प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ३/८ pp. ९-११
  • आमाको सम्मानित भूमिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आमाको सम्मानित भूमिका
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आमाहरूप्रति सन्तुलित दृष्टिकोण
  • आफ्नो कृतज्ञता व्यक्‍त गर्नुहोस्‌
  • आमाले सामना गर्ने चुनौतीहरू
    ब्यूँझनुहोस्‌!—२००५
  • मातृत्व—अनेकौं अवरोधहरू पार गर्नुपर्ने दौड
    ब्यूँझनुहोस्‌!—२००२
  • महिलाहरू तथा तिनीहरूको कामको मूल्यांकन
    ब्यूँझनुहोस्‌!—१९९८
  • आमाको बुद्धिमानी सल्लाह
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ३/८ pp. ९-११

आमाको सम्मानित भूमिका

घर सँभाल्ने व्यक्‍तिको हैसियतमा आमाको भूमिकालाई अक्सर त्यति मोल गरिंदैन र तुच्छसमेत ठानिन्छ। केही दशकअघि केही मानिसहरूले बच्चा हुर्काउने भूमिकालाई महत्त्वहीन ठान्‍न लागे। तिनीहरू यो जागिर जत्तिको महत्त्वपूर्ण छैन र एउटा बेकारको बोझ हो भन्थे। अधिकांशलाई यस्तो सोचाइ अचाक्ली जस्तो लागे तापनि घर सँभाल्ने तथा बच्चाहरूको हेरचाह गर्नुलाई दोस्रो दर्जाको कामको रूपमा हेर्न आमाहरूलाई बाध्य गराइन्छ। कतिपयले आफूमा भएको प्रतिभा चिन्‍न महिलाहरूले बाहिर जागिर खानै पर्छ भन्‍ने धारणासमेत राख्छन्‌।

यद्यपि, परिवारमा आमाको भूमिकालाई धेरै पति र बच्चाहरूले बुझ्न थालेका छन्‌। फिलिपिन्सस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा कार्यरत कार्लो यसो भन्छन्‌, “मेरी आमाले दिनुभएको प्रशिक्षणले गर्दा नै म अहिले यहाँ छु। मेरो पिता अनुशासनमा राख्ने खालको हुनुहुन्थ्यो र तुरुन्तै सजाय दिइहाल्नुहुन्थ्यो तर आमाले तर्क गर्दै फकाई-फकाई सम्झाउनुहुन्थ्यो। उहाँको यस्तो सिकाउने शैलीको म साँच्चै प्रशंसा गर्छु।”

दक्षिण अफ्रिकामा सीमित शिक्षा भएकी आमाले हुर्काएका छ जना सन्तानमध्ये पिटर एक हुन्‌। तिनको बुबाले परिवारलाई त्यागेका थिए। पिटर सम्झन्छन्‌: “एक जना आया र कुचीकार हुनुभएकोले आमाको कमाइ थोरै थियो। हामी सबैको स्कूलको फि तिर्न पनि उहाँलाई हम्मे-हम्मे पर्थ्यो। हामी अक्सर भोकै सुत्थ्यौं। हामीलाई टाउको लुकाउने ठाउँको बन्दोबस्त गर्न समेत उहाँलाई गाह्रो थियो। यी सबै कठिनाइहरूको बावजुद आमाले कहिल्यै हरेस खानुभएन। उहाँले हामीलाई कहिल्यै अरूसित आफ्नो तुलना नगर्न सिकाउनुभयो। उहाँले यस्तो साहसी अडान नलिनुभएको भए आज हामी यो ठाउँमा आइपुग्ने थिएनौं।”

एक नाइजेरियन पति अहमद छोराछोरी हुर्काउन आफ्नी पत्नीले गरेको सहयोगबारे यसो भन्छन्‌: “म मेरी पत्नीको भूमिकाको कदर गर्छु। आफू घरमा नहुँदा बच्चाहरूको राम्रो देखभाल हुने कुरामा म ढुक्क छु। मलाई कहिल्यै यस्तो लाग्दैन, मेरी पत्नीले मसित प्रतिस्पर्धा गर्दैछिन्‌; बरु म उनलाई धन्यवाद दिन्छु अनि आफूलाई जत्तिकै उनलाई आदर गर्न बच्चाहरूलाई सिकाउँछु।”

एक प्यालेस्टाइनी पुरुष आमाको भूमिकामा आफ्नी पत्नीको सफलतालाई मुक्‍तकण्ठले प्रशंसा गर्छन्‌: “हाम्री छोरीको लागि लीनाले धेरै गरेकी छिन्‌ र हाम्रो परिवारको आध्यात्मिकतामा उनको ठूलो योगदान छ। मलाई लाग्छ, उनी यत्तिको सफल हुनुको पछाडि उनको धार्मिक विश्‍वास नै हो।” लिना एक यहोवाको साक्षी हुन्‌ र आफ्नी छोरीलाई सिकाउन उनी बाइबल सिद्धान्त पछ्याउँछिन्‌।

केही त्यस्ता सिद्धान्तहरू के-के हुन्‌? आमाहरूप्रति बाइबलको दृष्टिकोण कस्तो छ? पुरातन समयमा आमाहरूलाई कसरी शिक्षकको हैसियतमा आदर र सम्मान दिइयो?

आमाहरूप्रति सन्तुलित दृष्टिकोण

सृष्टि गर्दा नै पारिवारिक प्रबन्धमा स्त्रीजातिलाई एउटा सम्मानजनक भूमिका दिइयो। बाइबलको सुरुको पुस्तक यसो भन्छ, “फेरि परमप्रभु परमेश्‍वरले, भन्‍नुभयो ‘मानिस एक्लो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी [“र परिपूरक”, NW] बनाउनेछु।’” (उत्पत्ति २:१८) अतः प्रथम स्त्री हव्वालाई आदमको परिपूरक अर्थात्‌ सहकर्मीको रूपमा दिइयो। हव्वा आदमको सहयोगी हुन पूर्णत सुसज्जित थिइन्‌। तिनी सन्तान जन्माउने, तिनीहरूको देखभाल गर्ने तथा जनावरहरूको रेखदेख गर्ने परमेश्‍वरको उद्देश्‍यको एक भाग बन्‍ने थिइन्‌। एक सच्चा साथी भएर तिनले विवेकी उत्प्रेरणा र प्रोत्साहन दिने थिइन्‌। सृष्टिकर्ताबाट यस सुन्दर उपहार पाउँदा आदम कत्ति खुसी भएका थिए!—उत्पत्ति १:२६-२८; २:२३.

पछि, स्त्रीजातिलाई कसरी व्यवहार गरिनुपर्छ भन्‍ने सन्दर्भमा परमेश्‍वरले एउटा निर्देशन नै तयार पार्नुभयो। उदाहरणको लागि, इस्राएली आमाहरूलाई सम्मान देखाइनु पर्थ्यो र हेला गरिनु हुँदैनथ्यो। ‘आफ्ना आमाबाबुलाई सराप्ने’ छोरालाई प्राणदण्ड दिइने थियो। मसीही युवाहरूलाई ‘आफ्ना आमाबाबुको आज्ञा पालन गर्न’ आग्रह गरिएको थियो।—लेवी १९:३; २०:९; एफिसी ६:१; व्यवस्था ५:१६; २७:१६; हितोपदेश ३०:१७.

पतिको निर्देशनमा छोरा र छोरी दुवैको लागि आमा शिक्षक बन्‍नु पर्थ्यो। छोरालाई ‘आमाको अर्ती इन्कार नगर्न’ आज्ञा दिइयो। (हितोपदेश ६:२०) साथै, हितोपदेश ३१ अध्यायले ‘राजा लमूएललाई तिनकी आमाले सिकाएको नीतिवचनबारे’ बताउँछ। आफ्नो छोरालाई मद्यको दुरुपयोग नगर्ने बुद्धिमानी निर्देशन दिंदै तिनी यसो भन्छिन्‌: “राजाहरूले मद्य पिउनु असल होइन, शासकहरूलाई कडा मद्यपान गर्नु पनि असल होइन। तिनीहरूले मद्य पियो भने उचित ऐन-कानून र नीतिहरूलाई बिर्सनेछन्‌, र दुःखीहरूको निसाफलाई उल्टो पारिदिनेछन्‌।”—हितोपदेश ३१:१, ४, ५.

साथै, “सुयोग्य पत्नी” कस्ती हुन्छिन्‌ भनी राजा लमूएलकी आमाले गरेको वर्णनलाई विवाहबारे सोचिरहेका प्रत्येक युवाहरूले सोच्नु बुद्धिमानी हुनेछ जसले यसो भनिन्‌: “तिनी मूगा-मोतीभन्दा पनि ज्यादा बहुमूल्यकी हुन्छिन्‌।” त्यस्ती पत्नीले घरव्यवहारमा पुऱ्‍याउन सक्ने महत्त्वपूर्ण योगदानबारे चर्चा गरिसकेपछि राजाकी आमाले यसो भनिन्‌: “सौन्दर्य भ्रमात्मक हुन्छ, औ सुन्दरता उडिजाने हुन्छ, तर परमेश्‍वरको भय मान्‍ने स्त्रीनै आदरणीय हुन्छिन्‌।” (हितोपदेश ३१:१०-३१) स्पष्टतः स्त्रीजातिलाई हाम्रो सृष्टिकर्ताले परिवारमा आदर र जिम्मेवारपूर्ण स्थान ओगट्‌न सृष्टि गर्नुभयो।

मसीही मण्डलीमा आमा र पत्नीको पनि सम्मान र मोल गरिन्छ। एफिसी ५:२५ ले यसो भन्छ: “ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर।” आमा र हजुरआमाले “पवित्र लेखोटहरू[को]” आदर गर्न सिकाएर हुर्काएका जवान तिमोथीलाई यस्तो प्रेरित सल्लाह दिइयो: “आफूभन्दा ठूली स्त्रीहरूलाई आमाझैं” सम्झ। (२ तिमोथी ३:१५; १ तिमोथी ५:१, २) अतः कुनै पुरुषले पाको स्त्रीलाई आफ्नै आमालाई झैं आदर गर्नुपर्छ। हो, परमेश्‍वरले स्त्रीजातिको मोल गर्नुहुन्छ र तिनीहरूलाई एउटा मर्यादित स्थानमा राख्नुहुन्छ।

आफ्नो कृतज्ञता व्यक्‍त गर्नुहोस्‌

स्त्रीहरूलाई तुच्छ ठान्‍ने संस्कृतिमा हुर्केका एक पुरुष यसो भन्छन्‌: “मैले पुरुषलाई नै सर्वश्रेष्ठ ठानिने शिक्षा हासिल गरें र स्त्रीहरूलाई दुर्व्यवहार गरिएको अनि आदर नदेखाइएको आफ्नै आँखाले देखेको छु। त्यसैले स्त्रीप्रति सृष्टिकर्ताको दृष्टिकोण राख्न अनि घरव्यवहारको काममा तिनलाई परिपूरक अथवा एक सहकर्मी र घरमा बच्चाहरूलाई शिक्षा दिने टोलीको एक सदस्यको रूपमा हेर्न मैले सङ्‌घर्ष गर्नुपरेको छ। आफ्नी पत्नीलाई प्रशंसाका दुई शब्द व्यक्‍त गर्न कहिलेकाहीं गाह्रो भए तापनि अहिले मेरा छोराछोरीहरूमा जे-जति असल कुराहरू छन्‌, त्यो सबै मेरी पत्नीकै मेहनतको फल हो।”

वास्तवमा, शिक्षकको जिम्मेवारी पाएको ठान्‍ने आमाहरूले आफ्नो यस भूमिकामा गर्व गर्न सक्छन्‌। यो एउटा साँच्चै अर्थपूर्ण काम हो। तिनीहरू साँच्चै नै प्रशंसा अनि हार्दिक कृतज्ञताको हकदार छन्‌। हामीले आमाहरूबाट धेरै कुरा सिक्न सक्छौं—त्यस्ता बानीहरू जुन जीवनभर उपयोगी हुन्छन्‌, असल सम्बन्धको लागि नभई नहुने असल आचरणहरू अनि नैतिक र आध्यात्मिक लालनपालन जसले युवाहरूलाई ठीक बाटोमा ल्याउँछ। आफ्नी आमाले तपाईंको लागि गरिदिनुभएको कुनै कामको लागि के तपाईंले हालसालै उहाँलाई धन्यवाद दिनुभएको छ? (g05 2/22)

[पृष्ठ ९-मा भएको चित्र]

पिटरकी आमाले तिनलाई हरेस नखान सिकाइन्‌

[पृष्ठ १०-मा भएको चित्र]

आफ्ना छोराछोरी हुर्काउन आफ्नी पत्नीले गरेको मदतको अहमद धेरै प्रशंसा गर्छन्‌

[पृष्ठ १०-मा भएको चित्र]

आफ्नी छोरीको असल आचरणको श्रेय लीनाको पति आफ्नी पत्नीको धार्मिक विश्‍वासलाई दिन्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने