प्रतिज्ञा गरिएको देशबाट सिक्न सकिने व्यवहारिक पाठहरू
बाइबलले वर्णन गरेअनुसार प्रतिज्ञा गरिएको देश साँच्चै अनुपम थियो। तुलनात्मक रूपमा हामी त्यस सानो क्षेत्रमा विविध भौगोलिक विशेषताहरू पाउँछौं। उत्तरमा हिउँले ढाकिएका पहाडहरू र दक्षिणमा उष्ण प्रान्तहरू छन्। त्यहाँ फलदायी बेंसी, निर्जन उजाडस्थान तथा फलफूल उद्यान र गाईवस्तु चराउनको लागि पहाडी क्षेत्रहरू छन्।
उचाइ, मौसम तथा माटोको विविधताले गर्दा चिसो हिमाली क्षेत्रमा फस्टाउने, अरू कुनै उखुम मरुभूमिमा उम्रने र अझ अरू चाहिं पाँगो भूमि वा चट्टाने समस्थलमा सप्रिने अनेक प्रकारका रूख, झाडी र अन्य बोटबिरुवाहरू त्यहाँ उम्रन्छन्। एक वनस्पतिविद्को अडकलअनुसार त्यस क्षेत्रमा झन्डै २,६०० प्रकारका बोटबिरुवाहरू पाइन्छन्! त्यस देशको अन्वेषण गर्न गएका प्रथम इस्राएलीहरूले त्यहाँको फलदायी भूमिको प्रमाण देखिहाले। तिनीहरूले बेंसीबाट ल्याएको अंगुरको झुप्पा यति ठूलो थियो, दुइ जनाले लट्ठीमा झुण्डाएर बोक्नुपरेको थियो! त्यस ठाउँलाई एश्कोलको बेंसी अर्थात् “[अंगुरको] झुप्पा” भनी सुहाउँदो नाउँ दिइएको थियो।a—गन्ती १३:२१-२४.
तर अब हामी यस अनुपम भूमिको केही भौगोलिक विशेषताहरू र विशेषगरि दक्षिणी भागलाई नियालौं।
शेफेला
प्रतिज्ञा गरिएको देशको पश्चिमी किनारामा भूमध्यसागरको तट पर्छ। झन्डै ४० किलोमिटर भित्र गयौं भने शेफेला पुगिन्छ। “शेफेला” शब्दको अर्थ “बेंसी” हो तर त्यो वास्तवमा पहाडी क्षेत्र हो र यसलाई पूर्वमा पर्ने यहूदाका पहाडहरूसित तुलना गर्दा मात्रै बेंसी भन्न मिल्छ।
सँगैको मानचित्र हेर्नुहोस् र वरपरको इलाकाहरूसित शेफेलाको सम्बन्धलाई ध्यान दिनुहोस्। पूर्वमा यहूदाका पहाडहरू र पश्चिममा पलिश्तीको तटवर्ती मैदान छ। तसर्थ, शेफेला बाइबलीय समयमा परमेश्वरका जनहरूलाई तिनीहरूका पुरातन शत्रुहरूदेखि छुट्याउने छेकबार वा मध्यवर्ती प्रान्त थियो। पश्चिमबाट हमला गर्ने कुनै पनि सेनाले इस्राएलको राजधानी यरूशलेममा आक्रमण गर्नुअघि शेफेलालाई छिचोल्नुपर्थ्यो।
त्यस्तो घटना सा.यू.पु. नवौं शताब्दीमा भएको थियो। बाइबल विवरणअनुसार अरामका राजा हजाएलले “[सम्भवतः शेफेलाको सिमानामा] आएर गातमाथि आक्रमण गरी त्यो लिए, औ यरूशलेमको विरुद्धमा लडाइँ गर्न तिनी अगि बढ़े।” राजा योआशले हजाएललाई मन्दिर तथा राजमहलका मूल्यवान् चीजबीजहरू घूस दिएर रोक्न सके। तैपनि यस विवरणले यरूशलेमको सुरक्षाको लागि शेफेलाले निर्णायक भूमिका निर्वाह गरेको स्पष्ट पार्छ।—२ राजा १२:१७, १८.
हामी यसबाट व्यवहारिक पाठ सिक्नसक्छौं। हजाएल यरूशलेम हात पार्न चाहन्थे तर तिनले पहिला शेफेलालाई छिचोल्नुपर्थ्यो। त्यसरी नै, शैतान अर्थात् दियाबलले परमेश्वरका सेवकहरूलाई ‘निल्न’ खोजिरहेको छ तर त्यसले पहिला एउटा बलियो मध्यवर्ती प्रान्तलाई नाघ्नुपर्छ। त्यो हो, तिनीहरू खराब संगत र भौतिकवादजस्ता कुराहरूमा बाइबल सिद्धान्तहरू यथाशक्य पछ्याउँछन्। (१ पत्रुस ५:८; १ कोरिन्थी १५:३३; १ तिमोथी ६:१०) अक्सर गम्भीर पाप गर्नुअघिको पहिलो खुड्किलो नै बाइबल सिद्धान्तहरूमा सम्झौता गर्नु हो। अतः, मध्यवर्ती प्रान्तलाई सुरक्षित राख्नुहोस्। तपाईंले बाइबल सिद्धान्तहरू अहिले पछ्याउनुभयो भने भविष्यमा परमेश्वरको व्यवस्था तोड्नुहुनेछैन।
यहूदाको पहाडी देश
शेफेलाभन्दा भित्रपट्टि यहूदाको पहाडी देश पर्छ। यहाँ असल अन्न, जैतूनको तेल र दाखमद्य उत्पादन हुन्थ्यो। यहूदा असाध्यै अग्लो ठाउँमा अवस्थित भएकोले शरणको लागि अत्युत्तम ठाउँ थियो। त्यसकारण राजा योतामले त्यहाँ “किल्ला र धरहराहरू बनाए।” संकटको बेला मानिसहरू सुरक्षाको लागि त्यहाँ भाग्नसक्थे।—२ इतिहास २७:४.
सियोन पनि भनिने यरूशलेम, यहूदाको पहाडी देशको प्रमुख भाग थियो। यरूशलेम सुरक्षित देखिन्थ्यो किनभने यसका तीनै दिशामा भिरालो बेंसीहरू थिए। प्रथम शताब्दीका इतिहासकार जोसेफसअनुसार उत्तरपट्टि चाहिं तीनपत्रे पर्खालले सुरक्षा प्रदान गर्थ्यो। तर सुरक्षा कायम राख्न शरणस्थानमा पर्खाल र हतियार मात्र भएर पुग्दैन। पानी पनि चाहिन्छ। अतिक्रमणको बेला यो अत्यावश्यक हुन्छ किनभने पानी भएन भने कब्जामा परेका नागरिकहरू चाँडै आत्मसमर्पण गरिहाल्न बाध्य हुन्छन्।
यरूशलेमले सिलोआमको तलाउबाट पानी लिन्थ्यो। तथापि, सा.यु.पू. आठौं शताब्दीतिर राजा हिजकियाहले अश्शूरी अतिक्रमणको प्रत्याशा गर्दै सिलोआमको तलाउलाई शहरभित्रै जोगाएर राख्न चारैतिर पर्खाल लगाए। तिनले शहरबाहिरका मुहानहरू पनि थुनिदिए, यसले गर्दा अश्शूरीहरू प्यासले प्याकप्याकती पर्नेथिए। (२ इतिहास ३२:२-५; यशैया २२:११) त्यति मात्रै कहाँ हो र! हिजकियाहले पानीलाई यरूशलेमतिर मोड्ने बाटो पत्ता लगाए!
हिजकियाहले गीहोन नदीदेखि सिलोआमको तलाउसम्म खनेको कुलोलाई प्राचीनकालको महान् वास्तुकलाको उपलब्धि मानिन्छ।b सालाखाला १.८ मिटर उचाइको यो कुलो जम्मा ५३३ मिटर लामो थियो। कल्पना गर्नुहोस् त—चट्टानलाई छेडेर बनाइएको झन्डै आधा किलोमिटर लामो कुलो! आज लगभग २,७०० वर्षपछि यरूशलेममा जाने आगन्तुकहरू सामान्यतया हिजकियाहको कुलो नाउँले चिरपरिचित महान् वास्तुकलाको श्रेष्ठतम कृतिमा पैदल वारपार गर्नसक्छन्।—२ राजा २०:२०; २ इतिहास ३२:३०.
यरूशलेममा पानीको आपूर्ति सुरक्षित राख्न र बढाउन हिजकियाहले गरेको प्रयासले हामीलाई एउटा व्यवहारिक पाठ सिकाउनसक्छ। यहोवा “जीवित पानीको मूल” हुनुहुन्छ। (यर्मिया २:१३) बाइबलमा पाइने उहाँका विचारहरू जीवनदायी छन्। त्यसैकारण व्यक्तिगत बाइबल अध्ययन अत्यावश्यक छ। तर अध्ययन गर्ने अवसर र त्यसबाट प्राप्त हुने ज्ञान तपाईंकहाँ स्वतः आउँदैन। ‘कुलो खनेझैं’ तपाईंले आफ्नो विभिन्न क्रियाकलापले खचाखच भरिएको तालिकाबाट अध्ययनको लागि समय निकाल्नु पर्ला। (हितोपदेश २:१-५; एफिसी ५:१५, १६) तपाईंले एक चोटि व्यक्तिगत अध्ययन गर्न थाल्नुभएपछि आफ्नो त्यस तालिकालाई कायम राख्नुहोस् र त्यसलाई प्राथमिकता दिनुहोस्। होशियार हुनुहोस्, यस बहुमूल्य पानीको मूलबाट कसैले वा कुनै कुराले पनि तपाईंलाई वञ्चित गराउन नपाओस्।—फिलिप्पी १:९, १०.
उजाडस्थानका क्षेत्रहरू
यहूदाका पहाडहरूको पूर्वमा यशीमोन भनिने अर्थात् “मरुभूमि” अर्थ भएको यहूदाको उजाडस्थान पर्छ। (१ शमूएल २३:१९) खारा समुद्रमा यस बाँझो प्रान्तका चट्टाने गल्छीहरू तथा ठाडो भीरहरू छन्। चौबीस किलोमिटरसम्म फैलिएको १,२०० मिटरको ओरालो भीरले यहूदाको उजाडस्थानतिर पानी ल्याउने पूर्वीय बतासलाई रोक्छ, अतः यहाँ त्यति धेरै पानी पर्दैन। निस्सन्देह, वार्षिक प्रायश्चितको दिनमा अजाजेलको निम्ति बोका पठाइएको उजाडस्थान पनि यही थियो। शाऊलबाट बच्न दाऊद भागेको ठाउँ पनि यही हो। यहाँ नै येशूले ४० दिनसम्म उपवास बस्नुभएपछि दियाबलले प्रलोभित गर्न खोजेको थियो।—लेवी १६:२१, २२; भजन ६३, उपशीर्षक; मत्ती ४:१-११.
यहूदाको उजाडस्थानको लगभग १६० किलोमिटर दक्षिण पश्चिममा पारानको उजाडस्थान छ। मिश्रबाट निस्केर प्रतिज्ञा गरिएको देशसम्म पुग्न ४० वर्ष पैदल यात्रा गर्दा अधिकांश इस्राएलीहरूको शिविर यहीं नै अवस्थित थियो। (गन्ती ३३:१-४९) मोशाले “विषालु सर्प र बिच्छुहरू, निर्जल र रूखो भूमि भएका विशाल र भयानक जंगलका” विषयमा लेखे। (व्यवस्था ८:१५) लाखौं इस्राएलीहरू बच्नसक्नु छक्कलाग्दो कुरा हो! यद्यपि, यहोवाले तिनीहरूलाई सँभाल्नुभयो।
आध्यात्मिक तवरले बाँझो यस संसारमा समेत यहोवाले हामीलाई सँभाल्न सक्नुहुन्छ भनेर यस घटनाले सम्झाओस्। हो, हामी पनि साँच्चैको नभए तापनि सर्प र बिच्छुहरूमाझ हिंड्छौं। कुनै धक नमानी विषालु कुराहरू मुखबाट निकाल्ने मानिसहरूलाई हामीले दिनहुँ भेट्नुपर्ने हुन्छ र त्यसले हाम्रो सोचाइलाई सजिलै असर गर्नसक्छ। (एफिसी ५:३, ४; १ तिमोथी ६:२०) यस्ता अवरोधहरूको बावजूद परमेश्वरको सेवा गर्न कोसिस गर्नेहरूको सराहना गर्नैपर्छ। तिनीहरूको विश्वासिलोपना नै यहोवाले साँच्चै सँभाल्नुहुन्छ भन्ने सशक्त प्रमाण हो।
कर्मेल डाँडा
कर्मेलको अर्थ “फलफूलको उद्यान” हो। लगभग ५० किलोमिटर लामो यो उत्तरको उर्वर क्षेत्र दाखबारी, भद्राक्षबारी र फलफूलका रूखहरूले लटरम्म सजिएको छ। यस पहाडी श्रृंखलाको अन्तरीप मनोहरता र सुन्दरताको लागि अविस्मरणीय छ। यशैया ३५:२ ले “कर्मेल[को] . . . शोभा[लाई]” पुनर्स्थापित इस्राएल देशको फलदायी महिमाको प्रतीक भनेर बताउँछ।
कर्मेलमा थुप्रै उल्लेखनीय घटनाहरू भए। यहीं एलियाले बाल देवताका अगमवक्ताहरूलाई चुनौती दिएका थिए र यहोवाको सर्वोच्चताको प्रमाणस्वरूप “परमप्रभुको आगो वर्ष्यो।” साथै एलियाले कर्मेलको टुप्पाबाट एउटा सानो बादललाई आदेश दिएपछि घनघोर वर्षा भएको थियो। यसप्रकार इस्राएलको खडेरी चमत्कारपूर्ण ढंगमा अन्त भयो। (१ राजा १८:१७-४६) शुनैमकी स्त्रीले आफ्नो मृत छोराको लागि मदत खोज्दै आउँदा एलियाका उत्तराधिकारी एलीशा कर्मेल डाँडामा थिए र पछि एलीशाले तिनको पुनरुत्थान गरे।—२ राजा ४:८, २०, २५-३७.
कर्मेलका भिरालोहरूमा अझै फलफूल उद्यान, भद्राक्षबारी र दाखका बोटहरू छन्। बसन्त ऋतुमा यी भिरालोहरूमा ढकमक्क फूलहरू फुल्ने हुँदा भव्य कार्पेट बिछ्याएझैं देखिन्छ। सुलेमानले शूलम्मेनी कुमारीलाई “तिमी आफ्नो शिर कर्मेल पर्वतजस्तै ठाड़ो उठाउँछ्यौ” भने। शायद सुलेमानले तिनको सलसलाउँदो केशलाई वा तिनको सलक्क मिलेको घाँटीबाट उठेको शिरलाई संकेत गरेको हुनसक्छ।—श्रेष्ठगीत ७:५.
कर्मेल डाँडाको शोभनीय विशेषताले हामीलाई यहोवाले आफ्ना उपासकहरूको आधुनिक संगठनलाई दिनुभएको आध्यात्मिक सौन्दर्यको सम्झना गराउँछ। (यशैया ३५:१, २) यहोवाका साक्षीहरू साँच्चै आध्यात्मिक प्रमोदवनमा बस्छन् र तिनीहरू राजा दाऊदका यी भावनाहरूसित सहमत छन्: “नापको जञ्जीर मलाई मनपर्ने ठाउँमा परेको छ। मैले असल अधिकार पाएको छु।”—भजन १६:६.
हो, पुरातन इस्राएलीहरूले परमेश्वरका शत्रुहरूको विद्रोह बारम्बार सामना गर्नुपरेझैं आज उहाँको आध्यात्मिक राष्ट्रले कठिन चुनौतीहरूको सामना गर्नुपर्छ। यद्यपि, साँचो मसीहीहरूले स्पष्ट हुँदै आएको बाइबल सत्यको ज्योति, विश्वव्यापी भ्रातृत्व र पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने अवसरलगायत यहोवाले दिनुभएका आशिष्हरू कहिल्यै बिर्सदैनन्।—हितोपदेश ४:१८; यूहन्ना ३:१६; १३:३५.
“परमप्रभुको बगैंचाजस्तै”
प्रतिज्ञा गरिएको पुरातन देश हेर्नुमा रमणीय थियो। यसलाई “दूध र मह बहने” देश भनेर सही वर्णन गरिएको छ। (उत्पत्ति १३:१०; प्रस्थान ३:८) मोशाले यसो भने, “त्यहाँ खोला-नाला मूल फुटेका पानी, पहाड़ र बेंसीमा भएर बग्छन्। त्यो देश गहुँ, जौ, दाख, नेभारा, दारीम, भद्राक्ष, तेल र महले भरिएको छ, त्यस देशमा तिमीहरूलाई अन्नको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको घटी हुनेछैन। त्यस देशमा फलाम ढुङ्गासरह छ, र त्यहाँ पहाड़बाट तिमीहरूले तामा निकाल्नेछौ।”—व्यवस्था ८:७-९.
यहोवाले आफ्ना पुरातन जनहरूलाई त उदारतासाथ सुन्दर घरको प्रबन्ध गर्न सक्नुभयो भने, वर्तमान समयका विश्वासी सेवकहरूलाई पहाड, बेंसी, नदी तथा तालहरू सबै भएको गरिमामय प्रमोदवन पनि अवश्य दिन सक्नुहुन्छ। हो, विविधताले भरिएको प्रतिज्ञा गरिएको पुरातन देश अहिले उहाँका साक्षीहरूले उपभोग गरिरहेका आध्यात्मिक प्रमोदवन र नयाँ संसारमा भावी प्रमोदवनको पूर्वसंकेत थियो। त्यतिबेला भजन ३७:२९ मा लिपिबद्ध यो प्रतिज्ञा पूरा हुनेछ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।” यहोवाले आज्ञाकारी मानिसजातिलाई प्रमोदवनरूपी घर दिनुभएपछि यसका सबै “कोठाहरू” चहार्न र सधैंभरि यसको उपभोग गर्न पाउँदा तिनीहरू कति खुशी हुनेछन्!
[फुटनोटहरू]
a यस इलाकाको अंगुरको एउटा झुप्पा १२ किलोग्राम र अर्को चाहिं २० किलोग्रामभन्दा बढी वजन भएको रिकर्ड गरिएको छ।
b गीहोनको मुहान यरूशलेमको पूर्वी सिमानाको ठ्याक्क बाहिर थियो। यो गुफाभित्र लुकेको थियो। यसर्थ, अश्शूरीहरूलाई यसको अस्तित्वबारे थाह थिएन होला।
[पृष्ठ ४-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
गालील
गालीलको समुद्र
कर्मेल डाँडा
सामरिया
शेफेला
यहूदाका पहाडहरू
खारा समुद्र
[स्रोत]
NASA photo
[पृष्ठ ४-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
परमेश्वरका जनहरू र तिनीहरूका शत्रुहरूबीच शेफेला मध्यवर्ती प्रान्त थियो
माइल ० ५ १०
कि.मि ० ८ १६
पलिश्तीको मैदान
शेफेला
यहूदाको पहाडी देश
यहूदाको उजाडस्थान
रिफ्ट बेंसी
खारा समुद्र
अम्मोन र मोआबको भूमि
[पृष्ठ ५-मा भएको नक्सा/चित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
हजकियाहको कुलो: चट्टानलाई छेडेर बनाइएको ५३३ मिटर लामो कुलो
टाइरोपोइन बेंसी
सिलोआम
दाऊदको शहर
किद्रोन बेंसी
गीहोन
[पृष्ठ ६-मा भएका चित्रहरू]
शाऊलबाट बच्न दाऊदले यहूदाको उजाडस्थानमा शरण लिए। येशूलाई पछि दियाबलले यहीं प्रलोभित गर्न खोजेको थियो
[स्रोत]
Pictorial Archive (Near Eastern History) Est.
[पृष्ठ ७-मा भएका चित्रहरू]
कर्मेलको डाँडा, जहाँ एलियाले बाल देवताका पूजाहारीहरूलाई लज्जित बनाए
[स्रोत]
Pictorial Archive (Near Eastern History) Est.
[पृष्ठ ८-मा भएका चित्रहरू]
“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एउटा असल देशमा लैजानुहुनेछ। त्यहाँ खोला- नाला मूल फुटेका पानी, पहाड़ र बेंसीमा भएर बग्छन्।”—व्यवस्था ८:७