पाठकहरूका प्रश्नहरू
एकजना मसीही बिरामी भएको वा यात्रा गरिरहेको हुनाकारण स्मरणार्थ उत्सवमा उपस्थित हुन सकेन भने के त्यो उत्सवलाई उसले एक महिनापछि मनाउन सक्छ?
प्राचीन इस्राएलमा प्रत्येक वर्ष पहिलो महिनाको १४-वौं दिनमा निस्तार चाड मनाईन्थ्यो जुन दिनलाई निसान (वा अबिब) भनिन्थ्यो। तर गन्ती ९:१०, ११-मा हामी विशेष प्रबन्ध गरिएको पाउँछौं: “इस्राएलीहरूलाई यसो भन्, ‘तिमीहरूमा परिवारमा मुर्दा छोएर अशुद्ध भएको छ, अथवा टाढा टाढा परदेश गएको छ भने पनि त्यसले परमप्रभुको निस्तार चाड मानोस्। दोस्रो महीनाको [आय्यर वा जीभ ] चौधौं दिन साँझमा तिनीहरूले यो मानून्। तिनीहरूले अखमीरे रोटी र तीते साग खाऊन्।’”
तर ध्यान दिनुहोस् यसले कुनै इस्राएलीलाई वा घरानालाई आफ्नो सुविधाअनुसार दुईवटा वैकल्पिक मितिहरू (निसान १४ वा जीभ १४) छान्न दिएको थिएन। दोस्रो महिनामा निस्तार चाडको भोजको प्रबन्ध गर्ने कुरा सीमित थियो। निसान १४-का दिन वैधिक अशुद्ध भएका वा सधैं निस्तार चाड मनाउने स्थानबाट धेरै नै टाढा गएका कुनै इस्राएलीका लागि मात्र त्यो एउटा छुट थियो।
विश्वासी राजा हिजकियाहले अखमीरी रोटीको चाडलाई पुनः प्रचलनमा ल्याउँदाखेरि यसको व्यापक प्रयोग गरिएको एउटै मात्र अभिलेख पाइन्छ। त्यसबेला पहिलो महिनामा तयारी गर्ने समय थिएन (पूजाहारीहरू तयार थिएनन् र मानिसहरू पनि भेला भएका थिएनन्) त्यसकारण त्यसलाई दोस्रो महिनाको १४-वौं दिनमा मनाइएको थियो।—२ इतिहास २९:१७; ३०:१-५.
यस्ता अपवादजनक परिस्थितिहरूमा बाहेक परमेश्वरले तोक्नु भएकै मितिमा यहूदीहरूले निस्तार चाडलाई मनाए। (प्रस्थान १२:१७-२०, ४१, ४२; लेवी २३:५) येशू र उहाँका चेलाहरूले यस उत्सवलाई नियम बमोजिम नै मनाए, मितिसङ्ग तिनीहरूले खेलाँची गरेनन्। यस विषयमा लूकाले यो रिपोर्ट दिन्छन्: “अखमीरी रोटीको चाडको दिन आयो, जुन दिन निस्तारको बलिदान चढाउनुपर्थ्यो। औ उहाँले [येशूले] पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, ‘गएर हाम्रो निम्ति निस्तार चाड तयार गर र हामी खाऔं।’”—लूका २२:७, ८.
त्यस अवसरमा येशूले वार्षिक उत्सवको स्थापना गर्नुभयो जसलाई मसीहीहरू प्रभुको साँझको भोजको नाउँबाट चिन्छन्। प्रभुको साँझको भोजमा मसीहीहरू उपस्थित हुनु अति नै महत्त्वपूर्ण छ। यहोवाका साक्षीहरूकालागि वर्षको यो एउटा सबैभन्दा महत्त्वपूर्ण घटना हो। यसको कारण येशूको यस वचनले दिन्छ: “मेरो सम्झनामा यो गर्नेगर।” (लूका २२:१९) तसर्थ हरेक यहोवाका साक्षीहरूले त्यस उत्सवको दिनमा अरू कुनै कामकुरामा व्यस्त नहुनु परोस् भनेर महिनौं अघिदेखि नै योजना बनाउनुपर्छ। यस वर्ष प्रभुको साँझको भोज अप्रिल ६, १९९३ मङ्गलवारको दिन स्थानीय समयअनुसार सूर्यास्त भएपछि मनाइनेछ।
तर कहिलेकाहीं विमारी वा अचानक यात्रा गर्नुपर्ने समस्या जस्ता आकस्मिक घटनाहरूले एकजना मसीहीलाई आफूले योजना बनाएअनुसार भेला हुन देखि रोक्न सक्छ। यस्तो परिस्थितिमा के गर्न सकिन्छ?
उत्सवको समयमा अखमीरी रोटी र रातो दाखमद्य बाँडिन्छ र परमेश्वरको पवित्र आत्माले अभिषिक्त गरिएका र स्वर्गमा जीवन बिताउनलाई छानिएकाहरूले त्यसबाट खान्छन्। (मत्ती २६:२६-२९; लूका २२:२८-३०) तर प्रत्येक वर्ष त्यसमा भाग लिने कुनै व्यक्ति घरमा वा अस्पतालमा विरामी भएको हुनाकारण हिंडडुल गर्न सक्दैन भने स्थानीय मण्डलीका प्राचीनहरूले आफूहरूमध्ये कुनै एकजनालाई रोटीको केही टुक्रा र दाखमद्य लिएर त्यस विरामी व्यक्तिकहाँ जाने प्रबन्ध मिलाउने छन् र उत्सवसँग सम्बन्धित उपयुक्त बाइबल पदको छलफल गरिसकेपछि प्रतिकहरू दिनेछन्। यदि एकजना अभिषिक्त व्यक्ति आफ्नो मण्डलीदेखि टाढा छ भने त्यस उत्सवका दिन ऊ जुन ठाउँमा हुन्छ त्यसै ठाउँको मण्डलीमा जाने प्रबन्ध मिलाउनुपर्छ।
यस कुरालाई ध्यानमा राख्दा ज्यादै कम परिस्थितिहरूमा मात्र कुनै अभिषिक्त मसीहीले गन्ती ९:१०, ११-मा दिएको आज्ञा र २ इतिहास ३०:१-३, १५-मा दिएको उदाहरणअनुसार प्रभुको साँझको भोजलाई ३० दिनपछि (एक चन्द्र मास) मनाउनु पर्ने आवश्यकता पर्न सक्छ।
एउटा प्रमोदवन पृथ्वीमा अनन्त जीवन पाउने आशा भएका येशूका “अरू भेडा” वर्गका मानिसहरू रोटी र दाखमद्य खाने आज्ञाको अधीनमा छैनन्। (यूहन्ना १०:१६) तिनीहरूका लागि त्यस वार्षिक उत्सवमा उपस्थित हुने चाहिं एउटा महत्त्वपूर्ण कुरा हो तर तिनीहरू प्रतीकहरूलाई खाँदैनन्। अतः तिनीहरू मध्ये कुनै एकजना बिरामी परेको वा यात्रा गरिरहेको हुनाकारण त्यस साँझ कुनै मण्डलीमा पनि उपस्थित हुन सकेन भने उसले आफू एक्लै बसेर उपयुक्त शास्त्र पदहरू (साथमा येशूले उत्सवको स्थापना गर्नुभएको विवरण पनि) पढ्न सक्छ र त्यस विश्वव्यापी घटनाको लागि यहोवाको आशिष माग्न सक्छ। तर यस परिस्थितिमा एक महिनापछि कुनै सभा वा बाइबल सम्बन्धी एउटा विशेष छलफल गर्ने अतिरिक्त प्रबन्ध गर्नुपर्ने कुनै जरुरी छैन। (w93 2/1)