प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 १०/१५ pp. ९-१३
  • अहिले साँचो परमेश्‍वरको भय किन राख्नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अहिले साँचो परमेश्‍वरको भय किन राख्नुपर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • शक्‍तिको गजबको प्रदर्शन
  • परमेश्‍वरप्रति हाम्रो भय प्रदर्शन गर्ने
  • अहिले परमेश्‍वरको भय राख्नुका परिणामहरू
  • यहोवाको डर मान्‍नुहोस्‌ र उहाँको पवित्र नाउँको महिमा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • तपाईंको हृदयलाई यहोवाको भय मान्‍ने बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • साँचो परमेश्‍वरको भय राख्नुका परिणामहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • यहोवाको भयमा आनन्द प्राप्त गर्न सिक्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 १०/१५ pp. ९-१३

अहिले साँचो परमेश्‍वरको भय किन राख्नुपर्छ?

“परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।”—उपदेशक १२:१३.

१, २. परमेश्‍वरको उचित भय किन उपयुक्‍त छ?

परमेश्‍वरको स्वस्थकर तथा श्रद्धेय भय मानिसको लागि लाभकारी हुन्छ। हो, धेरैजसो मानव भयहरू भावनात्मक तवरमा खल्बल्याउने र हानिकारकसमेत हुन्छ। तर यहोवा परमेश्‍वरको भय राख्नु हाम्रो लागि लाभकारी हुन्छ।—भजन ११२:१; उपदेशक ८:१२.

२ सृष्टिकर्तालाई यो थाह छ। आफ्नो सृष्टिप्रति प्रेमको खातिर उहाँले सबैलाई उहाँको भय राख्ने तथा उहाँको उपासना गर्ने आज्ञा दिनुहुन्छ। हामी यस्तो लेखिएको पाउँछौं: “पृथ्वीमा रहनेहरू हरेक जाति, कुल, भाषा र मानिसहरूलाई घोषणा गर्ने अनन्त सुसमाचार साथमा भएका एउटा दूत स्वर्गको बीचमा उड़िरहेको देखें। औ तिनले ठूलो सोरले भन्दारहेछन्‌, ‘परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ, र स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत्‌ गर।’”—प्रकाश १४:६, ७.

३. सृष्टिकर्ताले हाम्रा प्रथम आमाबाबुको निम्ति के गर्नुभयो?

३ निस्सन्देह, हामीले सबै थोक बनाउनुहुने सृष्टिकर्ता, जीवनको स्रोतको अवहेलना गर्न नहुने हो। किनभने हामीलगायत यो ग्रह उहाँको निजी सम्पत्ति हो। (भजन २४:१) यहोवाले आफ्नो महान्‌ प्रेमको अभिव्यक्‍तिसरह पार्थिव छोराछोरीहरूलाई जीवन दिनुभयो र बस्नको लागि एउटा अद्‌भुत ठाउँ अर्थात्‌ सुन्दर प्रमोदवन प्रदान गर्नुभयो। यद्यपि, यो बिना शर्तको अद्‌भुत उपहार थिएन। वास्तवमा, त्यो तिनीहरूलाई सुम्पिएको थियो। हाम्रा प्रथम आमाबाबुहरूले त्यस घरको हेरचाह गर्नुपर्थ्यो र पूर्णतया आबाद नहोऊञ्जेलसम्म त्यसको बिस्तार गर्नुपर्ने थियो। तिनीहरूले स्थलजन्तु, चराचुरूंगी तथा माछाहरूलगायत पृथ्वीका अन्य जीवजन्तुहरूप्रति पूरा गर्नुपर्ने सुअवसर तथा जिम्मेवारीहरू थिए। मानिसलाई यति धेरै जिम्मेवारीहरू सुम्पिएकोले मानिस जवाफदेही हुनेथियो।

४. मानिसले परमेश्‍वरको सृष्टिलाई के गरेको छ?

४ त्यस्तो अद्‌भुत सुरुआतको बावजूद मानिसले आफ्नो सुन्दर पार्थिव घरलाई कस्तो दूषित पारेको छ, हेर्नुहोस्‌ त! यस बहुमूल्य सम्पत्तिको मालिक, परमेश्‍वरको बेवास्ता गरेर मानिसले पृथ्वीलाई फोहर बनाएको छ। यस प्रदूषणले थुप्रै जातका जनावर, चराचुरूंगी तथा माछाहरूको अस्तित्वलाई नै खतरामा पार्ने स्थितिसम्म पुऱ्‍याएको छ। हाम्रो मायालु तथा न्यायी परमेश्‍वरले यसलाई सधैंभरि सहनु हुनेछैन। पृथ्वीलाई यस्तो फोहर बनाएको हुँदा लेखा दिने समय आएको छ। धेरै जना डराउनु पर्ने एउटा कारण यो पनि हो। अर्कोतर्फ, परमेश्‍वरमा आदरपूर्वक भरोसा राख्नेहरूको लागि भविष्य कस्तो हुनेछ भनेर थाह पाउनु सान्त्वनादायी कुरा हो। यहोवाले लेखा लिनुहुनेछ र पृथ्वी पुनःस्थापित हुनेछ। यो साँच्चै नै पृथ्वीका नम्र मानिसहरूको लागि खुशीको खबर हो।

५, ६. परमेश्‍वरको सृष्टिप्रति मानिसले गरेको व्यवहारप्रति उहाँले कस्तो प्रतिक्रिया व्यक्‍त गर्नुहुनेछ?

५ परमेश्‍वरले कुन माध्यमद्वारा न्याय गर्नुहुनेछ? अहिले परमेश्‍वरको स्वर्गीय राज्यको शासनारुढ राजा, येशू ख्रीष्टद्वारा। यहोवाले त्यस स्वर्गीय पुत्रद्वारा यस वर्तमान अशुद्ध, विद्रोही रीतिरिवाजको अन्त गर्नुहुनेछ। (२ थिस्सलोनिकी १:६-९; प्रकाश १९:११) यसप्रकार उहाँले परमेश्‍वरको भय राख्नेहरूलाई छुटकारा दिनुहुनेछ र हाम्रो पार्थिव घरलाई बचाउनुको साथै संरक्षण गर्नुहुनेछ।

६ यो कसरी हुनेछ? बाइबलले आरमागेडोनको युद्ध हुँदा चरमोत्कर्षमा पुग्ने सन्‍निकट महा संकष्टबारे बताउँछ। (प्रकाश ७:१४; १६:१६) यस प्रदूषित रीतिरिवाज र यसका प्रदूषकहरू विरुद्ध यो परमेश्‍वरको न्याय हुनेछ। के कोही मानव त्यसबाट बच्नेछ? अवश्‍य बच्नेछ! तर तिनीहरू परमेश्‍वरसित त्राही त्राही भएर अस्वस्थकर भय राख्नेहरू होइनन्‌ तर उहाँको आदरपूर्ण, श्रद्धेय भय राख्नेहरू हुनेछन्‌। तिनीहरूले छुटकारा पाउनेछन्‌।—हितोपदेश २:२१, २२.

शक्‍तिको गजबको प्रदर्शन

७. परमेश्‍वरले मोशाको समयमा किन इस्राएलको खातिर हस्तक्षेप गर्नुभयो?

७ यहोवा परमेश्‍वरले गर्नुहुने यस नाटकीय कार्यलाई उहाँले आफ्ना उपासकहरूको खातिर सामान्य युगपूर्व १५०० वर्षअघि गर्नुभएको पराक्रमी कार्यले पूर्वचित्रित गऱ्‍यो। मिश्रको महान्‌ सैन्य शक्‍तिले आप्रवासी इस्राएलीहरूको ठूलो कार्यदललाई आफ्नो दास तुल्याइसकेको थियो। मिश्रका शासक, फिरऊनले सबै इस्राएलीहरूको ज्येष्ठ पुत्रलाई मार्ने आज्ञा दिएर जातिहत्या गर्ने प्रयाससमेत गरेका थिए। परमेश्‍वरले मिश्रमाथि विजय प्राप्त गर्नुको कारण इस्राएललाई दमनकारी राजनैतिक प्रणाली र थुप्रै ईश्‍वरहरूको उपासनाबाट प्रदूषित राष्ट्रबाट स्वतन्त्रता दिनु थियो।

८, ९. मोशा तथा इस्राएलीहरूले परमेश्‍वरको हस्तक्षेपप्रति कस्तो प्रतिक्रिया देखाए?

८ इस्राएलीहरूले मिश्रबाट छुटकारा पाएपछिको प्रतिक्रिया प्रस्थान १५ अध्यायमा अभिलेख गरिएको छ। यस विवरणलाई केलाउँदा मसीहीहरूले आध्यात्मिक तथा भौतिक तवरमा प्रदूषित वर्तमान रीतिरिवाजबाट कसरी छुटकारा पाउन सक्छन्‌ भनेर बुझ्न मदत मिल्नेछ। आउनुहोस्‌, साँचो परमेश्‍वर, यहोवाको भय राख्नुपर्ने कारण बुझ्न प्रस्थान १५ अध्यायलाई मनमा राख्दै त्यसका केही पदहरूमा ध्यान केन्द्रित गरौं। सर्वप्रथम पद १ र २ हेरौं:

९ “तब मोशा र इस्राएलीहरूले परमप्रभुको नाउँमा यो स्तुति गाए, ‘म परमप्रभुको स्तुतिगान गाउनेछु, किनकि उहाँले ठूलो विजय गर्नुभएको छ, घोड़ा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभयो। परमप्रभुनै मेरो शक्‍ति र स्तुतिगान हुनुहुन्छ, र उहाँ मेरो उद्धार हुनुभएको छ।’”

१०. परमेश्‍वरले मिश्री सेनालाई नाश गर्नुको कारण के थियो?

१० यहोवाले इस्राएललाई मिश्रबाट कसरी छुटकारा दिनुभयो भनेर संसारभरिका मानिसहरूलाई थाह छ। फिरऊनले इस्राएलीहरूलाई छुटकारा नदिएसम्म उहाँले त्यस पराक्रमी विश्‍व शक्‍तिमाथि विपत्तिहरू ल्याउनुभयो। तर फिरऊनका सेनाले ती निस्सहाय मानिसहरूलाई खेदे र तिनीहरूलाई लाल समुद्रमा फन्दामा पारेझैं देखिन्थ्यो। इस्राएलका पुत्रहरूले यस नवप्राप्त स्वतन्त्रतालाई चाँडै गुमाउलाजस्तो देखिए तापनि यहोवाको मनमा अर्कै कुरा थियो। उहाँले चमत्कारीपूर्वक लाल समुद्रको बीचमा बाटो बनाइदिनुभयो र आफ्ना जनहरूलाई सुरक्षित ठाउँमा लग्नुभयो। मिश्रीहरूले लखेट्‌दा उहाँले लाल समुद्रको पानीलाई पुनः फर्काइदिनुभयो र फिरऊन तथा त्यसका सैन्य दल डुबे।—प्रस्थान १४:१-३१.

११. मिश्रको विरुद्धमा परमेश्‍वरको कार्यको परिणाम के भयो?

११ यहोवाले मिश्रीहरूको सैन्य दललाई नाश गर्नुहुँदा आफ्ना उपासकहरूसमक्ष उहाँ उच्च हुनुभयो र उहाँको ख्याति व्यापक तवरमा फैलियो। (यहोशू २:९, १०; ४:२३, २४) हो, उहाँको नाउँ मिश्रका अन्य शक्‍तिहीन, झूटा देवहरूभन्दा उच्च पारियो जसले आफ्ना उपासकहरूलाई छुटकारा दिन सकेनन्‌। तिनीहरूले ती देवहरू तथा नश्‍वर मानिस अनि सैन्य शक्‍तिमा भरोसा गरेकोले कटु निराशा भोग्नुपऱ्‍यो। (भजन १४६:३) त्यसकारण इस्राएलीहरूले आफ्नो जीवित परमेश्‍वरप्रति स्वस्थकर भय प्रतिबिम्बित हुने प्रशंसागान गाउन उत्प्रेरित हुनुको कारण सजिलै बुझ्नसक्छौं!

१२, १३. हामीले परमेश्‍वरको विजयबाट के सिक्नुपर्छ?

१२ त्यस्तैगरि, हाम्रो समयका कुनै पनि झूटा देवहरू र आणविक शस्त्रसहितको महाशक्‍तिसमेत यहोवाको दाँजोमा आउन सक्दैन भनेर हामीले बुझ्नुपर्छ। उहाँले आफ्ना जनहरूलाई जोगाउन सक्नुहुन्छ र जोगाउनुहुनेछ। “स्वर्गको सेनालाई र पृथ्वीका बासिन्दाहरूलाई उहाँले आफ्नो इच्छाअनुसार व्यवहार गर्नुहुन्छ। औ उहाँको हात कसैले रोक्नसक्‍तैन, औ उहाँले के गर्नुहुन्छ, कसैले सोध्नसक्‍तैन।” (दानियल ४:३५) यी शब्दहरूलाई पूर्णतया बुझेपछि हामी पनि खुशीसाथ उहाँको प्रशंसागान गाउन उत्प्रेरित हुन्छौं।

१३ लाल समुद्रको विजय गानमा अझै यसो भनिएको छ: “परमप्रभुनै योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु [यहोवा, न्युव] हो।” तसर्थ, यस अजेय योद्धा मानिसले कल्पना गरेको अज्ञात व्यक्‍तित्व होइन। उहाँको नाउँ छ! उहाँ महान्‌ रचयिताले ‘हुन दिनुहुन्छ’ र उहाँ “जसको नाउँ परमप्रभु [यहोवा, न्युव] हो, . . . सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।” (प्रस्थान ३:१४; १५:३-५; भजन ८३:१८) ती पुरातन मिश्रीहरूले सर्वशक्‍तिमानलाई चुनौती दिनुको साटो व्यवहारिक तथा आदरणीय भय राखेको भए बुद्धिमानी हुनेथियो भनेर के तपाईं सहमत हुनुहुन्‍न र?

१४. ईश्‍वरीय भयको महत्त्व कसरी प्रदर्शन भयो?

१४ पृथ्वीको रचयिताको हैसियतमा सम्पूर्ण जलक्षेत्रमाथि उहाँको नियन्त्रण छ। (प्रस्थान १५:८) उहाँले बतासमाथि आफ्नो नियन्त्रणलाई प्रयोग गर्नुभएर असम्भवजस्तो देखिने कुरा सम्भव तुल्याउनुभयो। उहाँले पानीलाई दुइ भागमा छुट्याउनुभयो र आफ्ना जनहरू हिंड्‌ने बाटो बनाउन त्यसलाई विपरीत दिशामा बगाउनुभयो। त्यो दृश्‍यलाई कल्पना गर्नुहोस्‌: दुवैतिर पर्खालरूपी पानीको खाँबा बन्यो र यसले इस्राएलीहरूलाई भाग्न बाटो तयार गऱ्‍यो। हो, परमेश्‍वरप्रति स्वस्थकर भय प्रकट गर्नेहरूले सुरक्षा प्राप्त गरे। त्यसपछि यहोवाले त्यो पानीलाई पहिलेजस्तै बग्न दिनुहुँदा भयानक जलप्रलयजस्तो भयो। यसले फिरऊनका सेनालगायत तिनीहरूका सम्पूर्ण रथ तथा हातहतियारहरू सोत्तर पाऱ्‍यो। बेकाम देवहरू तथा मानव सैन्य शक्‍तिमाथि ईश्‍वरीय शक्‍तिको कत्रो विजय! निस्सन्देह, हामीले भय राख्नुपर्ने व्यक्‍ति यहोवा नै हुनुहुन्छ, होइन र?—प्रस्थान १४:२१, २२, २८; १५:८.

परमेश्‍वरप्रति हाम्रो भय प्रदर्शन गर्ने

१५. परमेश्‍वरका पराक्रमी बचाउ कार्यहरूप्रति हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ?

१५ मोशाको छेऊमा हामी सुरक्षितपूर्वक उभिरहेको हुँदो हो त हामी पनि पक्कै यस्तो भजन गाउन उत्प्रेरित हुनेथियौं: “हे परमप्रभु, देवताहरूमा तपाईंझैं को छ र? पवित्रतामा अति महान्‌, प्रतापी कार्यहरूमा भययोग्य र उदेकका कर्म गर्नुहुने तपाईंझैं को छ र?” (प्रस्थान १५:११) त्यतिबेलादेखि अहिले पनि त्यस्ता भावनाहरू गुञ्जायमान छन्‌। बाइबलको अन्तिम पुस्तकमा प्रेरित यूहन्‍नाले परमेश्‍वरका विश्‍वासी अभिषिक्‍त सेवकहरूको समूहलाई यसप्रकार वर्णन गरे: “तिनीहरूले . . . परमेश्‍वरका दास मोशाको भजन र थुमाको भजन गाउँदारहेछन्‌।” यो महान्‌ गीत के हो? “हे परमप्रभु, परमेश्‍वर सर्वशक्‍तिमान, तपाईंका काम ठूला र आश्‍चर्यपूर्ण छन्‌। तपाईं युगयुगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्य छन्‌। हे परमप्रभु, तपाईंको डर कसले मान्दैन? र तपाईंको नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ।”—प्रकाश १५:२-४.

१६, १७. आज हामी कस्ता अद्‌भुत कार्यहरू भइरहेको देख्छौं?

१६ अतः आज परमेश्‍वरका सृजनात्मक हस्तकला मात्र होइन तर उहाँका आज्ञाहरू पनि मूल्यांकन गर्ने स्वतन्त्र उपासकहरू छन्‌। सबै राष्ट्रका मानिसहरूले आध्यात्मिक छुटकारा पाएका छन्‌ र यस प्रदूषित संसारबाट अलग पारिएका छन्‌ किनभने तिनीहरूले परमेश्‍वरका धार्मिक आज्ञाहरू स्वीकार्छन्‌ र त्यसलाई व्यवहारमा उतार्छन्‌। वर्षेनी लाखौं मानिसहरू यहोवाका उपासकहरूको स्वच्छ, इमानदार संगठनको भाग हुन यस भ्रष्ट संसारबाट निस्केर आउँछन्‌। चाँडै, झूटा धर्म र दुष्ट रीतिरिवाजको बाँकी भागमाथि परमेश्‍वरले भयानक न्याय कार्यान्वयन गर्नुभएपछि तिनीहरू धार्मिक नयाँ संसारमा सधैंभरि बस्नेछन्‌।

१७ प्रकाश १४:६, ७ अनुरूप अहिले सारा मानवजातिले स्वर्गदूतहरूको निर्देशनमा यहोवाका साक्षीहरूले घोषणा गरिरहेको न्यायको चेताउनीमूलक समाचार सुनिरहेका छन्‌। गत वर्ष २३० भन्दा बढी मुलुकहरूमा झन्डै ५० लाख साक्षीहरूले परमेश्‍वरको राज्यको सुसमाचार र उहाँको न्यायको घडीबारे घोषणा गरे। बचाउको लागि आफ्ना संगी मानवहरूलाई शिक्षित पार्न साक्षीहरूले तिनीहरूलाई नियमित तवरमा भेटेर गृह बाइबल अध्ययन सञ्चालन गरे। यसप्रकार प्रत्येक वर्ष लाखौं मानिसहरूले बुद्धिमानीपूर्वक साँचो परमेश्‍वरको भय राख्न सिक्छन्‌, उहाँलाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा लिन्छन्‌। त्यस्ता जनहरूले साँचो परमेश्‍वरको भय राख्न सिक्नु कति आनन्दको कुरा हो!—लूका १:४९-५१; प्रेरित ९:३१; हिब्रू ११:७ तुलना गर्नुहोस्‌।

१८. प्रचार कार्यमा स्वर्गदूतहरू पनि संलग्न छन्‌ भनेर कुन कुराले देखाउँछ?

१८ यस प्रचारकार्यमा स्वर्गदूतहरू पनि संलग्न छन्‌ भन्‍ने कुरा के साँचो हो? भनौं भने, कहिलेकाहीं विचलित व्यक्‍तिले आध्यात्मिक मदतको लागि उत्कट इच्छा वा प्रार्थनासमेत गरिरहँदा यहोवाका साक्षीहरूलाई उक्‍त व्यक्‍तिकहाँ जान स्वर्गदूतले डोऱ्‍याएको कुरा स्पष्ट देखिन्छ! उदाहरणको लागि, यहोवाका दुइ साक्षीहरू र एक जना सानो बच्चा क्यारिबियन टापुमा सुसमाचार प्रचार गरिरहेका थिए। मध्यान्हतिर ती दुइ वयस्क साक्षीहरू प्रचारकार्य सिध्याएर घर जान तयार भए। तर बच्चा भने अर्को घरमा जान असाध्यै उत्सुक थिए। वयस्कहरू त्यस घरमा जान त्यति उत्सुक नभएको देखेर त्यो बच्चा एक्लै त्यहाँ गएर ढोका ढकढकाए। एउटी जवान स्त्रीले ढोका खोलिन्‌। वयस्कहरूले यो देखेपछि तिनीहरू त्यस स्त्रीसित कुरा गर्न गए। उनले तिनीहरूलाई भित्र बोलाइन्‌। र ढोकामा ढक्ढकाएको आवाज सुन्दा उनलाई बाइबल सिकाउन उनको घरमा साक्षीहरू पठाइयोस्‌ भनेर परमेश्‍वरसित प्रार्थना गरिरहेकी थिइन्‌ भनेर बेलीबिस्तार सुनाइन्‌। उनीसित बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाइयो।

१९. परमेश्‍वरको भय राख्नुको लाभ भनी कुन कुरालाई देखाउन सक्छौं?

१९ हामीले विश्‍वासीपूर्वक परमेश्‍वरको न्यायको समाचार सुनाउँदा उहाँका धार्मिक आज्ञाहरू पनि सिकाउँछौं। मानिसहरूले यी आज्ञाहरू आफ्नो जीवनमा उतार्दा भौतिक तथा आध्यात्मिक आशिष्‌हरू प्राप्त हुन्छ। उदाहरणको लागि, यौनिक अनैतिकतासम्बन्धी बाइबलको दण्डाज्ञा स्पष्ट छ। (रोमी १:२६, २७, ३२) आज संसारमा जताततै ईश्‍वरीय स्तरहरूको अवहेलना गरिन्छ। त्यसको परिणाम के भएको छ? वैवाहिक जीवन भताभुंग हुनुको साथै यौनजन्य गम्भीर तथा घातक रोगहरू यस २० औं शताब्दीमा महामारीको रूपमा फैलिरहेको छ। निस्सन्देह, भयानक रोग एड्‌स निकै हदसम्म यौनिक अनैतिकताको कारण फैलिन्छ। तर के परमेश्‍वरप्रति आदरणीय भय साँचो उपासकहरूको लागि सुरक्षा साबित भएको छैन र?—२ कोरिन्थी ७:१; फिलिप्पी २:१२; प्रेरित १५:२८, २९ पनि हेर्नुहोस्‌।

अहिले परमेश्‍वरको भय राख्नुका परिणामहरू

२०. यहोवाका साक्षीहरूको असल नाउँबारे अरूलाई थाह छ भनेर कुन घटनाले देखाउँछ?

२० परमेश्‍वरको भय राख्ने र उहाँका आज्ञाहरू पालन गर्नेहरूले प्रशस्त आशिष्‌हरू पाउँछन्‌। नैतिक तवरमा इमानदार मानिसहरू मिलेर यहोवाका साक्षीहरूको शान्तिपूर्ण भ्रातृत्व बनेको तथ्यलाई प्रष्ट पार्ने एउटा घटनालाई ध्यान दिनुहोस्‌। थुप्रै साक्षीहरू दक्षिण अमेरिकामा सम्पन्‍न अन्तरराष्ट्रिय अधिवेशनको लागि प्रतिनिधिहरूको रूपमा गएका थिए। साक्षीहरू बसेकै होटेलमा एक रात गैरमसीही भेला आयोजना गरियो र त्यहाँ त्यसै देशको राष्ट्रपतिले भाषण दिने कार्यक्रम थियो। सुरक्षाकर्मीहरूको टोलीले राष्ट्रपतिलाई लिफ्टमा जान हतार हतार गरिरहेको बेला एक साक्षीलाई त्यस लिफ्टमा को छ भनी थाहै नभएकोले भित्र पसिन्‌। यो देखेर सुरक्षाकर्मीहरू छक्क परे! आफूले के गरेछु भनी थाह पाएपछि त्यसरी भित्र घुसेकोमा यस साक्षीले माफी मागिन्‌। तिनले अधिवेशनको बिल्ला देखाउँदै आफू एक साक्षी भनेर चिनाइन्‌ र राष्ट्रपतिको निम्ति खतरा होइन भनेर बताइन्‌। हाँस्दै एक सुरक्षाकर्मीले यसो भने: “सबै मानिसहरू यहोवाका साक्षीहरूजस्तो हुँदो हो त यस्तो सुरक्षाको प्रबन्ध नै गर्नुपर्ने थिएन।”—यशैया २:२-४.

२१. आज मानिसहरूसमक्ष कस्ता मार्गहरू खुला छन्‌?

२१ यस्ता प्रकारका मानिसहरूलाई अहिले यहोवाले जम्मा गरिरहनुभएको छ र यस रीतिरिवाजको अन्तमा ‘महा संकष्टबाट’ बच्नको लागि तयार पारिरहनुभएको छ। (प्रकाश ७:९, १०, १४) त्यस्तो बचाउ संयोगको कुरा हुनेछैन। बच्नेहरूमध्ये हुनको लागि यहोवाको भय राख्न, सर्वसत्ताधारीको रूपमा उहाँलाई स्वीकार्न र उहाँप्रति समर्पण गर्नैपर्छ। तथापि, अधिकांश मानिसहरूले सुरक्षित हुन योग्य हुने प्रकारको भय खेती गर्नेछैनन्‌। (भजन २:१-६) प्राप्त प्रमाणअनुसार यहोवाको नियुक्‍त शासक येशू ख्रीष्टले १९१४ को निर्णायक वर्षदेखि राजाको हैसियतमा शासन गरिरहनुभएको छ। यसको अर्थ, यहोवाप्रति स्वस्थकर भय विकास गर्नुको साथै त्यो प्रकट गर्ने समय अब धेरै छैन। तापनि, हाम्रो सृष्टिकर्ताले व्यक्‍तिविशेष र शक्‍तिशाली व्यक्‍तित्वहरूलाई समेत यस्तो प्रतिक्रिया व्यक्‍त गर्ने मौका दिइरहनुभएको छ: “यसकारण, हे राजा हो, बुद्धिमान होओ। हे पृथ्वाका न्यायाधीश हो, शिक्षा लेओ। डरसँग परमप्रभुको सेवा गर, थरथर कामेर रमाओ। पुत्रलाई चुम्बन गर, नत्रता उहाँ रिसाउनुहुनेछ, र तिमीहरु बाटैमा नष्ट हुनेछौ, किनभने उहाँको क्रोध चाँड़ैनै दन्कनेछ। उहाँको शरण लिनेहरू सबै धन्यका हुन्‌।”—भजन २:७-१२.

२२. अहिले परमेश्‍वरको भय राख्नेहरूसमक्ष कस्तो भविष्य छ?

२२ हामीलाई छुटकारा दिनुहुने उहाँ नै हुनुहुन्छ भनेर सृष्टिकर्ताको प्रशंसा गर्नेहरूमध्ये होऔं। तर, यसो गर्न हामीले साँचो परमेश्‍वरको भय अहिले नै राख्नुपर्छ! (भजन २:११ तुलना गर्नुहोस्‌; हिब्रू १२:२८; १ पत्रुस १:१७) हामीले उहाँका धार्मिक आज्ञाहरू लगातार सिक्नुको साथै त्यो पालन पनि गर्नुपर्छ। यहोवाले पृथ्वीबाट दुष्टतालाई नामोनिसान पार्नुभएर मानिसहरूको निवारण गर्नुको साथै पार्थिव प्रमोदवनलाई यसका पापी प्रदूषक प्रभावहरूदेखि बचाउनुहुँदा प्रकाश १५:३, ४ मा लिपिबद्ध मोशा तथा थुमाको गीत चरमोत्कर्षमा पुग्नेछ। त्यसपछि, भित्री हृदयदेखि हामीले यसरी गाउनेछौं: “हे परमप्रभु, परमेश्‍वर सर्वशक्‍तिमान, तपाईंका काम ठूला र आश्‍चर्यपूर्ण छन्‌। तपाईं युगयुगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्य छन्‌। हे परमप्रभु, तपाईंको डर कसले मान्दैन? र तपाईंको नाउँको महिमा कसले गर्दैन?”

के तपाईंलाई सम्झना छ?

◻ यहोवा हाम्रो स्वस्थकर भय पाउने योग्यको किन हुनुहुन्छ?

◻ परमेश्‍वरले लाल समुद्रमा गर्नुभएका कार्यहरूले कुन कुरा प्रकट गऱ्‍यो?

◻ हामीले यहोवाप्रति आदरपूर्ण भय राख्दा कस्ता लाभहरू हुन्छन्‌?

◻ अहिले साँचो परमेश्‍वरको भय राख्नेहरूसमक्ष कस्तो भविष्य छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने