प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 नोभेम्बर pp. २-७
  • यहोवाले पृथ्वीलाई प्रमोदवन बनाउने ग्यारेन्टी दिनुभएको छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले पृथ्वीलाई प्रमोदवन बनाउने ग्यारेन्टी दिनुभएको छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले कस्तो प्रतिज्ञा गर्नुभएको छ?
  • आफ्नो प्रतिज्ञा पूरा गर्ने यहोवाको ग्यारेन्टी
  • “हेर! म सबै थोक नयाँ बनाउँदै छु”
  • ‘यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्‌ अनि पूरा भइसकेका छन्‌!’
  • “अल्फा र ओमेगा म नै हुँ”
  • प्रमोदवनको प्रतिज्ञामाथिको भरोसालाई कसरी बलियो बनाउन सक्छौँ?
  • नयाँ आकाश र नयाँ पृथ्वी
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर मानिसजाति बनाउनुभयो?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • परमेश्‍वरले कुन उद्देश्‍यले पृथ्वी सृष्टि गर्नुभयो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • “प्रमोदवनमा भेटौँला!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 नोभेम्बर pp. २-७

अध्ययन लेख ४६

यहोवाले पृथ्वीलाई प्रमोदवन बनाउने ग्यारेन्टी दिनुभएको छ

“पृथ्वीमा आशिष्‌ पाउन चाहने जो कोहीले पनि सत्य परमेश्‍वरबाट आशिष्‌ पाउनेछ।”—यसै. ६५:१६.

गीत ३ हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा

परिचयa

१. भविष्यवक्‍ता यसैयाले इस्राएलीहरूलाई कस्तो सन्देश दिन खोजिरहेका थिए?

भविष्यवक्‍ता यसैयाले यहोवालाई “सत्य परमेश्‍वर” भनेका छन्‌। यहाँ “सत्य” भनेर अनुवाद गरिएको शब्दको शाब्दिक अर्थ “आमिन” हो। (यसै. ६५:१६, फुटनोट) “आमिन”-को अर्थ हो, “यस्तै होस्‌” वा “पक्कै पनि।” यहोवा र येसुले बोल्नुहुने कुरा पक्कै पूरा हुन्छ भन्‍ने कुराको ग्यारेन्टी दिन बाइबलमा अक्सर “आमिन” शब्द प्रयोग गरिएको छ। त्यसैले यसैयाले इस्राएलीहरूलाई यस्तो सन्देश दिन खोजिरहेका थिए: यहोवाका भविष्यवाणीहरूमा कहिल्यै शङ्‌का गर्नुपर्दैन। उहाँले आफ्नो एक-एक प्रतिज्ञा पूरा गरेर यो कुरा प्रमाणित गर्नुभएको छ।

२. हाम्रो भविष्यबारे यहोवाले गर्नुभएका प्रतिज्ञाहरूमा किन भरोसा गर्न सक्छौँ? हामी कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौँ?

२ के हामी यहोवाले हाम्रो भविष्यबारे गर्नुभएका प्रतिज्ञाहरूमा पनि त्यस्तै भरोसा गर्न सक्छौँ? यसैयाको समयभन्दा झन्डै ८०० वर्षपछि प्रेषित पावलले यहोवाका प्रतिज्ञाहरू किन सधैँ भरपर्दा हुन्छन्‌ भनेर बताए। तिनले यस्तो लेखे: “परमेश्‍वरले झूट बोल्न असम्भव” छ। (हिब्रू ६:१८) जसरी एउटै मूलबाट स्वच्छ पानी अनि नुनिलो पानी निस्कन असम्भव छ, त्यसैगरि सत्यका मूल यहोवाको मुखबाट झूटो कुरा निस्कन असम्भव छ। त्यसैले यहोवाले भन्‍नुभएका सबै कुरा अनि हाम्रो भविष्यबारे गर्नुभएका प्रतिज्ञाहरूमा हामी पूर्णतया भरोसा गर्न सक्छौँ। यस लेखमा हामी यी प्रश्‍नहरूबारे विचार गर्नेछौँ: यहोवाले हाम्रो भविष्यबारे कस्ता प्रतिज्ञाहरू गर्नुभएको छ? ती प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भनेर उहाँले कस्तो ग्यारेन्टी दिनुभएको छ?

यहोवाले कस्तो प्रतिज्ञा गर्नुभएको छ?

३. (क) परमेश्‍वरका सेवकहरूलाई एकदमै मन पर्ने प्रतिज्ञा कुन हो? (प्रकाश २१:३, ४) (ख) यस प्रतिज्ञाबारे सुन्दा मानिसहरू के भन्छन्‌?

३ अब छलफल गरिने प्रतिज्ञा परमेश्‍वरका सेवकहरूलाई एकदमै मन पर्ने प्रतिज्ञा हो। (प्रकाश २१:३, ४ पढ्‌नुहोस्‌।) यहोवाले “मृत्यु हुनेछैन अनि शोक रुवाइ, वा पीडा पनि फेरि कहिल्यै हुनेछैन” भनेर प्रतिज्ञा गर्नुभएको छ। प्रमोदवनमा मानिसको जीवन कस्तो हुनेछ भनेर बुझाउन हामीमध्ये धेरैजसो यो सान्त्वनादायी बाइबल पद प्रयोग गर्छौँ। यस प्रतिज्ञाबारे सुन्दा मानिसहरू के भन्छन्‌? सायद यसो भन्छन्‌: “कुरा त राम्रै हो तर यस्तो हुनै सक्दैन।”

४. (क) यहोवालाई के थाह थियो? (ख) यहोवाले प्रमोदवनबारे प्रतिज्ञा गर्नुका साथै अरू के गर्नुभयो?

४ यहोवाले प्रेषित युहन्‍नालाई यस प्रतिज्ञाबारे लेख्न लगाउनुहुँदा आज हामीले त्यस आशाबारे अरूलाई बताउनेछौँ भनेर उहाँलाई थाह थियो। साथै थुप्रै मानिसलाई यस प्रतिज्ञामा विश्‍वास गर्न गाह्रो लाग्नेछ भनेर पनि उहाँलाई थाह थियो। (यसै. ४२:९; ६०:२; २ कोरि. ४:३, ४) त्यसोभए प्रकाश २१:३, ४ का शब्दहरू पूरा हुनेछन्‌ भनेर हामी अरूलाई कसरी विश्‍वस्त पार्न सक्छौँ? अनि त्यस पदका शब्दहरूमाथिको आफ्नो भरोसालाई कसरी बलियो बनाउन सक्छौँ? यहोवाले यो प्रतिज्ञा लेख्न मात्र लगाउनुभएन बरु यो पूरा हुनेछ भनेर भरोसा गर्न सकिने चित्तबुझ्दा कारणहरू पनि बताउनुभयो। कस्ता कारणहरू?

आफ्नो प्रतिज्ञा पूरा गर्ने यहोवाको ग्यारेन्टी

५. प्रमोदवनबारे गरिएको प्रतिज्ञामा भरोसा गर्न सकिने कस्ता कारणहरू छन्‌ र ती हामी कहाँ पाउन सक्छौँ?

५ पद ४ पछिका पदहरूमा प्रमोदवनबारे यहोवाले गर्नुभएको प्रतिज्ञामा भरोसा गर्न सकिने कारणहरू पाउँछौँ, जहाँ यस्तो लेखिएको छ: “सिंहासनमा बस्नुहुनेले भन्‍नुभयो: ‘हेर! म सबै थोक नयाँ बनाउँदै छु।’ उहाँ यसो पनि भन्‍नुहुन्छ: ‘लेख किनकि यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्‌।’ अनि उहाँले मलाई भन्‍नुभयो: ‘यी वचनहरू पूरा भइसकेका छन्‌! अल्फा र ओमेगा अर्थात्‌ सुरुवात र अन्त म नै हुँ।’”—प्रका. २१:५, ६क.

६. प्रकाश २१:५, ६ ले परमेश्‍वरको प्रतिज्ञामाथिको हाम्रो भरोसालाई कसरी बलियो बनाउँछ?

६ यी पदहरूले परमेश्‍वरको प्रतिज्ञामाथिको हाम्रो भरोसालाई कसरी बलियो बनाउँछ? यी पदहरूबारे प्रकाशको चरमोत्कर्ष किताबमा यस्तो लेखिएको छ: “विश्‍वासी मानवजातिले भविष्यमा उपभोग गर्न पाउने यी आशिषहरूको ग्यारेन्टी पत्रमाथि मानौं यहोवाले स्वयं हस्ताक्षर गर्नु भएको जस्तै छ।”b प्रकाश २१:३, ४ मा परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा पाउँछौँ। त्यसपछिका दुई वटा पदमा लेखिएको कुरा आफ्नो प्रतिज्ञा पक्कै पूरा हुनेछ भनेर उहाँले गर्नुभएको हस्ताक्षरजस्तै छ। आउनुहोस्‌, उहाँका ती ग्यारेन्टीका शब्दहरूलाई राम्ररी केलाऔँ।

७. प्रकाश २१:५ मा को बोल्न थाल्नुहुन्छ र यो किन उल्लेखनीय छ?

७ पद ५ को सुरुमा यसो भनिएको छ: “सिंहासनमा बस्नुहुनेले भन्‍नुभयो।” (प्रका. २१:५क) प्रकाशको किताबमा यहोवा स्वयम्‌ले बोल्नुभएको तीन वटा विवरण पाउँछौँ, जसमध्ये यो एउटा हो। याद गर्नुहोस्‌, यो ग्यारेन्टी न त शक्‍तिशाली स्वर्गदूतले न त फेरि जीवित हुनुभएका येसुले बरु स्वयम्‌ यहोवा परमेश्‍वरले दिनुभएको हो। त्यसैले यहोवाले यसपछि भन्‍नुभएको कुरामा हामी पूर्णतया भरोसा गर्न सक्छौँ। किन? किनकि यहोवा “कहिल्यै झूट नबोल्नुहुने परमेश्‍वर” हुनुहुन्छ। (ति. १:२) त्यसैले प्रकाश २१:५, ६ मा लेखिएका शब्दहरू पक्कै पूरा हुनेछन्‌।

“हेर! म सबै थोक नयाँ बनाउँदै छु”

८. आफ्नो प्रतिज्ञा पूरा हुनेछ भनेर यहोवाले कसरी जोड दिनुभएको छ? (यसैया ४६:१०)

८ अब हामी “हेर!” शब्दबारे विचार गरौँ। (प्रका. २१:५) “हेर!” भनेर अनुवाद गरिएको ग्रीक शब्द प्रकाशको किताबमा थुप्रै चोटि प्रयोग गरिएको पाउँछौँ। एउटा स्रोतसामग्रीअनुसार “हेर!” भन्‍ने शब्द “त्यसपछि भनिने कुरामा पाठकको ध्यान खिच्नको लागि प्रयोग गरिएको हो।” परमेश्‍वरले त्यसपछि के भन्‍नुभयो? उहाँले “म सबै थोक नयाँ बनाउनेछु” भन्‍नुभएन बरु यसो भन्‍नुभयो: “म सबै थोक नयाँ बनाउँदै छु।” हुनत यहोवाले यी परिवर्तनहरू भविष्यमा गर्नुहुनेछ। तर उहाँ आफ्ना प्रतिज्ञाहरू पूरा हुने कुरामा यत्ति विश्‍वस्त हुनुहुन्छ कि उहाँ ती कुराहरू पूरा हुन थालिसकेको जस्तो गरी बताउँदै हुनुहुन्छ।—यसैया ४६:१० पढ्‌नुहोस्‌।

९. (क) “सबै थोक नयाँ बनाउँदै छु” भन्‍ने अभिव्यक्‍तिले यहोवाले गर्नुहुने कुन दुई वटा कामलाई बुझाउँछ? (ख) अहिलेको “आकाश” र “पृथ्वी” के हुनेछ?

९ प्रकाश २१:५ को अर्को अभिव्यक्‍तिबारे विचार गरौँ: “सबै थोक नयाँ बनाउँदै छु।” बाइबलको यस अध्यायमा यस अभिव्यक्‍तिले यहोवाले गर्नुहुने दुई वटा कामलाई बुझाउँछ। पहिलो, दुष्ट युगलाई नाश गर्ने। दोस्रो, नयाँ युग स्थापना गर्ने। प्रकाश २१:१ मा यस्तो लेखिएको पाउँछौँ: “पहिलेको आकाश र पहिलेको पृथ्वी बितिसकेका थिए।” “पहिलेको आकाश”-ले सैतान र त्यसका प्रेतहरूको अधीनमा रहेको सरकारलाई बुझाउँछ। (मत्ति ४:८, ९; १ युह. ५:१९) अनि बाइबलमा प्रयोग गरिएको “पृथ्वी” शब्दले कहिलेकाहीँ मानिसहरूलाई बुझाउँछ। (१ इति. १६:३१; भज. ९६:१) त्यसैले “पहिलेको पृथ्वी”-ले आजको दुष्ट मानव समाजलाई बुझाउँछ। यहोवाले अहिलेको “आकाश” र “पृथ्वी”-लाई सुधार्नुहुनेछैन बरु त्यसलाई पूर्णतया नाश गर्नुहुनेछ। अनि उहाँले त्यसको ठाउँमा “नयाँ आकाश र नयाँ पृथ्वी” अर्थात्‌ नयाँ सरकार र नयाँ मानव समाज स्थापना गर्नुहुनेछ।

१०. यहोवाले अरू के नयाँ बनाउनुहुनेछ?

१० प्रकाश २१:५ अनुसार यहोवाले अरू के नयाँ बनाउनुहुनेछ? त्यस पदमा उहाँले अस्तित्वमै नभएको थोक बनाउने कुरा गर्नुभएन बरु अस्तित्वमै भएको थोकलाई नयाँ बनाउने कुरा गर्नुभयो। यहोवाले पृथ्वीलाई सुरुको सुन्दर बगैँचाजस्तै बनाउनुहुनेछ र मानिसहरूलाई त्रुटिरहित अवस्थामा पुऱ्‍याउनुहुनेछ। यसैयाको किताबमा भविष्यवाणी गरिएझैँ पूरै पृथ्वी अदनको बगैँचाजस्तै सुन्दर हुनेछ। अनि यहोवाले हाम्रो सबै स्वास्थ्य समस्या हटाउनुहुनेछ अनि हामीले नयाँ र स्वस्थ शरीर पाएको महसुस गर्नेछौँ। लङ्‌गडो हिँड्‌नेछ, अन्धोले देख्नेछ र बहिरोले सुन्‍नेछ अनि मरेका मानिसहरूसमेत फेरि जीवित हुनेछन्‌।—यसै. २५:८; ३५:१-७.

‘यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्‌ अनि पूरा भइसकेका छन्‌!’

११. यहोवाले युहन्‍नालाई कस्तो आज्ञा दिनुभयो र किन?

११ यहोवाले अर्को कस्तो ग्यारेन्टी दिनुभएको छ? उहाँले युहन्‍नालाई यसो भन्‍नुभयो: “लेख किनकि यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्‌।” (प्रका. २१:५) यहोवाले तिनलाई “लेख” मात्र भन्‍नुभएन बरु लेख्न लगाउनुको कारण पनि बताउनुभयो। उहाँले यसो भन्‍नुभयो: “किनकि यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्‌” अर्थात्‌ उहाँका वचनहरू भरपर्दा र सही छन्‌। युहन्‍नाले “लेख” भन्‍ने आज्ञा पालन गरेकोमा हामी साँच्चै कृतज्ञ छौँ। किनकि आज हामीले प्रमोदवनबारे गरिएको प्रतिज्ञा पढ्‌न र सुन्दर आशिष्‌हरूबारे मनन गर्न पाएका छौँ।

१२. यहोवाले “यी वचनहरू पूरा भइसकेका छन्‌” भनेर किन भन्‍नुभयो?

१२ त्यसपछि यहोवा यसो भन्‍नुहुन्छ: “यी वचनहरू पूरा भइसकेका छन्‌!” (प्रका. २१:६) उहाँले ती प्रतिज्ञाहरू पूरा भइसके भनेर किन भन्‍नुभयो? किनकि उहाँलाई आफ्नो उद्देश्‍य पूरा गर्नदेखि कुनै कुराले रोक्न सक्दैन। आफ्नो प्रतिज्ञा पक्कै पूरा हुनेछ भनेर देखाउन यहोवाले अर्को ग्यारेन्टी पनि दिनुभएको छ। त्यो के हो?

“अल्फा र ओमेगा म नै हुँ”

१३. यहोवाले किन “अल्फा र ओमेगा म नै हुँ” भन्‍नुभयो?

१३ सुरुमा उल्लेख गरिएजस्तै युहन्‍नाले देखेका दर्शनहरूमा यहोवा आफैले बोल्नुभएको तीन वटा विवरण पाउँछौँ। (प्रका. १:८; २१:५, ६; २२:१३) उहाँले तीनै चोटि “अल्फा र ओमेगा म नै हुँ” भन्‍नुभयो। “अल्फा” ग्रीक वर्णमालाको पहिलो अक्षर हो र “ओमेगा” अन्तिम अक्षर हो। “अल्फा र ओमेगा म नै हुँ” भन्‍नुभएको कुराबाट यहोवाले कुनै काम सुरु गर्नुभएपछि त्यो पूरा गरेरै छोड्‌नुहुन्छ भनेर बुझ्न सक्छौँ।

चित्रहरूको सँगालो: यहोवाको उद्देश्‍य पूरा हुँदै छ। १. “अल्फा।” आदम र हव्वा अदनको बगैँचामा। २. विद्रोहका नतिजाहरू: दुष्ट स्वर्गदूत सैतान, वृद्ध भइसकेका आदम र हव्वा, बाबेलको धरहरा, चिहान, सिपाहीहरू, बख्तरबन्द गाडी, लडाकु विमान, औद्योगिक प्रदूषण र आन्दोलनकारीहरू। त्यसको तलका दुइटा चित्रमा यहोवाको उद्देश्‍य पूरा हुँदै गइरहेको देखाइएको छ: येसुलाई खम्बामा झुन्ड्याइएको छ, जुन कुराले फिरौतीको प्रबन्धलाई बुझाउँछ; पुरातन र आधुनिक समयका यहोवाका सेवकहरू, जसले आदम र हव्वाका धर्मी सन्तानलाई बुझाउँछ। ३. “ओमेगा।” मानिसहरू प्रमोदवनमा मिलेर काम गर्दै छन्‌ र रमाउँदै छन्‌।

यहोवाले कुनै काम सुरु गर्नुभएपछि त्यो पूरा गरेरै छोड्‌नुहुन्छ (अनुच्छेद १४, १७ हेर्नुहोस्‌)

१४. (क) यहोवाले कहिले “अल्फा” भन्‍नुभयो र कहिले “ओमेगा” भन्‍नुहुनेछ? एउटा उदाहरण बताउनुहोस्‌। (ख) उत्पत्ति २:१-३ मा कस्तो ग्यारेन्टी पाउँछौँ?

१४ आदम र हव्वालाई सृष्टि गर्नुभएपछि यहोवाले मानिसजाति र पृथ्वीको लागि आफ्नो उद्देश्‍य बताउनुभयो। यसबारे बाइबलमा यसो भनिएको छ: “परमेश्‍वरले तिनीहरूलाई यस्तो आशिष्‌ दिनुभयो: ‘फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ अनि पृथ्वीमाथि अधिकार गर।’” (उत्प. १:२८) आफ्नो उद्देश्‍यबारे पहिलो चोटि बताउनुहुँदा यहोवाले एक अर्थमा “अल्फा” भन्‍नुभयो। उहाँको उद्देश्‍य आदम र हव्वाका त्रुटिरहित अनि आज्ञाकारी सन्तानले पृथ्वीलाई भर्ने र त्यसलाई प्रमोदवन बनाउने हो। त्यो समय आएपछि यहोवाले एक अर्थमा “ओमेगा” भन्‍नुहुनेछ। “आकाश र पृथ्वी अनि यिनमा भएका सबै थोक” सृष्टि गर्ने काम सिद्धिएपछि उहाँले एउटा ग्यारेन्टी दिनुभयो। त्यो ग्यारेन्टी उत्पत्ति २:१-३ मा पाइन्छ। (पढ्‌नुहोस्‌।) पद ३ मा यहोवाले सातौँ दिनलाई पवित्र घोषणा गर्नुभयो। यसको अर्थ के हो? यसको अर्थ यहोवाले मानिसजाति र पृथ्वीको लागि राख्नुभएको उद्देश्‍य पूरा गर्न त्यो दिन छुट्ट्याउनुभयो भन्‍ने हो। त्यसैले सातौँ दिनलाई पवित्र घोषणा गर्नुहुँदा उहाँले त्यस दिनको अन्तमा आफ्नो उद्देश्‍य पूरा हुने ग्यारेन्टी दिँदै हुनुहुन्थ्यो।

१५. सैतानले परमेश्‍वरको उद्देश्‍य विफल पारिदिएको जस्तो किन देखियो?

१५ आदम र हव्वाले विद्रोह गरेपछि तिनीहरू पापी भए अनि तिनीहरूको सन्तानमा पनि पाप र मृत्यु सऱ्‍यो। (रोमी ५:१२) परिणामस्वरूप पृथ्वीलाई त्रुटिरहित अनि आज्ञाकारी मानिसहरूले भर्ने परमेश्‍वरको उद्देश्‍यलाई सैतानले विफल पारिदिएको जस्तो देखियो। सैतानले गर्दा यहोवाले कहिल्यै “ओमेगा” भन्‍न सक्नुहुन्‍न जस्तो देखियो। सैतानलाई यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्न सक्नुहुन्‍न जस्तो लागेको हुन सक्छ। यदि यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्ने हो भने आदम र हव्वालाई मृत्युदण्ड दिनुपर्छ र अर्को त्रुटिरहित दम्पती सृष्टि गर्नुपर्छ भनेर सैतानले सोचेको हुन सक्छ। यदि परमेश्‍वरले त्यसो गर्नुभएको भए दियाबलले परमेश्‍वर झूट बोल्नुहुन्छ भनेर आरोप लगाउन सक्थ्यो। किन? किनकि उत्पत्ति १:२८ अनुसार यहोवाले आदम र हव्वालाई तिनीहरूकै सन्तानले पृथ्वी भरिनेछ भन्‍नुभएको थियो।

१६. यहोवा असफल हुनुभएको आरोप लगाउन सक्छु भनेर सैतानले किन सोचेको हुन सक्छ?

१६ सैतानलाई परमेश्‍वरसित अर्को कुन विकल्प बाँकी छ भन्‍ने लागेको हुन सक्छ? परमेश्‍वरले आदम र हव्वालाई त्रुटिपूर्ण सन्तान जन्माउन दिनुहुनेछ तर तिनीहरू कहिल्यै त्रुटिरहित अवस्थामा पुग्नेछैनन्‌ भनेर सैतानले सोचेको हुन सक्छ। (उप. ७:२०; रोमी ३:२३) यदि त्यसो भएको भए दियाबलले उहाँ असफल हुनुभएको आरोप लगाउन सक्थ्यो। किन? किनकि पृथ्वी आदम र हव्वाका त्रुटिरहित अनि आज्ञाकारी सन्तानले भरिने थिएन।

१७. यहोवाले सैतान र प्रथम मानव दम्पतीले गरेको विद्रोहलाई कसरी सुल्झाउनुभयो र अन्तमा नतिजा कस्तो हुनेछ? (चित्र पनि हेर्नुहोस्‌।)

१७ यहोवाले सैतान र प्रथम मानव दम्पतीको विद्रोहलाई सुल्झाउनुभएको तरिका देखेर सैतान जिल्ल परेको हुनुपर्छ। (भज. ९२:५) यहोवाले आदम र हव्वालाई सन्तान जन्माउन दिनुभएर उहाँ झूट बोल्नुहुन्‍न बरु सत्य बोल्नुहुन्छ भनेर प्रमाणित भयो। अनि उहाँ असफल होइन, सफल हुनुभयो। किनकि यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्न एउटा “सन्तान” दिने प्रतिज्ञा गर्नुभयो, जसले आदम र हव्वाका आज्ञाकारी सन्तानलाई जोगाउने थियो। त्यही सन्तानले फिरौतीस्वरूप आफ्नो ज्यान दिने थियो। (उत्प. ३:१५; २२:१८) यहोवाको यस्तो प्रबन्ध देखेर सैतान चकित भएको हुनुपर्छ। किन? किनकि यो प्रबन्ध निःस्वार्थ प्रेममा आधारित थियो। (मत्ति २०:२८; युह. ३:१६) सैतान स्वार्थी भएकोले त्यसमा यो गुण पटक्कै छैन। फिरौतीको बलिदानले गर्दा कस्ता लाभहरू हुनेछन्‌? ख्रिष्टको हजार वर्षीय शासनको अन्तमा यहोवाको सुरुको उद्देश्‍यअनुरूपै आदम र हव्वाका त्रुटिरहित अनि आज्ञाकारी सन्तानले पृथ्वी अधिकार गर्नेछन्‌। त्यतिबेला यहोवाले “ओमेगा” भन्‍नुहुनेछ।

प्रमोदवनको प्रतिज्ञामाथिको भरोसालाई कसरी बलियो बनाउन सक्छौँ?

१८. यहोवा आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ भन्‍न सकिने तीन वटा कारण बताउनुहोस्‌। (“यहोवाको प्रतिज्ञामा भरोसा गर्न सकिने तीन कारण” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

१८ हामीले यस लेखमा पृथ्वी प्रमोदवनमा परिणत हुनेछ भनेर ढुक्क हुन सकिने केही कारणबारे छलफल गऱ्‍यौँ। यस प्रतिज्ञामा शङ्‌का गर्नेहरूलाई हामी के भन्‍न सक्छौँ? पहिलो, यहोवाले त्यो प्रतिज्ञा आफै गर्नुभएको हो। प्रकाशको किताबमा यसो भनिएको छ: “सिंहासनमा बस्नुहुनेले भन्‍नुभयो: ‘हेर! म सबै थोक नयाँ बनाउँदै छु।’” उहाँसित आफ्नो प्रतिज्ञा पूरा गर्ने बुद्धि, शक्‍ति र इच्छा छ। दोस्रो, उहाँ आफ्नो प्रतिज्ञा पूरा हुने कुरामा यत्ति पक्का हुनुहुन्छ कि उहाँको नजरमा ती पूरा भइसके। त्यसैले उहाँले यसो भन्‍नु उपयुक्‍त छ: “यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्‌। . . . यी वचनहरू पूरा भइसकेका छन्‌!” तेस्रो, यहोवाले कुनै काम सुरु गर्नुभएपछि त्यो पूरा गरेरै छोड्‌नुहुन्छ। त्यसैले उहाँले यसो भन्‍नुभयो: “अल्फा र ओमेगा म नै हुँ।” सैतान झूटा हो र त्यसले कुनै पनि हालतमा यहोवाको उद्देश्‍य पूरा हुनदेखि रोक्न सक्दैन भनेर उहाँले प्रमाणित गर्नुहुनेछ।

यहोवाको प्रतिज्ञामा भरोसा गर्न सकिने तीन कारण

सिंहासनबाट निस्किरहेको चम्किलो ज्योतिले यहोवालाई चित्रण गर्छ।
  • “सिंहासनमा बस्नुहुनेले भन्‍नुभयो: ‘हेर! म सबै थोक नयाँ बनाउँदै छु।’”—प्रका. २१:५

प्रेषित युहन्‍ना चर्मपत्रमा लेख्दै छन्‌।
  • “उहाँ यसो पनि भन्‍नुहुन्छ: ‘लेख किनकि यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्‌। . . . यी वचनहरू पूरा भइसकेका छन्‌!’”—प्रका. २१:५, ६

ग्रीक अक्षर अल्फा र ओमेगा।
  • “अल्फा र ओमेगा . . . म नै हुँ।” —प्रका. २१:६

१९. प्रमोदवनको प्रतिज्ञामा शङ्‌का गर्ने मानिसहरूलाई हामी के भन्‍न सक्छौँ?

१९ परमेश्‍वरले दिनुभएको ग्यारेन्टीबारे अरूलाई बताउँदा तपाईँले यहोवाका प्रतिज्ञाहरूमाथिको आफ्नो भरोसालाई बलियो बनाइरहनुभएको हुनेछ। त्यसैले प्रकाश २१:४ को मन छुने प्रतिज्ञाबारे पढेर सुनाउँदा मानिसहरूले “कुरा त राम्रै हो तर यस्तो हुनै सक्दैन” भनेमा तपाईँ कस्तो जवाफ दिन सक्नुहुन्छ? पद ५ र ६ पढेर त्यसको व्याख्या गर्नुभए कसो होला? त्यहाँ लेखिएको कुरा आफ्नो प्रतिज्ञा पूरा हुनेछ भन्‍ने कुराको ग्यारेन्टी दिन यहोवाले गर्नुभएको हस्ताक्षरजस्तै हो भनेर बताउनुहोस्‌।—यसै. ६५:१६.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • यहोवा स्वयम्‌ले प्रमोदवनको प्रतिज्ञा गर्नु किन उल्लेखनीय छ?

  • आफ्नो प्रतिज्ञा पूरा हुनेछ भनेर परमेश्‍वरले कस्तो ग्यारेन्टी दिनुभएको छ?

  • यहोवाको प्रतिज्ञामाथिको भरोसालाई कसरी बलियो बनाउन सक्छौँ?

गीत १४५ वाचा नयाँ संसारको

a यस लेखमा यहोवाले प्रमोदवनबारे गर्नुभएको प्रतिज्ञा पक्कै पूरा हुनेछ भनेर उहाँले दिनुभएको ग्यारेन्टीबारे छलफल गर्नेछौँ। हामीले यस ग्यारेन्टीबारे अरूलाई बताउँदा यहोवाका प्रतिज्ञाहरूमाथिको आफ्नो भरोसालाई बलियो बनाइरहेका हुन्छौँ।

b प्रकाश—त्यसको चरमोत्कर्ष निकट! किताबको पृ. ३०३, अनु. ८-९ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने