बाइबलको दृष्टिकोण
हाम्रो पापको निम्ति के शैतानलाई दोष दिन मिल्छ?
प्रथम मानवले गरेको पापको दोष शैतानलाई दिइयो। हव्वाले भनिन्, “साँपले पो मलाई छल गऱ्यो, र मैले त्यो खाएँ।” (उत्पत्ति ३:१३) त्यतिबेलादेखि “त्यो वृद्ध साँप, दियाबल र शैतान भनिने[ले]” मानिसहरूको ‘समझशक्तिलाई अन्धा तुल्याएर’ अनि ‘सारा संसारलाई ठगेर’ मानिसजाति विरुद्ध उपद्रव मच्चाइरहेको छ। (प्रकाश १२:९; २ कोरिन्थी ४:४) कुनै पनि मानिस त्यसको दबाबबाट मुक्त छैन। तर के यसको मतलब हामीले त्यसको दबाबको विरोध गर्नै सक्दैनौं? अनि हामीले पाप गर्दा के सधैं त्यसकै दोष हो त?
शैतानले हव्वालाई बहकाएकै थियो भनी बाइबलले बताउँछ। (१ तिमोथी २:१४) परमेश्वरको आज्ञा उल्लंघन गऱ्यो भने परमेश्वरको जस्तै अन्तरदृष्टि र स्वतन्त्रता प्राप्त गर्न सकिन्छ भन्ने कुरा सुनेर तिनी बहकिइन्। (उत्पत्ति ३:४, ५) त्यही कुरा पत्याउँदै तिनले पाप गरिन्। तैपनि, परमेश्वरले तिनलाई नै दोषी ठहऱ्याउनुभयो र मृत्युदण्ड दिनुभयो। किन? किनभने शैतानले झूट बोलेकै भए तापनि तिनलाई परमेश्वरको आज्ञा राम्ररी थाह थियो। अनाज्ञाकारी हुन तिनलाई कहिल्यै जबरजस्ती गरिएको थिएन। बरु, तिनले जे जति गरिन् सोचेरै गरिन् र तिनीसित शैतानका प्रभावहरूको विरोध गर्ने क्षमता नभएको पनि होइन।
दियाबलको विरोध गर्नुहोस्
हामी मानवहरूले दियाबलको विरोध गर्नसक्छौं। “यो लड़न्त मनिसहरूका विरुद्धमा होइन, तर . . . स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो” भनी हामीलाई एफिसी ६:१२ मा बताइएको छ। अतः स्पष्टतः हामीले शैतानका प्रभावहरू विरुद्ध लडेको परमेश्वर चाहनुहुन्छ। तर मानिसहरूले कसरी अलौकिक शक्ति भएको शैतान अनि त्यसका दियाबलहरूको प्रतिरोध गर्नसक्छन् र? के हामीलाई कुनै हालतमा विजयी हुन नसकिने युद्ध लड्न आग्रह गरिएको हो? अहँ, छैन। किनभने परमेश्वरले हामीलाई आफ्नै बलमा शैतान विरुद्ध लड भन्नुभएको छैन। शैतानका प्रलोभनहरूको प्रतिरोध गर्न यहोवाले हामीलाई विभिन्न माध्यमहरू दिनुभएको छ र हामी विजयी हुनसक्छौं। दियाबल को हो, त्यसले कसरी कार्य सञ्चालन गर्छ र हामीले आफूलाई कसरी सुरक्षित राख्नसक्छौं भन्नेबारे बाइबलले बताउँछ।—यूहन्ना ८:४४; २ कोरिन्थी २:११; ११:१४.
कसरी “शैतानको विरोध” गर्ने
धर्मशास्त्रले दियाबलको विरोध गर्न चाल्न सकिने दुइटा कदम औंल्याएको छ। हामीलाई यस्तो सुझाउ दिइएको छ: “परमेश्वरको अधीनमा बस, शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ।” (याकूब ४:७) परमेश्वरको अधीनमा बस्न प्रथमतः उहाँका आज्ञाहरू पालन गर्नु आवश्यक छ। हर बखत परमेश्वरको अस्तित्व, उहाँको भलाइ, उहाँको विस्मयकारी शक्ति तथा अख्तियार र उहाँका उच्च सिद्धान्तहरूबारे सजग हुँदा शैतानको विरोध गर्न हामीले बल पाउनेछौं। परमेश्वरलाई निरन्तर प्रार्थना गर्नु पनि अत्यावश्यक छ।—एफिसी ६:१८.
येशूलाई दियाबलले प्रलोभित गर्न खोजेको समयलाई विचार गर्नुहोस्। परमेश्वरका विभिन्न आज्ञाहरू सम्झँदै ती उद्धरण गरेर येशूले पक्कै पनि प्रतिरोध गर्न मदत पाउनुभयो। येशूलाई लोभ्याउन असफल भएपछि शैतान आफ्नो बाटो लागे। त्यस परीक्षा पश्चात् यहोवाले आफ्ना स्वर्गदूतहरू मार्फत् येशूलाई अझै सुदृढ बनाउनुभयो। (मत्ती ४:१-११) अतः येशूले निर्धक्कसँग आफ्ना अनुयायीहरूलाई “दुष्टबाट छुटाउनुहोस्” भनी परमेश्वरलाई बिन्ती गर्ने प्रोत्साहन दिनुभयो।—मत्ती ६:१३.
परमेश्वरले हामीलाई रक्षा गर्नुहुन्छ भन्नुको अर्थ उहाँले हाम्रो वरपर सुरक्षात्मक ढाल राखि दिनुहुन्छ भनेको होइन। त्यसको साटो उहाँले हामीलाई सत्य, धार्मिकता, शान्ति तथा विश्वासजस्ता ईश्वरीय गुनहरू खेती गर्न अह्राउनुहुन्छ। यी गुनहरूले “सारा हात-हतियार[को]” काम गर्छन् अनि हामी “शैतानका युक्तिहरूका विरुद्धमा खड़ा” हुनसक्ने छौं। (एफिसी ६:११, १३-१८) अतः परमेश्वरको मदतद्वारा दियाबलका प्रलोभनहरूलाई निरर्थक तुल्याउन सम्भव छ।
याकूब ४:७ अनुसार दोस्रो कदम “शैतानको विरोध” गर्नु हो। त्यसका हानिकारक प्रभावहरूदेखि टाढा रहन निर्णायक कदम चाल्नुपर्छ। त्यसका छलपूर्ण कार्यबाट अलग रहनुपर्छ अनि आज संसारमा व्याप्त भौतिकवादी तथा अनैतिक दर्शनहरूलाई तिरस्कार गर्नुपर्छ। यस्तो विरोधको साथसाथै परमेश्वरलाई खुसी तुल्याउने समर्पित जीवन शैतानको विरोध गर्न मूल्यवान् साबित हुनेछ। तर के सबै पापहरू शैतानकै प्रभावका उपज हुन् त?
आफैसित लडन्त
बाइबल लेखक याकूब भन्छन्: “हरेक मानिस आफ्नै तृष्णाबाट खिंचिई लोभिएर परीक्षामा पर्दछ। तब तृष्णा गर्भवती भएर पापलाई जन्माउँछ, र पाप पूरा बढ़ेपछि मृत्यु उत्पन्न गराउँछ।” (याकूब १:१४, १५) दुःखको कुरा, हामीले वंशानुगत पाएको कमी कमजोरी तथा असिद्धता पूर्णतया हटाउन सक्दैनौं। (रोमी ५:१२) “संसारमा यस्तो कुनै धर्मी मानिस छैन जसले सबै काम ठीक गर्छ र कहिल्यै भुल गर्दैन” भनी बाइबलले बताउँछ।—उपदेशक ७:२०.
तर यसको अर्थ सबै पाप हाम्रो नियन्त्रण बाहिर छ भनेको पनि होइन। कुनै कुनै अवसरमा आफ्नै गलत छनौटले गर्दा हामी आफैमाथि प्रलोभन ल्याउँछौं। त्यसैकारण, गलत इच्छा हाम्रो असिद्धताको कारण वा शैतानको प्रभावको कारण भए तापनि हामीले त्यसलाई फस्टाउन दिनु वा तिरस्कार गर्नु पूर्णतया आफ्नै हातको कुरा हो। प्रेरित पावलको निम्न भनाइ कत्ति उपयुक्त छ: “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।”—गलाती ६:७.
जिम्मेवारी स्वीकार्नुहोस्
अक्सर मानिसलाई आफ्नो कमजोरी, असफलता तथा गल्तीहरू अर्थात् पाप स्वीकार्न सजिलो लाग्दैन। (भजन ३६:२) पाप स्वीकार्न मदत गर्ने एउटा कुरा अहिले परमेश्वरले हामीबाट सिद्धता आशा गर्नुहुन्न भन्ने ज्ञान हो। भजनरचयिता दाऊदले यस्तो घोषणा गरे, “उहाँले हामीसँग हाम्रा पापअनुसारको व्यवहार गर्नुभएको छैन, नता हाम्रा अधर्मअनुसार हामीलाई बदला दिनुभएको छ।” (भजन १०३:१०) परमेश्वर क्षमाशील हुनुभए तापनि हामीले उत्तम लड्न्त लडेका, आफूलाई अनुशासनमा राखेको, दियाबलको प्रलोभन तथा आफ्नै पापी झुकाउको विरोध गरेको उहाँ चाहनुहुन्छ।—१ कोरिन्थी ९:२७.
दियाबलले हाम्रो कार्य ढलमलाउन सके तापनि अनि मानिसजातिको पापपूर्ण अवस्थाको निम्ति त्यो धेरै हदसम्म जिम्मेवार भए तापनि आफ्नो कार्यहरूको लागि हामी आफै जवाफदेही छौं। अतः रोमी १४:१२ भन्छ: “हामी हरेकले परमेश्वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ।”
तथापि, ‘खराबलाई घृणा गर्दै असल कुरामा लागिरह्यौं भने’ दुष्टमाथि विजय हासिल गर्नसक्ने छौं। (रोमी १२:९, २१) प्रथम स्त्रीले त्यसो गर्न सकिनन् र आफ्नो अनाज्ञाकारिताको निम्ति सजाय पाइन्। तिनले चाहेको भए विरोध गरेर परमेश्वरप्रति आज्ञाकारी हुनसक्थिन्। (उत्पत्ति ३:१६) तथापि, परमेश्वरले यसमा दियाबलको भूमिकालाई बेवास्ता गर्नुभएन। दियाबललाई सराप दिइयो र त्यसलाई अनन्त विनाश सुनाइयो। (उत्पत्ति ३:१४, १५; रोमी १६:२०; हिब्रू २:१४) अब चाँडै हामीले त्यसका दुष्ट प्रभावहरू सामना गर्नुपर्ने छैन।—प्रकाश २०:१-३, १०.
[पृष्ठ २२-मा भएको चित्रको स्रोत]
Erich Lessing/Art Resource, NY