गाह्रो अवस्थामा साथीलाई नत्याग्नुहोस्
जोनी र मौरिजियो साथी भएको करिब ५० वर्ष भइसक्यो। तर कुनै बेला तिनीहरूको मित्रता टुट्नै लागेको थियो। मौरिजियो भन्छन्, “गाह्रो अवस्थामा पर्दा मैले केही गम्भीर गल्ती गरेको थिएँ। यसले गर्दा हामी एकअर्कादेखि टाढियौं।” जोनी भन्छन्, “मौरिजियोले मलाई बाइबल अध्ययन गराउनुभएको थियो अनि आध्यात्मिक रूपमा डोऱ्याउनुभएको थियो। तर उहाँले एक चोटि यस्तो काम गर्नुभयो, जुन कुरा मैले पत्याउनै सकिनँ। म छाँगाबाट खसेझैं भएँ! अब हामी साथी रहिरहन सक्दैनौं जस्तो लाग्यो। मैले आफूलाई असाध्यै एक्लो महसुस गरें।”
असल साथी अमूल्य हुन्छ र अटुट मित्रता रातारात गाँसिने कुरा होइन। मित्रता टुट्नै लागेको छ भने यसलाई कसरी जोगाउन सक्छौं? बाइबलमा केही यस्ता साँचो मित्रहरूबारे बताइएको छ, जसको मित्रता टुट्नै लागेको थियो। तिनीहरूको उदाहरणबाट हामी थुप्रै पाठ सिक्न सक्छौं।
साथीले गल्ती गर्दा
दाऊद पहिले गोठाला थिए अनि पछि राजा भए। तिनका थुप्रै असल साथी थिए। तीमध्ये एक थिए, जोनाथन। (१ शमू. १८:१) तर दाऊदका अरू साथीहरू पनि थिए। जस्तै: भविष्यवक्ता नातान। नातानसित तिनको मित्रता कहिलेदेखि सुरु भयो भनेर बाइबलले तोकेरै बताएको छैन। तर एक चोटि दाऊदले नजिकको साथी नातानलाई आफ्नो मनको कुरा सबै बताए। दाऊद यहोवाको लागि एउटा भवन बनाउन चाहन्थे। दाऊद नातानलाई यहोवाको अनुमोदन पाएका व्यक्ति र साथीको रूपमा हेर्थे। त्यसैले नातानले दिएको सुझावको तिनले मोल गरेको हुनुपर्छ।—२ शमू. ७:२, ३.
तर एउटा घटनाले गर्दा तिनीहरूको मित्रता टुट्ने अवस्थामा पुग्यो। राजा दाऊदले बेतशेबासित अवैध यौनसम्बन्ध राखे र त्यसपछि उनका पति उरियाहलाई मार्न लगाए। (२ शमू. ११:२-२१) दाऊद वर्षौंदेखि यहोवाप्रति वफादार रहे अनि तिनले न्यायोचित काम गरे। तर अहिले तिनले यस्तो घोर पाप गरे! ती असल राजा कसरी यस्तो पाप गर्न पुगे? के तिनले यो कत्तिको गम्भीर पाप हो भनेर बुझेका थिएनन्? के तिनले आफ्नो पाप परमेश्वरबाट लुकाउन सकिहाल्छु नि भन्ने सोचेका थिए?
अब नातानले के गर्ने थिए? अरू कसैले राजाको पाप देखाइदेओस् भनेर चुप लागेर बस्ने थिए कि? दाऊदले उरियाहलाई कसरी मार्न लगाएका थिए भनेर अरूलाई थाह थियो। त्यसैले यस मामिलामा मुछिएर आफ्नो पुरानो मित्रतालाई किन खतरामा पार्ने भनेर नातानले सोचे कि? यसबारे दाऊदलाई बताएमा नातानको ज्यानसमेत जान सक्थ्यो। किनकि दाऊदले निर्दोष उरियाहलाई मारिसकेका थिए।
नातान परमेश्वरका प्रवक्ता थिए। चुप लागेर बसे भने दाऊदसित पहिलाजस्तै घनिष्ठ भइरहन सकिंदैन र आफ्नो अन्तस्करणले घोचिरहनेछ भनेर तिनलाई थाह थियो। तिनको साथी दाऊदले यहोवाले घृणा गर्नुहुने काम गरेका थिए। यहोवासितको सम्बन्ध बिग्रन नदिन राजालाई तुरुन्तै मदत गरिहाल्नु आवश्यक थियो। हो, दाऊदलाई साँचो साथीको खाँचो थियो। नातान त्यस्तै साथी थिए। दाऊद पहिला गोठालो काम गर्थे। यही कुरा मनमा राखेर नातानले उनको मन छुन एउटा कथा सुनाउने निर्णय गरे। नातानले दाऊदलाई उनको गल्तीको गम्भीरता बुझ्न र उचित कदम चाल्न मदत पुग्नेगरि परमेश्वरको सन्देश सुनाए।—२ शमू. १२:१-१४.
साथीले कुनै ठूलो गल्ती वा गम्भीर पाप गऱ्यो भने तपाईं के गर्नुहुन्छ? उसको गल्ती देखाइदियो भने मित्रता टुट्न सक्छ जस्तो लाग्ला। अथवा उसको पापबारे एल्डरहरूलाई बताउनु भनेको साथीलाई धोका दिनु हो जस्तो लाग्छ कि? यस्तो अवस्थामा तपाईं के गर्नुहुन्छ?
सुरुमा उल्लेख गरिएका जोनी यसो भन्छन्: “मौरिजियो पहिलाजस्तो खुलेर कुरा गर्नुहुन्नथ्यो। उहाँको यस्तो व्यवहार अलि अनौठो लागिरहेको थियो। यसबारे उहाँसँग कुरा गर्ने विचार गरें। तर एकदमै अप्ठ्यारो लागिरहेको थियो। ‘उहाँलाई थाह नभएको कुरा के छ र? उल्टो मसँग रिसाउनुभयो भने के गर्ने?’ यस्तै कुरा मनमा खेलिरहेको थियो। तर उहाँसँग अध्ययन गर्दाका दिनहरू सम्झँदा उहाँसँग कुरा गर्ने आँट आयो। मौरिजियोले मलाई सधैं चाहिएकै बेला मदत गर्नुभएको थियो। म उहाँलाई गुमाउन चाहन्नथें। म उहाँलाई माया गर्थें। त्यसैले उहाँलाई मदत गर्न चाहन्थें।”
मौरिजियो भन्छन्: “जोनीले भनेको कुरा मेरै फाइदाको लागि थियो। उसको कुरा सही थियो। मेरो गलत निर्णयले गर्दा नै मैले दुःख भोग्नुपरेको हो। यसमा न उसको न यहोवाको नै कुनै दोष थियो। त्यसैले मैले एल्डरहरूको सल्लाह स्विकारें र पछि आध्यात्मिक रूपमा बलियो भएँ।”
साथी समस्यामा पर्दा
दाऊद गाह्रो अवस्थामा छँदा तिनलाई अरू साथीहरूले पनि मदत गरे। ती साथीहरूमध्ये एक हूशै थिए। बाइबलमा तिनलाई “दाऊदका मित्र” भनेर बताइएको छ। (२ शमू. १६:१६; १ इति. २७:३३) तिनी राजा दाऊदको दरबारमा काम गर्ने अफिसर हुन सक्छन्। तिनी दाऊदका मित्र र विश्वासपात्र थिए। त्यसैले तिनले कहिलेकाहीं राजाका गोप्य योजनाहरू पूरा गर्न मदत गरे।
दाऊदका छोरा अब्शालोमले सिंहासन हड्प्दा थुप्रै इस्राएलीले अब्शालोमको पक्ष लिए तर हूशैले भने लिएनन्। दाऊद दरबार छोडेर भागेपछि हूशै उनलाई भेट्न गए। आफूले भरोसा गरेका व्यक्तिहरूले अनि आफ्नै छोराले धोका दिएकोले दाऊदको मन छियाछिया भएको थियो। तर यस्तो दुःखको बेला हूशैले दाऊदको साथ छोडेनन्। तिनी अब्शालोमको षड्यन्त्र विफल पार्ने राजाको योजना पूरा गर्न आफ्नो ज्यान पनि जोखिममा हाल्न तयार थिए। दरबारको अफिसर भएको नाताले मात्र हूशैले दाऊदलाई मदत गरेका थिएनन्। तिनी साँच्चै दाऊदको वफादार साथी थिए।—२ शमू. १५:१३-१७, ३२-३७; १६:१५–१७:१६.
मण्डलीमा जुनसुकै जिम्मेवारी पाएको भए तापनि दाजुभाइ दिदीबहिनी एकतामा रहेको देख्न पाउनु साँच्चै मन छुने कुरा हो। तिनीहरूको व्यवहारले वास्तवमा यसो भनिरहेको हुन्छ, “म तपाईंलाई आफ्नो साथी ठान्छु। किनभने म तपाईंलाई माया गर्छु।”
फेडेरिकोले यस्तै अनुभव गरे। तिनको साथी आन्टोनियोले तिनलाई गाह्रो अवस्थामा पर्दा धेरै मदत गरे। फेडेरिको भन्छन्: “आन्टोनियो हाम्रो मण्डलीमा सरेको केही समय नबित्दै हामी साथी भयौं। हामी दुवै सहायक सेवक थियौं। आनन्दित भई सेवा गरिरहेका थियौं। केही समयपछि ऊ एल्डर नियुक्त भयो। ऊ मेरो लागि साथी मात्र होइन, मलाई आध्यात्मिक रूपमा अघि बढ्न मदत गर्ने व्यक्ति पनि थियो।” पछि फेडेरिकोले एउटा गलत काम गरे। हुन त उनले तुरुन्तै एल्डरहरूको मदत लिए। तर अग्रगामी अनि सहायक सेवक हुने योग्यता भने गुमाए। यस्तो बेला आन्टोनियोले के गरे?
फेडेरिको गाह्रो अवस्थामा हुँदा तिनका साथी आन्टोनियोले तिनको कुरा ध्यान दिएर सुने र प्रोत्साहन दिए
फेडेरिको भन्छन्: “आन्टोनियोले मेरो पीडा बुझ्यो। उसले मलाई भावनात्मक अनि आध्यात्मिक रूपमा बलियो हुन धेरै मदत गऱ्यो। उसले कहिल्यै मेरो साथ छोडेन। उसले मलाई यहोवासितको सम्बन्ध फेरि बलियो बनाउन अनि हरेस नखान प्रोत्साहन दियो।” आन्टानियो भन्छन्: “फेडेरिकोलाई आफ्नो सुख-दुःखको कुरा गर्न सजिलो होस् भनेर ऊसँग धेरै समय बिताउन थालें।” खुसीको कुरा, केही समयपछि फेडेरिको आध्यात्मिक रूपमा बलियो भए र पछि अग्रगामी र सहायक सेवकको रूपमा नियुक्त भए। आन्टोनियो भन्छन्: “हुन त हामी अहिले एउटै मण्डलीमा छैनौं तर पहिलेभन्दा घनिष्ठ भएका छौं।”
के तपाईंलाई साथीले धोका दिएको जस्तो लाग्नेछ?
आफूलाई एकदमै खाँचो परेको बेला मिल्ने साथीले साथ छोड्यो भने तपाईंलाई कस्तो लाग्छ? साह्रै चित्त दुख्छ होला। के तपाईं तिनलाई क्षमा दिन सक्नुहुन्छ? के तपाईंहरूको सम्बन्ध फेरि पहिलेकै जस्तो बलियो हुनेछ?
येशूको जीवनका अन्तिम दिनहरूमा के भयो, विचार गर्नुहोस्। उहाँले वफादार प्रेषितहरूसँग धेरै समय बिताउनुभएको थियो र उहाँहरूबीचको सम्बन्ध प्रगाढ थियो। त्यसैले येशूले तिनीहरूलाई आफ्नो मित्र भन्नुभयो। (यूह. १५:१५) तर उहाँ पक्राउ पर्दा के भयो? प्रेषितहरू भागे। आफ्नो मालिकको साथ कहिल्यै छोड्नेछैन भनेर पत्रुसले सबैको अगाडि भनेका थिए। तर त्यही रात पत्रुसले येशूलाई चिन्न इन्कार गरे।—मत्ती २६:३१-३३, ५६, ६९-७५.
अन्तिम परीक्षा एक्लैले सामना गर्नुपर्नेछ भनेर येशूलाई थाह थियो। तैपनि प्रेषितहरूको यस्तो व्यवहारले गर्दा निराश हुने र चित्त दुख्ने कारण थियो। तर पुनर्जीवित हुनुभएको केही दिनपछि येशूले चेलाहरूसँग गर्नुभएको कुराकानीमा उहाँ निराश हुनुभएको, तीतो महसुस गर्नुभएको अथवा पछुतो मान्नुभएको कुनै छनक पाउँदैनौं। येशू पक्राउ पर्नुभएको रात चेलाहरूले देखाएको कमीकमजोरीबारे उहाँले केही भनिरहनु आवश्यक ठान्नुभएन न त उहाँले पहिले-पहिलेका गल्तीहरू नै कोट्ट्याउनुभयो।
बरु येशूले पत्रुस र अरू प्रेषितहरूलाई सान्त्वना दिनुभयो। अनि इतिहासकै सबैभन्दा महत्त्वपूर्ण शैक्षिककार्यबारे निर्देशनहरू दिएर तिनीहरूमाथि भरोसा गरेको देखाउनुभयो। येशू अझै पनि प्रेषितहरूलाई आफ्नो मित्र ठान्नुहुन्थ्यो। उहाँले देखाउनुभएको प्रेमले तिनीहरूको मनमा अमेट छाप पाऱ्यो। तिनीहरूले आफ्नो मालिक येशूलाई फेरि निराश नबनाउन कडा मेहनत गर्ने थिए। हुन पनि तिनीहरूले येशूले दिनुभएको जिम्मेवारी राम्ररी पूरा गरे।—प्रेषि. १:८; कल. १:२३.
एल्भिरा आफ्नो मिल्ने साथी जुल्यानासित मनमुटाव भएको कुरा सम्झँदै यसो भन्छिन्: “मेलै गर्दा उनको चित्त दुखेको रहेछ। उनले मलाई यो कुरा बताउँदा साह्रै नमज्जा लाग्यो। उनी रिसाउनु स्वाभाविकै थियो। तर अचम्मको कुरा, उनलाई मेरो विषयमा र मेरो व्यवहारबारे पो चिन्ता लागिरहेको रहेछ। उनले मेरो गल्तीलाई वास्ता गरिनन् बरु मैले आफैलाई पुऱ्याइरहेको हानिबारे उनी चिन्तित थिइन्। उनको यस्तो मायालु व्यवहारको म सधैं कदर गर्छु। उनले आफ्नो चित्त दुखेको कुरामा भन्दा मलाई मदत गर्ने कुरामा ध्यान दिइन्। यस्तो साथी पाएकोमा म यहोवाप्रति आभारी छु।”
मित्रता टुट्नै लागेको अवस्थामा एक जना असल साथी के गर्छन्? तिनी दयालु तर आवश्यक परेमा खुलस्त भई कुरा गर्न तयार हुन्छन्। तिनी नातान र हूशैजस्तै गाह्रो अवस्थामा समेत वफादार रहन्छन्। अनि येशूजस्तै क्षमा दिन इच्छुक हुन्छन्। के तपाईं यस्तै साथी हुनुहुन्छ?