प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh chap. १२ pp. ११५-१२४
  • परमेश्‍वरलाई मन पर्ने तरिकामा जीवन बिताउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरलाई मन पर्ने तरिकामा जीवन बिताउनुहोस्‌
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा आफ्ना मित्रहरूलाई सहायता गर्नुहुन्छ
  • सैतानको चुनौती
  • अय्यूबको परीक्षा
  • तपाईं कसरी मुछिनुभएको छ?
  • यहोवाको आज्ञा पालन गर्नुहोस्‌
  • परमेश्‍वरलाई मन पर्ने गुणहरू विकास गर्नुहोस्‌
  • तपाईँ कसरी परमेश्‍वरको मित्र बन्‍न सक्नुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • तपाईं एउटा विवादमा सामेल हुनु भएको छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • अय्यूबले यहोवाको नाउँ उच्च पारे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “यहोवामा आशा राख”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
बाइबलले वास्तवमा के सिकाउँछ?
bh chap. १२ pp. ११५-१२४

अध्याय बाह्र

परमेश्‍वरलाई मन पर्ने तरिकामा जीवन बिताउनुहोस्‌

  • तपाईं कसरी परमेश्‍वरको मित्र बन्‍न सक्नुहुन्छ?

  • सैतानले दिएको चुनौतीमा तपाईं कसरी मुछिनुभएको छ?

  • यहोवालाई कस्तो आनीबानी मन पर्दैन?

  • तपाईं कसरी परमेश्‍वरलाई मन पर्ने तरिकामा जीवन बिताउन सक्नुहुन्छ?

१, २. यहोवाले क-कसलाई आफ्नो घनिष्ठ मित्र बनाउनुभयो?

तपाईं कसलाई आफ्नो साथी बनाउनुहुन्छ? सायद आफ्नो जस्तै सोचाइ, रुचि र मूल्यमान्यता भएको व्यक्‍ति खोज्नुहुन्छ होला। अनि इमानदार र दयालु व्यक्‍तिसित चिनजान बढाउन चाहनुहुन्छ होला।

२ यहोवाले पनि कसै-कसैलाई आफ्नो घनिष्ठ मित्र बनाउनुभएको छ। उदाहरणका लागि, उहाँले अब्राहामलाई आफ्नो मित्र भन्‍नुभयो। (यशैया ४१:८; याकूब २:२३) उहाँले दाऊदलाई “मेरो मन मिल्ने मानिस” भन्‍नुभयो किनभने तिनी यहोवालाई मन पर्ने खालका मानिस थिए। (प्रेषित १३:२२) त्यसैगरि भविष्यवक्‍ता दानियल यहोवाको नजरमा “अति प्रिय मानिस” थिए।—दानियल ९:२३.

३. यहोवाले किन कसै-कसैलाई आफ्नो मित्र बनाउनुभयो?

३ यहोवाले अब्राहाम, दाऊद अनि दानियललाई किन आफ्नो मित्र बनाउनुभयो? उहाँले अब्राहामलाई यसो भन्‍नुभयो: “तैंले मेरो वचन पालन गरिस्‌।” (उत्पत्ति २२:१८) उहाँको आज्ञा पालन गर्ने नम्र मानिसहरूसित यहोवा घनिष्ठ हुन रुचाउनुहुन्छ। उहाँले इस्राएलीहरूलाई यसो भन्‍नुभयो: “वचन पालन गर, र म तिमीहरूका परमेश्‍वर हुनेछु, औ तिमीहरूचाहिं मेरो प्रजा हुनेछौ।” (यर्मिया ७:२३) यहोवाको आज्ञा पालन गर्नुभयो भने तपाईं पनि उहाँको मित्र बन्‍न सक्नुहुन्छ!

यहोवा आफ्ना मित्रहरूलाई सहायता गर्नुहुन्छ

४, ५. यहोवाले कसरी तपाईंलाई सहायता गर्नुहुन्छ?

४ परमेश्‍वरसित मित्रता गाँस्दा हामीलाई धेरै फाइदा हुन्छ। “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता” गर्न यहोवा मौका खोज्नुहुन्छ भनी बाइबल बताउँछ। (२ इतिहास १६:९) यहोवाले कसरी तपाईंलाई सहायता गर्नुहुन्छ? एउटा तरिका भजन ३२:८ मा यसरी बताइएको छ: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।”

५ कस्तो मन छुने शब्द! उहाँले तपाईंलाई आफ्नो आज्ञा पालन गर्न सिकाउनुहुन्छ अनि उहाँको आज्ञा पालन गर्दा कुनै गाह्रोसाह्रो पऱ्‍यो भने तपाईंलाई थाम्न उहाँ तयार हुनुहुन्छ। तपाईंले विभिन्‍न किसिमका परीक्षा अनि सङ्‌कष्टको सामना गर्नुपर्दा तपाईंलाई मदत गर्न उहाँ इच्छुक हुनुहुन्छ। (भजन ५५:२२) आफ्नो सारा मनले यहोवाको सेवा गर्नुभयो भने भजनरचयिताजस्तै तपाईं पनि विश्‍वस्त भई यसो भन्‍न सक्नुहुन्छ: “मैले परमप्रभुलाई सधैं मेरो सामने राखेको छु। किनभने उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ। म डग्नेछैनँ।” (भजन १६:८; ६३:८) हो, तपाईंले उहाँलाई मन पर्ने तरिकामा जीवन बिताउन सकोस्‌ भनेर मदत गर्न उहाँ तयार हुनुहुन्छ। तर तपाईंलाई थाहै छ, परमेश्‍वरलाई मन पर्ने तरिकामा जीवन बिताउनदेखि एउटा शत्रुले तपाईंलाई रोक्न खोज्छ।

सैतानको चुनौती

६. सैतानले कस्तो आरोप लगायो?

६ परमेश्‍वरको शासन गर्ने अधिकारमाथि सैतानले कसरी औंला उठायो भनेर हामीले अध्याय ११ मा सिकिसक्यौं। परमेश्‍वरले झूट बोल्नुभयो भनी सैतानले आरोप लगायो। के सही के गलत आदम र हव्वालाई निर्णय गर्न नदिएर यहोवाले अन्याय गर्नुभयो भनेर पनि त्यसले दोष लगायो। तर सैतानले यतिमै चित्त बुझाएन। आदम र हव्वाले पाप गरेपछि अनि तिनीहरूको सन्तानले पृथ्वी भरिंदै गएपछि त्यसले सबै मानिसको मनसायमाथि शङ्‌का गर्न थाल्यो। ‘तिनीहरूले परमेश्‍वरलाई माया गरेर उहाँको सेवा गरेका होइनन्‌।’ ‘मौका पाएँ भने म जसलाई पनि परमेश्‍वरको विरोधी बनाउन सक्छु।’ सैतानले यस्तै सोचेको थियो भनेर अय्यूब नाम गरेका मानिसको विवरणबाट स्पष्ट हुन्छ। अय्यूब को थिए र सैतानले दिएको चुनौतीमा तिनी कसरी मुछिए?

७, ८. (क) त्यतिबेलाका मानिसहरूभन्दा अय्यूब किन फरक थिए? (ख) सैतानले कसरी अय्यूबको मनसायमाथि शङ्‌का गऱ्‍यो?

७ अय्यूब आजभन्दा लगभग ३,६०० वर्षअघिका मानिस थिए। यहोवाले भन्‍नुभएको यस कुराबाट तिनी असल मानिस थिए भनी थाह पाउँछौं: “परमेश्‍वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने पृथ्वीमा त्योजस्तै निर्दोष र सोझो जीवन व्यतीत गर्ने मानिस तैंले कोही पाउनेछैनस्‌।” (अय्यूब १:८) परमेश्‍वर अय्यूबदेखि खुसी हुनुहुन्थ्यो।

८ सैतानले अय्यूबको मनसायमाथि शङ्‌का गऱ्‍यो। त्यसले यहोवालाई यसो भन्यो: “के [अय्यूबलाई], तिनका घराना र तिनका सबै धन-सम्पत्तिलाई तपाईंले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन? तिनका सबै काममा तपाईंले आशिष दिनुभएको छ, औ तिनका गाई-वस्तुहरू अनगन्ती बढेका छन्‌। तर आफ्नो हात पसारेर तिनका सबै चीज छुनुहोस्‌, र तिनले तपाईंलाई तपाईंकै मुखको सामने सराप्नेछन्‌।”—अय्यूब १:१०, ११.

९. यहोवाले सैतानको चुनौतीको जवाफ कसरी दिनुभयो? यसबाट के स्पष्ट हुने थियो?

९ अय्यूबले आफ्नो स्वार्थ पूरा गर्न मात्र परमेश्‍वरको सेवा गरिरहेको हो भनी सैतानले आरोप लगायो। दुःखकष्ट आइपर्नेबित्तिकै तिनले परमेश्‍वरको विरोध गर्नेछ भनेर त्यसले दोष लगायो। सैतानको यस्तो चुनौतीको जवाफ यहोवाले कसरी दिनुभयो? यहोवाले अय्यूबको जाँच गर्न सैतानलाई मौका दिनुभयो किनभने त्यसले अय्यूबको मनसायमाथि शङ्‌का गरेको थियो। यसबाट अय्यूब परमेश्‍वरलाई प्रेम गर्छन्‌ कि गर्दैनन्‌ भनेर स्पष्ट हुने थियो।

अय्यूबको परीक्षा

१०. अय्यूबमाथि कस्ता परीक्षाहरू आइपरे तर तिनले के गरेनन्‌?

१० सैतानले अय्यूबको परीक्षा गर्न ढिलासुस्ती गरेन। त्यसले एकपछि अर्को विपत्ति ल्याएर अय्यूबको जाँच गऱ्‍यो। अय्यूबका गाईवस्तु चोरिए र अरू कतिपय मारिए। तिनका थुप्रै नोकरको हत्या गरियो। यसले गर्दा अय्यूबमाथि आर्थिक सङ्‌कट आइपऱ्‍यो। आँधीमा परेर दस जना छोराछोरीको ज्यान जाँदा अय्यूबको दुःखमाथि दुःख थपियो। तैपनि “अय्यूबले पाप गरेनन्‌। तिनले परमेश्‍वरलाई अन्यायको दोष पनि लगाएनन्‌।”—अय्यूब १:२२.

११. (क) सैतानले के गर्ने अनुमति माग्यो? किन? (ख) पीडादायी रोग लाग्दासमेत अय्यूबले के गरेनन्‌?

११ तर सैतानले हार मानेन। अय्यूबले अरू सबै कुरा सहे पनि आफै बिरामी पऱ्‍यो भने चाहिं सहन सक्नेछैन भनी सैतानले सोचेको हुनुपर्छ। सैतानले अय्यूबलाई घिनलाग्दो अनि पीडादायी रोगले प्रहार गर्ने अनुमति माग्यो। डरलाग्दो रोग लाग्यो भने अय्यूबले यहोवाको विरोध गर्नेछ भनेर त्यसले दाबी गऱ्‍यो। अय्यूबलाई डरलाग्दो रोगले पिरोल्यो। तैपनि परमेश्‍वरमाथि तिनको विश्‍वास ढलपल भएन। “यी सबै कुरामा अय्यूबको मुखबाट एउटै पापको कुरा निस्केन।”—अय्यूब २:१०.

अय्यूब आफ्नी श्रीमती र दस छोराछोरीसित आनन्दित जीवन बिताइरहेका छन्‌

वफादार भएकोले अय्यूबले इनाम पाए

१२. अय्यूबले सैतानको चुनौतीको जवाफ कसरी दिए?

१२ सैतानले गर्दा आफूमाथि समस्या आइपरेको हो भनी अय्यूबलाई थाह थिएन। यहोवाको शासन गर्ने अधिकारलाई सैतानले चुनौती दिएको थियो भनेर पनि अय्यूबलाई थाह थिएन। त्यसैले तिनलाई परमेश्‍वरले गर्दा नै आफूमाथि समस्या आइपरेको हुनुपर्छ भन्‍ने लागेको थियो। (अय्यूब ६:४; १६:११-१४) तैपनि यहोवाप्रतिको तिनको निष्ठा ढलपल भएन। अय्यूबले आफ्नै स्वार्थ पूरा गर्न मात्र परमेश्‍वरको सेवा गरेको हो भन्‍ने सैतानको दाबीलाई अय्यूबको वफादारीले गलत साबित गऱ्‍यो।

१३. परमेश्‍वरप्रति वफादार भएकोले अय्यूबले कस्तो इनाम पाए?

१३ अय्यूबको वफादारीले गर्दा यहोवाले सैतानलाई मुखभरिको जवाफ दिन सक्नुभयो। अय्यूब साँच्चै यहोवाको मित्र थिए र उहाँले तिनको वफादारीको इनाम दिनुभयो।—अय्यूब ४२:१२-१७.

तपाईं कसरी मुछिनुभएको छ?

१४, १५. सैतानले अय्यूबलाई मात्र होइन सबै मानिसलाई आरोप लगाएको थियो भनेर हामी किन भन्‍न सक्छौं?

१४ अय्यूबले आफ्नै स्वार्थ पूरा गर्न मात्र परमेश्‍वरको सेवा गरेको हो भन्‍ने सैतानको दाबीमा तपाईं पनि मुछिनुभएको छ। यो कुरा हितोपदेश २७:११ बाट स्पष्ट हुन्छ, जहाँ यसो भनिएको छ: “हे मेरो छोरो, बुद्धिमान्‌ हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” अय्यूबको मृत्यु भएको सयौं वर्षपछि लेखिएका ती शब्दहरूले परमेश्‍वरको आलोचना गर्ने अनि उहाँका सेवकहरूलाई दोष लगाउने मुख्य व्यक्‍ति सैतान हो भनी स्पष्ट पार्छ। त्यसैले यहोवालाई मन पर्ने तरिकामा जीवन बिताउँदा हामीले सैतानलाई झूटो साबित गर्न उहाँलाई मदत गरिरहेका हुन्छौं अनि उहाँलाई प्रसन्‍न पारिरहेका हुन्छौं। तपाईंलाई यो कुरा कस्तो लाग्यो? सैतानका आरोपहरूलाई झूटो साबित गर्न पाउनु हाम्रो लागि ठूलो सम्मानको कुरा हो। त्यसैले जीवनमा जस्तोसुकै परिवर्तन गर्न हामी तयार छौं।

१५ सैतानले यस्तो दाबी गरेको थियो: “आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा दिंदैन र?” (अय्यूब २:४) सैतानले अय्यूबलाई मात्र होइन, सबै मानिसलाई आरोप लगाएको थियो भन्‍ने कुरा त्यसले चलाएको “मानिस” भन्‍ने शब्दबाट स्पष्ट हुन्छ। यो महत्त्वपूर्ण कुरा हो। सैतानले परमेश्‍वरप्रतिको तपाईंको निष्ठामा समेत शङ्‌का गरेको छ। दुःखकष्ट अनि समस्या आइपर्दा तपाईंले परमेश्‍वरको आज्ञा मान्‍न छोडोस्‌ अनि सही बाटोमा हिंड्‌न छोडेर गलत काम गरोस्‌ भन्‍ने सैतान चाहन्छ। यस्तो इच्छा पूरा गर्न सैतानले कस्तो जुक्‍ति लगाउँछ?

१६. (क) मानिसहरूलाई परमेश्‍वरबाट टाढा लैजान सैतानले कस्ता युक्‍तिहरू चलाउँछ? (ख) तपाईंको निष्ठा तोड्‌न सैतानले ती युक्‍तिहरू कसरी चलाउन सक्छ?

१६ मानिसहरूलाई परमेश्‍वरबाट अलग पार्न सैतानले विभिन्‍न जुक्‍ति लगाउँछ भनेर हामीले अध्याय १० मा सिकिसक्यौं। त्यो “कसलाई निलूँ भनेर गर्जने सिंहझैं घुमेर हिंड्‌छ।” (१ पत्रुस ५:८) तपाईंले बाइबल अध्ययन गर्दा अनि सिकेको कुरा लागू गर्ने प्रयास गर्दा तपाईंका साथीभाइ, नातेदार अनि अरूले विरोध गर्छन्‌ भने त्यतिखेर सैतानले चाल चलिरहेको हुन सक्छ।a (यूहन्‍ना १५:१९, २०) सैतानले “आफूलाई ज्योतिर्मय स्वर्गदूतको भेषमा परिवर्तन गर्छ।” (२ कोरिन्थी ११:१४) त्यसले हामीलाई चालै नपाउने गरी बहकाउन सक्छ। चरालाई मन पर्ने चारो छरेर सिकारीले पासोमा पारेजस्तै परमेश्‍वरलाई मन नपर्ने काम गर्न लगाउन सैतानले हामीलाई फुस्ल्याउन सक्छ। हामी निराश भएको बेला सैतानले त्यसको फाइदा उठाउन खोज्छ। परमेश्‍वरको सेवा गर्न तपाईं लायक हुनुहुन्‍न भन्‍ने जस्तो नकारात्मक सोचाइ त्यसले तपाईंको मनमा हालिदिन सक्छ। (हितोपदेश २४:१०) सैतानले “गर्जने सिंह”-ले जस्तै आक्रमण गरे पनि अथवा “ज्योतिर्मय स्वर्गदूत” बनेर हामीलाई बहकाए पनि, त्यसको दाबी भने यही हो: दुःखकष्ट अथवा कुनै समस्या आइलाग्यो वा कुनै कुराको लोभ देखायो भने तपाईंले परमेश्‍वरको सेवा गर्न छोड्‌नुहुनेछ। त्यसोभए अय्यूबले जस्तै तपाईं कसरी त्यसको चुनौतीको जवाफ दिन सक्नुहुन्छ? अनि परमेश्‍वरप्रति निष्ठावान्‌ रहिरहन तपाईंले के गर्नुपर्छ?

यहोवाको आज्ञा पालन गर्नुहोस्‌

१७. हामी किन यहोवाको आज्ञा पालन गर्छौं?

१७ परमेश्‍वरलाई मन पर्ने तरिकामा जीवन बिताएर तपाईंले सैतानको चुनौतीको जवाफ दिन सक्नुहुन्छ। त्यसोभए तपाईंले के गर्नुपर्छ? बाइबल यसो भन्छ: “तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्‍तिले प्रेम गर।” (व्यवस्था ६:५) तपाईंको मनमा परमेश्‍वरको माया बढ्‌दै गएपछि उहाँले चाहनुभएअनुसार गर्ने इच्छा पनि बढ्‌दै जानेछ। प्रेषित यूहन्‍नाले यस्तो लेखे: “परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो।” आफ्नो सारा मनले यहोवालाई प्रेम गर्नुभयो भने “उहाँका आज्ञाहरू बोझिला छैनन्‌” भनेर महसुस गर्नुहुनेछ।—१ यूहन्‍ना ५:३.

१८, १९. (क) यहोवाका केही आज्ञा के-के हुन्‌? (पृष्ठ १२२ को पेटी हेर्नुहोस्‌।) (ख) हामीले गर्न नसक्ने कुरा परमेश्‍वरले माग गर्नुहुन्‍न भनेर हामी किन भन्‍न सक्छौं?

१८ यहोवाका आज्ञाहरू के-के हुन्‌? एउटा हो, हामीले गर्न नहुने कामहरूदेखि अलग बस्नु। उदाहरणको लागि पृष्ठ १२२ मा “यहोवाले घृणा गर्नुहुने कुराहरू त्याग्नुहोस्‌” भन्‍ने पेटी हेर्नुहोस्‌। त्यस पेटीमा हामीले पटक्कै गर्न नहुने कामहरूको सूची दिइएको छ। झट्ट हेर्दा त्यहाँ दिइएका कुनै-कुनै कुरा त्यति खराब नलाग्न सक्छ। तर सँगै दिइएका पदहरू मनन गर्नुभयो भने तपाईंले यहोवाको आज्ञा पालन गर्दा साँच्चै हाम्रै भलाइ हुन्छ भनेर बुझ्नुहुनेछ। तपाईंलाई आफ्नो पुरानो बानी छोड्‌न असाध्यै गाह्रो लाग्न सक्छ। तर यहोवालाई मन पर्ने तरिकामा जीवन बिताउँदा पाइने सन्तुष्टि अनि आनन्दलाई अरू कुनै कुरासित तुलना गर्न सकिंदैन। (यशैया ४८:१७, १८) अनि यो गर्न नसक्ने कुरा पनि होइन। हामी किन यसो भन्‍न सक्छौं?

१९ हामीले गर्न नसक्ने कुरा यहोवा कहिल्यै माग गर्नुहुन्‍न। (व्यवस्था ३०:११-१४) हाम्रो क्षमता अनि सीमितता उहाँलाई राम्ररी थाह छ। (भजन १०३:१४) साथै उहाँले हामीलाई आज्ञा पालन गर्न सहायता गर्नुहुन्छ। प्रेषित पावलले यस्तो लेखे: “परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ र तिमीहरूले सहनसक्नेभन्दा बाहिरको परीक्षामा उहाँले तिमीहरूलाई पर्न दिनुहुनेछैन, बरु तिमीहरूले त्यो सहन सकोस्‌ भनेर परीक्षाका साथसाथै त्यसबाट उम्कने बाटो पनि खोलिदिनुहुनेछ।” (१ कोरिन्थी १०:१३) विभिन्‍न समस्या अनि दुःखकष्ट सहन यहोवाले तपाईंलाई “असाधारण शक्‍ति” दिनुहुन्छ। (२ कोरिन्थी ४:७) थुप्रै समस्या अनि कष्ट सहेपछि पावलले यसो भने: “जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।”—फिलिप्पी ४:१३.

परमेश्‍वरलाई मन पर्ने गुणहरू विकास गर्नुहोस्‌

२०. तपाईंले परमेश्‍वरलाई मन पर्ने कस्ता गुणहरू विकास गर्नुपर्छ र यी किन महत्त्वपूर्ण छन्‌?

२० यहोवालाई खुसी बनाउन उहाँले घृणा गर्ने कुराहरू तिरस्कार गरेर मात्र पुग्दैन। उहाँले प्रेम गर्नुहुने कुरालाई पनि प्रेम गर्नुपर्छ। (रोमी १२:९) आफ्नो जस्तै सोचाइ, रुचि र मूल्यमान्यता भएका मानिसहरूसित के तपाईं घनिष्ठ हुन मन पराउनुहुन्‍न र? यहोवा पनि त्यस्तै मन पराउनुहुन्छ। त्यसैले यहोवाले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्न सिक्नुहोस्‌। तीमध्ये केही भजन १५:१-५ मा वर्णन गरिएको छ। ती पदहरूमा परमेश्‍वरले कस्ता व्यक्‍तिलाई आफ्नो मित्र ठान्‍नुहुन्छ भनेर बताइएको छ। यहोवाका मित्रहरूले पवित्र शक्‍तिको मदत पाएर आफ्नो जीवनमा असल गुणहरू विकास गर्छन्‌। जस्तै: “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वास, नम्रता, आत्मसंयम।”—गलाती ५:२२, २३.

२१. यहोवालाई मन पर्ने गुणहरू विकास गर्न केले मदत गर्नेछ?

२१ यहोवालाई मन पर्ने गुणहरू विकास गर्न नियमित रूपमा बाइबल पढ्‌नुका साथै अध्ययन गर्नुपर्छ। परमेश्‍वर हामीबाट के चाहनुहुन्छ भनेर सिकेपछि तपाईंले आफ्नो सोचाइलाई उहाँको जस्तै बनाउन सक्नुहुनेछ। (यशैया ३०:२०, २१) तपाईंले यहोवालाई जति धेरै माया गर्नुहुन्छ, उहाँलाई मन पर्ने तरिकामा जीवन बिताउने इच्छा पनि त्यति नै बढ्‌दै जानेछ।

२२. परमेश्‍वरलाई मन पर्ने तरिकामा जीवन बिताउँदा के हुनेछ?

२२ यहोवालाई मन पर्ने तरिकामा जीवन बिताउन हामीले धेरै कोसिस गर्नुपर्छ। हामीले पुरानो व्यक्‍तित्वलाई फुकालेर अनि नयाँ व्यक्‍तित्व धारण गरेर आफ्नो जीवन परिवर्तन गर्नुपर्छ। (कलस्सी ३:९, १०) त्यसो गर्नु सजिलो त छैन तर यहोवाको ‘आज्ञा पालन गरेमा ठूलो इनाम पाउनेछौं’ भनेर बाइबल प्रोत्साहन दिन्छ। (भजन १९:११) त्यसैले परमेश्‍वरलाई मन पर्ने तरिकामा जीवन बिताउनुहोस्‌। त्यसो गर्नुभयो भने तपाईंले धेरै आशिष्‌ पाउनुहुनेछ। साथै सैतानलाई त्यसको चुनौतीको जवाफ फर्काउनुहुनेछ अनि यहोवालाई आनन्दित तुल्याउनुहुनेछ!

यहोवाले घृणा गर्नुहुने कुराहरू त्याग्नुहोस्‌

मानिसहरू चोर्ने, अपराध गर्ने, हिंस्रक व्यवहार देखाउने, धेरै पिउने र अनैतिक जीवनशैली बिताउने गर्छन
  • हत्या।—प्रस्थान २०:१३; याकूब २:११.

  • अवैध यौनसम्बन्ध।—लेवी २०:१०, १३, १५, १६; रोमी १:२४, २६, २७, ३२; १ कोरिन्थी ६:९, १०.

  • तन्त्रमन्त्र।—व्यवस्था १८:९-१३; १ कोरिन्थी १०:२१, २२; गलाती ५:२०, २१.

  • मूर्तिपूजा।—१ कोरिन्थी १०:१४.

  • बेसरी पिउनु।—१ कोरिन्थी ५:११.

  • चोरी।—लेवी ६:२, ४; एफिसी ४:२८.

  • झूट बोल्नु।—हितोपदेश ६:१६, १९; कलस्सी ३:९; प्रकाश २२:१५.

  • लोभ।—१ कोरिन्थी ५:११.

  • हिंसा।—भजन ११:५, NRV; हितोपदेश २२:२४, २५; मलाकी २:१६; गलाती ५:२०, २१.

  • अनुचित बोली।—लेवी १९:१६; एफिसी ५:४; कलस्सी ३:८.

  • रगतको दुरुपयोग।—उत्पत्ति ९:४; प्रेषित १५:२०, २८, २९.

  • परिवारको हेरविचार नगर्नु।—१ तिमोथी ५:८.

  • युद्ध वा राजनीतिमा भाग लिनु।—यशैया २:४; यूहन्‍ना ६:१५; १७:१६.

  • चुरोट अथवा लागूपदार्थ सेवन गर्नु।—मर्कूस १५:२३; २ कोरिन्थी ७:१.

a यसको अर्थ तपाईंको विरोध गर्नेहरूलाई सीधै सैतानले चलाइरहेको हुन्छ भन्‍ने होइन। तर सैतान यस युगको ईश्‍वर भएकोले सारा संसार त्यसको हातमा छ। (२ कोरिन्थी ४:४; १ यूहन्‍ना ५:१९) त्यसैकारण परमेश्‍वरलाई मन पर्ने तरिकामा जीवन बिताउँदा मानिसहरूले मन पराउनेछैनन्‌ र कसै-कसैले तपाईंको विरोध गर्नेछन्‌।

बाइबलले के सिकाउँछ?

  • परमेश्‍वरको आज्ञा पालन गरेर तपाईं उहाँको मित्र बन्‍न सक्नुहुन्छ।—याकूब २:२३.

  • सैतानले सबै मानिसको निष्ठामाथि शङ्‌का गरेको छ।—अय्यूब १:८, १०, ११; २:४; हितोपदेश २७:११.

  • परमेश्‍वरलाई मन नपर्ने कुरा हामीले त्याग्नै पर्छ।—१ कोरिन्थी ६:९, १०.

  • यहोवाले घृणा गर्नुहुने कुरालाई घृणा गरेर अनि उहाँले प्रेम गर्नुहुने कुरालाई प्रेम गरेर उहाँलाई खुसी पार्न सक्छौं।—रोमी १२:९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने