पुनरुत्थान—तपाईंलाई वास्तविक लाग्छ?
“पुनरुत्थान हुन्छ।”—प्रेरित २४:१५.
१. किन मृत्यु निश्चित देखिन्छ?
“यस संसारमा मृत्यु र करबाहेक कुनै कुरा निश्चित छैन।” यो कुरा अमेरिकी राजनीतिज्ञ बेन्जामिन फ्रांक्लिनले सन् १७८९ मा लेखेका हुन्। उक्त भनाइबाट कतिपय निकै प्रभावित भएका छन्। तर थुप्रै बेइमान मानिसहरू कर छल्छन्। तथापि मृत्यु भने निश्चित छ। हामी आफ्नै शक्तिमा भर परेर मृत्युबाट भाग्न सक्दैनौं, आखिर यो आइहाल्छ। यसलाई पन्छाएर पन्छाउन सकिंदैन। शिओल अर्थात् मानिसजातिको चिहानले हाम्रा प्रियजनहरूलाई निल्या-निल्यै गर्छ, यसको भोक मेटिंदै-मेटिंदैन। (हितोपदेश २७:२०, NW) तर एउटा सान्त्वनादायी आशालाई विचार गर्नुहोस्।
२, ३. (क) थुप्रैले सोचे जस्तो एक दिन मर्नै पर्छ भन्ने छैन, किन? (ख) यस लेखमा हामी कुन कुरा विचार गर्नेछौं?
२ यहोवाको वचनले पुनरुत्थानको निश्चित आशा दिन्छ। पुनरुत्थान भनेको फेरि जीवन पाउनु हो। यो सपना मात्र होइन। यो आशा साकार पार्न ब्रह्माण्डको कुनै पनि शक्तिले यहोवालाई रोक्न सक्दैन। तर थुप्रैले सोचेजस्तो एक दिन मर्नै पर्छ भन्ने छैन। केही मानिसहरू मर्नुपर्दैन। किन? किनभने गन्न नसकिने ‘ठूलो भीडका’ केहीले आउँदै गरेको “महा सङ्कष्ट” जिउँदै पार गर्नेछन्। (प्रकाश ७:९, १०, १४) त्यसपछि तिनीहरू अनन्त जीवनको प्रत्याशासहित सधैंभरि बाँच्न पाउनेछन्। त्यसैले, तिनीहरूले मृत्यु भोग्नै पर्छ भन्ने छैन। त्यसबाहेक, ‘मृत्यु नामेट हुन्छ’ भनी बाइबल भन्छ।—१ कोरिन्थी १५:२६.
३ पुनरुत्थानबारे हामी पनि प्रेरित पावल जत्तिकै निश्चित हुनुपर्छ। तिनले यसो भने: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।” (प्रेरित २४:१५) पुनरुत्थानबारे तीनवटा प्रश्न हामी विचार गरौं। पहिलो, कुन कुराले पुनरुत्थानको आशालाई यत्तिको निश्चित बनाउँछ? दोस्रो, यस आशाबाट तपाईं कसरी सान्त्वना पाउन सक्नुहुन्छ? तेस्रो, यस आशाले अहिलेको तपाईंको जीवनशैलीमा कस्तो असर पार्न सक्छ?
पुनरुत्थान निश्चित छ
४. यहोवाको उद्देश्यमा पुनरुत्थानले कसरी प्रमुख भूमिका खेल्छ?
४ पुनरुत्थानलाई निश्चित बनाउने थुप्रै कुराहरू छन्। मुख्यतया यहोवाको उद्देश्यमा पुनरुत्थानको प्रमुख भूमिका छ। स्मरण रहोस्, शैतानले मानिसजातिलाई पापमा धकेल्यो र तिनीहरूमाथि टार्न नसकिने नतिजा अर्थात् मृत्यु ल्यायो। त्यसैकारण, येशूले शैतानलाई यसो भन्नुभयो: “त्यो त शुरूदेखिनै हत्यारा थियो।” (यूहन्ना ८:४४) तर यहोवाले उहाँको पत्नी सरह स्वर्गीय संगठन अर्थात् ‘स्त्रीले’ एउटा “सन्तान” जन्माउने छ भनी प्रतिज्ञा गर्नुभयो जुन सन्तानले त्यो ‘वृद्ध साँपको’ शिर कुच्याउने थिए, मतलब शैतानको अस्तित्व नै मेटिदिने थिए। (उत्पत्ति ३:१-६, १५; प्रकाश १२:९, १०; २०:१०) यहोवाले मसीही सन्तान मुछिएको आफ्नो उद्देश्यलाई बिस्तारै प्रकाश पार्दै जानुहुँदा के स्पष्ट भयो भने उक्त सन्तानको काम शैतानलाई नाश गर्नु मात्र थिएन। परमेश्वरको वचन यसो भन्छ: “शैतानका कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभएको हो।” (१ यूहन्ना ३:८) आदमको पापले गर्दा हामीमाथि लादिएको मृत्युको बोझ शैतानका कामहरूमध्ये प्रमुख हो र यसलाई यहोवाले येशू मार्फत हटाउने उद्देश्य राख्नुहुन्छ। यसको लागि येशूको छुटकाराको बलिदान र पुनरुत्थान एकदमै महत्त्वपूर्ण छ।—प्रेरित २:२२-२४; रोमी ६:२३.
५. किन पुनरुत्थानले यहोवाको नाउँको महिमा गर्नेछ?
५ यहोवा आफ्नो पवित्र नाउँ महिमित पार्न दृढ हुनुहुन्छ। शैतानले परमेश्वरको नाउँको निन्दा गरेको छ र झूटलाई बढावा दिएको छ। परमेश्वरले नखानू भन्नुभएको फल खाएमा आदम र हव्वा ‘कदापि मर्नेछैनन्’ भनी त्यसले झूट बोल्यो। (उत्पत्ति २:१६, १७; ३:४) त्यस समयदेखि यता शैतानले त्यस्तै खालका विभिन्न झूटलाई मलजल हालेर फैलाउँदै आएको छ। जस्तै, मान्छे मरेपछि पनि उसको आत्मा बाँचिरहन्छ भन्ने झूटो शिक्षा फैलाएर। तर पुनरुत्थानद्वारा यहोवाले यस्ता सबै झूटको पर्दाफास गर्नुहुनेछ। उहाँ मात्र जीवनको संरक्षक र फेरि जीवन दिन सक्नुहुने परमेश्वर हुनुहुन्छ भनी उहाँले यस्तो सशक्त प्रमाण दिनुहुनेछ कि फेरि त्यसलाई कहिल्यै प्रमाणित गर्नुपर्ने छैन।
६, ७. मानिसहरूको पुनरुत्थान गर्नेबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ र हामी उहाँको त्यो मनोभाव कसरी थाह पाउँछौं?
६ यहोवा पुनरुत्थान गर्ने तीव्र इच्छा राख्नुहुन्छ। यस सन्दर्भमा यहोवाको मनोभाव बाइबलले स्पष्ट पार्छ। उदाहरणका लागि, विश्वासी व्यक्ति अय्यूबका यी प्रेरित शब्दहरूलाई विचार गरौं: “के मानिस मरेपछि ऊ फेरि जिउँछ? मेरो कठीन सेवा जतिसुकै लामो भए पनि मेरो नवीकरणको निम्ति म प्रतिक्षा गर्नेछु। तपाईंले मलाई बोलाउनुहुनेछ। म तपाईंको जवाफ दिनेछु। आफूले सृजनुभएको प्राणीलाई हेर्न तपाईंले इच्छा गर्नुहुनेछ।” (अय्यूब १४:१४, १५, NRV) यी शब्दहरूको अर्थ के हो?
७ मरेपछि मृत्युको चिर निद्रामा रहेर केही समय पर्खनुपर्नेछ भनी अय्यूबलाई थाह थियो। तिनले त्यस समयलाई आफ्नो छुटकारा नहोउन्जेल कुर्नुपर्ने ‘कठीन सेवाको’ रूपमा हेरे। तिनको लागि त्यो छुटकारा सपना मात्र नभई निश्चित थियो। मुक्ति पाइन्छ भन्ने कुरा अय्यूबले बुझेका थिए। किन? किनभने तिनलाई यहोवाको मनोभाव थाह थियो। यहोवाले आफ्ना ती विश्वासी सेवकलाई फेरि हेर्ने तीव्र “इच्छा गर्नुहुने” थियो। हो, परमेश्वर आफ्ना सबै धार्मिक व्यक्तिहरूलाई फेरि जीवन दिने इच्छा गर्नुहुन्छ। उहाँले अरूलाई पनि पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने मौका दिनुहुनेछ। (लूका २३:४३; यूहन्ना ५:२८, २९) यो उद्देश्य पूरा गर्ने इच्छा परमेश्वर स्वयम्को भएकोले उहाँलाई कसले पो रोक्न सक्छ र?
८. हाम्रो भावी आशा निश्चित छ भनी यहोवाले कसरी “विश्वास दिलाउनुभएको छ?”
८ येशूको पुनरुत्थानले हाम्रो भावी आशा निश्चित गर्छ। पावलले एथेन्समा भाषण दिंदा यस्तो घोषणा गरे: “[परमेश्वरले] एक दिन ठहराउनुभएको छ, जुन दिनमा उहाँ आफूले नियुक्त गर्नुभएको मानिसद्वारा धर्मपूर्वक संसारको इन्साफ गर्नुहुनेछ, जसको बारेमा उहाँलाई मरेकोबाट बिउँताएर सबै मानिसहरूलाई उहाँले विश्वास दिलाउनुभएको छ।” (प्रेरित १७:३१) पावलको कुरा सुनिरहेकाहरूमध्ये केहीले पुनरुत्थानबारे सुनेपछि खिसी गरे। तर, केही मानिसहरू भने विश्वासी भए। पुनरुत्थानको आशा निश्चित छ भन्ने कुराले सायद तिनीहरूलाई आकर्षित गऱ्यो। यहोवाले येशूको पुनरुत्थान गर्नुहुँदा सबैभन्दा ठूलो चमत्कार गर्नुभयो। उहाँले आफ्नो पुत्रलाई शक्तिशाली आत्मिक व्यक्तिको रूपमा मृत्युबाट ब्यूँताउनुभयो। (१ पत्रुस ३:१८) मानिस भएर पृथ्वीमा आउनुअघि येशू जुन ओहदामा हुनुहुन्थ्यो पुनरुत्थान हुनुभएपछि उहाँले त्योभन्दा पनि महान् ओहदा पाउनुभयो। अहिले येशू अमर व्यक्तिको रूपमा यहोवाभन्दा दोस्रो स्थानमा रहेर पिताले अह्राउनुभएका अद्भुत कामहरू गर्ने अवस्थामा हुनुहुन्छ। स्वर्गीय जीवनको लागि होस् वा पार्थिव प्रमोदवनमा, यहोवाले यी पुनरुत्थान येशू मार्फत नै गराउनुहुन्छ। येशू आफैले यसो भन्नुभयो: “पुनरुत्थान र जीवन मै हुँ।” (यूहन्ना ५:२५; ११:२५) यहोवाले आफ्नो पुत्रको पुनरुत्थान गर्नुभएर यो आशा निश्चित छ भनी सबै विश्वासी जनहरूलाई विश्वास दिलाउनुभयो।
९. पुनरुत्थान वास्तविकता हो भनेर बाइबल विवरणले कसरी प्रमाणित गर्छ?
९ मानिसहरूले पुनरुत्थान भएको देखेका छन् र त्यो कुरा परमेश्वरको वचनमा रेकर्ड गरिएको छ। मरिसकेकाहरूलाई फेरि मानिसकै रूपमा पुनरुत्थान गरिएका आठ वटा घटनाको विस्तृत विवरण बाइबलमा छ। ती चमत्कारी पुनरुत्थानहरू गुपचुपमा गरिएको थिएन तर सबैले देख्नेगरि गरिएको थियो। येशूले मरेको चार दिन भइसकेका लाजरसलाई शोकाकुल भीडको अघि पुनरुत्थान गर्नुभएको थियो। निश्चय नै त्यस भीडमा लाजरसको परिवार, साथीहरू र छिमेकीहरू थिए। त्यो घटना, येशूलाई परमेश्वरले नै पठाउनुभएको हो भन्ने कुराको यस्तो सशक्त प्रमाण थियो कि उहाँका शत्रुहरूले समेत त्यो घटनालाई कहिल्यै इन्कार गरेनन्। बरु, तिनीहरूले येशूलाई मात्र होइन तर लाजरसलाई समेत मार्ने षड्यन्त्र रचे! (यूहन्ना ११:१७-४४, ५३; १२:९-११) हो, पुनरुत्थान पक्कै हुन्छ भनेर हामी विश्वस्त हुन सक्छौं। हामीलाई सान्त्वना दिन र हाम्रो विश्वास बलियो बनाउन परमेश्वरले हामीलाई विगतमा भएका पुनरुत्थानको विवरण दिनुभएको हो।
पुनरुत्थानको आशामा सान्त्वना पाउने
१०. पुनरुत्थानसम्बन्धी बाइबलको विवरणबाट सान्त्वना पाउन हामीलाई केले मदत दिनेछ?
१० मृत्युको कारण के तपाईंलाई सान्त्वना चाहिएको छ? पुनरुत्थानसम्बन्धी बाइबलको विवरणले त्यस्तो सान्त्वना दिन सक्छ। ती घटनाहरू पढ्दा, मनन गर्दा अनि मनमा उतार्दा तपाईंलाई पुनरुत्थानको आशा अझ वास्तविक लाग्न सक्छ। (रोमी १५:४) ती घटना काल्पनिक कथा मात्र होइनन्। वास्तविक ठाउँमा र वास्तविक समयका तपाईं-हामी जस्ता वास्तविक मानिसहरूमाथि नै घटेका घटना हुन् ती। एउटा घटनालाई छोटकरीमा ध्यान देऔं। यो घटना बाइबलमा उल्लिखित पहिलो पुनरुत्थान हो।
११, १२. (क) सारपातको विधवामाथि कस्तो दुःख आइलाग्यो र सुरुमा उनले कस्तो प्रतिक्रिया देखाइन्? (ख) यहोवाले आफ्ना अगमवक्ता एलियालाई विधवाको लागि के गर्ने शक्ति दिनुभयो?
११ यो दृश्य कल्पना गर्नुहोस्। केही हप्तादेखि अगमवक्ता एलिया सारपातको विधवाकहाँ पाहुना भएर बसिरहेका छन्। तिनी माथिल्लो तलाको कोठामा बस्छन्। यो एकदमै दुःखको समय छ। यहाँ खडेरी परेर अनिकाल लागेको छ। थुप्रै मानिस मरिरहेका छन्। ती नम्र विधवाले देखाएको विश्वासको इनामस्वरूप यहोवाले लामो समय अवधिभरि चमत्कारी कार्य गर्न एलियालाई चलाइसक्नुभएको छ। ती विधवा र तिनको जवान छोरोसँग भएको सबै खानेकुरा सिद्धिन लागेको थियो। तिनीहरूसित एक छाक पुग्ने मात्र बाँकी थियो। त्यतिबेला एलियाले परमेश्वरको शक्तिद्वारा चमत्कारी ढंगमा पीठो र तेल तिनीहरूलाई जुटाइ दिइरहे। तर यतिबेला विधवामाथि एउटा दुःखद घडी आइपर्छ। उनको छोरा अकस्मात् बिरामी परेर मर्छ। विधवा अत्यन्तै दुःखित हुन्छिन्! पतिविनाको जीवन त्यतिकै पनि गाह्रो भइरहेको थियो, झन् अहिले त भएको एउटै छोरो पनि मऱ्यो। दुःखको मारमा उनले एलिया र तिनका परमेश्वर यहोवालाई समेत दोष लगाउँछिन्! ती अगमवक्ताले अब के गर्नेछन्?
१२ झूटो आरोप लगाएकोमा एलियाले विधवालाई हप्काउँदैनन्। बरु तिनी यसो भन्छन्: ‘तिम्रो छोरा मलाई देऊ।’ मरेको केटोलाई बोकेर एलिया आफू बस्ने कोठामा जान्छन् र त्यसलाई जिउँदो बनाइदिनुहोस् भनी परमेश्वरलाई खुरन्धार प्रार्थना गर्छन्। आखिर, यहोवाले प्रार्थना सुन्नुहुन्छ! त्यो केटाले बिस्तारै छाती फुलाएको देख्दा एलिया कत्ति खुसी भए होलान्, कल्पना गर्नुहोस् त। केटाले आँखा उघार्छ र तिनको आँखामा ज्योति चम्कन्छ। एलियाले त्यो केटालाई तल त्यसकी आमाकहाँ लिएर आउँछन् र यसो भन्छन्: “हेर त, तिम्रो छोरो जीवित भयो।” विधवाको खुसीको सीमै रहँदैन। उनी यसो भन्छिन्: “अब मलाई यो निश्चय थाह भयो कि तपाईं परमेश्वरका जन हुनुहुँदोरहेछ, औ तपाईंको मुखबाट निस्केका परमप्रभुको वचन सत्य रहेछ।” (१ राजा १७:८-२४) यहोवा र उहाँका अगमवक्ता एलियाप्रतिको उनको विश्वास झन् बलियो हुन्छ।
१३. एलियाले विधवाको छोरोलाई जीवित पारेको विवरणबाट आज तपाईंले किन सान्त्वना पाउनुहुन्छ?
१३ यस्तो विवरणलाई मनन गर्दा तपाईंले अवश्यै ठूलो सान्त्वना पाउनुहुन्छ। यहोवाले हाम्रो शत्रु मृत्युलाई जित्न सक्नुहुन्छ भन्ने कुरा स्पष्ट छ। मरेकाहरूको पुनरुत्थान हुँदा अरू हजारौं मानिसहरूले पनि ती विधवाले जस्तै रमाहट गरेको दृश्य कल्पना गर्नुहोस्! संसारभरि पुनरुत्थान गराउन यहोवाले आफ्ना पुत्रलाई निर्देशन दिनुहुँदा स्वर्गमा पनि ठूलो रमाहट हुनेछ। (यूहन्ना ५:२८, २९) के तपाईंको कोही प्रियजन मरेका छन्? यहोवाले मरेकालाई जीवन दिन सक्नुहुन्छ र दिनु पनि हुनेछ भनेर जान्न पाउनु कत्ति हर्षको कुरा!
तपाईंको आशा र तपाईंको अहिलेको जीवन
१४. पुनरुत्थानको आशाले तपाईंको जीवनलाई कसरी असर गर्न सक्छ?
१४ पुनरुत्थानको आशाले तपाईंको अहिलेको जीवनशैलीलाई कसरी असर गर्न सक्छ? कठिनाइ, चुनौती, सतावट र खतराको सामना गर्नुहुँदा तपाईंले यो आशाबाट बल पाउन सक्नुहुन्छ। परमेश्वरप्रतिको निष्ठा कायम राख्नुको सट्टा सुरक्षाको ग्यारेन्टी दिन्छु भनी टोपल्नेहरूको खोक्रो प्रतिज्ञामा भर पर्ने हदसम्म पुग्नेगरि तपाईं मृत्युदेखि थर्कमान होस् भन्ने शैतान चाहन्छ। शैतानले यहोवालाई के भन्यो नबिर्सनुहोस्: ‘आफ्नो ज्यान बचाउन मानिसले भएको सबै कुरा दिन्छ।’ (अय्यूब २:४) यस्तो कुरा गरेर शैतानले हामी सबैको निन्दा गऱ्यो। खतराको मुखमा पर्दा तपाईंले परमेश्वरको उपासना गर्न छाड्नुहुनेछ भन्ने कुरा के साँचो हो र? पुनरुत्थानको आशालाई गौर गर्दै तपाईं स्वर्गमा बस्नुहुने पिताको इच्छा गरिरहन दृढ संकल्प गर्न सक्नुहुन्छ।
१५. खतराको सामना गर्नुपर्दा मत्ती १०:२८ मा लेखिएका येशूका शब्दहरूबाट हामी कसरी सान्त्वना पाउन सक्छौं?
१५ येशूले यसो भन्नुभयो: “शरीर मार्ने तर आत्मालाई चाहिं घात गर्न नसक्नेहरूसँग नडराओ। तर आत्मा र शरीर दुवैलाई नरकमा [“गेहेन्ना,” NW] नाश गर्नसक्नेसँग बरु डराओ।” (मत्ती १०:२८) शैतान र त्यसले चलाउने मानिसहरूदेखि तपाईं डराउनु पर्दैन। हो, कसै-कसैसित तपाईंलाई हानि पुऱ्याउने वा मार्न समेत सक्ने शक्ति होला। तर तिनीहरूले हामीलाई हदैसम्म हानि पुऱ्याउन सक्ने भनेको मृत्यु हो र यो पनि क्षणिक समयको लागि मात्र। आफ्ना विश्वासी सेवकहरूमाथि आइपरेको कुनै पनि हानि-नोक्सानी यहोवाले हटाउन सक्नुहुन्छ र हटाउनु पनि हुनेछ। यसको लागि उहाँले तिनीहरूको पुनरुत्थान समेत गर्नुहुनेछ। हाम्रो डर, आदर र श्रद्धाको योग्य यहोवा मात्र हुनुहुन्छ। शरीर र प्राणलाई गेहेन्नामा पठाएर अर्थात् मृत्युद्वारा नष्ट गरेर हाम्रो जीवन र भावी आशाहरू खोस्नसक्ने शक्ति उहाँमा मात्र छ। खुसीको कुरा, तपाईंको भविष्य यस्तो होस् भन्ने यहोवा चाहनुहुन्न। (२ पत्रुस ३:९) पुनरुत्थानको आशाले गर्दा हामी यहोवाका सेवकहरू सुरक्षित छौं भनेर सधैं निश्चित हुन सक्छौं। विश्वासी रहुन्जेल अनन्त जीवन हाम्रै अघि छ र शैतान वा त्यसका चम्चाहरूले केही पनि बिगार गर्न सक्दैनन्।—भजन ११८:६; हिब्रू १३:६.
१६. पुनरुत्थानप्रतिको हाम्रो मनोवृत्तिले हामीले तय गर्ने प्राथमिकताहरूलाई कसरी असर गर्छ?
१६ यदि हामीलाई पुनरुत्थानको आशा वास्तविक लाग्छ भने जीवनप्रतिको हाम्रो मनोवृत्ति फेरिन सक्छ। ‘बाँचे पनि, मरे पनि यहोवाकै निम्ति हो’ भन्ने कुरा हामीले बुझेका छौं। (रोमी १४:७, ८) त्यसैले, प्राथमिकताहरू तय गर्दा हामी पावलको यो सल्लाह लागू गर्छौं: “यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्त्तनले तिमीहरू बदलियौ। औ परमेश्वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” (रोमी १२:२) आज थुप्रै मानिसहरू आफ्नो हर इच्छा र चाहना तृप्त पार्न अनि हर लक्ष्य प्राप्त गर्न आतुर छन्। तिनीहरूको दृष्टिमा जीवन छोटो छ, त्यसैले चाहिएको सुखविलास हासिल गर्न नसकिने पो हो कि भनेर तिनीहरू प्रायः निराश देखिन्छन्। अनि तिनीहरूले कुनै प्रकारको उपासना गरिहाले तापनि त्यो ‘परमेश्वरको सिद्ध इच्छासित’ अवश्यै मेल खाँदैन।
१७, १८. (क) मानिसको जीवन छोटो छ भनेर यहोवाको वचनले कसरी स्वीकार्छ तर परमेश्वर हाम्रो निम्ति के चाहनुहुन्छ? (ख) यहोवाको सधैं प्रशंसा गर्न हामी किन उत्प्रेरित हुन्छौं?
१७ हो, जीवन छोटो छ। सम्भवतः ७०/८० वर्ष नकाटी “त्यो चाँडै बित्छ, र हामी उडिजान्छौं।” (भजन ९०:१०) मानिस आउँछ-जान्छ, हरियो घाँसजस्तो, छायाँजस्तो वा सास फेरेजस्तो। (भजन १०३:१५; १४४:३, ४) तथापि, हामी हुर्कोस्, केही बुद्धि र अनुभव बटुलोस् त्यसको केही वर्षपछि बूढो भएर वा बिरामी परेर मरोस् भन्ने उद्देश्य परमेश्वरले राख्नुभएको थिएन। यहोवाले मानिसजातिलाई सधैंभरि बाँच्ने इच्छासहित सृष्टि गर्नुभयो। बाइबल यसो भन्छ: “उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ।” (उपदेशक ३:११, NRV) हामीभित्र त्यस्तो इच्छा हालिदिने तर त्यो पूरा गर्न चाहिं असम्भव बनाइदिने, के परमेश्वर त्यस्तो निष्ठुर हुनुहुन्छ र? अहँ होइन, किनभने “परमेश्वर प्रेम हुनुहुन्छ।” (१ यूहन्ना ४:८) उहाँले मरिसकेकाहरूलाई पुनरुत्थान मार्फत अनन्त जीवन सम्भव बनाउनुहुन्छ।
१८ पुनरुत्थानको आशाले गर्दा हामी सुरक्षित भविष्य पाउन सक्छौं। आफ्नो बलबर्कतले भ्याएसम्म अहिले नै भएभरका कुरा हासिल गर्न आतुर गर्नु पर्दैन। बितेर जाने यो संसारको हामीले अति “उपभोग” गर्नुहुँदैन अर्थात् यसमा चुर्लुम्मै डुब्नु हुँदैन। (१ कोरिन्थी ७:२९-३१, NRV; १ यूहन्ना २:१७) साँचो आशा नभेटाएकाहरू जस्तो हामी होइनौं। हामीले त यो अद्भुत इनाम पाएका छौं: यदि हामी यहोवा परमेश्वरप्रति विश्वासी भइरह्यौं भने अनन्तसम्म उहाँको महिमा गर्न र जीवनको आनन्द उपभोग गर्न पाउनेछौं। त्यसैले, पुनरुत्थानको आशा निश्चित गरिदिनुहुने यहोवालाई सधैं प्रशंसा गर्ने निश्चय गरौं! (w 07 5/15)
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
• पुनरुत्थानको आशाबारे हामीले कस्तो महसुस गर्नुपर्छ?
• कुन कुराहरूले पुनरुत्थानको आशालाई निश्चित बनाउँछ?
• पुनरुत्थानको आशाबाट तपाईं कसरी सान्त्वना पाउन सक्नुहुन्छ?
• पुनरुत्थानको आशाले तपाईंको जीवन शैलीमा कस्तो असर गर्न सक्छ?