अध्याय बाह्र
तपाईँ कसरी परमेश्वरको मित्र बन्न सक्नुहुन्छ?
१, २. यहोवा परमेश्वरका केही मित्र को-को थिए?
तपाईँ कसलाई आफ्नो मित्र बनाउन चाहनुहुन्छ? सायद तपाईँलाई मन पर्ने, तपाईँसँग कुरा मिल्ने अनि असल स्वभाव र असल गुण भएको व्यक्तिलाई तपाईँ आफ्नो मित्र बनाउनुहुन्छ।
२ यहोवा परमेश्वरले केही मानिसलाई आफ्नो मित्र बनाउनुभएको छ। जस्तै, अब्राहाम यहोवा परमेश्वरको मित्र थिए। (यसैया ४१:८; याकुब २:२३) उहाँले दाउदलाई पनि “मलाई मन पर्ने मानिस” भन्नुभयो। (प्रेषित १३:२२) त्यसैगरि भविष्यवक्ता दानिएल यहोवा परमेश्वरको नजरमा “अतिप्रिय” थिए।—दानिएल ९:२३.
३. अब्राहाम, दाउद र दानिएल कसरी यहोवा परमेश्वरको मित्र हुन सके?
३ अब्राहाम, दाउद र दानिएल कसरी यहोवा परमेश्वरको मित्र हुन सके? उहाँले अब्राहामलाई यसो भन्नुभयो: “तिमीले मेरो कुरा सुन्यौ।” (उत्पत्ति २२:१८) नम्र हुँदै यहोवा परमेश्वरको आज्ञा पालन गर्ने व्यक्तिलाई उहाँ आफ्नो मित्र बनाउनुहुन्छ। एउटा पूरै राष्ट्रसमेत उहाँको मित्र हुन सक्छ। यहोवा परमेश्वरले इस्राएल राष्ट्रका मानिसहरूलाई यसो भन्नुभयो: “मेरो वचन पालन गर अनि म तिमीहरूका परमेश्वर हुनेछु र तिमीहरू मेरा मानिसहरू हुनेछौ।” (यर्मिया ७:२३) यदि तपाईँ साँच्चै यहोवा परमेश्वरको मित्र बन्न चाहनुहुन्छ भने तपाईँले उहाँको आज्ञा पालन गर्नै पर्छ।
यहोवा परमेश्वर आफ्ना मित्रहरूको रक्षा गर्नुहुन्छ
४, ५. यहोवा परमेश्वर आफ्ना मित्रहरूको रक्षा कसरी गर्नुहुन्छ?
४ “जो-जो आफ्नो पूर्ण हृदयले यहोवा परमेश्वरप्रति भक्त छन्, तिनीहरूको खातिर आफ्नो शक्ति प्रकट” गर्ने मौका उहाँ खोजिरहनुहुन्छ भनी बाइबल बताउँछ। (२ इतिहास १६:९) उहाँले भजन ३२:८ मा आफ्ना मित्रहरूसित यस्तो प्रतिज्ञा गर्नुभएको छ: “म तिमीलाई समझ दिनेछु र तिमी हिँड्नुपर्ने बाटोमा तिमीलाई डोऱ्याउनेछु। तिमीमाथि नजर राखेर म तिमीलाई सल्लाह दिनेछु।”
५ तर हामीलाई परमेश्वरको मित्र बन्न नदिने एक जना बलियो शत्रु छ। त्यो हो, सैतान। तर हामी यहोवाको मित्र भएकोले उहाँ हाम्रो रक्षा गर्न चाहनुहुन्छ। (भजन ५५:२२ पढ्नुहोस्) हामी पनि सारा हृदयले उहाँको सेवा गर्छौँ। गाह्रो परिस्थितिमा समेत उहाँप्रति वफादार भइरहन्छौँ। अनि भजनरचयिताजस्तै हामी उहाँमाथि भरोसा राख्छौँ। तिनले यहोवा परमेश्वरको विषयमा यस्तो लेखे: “उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, त्यसैले म कहिल्यै डग्नेछैनँ।” (भजन १६:८; ६३:८) तर सैतानले कसरी हामीलाई परमेश्वरको मित्र बन्नदेखि रोक्न खोज्छ?
सैतानको आरोप
६. सैतानले कस्तो दाबी गऱ्यो?
६ हामीले यस किताबको अध्याय ११ मा सिकेझैँ सैतानले यहोवा परमेश्वरले झूट बोल्नुभयो भनी आरोप लगायो। के सही र के गलत भन्ने कुराको निर्णय आदम र हव्वा आफैलाई गर्न नदिएर यहोवा परमेश्वरले अन्याय गर्नुभयो भनेर त्यसले दोष लगायो। बाइबलको अय्युबको किताबअनुसार परमेश्वरको मित्र हुन चाहने सबै मानिसलाई सैतानले आरोप लगाएको छ। मानिसहरूले परमेश्वरलाई माया गरेकोले होइन, आफ्नो स्वार्थ पूरा गर्न उहाँको सेवा गर्छन् भनेर सैतानले दाबी गरेको छ। त्यसले ‘म जोसुकैलाई परमेश्वरको विरोधी बनाउन सक्छु’ भनेर समेत दाबी गरेको छ। त्यसोभए अय्युबबाट हामी के सिक्न सक्छौँ र यहोवा परमेश्वरले कसरी तिनको रक्षा गर्नुभयो, विचार गरौँ।
७, ८. (क) यहोवा परमेश्वरको नजरमा अय्युब कस्ता व्यक्ति थिए? (ख) सैतानले अय्युबको विषयमा के भन्यो?
७ अय्युब को थिए? तिनी आजभन्दा लगभग ३ हजार ६ सय वर्षअगाडि यसै पृथ्वीमा बाँचेका असल मानिस थिए। यहोवा परमेश्वरले पृथ्वीमा तिनीजस्तो असल व्यक्ति अरू कोही छैनन् भन्नुभयो। अय्युब परमेश्वरको असाध्यै आदर गर्थे र खराब कुराहरूलाई घृणा गर्थे। (अय्युब १:८) हो, अय्युब यहोवा परमेश्वरको साँचो मित्र थिए।
८ अय्युबले आफ्नो स्वार्थ पूरा गर्न परमेश्वरको सेवा गरेको हो भनेर सैतानले दाबी गऱ्यो। त्यसले यहोवा परमेश्वरलाई यसो भन्यो: “तपाईँले उसलाई, उसको घरपरिवारलाई र ऊसँग भएका सबै कुरालाई चारैतिरबाट रक्षा गर्नुभएको छैन र? तपाईँले उसको फलिफाप गराउनुभएको छ र उसको वस्तुभाउ बढेर अनगिन्ती भएका छन्। तर एकचोटि आफ्नो हात पसारेर ऊसँग भएको सबै कुरा खोसेर त हेर्नुहोस्। उसले तपाईँकै मुखको सामुन्ने तपाईँलाई सराप्नेछ।”—अय्युब १:१०, ११.
९. यहोवा परमेश्वरले सैतानलाई के गर्ने अनुमति दिनुभयो?
९ अय्युबले यहोवा परमेश्वरबाट केही पाएकोले मात्र उहाँको सेवा गरिरहेको हो भनी सैतानले आरोप लगायो। तिनलाई यहोवा परमेश्वरको सेवा गर्नदेखि रोक्न सक्छु भनेर पनि त्यसले दाबी गऱ्यो। तर सैतानले लगाएको आरोप र त्यसको दाबी झूटो हो भनेर यहोवा परमेश्वरलाई थाह थियो तैपनि उहाँले सैतानलाई अय्युबको जाँच गर्ने अनुमति दिनुभयो। अय्युब साँच्चै यहोवा परमेश्वरलाई माया गर्ने व्यक्ति भएकोले उहाँको मित्र भएका हुन् वा आफ्नो स्वार्थ पूरा गर्न, यसबाट प्रमाणित हुने थियो।
सैतान अय्युबलाई दुःख दिन्छ
१०. सैतानले अय्युबलाई कसरी दुःख दियो तर अय्युबले के गरेनन्?
१० सबैभन्दा पहिला, सैतानले गर्दा अय्युबका कतिपय गाईवस्तु चोरी भए अनि बाँकी भएको चाहिँ मारिए। त्यसपछि अय्युबका थुप्रै नोकरचाकरको हत्या भयो। अय्युबले आफ्नो सबै सम्पत्ति गुमाए। अन्तमा ठूलो हुरीबतास चलाएर सैतानले अय्युबका दसै जना छोराछोरीलाई माऱ्यो। तर यस्तो दुःखलाग्दो अवस्थामा समेत अय्युबले यहोवा परमेश्वरलाई त्यागेनन्। “यी सबै भोगेर पनि अय्युबले परमेश्वरविरुद्ध पाप गरेनन् वा आफूले भोगेको अन्यायको दोष परमेश्वरलाई लगाएनन्।”—अय्युब १:१२-१९, २२.
अय्युब वफादार मित्र भएकोले यहोवा परमेश्वरले तिनलाई इनाम दिनुभयो
११. (क) सैतानले अय्युबलाई फेरि कस्तो दुःख दियो? (ख) अय्युबले के गरेनन्?
११ तर सैतानले हार मानेन। त्यसले यसो भन्दै परमेश्वरलाई फेरि चुनौती दियो: “उसको शरीरमा प्रहार गरेर त हेर्नुहोस्, उसले तपाईँकै मुखको सामुन्ने तपाईँलाई सराप्नेछ।” त्यसपछि सैतानले अय्युबलाई असाध्यै पीडा हुने रोगले प्रहार गऱ्यो। (अय्युब २:५, ७) तैपनि अय्युबले यहोवा परमेश्वरलाई त्यागेनन्। तिनले यसो भने: “म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्नेछैनँ।”—अय्युब २७:५.
१२. अय्युबले सैतानलाई कसरी झूटो साबित गरिदिए?
१२ अय्युबलाई सैतानले लगाएको आरोपबारे अनि आफूले दुःख भोग्नुको कारणबारे केही थाह थिएन। तिनलाई यहोवाले नै ती सबै दुःख दिनुभएको हो जस्तो लागेको थियो। (अय्युब ६:४; १६:११-१४) तैपनि अय्युबले यहोवा परमेश्वरलाई त्यागेनन्। यसबाट अय्युब स्वार्थी थिएनन् भनेर प्रस्ट भयो। परमेश्वरलाई माया गरेकोले नै तिनी उहाँको मित्र हुन सकेका थिए। सैतानले लगाएको सबै आरोप झूटो साबित भयो।
१३. अय्युब वफादार भएकोले नतिजा के भयो?
१३ अय्युबलाई स्वर्गमा भइरहेको विवादबारे केही थाह थिएन। तैपनि तिनले परमेश्वरलाई त्यागेनन्। अय्युबको वफादारीले सैतान खराब व्यक्ति हो भनेर साबित गऱ्यो। अय्युबले आफूलाई यहोवा परमेश्वरको वफादार मित्र साबित गरेकोले उहाँले तिनलाई इनाम दिनुभयो।—अय्युब ४२:१२-१७.
सैतानले तपाईँलाई पनि आरोप लगाएको छ
१४, १५. सैतानले सबै मानिसलाई कस्तो आरोप लगाएको छ?
१४ अय्युबलाई जे भयो, त्यसबाट तपाईँ महत्त्वपूर्ण पाठ सिक्न सक्नुहुन्छ। आज हामी पनि यहोवा परमेश्वरबाट केही पाउनको लागि उहाँको सेवा गर्छौँ भनेर सैतानले आरोप लगाएको छ। अय्युब २:४ मा सैतानले यस्तो दाबी गऱ्यो: “आफ्नो ज्यान जोगाउन मानिस जे गर्न पनि तयार हुन्छ।” सैतानले अय्युब मात्र होइन, सबै मानिस स्वार्थी छन् भनेर आरोप लगाएको छ। अय्युबको मृत्यु भएको सयौँ वर्षपछि पनि सैतानले यहोवा परमेश्वरका सेवकहरूको अपमान गर्न र उनीहरूलाई आरोप लगाउन छोडेको थिएन। त्यसैले हितोपदेश २७:११ मा यसो भनिएको छ: “हे मेरो छोरा, बुद्धिमान् होऊ र मेरो हृदयलाई खुसी बनाऊ अनि मेरो गिल्ला गर्नेहरूलाई [अर्थात्, अपमान गर्नेहरूलाई] म मुखभरिको जवाफ दिन सक्छु।”
१५ यहोवा परमेश्वरको आज्ञा पालन गरेर अनि उहाँको वफादार मित्र बनेर हामी सैतानलाई झूटो साबित गर्न सक्छौँ। परमेश्वरको मित्र बन्न जीवनमा ठूलो छाँटकाँट गर्नुपऱ्यो भने पनि त्यसो गर्न तयार हुनुहोस्। किनकि परमेश्वरको मित्र बन्नु नै तपाईँले गर्न सक्ने उत्तम निर्णय हो अनि यो गम्भीर निर्णय पनि हो। समस्याले चारैतिरबाट घेर्न थालेपछि तपाईँले परमेश्वरलाई त्याग्नुहुनेछ भनेर सैतानले दाबी गरेको छ। हामीले परमेश्वरलाई विश्वासघात गरोस् भनेर सैतान विभिन्न उपाय लगाएर हामीलाई बहकाउन खोज्छ।
१६. (क) मानिसहरूलाई यहोवा परमेश्वरको सेवा गर्नदेखि रोक्न सैतानले के-कस्तो तरिका अपनाउँछ? (ख) तपाईँलाई यहोवा परमेश्वरको सेवा गर्नदेखि रोक्न सैतानले के गर्न सक्छ?
१६ हामीलाई परमेश्वरको मित्र बन्न नदिन सैतानले विभिन्न उपाय रच्छ। जस्तै, ‘कसलाई निलूँ भनेर गर्जने सिंहले झैँ’ त्यसले सीधै आक्रमण गर्छ। (१ पत्रुस ५:८) तपाईँले बाइबल अध्ययन गर्दा अनि सिकेको कुरा लागू गर्ने कोसिस गर्दा तपाईँका साथीभाइ, नातेदार अनि अरूले विरोध गर्न सक्छन्। उनीहरूले त्यसरी विरोध गर्नुको पछाडि सैतानकै हात हुनुपर्छ जस्तो तपाईँलाई लाग्न सक्छ।a (युहन्ना १५:१९, २०) सैतानले आफूलाई “ज्योतिर्मय स्वर्गदूतको भेषमा” पनि परिवर्तन गर्छ। हामीले परमेश्वरको आज्ञा उल्लङ्घन गरोस् भनेर त्यसले विभिन्न तरिकामा हामीलाई बहकाउने कोसिस गर्छ। (२ कोरिन्थी ११:१४) परमेश्वरको सेवा गर्न हामी पटक्कै लायक छैनौँ भन्ने गलत सोचाइ हाम्रो मनमा हालिदिएर पनि त्यसले हामीलाई यहोवा परमेश्वरको सेवा गर्नदेखि रोक्न खोज्छ।—हितोपदेश २४:१०.
यहोवा परमेश्वरको आज्ञा पालन गर्नुहोस्
१७. हामी किन यहोवा परमेश्वरको आज्ञा पालन गर्छौँ?
१७ यहोवा परमेश्वरको आज्ञा पालन गरेर हामी सैतानलाई झूटो साबित गर्न सक्छौँ। आज्ञाकारी हुन हामीलाई केले मदत गर्छ? बाइबल भन्छ: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले र आफ्नो सारा बलले प्रेम गर्नू।” (व्यवस्था ६:५) हामी यहोवा परमेश्वरलाई प्रेम गर्छौँ। त्यसैले उहाँको आज्ञा पालन गर्छौँ। यहोवा परमेश्वरप्रतिको प्रेम बढ्दै जाँदा उहाँको इच्छाअनुसार गर्न हामी सजिलै तयार हुन्छौँ। प्रेषित युहन्नाले लेखे: “परमेश्वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो र उहाँका आज्ञाहरू बोझिला छैनन्।”—१ युहन्ना ५:३.
१८, १९. (क) यहोवा परमेश्वरले गलत ठान्नुहुने केही कुरा के-के हुन्? (ख) हामीले गर्नै नसक्ने कुरा परमेश्वरले माग्नुहुन्न भनेर हामी किन भन्न सक्छौँ?
१८ यहोवा परमेश्वरले गलत ठान्नुहुने केही कुरा के-के हुन्? त्यसमध्ये केही उदाहरण “यहोवा परमेश्वरले घृणा गर्नुहुने कुराहरूलाई घृणा गर्नुहोस्” भन्ने पेटीमा दिइएको छ। झट्ट हेर्दा तपाईँलाई त्यहाँ दिइएका कुनै-कुनै कुरा त्यति खराब नलाग्न सक्छ। तर तपाईँले त्यहाँ दिइएका बाइबल पदहरू पढ्नुभयो र त्यसबारे गहिरिएर विचार गर्नुभयो भने यहोवाको आज्ञा पालन गर्नु कत्ति असल छ भनेर बुझ्न सक्नुहुनेछ। तपाईँले आफ्नो जीवनमा केही छाँटकाँट गर्नुपर्ने आवश्यकता पनि देख्नुहुन्छ होला। हुनत छाँटकाँट गर्न कहिलेकाहीँ गाह्रो हुन सक्छ। तर यसो गर्नुभयो भने तपाईँले आफूलाई परमेश्वरको वफादार मित्र साबित गरिरहनुभएको हुनेछ। साथै मनमा शान्ति र आनन्द पनि अनुभव गर्नुहुनेछ। (यसैया ४८:१७, १८) तर के हामी साँच्चै त्यस्तो छाँटकाँट गर्न सक्छौँ?
१९ यहोवा परमेश्वर हामीले गर्नै नसक्ने कुरा हामीसित कहिल्यै माग्नुहुन्न। (व्यवस्था ३०:११-१४) उहाँ हाम्रो साँचो मित्र हुनुहुन्छ र हामीलाई आफ्नो विषयमा जति थाह छ, त्योभन्दा धेरै उहाँलाई थाह छ। उहाँलाई हाम्रो क्षमता अनि कमजोरी दुवै थाह छ। (भजन १०३:१४) प्रेषित पावलले यस्तो लेखे: “परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र तिमीहरूले सहन सक्नेभन्दा बाहिरको परीक्षामा उहाँले तिमीहरूलाई पर्न दिनुहुनेछैन बरु तिमीहरूले सहन सक भनेर परीक्षाका साथसाथै त्यसबाट उम्कने बाटो पनि खोलिदिनुहुनेछ।” (१ कोरिन्थी १०:१३) यहोवा परमेश्वरले हामीलाई सही काम गर्न चाहिने बल दिनुहुन्छ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौँ। कठिन अवस्थाहरू सहन उहाँले तपाईँलाई “असाधारण शक्ति” दिनुहुनेछ। (२ कोरिन्थी ४:७) यहोवा परमेश्वरबाट त्यस्तै मदत पाएको अनुभव गरेपछि पावलले यसो भन्न सके: “किनकि जसले मलाई शक्ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।”—फिलिप्पी ४:१३.
परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्न सिक्नुहोस्
२०. तपाईँले परमेश्वरका कस्ता गुणहरू अनुकरण गर्नुपर्छ र किन?
२० यहोवा परमेश्वरको मित्र बन्न चाहन्छौँ भने उहाँले खराब ठान्नुहुने कुराहरूबाट टाढा बसेर मात्रै पुग्दैन। (रोमी १२:९) परमेश्वरका मित्रहरू उहाँले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्छन्। भजन १५:१-५ मा त्यसबारे वर्णन गरिएको छ। (पढ्नुहोस्) यहोवा परमेश्वरका मित्रहरूले “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वास, नम्रता, आत्मसंयम”-जस्ता उहाँका गुणहरू अनुकरण गर्छन्।—गलाती ५:२२, २३.
२१. परमेश्वरलाई मन पर्ने गुणहरू तपाईँ कसरी विकास गर्न सक्नुहुन्छ?
२१ तपाईँ कसरी यस्ता असल गुणहरू विकास गर्न सक्नुहुन्छ? तपाईँले नियमित रूपमा बाइबल पढेर र अध्ययन गरेर यहोवा परमेश्वरले प्रेम गर्नुहुने कुराहरूबारे सिक्नुपर्छ। (यसैया ३०:२०, २१) तपाईँले यसो गर्नुभयो भने यहोवा परमेश्वरप्रतिको तपाईँको प्रेम बढ्नेछ। अनि उहाँप्रतिको प्रेम जति बढ्छ, उहाँको आज्ञा पालन गर्ने इच्छा पनि त्यति नै बढ्दै जानेछ।
२२. यहोवा परमेश्वरको आज्ञा पालन गर्नुभयो भने नतिजा कस्तो हुनेछ?
२२ तपाईँले आफ्नो जीवनमा गर्नुपर्ने छाँटकाँटलाई पुरानो लुगा फुकालेर नयाँ लुगा लगाउनुसित तुलना गर्न सकिन्छ। बाइबलअनुसार तपाईँले ‘पुरानो व्यक्तित्वलाई फुकालेर मिल्काइदिनुपर्छ’ र ‘नयाँ व्यक्तित्व धारण गर्नुपर्छ।’ (कलस्सी ३:९, १०) यस्तो छाँटकाँट गर्न गाह्रो हुन सक्छ, तैपनि यहोवा परमेश्वरको आज्ञा पालन गर्दै छाँटकाँट गऱ्यौँ भने उहाँले हामीलाई “प्रशस्तै इनाम” दिनुहुनेछ। (भजन १९:११) त्यसैले सधैँ यहोवा परमेश्वरको आज्ञा पालन गर्ने छनौट गरेर सैतानलाई झूटो साबित गर्नुहोस्। भविष्यमा पाइने इनामको लागि मात्र होइन तर निःस्वार्थ प्रेमले उत्प्रेरित भएर यहोवा परमेश्वरको सेवा गर्नुहोस्। यसो गर्नुभयो भने तपाईँ सधैँभरि परमेश्वरको साँचो मित्र भइरहन सक्नुहुनेछ!
a यसको अर्थ तपाईँलाई बाइबल अध्ययन गर्नदेखि रोक्ने मानिसहरूलाई सैतानले नियन्त्रण गरिरहेको छ भन्ने होइन। सैतान “यस युगको ईश्वर” हो र “सारा संसार [त्यसको] हातमा परेको छ।” त्यसैले यहोवा परमेश्वरको सेवा गर्नदेखि कसैले रोक्न खोज्दा छक्क मान्नु पर्दैन।—२ कोरिन्थी ४:४; १ युहन्ना ५:१९.