अदनबारे थाह पाउनु किन तपाईँको लागि महत्त्वपूर्ण छ?
अदनबारे थुप्रै विद्वान्हरूले गर्ने तर्क भनेको यसबारे बाइबलको अरू कुनै भागमा लेखिएको छैन भन्ने हो। उदाहरणको लागि, धर्महरूको अध्ययन गर्ने एक जना प्राध्यापकले लेखे: “अदनको कथाबारे बाइबलको अरू कुनै भागमा लेखिएको छैन।” तिनको यस्तो तर्कलाई थुप्रै “विद्वान्हरूले” समर्थन गरेका छन् तर प्रमाणहरूले भने अर्कै कुरा देखाउँछ।
बाइबलमा अदनको बगैँचा, आदम, हव्वा र सैतानबारे थुप्रै पटक उल्लेख गरिएको छ।a तर विज्ञहरूको एउटा सानो गल्तीले गर्दा एउटा ठूलो विवाद सुरु भयो। अदनको बगैँचाबारे उत्पत्तिको विवरणलाई झूटो साबित गरेर धर्मगुरु र बाइबलका आलोचकहरूले पूरै बाइबललाई नै झूटो साबित गर्न खोजिरहेका छन्। कसरी?
अदनको बगैँचामा के भएको थियो भनेर थाह पायौँ भने हामी बाइबलका अरू कुराहरू बुझ्न सक्छौँ। जस्तै, परमेश्वरको वचनले जीवनका महत्त्वपूर्ण प्रश्नहरूको जवाफ दिन्छ। ती जवाफ अदनको बगैँचामा घटेको घटनासित सम्बन्धित छ। आउनुहोस्, केही उदाहरण विचार गरौँ।
● हामी किन बूढाबूढी हुन्छौँ र मर्छौँ? आदम र हव्वा परमेश्वरप्रति आज्ञाकारी भइरहेका भए, तिनीहरू सधैँभरि बाँच्न सक्थे। तिनीहरू विद्रोही भएमा मात्र मृत्यु भोग्नुपर्थ्यो। तिनीहरूले जुन दिन विद्रोह गरे, त्यही दिनदेखि मृत्युतर्फ धकेलिए। (उत्पत्ति २:१६, १७; ३:१९) त्रुटिरहित जीवन गुमाएकोले तिनीहरूले आफ्ना सन्तानलाई पाप र त्रुटिपूर्ण जीवन मात्र दिन सक्थे। बाइबल भन्छ: “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु, त्यसैले मृत्यु सबै मानिसमा व्याप्त भयो किनकि तिनीहरू सबैले पाप गरे।”—रोमी ५:१२.
● परमेश्वरले किन दुष्टता रहिरहन दिनुहुन्छ? अदनको बगैँचामा सैतानले परमेश्वरलाई उहाँले झूट बोलेर आफूले सृष्टि गरेका मानिसहरूलाई असल कुराबाट वञ्चित गराउनुहुन्छ भन्ने दाबी गऱ्यो। साथै उहाँ असल शासक हुनुहुन्न भनेर पनि दाबी गऱ्यो। (उत्पत्ति ३:३-५) आदम र हव्वाले सैतानको पछि लाग्ने निर्णय गरे। यसरी तिनीहरूले यहोवाको सार्वभौमिकताको विद्रोह गरे अनि असल के हो र खराब के हो, त्यो मानिस आफैले निर्णय गर्न सक्छ भनेर दाबी गरे। त्यसको परिणाम यहोवालाई थाह थियो। तर त्यो विवाद सुल्झाउने सबैभन्दा राम्रो तरिका भनेको तिनीहरूलाई आफैमाथि शासन गर्न केही समय दिनु हो भनेर पनि उहाँलाई थाह थियो। सैतानको संसारमा फैलिएको दुष्टताले एउटा कुरा सत्य हो भनेर प्रमाणित भयो, त्यो हो: मानिसहरूले परमेश्वरविना आफैमाथि शासन गर्न सक्दैनन्।—यर्मिया १०:२३.
● पृथ्वीको लागि परमेश्वरको उद्देश्य के हो? यहोवा पूरै पृथ्वी अदनको बगैँचाजस्तै सुन्दर भएको चाहनुहुन्छ भनेर उहाँले प्रस्ट पार्नुभयो। उहाँले आदम र हव्वालाई सन्तान जन्माउने र पृथ्वीमाथि “अधिकार” गर्ने आज्ञा दिनुभयो। (उत्पत्ति १:२८) पूरै पृथ्वी आदम र हव्वाका त्रुटिरहित सन्तान मिलेर बनेको परिवारले भर्ने परमेश्वरको उद्देश्य थियो। बाइबलको अधिकांश भागमा परमेश्वरले सुरुको त्यो उद्देश्य कसरी पूरा गर्नुहुन्छ भनेर बताइएको छ।
● येसु ख्रिष्ट किन पृथ्वीमा आउनुभयो? अदनको बगैँचामा विद्रोह भएपछि आदम र हव्वाले मात्र नभई तिनीहरूको सन्तानले पनि मृत्युदण्ड भोग्नुपर्ने भयो। तर परमेश्वरले आशा दिनुभयो। उहाँले आफ्नो छोरालाई फिरौती तिर्न पृथ्वीमा पठाउनुभयो भनेर बाइबल बताउँछ। (मत्ति २०:२८) बाइबलमा येसुलाई “अन्तिम आदम” भनिएको छ। तर आदम र येसु बीचको भिन्नता भनेको आदम आज्ञाकारी भएनन् तर येसु आज्ञाकारी हुनुभयो। येसुले फिरौतीस्वरूप आफ्नो ज्यान दिनुभयो। त्यसैले उहाँमाथि विश्वास गर्नेहरूले आफ्नो पापबाट क्षमा पाउन सक्छन् अनि आदम र हव्वाले पाप गर्नुअघि पाएको जस्तै जीवन पाउन सक्छन्। (१ कोरिन्थी १५:२२, ४५; युहन्ना ३:१६) पूरै पृथ्वीलाई अदनको बगैँचाजस्तै सुन्दर बनाउने परमेश्वरको प्रतिज्ञा पक्कै पूरा हुनेछ भनेर येसुले आश्वासन दिनुभयो।b
परमेश्वरको उद्देश्य बुझ्नै नसकिने वा कल्पनाको कुरा मात्र होइन। यो वास्तविक हो। अदनको बगैँचा अनि त्यहाँ भएका मानिसहरू र जनावरहरू वास्तविक भएजस्तै पृथ्वीको लागि परमेश्वरको उद्देश्य पनि वास्तविक हो र यो चाँडै पूरा हुनेछ। के पृथ्वीको लागि परमेश्वरको उद्देश्य पूरा हुँदा तपाईँले पनि लाभ उठाउनुहुनेछ? यो कुरा मुख्यगरि तपाईँले कस्तो निर्णय गर्नुहुन्छ, त्यसमा भर पर्छ। आफ्नो उद्देश्य पूरा हुँदा विगतमा असाध्यै दुःख भोगेका मानिसहरूलगायत धेरैभन्दा धेरैले लाभ उठाएको उहाँ चाहनुहुन्छ।—१ तिमोथि २:३, ४.
येसुले आफ्नो मानव जीवनको अन्तिम क्षणमा एक जना मानिससित कुरा गर्नुभयो, जसको बाँच्ने कुनै आशा थिएन। तिनी एक जना अपराधी थिए र आफू मृत्युदण्ड पाउन लायकको छु भनेर तिनलाई थाह थियो। तिनी येसुबाट सान्त्वना र आशा पाउन चाहन्थे। येसुले तिनलाई के भन्नुभयो? उहाँले भन्नुभयो: “तिमी मसित प्रमोदवनमा हुनेछौ।” (लुका २३:४३) येसुले एक जना अपराधीलाई त पश्चात्ताप गरेपछि फेरि जीवित हुने, आशिष् पाउने अनि अदनको बगैँचाजस्तै पृथ्वीमा सधैँभरि बाँच्ने आशा दिनुभयो भने के तपाईँलाई पनि त्यस्तै आशा दिन चाहनुहुन्न र? उहाँ र उहाँको बुबा त्यसो गर्न इच्छुक हुनुहुन्छ। तपाईँ पनि यस्तै भविष्यबाट लाभ उठाउन चाहनुहुन्छ भने अदनको बगैँचा बनाउनुहुने परमेश्वरबारे बुझ्न सक्दो प्रयास गर्नुहोस्।
[फुटनोटहरू]
a उदाहरणको लागि यी पदहरू हेर्नुहोस्: उत्पत्ति १३:१०; व्यवस्था ३२:८; २ समुएल ७:१४; १ इतिहास १:१; यसैया ५१:३; इजकिएल २८:१३; ३१:८, ९; लुका ३:३८; रोमी ५:१२-१४; १ कोरिन्थी १५:२२, ४५; २ कोरिन्थी ११:३; १ तिमोथि २:१३, १४; यहुदा १४; र प्रकाश १२:९।
b ख्रिष्टको फिरौतीको बलिदानबारे थप कुरा बुझ्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ५ हेर्नुहोस्।
[चित्र]
आदम र हव्वाले पाप गरेकोले दुःखद परिणाम भोग्नुपऱ्यो
[पेटी/चित्र]
पूरै बाइबललाई समेट्ने एउटा भविष्यवाणी
“तँ र स्त्रीबीच अनि तेरो सन्तान र स्त्रीको सन्तानबीच म दुस्मनी हालिदिनेछु। उसले तेरो शिर कुच्याउनेछ र तैँले उसको कुर्कुच्चो डस्नेछस्।”—उत्पत्ति ३:१५.
यो बाइबलमा पाइने पहिलो भविष्यवाणी हो, जुन परमेश्वरले अदनको बगैँचामा गर्नुभएको थियो। यस भविष्यवाणीमा उल्लेख भएका चार पात्र स्त्री, स्त्रीको सन्तान, सर्प र सर्पको सन्तानले क-कसलाई जनाउँछ? तिनीहरूबीचको “दुस्मनी” कसरी प्रकट भएको छ?
सर्प
सैतान अर्थात् दियाबल।—प्रकाश १२:९.
स्त्री
स्वर्गमा रहेको यहोवाको सङ्गठन। (गलाती ४:२६, २७) एउटी “स्त्री”-ले आध्यात्मिक इस्राएललाई जन्म दिने विषयमा भविष्यवाणी गर्दा यसैया त्यही स्त्रीबारे बताउँदै थिए।—यसैया ५४:१; ६६:८.
सर्पको सन्तान
सैतानको इच्छाअनुसार चल्नेहरू।—युहन्ना ८:४४.
स्त्रीको सन्तान
खासगरि येसु ख्रिष्ट, जो यहोवाको सङ्गठनको स्वर्गमा रहेको भागबाट आउनुभयो। स्वर्गबाट येसुसँगै शासन गर्न छानिएका ख्रिष्टका आध्यात्मिक भाइहरू पनि यस “सन्तान”-मा समावेश छन्। यी अभिषिक्त ख्रिष्टियनहरू मिलेर “परमेश्वरको इस्राएल” बनेको छ।—गलाती ३:१६, २९; ६:१६; उत्पत्ति २२:१८.
कुर्कुच्चोमा लागेको चोट
मसीहमाथि आक्रमण, जुन पीडादायी हुने थियो तर त्यसको असर लामो समयसम्म रहने थिएन। येसु पृथ्वीमा हुनुहुँदा सैतान उहाँलाई मार्न सफल भयो। तर उहाँ फेरि जीवित हुनुभयो।
टाउकोमा लागेको चोट
सैतानमाथि घातक आक्रमण। येसुले सैतानलाई सदाको लागि नामेट पार्नुहुनेछ। त्यसअघि सैतानले अदनको बगैँचामा सुरु गरेको दुष्टताले गर्दा भएको सबै हानिलाई उहाँले सच्याउनुहुनेछ।—१ युहन्ना ३:८; प्रकाश २०:१०.
बाइबलको मुख्य सन्देशबारे राम्ररी बुझ्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबल—यसले दिने सन्देश के हो? पुस्तिका हेर्नुहोस्।