-
खराब साथीब्यूँझनुहोस्!—२०१० | मे
-
-
खराब साथी
तपाईँले आफ्नो युवावस्थामा एक जना “साथी” बनाउनुभयो। तिनले तपाईँलाई परिपक्व बनाएको र अरू साथीहरूसित घुलमिल हुन मदत गरेको जस्तो तपाईँलाई लाग्थ्यो। तपाईँ तनावमा हुँदा तिनले सधैँ तपाईँलाई “स्फूर्ति” दिन्थ्यो। यहाँ सम्म कि तपाईँ धेरैजसो तिनकै भर पर्नु हुन्थ्यो।
समय बित्दै जाँदा तपाईँले तिनको असली रूप देख्न थाल्नुभयो। जहाँ गए पनि तिनी तपाईँसँगै आउन खोज्छन्। कहिलेकाहीँ त तिनले तपाईँलाई अप्ठ्यारोमा पार्छन्। तिनले तपाईँलाई परिपक्व बनाएको जस्तो लागे पनि तपाईँको स्वास्थ्यमा भने हानि पुऱ्याइरहेका छन्। मुख्य कुरा त तिनले तपाईँको खर्च बढाइरहेका छन्।
हालसालै तपाईँ तिनको सङ्गत छोड्ने कोसिस गर्दै हुनुहुन्छ तर तिनी तपाईँलाई छोड्दै छोड्दैनन्। एक अर्थमा तपाईँ तिनको दास हुनु भइसकेको छ। तिनीसित सङ्गत गरेकोमा तपाईँ पछुताउँदै हुनुहुन्छ।
चुरोट पिउने प्रायजसो मानिसहरूको चुरोटसित यस्तै नाता गाँसिएको छ। चुरोट पिउन थालेको ५० वर्ष भइसकेको अर्लिन यसो भन्छिन्: “चुरोटले धेरै मदत गरेको जस्तो मलाई लाग्थ्यो। चुरोट मेरो सबैभन्दा पुरानो साथी थियो। कहिलेकाहीँ त त्यही मात्र मेरो साथी हुन्थ्यो।” पछि अर्लिनले चुरोट साथी होइन बरु खतरनाक शत्रु हो भनेर बुझिन्। अर्लिनको चुरोटसितको सम्बन्ध माथि बताइएको जस्तै थियो। फरक यति छ कि तिनले परमेश्वरको नजरमा चुरोट खराब छ र त्यसले परमेश्वरले दिनुभएको हाम्रो शरीरलाई दूषित बनाउँछ भनेर थाह पाएपछि चुरोट पिउन छोडिन्।—२ कोरिन्थी ७:१.
फ्रान्कले पनि परमेश्वरलाई खुसी बनाउन चुरोट छोड्ने निर्णय गरे। तर चुरोट छोडेको एक-दुई दिनमै तिनले आफ्नो घरको कुनाकाप्चा र भुईँमा झरेको चुरोटका ठुटाहरू खोज्न थाले। तिनी भन्छन्: “मैले त्यही बेला निर्णय गरेँ। मैले चार हात-खुट्टा टेकेर चुरोटका ठुटाहरू खोजेको देखेर म आफैदेखि घिन लाग्यो। त्यस दिनदेखि मैले चुरोटलाई हात लगाइन।”
चुरोट छोड्न किन यत्ति गाह्रो हुन्छ? अनुसन्धानकर्ताहरूले थुप्रै कारणहरू पत्ता लगाएका छन्: (१) सुर्तीजन्य पदार्थहरूको लत लागू औषध जत्तिकै हुन्छ। (२) निकोटिन शरीरमा छिरेको सात सेकेन्डमै मस्तिष्कसम्म पुग्छ। (३) मानिसले खाँदा, पिउँदा, कुराकानी गर्दा र अन्य दैनिक कामकुराहरू गर्दा अनि त्यसैगरि तनावमा परेको बेला चुरोट पिउने भएकोले अन्तमा चुरोट मानिसको जीवनको अभिन्न भाग बन्न पुग्छ।
तथापि, अर्लिन र फ्रान्कको अनुभवले यो हानिकारक लत त्याग्न सम्भव छ भनेर देखाउँछ। तपाईँ चुरोट पिउनुहुन्छ तर त्यसलाई छोड्न चाहनुहुन्छ भने यसपछिका लेखहरूले तपाईँलाई एउटा नयाँ जीवनको सुरुवात गर्न मदत गर्नेछ।
-
-
धूम्रपान छोड्न मनोबल चाहिन्छब्यूँझनुहोस्!—२०१० | मे
-
-
धूम्रपान छोड्न मनोबल चाहिन्छ
“धूम्रपान छोड्न सफल भएका व्यक्तिहरूमा देखिएको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको तिनीहरूको प्रतिबद्धता हो।”—“स्टप स्मोकिङ नाऊ!”
सजिलो भाषामा भन्नुपर्दा यदि तपाईँ चुरोट छोड्न चाहनुहुन्छ भने कम्तीमा तपाईँसित चुरोट छोड्ने बलियो चाहना हुनुपर्छ। त्यसोभए तपाईँ आफ्नो मनोबल कसरी बढाउन सक्नुहुन्छ? चुरोट छोड्दा तपाईँलाई के-के फाइदा हुन्छ विचार गर्नुहोस्!
तपाईँ फजुल खर्च जोगाउन सक्नुहुन्छ। दिनको एक बट्टा चुरोट खाने बानी परेको मानिसलाई वर्षमा आफ्नो हजारौँ रुपैयाँ खर्च भइरहेको पत्तै नहुन सक्छ। “मैले चुरोट पिएर कत्ति पैसा धुवाँमा उडाइदिए कहिल्यै चालै पाइनँ,” नेपालकी ज्ञानु भन्छिन्।
तपाईँ पहिला भन्दा झन् आनन्दित हुन सक्नुहुन्छ। दक्षिण अफ्रिकाकी रेजिना भन्छिन्, “मैले चुरोट छोडेपछि नयाँ जीवन पाएँ।” तपाईँले चुरोट पिउन छोडेपछि तपाईँको जिब्रोले पहिला भन्दा धेरै स्वाद लिन सक्छ, तपाईँको नाकले अझ धेरै बास्ना लिन सक्छ। अनि तपाईँले अझ फुर्तिलो महसुस गर्नुका साथै तपाईँको रूपरङ्ग पनि अझ निखारिन्छ।
तपाईँको स्वास्थ्यमा सुधार आउँछ। “धूम्रपान छोड्ने जुनसुकै उमेरका स्त्री वा पुरुषले आफ्नो स्वास्थ्यमा तत्कालै ठूलो सुधार आएको महसुस गर्छन्।”—दि यु.एस. सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन।
तपाईँको आत्मविश्वास बढ्छ। “म चुरोटको दास बन्न चाहन्नथेँ त्यसैले मैले चुरोट पिउन छोडेँ। म आफ्नो शरीरको मालिक आफै बन्न चाहन्थेँ।” डेनमार्कका हेनिङ भन्छन्।
तपाईँको परिवार र साथीहरूलाई पनि फाइदा हुन्छ। तपाईँले खाएको चुरोटको धुवाँले वरपरका मानिसहरूको स्वास्थ्यमा असर गर्छ। अरूले खाएको चुरोटको धुवाँले गर्दा वर्षेनी हजारौँ मानिसहरूले फोक्सोको क्यान्सर र मुटु रोगको कारण ज्यान गुमाउनु परेको अध्ययनले देखाएको छ।—अमेरिकन क्यान्सर सोसाइटी।
तपाईँलाई जीवन दिनुहुने सृष्टिकर्तालाई खुसी लाग्छ। “हे प्रियहरू हो, ... तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहेर आफूलाई शुद्ध पारौँ।” (२ कोरिन्थी ७:१) “आफ्नो शरीरलाई . . . पवित्र अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्वरलाई अर्पण गर।”—रोमी १२:१.
“शरीरलाई अशुद्ध पार्ने कुराहरूलाई परमेश्वर घृणा गर्नुहुन्छ भनेर थाह पाए पछि मेलै चुरोट छोड्ने निर्णय गरेँ।” स्पेनकी सिल्भिया भन्छिन्।
तर चुरोट छोड्न मनोबल भएर मात्र पुग्दैन। हामीलाई आफ्नो परिवार र साथीभाइको पनि मदत चाहिन सक्छ। तिनीहरूले तपाईँलाई कसरी मदत गर्न सक्छन्?
-
-
मदत माग्नुहोस्ब्यूँझनुहोस्!—२०१० | मे
-
-
मदत माग्नुहोस्
“कोही एक्लै छ भने उसलाई शत्रुले हराउन सक्छ। तर दुई जना मिलेर त शत्रुको प्रतिकार गर्न सक्छन्।”—उपदेशक ४:१२.
हामीलाई मदत गर्ने कोही छ भने चाहे हाम्रो शत्रु जोसुकै वा जेसुकै किन नहोस् हामी त्यसलाई हराउन सक्छौँ। त्यसैले आफ्नो कुलत माथि विजय हासिल गर्न परिवार, साथीभाइ अथवा धीरजी भएर तपाईँलाई साँच्चिकै मदत गर्न चाहने अरू व्यक्तिको मदत लिनु बुद्धिमानी कुरा हो।
सकिन्छ भने धूम्रपान छोड्न सफल भएका मानिसहरूको मदत खोज्नुहोस्। किनभने तिनीहरूले तपाईँको पीडा बुझ्न सक्छन् र मदत पनि गर्न सक्छन्। डेनमार्कका तोर्बेन यसो भन्छन्, “धूम्रपान छोड्न अरूको मदत नभई हुँदैन।” इन्डियाका अब्राहाम लेख्छन्, “मेरो परिवार र सङ्गी उपासकहरूको साँचो मायाले गर्दा मैले चुरोट छोड्न सकेँ।” तर कहिलेकाहीँ परिवार र साथीभाइको मदत भएर मात्र पुग्दैन।
भगवान्दास यसो भन्छन्, “मैले २७-२७ वर्षसम्म चुरोट पिएँ। तर बाइबल पढे पछि मैले चुरोट छोड्ने निर्णय गरेँ। मैले चुरोट कम गर्न कोसिस गरेँ, साथीसङ्गत फेरेँ र डाक्टरको मदत लिनसमेत गएँ। केही सीप नलागे पछि एक रात मैले यहोवा परमेश्वरलाई मन खोलेर प्रार्थना गरेँ र मदत मागेँ। त्यसपछि बल्ल सफल भएँ।
तपाईँले चुरोट छोड्न थालेपछि थुप्रै बाधाहरू पक्कै आउनेछन्। ती बाधाहरू के हुन् र कसरी ती बाधाहरू पार गर्न सकिन्छ, अर्को लेख पढ्नुहोस्।
[पेटी]
चुरोट छोड्न कुनै उपचार खोज्नु ठीक होला?
आजभोलि चुरोट छोड्न मदत गर्ने थुप्रै उपचारहरू पाइन्छ जस्तै निकोटिन प्याच। यस्ता उपचारहरूले करोडौँ रुपैयाँ कमाइरहेका छन्। यस्ता उपचारहरूबारे सोच्दै हुनुहुन्छ भने पहिला यी कुराहरू विचार गर्नुहोस्:
फाइदाहरू के-के छन्? थुप्रै उपचार विधिहरूले चुरोट खान छोड्नेबित्तिकै देखा पर्ने लक्षणहरूलाई कम गरेर फेरि चुरोटको लतमा फस्नदेखि रोक्ने दाबी गर्छन्। यस्ता उपचारहरूले केही फाइदा पुऱ्याए पनि दीर्घकालीन फाइदा पुऱ्याउने कुरामा भने शङ्कै छ।
खतराहरू के-के छन्? कुनै-कुनै उपचारविधिका साइड इफेक्टहरू हुन्छन्, जस्तै रिङ्गटा लागेर वाकवाक आउने, डिप्रेसन र आत्महत्या गर्ने सोच। नबिर्सनुहोस्, निकोटिनको सट्टा प्रयोग हुने औषधीहरू पनि एक प्रकारको लागू पदार्थ नै हुन् जसका आफ्नै खतराहरू छन्। वास्तवमा त्यस्ता औषधी लिनेहरू एक किसिमले कुलतमै फसेका हुन्छन्।
अरू उपाय के छ? एउटा सर्वेक्षणले देखाएअनुसार चुरोट चटक्कै छोड्ने ८८ प्रतिशत मानिसहरूले कुनै औषधीको प्रयोग गर्नै परेन।
-
-
बाधाहरूको सामना गर्न तयार हुनुहोस्ब्यूँझनुहोस्!—२०१० | मे
-
-
बाधाहरूको सामना गर्न तयार हुनुहोस्
“हाम्रो बच्चा जन्मिएपछि मैले चुरोट पिउन छोड्ने निर्णय गरेँ। त्यसैले घरमा ‘नो स्मोकिङ’ साइन पनि झुन्ड्याए। तर त्यसको एक घण्टा पनि नबित्दै निकोटिनको सुनामीले मलाई छोप्यो र मैले चुरोट सल्काएँ।”—जापानका योसिमित्सु
कसैले पनि रातारात चुरोट छोड्न सक्दैन भनेर योसिमित्सुको उदाहरणले देखाउँछ। विभिन्न अध्ययनअनुसार चुरोट छोड्न कोसिस गर्ने मानिसहरू फेरि त्यही लतमा फस्छन्। त्यसैले चुरोट छोड्न प्रयास गर्दै हुनुहुन्छ भने आउन सक्ने बाधा अड्चनहरूको सामना गर्न तयार हुनुभयो भने तपाईँ सफल हुन सक्नुहुन्छ। केही बाधाहरू यसप्रकार छन्:
निकोटिनको तलतल: तपाईँले अन्तिम चुरोटको ठुटो निभाएको तीन दिन बित्न नपाउँदै तपाईँलाई निकोटिनको तलतलले सताउन थाल्छ। तर खुसीको कुरो, त्यसको दुई हप्तापछि कम हुँदै जान्छ। “यस बीचमा कहिलेकाहीँ चुरोट पिउने इच्छा छालजस्तै उर्लेर आउँछ” भनेर भूतपूर्व अमली बताउँछन्। चुरोट छोडेको वर्षौँपछि पनि अचानक चुरोट पिउने तलतल लाग्न सक्छ। तर त्यसो भन्दैमा चुरोट नसल्काइहाल्नुहोस्। पाँच/छ मिनेट कुर्नुहोस् तपाईँको त्यस्तो तलतल आफै हराएर जान्छ।
चुरोट छोड्ने बित्तिकै देखापर्ने अरू लक्षणहरू: चुरोट छोड्ने मानिसलाई सुरुमा झपझप निद्रा लाग्ने, कुनै कुरामा ध्यान दिन गाह्रो हुने, शरीरको तौल बढ्ने, शरीर दुख्ने, चिलाउने, विनाकारण पसिना आउने, खोकी लाग्ने, चिढ्चिढ् हुने, झडङ्ङ रिसाउने अनि डिप्रेसनसमेत हुन सक्छ। तर प्रायजसो लक्षणहरू चारदेखि छ हप्तामा हराएर जान्छ।
यस्तो निर्णायक घडीमा तपाईँले केही व्यावहारिक कदम चाल्न सक्नुहुन्छ। जस्तै:
● मज्जाले सुत्नुहोस्।
● प्रशस्त पानी वा जुस पिउनुहोस्। स्वस्थकर खाना खानुहोस्।
● हल्काफुल्का व्यायाम गर्नुहोस्।
● कुनै सुन्दर ठाउँमा उभिरहेको कल्पना गर्दै लामो सास लिनुहोस्।
ट्रिगर गर्ने तत्व: केही गतिविधि वा भावनाले चुरोटको तलतली जगाउन सक्छ। उदाहरणको लागि, पहिला चिया वा अन्य पेयपदार्थ पिउँदा चुरोट पनि पिउनुहुन्थ्यो भने अहिले चिया पिउँदा तपाईँलाई चुरोटको तलतली लाग्न सक्छ। त्यसैले चुरोट छोड्ने प्रयास गर्दै हुनुहुन्छ भने स्वाद लिईलिई चिया पिउने नगर्नुहोस्। समय बित्दै गएपछि चुरोटको तलतली महसुस नगरीकनै चियाको चुस्कीको मजा लिन सक्नुहुन्छ।
तपाईँले चुरोट छोडेको वर्षौँ भइसकेपछि पनि चिया पिउँदा चुरोटको तलतली रहिरहन सक्छ। तोर्बेन भन्छन्: “मैले चुरोट पिउन छोडेको १९ वर्ष भइसक्यो तैपनि कफी पिउने बेला मलाई चुरोटको याद आउँछ।” तैपनि सामान्यतया भन्नुपर्दा तपाईँ पहिला चुरोट पिउँदा जे-जे गर्नुहुन्थ्यो ती कुराहरूले समय बित्दै गएपछि चुरोट पिउने तलतली जगाउने सम्भावना कम हुँदै जान्छ।
तर रक्सीको सन्दर्भमा यो कुरा लागू हुँदैन। चुरोट छोड्ने प्रयास गर्दै हुनुहुन्छ भने रक्सी पनि छोड्नुपर्छ र रक्सी पाइने ठाउँमा पाइला समेत टेक्नु हुँदैन। किनभने रक्सी पिउन थालेपछि धेरैजसो मानिसहरू चुरोटको कुलतमा फेरि फस्छन्। किन?
● रक्सीको थोरै मात्राले पनि निकोटिनबाट पाइने आनन्दलाई बढाइदिन सक्छ।
● साथीभाइसित बसेर रक्सी पिउन थाल्दा अक्सर मानिसहरू चुरोट पिएकै हुन्छन्।
● मादक पेय पदार्थले सोच्ने क्षमता र निःसङ्कोचको भावनालाई पनि कमजोर बनाउँछ। बाइबलले त्यसै यसो भनेको होइन: “मद्यले सही काम गर्ने इच्छालाई कमजोर बनाउँछ।”—होसे ४:११.
साथीसङ्गत: कोसँग सङ्गत गर्दै हुनुहुन्छ होसियार हुनुहोस्। चुरोट पिउने वा तपाईँलाई चुरोट पिउन दबाब दिनेहरूसित ज्यादै घुलमिल नगर्नुहोस्। साथै तपाईँलाई चुरोट पिउन छोड्न हौसला नदिनेहरू अथवा तपाईँलाई जिस्क्याउनेहरूको छेउमै नपर्नुहोस्।
भावना: एउटा अध्ययनले देखाएअनुसार दुई तिहाइ मानिसहरू तनावमा परेको बेला वा रिस उठेको बेला फेरि चुरोट तान्न सुरु गरेको पाइएको छ। यदि तपाईँको मनमा उत्पन्न हुने कुनै भावनाले गर्दा चुरोट पिउन मन लाग्यो भने त्यतिबेला पानी पिउनुहोस्, चुइङगम चपाउनुहोस् अथवा कतै टहल्न निस्कनुहोस्। नकारात्मक कुराहरू मनमा खेल्न नदिनुहोस्। परमेश्वरलाई प्रार्थना गर्नुहोस् अथवा बाइबलका केही पानाहरू पढ्नुहोस्।—भजन १९:१४.
बहानाहरू नखोज्नुहोस्
● म एक सर्को मात्र तान्छु।
वास्तविकता: तपाईँले तान्ने एक सर्कोले निकोटिनका भोका स्नायुहरूलाई ५० प्रतिशतसम्म मात्र तृप्त पार्छ, त्यो पनि तीन घण्टासम्म मात्र। त्यसैले एक सर्को तान्ने व्यक्तिलाई पूरै एक खिल्ली चुरोट सिध्याउन कतिबेर पनि लाग्दैन।
● चुरोट तान्दा म तनाव कम भएको महसुस गर्छु।
वास्तविकता: अध्ययनहरूले देखाएअनुसार निकोटिनले तनाव गराउने हार्मोनहरू बढाउँछ। वास्तवमा तपाईँले चुरोटको सर्को तान्दा तनाव कम भएको होइन तर तलतली मेटिएकोले क्षणभरको लागि हल्का महसुस भएको मात्र हो।
● अब त धेरै ढिलो भइसक्यो।
वास्तविकता: नकारात्मक सोचाइले इच्छाशक्तिलाई कमजोर बनाउँछ। बाइबल यसो भन्छ: “विपत्को दिनमा तिमी निराश भयौ भने तिम्रो बल घट्नेछ।” (हितोपदेश २४:१०) त्यसैले हरुवा सोचाइलाई पाखा लगाउनुहोस्। साँच्चै चुरोट छोड्न चाहने अनि यस पत्रिकामा बताइएको व्यावहारिक सुझाव लागू गर्न चाहने जो-कसैले चुरोट छोड्न सक्छ।
● चुरोट छोड्नेबित्तिकै मलाई असाध्यै छटपटी हुन्छ।
वास्तविकता: हो, चुरोट छोड्ने बित्तिकै धेरै छटपटी हुन्छ तर केही हप्तामै त्यो कम भएर जान्छ। त्यसैले हार नमान्नुहोस्, अड्डी कसेर बस्नुहोस्। केही महिना वा वर्षपछि चुरोट पिउन मन लाग्यो भने त्यो केही मिनेटमै ठीक भइहाल्छ, यदि तपाईँले चुरोट सल्काउनुभएन भने।
● मलाई मानसिक समस्या छ।
वास्तविकता: तपाईँलाई डिप्रेसन वा स्कित्जोफ्रेनियाजस्तो मानसिक समस्या छ भने चुरोट छोड्न डाक्टरको मदत माग्नुहोस्। तपाईँले चुरोट छोड्दा त्यसले पार्न सक्ने असरलाई ध्यानमा राख्दै तिनले तपाईँको उपचार वा औषधीमा केही छाँटकाँट गर्नेछन्।
● मलाई लामो समयसम्म चुरोट छोड्न सक्छु जस्तो लाग्दैन।
वास्तविकता: चुरोट छोड्न चाहने प्रायजसो मानिसहरू बीचबीचमा असफल हुन्छन्। तपाईँले पनि त्यसैगरि असफल भएर चुरोट सल्काउनुभयो भने हरेस नखानुहोस्। फेरि कोसिस गर्नुहोस्। एकचोटि असफल भयो भन्दैमा आशा नमार्नुहोस्। कोसिस गर्दै नगर्नुचाहिँ असफलता हो। त्यसैले उठ्नुहोस् र फेरि कोसिस गर्नुहोस्। अन्तमा एक दिन तपाईँ सफल भएरै छोड्नुहुनेछ।
छब्बीस-छब्बीस वर्षसम्म धूम्रपान गरेका रोमुआल्डोको अनुभव विचार गर्नुहोस्। तिनी यस्तो लेख्छन्: “मैले कतिचोटि छोडे अनि कति चोटि फेरि सुरु गरे गनेर साध्य छैन। हरेक चोटि फेरि कुलतमा फस्दा मलाई आफैदेखि दिक्क लाग्थ्यो। तर यहोवासित बलियो सम्बन्ध गाँस्ने मैले निर्णय गरेँ र प्रार्थना गरेर उहाँसित मदत मागेँ। त्यसपछि बल्ल मैले धूम्रपान छोड्न सकेँ।” अहिले तिनले धूम्रपान छोडेको ३० वर्षभन्दा बढी भइसक्यो।
अब हामी अन्तिम लेखमा केही व्यावहारिक सुझावहरू विचार गर्नेछौँ। हामीलाई पक्का विश्वास छ, यी सुझावहरूले तपाईँलाई धूम्रपान छोड्न मदत गर्नेछ।
[पेटी/चित्र]
जसरी खाए पनि ज्यान लिन्छ
अचेल बजारमा विभिन्न सुर्तीजन्य पदार्थ पाइन्छ। आयुर्वेदिक पसलहरूमा समेत सुर्तीबाट बनाइएका औषधीहरू बेचिन्छन्। तर सुर्तीबाट बनाइएको जुनसुकै कुरा स्वास्थ्यको लागि हानिकारक छ भनेर विश्व स्वास्थ्य सङ्घले बताएको छ। सुर्ती सेवन गर्दा लाग्ने विभिन्न रोगहरू जस्तै क्यान्सर र मुटुसम्बन्धी रोगहरूले हाम्रो ज्यान लिन सक्छ। धूम्रपान गर्ने आमाले गर्भमा रहेको बच्चाको ज्यानसमेत खतरामा पारिरहेकी हुन्छिन्। अचेल बजारमा कस्ता सुर्तीजन्य पदार्थहरू पाइन्छ?
बिडी: एसिया महादेशको थुप्रै देशमा बिडी लोकप्रिय छ। बिडी सुर्तीको पातलाई हातैले बेरेर बनाइन्छ। साधारण चुरोटमा भन्दा बिडीमा धेरै मात्रामा तार, निकोटिन र कार्बन मोनोअक्साइड हुन्छ।
सिगार: सुर्तीको पातमा वा कागजमा सुर्तीको धुलोलाई कस्सिएर बेरेर सिगार बनाइन्छ। चुरोटमा पाइने सुर्ती एसिडिक हुन्छ भने सिगारमा पाइने सुर्ती अल्कालाइन हुन्छ। त्यसैले सिगार नसल्काइकन मुखमा च्यापेर राख्दा पनि निकोटिन शरीरभित्र जान्छ।
ल्वाङ मिसाइएको चुरोट: यी चुरोटहरूमा ६० प्रतिशत सुर्ती र ४० प्रतिशत ल्वाङ मिसाइएको हुन्छ। इन्डोनेसियमा यस्तो चुरोट निकै लोकप्रिय छ। बिडीमा जस्तै यस्तो चुरोटमा निकोटिन र कार्बन मोनोअक्साइड धेरै हुन्छ।
पाइप: धेरै मानिसहरूलाई चुरोटभन्दा पाइप सुरक्षित छ जस्तो लाग्छ। तर पाइपले पनि चुरोटले जस्तै क्यान्सर र अन्य रोगहरू निम्त्याउँछ।
खैनी, गुट्खा: दक्षिणपूर्व एसियामा यस्ता सुर्तीजन्य पदार्थ निकै लोकप्रिय छ। मुखमा च्यापेको सुर्तीबाट निकोटिन शरीरमा प्रवेश गर्छ। खैनी, गुट्खा पनि सुर्तीबाट बनाइएका अरू पदार्थहरू जत्तिकै हानिकारक हुन्छ।
हुक्का: सुर्तीको धुवाँ पानी हुँदै मुखसम्म पुग्ने भए तापनि यसले सुर्तीमा पाइने विषाक्त पदार्थलाई कम गर्दैन जसले क्यान्सरलगायत थुप्रै रोगहरू निम्त्याउँछ।
[पेटी/चित्र]
कसैलाई धूम्रपान छोड्न मदत गर्दै हुनुहुन्छ भने
● सकारात्मक हुनुहोस्। कचकच गर्नु वा भाषण छाँट्नुभन्दा प्रशंसा गर्नु अनि इनाम दिनु अझ प्रभावकारी हुन्छ। “तिमीले सक्दैनौ भनेर मलाई पहिल्यै थाह थियो” भन्नुभन्दा “कोसिस गर्दै गर तिमीले पक्कै सक्छौ” भन्ने शब्दहरूले अझ हौसला दिन्छ।
● अवस्था बुझ्ने कोसिस गर्नुहोस्। चुरोट छोड्न प्रयास गरिरहेको व्यक्तिले तपाईँमाथी आफ्नो भडास पोख्यो भने उसको अवस्था बुझ्ने कोसिस गर्नुहोस्। दयालु हुँदै यस्तै केही भन्नुहोस् “तिमीलाई कत्ति गाह्रो भइरहेको छ मलाई थाह छ।” कहिल्यै यसो नभन्नुहोस् “चुरोट पिउँदा खेरि नै तिमी ठीक थियौ।”
● साथ दिन कहिल्यै नछोड्नुहोस्। बाइबल यसो भन्छ: “साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।” (हितोपदेश १७:१७) चुरोट छोड्न प्रयास गरिरहेको व्यक्तिको जुनसुकै बेला मुड परिवर्तन हुन सक्छ। त्यस्तो बेला धीरजी हुनुहोस् र तिनलाई सधैँ माया गरिरहनुहोस्।
-
-
तपाईँले विजय हासिल गर्न सक्नुहुन्छ!ब्यूँझनुहोस्!—२०१० | मे
-
-
तपाईँले विजय हासिल गर्न सक्नुहुन्छ!
अब तपाईँले ‘साहसी हुने र आफ्नो काम थाल्ने’ समय आएको छ। (१ इतिहास २८:१०) चुरोटमाथि विजयी हुन तपाईँले कस्ता अन्तिम कदमहरू चाल्न सक्नुहुन्छ?
मिति तोक्नुहोस्। अमेरिकी सरकारको स्वास्थ्य मन्त्रालयले सिफारिस गरेअनुसार चुरोट छोड्ने निर्णय गरेको दुई हप्ताभित्र एउटा दिन तोक्नुहोस्। त्यही दिन चुरोट छोड्नुहोस्। दुई हप्ताभित्र मिति तोक्नुभयो भने तपाईँको जाँगर सेलाउनेछैन। क्यालेन्डरमा एउटा दिन तोक्नुहोस् र साथीहरूलाई भन्नुहोस्। चाहे परिस्थिति जस्तोसुकै होस्, आफूले तोकेकै दिन चुरोट छोड्नुहोस्।
लेखेरै राख्नुहोस्। कार्डमा वा एउटा सफा पानामा आफूलाई चाहिने जानकारी लेख्नुहोस्:
● चुरोट छोड्नुको कारण
● चुरोटको तलतल लागेमा मदत गर्न सक्ने व्यक्तिको फोन नम्बर
● प्रोत्साहनजनक कुरा, जस्तै: गलाती ५:२२, २३ मा पाइने शब्दहरू। यसो गर्नुभयो भने तपाईँको अठोट ढलपल हुन पाउनेछैन।
त्यो कार्ड वा कागजको पानालाई हरबखत आफैसँग राख्नुहोस् र बेलाबेलामा पढ्नुहोस्। तपाईँले चुरोट छोडेको धेरै समय भइसके तापनि कहिलेकाहीँ तलतल लाग्न सक्छ। त्यतिबेला त्यो कार्ड वा पानामा लेखिएको कुरा सम्झनुहोस्।
चुरोटको याद दिलाउने गतिविधिहरूलाई एक-एक गरी छोड्दै जानुहोस्। तपाईँले क्यालेन्डरमा तोकेको मिति अगावै आफ्नो बानीहरू हटाउँदै लैजानुहोस्। जस्तै, बिहान उठ्नेबित्तिकै चुरोट पिउने बानी छ भने एक-दुई घण्टा कुर्नुहोस्। खाना खाँदै वा खानेबित्तिकै चुरोट पिउने बानी छ भने पनि एक-दुई घण्टा कुर्नुहोस्। अरूले चुरोट पिइरहेको ठाउँमा नजानुहोस्। यदि कसैले चुरोट दिएमा वा मागेमा ठूलो स्वरले यसो भन्नुहोस्, “होइन ठीक छ, मैले चुरोट पिउन छोडिसकेँ।” यस्ता कदमहरू चाल्नुभयो भने आफूले तोकेको दिन नजिक आइपुग्दा तपाईँ चुरोट छोड्न तयार भइसकेको हुनेछ।
तयार हुनुहोस्। जति-जति तोकेको दिन नजिक आउँदै गर्छ चुरोटको तलतल लाग्दा तपाईँलाई खान मन पर्ने कुराहरू जम्मा गर्न थाल्नुहोस्। जस्तै, चुइङगम, बदाम-पिस्ता, काटेको फलफूल वा गाजर। साथीभाइ अनि परिवारका सदस्यलाई आफूले तोकेको दिन बताउनुहोस् र तिनीहरूले कसरी मदत गर्न सक्छन् भनेर पनि बताउनुहोस्। ठ्याक्क एक दिनअघि घरमा भएको आस्ट्रे, लाइटर फ्याँकिदिनुहोस्। दराजको माथि, खाटको मुनि, खल्तीमा वा काम गर्ने ठाउँमा कतै चुरोट लुकाएर राख्नुभएको छ भने त्यो पनि जम्मा गरेर फ्याँकिदिनुहोस्। यसरी सजिलै भेट्ने ठाउँमा चुरोट राख्नुभएको छैन भने साथीलाई माग्ने वा पसलमा गएर चुरोटको प्याक किन्ने जाँगर पनि कम हुँदै जान्छ। अन्तिम सर्को तानेर चुरोट मिल्काएपछि परमेश्वरलाई मदतको लागि खुरन्धार बिन्ती गरिरहनुहोस्।—लुका ११:१३.
थुप्रै मानिसहरू आफ्नो पुरानो तर खराब साथी चुरोटसितको नाता तोड्न सफल भएका छन्। त्यसैले तपाईँले पनि सक्नुहुन्छ। अन्ततः वर्षौँदेखि जकडेर राखेको कुलतको सिक्रीबाट तपाईँ मुक्त हुनुहुनेछ र तपाईँको स्वास्थ्य पनि राम्रो हुनेछ।
[चित्र]
आफूले लेखेको कार्ड वा कागजको पाना हरबखत आफैसँग राख्नुहोस् र बेलाबेलामा पढ्नुहोस्
-