-
१ प्रार्थना किन गर्नुपर्छ?प्रहरीधरहरा—२०१० | नोभेम्बर १
-
-
१ प्रार्थना किन गर्नुपर्छ?
प्रार्थना—यसले जत्तिको चासो र कौतूहलता जगाउने बाइबल विषय सायद कमै होला। साधारणतया मानिसहरूले प्रार्थनाबारे सोध्ने सातवटा प्रश्नबारे पहिला विचार गरौं अनि त्यसपछि बाइबलले यसको जवाफ कसरी दिन्छ, त्यो जाँचौं। प्रार्थना गर्न थाल्न वा प्रार्थनाको गुणस्तर बढाउन तपाईंलाई मदत दिने हेतुले यी लेखहरू तयार पारिएका हुन्।
संसारका सबै संस्कृति अनि धर्मका मानिसहरू प्रार्थना गर्ने गर्छन्। तिनीहरू एक्लै अनि सामूहिक रूपमा पनि प्रार्थना गर्छन्। तिनीहरू चर्च, मन्दिर, सभाघर, मस्जिद वा तीर्थस्थलमा गएर प्रार्थना गर्ने गर्छन्। तिनीहरू प्रार्थना-चकटी, जपमाला, माने, मूर्ति, प्रार्थना-किताब वा स-साना प्रार्थना-पाटी प्रयोग गरेर प्रार्थना गर्ने गर्छन्।
मानिस र जीवजन्तुबीचको एउटा भिन्नता भनेको प्रार्थना हो। हुनत मानिस र पशुबीच धेरै समानता छन्। पशुलाई जस्तै हामीलाई पनि भोजन, हावा अनि पानी चाहिन्छ। तिनीहरूजस्तै हामी पनि जन्मन्छौं, जिउँछौं अनि मर्छौं। (उपदेशक ३:१९) तर प्रार्थनाचाहिं मानिसले मात्र गर्छ। किन?
यसको सबैभन्दा सरल जवाफ यही होला: प्रार्थना हाम्रो आधारभूत आवश्यकता हो। हुन पनि, आम मानिसको विचारमा प्रार्थना भनेको आफूले पवित्र, शुद्ध र अविनाशी ठानेको कुरासम्म पुग्ने माध्यम हो। यस्तो चाहनासहित हामी सृष्टि गरिएका छौं भनी बाइबल बताउँछ। (उपदेशक ३:११) येशू ख्रीष्टले एकचोटि यसो भन्नुभएको थियो: “धन्य आत्मामा दरिद्र हुनेहरू।”—मत्ती ५:३.
मानिसहरूले भव्य धार्मिक भवन र कलाकृतिहरू बनाएका छन् अनि प्रार्थना गर्न घण्टौं समय बिताएका छन्। के यसले मानिसहरू “आत्मामा दरिद्र” अर्थात् आध्यात्मिक आवश्यकताप्रति सजग भएको प्रमाण दिंदैन र? आध्यात्मिक आवश्यकता पूरा गर्न केही मानिस आफैमा वा अरूमा भर पर्ने गर्छन्। तर अरूलाई मदत दिने सन्दर्भमा मानिसले गर्न सक्ने कुरा एकदमै सीमित छ। के तपाईंलाई पनि त्यस्तो लाग्दैन र? हामी एकदमै कमजोर छौं, हाम्रो आयु छोटो छ अनि भविष्यको कुरा हामीलाई थाह छैन। हामीभन्दा धेरै बुद्धिमान्, शक्तिशाली अनि अविनाशी व्यक्तिले मात्र हाम्रो आवश्यकता पूरा गर्न सक्छन्। त्यसोभए कस्ता आध्यात्मिक आवश्यकताले हामीलाई प्रार्थना गर्न झकझकाउँछ?
विचार गर्नुहोस्: के तपाईंले कहिल्यै डोऱ्याइ अनि बुद्धिको तीव्र इच्छा गर्नुभएको छ वा मानव समझले नभ्याउने प्रश्नहरूको जवाफ खोज्नुभएको छ? ठूलो चोट सहनुपर्दा सान्त्वना, कठिन निर्णय गर्नुपर्दा डोऱ्याइ वा दोषी भावनाले पिरोलिंदा क्षमाको खाँचो परेको के तपाईंले महसुस गर्नुभएको छ?
यस्तो अवस्थामा प्रार्थना गर्नुपर्ने ठोस कारण छ भनी बाइबल बताउँछ। प्रार्थनाको विषयमा बाइबल सबैभन्दा भरपर्दो किताब हो। यसमा थुप्रै विश्वासी पुरुष तथा स्त्रीका प्रार्थनाहरू पाइन्छन्। तिनीहरूले सान्त्वना, डोऱ्याइ, क्षमा र अत्यन्तै कठिन प्रश्नका जवाफ पाउन प्रार्थना गरे।—भजन २३:३; ७१:२१; दानियल ९:४, ५, १९; हबकूक १:३.
यी प्रार्थनाहरू फरक-फरक भए तापनि एउटा कुरामा भने समानता थियो। त्यो हो, प्रार्थना कसलाई गर्नुपर्छ भनेर तिनीहरूलाई थाह थियो। प्रार्थना अर्थपूर्ण बनाउन यो कुरा बुझ्नु आवश्यक छ। तर अहिलेका मानिसहरूले भने त्यो बुझेका छैनन् र त्यति वास्ता पनि गर्दैनन्। ( w10 -E 10/01)
-
-
२ प्रार्थना कसलाई गर्नुपर्छ?प्रहरीधरहरा—२०१० | नोभेम्बर १
-
-
२ प्रार्थना कसलाई गर्नुपर्छ?
प्रार्थना जसलाई पुकारेर गरे तापनि एउटै ठाउँमा पुग्ने त हो नि, होइन र? वर्तमान संसारमा मानिसहरू अक्सर यस्तै धारणा राख्छन्। विभिन्न धर्मावलम्बी मिलेर सामूहिक उपासना गर्ने धारणा लोकप्रिय छ अनि यस्तो धारणा रुचाउने मानिसहरू आ-आफ्नो धर्मको भिन्नताको बाबजुद सबै धर्म स्वीकार्य भएको चाहन्छन्। तर के यस्तो धारणा कतै गलत पो हो कि?
थुप्रै प्रार्थना सही ठाउँमा पुगेका छैनन् भनी बाइबल बताउँछ। बाइबल लेखिएको समयमा मानिसहरूले खोपिएका मूर्तिहरूलाई प्रार्थना गर्नु सामान्य थियो। तर परमेश्वरले तिनीहरूलाई बारम्बार त्यसो नगर्नू भनी चेतावनी दिनुभएको थियो। उदाहरणको लागि, भजन ११५:४-६ मा मूर्तिहरूबारे यसो भनिएको छ: “कान छन्, तर सुन्दैनन्।” कुरा स्पष्ट छ: तपाईंको पुकारा सुन्दै नसुन्ने परमेश्वरलाई किन बेकारमा प्रार्थना गर्ने?
यस बुँदालाई बाइबलको एउटा ज्वलन्त विवरणले अझ प्रस्ट पार्छ। साँचो भविष्यवक्ता एलियाले बालका भविष्यवक्ताहरूलाई तिनीहरूको आफ्नो देवलाई पुकार्ने चुनौती दिए। त्यसपछि एलियाले पनि आफ्ना परमेश्वरलाई पुकार्नेथिए। साँचो परमेश्वरले प्रार्थनाको जवाफ दिनुहुनेछ तर झूटो देवले दिनेछैन भनी एलियाले बताए। यो चुनौतीलाई स्वीकार्दै बालका भविष्यवक्ताले रोइकराइ घण्टौंसम्म जोडदार प्रार्थना गरे। तर केही सीप लागेन। बाइबल विवरण यसो भन्छ: “त्यहाँ कुनै आवाज वा जवाफ आएन, न ध्यानै दिइयो।” (१ राजा १८:२९) तर एलियाले प्रार्थना गर्दा भने के भयो?
एलियाले तयार पारेको बलिलाई भस्म पार्न परमेश्वरले आगो बर्साउनुहुँदा तिनको प्रार्थनाको तुरुन्तै जवाफ आएको प्रस्ट भयो। बालका भविष्यवक्ताहरूको र एलियाको प्रार्थनाबीच के भिन्नता थियो? पहिलो राजा १८:३६, ३७ मा लिपिबद्ध एलियाको प्रार्थनामा एउटा महत्त्वपूर्ण छनक पाइन्छ। यो एकदमै छोटो प्रार्थना हो, मौलिक हिब्रू भाषामा लगभग ३० वटा मात्र शब्द प्रयोग भएका छन्। त्यो छोटो प्रार्थनामा एलियाले तीन-तीन चोटि परमेश्वरको व्यक्तिगत नाम यहोवा प्रयोग गरेका छन्।
कनानीहरूका देव बालको अर्थ “मालिक” वा “स्वामी” हो अनि स्थानीय इलाकामा त्यो देव विभिन्न नामले चिनिन्थे। तर यहोवाको नाम भने अनुपम छ र यो नाम ब्रह्माण्डका एक मात्र व्यक्तिलाई प्रयोग गरिएको छ। यही परमेश्वरले आफ्ना जनलाई भन्नुभयो: “म परमप्रभु [“यहोवा,” NW] हुँ, मेरो नाउँ त्यही हो। औ मेरो महिमा म अरूलाई दिनेछैनँ।”—यशैया ४२:८.
के एलियाको र बालका भविष्यवक्ताहरूको प्रार्थना एउटै ठाउँमा पुग्यो? बाल उपासनाले वेश्यावृत्तिको रीतिथिति अनि मानव बलिहरूद्वारा आफ्ना मानिसहरूलाई घृणित तुल्याएको थियो। तर यसको विपरीत यहोवाको उपासनाले आफ्ना जनलाई ती पतित प्रचलनहरूबाट मुक्त गरेर अझ मर्यादित बनाएको थियो। त्यसैले यो उदाहरण विचार गर्नुहोस्: आफ्नो आदरणीय साथीलाई तपाईं पत्र पठाउन चाहनुहुन्छ। के तपाईं त्यो पत्र साह्रै बदनाम भएको र तपाईंको साथीको चिनारीसित पटक्कै मेल नखाने अर्कै नाम भएको व्यक्तिलाई पठाउनुहुन्छ? अहँ, कदापि पठाउनुहुन्न!
यहोवालाई प्रार्थना गर्नु भनेको मानिसजातिको बुबा अर्थात् सृष्टिकर्तालाई प्रार्थना गर्नु हो।a भविष्यवक्ता यशैयाले प्रार्थनामा यसो भने: “तपाईं, हे परमप्रभु [“यहोवा,” NW], हाम्रा पिता हुनुहुन्छ।” (यशैया ६३:१६) यही परमप्रभुबारे येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यसो भन्नुभएको थियो: “म मेरा पिता र तिमीहरूका पिता, औ मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ जान्छु।” (यूहन्ना २०:१७) येशूको बुबा यहोवा हुनुहुन्छ। येशूले प्रार्थना गर्नुभएको परमेश्वर उहाँ नै हुनुहुन्छ अनि येशूले चेलाहरूलाई पनि त्यही परमेश्वरलाई प्रार्थना गर्न सिकाउनुभयो।—मत्ती ६:९.
के बाइबलले येशू, मरियम, सन्तमहन्त वा स्वर्गदूतहरूलाई प्रार्थना गर्न सिकाउँछ? अहँ, सिकाउँदैन। बाइबलले यहोवालाई मात्र प्रार्थना गर्न सिकाउँछ। यसका दुइटा कारण विचार गर्नुहोस्। पहिलो, प्रार्थना उपासनाको भाग हो अनि यहोवालाई मात्र उपासना गर्नुपर्छ भनेर बाइबल बताउँछ। (प्रस्थान २०:५) दोस्रो, बाइबलमा उहाँलाई “प्रार्थना सुन्नुहुने” परमेश्वर भन्ने उपाधि दिइएको छ। (भजन ६५:२) यहोवाले अरूलाई थुप्रै जिम्मेवारी दिनुभएको छ तर प्रार्थना सुन्ने काम भने उहाँले अरू कसैलाई कहिल्यै दिनुभएको छैन। उहाँ नै एकमात्र परमेश्वर हुनुहुन्छ जसले हाम्रो प्रार्थना आफैले सुन्ने प्रतिज्ञा गर्नुभएको छ।
यदि तपाईंको प्रार्थना परमेश्वरले सुनेको चाहनुहुन्छ भने धर्मशास्त्रको यो सल्लाह नबिर्सनुहोस्: “जसले परमप्रभुको [“यहोवाको,” NW] नाउँ लिनेछ, त्यसले उद्धार पाउनेछ।” (प्रेरित २:२१) तर के यहोवाले विनासर्त सबै प्रार्थना सुन्नुहुन्छ? हाम्रो प्रार्थना यहोवाले सुनेको चाहन्छौं भने हामीले जान्नुपर्ने अरू केही कुरा छन् कि? ( w10 -E 10/01)
[फुटनोट]
a कुनै-कुनै धार्मिक परम्पराअनुसार परमेश्वरको व्यक्तिगत नाम प्रार्थनामा समेत उच्चारण गर्नु गलत हो। तथापि बाइबल लेखिएका मौलिक भाषाहरूमा परमेश्वरको नाम लगभग ७,००० चोटि उल्लेख गरिएका छन्। यहोवाका विश्वासी सेवकहरूले लेखेका प्रार्थना र भजनमा परमेश्वरको नाम थुप्रै चोटि उल्लेख गरेको पाइन्छ।
-
-
३ प्रार्थना कसरी गर्नुपर्छ?प्रहरीधरहरा—२०१० | नोभेम्बर १
-
-
३ प्रार्थना कसरी गर्नुपर्छ?
थुप्रै धर्मले प्रार्थना गर्दाको आसन, शब्द र रीतिमा बढी ध्यान दिन्छन्। तथापि बाइबलले हामीलाई ती बुँदाहरू पन्छाएर अर्कै महत्त्वपूर्ण पक्ष अर्थात् “हामीले कसरी प्रार्थना गर्नुपर्छ?” भन्ने बुँदामा ध्यान दिन मदत गर्छ।
परमेश्वरका विश्वासी सेवकहरूले विभिन्न अवस्था र आसनमा प्रार्थना गरेको विवरण बाइबलमा पाइन्छ। तिनीहरूले परिस्थितिअनुसार कहिले मनमनै त कहिले ठूलो स्वरले प्रार्थना गरे। कहिले माथि आकाशमा हेरेर गरे त कहिले भुइँमा घोप्टो परेर। तिनीहरूले मूर्ति, जपमाला वा प्रार्थना-किताब प्रयोग गर्नुको साटो आफ्नै शब्दमा मनैदेखि प्रार्थना गरे। तिनीहरूको प्रार्थना प्रभावकारी हुनुको कारण के थियो?
अघिल्लो लेखमा बताइएझैं तिनीहरूले एकमात्र परमेश्वर यहोवालाई प्रार्थना गरे। तर अर्को एउटा महत्त्वपूर्ण पक्ष पनि छ। त्यसबारे पहिलो यूहन्ना ५:१४ मा यसो भनिएको छ: “उहाँमा भएको हाम्रा हिम्मत यही हो, कि उहाँको इच्छाबमोजिम हामीले उहाँसँग जे कुरा मागे पनि उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ।” हामीले परमेश्वरको इच्छाबमोजिम प्रार्थना गर्नुपर्छ। यसको अर्थ के हो?
परमेश्वरको इच्छाबमोजिम प्रार्थना गर्न उहाँको इच्छा के हो, त्यो हामीले थाह पाउनुपर्छ। त्यसैले प्रार्थनाको एउटा अत्यावश्यक तत्त्व भनेको बाइबलको अध्ययन हो। के यसको मतलब हामी बाइबल विज्ञ भयौं भने मात्र उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्छ भनेको हो? त्यसो त होइन किनभने हामीले उहाँको इच्छा बुझ्न अनि त्यसैअनुसार चल्न उहाँको इच्छा के हो भनेर जानेको परमेश्वर चाहनुहुन्छ। (मत्ती ७:२१-२३) आफूले सिकेको कुराअनुसार हामीले प्रार्थना गर्नुपर्छ।
यहोवा र उहाँको इच्छाबारे सिक्दै जाँदा हाम्रो विश्वास पनि बढ्दै जान्छ र यो प्रार्थनाको अर्को अत्यावश्यक तत्त्व हो। येशूले भन्नुभयो: “विश्वास गरेर जे पनि प्रार्थनामा मागौला त्यो तिमीहरूले पाउनेछौ।” (मत्ती २१:२२) विश्वास भनेको अन्धाधुन्ध पत्याउनु होइन। बरु आफूले नदेखेको कुरा भए तापनि बलियो प्रमाणको आधारमा पत्याउनु हो। (हिब्रू ११:१) यहोवालाई हामी देख्न सक्दैनौं तर उहाँ वास्तविक अनि भरपर्दो व्यक्ति हुनुहुन्छ र उहाँमा विश्वास राख्नेहरूको प्रार्थनाको जवाफ दिन उहाँ इच्छुक हुनुहुन्छ भन्ने प्रशस्त प्रमाण बाइबलमा पाइन्छ। साथै हाम्रो विश्वास बढाइदिनुहोस् भनेर हामी यहोवालाई सधैं प्रार्थना गर्न सक्छौं अनि हामीलाई जे चाहिन्छ, त्यो दिन उहाँ खुसी हुनुहुन्छ।—लूका १७:५; याकूब १:१७.
प्रार्थना गर्ने सन्दर्भमा अर्को एउटा अत्यावश्यक तत्त्व पनि छ। त्यसबारे येशूले भन्नुभयो: “मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्तैन।” (यूहन्ना १४:६) अतः हाम्रो बुबा यहोवाकहाँ पुग्ने माध्यम येशू हुनुहुन्छ। त्यसैले येशूले आफ्ना चेलाहरूलाई उहाँको नाममा प्रार्थना गर्न सिकाउनुभयो। (यूहन्ना १४:१३; १५:१६) यसको मतलब हामीले येशूलाई प्रार्थना गर्नुपर्छ भनेको होइन। बरु हाम्रो सिद्ध तथा पवित्र बुबाकहाँ पुग्ने माध्यम येशू नै हुनुहुन्छ भनेर सम्झँदै येशूको नाममा प्रार्थना गर्नुपर्छ।
येशूका घनिष्ठ चेलाहरूले एक चोटि उहाँलाई सोधेका थिए: ‘हे प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्।’ (लूका ११:१) स्पष्टतः हामीले भर्खरै छलफल गरेका आधारभूत कुराहरूबारे तिनीहरूले जान्न चाहेका थिएनन्। तर प्रार्थनामा कस्ता विषयहरू समावेश गर्ने अर्थात् भनौं भने, ‘हामीले कस्ता विषयमा प्रार्थना गर्नुपर्छ?’ भनेर तिनीहरू जान्न खोज्दैथिए। ( w10 -E 10/01)
[पृष्ठ ६-मा भएको चित्र]
परमेश्वरको इच्छाबमोजिम, विश्वासका साथ अनि येशूको नाममा गरिएका प्रार्थनाहरू प्रभावकारी हुन्छन्
-
-
४ प्रार्थना कस्ता विषयमा गर्नुपर्छ?प्रहरीधरहरा—२०१० | नोभेम्बर १
-
-
४ प्रार्थना कस्ता विषयमा गर्नुपर्छ?
ख्रीष्टियान प्रार्थनाहरूमध्ये येशूको नमुना प्रार्थना सबैभन्दा व्यापक तवरमा गरिने प्रार्थना मानिन्छ, जसलाई “प्रभुको प्रार्थना” वा “हाम्रो पिता” पनि भनिन्छ। यो प्रार्थना व्यापक तवरमा गरिन्छ कि गरिंदैन, त्यो त पक्का छैन तर यसको एकदमै गलत अर्थ भने लगाइएको छ। लाखौं मानिसले यो प्रार्थना कण्ठ गरेर दिनमा धेरै चोटि बर्बराउँछन्। तर त्यसरी प्रार्थना गरोस् भनेर येशूले कहिल्यै चाहनुभएको थिएन। यो हामी कसरी भन्न सक्छौं?
नमुना प्रार्थनाबारे बताउनुअघि येशूले भन्नुभयो: “प्रार्थना गर्दा . . . व्यर्थै नबरबराऊ।” (मत्ती ६:७) तर येशूले “यस किसिमले प्रार्थना गर” भन्नुभएको हुँदा त्यही शब्द कण्ठ गर्नुपर्ने वा त्यही शब्द दोहोऱ्याउनुपर्ने जस्तो भएन र? पटक्कै भएन! येशूले वास्तवमा कुन विषयमा प्रार्थना गर्ने भनेर सिकाउँदै हुनुहुन्थ्यो। अनि प्रार्थनामा कुन कुरालाई प्रथम स्थान दिनुपर्छ भनेर प्रस्ट पार्दै हुनुहुन्थ्यो। अब उहाँले भन्नुभएको कुरालाई केलाएर हेरौं। यो प्रार्थना मत्ती ६:९-१३ मा लिपिबद्ध छ।
येशूको नमुना प्रार्थनामा समेटिएका मुख्य बुँदाहरूलाई हामीले छोटकरीमा विचार गऱ्यौं तर प्रार्थना गर्न सकिने हरेक विषयबारे भने बताइएको छैन। पहिलो यूहन्ना ५:१४ ले परमेश्वरबारे यसो भन्छ: “उहाँको इच्छाबमोजिम हामीले उहाँसँग जे कुरा मागे पनि उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ।” त्यसैले आफ्ना समस्याहरू अति मामुली भएकाले यहोवासमक्ष राख्न मिल्दैन होला भन्ने चिन्ता नगर्नुहोस्।—१ पत्रुस ५:७.
उसोभए कहिले र कहाँ बसेर प्रार्थना गर्ने त? प्रार्थना गर्ने समय र ठाउँले के कुनै फरक पार्छ? ( w10 -E 10/01)
[पृष्ठ ६-मा भएको चित्र]
“हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्।”
आफ्नो बुबा यहोवालाई मात्र प्रार्थना गर्नुपर्छ भनेर येशूले चेलाहरूलाई सम्झाउनुभयो। तर परमेश्वरको नाम यत्तिको महत्त्वपूर्ण हुनु अनि यसलाई पवित्र पार्नुपर्ने कारण के तपाईंलाई थाह छ?
मानव इतिहासको सुरुदेखि परमेश्वरको पवित्र नाम बदनाम भएको छ। परमेश्वरको विरोधी शैतानले यहोवालाई फटाहा र स्वार्थी शासक भन्नुका साथै सृष्टिमाथि वास्तवमा उहाँको कुनै अख्तियार छैन पनि भनेको छ। (उत्पत्ति ३:१-६) थुप्रैले शैतानको पक्ष लिएर परमेश्वर कठोर, निर्दयी अनि बदला लिने परमेश्वर हुनुहुन्छ भनी सिकाउँछन्। अनि कतिपयले उहाँ सृष्टिकर्ता हुनुहुन्छ भनेर पटक्कै मानिलिंदैनन्। कतिले भने उहाँको नाममाथि नै आक्रमण गरेर बाइबल अनुवादबाट यहोवा नाम हटाएका छन् अनि त्यो नाम प्रयोग गर्न निषेध गरेका छन्।
परमेश्वरले आफ्नो नाममा लागेको सबै कलङ्क मेटाउनुहुनेछ भनी बाइबल बताउँछ। (इजकिएल ३९:७) अनि उहाँले तपाईंको हरेक आवश्यकता पूरा गर्नुहुनेछ र तपाईंको समस्या सुल्झाउनुहुनेछ। कसरी? येशूका यी शब्दहरूले यसको जवाफ दिन्छ।
[पृष्ठ ७-मा भएको चित्र]
“तपाईंको राज्य आओस्।”
आज परमेश्वरको राज्यबारे थुप्रै धर्मगुरु अन्योलमा छन्। तर परमेश्वरले छान्नुभएको उद्धारक अर्थात् मसीहले परमेश्वरको राज्य शासन चलाउनेछ अनि त्यस सरकारले संसारको रूप परिवर्तन गर्नेछ भनेर परमेश्वरका भविष्यवक्ताहरूले पहिल्यै बताइसकेका थिए भनेर येशूका श्रोताहरूलाई थाह थियो। (यशैया ९:६, ७; दानियल २:४४) यसले शैतानको झूट पर्दाफास गरेर अनि शैतान र त्यसका कामहरूलाई परास्त गरेर परमेश्वरको नाम पवित्र पार्नेछ। परमेश्वरको राज्यले युद्ध, रोगबिमार, अनिकाल र मृत्युसमेत नामेट पार्नेछ। (भजन ४६:९; ७२:१२-१६; यशैया २५:८; ३३:२४) परमेश्वरको राज्य आओस् भनेर प्रार्थना गर्दा यी सबै प्रतिज्ञा पूरा होस् भनेर तपाईंले प्रार्थना गरिरहनुभएको हुन्छ।
[पृष्ठ ७-मा भएको चित्र]
“तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।”
येशूका यी शब्दहरूले परमेश्वर बास गर्नुहुने स्वर्गमा जसरी उहाँको इच्छा पूरा भयो, त्यसरी नै पृथ्वीमा पनि उहाँको इच्छा पूरा हुनेछ भनेर देखाउँछ। स्वर्गमा परमेश्वरको इच्छा पूरा हुनदेखि कुनै कुराले रोक्न सकेन। स्वर्गमा परमेश्वरको छोराले शैतान र त्यसका समर्थकहरूविरुद्ध लडाइँ लड्नुभयो र तिनीहरूलाई तल पृथ्वीमा हुऱ्याइदिनुभयो। (प्रकाश १२:९-१२) नमुना प्रार्थनाको यो तेस्रो बिन्तीले हामीलाई पहिलो दुइटा बिन्तीले जस्तै आफ्नो होइन तर परमेश्वरको इच्छामा ध्यानकेन्द्रित गर्न मदत गर्छ। उहाँको इच्छाबमोजिम जे गरिन्छ, त्यसले नै सारा सृष्टिको सर्वोत्तम लाभ हुन्छ। तसर्थ सिद्ध मानिस येशूले समेत आफ्नो बुबालाई यसो भन्नुभयो: “मेरो इच्छा होइन, तर तपाईंकै इच्छाबमोजिम होस्।”—लूका २२:४२.
[पृष्ठ ७-मा भएको चित्र]
“हाम्रो दिनभरिको भोजन दिनुहोस्।”
येशूका यी शब्दहरूको मतलब आफ्नो लागि केही पनि माग्नै हुँदैन भन्ने होइन। दैनिक आवश्यकताको लागि प्रार्थना गर्नुमा कुनै खराबी छैन। वास्तवमा, त्यसरी माग्दा यहोवाले नै “सबैलाई जीवन, सास र सबै चिज दिनुहुन्छ” भनेर हामीले सम्झिरहेका हुन्छौं। (प्रेरित १७:२५) उहाँ मायालु बुबा हुनुहुन्छ, जो आफ्ना छोराछोरीलाई आवश्यक कुरा दिन खुसी हुनुहुन्छ भनेर बाइबल बताउँछ। तर जसरी असल बुबाले आफ्नो छोराछोरीले मागेको कुराले तिनीहरूलाई फाइदा हुँदैन भने दिंदैनन्, त्यसरी नै यहोवाले पनि मागेको हरेक कुरा दिनुहुन्न।
[पृष्ठ ७-मा भएको चित्र]
“हाम्रो अपराध क्षमा गर्नुहोस्।”
के तपाईंलाई परमेश्वरको क्षमा चाहिन्छ? आज धेरैले पापको वास्तविकता र गम्भीरतालाई बिर्सेका छन्। तर हाम्रा दुःखदायी समस्याको जड पाप हो र पापले गर्दा नै हामी मर्छौं भनी बाइबल सिकाउँछ। हामी जन्मजात पापी भएकोले पटक-पटक पाप गर्छौं अनि परमेश्वरले क्षमा दिनुभएको खण्डमा मात्र अनन्त भविष्यको आशा राख्न सक्छौं। (रोमी ३:२३; ५:१२; ६:२३) बाइबलले सिकाउने निम्न कुरा थाह पाउँदा हामी ढुक्क महसुस गर्छौं: “हे परमप्रभु [“यहोवा,” NW], तपाईं भलो र क्षमा गर्ने हुनुहुन्छ।”—भजन ८६:५.
[पृष्ठ ७-मा भएको चित्र]
“दुष्टबाट छुटाउनुहोस्।”
परमेश्वरको सुरक्षा एकदमै जरुरी अनि अत्यावश्यक छ भनेर के तपाईंले बुझ्नुभएको छ? धेरैले “दुष्ट” अर्थात् शैतानको अस्तित्व छ भनेर स्वीकार्नै मान्दैनन्। तर येशूले शैतान वास्तविक हो भनेर सिकाउनुभयो अनि त्यसलाई “यस संसारको शासक”-समेत भन्नुभयो। (यूहन्ना १२:३१; १६:११) शैतानले आफ्नो नियन्त्रणमा भएको संसारलाई भ्रष्ट पारेको छ। त्यसैले तपाईंलाई पनि भ्रष्ट पार्न अनि तपाईंको बुबा यहोवासित घनिष्ठ सम्बन्ध गाँस्नदेखि रोक्न शैतान त्यत्तिकै उत्सुक छ। (१ पत्रुस ५:८) तथापि शैतानभन्दा यहोवा कता हो कता शक्तिशाली हुनुहुन्छ र उहाँलाई प्रेम गर्नेहरूलाई सुरक्षा दिन खुसी हुनुहुन्छ।
-
-
५ प्रार्थना खास ठाउँ र समयमै गर्नुपर्छ?प्रहरीधरहरा—२०१० | नोभेम्बर १
-
-
५ प्रार्थना खास ठाउँ र समयमै गर्नुपर्छ?
धेरैजसो स्थापित धर्मले प्रार्थना गर्न भव्य भवन हुनुपर्ने अनि दिनमा कुन-कुन समयमा प्रार्थना गर्नुपर्ने हो भनेर तोक्ने गरेको सायद तपाईंले याद गर्नुभएको होला। के बाइबलले खास स्थान र समय छुट्ट्याएर हाम्रो प्रार्थनालाई सीमित पारेको छ?
बाइबलले प्रार्थना गर्ने उपयुक्त अवस्थाबारे भने बताउँछ। उदाहरणको लागि, चेलाहरूसँगै बसेर खानुअघि येशूले परमेश्वरलाई धन्यवाद चढाउन प्रार्थना गर्नुभयो। (लूका २२:१७) अनि उहाँका चेलाहरू उपासना गर्न भेला हुँदा तिनीहरूले एकसाथ प्रार्थना गरे। यसरी तिनीहरूले यहूदी सभाघर अनि यरूशलेमको मन्दिरमा पहिल्यैदेखि गर्दै आएको चलनलाई निरन्तरता दिए। परमेश्वरले यरूशलेमको मन्दिर “सब जातिहरूका निम्ति प्रार्थनाको घर” भएको चाहनुहुन्थ्यो।—मर्कूस ११:१७.
परमेश्वरका जन एकसाथ भेला भएर प्रार्थना गर्दा तिनीहरूको बिन्ती प्रभावकारी हुन्छ। यदि तिनीहरूको सोचाइ एउटै छ अनि समूहको खातिर गरिएको प्रार्थनाले धर्मशास्त्रीय सिद्धान्त झल्काउँछ भने परमेश्वर खुसी हुनुहुन्छ। यदि कुनै कुरा हामीले प्रार्थनामा नमागेको भए सायद यहोवाले पूरा गर्नुहुन्थेन होला तर त्यसको लागि हामीले प्रार्थना गरेको हुँदा उहाँ त्यो पूरा गरिदिन अग्रसरसमेत हुन सक्नुहुन्छ। (हिब्रू १३:१८, १९) यहोवाका साक्षीहरू सभामा नियमित रूपमा प्रार्थना गर्छन्। तपाईंको घर नजिकैको राज्यभवनमा तपाईंलाई हार्दिक स्वागत छ अनि त्यहाँ कस्तो प्रार्थना गरिन्छ, आफै सुन्न सक्नुहुन्छ।
तथापि कुनै खास समय वा ठाउँमा मात्र प्रार्थना गर्नुपर्छ भनी बाइबल बताउँदैन। परमेश्वरका सेवकहरूले जुनसुकै ठाउँमा अनि जुनसुकै बेला प्रार्थना गरेको विवरण हामी बाइबलमा पाउन सक्छौं। येशूले भन्नुभयो: “तिमी जब प्रार्थना गर्दछौ, त्यसबेला आफ्नो भित्री कोठाभित्र पस, र ढोका थुनेर गुप्तमा बसेका तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्ने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।”—मत्ती ६:६.
के यस्तो निमन्त्रणाले हाम्रो मन छुँदैन र? तपाईं ब्रह्माण्डको सार्वभौमलाई जुनसुकै बेला, बिल्कुलै गोप्य रूपमा पुकार्न सक्नुहुन्छ र उहाँले तपाईंको पुकारा सुन्नुहुनेछ भनेर विश्वस्त हुनुहोस्। त्यसैले त येशू प्रार्थना गर्न अक्सर एक्लै कतै जानुहुन्थ्यो! एक चोटि उहाँले एकदमै महत्त्वपूर्ण निर्णय गर्नुअघि परमेश्वरको डोऱ्याइ खोज्न रातभरि प्रार्थना गर्नुभयो।—लूका ६:१२, १३.
बाइबलमा लिपिबद्ध थुप्रै पुरुष तथा स्त्रीले गम्भीर निर्णय गर्नुपर्दा वा चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्दा प्रार्थना गरे। कहिलेकाहीं तिनीहरूले ठूलो स्वरले प्रार्थना गरे त कहिले मनमनै। तिनीहरूले कहिले समूहमा प्रार्थना गरे भने कहिलेचाहिं एक्लै। तर महत्त्वपूर्ण कुरा, तिनीहरूले प्रार्थना गरे। परमेश्वर आफ्ना सेवकहरूलाई यस्तो आग्रह गर्नुहुन्छ: “निरन्तर प्रार्थना गरिरहो।” (१ थिस्सलोनिकी ५:१७) उहाँको इच्छाबमोजिम गर्नेहरूको प्रार्थना सुन्न उहाँ सधैं इच्छुक हुनुहुन्छ। के यो परमेश्वरको मायालु निमन्त्रणा होइन र?
निस्सन्देह, अहिलेको स्वार्थी संसारका मानिसहरू ‘प्रार्थना गरेर के फाइदा होला र’ भनी शङ्का व्यक्त गर्ने गर्छन्। तपाईं पनि सोध्नुहोला: ‘के प्रार्थनाले मलाई साँच्चै मदत गर्छ?’ (w10 -E 10/01)
[पृष्ठ ८-मा भएको चित्र]
हामी जुनसुकै ठाउँमा अनि जुनसुकै बेला प्रार्थना गर्न सक्छौं
-
-
६ प्रार्थना के यसले मदत गर्छ?प्रहरीधरहरा—२०१० | नोभेम्बर १
-
-
६ प्रार्थना के यसले मदत गर्छ?
के प्रार्थना गर्दा हामीलाई फाइदा हुन्छ? परमेश्वरका विश्वासी सेवकहरूको प्रार्थनाले साँच्चै तिनीहरूलाई लाभ पुऱ्याएको कुरा बाइबल बताउँछ। (लूका २२:४०; याकूब ५:१३) वास्तवमा प्रार्थनाले परमेश्वरसितको हाम्रो सम्बन्धलाई राम्रो बनाउँछ अनि हामीलाई भावनात्मक तवरमा मात्र होइन शारीरिक तवरमा समेत मदत गर्छ। तर कसरी?
मानिलिनुहोस्, तपाईंको छोरा वा छोरीले एउटा उपहार पायो। उपहार पाएपछि उसले कृतज्ञ महसुस गरे पुगिहाल्यो नि भन्नुहुन्छ? अथवा उसलाई कृतज्ञता व्यक्त गर्न सिकाउनुहुन्छ? यस्ता गहिरा भावनाहरू शब्दमा व्यक्त गर्दा ती अझ प्रस्ट र सशक्त हुन्छन्। के परमेश्वरसित कुरा गर्ने सन्दर्भमा पनि यही कुरा लागू हुँदैन र? केही उदाहरण विचार गर्नुहोस्।
धन्यवादको प्रार्थना। आफूले अनुभव गरेका असल कुराको लागि स्वर्गमा बस्नुहुने हाम्रो बुबालाई धन्यवाद चढाउँदा हामीले पाएको आशिष्मा ध्यानकेन्द्रित गर्न सक्नेछौं। फलस्वरूप हामी अझ कृतज्ञ, खुसी र सकारात्मक हुनेछौं।—फिलिप्पी ४:६.
उदाहरण: बुबाले प्रार्थना सुन्नुभएको र त्यसको जवाफ दिनुभएकोमा येशूले धन्यवाद व्यक्त गर्नुभयो।—यूहन्ना ११:४१.
क्षमाको लागि प्रार्थना। परमेश्वरसित क्षमा माग्दा हामी आफ्नो अन्तस्करणलाई सुदृढ पार्छौं, साँचो पश्चात्ताप गर्छौं अनि पापको गम्भीरताबारे अझ सजग हुन्छौं। साथै दोषी भावनाको बोझ पनि हल्का भएको महसुस गर्छौं।
उदाहरण: दाऊदले पश्चात्ताप र दुःख व्यक्त गर्न प्रार्थना गरे।—भजन ५१.
डोऱ्याइ र बुद्धिको लागि प्रार्थना। सही निर्णय गर्न हामीलाई डोऱ्याउनुहोस् वा बुद्धि दिनुहोस् भनेर यहोवासित बिन्ती गर्दा साँच्चै नम्र हुने मदत पाउँछौं। यसो गर्दा आफ्नो सीमितताबारे सजग हुन अनि स्वर्गमा बस्नुहुने हाम्रो बुबामाथि अझ भरोसा गर्न मदत पाउनेछौं।—हितोपदेश ३:५, ६.
उदाहरण: सुलेमानले इस्राएलमा शासन गर्न नम्र भई डोऱ्याइ र बुद्धि मागे।—१ राजा ३:५-१२.
सङ्कष्टको बेला प्रार्थना। भावनात्मक तवरमा पिरोलिंदा परमेश्वरलाई आफ्नो मनको बह पोख्यौं भने हल्का महसुस गर्छौं र आफैमा होइन, यहोवामा भर परिरहेका हुन्छौं।—भजन ६२:८.
उदाहरण: भयानक शत्रुको सामना गर्नुपर्दा राजा आसाले प्रार्थना गरे।—२ इतिहास १४:११.
खाँचोमा परेकाहरूको हितको लागि प्रार्थना। यस्ता प्रार्थनाले स्वार्थी नहुन अनि दयामायाजस्ता गुण बढाउँदै लैजान मदत गर्छ।
उदाहरण: येशूले आफ्ना चेलाहरूको खातिर प्रार्थना गर्नुभयो।—यूहन्ना १७:९-१७.
प्रशंसाको प्रार्थना। यहोवाका अद्भुत कार्य तथा गुणहरूका लागि उहाँको प्रशंसा गर्दा उहाँप्रति हाम्रो आदर र कृतज्ञता अझ बढ्नेछ। यस्ता प्रार्थनाले हाम्रा परमेश्वर, जो हाम्रो बुबा हुनुहुन्छ उहाँसित अझ घनिष्ठ हुन पनि मदत गर्न सक्छ।
उदाहरण: परमेश्वरको सृष्टिको लागि दाऊदले हार्दिक प्रशंसा गरे।—भजन ८.
प्रार्थनाको अर्को आशिष् हो, ‘परमेश्वरको शान्ति जसले सारा समझलाई माथ गर्छ।’ (फिलिप्पी ४:७) यस्तो शान्ति अहिलेको गन्जागोल संसारमा विरलै पाइने आशिष् हो। यसले गर्दा स्वास्थ्यलाभ पनि हुन्छ। (हितोपदेश १४:३०) तर के यो हाम्रो आफ्नै प्रयासले मात्र हुने हो? वा अर्को कुनै महत्त्वपूर्ण कुरा मुछिएको छ कि? (w10 -E 10/01)
[पृष्ठ ९-मा भएको चित्र]
प्रार्थनाका धेरै लाभ छन्—शारीरिक, भावनात्मक अनि सबैभन्दा महत्त्वपूर्ण, आध्यात्मिक
-
-
७ प्रार्थना के परमेश्वरले सुन्नुहुन्छ र त्यसको जवाफ दिनुहुन्छ?प्रहरीधरहरा—२०१० | नोभेम्बर १
-
-
७ प्रार्थना के परमेश्वरले सुन्नुहुन्छ र त्यसको जवाफ दिनुहुन्छ?
यस प्रश्नले निकै उत्साह र कौतूहलता जगाउँछ। यहोवाले आज पनि प्रार्थना अवश्य सुन्नुहुन्छ भनी बाइबल बताउँछ। उहाँले प्रार्थना सुन्नु वा नसुन्नु, यो धेरै हदसम्म हामी आफैमा निर्भर हुन्छ।
येशूले देखावटी प्रार्थना गर्ने धर्मगुरुहरूको निन्दा गर्नुभयो। तिनीहरूको धुन केवल देखावटी धर्मकर्म गर्नुमा थियो। त्यस्ता मानिसहरूले “आफ्नो इनाम पाइसकेका हुन्छन्” भनी येशूले बताउनुभयो। (मत्ती ६:५) यसको मतलब, आफूले सबैभन्दा चाहेको कुरा अर्थात् मानिसहरूको वाहवाही तिनीहरूले पाउनेथिए तर परमेश्वरले भने त्यस्तो प्रार्थना सुन्नुहुनेथिएन, जुन तिनीहरूको लागि आवश्यक थियो। त्यसरी नै आज पनि धेरैले परमेश्वरको होइन, आफ्नै इच्छाबमोजिम प्रार्थना गर्छन्। अघिल्लो लेखहरूमा छलफल गरिएका बाइबल सिद्धान्तहरू तिनीहरू बेवास्ता गर्छन्। त्यसैले परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुहुन्न।
त्यसोभए तपाईंको प्रार्थना नि? के परमेश्वरले तपाईंको प्रार्थना सुनेर त्यसको जवाफ दिनुहुन्छ? यो तपाईंको राष्ट्रियता, जाति वा सामाजिक ओहदामा निर्भर हुँदैन। बाइबल हामीलाई यस्तो आश्वासन दिन्छ: “परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४, ३५) के यो विवरण तपाईंसित मेल खान्छ? यदि तपाईं परमेश्वरको भय राख्नुहुन्छ भने उहाँको उच्च सम्मान गर्नुहुनेछ र उहाँलाई अप्रसन्न तुल्याउनदेखि होसियार हुनुहुनेछ। यदि तपाईं उचित काम गर्नुहुन्छ भने आफ्नै इच्छाबमोजिम गर्नु वा आफ्ना सँगी मानवको कुरा सुन्नुको साटो परमेश्वरले जुन कुरालाई सही ठहराउनुभएको छ, त्यही गर्नुहुन्छ। के तपाईं परमेश्वरले प्रार्थना सुनेको साँच्चै चाहनुहुन्छ? परमेश्वरले कस्तो प्रार्थना सुन्नुहुन्छ, त्यसबारे बाइबलमा बताइएको छ। a
निस्सन्देह, धेरैले परमेश्वरले कुनै चमत्कारद्वारा प्रार्थनाको जवाफ दिएको आशा गर्छन्। तर बाइबलकालमा पनि परमेश्वरले त्यस्ता चमत्कारहरू हतपती गर्नुभएन। कहिलेकाहीं एउटा चमत्कार गरेको शताब्दीयौंपछि मात्र उहाँले अर्को चमत्कार गर्नुभयो। साथै प्रेरितहरूको समयपछि चमत्कारको युगको अन्त भयो भनी बाइबल बताउँछ। (१ कोरिन्थी १३:८-१०) के यसको मतलब परमेश्वरले अहिले हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्न भन्ने हो? कदापि होइन! उहाँले जवाफ दिनुभएका केही प्रार्थनाबारे विचार गर्नुहोस्।
परमेश्वरले बुद्धि दिनुहुन्छ। सर्वोत्तम बुद्धिको स्रोत यहोवा हुनुहुन्छ। उहाँको डोऱ्याइ खोज्ने र त्यसैअनुरूप जिउन चाहनेहरूलाई उहाँले उदारचित्तसँग नझर्कीकन त्यस्तो बुद्धि दिनुहुन्छ।—याकूब १:५.
परमेश्वरले पवित्र आत्मा र यसबाट सम्भव हुने सम्पूर्ण कुरा दिनुहुन्छ। पवित्र आत्मा परमेश्वरको सक्रिय शक्ति हो। योभन्दा बलियो अरू कुनै शक्ति छैन। यसले हामीलाई परीक्षाहरू सहन मदत गर्छ। समस्याले पिरोलिएको अवस्थामा समेत हामीलाई मनोशान्ति दिन्छ। यसले हामीलाई अरू सुन्दर तथा मनमोहक गुणहरू खेती गर्न पनि मदत गर्छ। (गलाती ५:२२, २३) उदारचित्त भई परमेश्वरले यो उपहार दिनुहुन्छ भनी येशूले आफ्ना चेलाहरूलाई आश्वासन दिनुभयो।—लूका ११:१३.
जोडतोडले परमेश्वरको खोजी गर्नेहरूलाई उहाँले ज्ञान दिनुहुन्छ। (प्रेरित १७:२६, २७) जोडतोडले सत्यको खोजी गर्ने मानिसहरू संसारभरि छन्। तिनीहरू परमेश्वरबारे यस्ता कुरा जान्न चाहन्छन्: उहाँको नाम के हो, पृथ्वी र मानिसजातिको लागि उहाँको उद्देश्य के हो अनि कसरी उहाँसित नजिक हुन सकिन्छ। (याकूब ४:८) यहोवाका साक्षीहरूले यस्ता मानिसहरू अक्सर भेट्ने गर्छन् अनि बाइबलबाटै ती प्रश्नहरूको जवाफ दिन पाएकोमा खुसी हुन्छन्।
के यस्तै प्रश्नहरूको जवाफ पाउन तपाईंले यो पत्रिका लिनुभएको हो? के तपाईं परमेश्वरको खोजी गर्दै हुनुहुन्छ? कतै यो नै तपाईंको प्रार्थनाको जवाफ हो कि! (w10 -E 10/01)
[फुटनोट]
a प्रार्थना कसरी गर्ने अनि परमेश्वरले कस्ता प्रार्थनाको जवाफ दिनुहुन्छ भन्ने विषयमा थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको अध्याय १७ हेर्नुहोस्।
-