प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्यूबले निष्ठाको इनाम पाए
    प्रहरीधरहरा—१९९८ | मे १
    • प्रथमतः यहोवाले एलीपज, बिल्दद र सोपरलाई हप्काउनुभयो। उहाँले तिनीहरूमध्ये सम्भवतः सबैभन्दा जेठो एलीपजलाई औंल्याउनुहुँदै भन्‍नुभयो: “तँ र तेरा दुइ मित्रहरूसँग म क्रोधित भएको छु, किनभने मेरो दास अय्यूबले मेरो विषयमा भनेझैं तिमीहरूले भन्‍नुपर्ने कुरा भनेनौ। यसैले अब सातवटा साँढ़े र सातवटा भेड़ा लिएर मेरो दास अय्यूबकहाँ जाऊ, र तिमीहरू आफ्ना निम्ति होमबलि चढ़ाऊ, र त्यसले तिमीहरूका निम्ति अन्तरबिन्ती चढ़ाउनेछ।” (अय्यूब ४२:७, ८) यसको अर्थ के हो, यसो विचार गर्नुहोस्‌ त!

      यहोवाले एलीपज, बिल्दद र सोपरलाई निकै ठूलो बलिदान चढाउन लगाउनुभयो। उहाँले तिनीहरूको पापको गम्भीरता देखाउन यसो गर्न लगाउनुभएको हुनसक्छ। निस्सन्देह, तिनीहरूले जानाजानी वा अनजानमै किन नहोस्‌, परमेश्‍वरलाई ‘आफ्नै सेवकहरूमाथि भरोसा छैन’ अनि अय्यूब विश्‍वासी भए पनि नभए पनि उहाँलाई वास्ता छैन भनेर परमेश्‍वरको निन्दा गरेका थिए। एलीपजले त झन्‌ परमेश्‍वरको नजरमा अय्यूब पुतली बराबर पनि छैन समेत भने! (अय्यूब ४:१८, १९; २२:२, ३) अतः यहोवाले यसो भन्‍नु कुनै अनौठो कुरा होइन: “तिमीहरूले भन्‍नुपर्ने कुरा भनेनौ”!

      तर कुरा यति मात्र होइन। अय्यूबले आफैले गर्दा दुःख भोग्नुपरेको हो भनेर एलीपज, बिल्दद र सोपरले तिनी विरुद्ध पनि पाप गरे। तिनीहरूको आधारहीन दोषारोपण र समानुभूतीको अभावले अय्यूब यति चिढिए र निरुत्साहित भए कि तिनी यसो भनेर कराए: “कहिलेसम्म तपाईंहरू मलाई थकित तुल्याउनुहुन्छ, र वचनहरूले मलाई आघात गर्नुहुन्छ?” (अय्यूब १०:१; १९:२) अब आफ्ना पापको लागि बलिदान लिएर अय्यूबकहाँ आउनुपर्दा यी तीन व्यक्‍तिहरूको अनुहार लाजले कस्तो रातोपिरो भयो होला, कल्पना गर्नुहोस्‌!

      तर तिनीहरूको बेइज्जती देखेर अय्यूबले खुच्चिङ भन्‍नु ठीक हुने थिएन। भनौं भने, आफ्ना वादीहरूका निम्ति प्रार्थना गर्नुपर्छ भनी यहोवाले तिनलाई भन्‍नुभएको थियो। यहोवाले भन्‍नुभएबमोजिम नै अय्यूबले गरे। फलस्वरूप, तिनले आशिष्‌ पाए। प्रथमतः यहोवाले तिनको डरलाग्दो रोग निको पार्नुभयो। त्यसपछि अय्यूबका सबै दाजुभाइ, दिदीबहिनी र पुराना चिनापर्चीहरू आएर तिनलाई सान्त्वना दिए। अनि “हरेकले तिनलाई एक एक टुक्रा चाँदी र एउटा एउटा सुनको औंठी दियो।”a त्यसबाहेक, अय्यूबको “चौध हजार भेड़ा–बाख्रा, छ हजार ऊँट, एक हजार हल गोरू र एक हजार गधा [“गधैनी”, NW] भए।”b अन्ततः तिनकी पत्नी पनि तिनीसँग मिलिन्‌। समयको अन्तरालमा, अय्यूबका सात छोरा र तीन छोरी भए। अनि तिनी आफ्ना सन्ततिहरूको चार पुस्ता देखुञ्जेल बाँचे।—अय्यूब ४२:१०-१७.

  • अय्यूबले निष्ठाको इनाम पाए
    प्रहरीधरहरा—१९९८ | मे १
    • अय्यूब पुनः सुस्वस्थ हुनुअघि तिनले आफ्ना विरोधीहरूको खातिर प्रार्थना गरेको यहोवा चाहनुहुन्थ्यो। हाम्रोलागि कत्ति राम्रो उदाहरण! हाम्रा पापहरूको क्षमा पाउनुअघि हामीले पनि हाम्रो विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरोस्‌ भन्‍ने यहोवा चाहनुहुन्छ। (मत्ती ६:१२; एफिसी ४:३२) वैध कारण हुँदाहुँदै पनि अरूलाई क्षमा गर्न चाहँदैनौं भने हामीप्रति यहोवा कृपालु देखा पर्नुहोला भनी के हामी आशा गर्नसक्छौं र?—मत्ती १८:२१-३५.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने