प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • विद्यार्थीले प्रस्तुत गर्ने भागको तयारी गर्ने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
    • विद्यार्थीले प्रस्तुत गर्ने भागको तयारी गर्ने तरिका

      स्कूलमा प्रस्तुत गर्न पाएको हरेक भागले गर्दा तपाईंले प्रगति गर्ने मौका पाउनुहुन्छ। लगनशील भइरहनुहोस्‌। समय बित्दै जाँदा तपाईं आफ्नो प्रगति आफै देख्न सक्नुहुन्छ र अरूले पनि देख्न सक्छन्‌। (१ तिमो. ४:१५) स्कूलले तपाईंको क्षमतालाई अझै तिखार्न मदत गर्छ।

      मण्डलीमा सबैसामु बोल्नुपर्दा के तपाईंलाई अत्यास लाग्छ? स्कूलमा भाग लिन थालेको केही समय बितिसकेको भए तापनि त्यस्तो महसुस हुनु स्वाभाविकै हो। तर तपाईंको डर कम गर्न मदत गर्ने केही तरिका छन्‌। घरमा ठूलो स्वर निकालेर पढ्‌ने बानी बसाल्नुहोस्‌। सभामा टिप्पणी दिइरहनुहोस्‌। तपाईं प्रकाशक हुनुहुन्छ भने प्रचारमा नियमित जानुहोस्‌। यसो गर्दा अरूसामु बोल्ने आँट आउँछ। यसबाहेक स्कूलमा प्रस्तुत गर्ने भाग पाउँदा निकै अघिदेखि नै तयारी गर्नुहोस्‌ र आफूले प्रस्तुत गर्ने भाग ठूलो स्वर निकालेर अभ्यास गर्नुहोस्‌। सभामा चिनेकै श्रोतासामु आफ्नो भाग प्रस्तुत गर्ने हो भनेर नबिर्सनुहोस्‌। आफ्नो भाग प्रस्तुत गर्नुअघि यहोवालाई प्रार्थना गर्नुहोस्‌। पवित्र शक्‍ति माग्ने सेवकलाई उहाँ खुसीसाथ पवित्र शक्‍ति दिनुहुन्छ।—लूका ११:१३; फिलि. ४:६, ७.

      ठूलठूला कुराको आशा नगर्नुहोस्‌। कुशल वक्‍ता हुन र प्रभावकारी शिक्षक हुन समय लाग्छ। (मीका ६:८) भर्खरै स्कूलमा भाग लिन थाल्नुभएको हो भने तपाईंको प्रस्तुतिमा खोट लगाउने ठाउँ नै हुनेछैन भन्‍ने आशा नगर्नुहोस्‌। वक्‍तृत्व सल्लाहमा दिइएका बुँदामध्ये एक पटकमा एउटामा काम गर्नुहोस्‌। यस पुस्तकमा ती बुँदाबारे छलफल गरिएको पाठ पढ्‌नुहोस्‌। सक्नुहुन्छ भने दिइएको अभ्यास पनि गर्नुहोस्‌। यसो गर्नुभयो भने मण्डलीमा भाग प्रस्तुत गर्ने मौका पाउनुअघि नै काम गर्नुपर्ने बुँदामा के-कस्ता कुरा समावेश छन्‌ भनेर थाह पाउन सक्नुहुन्छ। त्यसपछि प्रगति नहुने त कुरै छैन।

      पढ्‌ने भागको तयारी गर्ने तरिका

      तयारी गर्दा मानिसहरूसामु पढ्‌न दिइएको विषयवस्तुको शब्द उच्चारण गर्न जानेर मात्र पुग्दैन। दिइएको विषयवस्तुको अर्थ स्पष्टसित बुझ्ने प्रयास गर्नुपर्छ। प्रस्तुत गर्ने भाग पाउनेबित्तिकै यही कुरा मनमा राखेर पढ्‌नुहोस्‌। विषयवस्तुलाई सही तरिकामा अनि भावसहित पढ्‌न प्रत्येक वाक्यको अर्थ र हरेक अनुच्छेदको सार बुझ्ने प्रयास गर्नुहोस्‌। नौलो शब्द भेट्टाउनुभयो भने त्यसको अर्थ बुझ्न शब्दकोश हेर्नुहोस्‌ वा भाषामा पोख्त कसैलाई उक्‍त शब्दको सही उच्चारण गर्न लगाउनुहोस्‌। विषयवस्तु राम्ररी थाह पाउनुहोस्‌। यस सन्दर्भमा आमाबाबुले छोराछोरीलाई मदत गर्नुपर्छ।

      के तपाईंले बाइबलबाट वा प्रहरीधरहरा-बाट पढ्‌ने भाग पाउनुभएको छ? यस्ता विषयमा तपाईंको भाषामा श्रव्य-सामग्री उपलब्ध छन्‌ भने शब्दहरू कसरी उच्चारण गरिन्छ, शब्दहरू मिलाएर कसरी पढिन्छ, कुन-कुन ठाउँमा जोड दिएर पढिन्छ र आवाजमा उतार-चढाव कहिले गरिन्छ ध्यान दिएर सुन्‍नुहोस्‌। सुनेको जस्तै गरी पढ्‌ने कोसिस गर्नुहोस्‌।

      आफ्नो भागको तयारी गर्नुअघि काम गर्नुपर्ने बुँदाबारे छलफल गरिएको पाठ राम्ररी पढ्‌नुहोस्‌। आफ्नो भाग धेरै चोटि ठूलो स्वरमा पढेर अभ्यास गरिसकेपछि सम्भव भए त्यो पाठ फेरि हेर्नुहोस्‌। पाठमा दिइएको सल्लाह सकभर लागू गर्ने प्रयास गर्नुहोस्‌।

      यस्तो प्रशिक्षणले गर्दा प्रचारमा निकै सघाउ पुग्छ। प्रचारमा भाग लिंदा अरूलाई पढेर सुनाउने प्रशस्त मौका पाइन्छ। परमेश्‍वरको वचनमा मानिसहरूको जीवन परिवर्तन गर्ने शक्‍ति भएकोले त्यसलाई राम्ररी पढ्‌नुपर्छ। (हिब्रू ४:१२) एक/दुई चोटि आफ्नो भाग प्रस्तुत गर्दैमा तपाईं प्रभावकारी पढाइको हर पक्षमा पोख्त हुनुहुनेछ भन्‍ने नठान्‍नुहोस्‌। वर्षौंको अनुभव बटुलेका एक जना ख्रीष्टियन एल्डरलाई प्रेषित पावलले यस्तो सल्लाह दिए: “मानिसहरूसामु पवित्र लेखोटहरू पढ्‌ने . . . काममा लागिरह।”—१ तिमो. ४:१३.

      विषय र भूमिकाअनुसार काम गर्नुहोस्‌

      भूमिका राख्नुपर्ने कुनै भागको लागि तपाईं कसरी तयारी गर्नुहुन्छ?

      तीनवटा कुरा विचार गर्नुहोस्‌: (१) तपाईंलाई दिइएको विषय, (२) भूमिका र श्रोता, (३) काम गर्नुपर्ने बुँदा।

      दिइएको विषयबारे जानकारी बटुल्नुहोस्‌। तर सबैभन्दा पहिले तपाईंको भूमिका र साथीलाई ध्यान दिनुहोस्‌। किनभने यिनै कुराले कस्तो जानकारी छलफल गर्ने हो र कसरी प्रस्तुत गर्ने हो, त्यसमा असर पार्छ। तपाईं कुन भूमिका चलाउँदै हुनुहुन्छ? चिनेजानेको मानिसलाई कसरी प्रचार गर्ने भनेर देखाउँदै हुनुहुन्छ? अथवा प्रचारमा पहिलो चोटि कसैलाई भेट्‌दा के-के हुन सक्छ, त्यो पो देखाउँदै हुनुहुन्छ कि? पाको मान्छेसित कुरा गर्दै हुनुहुन्छ कि कम उमेरको मान्छेसित? तपाईंले छलफल गर्ने विचार गरेको विषयबारे तिनको धारणा कस्तो छ? त्यसबारे तिनलाई कतिजति थाह छ होला? छलफलको नतिजा कस्तो होला भनेर आशा गर्नुभएको छ? यस्ता प्रश्‍नको जवाफले तपाईंलाई आफ्नो भाग तयार पार्न महत्त्वपूर्ण जानकारी बटुल्न मदत गर्नेछ।

      तपाईंलाई दिइएको विषयबारे कसरी जानकारी थाह पाउन सक्नुहुन्छ? यस पुस्तकको पृष्ठ ३३ देखि ३८ सम्ममा “अनुसन्धान गर्ने तरिका” दिइएको छ। उक्‍त अध्याय पढ्‌नुहोस्‌ र त्यसपछि तपाईंसित भएका अनुसन्धान गर्ने अन्य सामग्री हेर्नुहोस्‌। अक्सर चाहिनेभन्दा धेरै जानकारी तुरुन्तै पाइहाल्नुहुन्छ। कुन-कुन तरिकाले प्रस्तुति बनाउन सकिन्छ भनेर पत्ता लगाउन राम्ररी पढ्‌नुहोस्‌। त्यतिखेर आफ्नो भूमिका र तपाईं कोसित कुरा गर्दै हुनुहुन्छ भनेर पनि नबिर्सनुहोस्‌। प्रस्तुतिमा राख्न सुहाउने बुँदामा चिनो लगाउनुहोस्‌।

      आफ्नो प्रस्तुति तयार गर्नुअघि र प्रस्तुतिमा प्रयोग गर्ने सामग्रीबारे अन्तिम निर्णय गर्नुअघि नै काम गर्नुपर्ने बुँदाबारे छलफल गरिएको अध्याय पढ्‌नुहोस्‌। त्यहाँ दिइएको सुझावअनुसार गर्नु नै तपाईंको प्रस्तुतिको मुख्य लक्ष्य हो।

      प्रचार गर्दा यति समयमा नै आफ्नो प्रस्तुति सिध्याउनुपर्छ भनेर त तोकिएको हुँदैन। तर स्कूलमा भने समय सिद्धिएको जनाउ दिइने हुँदा तोकिएको समयभित्रै विषयवस्तु प्रस्तुत गर्न सक्नुभयो भने समापन पनि बताउन सकेकोमा तपाईं फुरुङ्‌ङ पर्नुहुन्छ। त्यसैले तयारी गर्दा आफूले पाएको समयलाई पनि याद गर्नुहोस्‌। तर प्रभावकारी ढङ्‌गमा सिकाउने तरिकामा विशेष ध्यान दिनुहोस्‌।

      भूमिका छान्दा याद गर्नुपर्ने कुरा: पृष्ठ ८२ मा दिइएका सुझाव केलाउनुहोस्‌। प्रचारमा लागू गर्न सकिने र विषयवस्तु प्रस्तुत गर्दा वास्तविक घटनाजस्तै सुनिने भूमिका छान्‍नुहोस्‌। स्कूलमा भाग लिएको केही समय भइसकेको छ भने यसलाई प्रचारमा काम लाग्ने थप सीप सिक्ने र अझ प्रगति गर्ने मौकाको रूपमा लिनुहोस्‌।

      ईश्‍वरतान्त्रिक सेवा स्कूल निरीक्षकले नै भूमिका छानिदिएका छन्‌ भने त्यो चुनौती स्वीकार्नुहोस्‌। धेरैजसो भूमिका प्रचारसित सम्बन्धित छन्‌। भूमिकामा उल्लेख गरिएको परिस्थितिअनुसार कहिल्यै प्रचार गर्नुभएको छैन भने त्यस्तो परिस्थितिमा प्रचार गरेका प्रकाशकसित कुरा गरेर भूमिकाअनुसार भाग प्रस्तुत गर्न उपाय निकाल्नुहोस्‌। सम्भव छ भने स्कूलमा आफ्नो भाग प्रस्तुत गर्नुअघि प्रचारमा त्यस्तै भूमिकामा आफ्नो विषय प्रस्तुत गरेर हेर्नुहोस्‌। यसो गर्दा स्कूलको उद्देश्‍यअनुसारै तपाईंले तालिम पाइरहेको हुनेछ।

      भाषणको रूपमा प्रस्तुत गर्दा के गर्न सकिन्छ?

      तपाईं पुरुष हुनुहुन्छ भने तपाईंलाई स्कूलमा छोटो भाषण दिन लगाइन्छ। अरू विद्यार्थीले आफ्नो भाग तयार गर्दा विचार पुऱ्‍याउने बुँदाहरूलाई तपाईंले पनि भाषणको तयारी गर्दा ध्यान दिनुपर्छ। तर तपाईंको भाषण र अन्य विद्यार्थीले प्रस्तुत गर्ने भागबीचको मुख्य भिन्‍नता भन्‍नु नै श्रोता र प्रस्तुत गर्ने तरिका हो।

      सबै श्रोताले लाभ उठाउन सक्नेगरि तपाईंले आफ्नो विषयवस्तु तयार गर्नु अक्सर बेस हो। प्रायजसो श्रोतालाई बाइबलका आधारभूत सत्य थाह हुन्छ। तपाईंले भाषण दिने विषयबारे पनि तिनीहरूलाई राम्ररी थाह होला। तर तिनीहरूलाई त्यसबारे कति थाह छ, विचार गर्नुहोस्‌। तिनीहरूलाई कुनै न कुनै तरिकाले फाइदा पुग्नेगरि भाषण दिने कोसिस गर्नुहोस्‌। त्यसैले आफैलाई सोध्नुहोस्‌: ‘यहोवा परमेश्‍वरप्रतिको मेरो र श्रोताको कदर बढाउन म मेरो विषय कसरी प्रयोग गर्न सक्छु? विषयवस्तुमा भएको कुन कुराले परमेश्‍वरको इच्छा बुझ्न मदत गर्छ? शारीरिक कुइच्छाले प्रभुत्व जमाएको संसारमा सही निर्णय गर्न यो विषयवस्तुले हामीलाई कसरी मदत गर्न सक्छ?’ (एफि. २:३) यी प्रश्‍नको चित्तबुझ्दो जवाफको लागि अनुसन्धान गर्नुपर्ने हुन्छ। बाइबल प्रयोग गर्दा त्यसबाट पदहरू पढ्‌ने मात्र नगर्नुहोस्‌। तपाईंले पढ्‌ने पदबाटै तर्क गर्नुहोस्‌ र यी पदको आधारमा कसरी निष्कर्षमा पुग्न सकिन्छ, देखाउनुहोस्‌। (प्रेषि. १७:२, ३) धेरै बुँदा ढाक्ने कोसिस नगर्नुहोस्‌। श्रोताले झट्टै सम्झन सक्नेगरि आफ्नो विषयवस्तु प्रस्तुत गर्नुहोस्‌।

      तयारी गर्दा भाषण दिने तरिकामा पनि ध्यान दिनुपर्छ। यसलाई हल्कासित नलिनुहोस्‌। आवाज निकालेर नै भाषणको अभ्यास गर्नुहोस्‌। स्कूलमा तपाईंले काम गर्नुपर्ने विभिन्‍न बुँदाबारे दिइएका सल्लाह पढ्‌ने र लागू गर्ने कोसिस गर्दा तपाईंको अझै प्रगति हुनेछ। तपाईं नयाँ होस्‌ वा अनुभवी, तयारी राम्रोसित गर्नुहोस्‌। यसो गर्नुभयो भने विश्‍वस्त भएर अनि विषयवस्तुसित सुहाउँदो भाव व्यक्‍त गर्दै कुरा गर्न सक्नुहुन्छ। यहोवाले तपाईंलाई बोल्ने क्षमता वरदानस्वरूप दिनुभएको छ। यही क्षमता अनुरूप स्कूलमा दिइएको प्रत्येक जिम्मेवारी पूरा गर्दा यहोवाको प्रशंसा गर्ने उद्देश्‍यलाई नबिर्सनुहोस्‌।—भज. १५०:६.

  • मण्डलीको लागि भाषणको तयारी गर्ने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
    • मण्डलीको लागि भाषणको तयारी गर्ने तरिका

      ईश्‍वरतान्त्रिक सेवा स्कूलका कार्यक्रम सम्पूर्ण मण्डलीले लाभ उठाउन सक्नेगरि तयार पारिएका छन्‌। मण्डलीका अरू सभामा, सम्मेलन र अधिवेशनमा पनि महत्त्वपूर्ण जानकारी प्रस्तुत गरिन्छ। यी कार्यक्रममध्ये कुनै एउटामा तपाईंले भाषण दिने मौका पाउनुभयो भने यसलाई हल्कासित नलिनुहोस्‌, यो गहन जिम्मेवारी हो। प्रेषित पावलले ख्रीष्टियन निरीक्षक तिमोथीलाई आफ्नो शिक्षाको विषयमा सधैं होसियार रहन आग्रह गरे। (१ तिमो. ४:१६) ख्रीष्टियन सभा र सम्मेलनमा परमेश्‍वरसित अझै घनिष्ठ सम्बन्ध गाँस्नेबारे निर्देशन पाइने भएकोले यस्ता जमघटमा उपस्थित हुन भाइबहिनीले आफ्नो अमूल्य समय छुट्ट्याएका हुन्छन्‌। कसै-कसैले यस्ता सभामा उपस्थित हुन निकै प्रयास गरेका हुन्छन्‌। यस्ता जमघटमा निर्देशन दिने जिम्मेवारी पाउनु साँच्चै एउटा ठूलो सुअवसर हो! त्यसो भए तपाईं यो जिम्मेवारी कसरी राम्ररी पूरा गर्न सक्नुहुन्छ?

      बाइबल पढाइका विशेषताहरू

      स्कूलको यो भाग त्यस हप्ताका लागि तोकिएको बाइबल पढाइमा आधारित हुन्छ। त्यसबाट आज हामीले सिक्न सक्ने कुरामा जोड दिनुपर्छ। नहेम्याह ८:८ मा बताइएअनुसार पुजारी एज्रा र लेवीहरूले परमेश्‍वरको वचन सबैसामु पढे, त्यसको व्याख्या गरे, “अर्थ बुझाइदिए” अनि त्यसबाट शिक्षा दिए। बाइबलका विशेषताहरू प्रस्तुत गर्दा तपाईंले पनि त्यसै गर्ने मौका पाउनुहुन्छ।

      तपाईंले यो भागको तयारी कसरी गर्नुपर्छ? तपाईंले प्रस्तुत गर्नुपर्ने बाइबल विशेषताका अध्यायहरू सकेसम्म हप्तादिनअघि वा अझै अघिदेखि नै पढ्‌नुहोस्‌। आफ्नो मण्डली र त्यसका आवश्‍यकताबारे विचार गर्नुहोस्‌। त्यसबारे प्रार्थना गर्नुहोस्‌। ती आवश्‍यकतासित मिल्ने कुनै सल्लाह, उदाहरण वा सिद्धान्त परमेश्‍वरको वचनको यस अंशमा पाइन्छ कि?

      अनुसन्धान गर्नु जरुरी छ। सीडी रोममा उपलब्ध यहोवाका साक्षीहरूको पुस्तकालय, यहोवाका साक्षीहरूको प्रकाशन सूची वा हरेक वर्षको अन्तमा आउने प्रहरीधरहरा-को विषयसूची तपाईंले बुझ्ने भाषामा उपलब्ध छ? छ भने त्यसबाट अनुसन्धान गर्नुहोस्‌। जोड दिन चाहेका पदबारे प्रकाशनहरूमा अनुसन्धान गर्दा तपाईं यी कुरा भेट्टाउन सक्नुहुन्छ:- त्यस विषयमा थप जानकारी दिने विषयवस्तु अनि भविष्यवाणीहरू कसरी पूरा भए भन्‍ने व्याख्या; केही खास पदले यहोवाबारे प्रकट गरेको कुरा अथवा बाइबल सिद्धान्तको छलफल आदि। थुप्रै बुँदा ढाक्ने कोसिस नगर्नुहोस्‌। बरु केही खास पदमा मात्र ध्यान केन्द्रित गर्नुहोस्‌। थोरै पद रोजेर त्यसैलाई राम्ररी व्याख्या गर्नु बेस हो।

      साप्ताहिक बाइबल पढाइबाट श्रोताले कस्तो लाभ उठाए भनेर टिप्पणी दिन लगाउनु पनि तपाईंको यो भागमा पर्छ। व्यक्‍तिगत अध्ययनमा र पारिवारिक अध्ययनमा, प्रचारमा वा जीवनका अन्य पक्षमा लाभ पुऱ्‍याउने कस्ता कुरा तिनीहरूले सिके? यहोवाले मानिसहरूसित व्यवहार गर्दा देखाएका कस्ता गुण तिनीहरूले याद गरे? श्रोताले आफ्नो विश्‍वास बलियो बनाउने र यहोवाप्रतिको आफ्नो कृतज्ञता बढाउने कस्ता कुराहरू सिके? जटिल बुँदा र स-साना कुरा पनि व्याख्या गरेर समय खेर नफाल्नुहोस्‌। रोजेका बुँदाको व्यावहारिक महत्त्व र अर्थमा जोड दिनुहोस्‌।

      हाम्रा प्रकाशनहरूमा आधारित भाषण

      यी भाषण प्रहरीधरहरा वा ब्यूँझनुहोस्‌! वा कुनै किताबमा आधारित हुन्छन्‌। धेरैजसो अवस्थामा तोकिएको समयभित्र भ्याउन नसकिने धेरै जानकारी हुन्छ। त्यस्तो भाषण कसरी प्रस्तुत गर्नुपर्छ? विषयवस्तु ढाकेर मात्रै पुग्दैन, शिक्षकको रूपमा सिकाउनुपर्छ। निरीक्षकसित “सिकाउने योग्यता हुनुपर्छ।”—१ तिमो. ३:२.

      तयारी थाल्दा दिइएको विषयवस्तु पढ्‌नुहोस्‌। बाइबल खोलेर पदहरू हेर्नुहोस्‌। मनन गर्नुहोस्‌। भाषण दिइने दिनभन्दा धेरैअघि नै तयारी गर्ने प्रयास गर्नुहोस्‌। भाषण आधारित भएको विषयवस्तु अगाडि नै पढ्‌न भाइहरूलाई प्रोत्साहन दिइएको छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। तपाईंको दायित्व विषयवस्तुलाई दोहोऱ्‍याउने वा त्यसको सार मात्र बताउने होइन बरु विषयवस्तु कसरी लागू गर्न सकिन्छ, त्यो बताउने हो। मण्डलीलाई साँच्चै फाइदा हुने उपयुक्‍त बुँदा छानेर भाषण दिनुहोस्‌।

      प्रत्येक बालकको आफ्नै व्यक्‍तित्व भएझैं प्रत्येक मण्डलीको पनि आफ्नै विशेषता हुन्छ। प्रभावकारी ढङ्‌गमा सिकाउने आमा वा बुबाले छोराछोरीलाई नैतिक सिद्धान्त मात्र सिकाउँदैनन्‌, तर्क पनि गर्छन्‌। साथै बालकको व्यक्‍तित्व र उसले भोगिरहेको समस्यालाई मनमा राख्दै कुरा गर्छन्‌। त्यसैगरि शिक्षकले मण्डलीको आवश्‍यकता बुझ्ने प्रयास गर्छन्‌ र त्यसैअनुसार सिकाउँछन्‌। श्रोतामध्ये कसैलाई लाजमा पार्ने उदाहरण समझदार शिक्षकले प्रयोग गर्दैनन्‌। बरु तिनी यहोवाको मार्गमा हिंड्‌दा पाएका आशिष्‌हरूबारे बताउँछन्‌ र मण्डलीका भाइबहिनीले भोगिरहेको समस्या सफलतासाथ समाधान गर्न मदत दिने बाइबलको सल्लाहतिर ध्यान खिच्छन्‌।

      राम्ररी सिकाउँदा श्रोताको मन छुन्छ। यसो गर्न तथ्य प्रस्तुत गरेर मात्र पुग्दैन बरु प्रस्तुत तथ्यले श्रोतालाई कसरी फाइदा पुऱ्‍याउँछ, त्यसप्रति कृतज्ञ हुन मदत गर्नु पनि आवश्‍यक छ। यसो गर्न जसलाई सिकाउँदै हुनुहुन्छ तिनीहरूप्रति साँचो चासो देखाउनुपर्छ। मण्डलीका गोठालोहरूले आफ्नो बगाललाई चिन्‍नुपर्छ। यदि गोठालाहरूले भाइबहिनीलाई माया गरेका छन्‌ र तिनीहरूले भोगिरहेका समस्या याद गरेका छन्‌ भने तिनीहरूलाई प्रोत्साहन दिन सक्नेगरि बोल्न सक्छन्‌, तिनीहरूको परिस्थिति बुझ्न सक्छन्‌ र तिनीहरूलाई दयालु व्यवहार गर्न सक्छन्‌।

      भाषणको कुनै खास उद्देश्‍य हुन्छ भनेर प्रभावकारी शिक्षकले बुझेका हुन्छन्‌। त्यसैकारण मुख्य बुँदा प्रस्टै छुट्टिनेगरि र पछिसम्म सम्झन सक्नेगरि विषयवस्तु प्रस्तुत गर्नुपर्छ। श्रोताले आफ्नो जीवनमा लागू गर्नुपर्ने बुँदाहरू सम्झन सक्ने हुनुपर्छ।

      सेवा सभा

      हाम्रो राज्य सेवा-को लेखमा आधारित भाषण दिंदा भने बेग्लै चुनौतीको सामना गर्नुपर्ने हुन्छ। आफूलाई सबैभन्दा उपयुक्‍त लागेको बुँदा मात्रै छानेर बताउने गर्नुहुँदैन। लेखमा दिइएको सम्पूर्ण जानकारी श्रोतालाई बताउनुपर्छ। कुनै पनि पदमा आधारित सल्लाह किन दिइँदैछ, त्यो बुझ्न श्रोतालाई मदत गर्नुहोस्‌। (ती. १:९) समय सीमित हुने भएकोले प्रायजसो अवस्थामा थप बुँदा समावेश गर्न भ्याइँदैन।

      अर्कोतर्फ तपाईंलाई हाम्रो राज्य सेवा-बाहेक अन्य विषयवस्तुबाट कुनै भाग प्रस्तुत गर्न लगाइन सक्छ। स्रोतको रूपमा प्रहरीधरहरा-को कुनै लेख दिइएको होला अथवा थोरै जानकारी मात्र दिइएको हुन सक्छ। दिइएको भागलाई मण्डलीको आवश्‍यकताअनुसार कसरी प्रस्तुत गर्ने भनेर शिक्षकको हैसियतमा तपाईंले विचार गर्नुपर्छ। तपाईंले सायद छोटो अनि स्पष्ट उदाहरण वा सुहाउँदो अनुभव बताउनुपर्ने हुन सक्छ। नबिर्सनुहोस्‌, तपाईंको जिम्मेवारी विषयसित सम्बन्धित कुरा बताउनु मात्र होइन। परमेश्‍वरको वचनमा तोकिएको काम पूरा गर्न मदत गर्ने र त्यो काम पूरा गरेर आनन्दित हुन मण्डलीलाई मदत पुग्ने तरिकामा विषयवस्तु प्रस्तुत गर्नु पनि हो।—प्रेषि. २०:२०, २१.

      आफ्नो भागको तयारी गर्दा मण्डलीका भाइबहिनीको परिस्थिति कस्तो छ, विचार गर्नुहोस्‌। तिनीहरूले गरिरहेका कामको प्रशंसा गर्नुहोस्‌। दिइएका सुझावहरू लागू गर्दा प्रचारमा अझ प्रभावकारी र आनन्दित हुन तिनीहरूले कसरी मदत पाउँछन्‌?

      तपाईंको भागमा प्रस्तुति देखाउनुपर्ने वा अन्तरवार्ता लिनुपर्ने छ कि? छ भने त्यसको लागि पहिल्यै राम्ररी तयारी गर्नुपर्छ। कसैलाई तयारी गर्नुहोस्‌ भन्‍नु सजिलो त होला तर त्यसो गर्दा नतिजा सधैं राम्रो हुन्छ भन्‍ने छैन। सकेसम्म सभा हुने दिनभन्दा अघि नै प्रदर्शन वा अन्तरवार्ताको अभ्यास गर्नुहोस्‌। दिइएका निर्देशनहरू प्रभावकारी छन्‌ भनेर प्रस्ट हुने किसिमले प्रदर्शन वा अन्तरवार्ता प्रस्तुत गर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने