मानिसहरू अरूलाई दया देखाउने र अत्याचार नसहने स्वभावका हुन्छन्
आवरण लेख: के भगवान् निर्दयी छन्?
मानिसहरू भगवान्लाई किन निर्दयी भन्छन्?
“के भगवान् निर्दयी छन्?” भन्ने प्रश्न के तपाईंलाई आपत्तिजनक लाग्छ? कसै-कसैलाई लाग्छ। अरू कतिपय दोधारमा छन्। अनि धेरैजसोलाई भने भगवान् निर्दयी छन् जस्तो लाग्छ। किन?
प्राकृतिक प्रकोपबाट बचेकाहरूले यस्तो प्रश्न सोध्छन्: “भगवान्ले किन यस्तो हुन दिएका होलान्? भगवान्लाई हाम्रो वास्ता छैन? भगवान् निर्दयी हुन् कि?”
बाइबलमा नूहको समयमा भएको जलप्रलयबारे बताइएको छ। त्यो विवरण पढेपछि कसै-कसैको मनमा यस्तो प्रश्न आउँछ: ‘भगवान् दयालु छन् भने उनले किन सबैलाई मारे? के उनी निर्दयी हुन्?’
के तपाईंको मनमा पनि कहिलेकाहीं यस्तै प्रश्नहरू आउँछन्? भगवान् निर्दयी हुन् भन्नेहरूलाई जवाफ दिन के तपाईंलाई गाह्रो लाग्छ? आउनुहोस्, सुरुमा एउटा महत्त्वपूर्ण प्रश्न विचार गरौं।
हामी किन अत्याचार सहँदैनौं?
हामीसित सही र गलतको चेतना भएकोले हामी अत्याचार सहँदैनौं। यस सन्दर्भमा हामी जनावरभन्दा एकदमै फरक छौं। सृष्टिकर्ताले हामीलाई “आफ्नै स्वरूपमा” बनाउनुभयो। (उत्पत्ति १:२७) यसको अर्थ के हो? भगवान्ले हामीलाई उहाँका गुणहरू झल्काउने अनि उहाँले जस्तै सही र गलत छुट्ट्याउने क्षमता दिनुभएको छ। त्यसोभए सही र गलतको चेतना दिनुहुने भगवान्ले चाहिं अत्याचार सहनुहोला त?
यस तर्कलाई बाइबलले समर्थन गर्छ। भगवान्ले बाइबलमा यसो भन्नुभएको छ: “मेरो चाल तिमीहरूको चालभन्दा र मेरो विचार तिमीहरूका विचारभन्दा अल्गो छ।” (यशैया ५५:९) भगवान्लाई निर्दयी ठान्छौं भने के हामीले ‘आफ्नो चाल उहाँको भन्दा उच्च छ’ भनिरहेका हुँदैनौं र? त्यस्तो सोचाइ राख्नुभन्दा पहिला केही कुरा थाह पाउनु बुद्धिमानी हुन्छ। अनि भगवान् निर्दयी हुन् कि होइनन् भनेर प्रश्न गर्नुको सट्टा उहाँका कुनै-कुनै कार्य अत्याचारपूर्ण देखिनुको कारण के हो, त्यो बुझ्नुपर्छ। त्यसको लागि “निर्दयी” वास्तवमा कस्तो व्यक्तिलाई भनिन्छ, बुझौं।
निर्दयी व्यक्ति अरूको दुःखमा रमाउँछ वा अरू दुःखमा पर्दा कुनै वास्ता गर्दैन। उसको मनसाय नै ठीक हुँदैन। जस्तै: छोराको चित्त दुखाउन अनुशासन दिने र त्यो देखेर रमाउने बुबा निर्दयी हो। तर छोरालाई सिकाउन वा जोगाउन अनुशासन दिने बुबा असल हो। अरूको कुनै-कुनै व्यवहार राम्रोसँग नबुझ्दा हामी तिनीहरूको मनसायमाथि नै शङ्का गर्छौं। सायद तपाईंको मनसायमाथि पनि कहिलेकाहीं अरूले शङ्का गरेका होलान्।
कसै-कसैले भगवान्लाई निर्दयी ठान्नुका दुइटा कारणबारे अब विचार गरौं: (१) प्राकृतिक प्रकोप (२) भगवान्ले दिएका सजायहरूबारे बाइबलमा उल्लिखित विवरण। तर साँचो कुरा के हो—भगवान् साँच्चै निर्दयी हुन् त? (w13-E 05/01)