-
रूपरेखा बनाउने तरिकाईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्
-
-
रूपरेखा बनाउने तरिका
भाषण दिने जिम्मा पाउँदा धेरैजसोले सुरुदेखि अन्तसम्मका एक-एक शब्द घुँडा धसेर लेख्छन्। भाषण तयार हुनेबेलासम्म त निकै पटक भाषणको खेस्रा तयार पारिसकेका हुन्छन्। यसरी भाषण तयार पार्न घण्टौं लाग्छ।
के तपाईं त्यसरी नै आफ्नो भाषणको तयारी गर्नुहुन्छ? अझै सजिलो तरिका सिक्न चाहनुहुन्छ कि? रूपरेखा बनाउने तरिका सिक्नुभयो भने भएभरको कुरा लेखिरहनुपर्दैन। यसले गर्दा भाषण दिनुअघि अभ्यास गर्न तपाईं अझ धेरै समय पाउन सक्नुहुन्छ। रूपरेखा बनाउँदा तपाईंलाई भाषण दिन सजिलो हुने मात्र होइन श्रोतालाई पनि तपाईंको भाषण सुन्दा अझ रमाइलो हुन्छ र तिनीहरू अझ उत्प्रेरित हुनेछन्।
हुन त जनभाषणका लागि रूपरेखा दिइन्छ। तर जुनसुकै भाषणको पनि रूपरेखा हुन्छ भन्ने चाहिं होइन। तपाईंलाई कुनै विषय वा मूल-विषय मात्रै दिइएको हुन सक्छ। अथवा कुनै लेखलाई आधार मानेर तपाईंले भाषण बनाउनुपर्ने हुन्छ। कहिलेकाहीं तपाईंलाई केही मात्र जानकारी दिइएको हुन सक्छ। यस्ता सबै भाषणका लागि तपाईंले आफ्नै रूपरेखा बनाउनुपर्छ।
छोटो रूपरेखा कसरी बनाउने भन्नेबारे पृष्ठ ४१ मा दिइएको नमुनाले तपाईंलाई मदत गर्न सक्छ। याद गर्नुहोस्, मुख्य बुँदा गाढा अक्षरमा लेखिएको छ। अनि त्यसैमुनि मुख्य बुँदासित सम्बन्धित सहायक बुँदा दिइएका छन्। त्यसपछि बायाँतिरबाट अलि भित्र सहायक बुँदाअन्तर्गत पर्ने थप बुँदा दिइएका छन्। यस रूपरेखालाई राम्ररी नियाल्नुहोस्। गाढा अक्षरमा लेखिएका दुई मुख्य बुँदा उक्त नमुनामा दिइएको भाषणको मूल-विषयसित सोझै सम्बन्धित छन्। दिइएका उपबुँदा चाखलाग्दा कुरा मात्रै होइनन्; तिनले मुख्य बुँदा वा सहायक बुँदालाई समर्थन गर्छन् भनेर पनि नबिर्सनुहोस्।
तपाईंले बनाएको भाषणको रूपरेखा पृष्ठ ४१ को नमुना जस्तो नदेखिएला। तर रूपरेखा बनाउने यो तरिका बुझ्नुभयो भने यसले विषयवस्तु मिलाउन र घण्टौं खर्च नगरीकनै राम्रो भाषण तयार पार्न तपाईंलाई मदत गर्नेछ। त्यसो भए तपाईं कसरी भाषण बनाउन थाल्न सक्नुहुन्छ?
केलाउनुहोस्, छान्नुहोस् र मिलाउनुहोस्
तपाईंले एउटा मूल-विषय छान्नुपर्छ। मूल-विषय केवल विस्तृत कुरा ढाक्ने एउटै शब्दमा व्याख्या गर्न सकिने विषय होइन। यो तपाईंले भन्न खोजेको मूल-सन्देश हो। तपाईंले श्रोताको ध्यान खिच्न चाहेको बुँदालाई मूल-विषयले प्रस्ट पार्छ। मूल-विषय पहिल्यै दिइएको छ भने त्यसको हरेक मुख्य शब्द राम्ररी केलाउनुहोस्। दिइएको मूल-विषयलाई कुनै लेखको आधारमा व्याख्या गर्नुपर्ने हो भने मूल-विषयलाई मनमा राखेर उक्त लेख पढ्नुहोस्। तपाईंलाई विषय मात्र दिइएको छ भने उक्त विषयको कुन पक्षलाई मूल-विषयको रूपमा छान्ने, त्यो तपाईंकै निर्णय हो। तर त्यसरी मूल-विषय छान्नुअघि केही अनुसन्धान गर्नुभयो भने मदत पाउन सक्नुहुन्छ। खुला विचारले सोच्नुभयो भने नयाँ-नयाँ जुक्ति मनमा आउन सक्छन्।
यी कदम चाल्दा आफैलाई सोध्नुहोस्: ‘यो सामग्री श्रोताको लागि किन महत्त्वपूर्ण छ? मेरो भाषणको उद्देश्य के हो?’ तपाईंको उद्देश्य जानकारी दिनु वा विभिन्न रमाइला विषय बताउनु मात्रै होइन तर श्रोतालाई उपयोगी हुने कुरा बताउनु हो। उद्देश्य के हो भनेर थाह पाएपछि त्यो लेख्नुहोस्। तयारी गर्दा त्यो उद्देश्यबारे आफैलाई सम्झाइरहनुहोस्।
आफ्नो भाषणको उद्देश्य पक्का गरिसकेपछि र त्यससित मिल्ने मूल-विषय छानिसकेपछि (वा दिइएको मूल-विषय उद्देश्यसित कतिको मेल खान्छ भनेर केलाइसकेपछि) आवश्यक कुरा मात्रै अनुसन्धान गर्नुहोस्। श्रोतालाई उपयोगी हुने जानकारी खोज्नुहोस्। ठूलठूला कुरा खोज्नुको सट्टा जानकारीमूलक र साँच्चै मदतकारी कुराहरू खोज्नुहोस्। जति जानकारी चाहिन्छ त्यति मात्रै अनुसन्धान गर्नुहोस्। अनुसन्धान गर्दा भाषणमा प्रस्तुत गर्न सक्नेभन्दा धेरै कुरा तपाईंले पाउनुहुनेछ। त्यसैकारण चाहिने जानकारी मात्रै समावेश गर्नुहोस्।
भाषणको मूल-विषयलाई अघि बढाउन र उद्देश्य पूरा गर्न छलफल गर्नुपर्ने मुख्य बुँदा पत्ता लगाउनुहोस्। यी तपाईंको भाषणको आधार हुनेछन्। तपाईंको भाषणमा कतिवटा मुख्य बुँदा हुनुपर्छ? एक घण्टा लामो भाषणको लागि पाँचवटा बुँदा भए पुग्छ भने छोटोमा दुइटै पर्याप्त हुन्छ। मुख्य बुँदा जति थोरै हुन्छन्, श्रोताले सम्झन सक्ने सम्भावना उति नै धेरै हुन्छ।
भाषणको मूल-विषय र मुख्य बुँदा ठम्याइसकेपछि अनुसन्धान गरेको सामग्रीलाई मिलाउनुहोस्। मुख्य बुँदासित सोझै के-के सम्बन्धित छन्, पक्का गर्नुहोस्। प्रस्तुतिमा नयाँपन ल्याउने जानकारी समावेश गर्नुहोस्। मुख्य बुँदालाई समर्थन गर्ने पद छान्दा ती पदबाट अर्थपूर्ण तरिकामा तर्क गर्न मदत गर्ने बुँदाहरू विचार गर्नुहोस्। ती बुँदालाई सम्बन्धित मुख्य बुँदाअन्तर्गत राख्नुहोस्। मुख्य बुँदासित नमिल्ने जानकारी जतिसुकै रोचक भए पनि भाषणमा राख्दै नराख्नुहोस्। बरु अर्को पटकको लागि फाइलमा राख्नुहोस्। सबैभन्दा राम्रो बुँदा मात्र प्रयोग गर्नुहोस्। धेरै बुँदा ढाक्ने कोसिस गर्नुभयो भने तपाईंले छिटोछिटो बोल्नुपर्ने हुन्छ र भाषण गहकिलो हुँदैन। श्रोतालाई उपयोगी हुने बुँदा थोरै मात्रै भए पनि राम्ररी प्रयोग गर्नु महत्त्वपूर्ण छ। दिइएको समयभित्रै भाषण सिध्याउनुहोस्।
आफ्नो विषयवस्तुलाई तार्किक ढङ्गमा क्रमअनुसार मिलाइसक्नुभएको छैन भने अब मिलाउनुहोस्। सुसमाचारका लेखक लूकाले यस्तै गरे। विषयसित सम्बन्धित प्रशस्त जानकारी सङ्कलन गरिसकेपछि तिनले ती “क्रमैअनुसार” मिलाएर लेखे। (लूका १:३) भाषण दिनुको उद्देश्य प्राप्त गर्न सबैभन्दा प्रभावकारी तरिका कुन हुन्छ, त्यसैअनुसार विषयवस्तु मिलाउनुहोस्। जस्तै:- ऐतिहासिक क्रमअनुसार र विषयअनुसार अथवा कारण र परिणाम, समस्या र समाधान प्रस्तुत गर्ने तरिकामा मिलाउन सक्नुहुन्छ। एउटा बुँदाबारे कुरा गर्दा गर्दै अचानक अर्को बुँदामा फड्को नमार्नुहोस्। श्रोताले दुई बुँदाबीचको सम्बन्ध सजिलै बुझ्न सक्ने हुनुपर्छ। प्रस्तुत प्रमाणले श्रोतालाई सही निष्कर्षमा पुग्न मदत गर्नुपर्छ। बुँदाहरू जुन क्रममा मिलाउनुहुन्छ, त्यसलाई श्रोताले बुझ्न सक्छन् कि सक्दैनन्, त्यो विचार गर्नुहोस्। तपाईंले जसरी भाषण अगाडि बढाइरहनुभएको छ श्रोताले पनि त्यसरी नै बुझिरहेका छन् कि छैनन्? जुन उद्देश्य राखेर भाषण तयार गर्नुभएको थियो, भाषण सुनिसकेपछि श्रोता त्यसैअनुसार गर्न उत्प्रेरित हुनेछन्?
त्यसपछि विषयप्रति कौतूहलता जगाउने किसिमको परिचय तयार पार्नुहोस्। परिचय सुनेर नै श्रोताले तपाईंको भाषणबाट सिक्न सक्ने पाठबारे अनुमान लगाउन सक्छन्। परिचयको लागि केही वाक्य लेख्नु सजिलो हुन सक्छ। अन्तमा उत्प्रेरणा दिने र भाषणको उद्देश्यसित मिल्ने खालको समापन तयार पार्नुहोस्।
निकै अघिदेखि नै भाषणको तयारी गर्नुभयो भने भाषणमा आवश्यक सुधार गर्न प्रशस्त समय पाउन सक्नुहुन्छ। तथ्याङ्क, उदाहरण वा अनुभव राखेर कुनै-कुनै बुँदालाई अझै प्रस्ट्याउन सकिने ठाउँ पनि देख्न सक्नुहुन्छ। ताजा घटना वा स्थानीय इलाकाका मानिसलाई चासो लाग्ने कुनै जानकारी दिंदा पनि भाषणबाट सिक्न सकिने व्यावहारिक पक्ष श्रोताले सजिलै बुझ्न सक्छन्। भाषणलाई दोहोऱ्याइ-तेहऱ्याइ हेर्दा श्रोताअनुसार भाषणलाई छाँटकाँट गर्न सक्नुहुन्छ। विषयवस्तुलाई चट्ट मिलाएर प्रभावकारी भाषण प्रस्तुत गर्न भाषणलाई केलाइरहनुपर्छ, छाँटकाँट गरिरहनुपर्छ।
कुनै-कुनै वक्तालाई भने अलि लामो टिपोट चाहिन्छ। तर भाषणमा केही मुख्य बुँदा मात्र राखेर विषयवस्तु मिलाउनुभयो, सन्दर्भसित नमिल्ने बुँदालाई हटाउनुभयो र प्रस्तुत गर्न लागेको बुँदालाई तार्किक क्रमअनुसार राख्नुभयो भने केही समयभित्रै तपाईंले भाषणको एक-एक शब्द लेख्नु नपर्ने रहेछ भनेर थाह पाउनुहुनेछ। यसो गर्नुभयो भने तपाईंको धेरै समय जोगिनेछ। त्यतिमात्र होइन तपाईंको भाषणको गुणस्तर पनि बढ्नेछ। तपाईंले ईश्वरतान्त्रिक सेवा स्कूलबाट साँच्चै फाइदा उठाइरहनुभएको छ भनेर प्रस्टै देखिन्छ।
-
-
विद्यार्थीले प्रस्तुत गर्ने भागको तयारी गर्ने तरिकाईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्
-
-
विद्यार्थीले प्रस्तुत गर्ने भागको तयारी गर्ने तरिका
स्कूलमा प्रस्तुत गर्न पाएको हरेक भागले गर्दा तपाईंले प्रगति गर्ने मौका पाउनुहुन्छ। लगनशील भइरहनुहोस्। समय बित्दै जाँदा तपाईं आफ्नो प्रगति आफै देख्न सक्नुहुन्छ र अरूले पनि देख्न सक्छन्। (१ तिमो. ४:१५) स्कूलले तपाईंको क्षमतालाई अझै तिखार्न मदत गर्छ।
मण्डलीमा सबैसामु बोल्नुपर्दा के तपाईंलाई अत्यास लाग्छ? स्कूलमा भाग लिन थालेको केही समय बितिसकेको भए तापनि त्यस्तो महसुस हुनु स्वाभाविकै हो। तर तपाईंको डर कम गर्न मदत गर्ने केही तरिका छन्। घरमा ठूलो स्वर निकालेर पढ्ने बानी बसाल्नुहोस्। सभामा टिप्पणी दिइरहनुहोस्। तपाईं प्रकाशक हुनुहुन्छ भने प्रचारमा नियमित जानुहोस्। यसो गर्दा अरूसामु बोल्ने आँट आउँछ। यसबाहेक स्कूलमा प्रस्तुत गर्ने भाग पाउँदा निकै अघिदेखि नै तयारी गर्नुहोस् र आफूले प्रस्तुत गर्ने भाग ठूलो स्वर निकालेर अभ्यास गर्नुहोस्। सभामा चिनेकै श्रोतासामु आफ्नो भाग प्रस्तुत गर्ने हो भनेर नबिर्सनुहोस्। आफ्नो भाग प्रस्तुत गर्नुअघि यहोवालाई प्रार्थना गर्नुहोस्। पवित्र शक्ति माग्ने सेवकलाई उहाँ खुसीसाथ पवित्र शक्ति दिनुहुन्छ।—लूका ११:१३; फिलि. ४:६, ७.
ठूलठूला कुराको आशा नगर्नुहोस्। कुशल वक्ता हुन र प्रभावकारी शिक्षक हुन समय लाग्छ। (मीका ६:८) भर्खरै स्कूलमा भाग लिन थाल्नुभएको हो भने तपाईंको प्रस्तुतिमा खोट लगाउने ठाउँ नै हुनेछैन भन्ने आशा नगर्नुहोस्। वक्तृत्व सल्लाहमा दिइएका बुँदामध्ये एक पटकमा एउटामा काम गर्नुहोस्। यस पुस्तकमा ती बुँदाबारे छलफल गरिएको पाठ पढ्नुहोस्। सक्नुहुन्छ भने दिइएको अभ्यास पनि गर्नुहोस्। यसो गर्नुभयो भने मण्डलीमा भाग प्रस्तुत गर्ने मौका पाउनुअघि नै काम गर्नुपर्ने बुँदामा के-कस्ता कुरा समावेश छन् भनेर थाह पाउन सक्नुहुन्छ। त्यसपछि प्रगति नहुने त कुरै छैन।
पढ्ने भागको तयारी गर्ने तरिका
तयारी गर्दा मानिसहरूसामु पढ्न दिइएको विषयवस्तुको शब्द उच्चारण गर्न जानेर मात्र पुग्दैन। दिइएको विषयवस्तुको अर्थ स्पष्टसित बुझ्ने प्रयास गर्नुपर्छ। प्रस्तुत गर्ने भाग पाउनेबित्तिकै यही कुरा मनमा राखेर पढ्नुहोस्। विषयवस्तुलाई सही तरिकामा अनि भावसहित पढ्न प्रत्येक वाक्यको अर्थ र हरेक अनुच्छेदको सार बुझ्ने प्रयास गर्नुहोस्। नौलो शब्द भेट्टाउनुभयो भने त्यसको अर्थ बुझ्न शब्दकोश हेर्नुहोस् वा भाषामा पोख्त कसैलाई उक्त शब्दको सही उच्चारण गर्न लगाउनुहोस्। विषयवस्तु राम्ररी थाह पाउनुहोस्। यस सन्दर्भमा आमाबाबुले छोराछोरीलाई मदत गर्नुपर्छ।
के तपाईंले बाइबलबाट वा प्रहरीधरहरा-बाट पढ्ने भाग पाउनुभएको छ? यस्ता विषयमा तपाईंको भाषामा श्रव्य-सामग्री उपलब्ध छन् भने शब्दहरू कसरी उच्चारण गरिन्छ, शब्दहरू मिलाएर कसरी पढिन्छ, कुन-कुन ठाउँमा जोड दिएर पढिन्छ र आवाजमा उतार-चढाव कहिले गरिन्छ ध्यान दिएर सुन्नुहोस्। सुनेको जस्तै गरी पढ्ने कोसिस गर्नुहोस्।
आफ्नो भागको तयारी गर्नुअघि काम गर्नुपर्ने बुँदाबारे छलफल गरिएको पाठ राम्ररी पढ्नुहोस्। आफ्नो भाग धेरै चोटि ठूलो स्वरमा पढेर अभ्यास गरिसकेपछि सम्भव भए त्यो पाठ फेरि हेर्नुहोस्। पाठमा दिइएको सल्लाह सकभर लागू गर्ने प्रयास गर्नुहोस्।
यस्तो प्रशिक्षणले गर्दा प्रचारमा निकै सघाउ पुग्छ। प्रचारमा भाग लिंदा अरूलाई पढेर सुनाउने प्रशस्त मौका पाइन्छ। परमेश्वरको वचनमा मानिसहरूको जीवन परिवर्तन गर्ने शक्ति भएकोले त्यसलाई राम्ररी पढ्नुपर्छ। (हिब्रू ४:१२) एक/दुई चोटि आफ्नो भाग प्रस्तुत गर्दैमा तपाईं प्रभावकारी पढाइको हर पक्षमा पोख्त हुनुहुनेछ भन्ने नठान्नुहोस्। वर्षौंको अनुभव बटुलेका एक जना ख्रीष्टियन एल्डरलाई प्रेषित पावलले यस्तो सल्लाह दिए: “मानिसहरूसामु पवित्र लेखोटहरू पढ्ने . . . काममा लागिरह।”—१ तिमो. ४:१३.
विषय र भूमिकाअनुसार काम गर्नुहोस्
भूमिका राख्नुपर्ने कुनै भागको लागि तपाईं कसरी तयारी गर्नुहुन्छ?
तीनवटा कुरा विचार गर्नुहोस्: (१) तपाईंलाई दिइएको विषय, (२) भूमिका र श्रोता, (३) काम गर्नुपर्ने बुँदा।
दिइएको विषयबारे जानकारी बटुल्नुहोस्। तर सबैभन्दा पहिले तपाईंको भूमिका र साथीलाई ध्यान दिनुहोस्। किनभने यिनै कुराले कस्तो जानकारी छलफल गर्ने हो र कसरी प्रस्तुत गर्ने हो, त्यसमा असर पार्छ। तपाईं कुन भूमिका चलाउँदै हुनुहुन्छ? चिनेजानेको मानिसलाई कसरी प्रचार गर्ने भनेर देखाउँदै हुनुहुन्छ? अथवा प्रचारमा पहिलो चोटि कसैलाई भेट्दा के-के हुन सक्छ, त्यो पो देखाउँदै हुनुहुन्छ कि? पाको मान्छेसित कुरा गर्दै हुनुहुन्छ कि कम उमेरको मान्छेसित? तपाईंले छलफल गर्ने विचार गरेको विषयबारे तिनको धारणा कस्तो छ? त्यसबारे तिनलाई कतिजति थाह छ होला? छलफलको नतिजा कस्तो होला भनेर आशा गर्नुभएको छ? यस्ता प्रश्नको जवाफले तपाईंलाई आफ्नो भाग तयार पार्न महत्त्वपूर्ण जानकारी बटुल्न मदत गर्नेछ।
तपाईंलाई दिइएको विषयबारे कसरी जानकारी थाह पाउन सक्नुहुन्छ? यस पुस्तकको पृष्ठ ३३ देखि ३८ सम्ममा “अनुसन्धान गर्ने तरिका” दिइएको छ। उक्त अध्याय पढ्नुहोस् र त्यसपछि तपाईंसित भएका अनुसन्धान गर्ने अन्य सामग्री हेर्नुहोस्। अक्सर चाहिनेभन्दा धेरै जानकारी तुरुन्तै पाइहाल्नुहुन्छ। कुन-कुन तरिकाले प्रस्तुति बनाउन सकिन्छ भनेर पत्ता लगाउन राम्ररी पढ्नुहोस्। त्यतिखेर आफ्नो भूमिका र तपाईं कोसित कुरा गर्दै हुनुहुन्छ भनेर पनि नबिर्सनुहोस्। प्रस्तुतिमा राख्न सुहाउने बुँदामा चिनो लगाउनुहोस्।
आफ्नो प्रस्तुति तयार गर्नुअघि र प्रस्तुतिमा प्रयोग गर्ने सामग्रीबारे अन्तिम निर्णय गर्नुअघि नै काम गर्नुपर्ने बुँदाबारे छलफल गरिएको अध्याय पढ्नुहोस्। त्यहाँ दिइएको सुझावअनुसार गर्नु नै तपाईंको प्रस्तुतिको मुख्य लक्ष्य हो।
प्रचार गर्दा यति समयमा नै आफ्नो प्रस्तुति सिध्याउनुपर्छ भनेर त तोकिएको हुँदैन। तर स्कूलमा भने समय सिद्धिएको जनाउ दिइने हुँदा तोकिएको समयभित्रै विषयवस्तु प्रस्तुत गर्न सक्नुभयो भने समापन पनि बताउन सकेकोमा तपाईं फुरुङ्ङ पर्नुहुन्छ। त्यसैले तयारी गर्दा आफूले पाएको समयलाई पनि याद गर्नुहोस्। तर प्रभावकारी ढङ्गमा सिकाउने तरिकामा विशेष ध्यान दिनुहोस्।
भूमिका छान्दा याद गर्नुपर्ने कुरा: पृष्ठ ८२ मा दिइएका सुझाव केलाउनुहोस्। प्रचारमा लागू गर्न सकिने र विषयवस्तु प्रस्तुत गर्दा वास्तविक घटनाजस्तै सुनिने भूमिका छान्नुहोस्। स्कूलमा भाग लिएको केही समय भइसकेको छ भने यसलाई प्रचारमा काम लाग्ने थप सीप सिक्ने र अझ प्रगति गर्ने मौकाको रूपमा लिनुहोस्।
ईश्वरतान्त्रिक सेवा स्कूल निरीक्षकले नै भूमिका छानिदिएका छन् भने त्यो चुनौती स्वीकार्नुहोस्। धेरैजसो भूमिका प्रचारसित सम्बन्धित छन्। भूमिकामा उल्लेख गरिएको परिस्थितिअनुसार कहिल्यै प्रचार गर्नुभएको छैन भने त्यस्तो परिस्थितिमा प्रचार गरेका प्रकाशकसित कुरा गरेर भूमिकाअनुसार भाग प्रस्तुत गर्न उपाय निकाल्नुहोस्। सम्भव छ भने स्कूलमा आफ्नो भाग प्रस्तुत गर्नुअघि प्रचारमा त्यस्तै भूमिकामा आफ्नो विषय प्रस्तुत गरेर हेर्नुहोस्। यसो गर्दा स्कूलको उद्देश्यअनुसारै तपाईंले तालिम पाइरहेको हुनेछ।
भाषणको रूपमा प्रस्तुत गर्दा के गर्न सकिन्छ?
तपाईं पुरुष हुनुहुन्छ भने तपाईंलाई स्कूलमा छोटो भाषण दिन लगाइन्छ। अरू विद्यार्थीले आफ्नो भाग तयार गर्दा विचार पुऱ्याउने बुँदाहरूलाई तपाईंले पनि भाषणको तयारी गर्दा ध्यान दिनुपर्छ। तर तपाईंको भाषण र अन्य विद्यार्थीले प्रस्तुत गर्ने भागबीचको मुख्य भिन्नता भन्नु नै श्रोता र प्रस्तुत गर्ने तरिका हो।
सबै श्रोताले लाभ उठाउन सक्नेगरि तपाईंले आफ्नो विषयवस्तु तयार गर्नु अक्सर बेस हो। प्रायजसो श्रोतालाई बाइबलका आधारभूत सत्य थाह हुन्छ। तपाईंले भाषण दिने विषयबारे पनि तिनीहरूलाई राम्ररी थाह होला। तर तिनीहरूलाई त्यसबारे कति थाह छ, विचार गर्नुहोस्। तिनीहरूलाई कुनै न कुनै तरिकाले फाइदा पुग्नेगरि भाषण दिने कोसिस गर्नुहोस्। त्यसैले आफैलाई सोध्नुहोस्: ‘यहोवा परमेश्वरप्रतिको मेरो र श्रोताको कदर बढाउन म मेरो विषय कसरी प्रयोग गर्न सक्छु? विषयवस्तुमा भएको कुन कुराले परमेश्वरको इच्छा बुझ्न मदत गर्छ? शारीरिक कुइच्छाले प्रभुत्व जमाएको संसारमा सही निर्णय गर्न यो विषयवस्तुले हामीलाई कसरी मदत गर्न सक्छ?’ (एफि. २:३) यी प्रश्नको चित्तबुझ्दो जवाफको लागि अनुसन्धान गर्नुपर्ने हुन्छ। बाइबल प्रयोग गर्दा त्यसबाट पदहरू पढ्ने मात्र नगर्नुहोस्। तपाईंले पढ्ने पदबाटै तर्क गर्नुहोस् र यी पदको आधारमा कसरी निष्कर्षमा पुग्न सकिन्छ, देखाउनुहोस्। (प्रेषि. १७:२, ३) धेरै बुँदा ढाक्ने कोसिस नगर्नुहोस्। श्रोताले झट्टै सम्झन सक्नेगरि आफ्नो विषयवस्तु प्रस्तुत गर्नुहोस्।
तयारी गर्दा भाषण दिने तरिकामा पनि ध्यान दिनुपर्छ। यसलाई हल्कासित नलिनुहोस्। आवाज निकालेर नै भाषणको अभ्यास गर्नुहोस्। स्कूलमा तपाईंले काम गर्नुपर्ने विभिन्न बुँदाबारे दिइएका सल्लाह पढ्ने र लागू गर्ने कोसिस गर्दा तपाईंको अझै प्रगति हुनेछ। तपाईं नयाँ होस् वा अनुभवी, तयारी राम्रोसित गर्नुहोस्। यसो गर्नुभयो भने विश्वस्त भएर अनि विषयवस्तुसित सुहाउँदो भाव व्यक्त गर्दै कुरा गर्न सक्नुहुन्छ। यहोवाले तपाईंलाई बोल्ने क्षमता वरदानस्वरूप दिनुभएको छ। यही क्षमता अनुरूप स्कूलमा दिइएको प्रत्येक जिम्मेवारी पूरा गर्दा यहोवाको प्रशंसा गर्ने उद्देश्यलाई नबिर्सनुहोस्।—भज. १५०:६.
-
-
मण्डलीको लागि भाषणको तयारी गर्ने तरिकाईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्
-
-
मण्डलीको लागि भाषणको तयारी गर्ने तरिका
ईश्वरतान्त्रिक सेवा स्कूलका कार्यक्रम सम्पूर्ण मण्डलीले लाभ उठाउन सक्नेगरि तयार पारिएका छन्। मण्डलीका अरू सभामा, सम्मेलन र अधिवेशनमा पनि महत्त्वपूर्ण जानकारी प्रस्तुत गरिन्छ। यी कार्यक्रममध्ये कुनै एउटामा तपाईंले भाषण दिने मौका पाउनुभयो भने यसलाई हल्कासित नलिनुहोस्, यो गहन जिम्मेवारी हो। प्रेषित पावलले ख्रीष्टियन निरीक्षक तिमोथीलाई आफ्नो शिक्षाको विषयमा सधैं होसियार रहन आग्रह गरे। (१ तिमो. ४:१६) ख्रीष्टियन सभा र सम्मेलनमा परमेश्वरसित अझै घनिष्ठ सम्बन्ध गाँस्नेबारे निर्देशन पाइने भएकोले यस्ता जमघटमा उपस्थित हुन भाइबहिनीले आफ्नो अमूल्य समय छुट्ट्याएका हुन्छन्। कसै-कसैले यस्ता सभामा उपस्थित हुन निकै प्रयास गरेका हुन्छन्। यस्ता जमघटमा निर्देशन दिने जिम्मेवारी पाउनु साँच्चै एउटा ठूलो सुअवसर हो! त्यसो भए तपाईं यो जिम्मेवारी कसरी राम्ररी पूरा गर्न सक्नुहुन्छ?
बाइबल पढाइका विशेषताहरू
स्कूलको यो भाग त्यस हप्ताका लागि तोकिएको बाइबल पढाइमा आधारित हुन्छ। त्यसबाट आज हामीले सिक्न सक्ने कुरामा जोड दिनुपर्छ। नहेम्याह ८:८ मा बताइएअनुसार पुजारी एज्रा र लेवीहरूले परमेश्वरको वचन सबैसामु पढे, त्यसको व्याख्या गरे, “अर्थ बुझाइदिए” अनि त्यसबाट शिक्षा दिए। बाइबलका विशेषताहरू प्रस्तुत गर्दा तपाईंले पनि त्यसै गर्ने मौका पाउनुहुन्छ।
तपाईंले यो भागको तयारी कसरी गर्नुपर्छ? तपाईंले प्रस्तुत गर्नुपर्ने बाइबल विशेषताका अध्यायहरू सकेसम्म हप्तादिनअघि वा अझै अघिदेखि नै पढ्नुहोस्। आफ्नो मण्डली र त्यसका आवश्यकताबारे विचार गर्नुहोस्। त्यसबारे प्रार्थना गर्नुहोस्। ती आवश्यकतासित मिल्ने कुनै सल्लाह, उदाहरण वा सिद्धान्त परमेश्वरको वचनको यस अंशमा पाइन्छ कि?
अनुसन्धान गर्नु जरुरी छ। सीडी रोममा उपलब्ध यहोवाका साक्षीहरूको पुस्तकालय, यहोवाका साक्षीहरूको प्रकाशन सूची वा हरेक वर्षको अन्तमा आउने प्रहरीधरहरा-को विषयसूची तपाईंले बुझ्ने भाषामा उपलब्ध छ? छ भने त्यसबाट अनुसन्धान गर्नुहोस्। जोड दिन चाहेका पदबारे प्रकाशनहरूमा अनुसन्धान गर्दा तपाईं यी कुरा भेट्टाउन सक्नुहुन्छ:- त्यस विषयमा थप जानकारी दिने विषयवस्तु अनि भविष्यवाणीहरू कसरी पूरा भए भन्ने व्याख्या; केही खास पदले यहोवाबारे प्रकट गरेको कुरा अथवा बाइबल सिद्धान्तको छलफल आदि। थुप्रै बुँदा ढाक्ने कोसिस नगर्नुहोस्। बरु केही खास पदमा मात्र ध्यान केन्द्रित गर्नुहोस्। थोरै पद रोजेर त्यसैलाई राम्ररी व्याख्या गर्नु बेस हो।
साप्ताहिक बाइबल पढाइबाट श्रोताले कस्तो लाभ उठाए भनेर टिप्पणी दिन लगाउनु पनि तपाईंको यो भागमा पर्छ। व्यक्तिगत अध्ययनमा र पारिवारिक अध्ययनमा, प्रचारमा वा जीवनका अन्य पक्षमा लाभ पुऱ्याउने कस्ता कुरा तिनीहरूले सिके? यहोवाले मानिसहरूसित व्यवहार गर्दा देखाएका कस्ता गुण तिनीहरूले याद गरे? श्रोताले आफ्नो विश्वास बलियो बनाउने र यहोवाप्रतिको आफ्नो कृतज्ञता बढाउने कस्ता कुराहरू सिके? जटिल बुँदा र स-साना कुरा पनि व्याख्या गरेर समय खेर नफाल्नुहोस्। रोजेका बुँदाको व्यावहारिक महत्त्व र अर्थमा जोड दिनुहोस्।
हाम्रा प्रकाशनहरूमा आधारित भाषण
यी भाषण प्रहरीधरहरा वा ब्यूँझनुहोस्! वा कुनै किताबमा आधारित हुन्छन्। धेरैजसो अवस्थामा तोकिएको समयभित्र भ्याउन नसकिने धेरै जानकारी हुन्छ। त्यस्तो भाषण कसरी प्रस्तुत गर्नुपर्छ? विषयवस्तु ढाकेर मात्रै पुग्दैन, शिक्षकको रूपमा सिकाउनुपर्छ। निरीक्षकसित “सिकाउने योग्यता हुनुपर्छ।”—१ तिमो. ३:२.
तयारी थाल्दा दिइएको विषयवस्तु पढ्नुहोस्। बाइबल खोलेर पदहरू हेर्नुहोस्। मनन गर्नुहोस्। भाषण दिइने दिनभन्दा धेरैअघि नै तयारी गर्ने प्रयास गर्नुहोस्। भाषण आधारित भएको विषयवस्तु अगाडि नै पढ्न भाइहरूलाई प्रोत्साहन दिइएको छ भन्ने कुरा नबिर्सनुहोस्। तपाईंको दायित्व विषयवस्तुलाई दोहोऱ्याउने वा त्यसको सार मात्र बताउने होइन बरु विषयवस्तु कसरी लागू गर्न सकिन्छ, त्यो बताउने हो। मण्डलीलाई साँच्चै फाइदा हुने उपयुक्त बुँदा छानेर भाषण दिनुहोस्।
प्रत्येक बालकको आफ्नै व्यक्तित्व भएझैं प्रत्येक मण्डलीको पनि आफ्नै विशेषता हुन्छ। प्रभावकारी ढङ्गमा सिकाउने आमा वा बुबाले छोराछोरीलाई नैतिक सिद्धान्त मात्र सिकाउँदैनन्, तर्क पनि गर्छन्। साथै बालकको व्यक्तित्व र उसले भोगिरहेको समस्यालाई मनमा राख्दै कुरा गर्छन्। त्यसैगरि शिक्षकले मण्डलीको आवश्यकता बुझ्ने प्रयास गर्छन् र त्यसैअनुसार सिकाउँछन्। श्रोतामध्ये कसैलाई लाजमा पार्ने उदाहरण समझदार शिक्षकले प्रयोग गर्दैनन्। बरु तिनी यहोवाको मार्गमा हिंड्दा पाएका आशिष्हरूबारे बताउँछन् र मण्डलीका भाइबहिनीले भोगिरहेको समस्या सफलतासाथ समाधान गर्न मदत दिने बाइबलको सल्लाहतिर ध्यान खिच्छन्।
राम्ररी सिकाउँदा श्रोताको मन छुन्छ। यसो गर्न तथ्य प्रस्तुत गरेर मात्र पुग्दैन बरु प्रस्तुत तथ्यले श्रोतालाई कसरी फाइदा पुऱ्याउँछ, त्यसप्रति कृतज्ञ हुन मदत गर्नु पनि आवश्यक छ। यसो गर्न जसलाई सिकाउँदै हुनुहुन्छ तिनीहरूप्रति साँचो चासो देखाउनुपर्छ। मण्डलीका गोठालोहरूले आफ्नो बगाललाई चिन्नुपर्छ। यदि गोठालाहरूले भाइबहिनीलाई माया गरेका छन् र तिनीहरूले भोगिरहेका समस्या याद गरेका छन् भने तिनीहरूलाई प्रोत्साहन दिन सक्नेगरि बोल्न सक्छन्, तिनीहरूको परिस्थिति बुझ्न सक्छन् र तिनीहरूलाई दयालु व्यवहार गर्न सक्छन्।
भाषणको कुनै खास उद्देश्य हुन्छ भनेर प्रभावकारी शिक्षकले बुझेका हुन्छन्। त्यसैकारण मुख्य बुँदा प्रस्टै छुट्टिनेगरि र पछिसम्म सम्झन सक्नेगरि विषयवस्तु प्रस्तुत गर्नुपर्छ। श्रोताले आफ्नो जीवनमा लागू गर्नुपर्ने बुँदाहरू सम्झन सक्ने हुनुपर्छ।
सेवा सभा
हाम्रो राज्य सेवा-को लेखमा आधारित भाषण दिंदा भने बेग्लै चुनौतीको सामना गर्नुपर्ने हुन्छ। आफूलाई सबैभन्दा उपयुक्त लागेको बुँदा मात्रै छानेर बताउने गर्नुहुँदैन। लेखमा दिइएको सम्पूर्ण जानकारी श्रोतालाई बताउनुपर्छ। कुनै पनि पदमा आधारित सल्लाह किन दिइँदैछ, त्यो बुझ्न श्रोतालाई मदत गर्नुहोस्। (ती. १:९) समय सीमित हुने भएकोले प्रायजसो अवस्थामा थप बुँदा समावेश गर्न भ्याइँदैन।
अर्कोतर्फ तपाईंलाई हाम्रो राज्य सेवा-बाहेक अन्य विषयवस्तुबाट कुनै भाग प्रस्तुत गर्न लगाइन सक्छ। स्रोतको रूपमा प्रहरीधरहरा-को कुनै लेख दिइएको होला अथवा थोरै जानकारी मात्र दिइएको हुन सक्छ। दिइएको भागलाई मण्डलीको आवश्यकताअनुसार कसरी प्रस्तुत गर्ने भनेर शिक्षकको हैसियतमा तपाईंले विचार गर्नुपर्छ। तपाईंले सायद छोटो अनि स्पष्ट उदाहरण वा सुहाउँदो अनुभव बताउनुपर्ने हुन सक्छ। नबिर्सनुहोस्, तपाईंको जिम्मेवारी विषयसित सम्बन्धित कुरा बताउनु मात्र होइन। परमेश्वरको वचनमा तोकिएको काम पूरा गर्न मदत गर्ने र त्यो काम पूरा गरेर आनन्दित हुन मण्डलीलाई मदत पुग्ने तरिकामा विषयवस्तु प्रस्तुत गर्नु पनि हो।—प्रेषि. २०:२०, २१.
आफ्नो भागको तयारी गर्दा मण्डलीका भाइबहिनीको परिस्थिति कस्तो छ, विचार गर्नुहोस्। तिनीहरूले गरिरहेका कामको प्रशंसा गर्नुहोस्। दिइएका सुझावहरू लागू गर्दा प्रचारमा अझ प्रभावकारी र आनन्दित हुन तिनीहरूले कसरी मदत पाउँछन्?
तपाईंको भागमा प्रस्तुति देखाउनुपर्ने वा अन्तरवार्ता लिनुपर्ने छ कि? छ भने त्यसको लागि पहिल्यै राम्ररी तयारी गर्नुपर्छ। कसैलाई तयारी गर्नुहोस् भन्नु सजिलो त होला तर त्यसो गर्दा नतिजा सधैं राम्रो हुन्छ भन्ने छैन। सकेसम्म सभा हुने दिनभन्दा अघि नै प्रदर्शन वा अन्तरवार्ताको अभ्यास गर्नुहोस्। दिइएका निर्देशनहरू प्रभावकारी छन् भनेर प्रस्ट हुने किसिमले प्रदर्शन वा अन्तरवार्ता प्रस्तुत गर्नुहोस्।
सम्मेलन र अधिवेशन
आध्यात्मिक गुणहरू विकास गरेका र प्रभावकारी जनवक्ता र शिक्षकको रूपमा चिनिएका भाइलाई समयमा सम्मेलन वा अधिवेशनको कुनै भाग प्रस्तुत गर्न लगाइन सक्छ। परमेश्वरबाट शिक्षा पाउन यी कार्यक्रमहरू साँच्चै विशेष अवसरहरू हुन्। तिनलाई पाण्डुलिपि (म्यानुस्क्रिप्ट अर्थात् पहिल्यै एक-एक शब्द लेखिएको), रूपरेखा, आधुनिक समयमा लागू हुने बाइबल नाटकसम्बन्धी निर्देशनहरू वा सम्मेलनसम्बन्धी अन्य छोटो निर्देशन जस्ता कुनै पनि भागबाट प्रस्तुत गर्न लगाइन सक्छ। यस्तो कार्यक्रममा भाग लिने सुअवसर पाउनुभएको छ भने तपाईंलाई दिइएको विषयवस्तुलाई राम्ररी अध्ययन गर्नुहोस्। विषयवस्तुको महत्त्व राम्ररी नबुझेसम्म पढिरहनुहोस्।
पाण्डुलिपिबाट भाषण दिने भाइहरूले पाण्डुलिपिका एक-एक शब्द पढ्नुपर्छ। तिनीहरूले विषयवस्तुलाई आफ्नै शब्दमा भन्नुहुँदैन वा दिइएका बुँदालाई तलमाथि गर्नुहुँदैन। मुख्य बुँदा के-के हुन् र ती कसरी विस्तार गरिएका छन् भनेर तिनीहरू बुझ्ने कोसिस गर्छन्। भाषणको भावलाई जोड दिएर उत्साहवर्द्धक ढङ्गमा, न्यानोपनसहित, मन छुने तरिकामा, गम्भीरता र दृढ विश्वास झल्किनेगरि अनि श्रोताको जमातलाई मिल्नेगरि ठूलो आवाजमा र जोसिलो भएर प्रस्तुत गर्न सक्ने नभएसम्म तिनीहरू स्वर निकालेर पढ्ने अभ्यास गर्छन्।
रूपरेखाबाट भाषण दिने जिम्मेवारी पाएका भाइले रूपरेखासित मेल खानेगरि भाषणको विषयवस्तुलाई विस्तार गर्नुपर्छ। भाषण दिंदा रूपरेखाबाट सरसरती पढ्नु वा भाषणका एक-एक शब्द लेखेर पाण्डुलिपिजस्तै बनाउनुको सट्टा वक्ताले टिपोट नहेरी स्वतःस्फूर्त ढङ्गमा मनदेखि नै प्रस्तुत गर्न सक्नुपर्छ। प्रत्येक मुख्य बुँदालाई स्पष्ट रूपमा प्रस्तुत गर्न रूपरेखामा तोकिएको समयअनुसार नै प्रत्येक अंश प्रस्तुत गर्नुपर्छ। वक्ताले मुख्य बुँदाअन्तर्गत दिइएका विचारलाई र शास्त्रपदलाई राम्ररी प्रयोग गर्नुपर्छ। रूपरेखामा दिइएको बुँदालाई नै हटाएर आफूलाई मन परेको कुरा थप्नुहुँदैन। जे-जति निर्देशन दिइन्छन्, ती परमेश्वरको वचनमा आधारित हुनुपर्छ। ख्रीष्टियन एल्डरहरूको जिम्मेवारी “वचन प्रचार” गर्नु हो। (२ तिमो. ४:१, २) त्यसकारण वक्ताले रूपरेखामा दिइएका शास्त्रपदमा विशेष ध्यान दिनुपर्छ अर्थात् पदमा तर्क गर्नुपर्छ अनि त्यसको उपयोगिता स्पष्ट पार्नुपर्छ।
आलेटाले नगर्नुहोस्
के तपाईं मण्डलीमा बारम्बार भाषण दिने मौका पाइरहनुहुन्छ? त्यसो हो भने प्रत्येक भाषणको तयारी गर्दा उत्तिकै ध्यान कसरी दिन सक्नुहुन्छ? उजेलीपुजेली दिन गुमाई, जुनेली रातमा बिस्कुन सुकाई भनेझैं अन्तमा आएर आफ्नो भागको तयारी गर्ने बानी नगर्नुहोस्।
मण्डलीका सबैले लाभ उठाउन सक्ने भाषण दिन पहिल्यै सोचविचार गर्नुपर्छ। त्यसैले भाषण दिने जिम्मेवारी पाउनेबित्तिकै त्यसको विषयवस्तु पढिहाल्ने बानी बसाल्नुहोस्। यसो गर्दा तपाईं अरू कामकुरामा लाग्दा पनि आफ्नो भागबारे मनन गर्न सक्नुहुन्छ। भाषण दिनुभन्दा केही दिनअघि वा केही हप्ताअघि आफ्नो भाषणमा लागू गर्न सकिने राम्रो बुँदा सुन्न सक्नुहुन्छ होला। अथवा तपाईंले भाषणमार्फत दिन लागेको जानकारी समय सुहाउँदो छ भनेर देखिने परिस्थिति आउन सक्छ। भाग पाउनेबित्तिकै पढ्न वा त्यसबारे सोच्न समय लाग्छ तर त्यो समयको बर्बादी भने होइन। पहिल्यै सोचविचार गरेकोले कत्तिको फाइदा हुने रहेछ भनेर भाषण बनाउन थाल्दा पो बल्ल बुझ्नुहुनेछ। यसरी तयारी गर्दा तनाव धेरै कम हुन्छ र मण्डलीका भाइबहिनीको मन छुनेगरि अनि व्यावहारिक ढङ्गमा भाषण दिन सक्नुहुन्छ।
यहोवाले आफ्ना जनलाई शिक्षा दिन सञ्चालन गरिरहेको कार्यक्रममा तपाईंलाई पनि जिम्मेवारी दिइएको छ। तपाईं यो जिम्मेवारीको जति धेरै कदर गर्नुहुन्छ, त्यत्ति नै यहोवाको आदर गर्न सक्नुहुन्छ र उहाँलाई प्रेम गर्नेहरूको लागि आशिष् साबित हुन सक्नुहुन्छ।—यशै. ५४:१३; रोमी १२:६-८.
-
-
जनभाषण तयारी गर्ने तरिकाईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्
-
-
जनभाषण तयारी गर्ने तरिका
यहोवाका साक्षीहरूको अधिकांश मण्डलीमा प्रत्येक हप्ता बाइबलआधारित जनभाषण दिइन्छ। तपाईं एल्डर वा सहायक सेवक हुनुहुन्छ भने के आफूलाई प्रभावकारी जनवक्ता अनि शिक्षक साबित गर्नुभएको छ? छ भने तपाईंलाई जनभाषण दिने जिम्मेवारी दिइन सक्छ। ईश्वरतान्त्रिक सेवा स्कूलले हजारौं भाइलाई सेवाको यस सुअवसरको लागि योग्य बन्न मदत गरेको छ। जनभाषण दिने जिम्मेवारी पाउँदा कसरी तयारी थाल्नुपर्छ?
रूपरेखा अध्ययन गर्नुहोस्
भाषणको रूपरेखा राम्ररी नबुझेसम्म पढिरहनुहोस् र त्यसमा मनन गरिरहनुहोस्। भाषणको शीर्षक अर्थात् मूल-विषय मनमा ठप्प बसाल्नुहोस्। तपाईंले श्रोतालाई सिकाउनुपर्ने कुरा के हो? तपाईंको भाषणको उद्देश्य के हो?
मुख्य बुँदा राम्ररी पढ्नुहोस् अनि त्यसलाई केलाउनुहोस्। प्रत्येक मुख्य बुँदा मूल-विषयसित कसरी सम्बन्धित छन्? प्रत्येक मुख्य बुँदाअन्तर्गत केही सहायक बुँदा दिइएका हुन्छन्। यी बुँदामुनि यिनलाई समर्थन गर्ने थप बुँदा राखिएका हुन्छन्। रूपरेखाको प्रत्येक भाग अघिल्लो भागसित र पछिल्लो भागसित कसरी सम्बन्धित छन् अनि भाषणको उद्देश्य प्राप्त गर्न प्रत्येक भागले कसरी मदत पुऱ्याउँछन्, विचार गर्नुहोस्। भाषणको मूल-विषय, उद्देश्य र मुख्य बुँदाले त्यो उद्देश्य प्राप्त गर्न कसरी मदत पुऱ्याउँछ भन्ने कुरा बुझिसकेपछि विषयवस्तुलाई विस्तार गर्न सक्नुहुन्छ।
सुरुमा रूपरेखामा भएका मुख्य बुँदाअनुसार भाषणलाई चार-पाँचवटा छोटो भाषणजस्तै ठान्दा तपाईंलाई तयारी गर्न सजिलो हुन्छ। त्यसपछि प्रत्येक छोटो भाषणलाई छुट्टा-छुट्टै तयारी गर्नुहोस्।
रूपरेखा भाषणको तयारी गर्नको लागि मात्र दिइएको हो। यसबाटै हेरेर भाषण दिन यो रूपरेखा उपलब्ध गराइएको होइन। तयारी गर्दा तपाईंले यसैको आधारमा छुट्टै रूपरेखा बनाउनुपर्छ र त्यही रूपरेखा प्रयोग गरेर भाषण दिनुपर्छ। तपाईंलाई दिइएको रूपरेखा बनाउँदै गरेको घरजस्तै हो। घर तयार पारेर बस्न लायकको बनाउनुअघि त्यस घरमा गारो लगाउनुपर्छ, झ्यालढोका र छाना हाल्नुपर्छ।
बाइबलको प्रयोग
येशू ख्रीष्ट र उहाँका चेलाहरूको शिक्षा धर्मशास्त्रमा आधारित हुन्थ्यो। (लूका ४:१६-२१; २४:२७; प्रेषि. १७:२, ३) त्यसैगरि तपाईंको भाषण पनि बाइबलमा आधारित हुनुपर्छ। रूपरेखामा दिइएका बुँदालाई सरसरती बताएर अनि जीवनमा लागू गर्ने तरिका भनेर मात्र पुग्दैन। ती बुँदालाई बाइबलले कसरी समर्थन गर्छ, त्यो बुझेर बाइबलबाट सिकाउनुपर्छ।
भाषणको तयारी गर्दा रूपरेखामा उल्लेख गरिएका प्रत्येक शास्त्रपद जाँच्नुहोस्। शास्त्रपद कुन सन्दर्भमा लेखिएको हो, ध्यान दिनुहोस्। कुनै शास्त्रपद त्यतिबेलाको पृष्ठभूमि बुझ्न मात्र दिइएका हुन्छन्। भाषण दिंदा उल्लिखित सबै शास्त्रपद पढ्नुपर्दैन वा त्यसबारे बयान गर्नुपर्दैन। श्रोतालाई सबैभन्दा सुहाउने शास्त्रपद छान्नुहोस्। रूपरेखामा दिइएका पदमा नै ध्यान दिनुभयो भने थप पद चलाउनु आवश्यक पर्दैन।
धेरैवटा पद प्रयोग गर्दैमा तपाईंको भाषण राम्रो भयो भन्न सकिंदैन। भाषण राम्रो हुन तपाईंको सिकाउने तरिका गुणस्तरीय हुनुपर्छ। कुनै पनि शास्त्रपद किन प्रयोग गरियो, त्यसको कारण बताउनुहोस्। पद कसरी लागू गर्न सकिन्छ, समय लगाएर बुझाउनुहोस्। पद पढिसकेपछि पनि बाइबल खुल्लै राखेर पदबारे छलफल गर्नुहोस्। त्यसो गर्नुभयो भने श्रोताले पनि बाइबल खुल्लै राख्नेछन्। श्रोताको चासो जगाउन र तिनीहरूलाई परमेश्वरको वचनबाट भरपूर लाभ उठाउन तपाईं कसरी मदत दिन सक्नुहुन्छ? (नहे. ८:८, १२) पदको व्याख्या गरेर, दृष्टान्त बताएर अनि पदको उपयोगिता बताएर।
व्याख्या। भाषणको मुख्य पद व्याख्या गर्न तयारी गर्दा आफैलाई यस्ता प्रश्न सोध्नुहोस्: ‘यस पदको अर्थ के हो? भाषणमा यो पद किन प्रयोग गर्दैछु? यस पदबारे श्रोताको मनमा कस्ता प्रश्न उठ्छन्?’ यो पद कुन सन्दर्भमा, कस्तो पृष्ठभूमिमा र कस्तो परिवेशमा लेखियो, केलाउनुपर्छ। साथै पदका शब्द कति सशक्त छन् र प्रेरित लेखकले कुन उद्देश्यले लेखेका हुन्, त्यो पनि केलाउनुपर्छ। यसको लागि अनुसन्धान गर्नुपर्छ। “विश्वासी र बुद्धिमान् दास”-ले उपलब्ध गराएका प्रकाशनहरूमा प्रशस्त मूल्यवान् जानकारी पाउन सक्नुहुन्छ। (मत्ती २४:४५-४७) पदबारे भएभरको कुरा बताउने कोसिस नगर्नुहोस्। बरु भर्खर पढिएको पद विषयसित कसरी सम्बन्धित छ, व्याख्या गर्नुहोस्।
दृष्टान्त। दृष्टान्त बताउनुको उद्देश्य छलफल गरेको विषय गहिरिएर बुझ्न वा कुनै बुँदा वा सिद्धान्त सम्झन श्रोतालाई मदत दिनु हो। तपाईंले भनेका कुरा राम्ररी बुझ्न र ती कुरालाई पहिल्यै थाह भइसकेको कुरासित तुलना गर्न दृष्टान्तले श्रोतालाई मदत गर्छ। डाँडामा दिइएको उपदेशमा येशूले त्यसै गर्नुभयो। “आकाशका चराचुरुङ्गी,” “मैदानका फूलहरू,” “साँघुरो ढोका,” ‘चट्टानमाथिको घर’ र यस्तै अन्य दृष्टान्तले उहाँको शिक्षालाई सशक्त, स्पष्ट र बिर्सनै नसकिने बनायो।—मत्ती अध्या. ५-७.
उपयोगिता। तपाईंले पद व्याख्या गर्दा र त्यो बुझाउन दृष्टान्त बताउँदा श्रोताले बुझ्न त बुझ्छन् तर त्यो ज्ञानलाई व्यवहारमा उतार्दा मात्र लाभ उठाउन सक्छन्। हुन त बाइबलको शिक्षा व्यवहारमा लागू गर्ने जिम्मेवारी श्रोताकै हो। तैपनि के गर्नुपर्छ भनेर ठम्याउन तपाईंले तिनीहरूलाई मदत दिनुपर्छ। छलफल गरिएको पद र त्यसको व्यावहारिक महत्त्व श्रोताले बुझेका छन् भन्ने कुरामा तपाईं विश्वस्त भइसकेपछि त्यसले तिनीहरूको विश्वास अनि बानी-बेहोरामा कस्तो प्रभाव पार्नुपर्छ भनेर बुझाउन पर्याप्त समय निकाल्नुहोस्। छलफल गरिएको बाइबल सत्यसित बाझिने गलत विचार र नराम्रा आनीबानी त्याग्दा के-कस्ता फाइदा हुन्छन्, त्यसमा जोड दिनुहोस्।
पदको उपयोगिताबारे बताउने विचार गर्दा श्रोताको पृष्ठभूमि फरक-फरक छ र तिनीहरूले विभिन्न परिस्थितिको सामना गरिरहेका छन् भन्ने कुरा नबिर्सनुहोस्। तपाईंका श्रोता नवजिज्ञासु, युवा, वृद्ध र विभिन्न समस्यासित सङ्घर्ष गरिरहेकाहरू हुन सक्छन्। भाषणलाई कथाजस्तो नभई व्यावहारिक शिक्षा दिने खालको बनाउनुहोस्। केही खास व्यक्तिलाई मात्र तोकेर सल्लाह दिएको जस्तोगरि भाषण नदिनुहोस्।
वक्ताको रूपमा तपाईंले गर्ने निर्णय
भाषणको रूपरेखामा तपाईंको लागि केही निर्णय पहिल्यै गरिएका हुन्छन्। जस्तै:- मुख्य-मुख्य बुँदा स्पष्ट हुनेगरि दिइएका हुन्छन् र प्रत्येक मुख्य बुँदा छलफल गर्दा कति समय लगाउनुपर्ने हो, त्यो प्रस्टै उल्लेख गरिएको हुन्छ। अरू निर्णय भने तपाईं आफैले गर्नुपर्ने हुन्छ। कुनै खास सहायक बुँदामा तपाईं धेरै समय दिने छनौट गर्न सक्नुहुन्छ भने कुनैमा थोरै। प्रत्येक बुँदामा उत्तिकै समय दिनुपर्छ भन्ने नठान्नुहोस्। किनकि सबै बुँदामा उत्तिकै समय दिंदा भाषण सिध्याउने धुनमा छिटो-छिटो बोल्नुपर्ने हुन्छ र श्रोता अलमलिन सक्छन्। त्यसो भए कुन बुँदालाई विस्तृत रूपमा बुझाउने र कुनचाहिंलाई छोटकरीमा बताउने भनी तपाईं कसरी निर्णय गर्न सक्नुहुन्छ? आफैलाई सोध्नुहोस्: ‘भाषणको मूल-विषय बुझाउन कुन बुँदा मदतकारी हुनेछ? कुनचाहिं बुँदा श्रोताको लागि सबैभन्दा लाभदायी हुन सक्छ? उल्लिखित कुनै खास पद र त्यससित सम्बन्धित बुँदा हटाउँदा प्रस्तुत गर्ने प्रमाणको क्रम नै टुट्ने हो कि?’
भाषणमा अनुमान गरेका कुरा वा व्यक्तिगत विचारधारा कुनै पनि हालतमा नघुसाउनुहोस्। परमेश्वरका छोरा येशू ख्रीष्टले समेत “आफ्नै तर्फबाट” बोल्नुभएन। (यूह. १४:१०) मानिसहरू यहोवाका साक्षीहरूको सभामा बाइबलआधारित छलफल सुन्न आउँछन् भन्ने कुरा नबिर्सनुहोस्। आफूतर्फ नभई परमेश्वरको वचनमा ध्यान खिचेकोले तपाईं राम्रो वक्ताको रूपमा चिनिनुभएको हो। नबिर्सनुहोस्, बाइबलमा आधारित भएर भाषण दिइएकोले नै तपाईंको भाषण श्रोतालाई राम्रो लागेको हो।—फिलि. १:१०, ११.
सरल रूपरेखालाई बाइबलको आधारमा विस्तृत व्याख्या गरेर भाषण तयार पारिसकेपछि तपाईंले चाल्नुपर्ने अर्को कदम हो—भाषणको अभ्यास। आवाज निकालेर अभ्यास गर्नु राम्रो हो। तपाईंले भाषणका सबै बुँदा राम्ररी सम्झनुभएको छ कि छैन, त्यो पक्का गर्नुपर्छ। तपाईं पूर्णतया विश्वस्त भएर बोल्न सक्ने हुनै पर्छ, भाषणलाई जीवन्त ढङ्गमा प्रस्तुत गर्न सक्ने हुनै पर्छ र बाइबल सत्यलाई उत्साहका साथ प्रस्तुत गर्न सक्ने हुनै पर्छ। भाषण दिनुअघि आफैलाई सोध्नुहोस्: ‘मैले भाषण दिनुको उद्देश्य के हो? मैले भन्न खोजेका मुख्य बुँदा स्पष्ट छन्? के मैले बाइबललाई आफ्नो भाषणको आधार बनाएको छु? के प्रत्येक मुख्य बुँदाले स्वतः अर्को बुँदातर्फ डोऱ्याउँछ? के मेरो भाषणले गर्दा यहोवाप्रति अनि उहाँका प्रबन्धहरूप्रति कृतज्ञ हुन श्रोतालाई मदत दिन्छ? भाषणको समापन मूल-विषयसित मिल्छ? अनि समापनले श्रोतालाई के गर्नुपर्छ भनेर देखाउनुका साथै त्यसैअनुसार कदम चाल्न उत्प्रेरित गर्छ?’ यी प्रश्नका सकारात्मक जवाफ दिन सक्नुहुन्छ भने तपाईं अरूको भलाइ हुने गरी ‘ज्ञान फैलाउन’ सक्नुहुन्छ। यस्तो ज्ञानले मण्डलीलाई फाइदा पुग्छ र यहोवाको पनि प्रशंसा गर्छ।—हितो. १५:२.
-