प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ia chap. २ pp. १७-२४
  • “तिनी परमेश्‍वरको साथै हिंड्‌ने गर्थे”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिनी परमेश्‍वरको साथै हिंड्‌ने गर्थे”
  • तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • टेढो दुनियाँमा सोझो मान्छे
  • ‘तैंले एउटा जहाज बनाउनू’
  • “जहाजमा आओ”
  • तिनलाई र ‘अरू सात जनालाई बचाउनुभयो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • नूहको विश्‍वासले संसारलाई दोषी ठहरायो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • किन नूहमाथि परमप्रभुको अनुग्रह भयो किन हामीले चासो राख्नुपर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • नूहले ठूलो जहाज बनाउँछ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
ia chap. २ pp. १७-२४
जहाज बनाउने औजार बोकिरहेका नूह

अध्याय दुई

“तिनी परमेश्‍वरको साथै हिंड्‌ने गर्थे”

१, २. नूह र तिनको परिवार कस्तो काममा व्यस्त थिए? तिनीहरूलाई कस्ता चुनौतीहरू आइपरे?

नूह जहाज बनाउने काममा खटिरहेका छन्‌। तिनको जीउ कटकटी दुखिरहेको छ। तिनी जीउ तन्काउँछन्‌ र दुखिरहेको ठाउँ बिस्तारै मुसार्छन्‌। केहीबेर आराम गर्न तिनी काठको एउटा टिम्बामा बस्छन्‌ र बन्दै गरेको विशाल जहाजतिर आँखा डुलाउँछन्‌। भकभकी उम्लिरहेको अलकत्राको कडा गन्ध चारैतिर फैलिरहेको छ। औजारहरू चलाएको ट्‌वाङट्‌वाङ टुङटुङ आवाज पनि आइरहेको छ। जहाज बनाउन आफ्ना छोराहरूले खलखली पसिना बगाइरहेको नूह याद गर्छन्‌। तिनका छोरा-बुहारीहरू र तिनकी प्यारी श्रीमतीले यस काममा सघाउँदै आएको पनि अब त वर्षौं भइसक्यो। जहाज बनाउने काम केही हदसम्म त सकियो तर अझ निकै बाँकी छ।

२ त्यस ठाउँका मानिसहरूको नजरमा नूह र तिनको परिवार पटमूर्ख देखिन्छन्‌। जहाज जति-जति बन्दै जान्छ, त्यति-त्यति मानिसहरू नूह र तिनको परिवारलाई हाँसोमा उडाउँछन्‌। पृथ्वीलाई नै डुबाउने जलप्रलय आउनेछ भनेर ती मानिसहरूले सपनामा पनि चिताएका छैनन्‌। त्यसकारण नूहले दिएको चेतावनी तिनीहरूलाई एकादेशको कथा वा एउटा चुट्‌किलाजस्तै लागिरहेको छ। त्यस्तो बिनसित्तिको काममा नूहले आफू र आफ्नो परिवारको जीवनै खेर फालेको देखेर तिनीहरू छक्क परेका छन्‌। तर आफ्ना परमेश्‍वर यहोवाको नजरमा भने नूह मूर्ख मानिस होइनन्‌।

३. नूह कुन अर्थमा परमेश्‍वरको साथै हिंडे?

३ परमेश्‍वरको वचन भन्छ: ‘नूह परमेश्‍वरको साथै हिंड्‌ने गर्थे।’ (उत्पत्ति ६:९ पढ्‌नुहोस्‌) नूह कसरी परमेश्‍वरको साथै हिंडे? परमेश्‍वर स्वयम्‌ पृथ्वीमा आउनुभएको थिएन, न त नूह नै स्वर्ग पुगेका थिए। नूह परमेश्‍वरको एक-एक आज्ञा पालन गर्थे र उहाँलाई औधी प्रेम गर्थे। यस अर्थमा नूह र यहोवा साथीजस्तै गरी सँगसँगै हिंड्‌थे। हजारौं वर्षपछि बाइबलमा नूहबारे यस्तो लेखियो: “विश्‍वासद्वारा तिनले संसारलाई दोषी ठहराए।” (हिब्रू ११:७) तर कसरी? तिनले देखाएको विश्‍वासबाट आज हामी के सिक्न सक्छौं?

टेढो दुनियाँमा सोझो मान्छे

४, ५. नूहको समयमा संसार कसरी दिन-प्रतिदिन खराब हुँदै गइरहेको थियो?

४ दिन-प्रतिदिन मानिसहरू खराब हुँदै गइरहेका थिए। नूह त्यही वातावरणमा हुर्के। परमेश्‍वरसँगै हिंडेका अर्का व्यक्‍ति नूहका जिज्यूबाजे हनोक थिए। उनको पालामा पनि मानिसहरू खराबै थिए। यहोवाले भक्‍तिहीन संसारको न्याय गर्ने दिन आउँदैछ भनेर हनोकले भविष्यवाणी गरेका थिए। नूहको समयसम्ममा त खराबीले आकाश छोइसकेको थियो। यहोवाको नजरमा पृथ्वी अत्यन्तै भ्रष्ट भइसकेको थियो किनकि जताततै हिंसाको जगजगी थियो। (उत्प. ५:२२; ६:११; यहू. १४, १५) संसारको अवस्था यति विघ्न खस्किनुको कारण के थियो?

५ परमेश्‍वरका अदृश्‍य छोराहरू अर्थात्‌ स्वर्गदूतहरूमाझ अत्यन्तै दुःखलाग्दो घटना घटिरहेको थियो। तिनीहरूमध्ये एक जनाले त पहिल्यै यहोवाको विद्रोह गरिसकेको थियो। यहोवाको निन्दा गरेर अनि आदम र हव्वालाई पाप गर्न उक्साएर त्यो सैतान अर्थात्‌ दियाबल बनेको थियो। अहिले नूहको समयमा अरू स्वर्गदूतहरूले पनि सैतानको साथ दिन थाले। तिनीहरूले स्वर्गमा परमेश्‍वरले दिनुभएको जिम्मेवारीलाई लत्याए अनि मानिसको रूप धारण गरेर पृथ्वीमा आए। तिनीहरूले सुन्दर-सुन्दर स्त्रीहरूलाई पत्नी बनाए। ती स्वार्थी अनि विद्रोही स्वर्गदूतहरूले मानव समाजमा साह्रै नराम्रो प्रभाव पारे।—उत्प. ६:१, २; यहू. ६, ७.

६. नपीलहरूले संसारमा कस्तो प्रभाव पारे? यहोवाले कस्तो निर्णय गर्नुभयो?

६ त्यति मात्र होइन, मानव रूप धारण गरेका स्वर्गदूत र मानव स्त्रीहरूको अप्राकृतिक सम्बन्धले ठिमाहा छोराहरू जन्मिए। तिनीहरूको शरीर भयङ्‌कर थियो र तिनीहरू अति बलिया थिए। बाइबलले तिनीहरूलाई नपील भन्‍ने नाम दिएको छ। नपीलको अर्थ हो, “ढाल्नेहरू,” जसले अरूलाई ढाल्ने गर्छन्‌। मिचाहा साँढेजस्ता ती नपीलहरूले संसारको खराब परिस्थितिलाई झनै खराब बनाइदिए। त्यसकारण “मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो” भनी बाइबल बताउँछ। त्यस दुष्ट मानव समाजको आयु यहोवाले १२० वर्ष तोकिदिनुभयो।—उत्पत्ति ६:३-५ पढ्‌नुहोस्‌।

७. वरपरको खराब वातावरणबाट आफ्ना छोराहरूलाई जोगाउन नूह र तिनकी पत्नीले कस्ता चुनौतीहरूको सामना गरे?

७ सोच्नुहोस्‌ त, त्यस्तो संसारमा परिवारको देखभाल गर्न कत्ति गाह्रो थियो होला! तैपनि नूह सफल भए। तिनले असल पत्नी पाए। तिनी ५०० वर्ष पुगेपछि तिनकी पत्नीले तीन जना छोराहरू, शेम, हाम र येपेतलाई जन्माइन्‌।a नूह र तिनकी पत्नीले ती तीन जना केटालाई वरपरको खराब वातावरणबाट जोगाउनुपरेको थियो। ती फुच्चेहरू “शूरवीर” र “नाउँ चलेका मानिसहरू” देखेर प्रभावित हुन्थे होलान्‌, तिनीहरूको वाहवाही गर्थे होलान्‌। ती राक्षसहरूले गरेको विध्वंसको चर्चा जताततै फैलने भएकोले नूह र तिनकी पत्नीले आफ्ना छोराहरूलाई त्यस्ता हरेक खबर सुन्‍नदेखि त सायद रोक्न सकेनन्‌। तैपनि तिनीहरूले आफ्ना छोराहरूलाई दुष्टतालाई घृणा गर्ने परमेश्‍वर यहोवाबारे मनमोहक सत्य कुराहरू सिकाउन सक्थे। संसारमा फैलिएको हिंसा र विद्रोह देखेर यहोवा खुसी हुनुहुन्‍न भन्‍ने कुरा तिनीहरूले आफ्ना छोराहरूलाई बुझाउनुपरेको थियो।—उत्प. ६:६.

नपीलहरूले मच्चाएको अशान्ति र हिंसाबाट आफ्ना छोराहरूको ध्यान आन्तै मोड्‌दै गरेका नूह

नूह र तिनकी पत्नीले आफ्ना छोराहरूलाई वरपरको खराब वातावरणबाट जोगाउनुपरेको थियो

८. बुद्धिमान्‌ आमाबाबुहरूले कसरी नूह र तिनकी पत्नीको अनुकरण गर्न सक्छन्‌?

८ नूह र तिनकी पत्नीको मर्म आजका आमाबाबुले पनि पक्कै बुझ्न सक्छन्‌। अहिलेको संसार पनि त्यस्तै हिंसा र विद्रोहले भरिएको छ। धेरैजसो सहरहरूमा गुन्डागर्दी गर्दै हिंड्‌ने अल्लारेहरूको बिगबिगी छ। केटाकेटीहरूको लागि तयार पारिएको मनोरञ्जनले पनि हिंसाकै गुणगान गाउँछ। बुद्धिमान्‌ आमाबाबुहरू आफ्ना छोराछोरीहरूलाई त्यस्ता खराब प्रभावबाट जोगाउन सकेजति प्रयास गर्छन्‌। तिनीहरू आफ्ना छोराछोरीलाई शान्तिका परमेश्‍वर यहोवा र संसारमा व्याप्त हिंसाको अन्त्य गर्न भविष्यमा उहाँले चाल्नुहुने कदमबारे सिकाउँछन्‌। (भज. ११:५; ३७:१०, ११) नूह र तिनकी पत्नी त्यसो गर्न सफल भए। त्यसरी नै आजका आमाबाबु पनि सफल हुन सक्छन्‌। नूहका छोराहरू पछि गएर असल मान्छे बने र तिनीहरूले यहोवालाई जीवनमा पहिलो स्थान दिने स्त्रीहरूसित विवाह गरे।

‘तैंले एउटा जहाज बनाउनू’

९, १०. (क) यहोवाले दिनुभएको कस्तो आज्ञाले गर्दा नूहको जीवनै परिवर्तन भयो? (ख) यहोवाले नूहलाई जहाजबारे के बताउनुभयो? त्यो बनाउनुपर्ने कारणबारे नि?

९ एकदिनको घटनाले गर्दा नूहको जीवनै परिवर्तन भयो। यहोवा आफ्नो प्यारो सेवक नूहसित बोल्नुभयो र त्यतिबेलाको संसारलाई नाश गर्ने आफ्नो उद्देश्‍य बताउनुभयो। परमेश्‍वरले नूहलाई यस्तो आज्ञा दिनुभयो: “तैंले गोपेर काठको एउटा जहाज बनाउनू।”—उत्प. ६:१४.

१० नूहको जहाज काठको एउटा ठूलो बाकसजस्तो थियो। यसको आकार, पाटपूर्जा हिजोआज हामीले देख्ने जहाजको जस्तो थिएन। यहोवाले नूहलाई जहाजको नापबारे र त्यो बनाउने तरिकाबारे विस्तृत जानकारी दिनुभयो। जहाजलाई भित्र-बाहिर अलकत्राले लिप्सनू भनेर पनि परमेश्‍वरले भन्‍नुभयो। त्यसको कारणबारे उहाँले नूहलाई यसरी बताउनुभयो: ‘हेर्‌, म पृथ्वीमा जलप्रलय ल्याउनेछु र पृथ्वीमा भएको हरेक प्राणी मर्नेछ।’ तर यहोवाले नूहसित यस्तो करार बाँध्नुभयो अर्थात्‌ सम्झौता गर्नुभयो: “तँ, तेरा छोराहरू, तेरी स्वास्नी र तेरा बुहारीहरू तेरो साथ जहाजमा आउनेछन्‌।” त्यसका साथै नूहले हरेक जातका जनावरको जोडी-जोडी पनि जहाजमा ल्याउनुपर्थ्यो। नूहसित जहाजभित्र पस्नेजति मात्र त्यो जलप्रलयबाट बच्ने थिए।—उत्प. ६:१७-२०.

नूह र तिनको परिवार एकसाथ मिलेर जहाज बनाउँछन्‌

यहोवाको आज्ञा पालन गर्न नूह र तिनको परिवार एकजुट भए

११, १२. नूहको काम किन चानचुने थिएन? जहाज बनाउने काम पाएपछि नूहले कस्तो प्रतिक्रिया देखाए?

११ नूहले गर्नुपर्ने काम चानचुने थिएन। त्यो जहाज निकै ठूलो हुने थियो। त्यसको लम्बाइ १३३ मिटर, चौडाइ २२ मिटर र उचाइ १३ मिटर हुनुपर्ने थियो। त्यो जहाज फुटबल मैदानभन्दा पनि ठूलो थियो। के नूह आफ्नो जिम्मेवारी पूरा गर्नदेखि पछि हटे? अथवा ‘यो त अति गाह्रो काम भयो’ भनेर यहोवालाई गुनासो गरे? अनि काम सजिलो बनाउनलाई जहाजको नाप वा त्यो बनाउने तरिकामा हेरफेर पो गरे कि? अहँ! बाइबल यस्तो जवाफ दिन्छ: “नूहले त्यसै गरे—परमेश्‍वरले तिनीलाई आज्ञा गरेबमोजिम तिनले सबै गरे।”—उत्प. ६:२२.

१२ यो काम सिध्याउन नूहको परिवारलाई ४० देखि ५० वर्ष लागेको हुनुपर्छ। तिनीहरूले रूख ढाल्नुपर्थ्यो, घिसार्दै जहाज बनाउने ठाउँसम्म लैजानुपर्थ्यो, त्यसलाई काटेर टिम्बा बनाउनुपर्थ्यो र विभिन्‍न आकारमा ढालेर जोडजाड गर्नुपर्थ्यो। त्यो जहाज तीन तल्लाको हुनुपर्थ्यो र प्रत्येक तल्लामा थुप्रै खण्डहरू बनाउनुपर्थ्यो। जहाजको एकापट्टि ढोका पनि राख्नुपर्थ्यो। तिनीहरूले जहाजको सबैभन्दा माथि झ्यालहरू पनि बनाएको हुनुपर्छ। पानी बगेर जान सजिलो होस्‌ भनेर त्यसको छानोचाहिं दुवैतिर हल्का भिरालो बनाएको हुनुपर्छ।—उत्प. ६:१४-१६.

१३. नूहलाई कुनचाहिं काम जहाज बनाउनुभन्दा पनि चुनौतीपूर्ण लागेको हुनुपर्छ? मानिसहरूले कस्तो प्रतिक्रिया देखाए?

१३ वर्षहरू बित्दै गयो, जहाज पनि बन्दै गयो। परिवारले आफूलाई निरन्तर साथ दिएको देखेर नूह कत्ति खुसी भए होलान्‌! तर जहाज बनाउने कामभन्दा पनि चुनौतीपूर्ण अर्को एउटा काम थियो। नूह “परमेश्‍वरको न्यायोचित स्तरबारे प्रचार गर्ने” मानिस थिए भनी बाइबल बताउँछ। (२ पत्रुस २:५ पढ्‌नुहोस्‌) त्यस दुष्ट युगलाई परमेश्‍वरले विनाश गर्ने दिन आउनै लागेको छ भनेर मानिसहरूलाई चेतावनी दिने काममा नूहले साहसी हुँदै नेतृत्व लिए। मानिसहरूले कस्तो प्रतिक्रिया देखाए? त्यस समयको सम्झना गर्दै पछि येशूले यसो भन्‍नुभयो: “तिनीहरूले यादै गरेनन्‌।” तिनीहरू खाने, पिउने र विवाह गर्नेजस्ता कामकुरामै मस्त भएकोले नूहको चेतावनीलाई वास्तै गरेनन्‌ भनेर येशूले बताउनुभयो। (मत्ती २४:३७-३९) त्यसबेला थुप्रैले नूह र तिनको परिवारलाई हाँसोमा उडाएको हुनुपर्छ। कतिले त तिनलाई डर-धम्की देखाएको वा तिनीमाथि आक्रमण पनि गरेको हुनुपर्छ। तिनीहरूले नूहको कामलाई भताभुङ्‌गसमेत पार्न खोजे होलान्‌।

जहाजबाहिरबाट नूह र तिनको परिवारलाई गिज्याइरहेका मानिसहरू

यहोवाले नूह र तिनको काममा आशिष्‌ दिनुभएको प्रमाण देख्दा देख्दै पनि मानिसहरूले खिल्ली उडाए र तिनको चेतावनीलाई वास्तै गरेनन्‌

१४. आजका ख्रीष्टियन परिवारले नूह र तिनको परिवारबाट कस्तो प्रोत्साहन पाउन सक्छन्‌?

१४ नूह र तिनको परिवारले कहिल्यै हार मानेनन्‌। तिनीहरूले गरिरहेको काम बेकारको हो, तिनीहरू मूर्ख हुन्‌ र बहकिएका छन्‌ भनेर त्यतिबेलाका मानिसहरूले सोचे। तैपनि नूह र तिनको परिवार त्यो काममा निरन्तर लागिरहे। तिनीहरूले देखाएको विश्‍वासबाट आजका ख्रीष्टियन परिवारले निकै प्रोत्साहन पाउन सक्छन्‌। किनकि हामी यस युगको “अन्तको दिन”-मा बाँचिरहेका छौं भनी बाइबल बताउँछ। (२ तिमो. ३:१) येशूले हामी बाँचिरहेको समय पनि नूहको समयजस्तै हुनेछ भनेर बताउनुभएको थियो। त्यसकारण राज्यको सुसमाचार सुनाउँदा मानिसहरूले वास्तै गरेनन्‌, खिसी गरे वा दुःख दिए भने हामी नूहलाई सम्झेर प्रोत्साहन पाउन सक्छौं। त्यस्तो चुनौती भोग्ने हामी मात्रै होइनौं भनेर नूहको उदाहरणले सम्झाउँछ।

“जहाजमा आओ”

१५. नूह ६०० वर्ष पुग्न लाग्दा तिनले कस्तो दुःख सहनुपऱ्‍यो?

१५ दसकौं बित्यो, जहाज पनि लगभग तयार भयो। नूह ६०० वर्ष पुग्न लाग्दा तिनले परिवारका सदस्यहरूको वियोग सहनुपऱ्‍यो। तिनको बुबा लेमेकको मृत्यु भयो।b त्यसको पाँच वर्षपछि ९६९ वर्षको उमेरमा तिनको हजुरबुबा (लेमेकका बुबा) मतूशेलहको पनि मृत्यु भयो। यसरी बाइबल विवरणअनुसार इतिहासमै सबैभन्दा लामो समय बाँच्ने व्यक्‍तिको जीवनयात्रा टुङ्‌गियो। (उत्प. ५:२७) पहिलो मानव आदम जीवित छँदै मतूशेलह र लेमेक जन्मिसकेका थिए।

१६, १७. (क) नूह ६०० वर्षको हुँदा तिनले यहोवा परमेश्‍वरबाट फेरि कस्तो आज्ञा पाए? (ख) नूह र तिनको परिवारले बिर्सनै नसकेको क्षण कुन थियो?

१६ नूह ६०० वर्षको हुँदा तिनले यहोवा परमेश्‍वरबाट अर्को एउटा आज्ञा पाए: “तँ र तेरा सबै जहान जहाजमा आओ।” साथै सबै प्रकारका जनावरहरूलाई जहाजभित्र ल्याउनू भनेर परमेश्‍वरले अह्राउनुभयो। बलिदान चढाउनलाई शुद्ध मानिएका जनावरहरू सात-सातवटा र अशुद्ध जनावरहरू दुई-दुईवटा गरी नूहले जहाजभित्र हुल्नुपर्थ्यो।—उत्प. ७:१-३.

१७ तिनीहरूले कहिल्यै बिर्सन नसक्ने क्षण आयो। जनावरहरूको लस्कर क्षितिजसम्मै देखिन्थ्यो। कतिपय हिंड्‌दै आए, कतिचाहिं उड्‌दै, कोही घिस्रिंदै र कोहीचाहिं बुरुकबुरुक उफ्रँदै आए। तिनीहरू अनेक किसिमका थिए—फरक-फरक बनोटका, फरक-फरक स्वभावका अनि केही साना त केही अजङ्‌गका। जहाजमा छुट्ट्याइएको ठाउँसम्म ती सबै जनावरलाई नूहले सजिलै हुल्न सके। नूहले तिनीहरूलाई तर्साउनु पनि परेन, फकाउनु पनि परेन, धपाउनु पनि परेन। ती जनावरहरू “नूहकहाँ जहाजमा आए” भनी बाइबल विवरण बताउँछ।—उत्प. ७:९.

१८, १९. (क) नूहको विवरणबारे आलोचकहरूले उठाउने प्रश्‍नको जवाफ हामी कसरी दिन सक्छौं? (ख) जलप्रलयमा जनावरहरूलाई बचाउने यहोवाको तरिकामा कसरी बुद्धि झल्कियो?

१८ आलोचकहरू यसो भन्लान्‌: ‘वाहियात कुरा! त्यत्तिका जनावरहरू एकै ठाउँमा कसरी मिलेर बस्न सक्छन्‌?’ यो कुरा विचार गर्नुहोस्‌, सारा ब्रह्‍माण्डका सृष्टिकर्ताको लागि जनावरहरूलाई नियन्त्रण गर्नु असम्भव कुरा हो र? उहाँले चाहनुभयो भने हिंस्रक जनावरहरूको स्वभावसमेत बदल्न सक्नुहुन्‍न र? नबिर्सनुहोस्‌, जनावरहरूको सृष्टिकर्ता पनि यहोवा परमेश्‍वर नै हुनुहुन्छ। नूहको समयभन्दा निकै पछि उहाँले लाल समुद्रलाई दुई भाग गर्नुभएको थियो र सूर्यलाई पनि जहाँको त्यहीं टक्क अडाउनुभएको थियो। त्यसोभए नूहको विवरणमा बताइएको प्रत्येक काम यहोवाले गर्न सक्नुहुन्‍न र? हो, उहाँसित त्यस्तो क्षमता छ र उहाँले त्यसो गर्नु पनि भयो!

१९ हुन त यहोवाले अरू नै तरिकाले पनि जनावरहरूलाई बचाउन सक्नुहुन्थ्यो। तर यही तरिका छनौट गर्नुमा उहाँको बुद्धि झल्किन्छ। जनावरहरूको हेरचाह गर्ने जिम्मेवारी सुरुमा मानिसलाई सुम्पेको कुरा यहोवाले बिर्सनुभएको थिएन भनेर यो घटनाले हामीलाई सम्झाउँछ। (उत्प. १:२८) आफूले सृष्टि गरेका जनावर र मानिसहरूलाई यहोवा अनमोल ठान्‍नुहुन्छ भनेर आफ्ना छोराछोरीलाई बुझाउन आज पनि थुप्रै आमाबाबुहरू नूहको कथा सुनाउने गर्छन्‌।

२०. जलप्रलयअघिको हप्ता नूह र तिनको परिवार कुन काममा व्यस्त भए?

२० अबको एक हप्तापछि जलप्रलय आउँछ भनेर यहोवाले नूहलाई बताउनुभयो। ओहो, त्यो हप्ता नूहको परिवारलाई कामको कत्ति चटारो! एक हप्ताभित्रै तिनीहरूले सबै जनावरलाई भित्र हुल्नुपर्थ्यो, तिनीहरूको लागि चाहिने खानेकुरा बटुल्नुपर्थ्यो, सबै कुरा जहाजमा मिलाएर राख्नुपर्थ्यो र परिवारलाई चाहिने सरसामान पनि जहाजमा ओसार्नुपर्थ्यो। नूहकी पत्नी र तिनकी बुहारीहरूचाहिं जहाजभित्र बस्ने, खाने र सुत्ने ठाउँको बन्दोबस्त मिलाउनमै व्यस्त भए होलान्‌।

२१, २२. (क) नूहको चेतावनीलाई मानिसहरूले बेवास्ता गरेकोमा हामी किन छक्क पर्नु पर्दैन? (ख) नूह र तिनको परिवारको खिल्ली उडाउनेहरूको मुखमा कहिले बुजो लाग्यो?

२१ वरपरका मानिसहरू नि? तिनीहरूले अझ पनि “यादै गरेनन्‌।” यहोवाले नूह र तिनको काममा आशिष्‌ दिनुभएको प्रमाण देख्दा देख्दै पनि तिनीहरूले कुनै वास्ता गरेनन्‌। तिनीहरूले जनावरहरू खुरुखुरु जहाजमा पसेको त देखेकै थिए। तर पनि तिनीहरूले बेवास्ता गरेकोमा हामी छक्क पर्नु पर्दैन। हामी यस युगको अन्तको दिनमा बाँचिरहेका छौं भन्‍ने प्रमाण देख्दा देख्दै पनि आज मानिसहरू त्यसैगरि बेवास्ता गर्छन्‌। अनि प्रेषित पत्रुसले भविष्यवाणी गरेझैं गिल्ला गर्नेहरू र परमेश्‍वरको चेतावनी सुन्‍नेहरूको खिल्ली उडाउनेहरू देखा परेका छन्‌। (२ पत्रुस ३:३-६ पढ्‌नुहोस्‌) त्यसबेलाका मानिसहरूले नूह र तिनको परिवारलाई पनि पक्कै गिल्ला गरेको हुनुपर्छ।

२२ नूह र तिनको परिवारको खिल्ली उडाउनेहरूको मुखमा कहिले बुजो लाग्यो? नूहले आफ्नो परिवार र जनावरहरूलाई जहाजभित्र ल्याएपछि “परमप्रभुले जहाजको ढोका थुनिदिनुभयो” भनी बाइबलले बताएको छ। त्यतिबेला नूहको खिल्ली उडाउनेहरू वरिपरि थिए भने तिनीहरू अवाक्‌ भए होलान्‌। त्यो पनि तिनीहरूले याद नगरेको भए पानी पर्न थाल्दा त तिनीहरूको आँखा खुलेको हुनुपर्छ। यहोवाले भनेझैं मुसलधारे पानी पर्न थाल्यो। पानी परिरह्‍यो, परिरह्‍यो, परी नै रह्‍यो! पृथ्वी चुर्लुम्म नडुबुन्जेल थामिएन!—उत्प. ७:१६-२१.

२३. (क) नूहको समयमा दुष्ट मानिसहरू नाश हुँदा यहोवा खुसी हुनुभएन भनेर हामी कसरी भन्‍न सक्छौं? (ख) हामीले किन नूहको जस्तै विश्‍वास देखाउनुपर्छ?

२३ नूहको समयमा दुष्ट मानिसहरू नाश हुँदा के यहोवा खुसी हुनुभयो? अहँ, हुनुभएन! (इज. ३३:११) यहोवाले त तिनीहरू सुध्रिऊन्‌ र असल काम गरून्‌ भनेर प्रशस्त समय दिनुभएको थियो। के तिनीहरूले यहोवाको इच्छाअनुसार आफ्नो जीवनशैली परिवर्तन गर्न सक्थे? नूहको जीवनले यस प्रश्‍नको जवाफ दिन्छ। नूह यहोवासँगै हिंडे र तिनले उहाँको हरेक आज्ञा पालन गरे। अरूले पनि चाहेको भए त्यसै गर्न सक्थे र बच्न सक्थे भनेर तिनले देखाए। यस अर्थमा, विश्‍वासद्वारा तिनले त्यसबेलाको संसारलाई दोषी ठहराए। नूहले देखाएको विश्‍वासले त्यसबेलाका मानिसहरूको दुष्टतालाई उदाङ्‌ग पारिदियो। तिनको विश्‍वासले गर्दा तिनी र तिनको परिवार सुरक्षित रहे। नूहको अनुकरण गऱ्‍यौं भने हामीले पनि आफू र आफूले माया गर्नेहरूलाई बचाउन सक्नेछौं। नूहले जस्तै हामी पनि परमेश्‍वरसँगै हिंड्‌न सक्छौं र उहाँलाई आफ्नो मित्र बनाउन सक्छौं। अनि त्यो मित्रता सदा-सदा रहिरहन सक्छ!

a त्यसबेलाका मानिसहरूको आयु आजका मानिसहरूको भन्दा निकै लामो हुन्थ्यो। पाप गर्नुअघि आदम र हव्वा त्रुटिरहित र अत्यन्तै स्वस्थ थिए। आदम र हव्वाका सुरु-सुरुका सन्तानहरू भएकोले ती मानिसहरूको आयु लामो भएको हुनुपर्छ।

b लेमेकले आफ्नो छोराको नाम नूह राखे। यसको अर्थ “विश्राम” वा “शान्ति” हुन सक्छ। परमेश्‍वरले भूमिलाई श्राप दिनुभएकोले आइपरेको दुःखकष्टबाट मानिसहरूलाई छुटाएर नूहले नामअनुसारको काम गर्नेछ भनेर लेमेकले भविष्यवाणी गरे। (उत्प. ५:२८, २९) आफूले गरेको भविष्यवाणी पूरा भएको लेमेकले देख्न पाएनन्‌। नूहको परिवारका अरू सदस्यहरू चाहिं जलप्रलयमा नाश भएका हुन सक्छन्‌।

यसबारे सोच्नुहोस्‌ . . .

  • छोराछोरी हुर्काउँदा नूह र तिनकी पत्नीले कस्ता चुनौतीहरूको सामना गरे?

  • जहाज बनाउनको लागि नूहसित विश्‍वास हुनु किन जरुरी थियो?

  • नूहको समयमा प्रचार गर्नु चुनौतीपूर्ण थियो भनेर हामी कसरी भन्‍न सक्छौं?

  • तपाईंले नूहको विश्‍वासको अनुकरण कसरी गर्ने विचार गर्नुभएको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने