प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 फेब्रुअरी पृ. १४-१९
  • मण्डलीमा शिरत्वको प्रबन्ध

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मण्डलीमा शिरत्वको प्रबन्ध
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दिदीबहिनीहरूप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ?
  • के प्रत्येक भाइ मण्डलीका दिदीबहिनीहरूको पनि शिर हुन्‌?
  • परिवारको शिर र एल्डरको भूमिका
  • मण्डलीका शिर ख्रिष्टको आदर गर्नुहोस्‌
  • “हरेक पुरुषको शिर ख्रिष्ट हुनुहुन्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • मण्डलीका बहिनीहरूलाई मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • के तपाईँ स्त्रीहरूसित यहोवाले जस्तै व्यवहार गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 फेब्रुअरी पृ. १४-१९

अध्ययन लेख ७

मण्डलीमा शिरत्वको प्रबन्ध

“ख्रिष्ट पनि आफ्नो शरीर अर्थात्‌ मण्डलीको शिर अनि उद्धारक हुनुहुन्छ।”—एफि. ५:२३.

गीत १३७ वफादार बहिनीहरू

परिचयa

१. यहोवाको परिवार एकताबद्ध हुनुको एउटा कारण के हो?

हामी यहोवाको परिवारको भाग हुन पाएकोमा खुसी छौँ। हाम्रो परिवारमा किन यति शान्ति र एकता छ? एउटा कारण, हामी यहोवाले गर्नुभएको शिरत्वको प्रबन्धको आदर गर्न सक्दो प्रयास गर्छौँ। वास्तवमा शिरत्वको प्रबन्धलाई हामी जत्ति राम्ररी बुझ्छौँ, त्यत्ति नै हामी एकताबद्ध हुन सक्छौँ।

२. यस लेखमा हामी कस्ता प्रश्‍नहरूको जवाफ पाउनेछौँ?

२ मण्डलीमा शिरत्वको प्रबन्धले कस्तो भूमिका खेल्छ, हामी यस लेखमा छलफल गर्नेछौँ। यसबाहेक हामी निम्न प्रश्‍नहरूको जवाफ पनि पाउनेछौँ: मण्डलीमा दिदीबहिनीहरूको कस्तो भूमिका छ? प्रत्येक भाइ मण्डलीका दिदीबहिनीहरूको पनि शिर हुन्‌ भन्‍ने कुरा के साँचो हो? आफ्नी पत्नी र छोराछोरीमाथि परिवारको शिरको जस्तो अख्तियार हुन्छ, मण्डलीका दाजुभाइ दिदीबहिनीमाथि पनि के एल्डरहरूको त्यस्तै अख्तियार हुन्छ? सुरुमा दिदीबहिनीहरूप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ भनेर विचार गरौँ।

दिदीबहिनीहरूप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ?

३. हाम्रा दिदीबहिनीहरूले गरिरहनुभएको मेहनतको लागि हामी आफ्नो कृतज्ञता कसरी बढाउन सक्छौँ?

३ आफ्नो परिवारको हेरविचार गर्न, सुसमाचार सुनाउन र मण्डलीमा अरूलाई मदत गर्न हाम्रा दिदीबहिनीहरूले गरिरहनुभएको कडा मेहनतको हामी कदर गर्छौँ। यहोवा र येसु तिनीहरूलाई कस्तो दृष्टिकोणले हेर्नुहुन्छ भन्‍ने कुरा राम्रोसँग विचार गऱ्‍यौँ भने तिनीहरूप्रतिको हाम्रो कृतज्ञता अझ बढ्‌नेछ। दिदीबहिनीहरूप्रति प्रेषित पावलको दृष्टिकोण कस्तो थियो भनेर विचार गर्दा पनि हामीले लाभ उठाउन सक्नेछौँ।

४. यहोवा पुरुषहरूका साथै स्त्रीहरूको पनि कदर गर्नुहुन्छ भनेर बाइबलले कसरी देखाउँछ?

४ यहोवा पुरुषहरूका साथै स्त्रीहरूको पनि कदर गर्नुहुन्छ भनेर बाइबलले देखाउँछ। उदाहरणको लागि, यहोवाले प्रथम शताब्दीमा पुरुषहरूलाई जस्तै स्त्रीहरूलाई पनि चमत्कारहरू गर्न पवित्र शक्‍ति दिनुभयो, जस्तो कि विभिन्‍न भाषामा बोल्ने क्षमता। (प्रेषि. २:१-४, १५-१८) पुरुषहरूलाई जस्तै स्त्रीहरूलाई पनि येसुसँगै सह-शासक हुन पवित्र शक्‍तिद्वारा अभिषेक गरिएको छ। (गला. ३:२६-२९) पुरुषहरूले जस्तै स्त्रीहरूले पनि पृथ्वीमा अनन्त जीवनको इनाम पाउनेछन्‌। (प्रका. ७:९, १०, १३-१५) पुरुष र स्त्री दुवैलाई सुसमाचार प्रचार गर्ने र सिकाउने जिम्मेवारी दिइएको छ। (मत्ति २८:१९, २०) प्रेषितको किताबमा प्रिस्किला नाम गरेकी एक जना बहिनीबारे बताइएको छ, जसले आफ्नो पति अक्विलासँगै अपोल्लस नाम गरेको एक शिक्षित व्यक्‍तिलाई धर्मशास्त्रको कुरा अझ सही तरिकामा बुझ्न मदत गरिन्‌।—प्रेषि. १८:२४-२६.

५. लुका १०:३८, ३९, ४२ ले येसु स्त्रीहरूलाई आदर गर्नुहुन्थ्यो भनेर कसरी देखाउँछ?

५ येसुले स्त्रीहरूलाई आदर गर्नुभयो। उहाँले स्त्रीहरूसित फरिसीहरूले जस्तो व्यवहार गर्नुभएन। फरिसीहरू स्त्रीहरूलाई तुच्छ ठान्थे र उनीहरूलाई धर्मशास्त्रको कुरा सिकाउनु त परै जाओस्‌, सार्वजनिक ठाउँमा भेट्‌दा बोल्दा पनि बोल्दैनथे। तर येसुले भने आफ्ना चेलाहरूसित धर्मशास्त्रको गहिरो छलफल गर्नुहुँदा स्त्रीहरूलाई पनि सामेल गराउनुभयो।b (लुका १०:३८, ३९, ४२ पढ्‌नुहोस्‌) विभिन्‍न ठाउँमा प्रचारमा जानुहुँदा उहाँले स्त्रीहरूलाई पनि आफूसँगै आउन अनुमति दिनुभयो। (लुका ८:१-३) अनि येसुले आफ्ना प्रेषितहरूलाई आफू मृत्युबाट जीवित भएको खबर दिने सुअवसर पनि स्त्रीहरूलाई नै दिनुभयो।—युह. २०:१६-१८.

६. प्रेषित पावलले स्त्रीहरूलाई आदर गरेको कसरी देखाए?

६ प्रेषित पावलले स्त्रीहरूलाई आदर गर्न तिमोथिलाई स्पष्ट सल्लाह दिए। पावलले उनलाई “वृद्ध स्त्रीहरूलाई आमालाई जस्तैगरि अनि युवतीहरूलाई चाहिँ . . . बहिनी” सम्झेर व्यवहार गर्न सल्लाह दिए। (१ तिमो. ५:१, २) पावलले तिमोथिलाई परिपक्व ख्रिष्टियन बन्‍न धेरै मदत गरेका थिए तर सुरुमा तिमोथिलाई “पवित्र लेखोटहरू” सिकाउने तिनकी आमा र बज्यै हुन्‌ भनेर पावलले मानिलिएका थिए। (२ तिमो. १:५; ३:१४, १५) तिनले रोमीहरूलाई लेखेको पत्रमा दिदीबहिनीहरूको नामै उल्लेख गरेर अभिवादन पठाएका थिए। तिनले उनीहरूको काम याद मात्र गरेनन्‌, बरु त्यसको लागि कृतज्ञता पनि व्यक्‍त गरे।—रोमी १६:१-४, ६, १२; फिलि. ४:३.

७. हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौँ?

७ अघिल्ला अनुच्छेदहरूमा सिकेझैँ मण्डलीका दिदीबहिनीहरू दाजुभाइहरूभन्दा तल्लो दर्जाका हुन्‌ भन्‍ने कुराको कुनै धर्मशास्त्रीय आधार छैन। हाम्रा मायालु र उदार दिदीबहिनीहरू मण्डलीको लागि अनमोल छन्‌। तिनीहरूको असल आचरणले मण्डलीमा शान्ति र एकता कायम गर्न मदत पुग्छ भनेर एल्डरहरूलाई थाह छ। तर हामीले यी प्रश्‍नहरूको जवाफ थाह पाउनुपर्छ: केही खास अवस्थामा दिदीबहिनीहरूले आफ्नो शिर ढाकेको यहोवा किन चाहनुहुन्छ? मण्डलीमा एल्डर र सहायक सेवकको जिम्मेवारीको लागि दाजुभाइहरूलाई नियुक्‍त गरिने भए तापनि यसको अर्थ के प्रत्येक भाइ मण्डलीका दिदीबहिनीहरूको पनि शिर हुन्‌ भन्‍ने हो?

के प्रत्येक भाइ मण्डलीका दिदीबहिनीहरूको पनि शिर हुन्‌?

येसु आफ्नो स्वर्गीय सिंहासनमा बसिरहनुभएको छ र यहोवाको महिमाको किरण उहाँमाथि परिरहेको छ। तल मण्डलीमा सभा भइरहेको, एउटा परिवारले पारिवारिक उपासना गरिरहेको र एक बहिनीले अध्ययन गरिरहेको दृश्‍य देखाइएको छ। यी दृश्‍यहरूबारे अनुच्छेद ८ मा र अनुच्छेद ११-१४ मा छलफल गरिएको छ।

८. एफिसी ५:२३ अनुसार के प्रत्येक भाइ मण्डलीका दिदीबहिनीहरूको पनि शिर हुन्‌? व्याख्या गर्नुहोस्‌।

८ सीधै भन्‍नुपर्दा, होइनन्‌। मण्डलीका सबै दिदीबहिनीको शिर कुनै भाइ नभई ख्रिष्ट हुनुहुन्छ। (एफिसी ५:२३ पढ्‌नुहोस्‌) परिवारमा पत्नीमाथि पतिको अख्तियार हुन्छ तर बप्तिस्मा गरिसकेको छोरा आफ्नी आमाको शिर होइनन्‌। (एफि. ६:१, २) अनि मण्डलीमा दाजुभाइ दिदीबहिनीमाथि एल्डरहरूको सीमित अख्तियार हुन्छ। (१ थिस्स. ५:१२; हिब्रू १३:१७) आफ्नो बुबाआमासँग नबस्ने अविवाहित बहिनीहरूले बुबाआमा र एल्डरहरूलाई आदर गरिरहन्छन्‌। तर मण्डलीका दाजुभाइहरूको जस्तै उनीहरूको पनि एक मात्र शिर येसु नै हुनुहुन्छ।

एक बहिनी अध्ययन गर्दै छिन्‌।

अविवाहितहरू जो आफ्ना बुबाआमासँग बस्दैनन्‌, तिनीहरू येसुको शिरत्वको अधीनमा हुन्छन्‌ (अनुच्छेद ८ हेर्नुहोस्‌)

९. दिदीबहिनीहरूले कस्तो अवस्थामा शिर ढाक्नुपर्छ?

९ यो साँचो हो, यहोवाले मण्डलीमा सिकाउन र उपासनामा नेतृत्व लिन पुरुषहरूलाई नियुक्‍त गर्नुभएको छ तर स्त्रीहरूलाई भने त्यो अख्तियार दिनुभएको छैन। (१ तिमो. २:१२) किन? आफ्नो मण्डलीलाई व्यवस्थित पार्न। यही कारणले गर्दा यहोवाले येसुलाई हरेक पुरुषको शिर नियुक्‍त गर्नुभएको हो। साधारणतया कुनै भाइले सम्हाल्नुपर्ने जिम्मेवारी बहिनीले पूरा गर्नुपर्ने अवस्था आइपऱ्‍यो भने तिनले आफ्नो शिर ढाकेको यहोवा चाहनुहुन्छ।c (१ कोरि. ११:४-७) यहोवाले यस्तो निर्देशन दिनुको कारण तिनीहरूलाई होच्याउन नभई शिरत्वको प्रबन्धप्रति तिनीहरूले आदर देखाउन सकून्‌ भनेर हो। यी कुराहरू मनमा राख्दै अब हामी यस प्रश्‍नको जवाफ थाह लगाऔँ: परिवारका शिरहरू र एल्डरहरूसँग कुन हदसम्म अख्तियार हुन्छ?

कुनै बहिनीले कस्तो अवस्थामा शिर ढाक्नुपर्छ?

एक बहिनी बसेर क्षेत्र सेवाको सभा सञ्चालन गर्दै छिन्‌। तिनले आफ्नो शिर ढाकेकी छिन्‌।

शिर ढाक्नुपर्छ कि पर्दैन भनेर बुझ्न ती बहिनीले यी तीन वटा प्रश्‍नको जवाफ थाह पाउनुपर्छ:

  1. १. के ती बहिनीले बप्तिस्मा गरिसकेको भाइको उपस्थितिमा सार्वजनिक रूपमा प्रार्थना गर्नुपर्छ वा बाइबलबाट सिकाउनुपर्छ?—१ कोरि. ११:४, ५.

  2. २. यदि त्यहाँ बप्तिस्मा गरिसकेका कुनै पुरुष उपस्थित छैनन्‌ भने पनि के यो जिम्मेवारी साधारणतया बप्तिस्मा गरिसकेका कुनै भाइले पूरा गर्नुपर्ने जिम्मेवारी हो?—१ तिमो. २:११, १२; हिब्रू १३:१७.

  3. ३. विवाहित बहिनीले अरूको लागि प्रार्थना गर्दा वा कसैलाई बाइबलबाट सिकाइरहँदा के तिनको पति त्यहाँ उपस्थित छन्‌?—१ कोरि. ११:३.

माथिका प्रश्‍नहरूमध्ये कुनै प्रश्‍नको जवाफ सकारात्मक आयो भने ती बहिनीले आफ्नो शिर ढाक्नुपर्छ। तर यी सबै प्रश्‍नको जवाफ नकारात्मक आयो भने तिनले आफ्नो शिर ढाक्नु पर्दैन।e

परिवारको शिर र एल्डरको भूमिका

१०. कुनै एल्डर किन मण्डलीको लागि नियमहरू बनाउन खोज्छन्‌?

१० एल्डरहरू ख्रिष्टलाई अनि यहोवा र येसुले आफ्नो जिम्मामा सुम्पनुभएको “भेडा”-लाई प्रेम गर्छन्‌। (युह. २१:१५-१७) कुनै एल्डरले असल मनसायले नै आफूलाई मण्डलीको बुबाजस्तै ठान्‍न सक्छन्‌। परिवारको शिरसित परिवारको सुरक्षाको लागि नियम बनाउने अधिकार भएझैँ आफूसित पनि परमेश्‍वरका भेडाहरूको सुरक्षाको लागि नियम बनाउने अधिकार छ भनेर ती एल्डरले तर्क गर्न सक्छन्‌। केही दाजुभाइ दिदीबहिनीले एल्डरहरूलाई आध्यात्मिक शिरको रूपमा आफ्नो लागि निर्णय गरिदिन आग्रह गर्न सक्छन्‌। तर के एल्डरहरूसित र परिवारका शिरहरूसित एउटै किसिमको अख्तियार हुन्छ?

एक एल्डर मण्डलीको सभामा भाषण दिँदै छन्‌।

एल्डरहरू मण्डलीका दाजुभाइ दिदीबहिनीको आध्यात्मिक र भावनात्मक आवश्‍यकताको ख्याल राख्छन्‌। यहोवाले तिनीहरूलाई मण्डलीलाई नैतिक रूपमा शुद्ध राख्ने जिम्मेवारी पनि दिनुभएको छ (अनुच्छेद ११-१२ हेर्नुहोस्‌)

११. परिवारको शिर र एल्डरको भूमिकाबीच कस्ता समानताहरू छन्‌?

११ परिवारको शिर र एल्डरको भूमिकाबीच केही समानताहरू छन्‌ भनेर प्रेषित पावलले सङ्‌केत गरे। (१ तिमो. ३:४, ५) उदाहरणको लागि, परिवारका सदस्यहरूले परिवारको शिरको आज्ञा पालन गरेको यहोवा चाहनुहुन्छ। (कल. ३:२०) त्यसैगरि मण्डलीका दाजुभाइ दिदीबहिनीले पनि एल्डरहरूको आज्ञा पालन गरेको उहाँ चाहनुहुन्छ। परिवारका शिरहरू र एल्डरहरूले आफ्नो जिम्मामा भएकाहरूको आध्यात्मिक आवश्‍यकता पूरा गरेको यहोवा आस गर्नुहुन्छ। साथै तिनीहरूले उनीहरूको भावनात्मक आवश्‍यकता पनि पूरा गर्नुपर्छ। परिवारको असल शिरले जस्तै एल्डरहरूले खाँचोमा परेकाहरूलाई मदत पनि गर्नुपर्छ। (याकु. २:१५-१७) साथै एल्डरहरू र परिवारका शिरहरूले उनीहरूलाई यहोवाको स्तरअनुसार चल्न मदत गरेको उहाँ चाहनुहुन्छ तर तिनीहरू “लेखिएका कुराहरूभन्दा बढ्‌ता” केही नगर्न होसियार हुनुपर्छ।—१ कोरि. ४:६.

एक भाइ पारिवारिक उपासना सञ्चालन गर्दै छन्‌।

परिवारका शिरहरूलाई यहोवाले परिवारमा नेतृत्व लिन अख्तियार दिनुभएको छ। निर्णय गर्नुअघि परिवारको मायालु शिरले आफ्नी पत्नीसित पनि सल्लाह गर्छन्‌ (अनुच्छेद १३ हेर्नुहोस्‌)

१२-१३. रोमी ७:२ ले सङ्‌केत गरेअनुसार परिवारको शिरको भूमिका र एल्डरको भूमिकाबीच कस्ता भिन्‍नताहरू छन्‌?

१२ तर एल्डरको भूमिका र परिवारको शिरको भूमिकाबीच केही खास भिन्‍नताहरू पनि छन्‌। जस्तै: यहोवाले एल्डरहरूलाई न्यायिक मामिला सम्हाल्ने र मण्डलीबाट अपश्‍चात्तापी पापीहरूलाई हटाउने जिम्मेवारी सुम्पनुभएको छ।—१ कोरि. ५:११-१३.

१३ अर्कोतर्फ यहोवाले परिवारका शिरहरूलाई यस्ता केही अख्तियार दिनुभएको छ, जुन उहाँले एल्डरहरूलाई दिनुभएको छैन। उदाहरणको लागि, यहोवाले परिवारको शिरलाई परिवारको लागि नियमहरू बनाउने र ती लागू गराउने अख्तियार दिनुभएको छ। (रोमी ७:२ पढ्‌नुहोस्‌) जस्तै: छोराछोरी बेलुका कति बजेभित्र घर आइपुग्नुपर्छ भनेर तोकिदिने अधिकार परिवारको शिरसित छ। त्यो नियम पालन नगर्दा छोराछोरीलाई अनुशासन दिने अधिकार पनि तिनीसित हुन्छ। (एफि. ६:१) पक्कै पनि परिवारमा नियमहरू बनाउनुअघि परिवारको मायालु शिरले आफ्नी पत्नीसित सल्लाह गर्छन्‌ किनकि तिनीहरू दुई होइनन्‌ तर “एउटै शरीर” हुन्‌।d—मत्ति १९:६.

मण्डलीका शिर ख्रिष्टको आदर गर्नुहोस्‌

येसु आफ्नो स्वर्गीय सिंहासनमा बसिरहनुभएको छ र यहोवाको महिमाको किरण उहाँमाथि परिरहेको छ।

येसु यहोवाको शिरत्वको अधीनमा रहेर ख्रिष्टियन मण्डलीलाई निर्देशनहरू दिनुहुन्छ (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४. (क) मर्कुस १०:४५ लाई विचार गर्दा यहोवाले येसुलाई मण्डलीको शिर नियुक्‍त गर्नु किन उचित छ? (ख) परिचालक निकायको भूमिका के हो? (“परिचालक निकायको भूमिका” भन्‍ने पेटी हेर्नुहोस्‌)

१४ यहोवाले मण्डलीका प्रत्येक दाजुभाइ दिदीबहिनी र येसुमाथि विश्‍वास गर्ने प्रत्येक मानिसको जीवन बचाउन फिरौतीको प्रबन्ध गर्नुभयो। (मर्कुस १०:४५ पढ्‌नुहोस्‌; प्रेषि. २०:२८; १ कोरि. १५:२१, २२) येसुले फिरौतीको रूपमा आफ्नो जीवन बलिदान दिनुभएकोले यहोवाले उहाँलाई मण्डलीको शिर नियुक्‍त गर्नु उचित हो। येसु हाम्रो शिर हुनुभएकोले प्रत्येक व्यक्‍ति, परिवार र पूरै मण्डलीको लागि नियमहरू बनाउने र ती लागू गराउने अधिकार उहाँसित छ। (गला. ६:२) तर येसु नियमहरू बनाउनु मात्र हुन्‍न। बरु उहाँ हामी प्रत्येकलाई खुवाउनुहुन्छ र स्याहार्नुहुन्छ।—एफि. ५:२९.

परिचालक निकायको भूमिका

परिचालक निकायका सदस्यहरू सभा गरिरहेका छन्‌।

परिचालक निकायका सदस्यहरू मण्डलीका दाजुभाइ दिदीबहिनीको विश्‍वासको मालिक होइनन्‌। (२ कोरि. १:२४) येसु ख्रिष्ट नै ख्रिष्टियन मण्डलीको शिर हुनुहुन्छ भन्‍ने कुरा तिनीहरू स्विकार्छन्‌। तिनीहरू येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभएको यो कुरासित सहमत छन्‌: “तिमीहरूचाहिँ सबै दाजुभाइ हौ।” (मत्ति २३:८) साथै तिनीहरू मण्डलीका दाजुभाइ दिदीबहिनीलाई धेरै माया गर्छन्‌ र तिनीहरूको आवश्‍यकताको ख्याल राख्न यथासक्दो गर्छन्‌। येसु ख्रिष्टको शिरत्वको अधीनमा रहेर परिचालक निकायका सदस्यहरू विश्‍वभरका यहोवाका सेवकहरूलाई व्यवस्थित गर्न आवश्‍यक निर्देशन दिन्छन्‌। तिनीहरू शाखा समितिका सदस्यहरू र क्षेत्रीय निरीक्षकहरू नियुक्‍त गर्छन्‌। (एफि. ४:७-१३) अनि क्षेत्रीय निरीक्षकहरूले मण्डलीमा एल्डरहरू नियुक्‍त गर्छन्‌। (प्रेषि. १४:२३; ति. १:५) परिचालक निकायले परमेश्‍वरको वचनबाट आध्यात्मिक भोजन र निर्देशन दिने जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छ। यसको लागि परिचालक निकायले पत्र, छापिएका निर्देशिका र प्रकाशन, JW ब्रोडकास्टिङ कार्यक्रमका साथै विभिन्‍न स्कुल, सभा, अधिवेशन र सम्मेलनजस्ता माध्यमहरू चलाउँछ। (प्रेषि. १५:२२-३५) साथै परिचालक निकायका सदस्यहरू कुनै प्राकृतिक प्रकोप वा विपत्ति आइपर्दा दाजुभाइ दिदीबहिनीप्रतिको प्रेमले उत्प्रेरित भएर तिनीहरूलाई व्यावहारिक मदत दिन तुरुन्तै कदम चाल्छन्‌।f

१५-१६. बहिनी मार्ले र भाइ बेन्जामिनले भनेको कुराबाट तपाईँले के सिक्नुभयो?

१५ मण्डलीका दिदीबहिनीहरूले तिनीहरूको हेरचाह गर्न नियुक्‍त गरिएका पुरुषहरूले दिने निर्देशन पालन गरेर ख्रिष्टको आदर गरेको देखाउँछन्‌। हाम्रा थुप्रै दिदीबहिनी अमेरिकामा बस्ने मार्ले बहिनीको यो कुरासित सहमत छन्‌: “एक जना पत्नी र मण्डलीको बहिनीको रूपमा आफूले पाएको स्थानको म मनैदेखि कदर गर्छु। यहोवाले मिलाउनुभएको शिरत्वको प्रबन्धप्रति सही मनोवृत्ति राख्न मैले आफूलाई बेलाबेलामा सम्झाउनुपर्छ। तर त्यसो गर्न मलाई सजिलो भएको छ किनभने मेरो पति र मण्डलीका दाजुभाइहरूले मेरो आदर गर्नुहुन्छ र मैले गरेको कामको लागि कृतज्ञता व्यक्‍त गर्नुहुन्छ।”

१६ मण्डलीका दाजुभाइहरूले दिदीबहिनीहरूलाई आदर गरेर शिरत्वको प्रबन्धलाई राम्ररी बुझेको कुरा देखाउँछन्‌। बेलायतमा बस्ने भाइ बेन्जामिन यसो भन्छन्‌: “मैले सभामा दिदीबहिनीहरूको टिप्पणीबाट अनि बाइबल अध्ययन गर्ने र प्रभावकारी तरिकामा प्रचार गर्ने सन्दर्भमा उहाँहरूले दिनुभएको सुझावबाट धेरै लाभ उठाएको छु। मेरो विचारमा उहाँहरूले गरिरहनुभएको सेवा एकदमै अमूल्य छ।”

१७. हामीले शिरत्वको सिद्धान्तको किन कदर गर्नुपर्छ?

१७ मण्डलीका सबैले—पुरुष, स्त्री, परिवारका शिरहरू र एल्डरहरूले शिरत्वको सिद्धान्त राम्ररी बुझ्दा र त्यसको कदर गर्दा मण्डलीमा शान्ति छाउँछ। अझ महत्त्वपूर्ण कुरा, हामीले स्वर्गमा बस्नुहुने मायालु बुबा यहोवाको प्रशंसा गरिरहेका हुन्छौँ।—भज. १५०:६.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • मण्डलीका दिदीबहिनीहरूप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ?

  • के प्रत्येक भाइ मण्डलीका दिदीबहिनीहरूको पनि शिर हुन्‌? व्याख्या गर्नुहोस्‌।

  • परिवारको शिरको भूमिका र एल्डरको भूमिकाबीच कस्ता भिन्‍नताहरू छन्‌?

गीत १२३ ईश्‍वरीय प्रबन्धलाई वफादार भई समर्थन गरौँ!

a मण्डलीमा दिदीबहिनीहरूको कस्तो भूमिका छ? के प्रत्येक भाइ मण्डलीका दिदीबहिनीहरूको पनि शिर हुन्‌? के एल्डरहरूसित परिवारका शिरहरूको जस्तै अख्तियार छ? यी प्रश्‍नहरूको जवाफ बाइबलले कसरी दिन्छ, हामी यस लेखमा छलफल गर्नेछौँ।

b सेप्टेम्बर २०२० अङ्‌कको प्रहरीधरहरा-मा प्रकाशित “मण्डलीका बहिनीहरूलाई मदत गर्नुहोस्‌” भन्‍ने लेखको अनुच्छेद ६ हेर्नुहोस्‌।

c “कुनै बहिनीले कस्तो अवस्थामा शिर ढाक्नुपर्छ?” भन्‍ने पेटी हेर्नुहोस्‌।

d आफ्नो परिवारले कुन मण्डलीमा सेवा गर्ने भनेर कसले निर्णय गर्नुपर्छ भनेर बुझ्न अगस्त २०२० अङ्‌कको प्रहरीधरहरा-मा प्रकाशित “यहोवाको मण्डलीमा अरूको स्थानको कदर गर्नुहोस्‌” भन्‍ने लेखको अनुच्छेद १७-१९ हेर्नुहोस्‌।

e यस विषयमा थप जानकारीको लागि “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख” किताबको पृष्ठ २३९-२४२ हेर्नुहोस्‌।

f परिचालक निकायको भूमिकाबारे विस्तृत जानकारीको लागि जुलाई १५, २०१३ अङ्‌कको प्रहरीधरहरा-को पृष्ठ २०-२५ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने