प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 २/१ pp. २१-२६
  • यहोवा र उहाँको वचनमा भरोसा राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा र उहाँको वचनमा भरोसा राख्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सांसारिक बुद्धिमा भरोसा नराख्नुहोस्‌
  • शंका गर्ने झुकाउ विरुद्ध लड्‌नुहोस्‌
  • वैवाहिक जीवनमा यहोवाको निर्देशन पछ्याउने
  • जवानहरू हो—परमेश्‍वरको वचन सुन्‍नुहोस्‌
  • जवानहरू—तपाईंहरू कुन कुराको पछि लागिरहनु भएको छ?
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • के तपाईंले सत्यलाई आफ्नो बनाउनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • तपाईंको विश्‍वास शंकाले नडगमगाओस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • सफल वैवाहिक जीवनको रहस्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 २/१ pp. २१-२६

यहोवा र उहाँको वचनमा भरोसा राख्नुहोस्‌

“तपाईंको नाउँ जान्‍नेहरू जत्ति चाहिंले आफ्नो भरोसा तपाईंमा राख्छन्‌।”—भजन ९:१०.

१. आधुनिक समयमा पनि हामी किन यहोवा र उहाँको वचनमा भरोसा राख्नसक्छौं?

यस आधुनिक संसारमा परमेश्‍वर तथा उहाँको वचनमा भरोसा राख्ने निमन्त्रणा अव्यवहारिक तथा काल्पनिक देखिनसक्छ। यद्यपि, परमेश्‍वरको बुद्धि सधैं साँचो तथा व्यवहारिक साबित भएको छ। उहाँ पुरुष तथा स्त्रीको सृष्टिकर्ता हुनुका साथै विवाह र परिवारको आरम्भक पनि हुनुहुन्छ। उहाँलाई हाम्रा आवश्‍यकताहरूबारे जति थाह छ, त्यो अरू कसैलाई थाह छैन। आधारभूत मानव आवश्‍यकताहरू यथावतै भएझैं ती आवश्‍यकताहरू पूरा गर्ने आधारभूत तरिकाहरू पनि यथावतै छन्‌। बाइबलको बुद्धिमान सल्लाह शताब्दीयौंअघि लेखिएको भए तापनि सफल जीवन बिताउन तथा समस्याहरू समाधान गर्न त्यसले अझै पनि सर्वोत्तम निर्देशन प्रदान गर्छ। त्यो पालन गर्दा आज हामी बाँचिरहेको विकसित तथा वैज्ञानिक संसारमा समेत निकै आनन्द प्राप्त गर्नसक्छौं!

२. (क) यहोवाका जनहरूले परमेश्‍वरका आज्ञाहरू पालन गर्दा कस्ता असल परिणामहरू पाएका छन्‌? (ख) यहोवा र उहाँको वचनप्रति आज्ञाकारी हुनेहरूलाई उहाँले अझै कुन कुराको प्रतिज्ञा गर्नुहुन्छ?

२ यहोवामा भरोसा राखेर बाइबल सिद्धान्तहरू लागू गर्दा हरेक दिन व्यवहारिक लाभहरू पाउँछौं। संसारभरि यहोवाका लाखौं साक्षीहरूले यो प्रमाणित गरेका छन्‌। तिनीहरूसित बाइबलको सल्लाह पालन गर्ने दृढता तथा साहस छ। तिनीहरूको लागि सृष्टिकर्ता र उहाँको वचनमा भरोसा राख्नु एउटा धरहराजस्तै साबित भएको छ। (भजन ९:९, १०) परमेश्‍वरका आज्ञाहरू पालन गरेकोले तिनीहरू स्वच्छ, इमानदार, इलमी, अरूको जिउधनप्रति आदर देखाउने, खानपिनमा सन्तुलित असल व्यक्‍तिहरू भएका छन्‌। परिवारमा उचित प्रेम तथा प्रशिक्षण दिनसकेका छन्‌। अन्य थुप्रै राम्रा कुराहरूको साथै तिनीहरू आतिथेय, धीरजी, दयालु तथा क्षमाशील भएका छन्‌। तिनीहरू रीस, घृणा, हत्या, ईर्ष्या, भय, आलस्य, घमण्ड, झूट, निन्दा, छाडापन तथा अनैतिकताको खराब परिणामबाट निकै हदसम्म जोगिन सकेका छन्‌। (भजन ३२:१०) तर परमेश्‍वरले उहाँको व्यवस्था पालन गर्नेहरूलाई असल परिणाम दिने मात्र प्रतिज्ञा गर्नुभएको छैन। येशूले भन्‍नुभयो, मसीही मार्ग अपनाउनेले “खेदोको साथसाथ सय गुणा बढ़ता घरहरू, र दाज्यू-भाइहरू, र दिदी-बिहनीहरू र आमाहरू, र बालकहरू र जग्गा-जमीनहरू अहिले यही समयमा पाउनेछ, र आउँदो जगत्‌मा अनन्त जीवन” पाउनेछन्‌।—मर्कूस १०:२९, ३०.

सांसारिक बुद्धिमा भरोसा नराख्नुहोस्‌

३. यहोवा र उहाँको वचनमा भरोसा राख्दा मसीहीहरूले कहिलेकाहीं कस्ता समस्याहरू सामना गर्नुपर्ने हुन्छ?

३ असिद्ध मानिसहरूको कमजोरी के हो भने, तिनीहरूमा परमेश्‍वरको मार्गलाई तुच्छ ठान्‍ने वा त्यसलाई बिर्सने झुकाउ हुन्छ। तिनीहरूको बुद्धि श्रेष्ठ छ वा परमेश्‍वरको भन्दा यस संसारको बुद्धिजीवीवर्गको बुद्धि श्रेष्ठ तथा नवीनतम छ भनेर तिनीहरू सजिलै बहकिनसक्छन्‌। परमेश्‍वरका सेवकहरूमा पनि यस्तो मनोवृत्ति विकास हुनसक्छ किनभने तिनीहरू यसै संसारमा बाँचिरहेका छन्‌। तसर्थ, स्वर्गमा हुनुहुने हाम्रो पिताले उहाँको सल्लाह सुन्‍ने मायालु निमन्त्रणाको साथै यसप्रकार उचित चेताउनी दिनुहुन्छ: “हे मेरो छोरो, मेरो अर्तीलाई नभूल, तर मेरो आज्ञालाई तेरो हृदयमा जोगाइराख्‌। किनभने त्यसले तँलाई दीर्घायु र धेरै वर्ष र तँलाई उन्‍नति पनि दिन्छन्‌। तेरो सारा भरोसा यहोवामा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटाहरू सुगम तुल्याइदिनुहुनेछ। आफैलाई बुद्धिमान नसम्झी, तर परमप्रभुको भय मान्‌, र दुष्कर्मबाट अलग बस्‌।”—हितोपदेश ३:१, २, ५-७.

४. “संसारको बुद्धि” कत्तिको व्याप्त छ र त्यो किन “परमेश्‍वरको अगि मूर्खता” हो?

४ यस संसारको ज्ञान बेग्लाबेग्लै स्रोतबाट प्रचुर मात्रामा उपलब्ध छ। शिक्षण संस्थानहरू थुप्रै छन्‌ र “पुस्तकहरूको उपयोगको केही अन्त छैन।” (उपदेशक १२:१२) सांसारिक ज्ञान फालाफाल छ तर यति धेरै ज्ञान भएर पनि संसार अझ बढी बुद्धिमान वा समस्याहरू समाधान गर्नसक्ने भएको छैन। बरु, संसारको परिस्थिति दिनानुदिन बिग्रँदो छ। त्यसैकारण, बाइबलले “संसारको ज्ञान परमेश्‍वरको अगि मूर्खता हो” भन्‍नुको कारण बुझ्नसक्छौं।—१ कोरिन्थी ३:१९, २०.

५. बाइबलले “संसारको बुद्धि[को]” विषयमा कस्तो चेताउनी दिन्छ?

५ यस आखिरी दिनको अन्तमा मूल ठगाहा, शैतान अर्थात्‌ दियाबलले बाइबलको सच्चाइमाथि विश्‍वासलाई कमजोर तुल्याउन झूटमाथि झूट थोपर्नु स्वाभाविकै हो। बाइबलका आलोचकहरूले शंकास्पद पुस्तकहरू थुप्रै प्रकाशित गरेका छन्‌। त्यसले बाइबलको सच्चाइ र विश्‍वसनीयतामाथि चुनौती दिन्छ। पावलले आफ्ना सँगी मसीहीहरूलाई यस्तो चेताउनी दिए: “हे तिमोथी, अशुद्ध वकवादबाट र ज्ञान कहलिएको झूटा विरोधबाट फर्केर तिमीलाई सुम्पिएको जो छ, त्यसको हिफाजत गर, जो कुनै कुनैले मानेर विश्‍वासबाट भ्रममा परेका छन्‌।” (१ तिमोथी ६:२०, २१) बाइबलले अझै यस्तो चेताउनी दिन्छ: “होशियार बस, नत्रता कसैले ख्रीष्टअनुसारको होइन, तर मानिसहरूको कुलाचार, संसारको अनुसारका तत्त्वज्ञान, र फोस्रो छलले तिमीहरूलाई शिकार बनाउला।”—कलस्सी २:८.

शंका गर्ने झुकाउ विरुद्ध लड्‌नुहोस्‌

६. शंकालाई हृदयमा जरा गाड्‌नदेखि रोक्न किन चनाखो हुनु खाँचो छ?

६ दियाबलको अर्को धूर्त चाल, मनमा शंका रोपिदिनु हो। हाम्रो विश्‍वासमा केही कमजोरीहरू भेटाएमा त्यसको नाजायज फाइदा उठाउन त्यो सधैं चंखो छ। शंका हुने जोसुकैले शंकाको पछाडि हव्वालाई यसो भन्‍ने व्यक्‍ति नै छ भनेर बिर्सनु हुँदैन: “के परमेश्‍वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल नखानू भनी भन्‍नुभएको छ?” त्यस प्रलोभकले तिनको मनमा शंका रोपेपछि अर्को कदम झूट बोल्नु थियो र त्यो हव्वाले पत्याइन्‌। (उत्पत्ति ३:१, ४, ५) शंकाले गर्दा हव्वाको जस्तै हाम्रो विश्‍वास भताभुंग हुनबाट जोगिन हामी चनाखो हुनु खाँचो छ। यहोवा, उहाँको वचन वा संगठनबारे तपाईंको हृदयमा अलिकता मात्र शंका पैदा भयो भने पनि त्यो तपाईंको विश्‍वासलाई नाश पार्नसक्ने कुरामा परिणत हुनुअघि नै त्यसलाई हटाउन कदम चालिहाल्नुहोस्‌।—तुलना गर्नुहोस्‌ १ कोरिन्थी १०:१२.

७. शंकालाई हटाउन के गर्न सकिन्छ?

७ के गर्न सकिन्छ? जवाफ त्यही हो, यहोवा र उहाँको वचनमा भरोसा राख्नुहोस्‌। “यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको घटी छ भने, उदारचित्तसँग नझर्कीकन दिनुहुने परमेश्‍वरसित त्यसले मागोस्‌, र त्यसलाई सो दिइनेछ। तर त्यसले केही पनि सन्देह नगरी विश्‍वाससाथ मागोस्‌। सन्देह गर्नेचाहिं बतासले हुत्तिएर उचाल्दै पछार्दै गरेका समुद्रका लहरीसमान हुनेछ।” (याकूब १:५, ६; २ पत्रुस ३:१७, १८) अतः पहिलो कदम यहोवालाई निष्कपट प्रार्थना गर्नु हो। (भजन ६२:८) त्यसपछि, मण्डलीका मायालु निरीक्षकहरूको मदत माग्न नहिचकिचाउनुहोस्‌। (प्रेरित २०:२८; याकूब ५:१४, १५; यहूदा २२) तिनीहरूले तपाईंको शंकाको स्रोत पत्ता लगाउन मदत दिनेछन्‌। त्यो घमण्ड वा गलत सोचाइले पैदा भएको हुनसक्छ।

८. धर्मत्यागी सोचाइ प्रायजसो कसरी सुरु हुन्छ र त्यसको समाधान के हो?

८ धर्मत्यागी विचारधारा वा सांसारिक दर्शन पढेको वा सुनेकोले ती विषाक्‍त शंकाहरू उत्पन्‍न भएका हुन्‌ कि? बाइबलले बुद्धिमानीपूर्वक यस्तो सल्लाह दिन्छ: “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला भई आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउने प्रयत्न गर। तर अशुद्ध बकबक त्याग, किनभने तिनीहरूले अभक्‍तितिर झन्‌ झन्‌ बढ़ाउँदै लानेछन्‌, र तिनीहरूका कुराले चाहिं सइनको घाउले जस्तै सड़ाउनेछ।” (२ तिमोथी २:१५-१७) चाखलाग्दो कुरा के छ भने, धर्मत्यागको शिकार हुने थुप्रैले सर्वप्रथम यहोवाको संगठनमा आफूप्रति गरिएको व्यवहारमा गनगन गरेर गलत मार्ग अपनाए। (यहूदा १६) पछि गएर विश्‍वासमा गल्ती भेटाउन थाले। शल्यचिकित्सकले कुहिएको घाउलाई तुरुन्तै फ्यालेझैं मसीही मण्डलीका क्रियाकलापहरूमा असन्तुष्ट हुने वा गनगन गर्ने झुकाउलाई मनबाट हटाइहाल्नुहोस्‌। (कलस्सी ३:१३, १४) त्यस्तो शंका उत्पन्‍न गराउने सबै कुरालाई हटाउनुहोस्‌।—मर्कूस ९:४३.

९. विश्‍वासमा स्वस्थ रहिरहन राम्रो ईश्‍वरतान्त्रिक तालिकाले कसरी मदत गर्नेछ?

९ यहोवा र उहाँको संगठनसित घनिष्ठ हुनुहोस्‌। वफादार भएर पत्रुसको अनुकरण गर्नुहोस्‌ जसले दृढतापूर्वक यसो भने: “हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका कुरा ता तपाईंसँग छन्‌।” (यूहन्‍ना ६:५२, ६०, ६६-६८) यहोवाको वचन अध्ययन गर्ने राम्रो तालिका बनाउनुहोस्‌ ताकि तपाईंको विश्‍वास ठूलो ढालजस्तै बलियो र “दुष्टका सबै अग्निबाण निभाउनसक्ने” होस्‌। (एफिसी ६:१६) परमेश्‍वरको राज्यको समाचार मायालु ढंगमा अरूसित बाँडेर मसीही सेवकाईमा सक्रिय हुनुहोस्‌। यहोवाले तपाईंलाई कसरी आशिष्‌ दिनुभएको छ, त्यो मूल्यांकन गर्दै हरेक दिन त्यसमाथि मनन गर्नुहोस्‌। सच्चाइको ज्ञान पाएकोमा कृतज्ञ हुनुहोस्‌। राम्रो मसीही तालिकाअनुसार यी सबै कुराहरू गर्नुभयो भने तपाईं खुशी हुन, धैर्यधारण गर्न र शंकारहित हुन मदत पाउनुहुनेछ।—भजन ४०:४; फिलिप्पी ३:१५, १६; हिब्रू ६:१०-१२.

वैवाहिक जीवनमा यहोवाको निर्देशन पछ्याउने

१०. विशेषगरि मसीही वैवाहिक जीवनमा यहोवाको निर्देशन माग्नु किन महत्त्वपूर्ण छ?

१० पुरुष र स्त्रीलाई विवाहित दम्पतीको हैसियतमा सँगै बस्ने प्रबन्ध गर्नुहुँदा यहोवाले पृथ्वी भर्ने मात्र होइन तर तिनीहरूको आनन्द बढाउने पनि उद्देश्‍य राख्नुभएको थियो। तथापि, पाप र असिद्धताले वैवाहिक सम्बन्धमा गम्भीर समस्याहरू ल्याएको छ। मसीहीहरू यसबाट मुक्‍त छैनन्‌ किनभने तिनीहरू पनि असिद्ध छन्‌ र यस आधुनिक जीवनशैलीका दबाबहरू अनुभव गर्छन्‌। तैपनि, यहोवा र उहाँको वचनमा कत्तिको भरोसा राख्छन्‌ त्यसको आधारमा मसीहीहरू वैवाहिक जीवन तथा छोराछोरी हुर्काउनमा सफल हुनसक्छन्‌। मसीही वैवाहिक जीवनमा सांसारिक प्रचलन र आचरणको कुनै ठाउँ छैन। परमेश्‍वरको वचनले हामीलाई यस्तो सल्लाह दिन्छ: “सबै विवाह चाहिं आदरणीय होस्‌, ओछ्यान नबिटुलिओस्‌, किनकि व्यभिचारीहरू र जारी गर्नेहरूलाई परमेश्‍वरले इन्साफ गर्नुहुनेछ।”—हिब्रू १३:४.

११. वैवाहिक समस्याहरू समाधान गर्न दम्पतीले कुन कुरा बुझ्नुपर्छ?

११ बाइबलको सल्लाहअनुरूपको वैवाहिक जीवनमा प्रेम, दायित्व तथा सुरक्षाको वातावरण हुन्छ। पतिपत्नी दुवैले शिरत्वको सिद्धान्त बुझ्छन्‌ र त्यसको आदर गर्छन्‌। बाइबलका सुझाउहरू लागू गर्न अलि हेलचेक्राइँ गरेकोले प्रायजसो समस्याहरू खडा हुन्छन्‌। सुल्झाउन नसकेको समस्या समाधान गर्न पतिपत्नी दुवैले समस्यामा होइन तर समस्याका कारणहरूमा इमानदारीपूर्वक ध्यान केन्द्रित गर्नु आवश्‍यक छ। हालैका पारिवारिक छलफलहरूमा कुनै कुरामा सहमत हुन गाह्रो पऱ्‍यो वा पटक्कै सहमत हुन सकिएन भने दम्पतीले मायालु निरीक्षकको निष्पक्ष मदत माग्नसक्छन्‌।

१२. (क) बाइबलले विवाहसम्बन्धी कस्ता सामान्य समस्याहरूमा सल्लाह प्रदान गर्छ? (ख) दम्पतीले यहोवाको तरिकाअनुसार कामकुरा गर्नु किन खाँचो छ?

१२ के समस्यामा कुराकानी, एकअर्काका भावनाहरूप्रति आदर, शिरत्वप्रति आदर वा निर्णय गरिएको ढंग समावेश छन्‌? के त्यो छोराछोरी हुर्काउने वा यौनिक आवश्‍यकताहरूप्रति सन्तुलित हुने कुरासित सम्बन्धित छ? अथवा के त्यो परिवारको खर्च, मनोरञ्जन, संगति, पत्नीले जागिर खाने कि नखाने वा कहाँ बस्नेजस्ता कुराहरूसित सम्बन्धित छन्‌? समस्या जेसुकै होस्‌, बाइबलले व्यवस्था मार्फत प्रत्यक्ष वा सिद्धान्तहरू मार्फत अप्रत्यक्ष ढंगमा व्यवहारिक सल्लाह दिन्छ। (मत्ती १९:४, ५, ९, १ कोरिन्थी ७:१-४०; एफिसी ५:२१-२३, २८-३३; ६:१-४; कलस्सी ३:१८-२१; तितस २:४, ५; १ पत्रुस ३:१-७) पतिपत्नी दुवैले स्वार्थी मागहरू नगरेर विवाहलाई पूर्णतया प्रेमपूर्ण बनाउँदा बढी आनन्द प्राप्त हुन्छ। पतिपत्नी दुवैले आवश्‍यक परिवर्तनहरू गर्ने, यहोवाको तरिकाअनुसार कामकुराहरू गर्ने तीव्र इच्छा राख्नुपर्छ। “वचन ध्यानसित सुन्‍ने मानिस सुखी हुन्छ, र परमप्रभुमा भरोसा राख्ने मानिस आशीषित हुन्छ।”—हितोपदेश १६:२०.

जवानहरू हो—परमेश्‍वरको वचन सुन्‍नुहोस्‌

१३. यहोवा र उहाँको वचनमा बलियो विश्‍वास राखेर हुर्कन मसीही जवानहरूलाई किन सजिलो छैन?

१३ दुष्ट संसारको बीचमा मसीही जवानहरूलाई बलियो विश्‍वास कायम गर्न सजिलो छैन। एउटा कारण हो, “सारा संसार त्यस दुष्ट,” शैतान अर्थात्‌ दियाबलको “अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) यस दुष्ट शत्रुले जवानहरूलाई आक्रमण गरिरहेको छ र त्यसले खराबलाई असलजस्तो देखाउनसक्छ। आफूलाई बढ्‌तै प्राथमिकता दिने मनोवृत्ति, स्वार्थी लक्ष्य, अनैतिक तथा क्रूर कुराहरूको लालसा, सुखविलासको लागि अचाक्ली दौडधूपजस्ता कुराहरूमा एउटै प्रकारको प्रबल सोचाइ हुन्छ। त्यसलाई बाइबलले “अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्मा” भनी वर्णन गरेको छ। (एफिसी २:१-३) शैतानले धूर्ततापूर्वक त्यस्तो “आत्मा” स्कूलका पाठ्यपुस्तक, अधिकांश संगीत, खेलकुद र अन्य प्रकारका मनोरञ्जनद्वारा प्रवर्धन गरेको छ। छोराछोरीहरूलाई यहोवा र उहाँको वचनमा भरोसा राखेर हुर्कने मदत दिन आमाबाबुहरू त्यस्ता प्रभावहरू हटाउन सतर्क हुनु खाँचो छ।

१४. जवानहरू कसरी “जवानीका अभिलाषाहरूबाट भाग्न” सक्छन्‌?

१४ पावलले आफ्नो जवान सहचर तिमोथीलाई बाबुको जस्तो सल्लाह यसप्रकार दिए: “जवानीका अभिलाषाहरूबाट भाग, र शुद्ध हृदयले प्रभुका नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्‍वास, प्रेम, शान्तिका पछि लाग।” (२ तिमोथी २:२२) “जवानीका अभिलाषाहरू” सबै नै खराब होइनन्‌ तर जवानहरू त्यसबाट ‘भाग्नुपर्छ’ किनभने तिनै कुराहरूमा चुर्लुम्म डुबेपछि ईश्‍वरीय कुराहरू गर्न अलिकता मात्र समय हुने वा फुर्सदै नहुनसक्छ। शारीरिक व्यायाम, खेलकुद, संगीत, सौख र यात्रा इत्यादि खराब कुराहरू होइनन्‌ तर जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही भयो भने पासो हुनसक्छ। निरर्थक कुराकानी, बिनसित्ति यत्तिकै हल्लिएर बस्नु, यौनप्रति असामान्य चासो, केही नगरी यत्तिकै बस्ने, पट्टाइ लाग्ने, आमाबाबुले बुझ्दैनन्‌ भनेर गुनासो गर्ने जस्ता बानीहरू चटक्कै छोड्‌नुहोस्‌।

१५. घरभित्रै पनि कस्ता कुराहरू हुनसक्छन्‌ जसले जवानलाई दोहोरो जीवन बिताउन योगदान पुऱ्‍याउनसक्छ?

१५ घरभित्रै पनि जवानहरूको लागि खतरा हुनसक्छ। अनैतिक वा हिंस्रक टिभी कार्यक्रम तथा भिडियोहरू हेऱ्‍यो भने, खराब कुरा गर्ने इच्छा जाग्नसक्छ। (याकूब १:१४, १५) बाइबलले यस्तो सल्लाह दिन्छ: “हे परमप्रभु[लाई] प्रेम गर्ने हो, खराबीलाई घृणा गर।” (भजन ९७:१०; ११५:११) दोहोरो जीवन बिताउन खोज्नेहरूलाई यहोवा चिन्‍नुहुन्छ। (हितोपदेश १५:३) मसीही जवानहरू हो, आफ्नो कोठामा चारैतिर हेर्नुहोस्‌। के तपाईंले भित्तामा खेलकुद तथा संगीत जगत्‌का अनैतिक व्यक्‍तिहरूको पोस्टर राख्नुभएको छ वा के तपाईं असल सम्झौटो दिने स्वास्थ्यकर कुराहरू प्रदर्शन गर्नुहुन्छ? (भजन १०१:३) के तपाईंको दराजमा भद्र पोशाकहरू छन्‌ वा कुनै कुनै लुगाहरूले यस संसारको अभद्र ढाँचा प्रदर्शन गर्छ? खराब कुरा अभ्यास गर्ने प्रलोभनमा फँस्नुभयो भने शैतानले चालै नपाउने ढंगमा तपाईंलाई लोभ्याउनसक्छ। बाइबलले बुद्धिमानीपूर्वक यस्तो सल्लाह दिन्छ: “सचेत रहो, जागा रहो, तिमीहरूको विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड़छ।”—१ पत्रुस ५:८.

१६. सबैले गर्व गर्ने व्यक्‍ति हुनको लागि बाइबलका सल्लाहहरूले जवानलाई कसरी मदत गर्नसक्छ?

१६ बाइबलले तपाईंलाई आफ्नो संगतिबारे होशियार रहने सल्लाह दिन्छ। (१ कोरिन्थी १५:३३) तपाईंका साथीहरू त्यस्ता व्यक्‍तिहरू हुनुपर्छ जसले यहोवाको भय राख्छन्‌। मैत्र दबाबमा नफस्नुहोस्‌। (भजन ५६:११; हितोपदेश २९:२५) तपाईंका ईश्‍वरभीरू आमाबाबुप्रति आज्ञाकारी हुनुहोस्‌। (हितोपदेश ६:२०-२२; एफिसी ६:१-३) निर्देशन र प्रोत्साहनको लागि प्राचीनहरूको मदत लिनुहोस्‌। (यशैया ३२:१, २) तपाईंको मन अनि आँखालाई आध्यात्मिक मूल्य तथा लक्ष्यहरूमा केन्द्रित गर्नुहोस्‌। आध्यात्मिक प्रगति गर्ने र मण्डलीका क्रियाकलापहरूमा सहभागी हुने अवसरहरू खोज्नुहोस्‌। आफ्नै हातले कामहरू गर्न सिक्नुहोस्‌। विश्‍वासमा बलियो तथा स्वस्थ हुनुहोस्‌ र तपाईंको महत्त्व छ अर्थात्‌ यहोवाको नयाँ संसारमा जीवन पाउने योग्यको हुनुहुन्छ भनेर तपाईंले प्रमाणित गर्न सक्नुहुनेछ! स्वर्गमा हुनुहुने हाम्रो पिताले तपाईंको गर्व गर्नुहुनेछ र तपाईंका पार्थिव आमाबाबुहरू खुशी हुनेछन्‌ अनि मसीही भाइबहिनीहरू तपाईंबाट प्रोत्साहित हुनेछन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही हो!—हितोपदेश ४:१, २, ७, ८.

१७. यहोवा र उहाँको वचनमा भरोसा राख्नेहरूले कस्ता लाभहरू पाउँछन्‌?

१७ कवितामय ढंगमा भजनरचयिता यस्तो लेख्न प्रेरित भए: “इमान्दारीसँग हिंड़नेहरूदेखि उहाँले कुनै असल कुरा इन्कार गर्नुहुन्‍न। हे सेनाहरूका परमेश्‍वर, तपाईंमा भरोसा राख्ने मानिस धन्यको हो।” (भजन ८४:११, १२) हो, यहोवा र उहाँको वचन, बाइबलमा भरोसा राख्नेहरूले निराशा र असफलता होइन सुख र सफलता पाउनेछन्‌।—२ तिमोथी ३:१४, १६, १७.

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

◻ मसीहीहरू किन “संसारको बुद्धि[मा]” भर पर्नु हुँदैन?

◻ शंकाहरू छन्‌ भने के गर्नुपर्ने हो?

◻ यहोवाको तरिकाअनुसार कामकुरा गर्दा वैवाहिक जीवनमा सफलता र सुख कसरी प्राप्त हुन्छ?

◻ बाइबलले जवानहरूलाई “जवानीका अभिलाषाहरूबाट” भाग्न कसरी मदत दिन्छ?

[पृष्ठ २३-मा भएको चित्र]

“संसारको बुद्धि” मूर्खता भनी इन्कार गर्दै मसीहीहरू यहोवा र उहाँको वचनमा भरोसा राख्छन्‌

[पृष्ठ २५-मा भएको चित्र]

यहोवा र उहाँको वचनमा भरोसा राख्ने परिवारहरूले सफलता र आनन्द पाउँछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने