमेश्‍वर हाम्रो सृष्टिकर्ता हुनुभएकोले उहाँले हामी हुर्केको वातावरण, हामीले जीवनमा भोगेका अनुभवहरू र आनुवंशिक बनौटले गर्दा हाम्रो सोचाइ र भावनामा आएका असरहरू बुझ्नुहुन्छ। त्यसैले उहाँले हामीलाई चाहिएकै मदत र सान्त्वना दिन सक्नुहुन्छ। उहाँले हाम्रो भावना बुझ्ने दयालु व्यक्‍तिहरू चलाएर पनि यसो गर्नुहुन्छ। अनि भविष्यमा परमेश्‍वरले हाम्रो सबै रोगबिमार, चाहे त्यो शारीरिक होस्‌ वा मानसिक, त्यो निको पार्नुहुनेछ। यशैया ३३:२४ अनुसार “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’”

परमेश्‍वरले हाम्रो “आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ” भनेर बाइबलले हामीलाई आश्‍वासन दिन्छ। (प्रकाश २१:४) कत्ति सान्त्वनादायी कुरा! मानिसजाति र पृथ्वीबारे परमेश्‍वरको उद्देश्‍य के हो भनेर थाह पाउन चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.jw.org/ne मा जानुहोस्‌। त्यहाँ तपाईंले अनलाइन बाइबल पढ्‌न पाउनुहुन्छ। साथै डिप्रेसनलगायत विभिन्‍न विषयका रोचक लेखहरू पनि पाउन सक्नुहुन्छ।

a नामहरू परिवर्तन गरिएका छन्‌।

b विभिन्‍न किसिमको रोग, औषधी र लागूपदार्थले मानिसको मुडलाई असर गर्ने भएकोले रोगको सही पहिचान गर्नु जरुरी छ।

c ब्यूँझनुहोस्‌! पत्रिकाले कुनै खास उपचारको सिफारिस गर्दैन।

आमाबुबाले के गर्न सक्छन्‌?

  • डिप्रेसन भएका किशोरकिशोरीलाई आफ्नो भावना व्यक्‍त गर्न गाह्रो लाग्न सक्छ भन्‍ने कुरा याद गर्नुहोस्‌। आफूलाई के भइरहेको छ भनेर उनीहरूलाई थाहै नहुन सक्छ। डिप्रेसनका लक्षणहरू पनि उनीहरूलाई थाह नहुन सक्छ।

  • वयस्क व्यक्‍तिहरूले भन्दा किशोरकिशोरीले अनुभव गर्ने डिप्रेसन फरक हुन सक्छ। त्यसैले आफ्नो छोराछोरीको बानी-व्यवहार, खानपिन, मुड, सुत्ने तालिका वा अरूसँग कुरा गर्ने तरिकामा ठूलै परिवर्तन भएको छ भने होसियार हुनुहोस्‌। यस्ता परिवर्तन हप्तौंसम्म देखिएमा झनै सजग हुनुपर्छ।

  • उनीहरूले आत्महत्या गर्ने कुरा गर्दा वा त्यसो गर्ने कोसिस गर्दा यसलाई हल्कासँग नलिनुहोस्‌।

  • छोराछोरी केही समयको लागि मात्र उदास नभई उनीहरूलाई डिप्रेसन नै भएको हो जस्तो लागेमा डाक्टरको मदत लिनुहोस्‌।

  • डाक्टरको सुझावअनुसारै गर्न छोराछोरीलाई मदत गर्नुहोस्‌। कुनै सुधार नआएमा अथवा स्वास्थ्यमा प्रतिकूल असर देखा परेमा फेरि डाक्टरकहाँ जानुहोस्‌।

  • खाना खाने, व्यायाम गर्ने र सुत्ने सन्दर्भमा परिवार मिलेर राम्रो तालिका बनाउनुहोस्‌।

  • छोराछोरीसँग खुलेर कुराकानी गर्नुहोस्‌, डिप्रेसनको कारण भोगिरहेको कुनै पनि गाह्रो अवस्था सामना गर्न उनीहरूलाई मदत गर्नुहोस्‌।

  • डिप्रेसनले गर्दा एक्लोपन, लाज वा बेकामको महसुस हुन सक्छ, त्यसैले छोराछोरीलाई माया गरेको कुरामा उनीहरूलाई सधैं विश्‍वस्त पार्नुहोस्‌।

आफ्नो भावनालाई वशमा राख्न जम्मा गर्नुपर्ने कुराहरू

आफ्नो भावनालाई वशमा राख्न जम्मा गर्नुपर्ने कुराहरूमा सकारात्मक र उत्थानदायी शास्त्रपदहरू, माया गर्ने मानिसहरूलाई सम्झन मदत गर्ने कुराहरू, गीतहरू, लेखहरू र अनुभवहरू समावेश छन्‌

तपाईं डिप्रेसनको सामना गर्दै हुनुहुन्छ भने आफ्नो सोचाइ र भावनालाई वशमा राख्न केही कुराहरू जम्मा गर्नुहोस्‌। आफ्नो आवश्‍यकताअनुसार छाँटकाँट गर्दै यस पृष्ठमा बताइएका कुराहरू जम्मा गर्न सक्नुहुन्छ।

  • निराश भएको बेलामा कुरा गर्न सक्ने व्यक्‍तिहरूको सम्पर्क ठेगाना

  • आफूलाई मन पर्ने सकारात्मक अनि उत्थानदायी गीतहरू

  • प्रेरणादायी भनाइहरू अनि प्रोत्साहनदायी लेखहरू

  • बाइबलको सान्त्वनादायी र उत्थानदायी शब्दहरू, जस्तै भजन ३४:१८; ५१:१७; ९४:१९; फिलिप्पी ४:६, ७

  • तपाईंलाई माया गर्ने मानिसहरूलाई सम्झन मदत गर्ने कुराहरू

  • तपाईंको सकारात्मक भावना तथा रमाइला अनुभवहरू समेटिएको नोट

किशोरीहरू डिप्रेसनको सिकार

किशोरहरूलाई भन्दा किशोरीहरूलाई डिप्रेसन हुने खतरा बढी हुन्छ। यसो हुनुको एउटा कारण केटीहरूले प्रायजसो भावनात्मक, शारीरिक वा यौन दुर्व्यवहार भोग्नुपर्ने भएकोले हो। पेसेवर सल्लाहकार श्‍यारन हर्श भन्छिन्‌, “नराम्रा घटनाहरू र मनभित्रका नकारात्मक भावनाले गर्दा निकै गाह्रो महसुस हुन्छ।” विज्ञापन जगत्‌ले गर्ने “सुन्दर” शरीरको वर्णनले पनि केटीहरूलाई असर गर्छ। आफूलाई नराम्री ठान्‍ने र साथीहरूले के भन्लान्‌ भनेर असाध्यै चिन्ता गर्ने केटी सजिलै डिप्रेसनको सिकार हुन सक्छिन्‌।d

d युवाहरूको १० प्रश्‍नका जवाफहरू पुस्तिकाको पृष्ठ ६-८ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने