प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy अध्या. ४२ पृ. १०४-पृ. १०५ अनु. २
  • येसु फरिसीहरूलाई हप्काउनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु फरिसीहरूलाई हप्काउनुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • येशूले फरिसीहरूलाई हप्काउनुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • यहोवाको कृपाबारे योनाले सिक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • तिनले आफ्नो गल्तीबाट पाठ सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • तिनले कृपालु हुन सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy अध्या. ४२ पृ. १०४-पृ. १०५ अनु. २
सेबाकी महारानी राजा सुलेमानको सिंहासनतिर जाँदै

अध्याय ४२

येसु फरिसीहरूलाई हप्काउनुहुन्छ

मत्ति १२:३३-५० मर्कुस ३:३१-३५ लुका ८:१९-२१

  • येसु “योनाको चिन्ह”-बारे बताउनुहुन्छ

  • चेलाहरू परिवारका सदस्यहरूभन्दा घनिष्ठ छन्‌

येसुले परमेश्‍वरको शक्‍तिद्वारा प्रेतहरू धपाउनुहुन्छ भन्‍ने कुरा इन्कार गरेर शास्त्री र फरिसीहरूले पवित्र शक्‍तिको निन्दा गरिरहेका छन्‌। तिनीहरूले कसको पक्ष लिइरहेका छन्‌—परमेश्‍वरको कि सैतानको? येसु भन्‍नुहुन्छ: “यदि तिमीहरू असल रूख बन्यौ भने असलै फल फलाउनेछौ तर खराब रूख बन्यौ भने खराबै फल फलाउनेछौ किनकि रूख कस्तो हो, त्यसको फलैबाट चिनिन्छ।”—मत्ति १२:३३.

फलहरू भएको रूखको हाँगा

येसुले सैतानको सेवा गरेकोले प्रेतहरू धपाउने जस्तो असल फल फलाउन सक्नुभएको हो भनेर आरोप लगाउनु मूर्खता हो। डाँडाको उपदेशमा येसुले स्पष्ट पार्नुभएझैँ फल असल छ भने रूख पनि असलै हुन्छ, खराब हुँदैन। त्यसोभए फरिसीहरूले फलाएको फल अर्थात्‌ तिनीहरूले येसुलाई लगाएका निराधार आरोपहरूले के प्रमाणित गर्छ? यही कि तिनीहरू खराब छन्‌। येसु तिनीहरूलाई भन्‍नुहुन्छ: “ए विषालु सर्पका सन्तान हो, तिमीहरू आफै दुष्ट छौ अनि कसरी असल कुरा बोल्न सक्छौ र? किनकि हृदयमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।”—मत्ति ७:१६, १७; १२:३४.

हो, हामीले बोल्ने कुराहरूले हाम्रो हृदय कस्तो छ भनेर देखाउँछ र यसैको आधारमा हाम्रो न्याय हुन्छ। त्यसैले येसु भन्‍नुहुन्छ: “म तिमीहरूलाई भन्छु, आफूले बोल्ने हरेक व्यर्थ कुराको लागि मानिसहरू न्यायको दिनमा जबाफदेही हुनेछन्‌। किनकि तिमी जे बोल्छौ, त्यसैको आधारमा तिमीलाई धर्मी ठहराइनेछ अनि तिमी जे बोल्छौ, त्यसैको आधारमा तिमीलाई दोषी ठहराइनेछ।”—मत्ति १२:३६, ३७.

येसुले अहिलेसम्म थुप्रै शक्‍तिशाली काम गरिसक्नुभएको छ। तैपनि ती शास्त्री र फरिसीहरू अझ धेरै माग गर्दै यसो भन्छन्‌: “हे गुरुज्यू, तपाईँले एउटा चिन्ह देखाउनुभएको हामी हेर्न चाहन्छौँ।” तिनीहरूले येसुले चमत्कारहरू गर्नुभएको आफ्नै आँखाले देखेका होऊन्‌ या नहोऊन्‌, त्यहाँ त्यस कुराका प्रत्यक्षदर्शीहरू प्रशस्तै छन्‌। त्यसैले येसु ती यहुदी धर्मगुरुहरूलाई यसो भन्‍न सक्नुहुन्छ: “दुष्ट र विश्‍वासघाती पुस्ताले चिन्ह मात्र खोजिरहन्छ तर त्यसलाई भविष्यवक्‍ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।”—मत्ति १२:३८, ३९.

एउटा ठूलो माछाले योनालाई निल्छ

आफूले भन्‍न खोजेको कुरा स्पष्ट पार्दै येसु तिनीहरूलाई यसो भन्‍नुहुन्छ: “योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात रहेजस्तै मानिसको छोरा पनि पृथ्वीको गर्भमा तीन दिन र तीन रात रहनेछ।” योनालाई एक किसिमको ठूलो माछाले निलेको थियो तर तिनी बाहिर निस्के, जुन तिनी फेरि जीवित भएझैँ थियो। यसरी येसु आफू मर्ने र तीन दिनपछि फेरि जीवित हुने कुराको भविष्यवाणी गर्नुहुन्छ। तर जब उहाँ फेरि जीवित हुनुहुन्छ, ती यहुदी धर्मगुरुहरू “योनाको चिन्ह”-लाई इन्कार गर्छन्‌ र पश्‍चात्ताप गरेर परिवर्तन हुन चाहँदैनन्‌। (मत्ति २७:६३-६६; २८:१२-१५) त्यसको विपरीत, योनाले प्रचार गर्दा “निनवेका मानिसहरू”-ले पश्‍चात्ताप गरे। त्यसैले तिनीहरूले यो पुस्तालाई दोषी ठहराउनेछन्‌। त्यसैगरि येसुले सेबाकी महारानीले आफ्नो उदाहरणद्वारा तिनीहरूलाई दोषी ठहराउनेछिन्‌ भनेर पनि भन्‍नुहुन्छ। तिनले सुलेमानका बुद्धिका कुराहरू सुन्‍ने इच्छा गरिन्‌ र उनका कुराहरू सुनेपछि छक्क परिन्‌। त्यसपछि येसु भन्‍नुहुन्छ: “सुलेमानभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।”—मत्ति १२:४०-४२.

येसु यस दुष्ट पुस्ताको अवस्थालाई प्रेत बाहिर निस्केको एक जना मानिससित तुलना गर्नुहुन्छ। (मत्ति १२:४५) त्यस मानिसले खाली ठाउँलाई असल कुराहरूले नभरेको हुनाले त्यस दुष्ट प्रेतले आफूभन्दा पनि दुष्ट अरू सात वटा प्रेतलाई सँगै लिएर आउँछ र तिनीहरू त्यस मानिसभित्र पस्छन्‌। एउटा दुष्ट प्रेत बाहिर निस्केजस्तै इस्राएल राष्ट्रलाई पनि शुद्ध पारिएको थियो। तर यस राष्ट्रले परमेश्‍वरका भविष्यवक्‍ताहरूलाई इन्कार गऱ्‍यो। अन्तमा त परमेश्‍वरको शक्‍तिले भरिपूर्ण व्यक्‍ति, येसुको समेत विरोध गऱ्‍यो। यसरी यस राष्ट्रले आफू सुरुको अवस्थामा भन्दा झन्‌ खराब भएको कुरा देखायो।

येसु बोल्दै गर्नुभएको बेला उहाँकी आमा र भाइहरू भीडको पछाडि आएर उभिन्छन्‌। येसुको नजिकै भएका कसै-कसैले उहाँलाई यसो भन्छन्‌: “तपाईँकी आमा र तपाईँका भाइहरू तपाईँलाई भेट्‌न बाहिर पर्खिरहेका छन्‌।” त्यसपछि येसुले उहाँ आफ्ना चेलाहरूसित कत्ति घनिष्ठ महसुस गर्नुहुन्छ भन्‍ने कुरा व्यक्‍त गर्नुहुन्छ, जो उहाँका साक्खै दाजुभाइ, दिदीबहिनी र आमाजस्तै छन्‌। आफ्ना चेलाहरूलाई देखाउँदै उहाँ यसो भन्‍नुहुन्छ: “जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌, तिनीहरू नै मेरा आमा र भाइहरू हुन्‌।” (लुका ८:२०, २१) यसरी उहाँ आफू र आफ्ना नातेदारहरूबीचको बन्धन जतिसुकै घनिष्ठ भए तापनि चेलाहरूसितको आफ्नो सम्बन्ध अझ घनिष्ठ भएको कुरा देखाउनुहुन्छ। हामी आफ्ना आध्यात्मिक भाइबहिनीसित यसरी नै घनिष्ठ भएकोले मानिसहरूले हामीमाथि शङ्‌का गरे पनि वा हाम्रो असल कामहरूको गिल्ला गरे पनि हामी स्फूर्ति पाउँछौँ नि, होइन र?

  • फरिसीहरू कुन अर्थमा खराब रूखजस्तै छन्‌?

  • “योनाको चिन्ह” के हो र यसलाई पछि कसरी इन्कार गरिन्छ?

  • प्रथम शताब्दीको इस्राएल राष्ट्र कसरी दुष्ट प्रेत बाहिर निस्केको मानिसजस्तै छ?

  • येसु आफ्ना चेलाहरूसितको घनिष्ठ सम्बन्धलाई कसरी जोड दिनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने