प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १०/१५ pp. १३-१८
  • यहोवा तपाईंको फिक्री गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा तपाईंको फिक्री गर्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हामीलाई मदत गर्न खोज्नुहुन्छ
  • यहोवाले आफ्ना जनलाई आफूतिर खिच्नुहुन्छ
  • यहोवालाई खोज्नुको खाँचो
  • यहोवा हाम्रोलागि वास्तविक हुनुपर्छ
  • यहोवाले गर्नुहुने फिक्रीप्रति के तपाईं सजग हुनुहुन्छ?
  • यहोवाको खोजी गरिरहनुहोस्‌
  • परमेश्‍वरलाई मन पर्ने तरिकामा जीवन बिताउनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • तपाईँ कसरी परमेश्‍वरको मित्र बन्‍न सक्नुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • तपाईं एउटा विवादमा सामेल हुनु भएको छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • अय्यूबले यहोवाको नाउँ उच्च पारे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १०/१५ pp. १३-१८

यहोवा तपाईंको फिक्री गर्नुहुन्छ

“तिमीहरूका सारा फिक्री [परमेश्‍वरमाथि] राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।”—१ पत्रुस ५:७.

१. कुन महत्त्वपूर्ण पक्षमा यहोवा र शैतान ठीक विपरीत छन्‌?

यहोवा र शैतान एकअर्काका ठीक विपरीत हुन्‌। यहोवातर्फ खिचिएको महसुस गर्ने व्यक्‍तिलाई शैतानले खेदो मात्र गर्नेछ। यो भिन्‍नता एउटा भरपर्दो शब्दकोशमा औंल्याइएको छ। शैतानको गतिविधिको सन्दर्भमा बाइबलको अय्यूबको पुस्तकमा औंल्याएझैं इन्साइक्लोपीडिया ब्रिटानिका (१९७०) यसो भन्छ: ‘शैतानको काम संसारमा खराब काम वा खराब मान्छे खोज्दै हिंड्‌नु हो; त्यसैकारण त्यसको काम “परमेश्‍वरको दृष्टि” भन्दा ठीक विपरीत छ, उहाँले पृथ्वीका असल कुराहरूलाई अझ सुदृढ पार्न खोज्नुहुन्छ। (२ इति. १६, ९) शैतान मानिसहरूले गर्ने निःस्वार्थ भलाइलाई असाध्यै शंकालु दृष्टिकोणले हेर्छ र परमेश्‍वरले तोक्नुभएको सीमाभित्र परीक्षामा पार्न खोज्छ।’ कस्तो भिन्‍नता!—अय्यूब १:६-१२; २:१-७.

२, ३. (क) “दियाबल” शब्दको खास अर्थ अय्यूबलाई भएको घटनाबाट कसरी स्पष्ट हुन्छ? (ख) शैतानले आज पनि यहोवाका जनहरूलाई दोष लगाउन छोडेको छैन भनेर बाइबलले कसरी देखाउँछ?

२ “दियाबल” भनी अनुवाद गरिएको युनानी शब्दको अर्थ “झूटो आरोपी” “विरोधी” हो। अय्यूबको पुस्तकमा प्रकाश पारिएअनुसार शैतानले यहोवाको विश्‍वासी सेवक अय्यूबले आफ्नै स्वार्थपूर्तिको लागि मात्र सेवा गरेको हो भन्‍ने आरोप लगाउँदै यसो भन्यो: “परमेश्‍वरको डर राख्ने के अय्यूबको खास कारण छैन?” (अय्यूब १:९) अय्यूबको पुस्तकमा दिइएको विवरणअनुसार अय्यूब आफ्ना परीक्षा र सतावटहरूको बावजूद यहोवासँग झन्‌ नजिक भए। (अय्यूब १०:९, १२; १२:९, १०; १९:२५; २७:५; २८:२८) आफ्नो कडा परीक्षापछि तिनले परमेश्‍वरलाई यसो भने: “त्यस बेला ता सुनेको कुराले मात्रै मैले तपाईंलाई चिन्दथिएँ। तर अब ता म तपाईंलाई आफ्नै आँखाले देख्तछु।”—अय्यूब ४२:५.

३ के शैतानले अय्यूबको समयदेखि परमेश्‍वरका विश्‍वासी सेवकहरूमाथि आरोप लगाउन छोडेको छ? छैन। शैतानले यस जगत्‌को अन्तको समयमा ख्रीष्टका अभिषिक्‍त भाइहरू तथा तिनीहरूका विश्‍वासी सँगीहरूमाथि दोष लगाउन छोडेको छैन भनेर प्रकाशको पुस्तकले देखाउँछ। (२ तिमोथी ३:१२; प्रकाश १२:१०, १७) तसर्थ, साँचो मसीहीहरूको हैसियतमा सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो फिक्री गर्नुहुने परमेश्‍वर, यहोवाको अधीनमा रहेर गहिरो प्रेमसहित उहाँको उपासना र शैतानको आरोप झूटा साबित गर्नु हो। त्यसो गर्दा हामीले यहोवाको हृदयलाई आनन्दित तुल्याउँछौं।—हितोपदेश २७:११.

यहोवा हामीलाई मदत गर्न खोज्नुहुन्छ

४, ५. (क) शैतानले जस्तो नभई यहोवाले पृथ्वीमा नजर लाउनुको कारण के हो? (ख) यहोवाको अनुग्रह पाउन हामीले के गर्नुपर्छ?

४ दियाबल कसलाई भेट्टाएर आरोप लगाउँ र निलिहालूँ भनी पृथ्वीमा घुमफिर गर्दै हिंड्‌छ। (अय्यूब १:७, ९; १ पत्रुस ५:८) त्यसको विपरीत यहोवा उहाँको बलको आवश्‍यकता भएकाहरूको खोजी गर्नुहुन्छ। अगमवक्‍ता हनानीले राजा आसालाई यसो भने: “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।” (२ इतिहास १६:९) शैतानको दुष्ट नजर र यहोवाको मायालु हेरचाहबीच कस्तो भिन्‍नता!

५ हाम्रो हरेक कमजोरी र गल्ती भेट्टाउन यहोवाले हामीमाथि चियो गर्नुहुन्‍न। भजनहारले यस्तो लेखे: “हे परमप्रभु, तपाईंले अधर्मको लेखा दिनुभयो भनेता हे परमप्रभु, को खड़ा हुनुसक्छ र?” (भजन १३०:३) यसको जवाफ हो: कोही पनि खडा हुन सक्दैन। (उपदेशक ७:२०) पूर्ण हृदयले यहोवासँग नजिक भयौं भने उहाँको नजर हामीमाथि हुनेछ र त्यो, हाम्रो निन्दा गर्न होइन तर हाम्रा प्रयासहरू याद गर्न र मदत तथा माफीको लागि हाम्रो प्रार्थनाको जवाफ दिनुहुनेछ। प्रेरित पत्रुसले यस्तो लेखे: “प्रभुको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका अन्तरबिन्तीतिर खुला हुन्छ, तर परमप्रभुको मुख खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।”—१ पत्रुस ३:१२.

६. दाऊदको घटना हाम्रोलागि कसरी सान्त्वना र चेताउनी दुवै हो?

६ दाऊद असिद्ध थिए र गम्भीर पाप गरे। (२ शमूएल १२:७-९) तर तिनले आफ्ना सबै वेदना यहोवालाई पोखे र व्यग्र प्रार्थना गरेर उहाँसँग नजिक भए। (भजन ५१:१-१२ मूल विषयबारे थप टिप्पणी) दाऊदले आफ्नो पापको कारण नराम्रो नतिजा भोग्नुपरे तापनि यहोवाले तिनको प्रार्थना सुन्‍नुभयो र माफी दिनुभयो। (२ शमूएल १२:१०-१४) यो हाम्रोलागि सान्त्वना र चेताउनी दुवै हुनुपर्छ। हामीले साँचो पश्‍चात्ताप गऱ्‍यौं भने यहोवा हामीलाई माफी दिन इच्छुक हुनुहुन्छ भनी थाह पाउनु सान्त्वनादायी छ तर पापको कारण गम्भीर नतिजाहरू भोग्नुपर्छ भन्‍ने कुरा पनि गहन छ। (गलाती ६:७-९) हामी यहोवासँग नजिक हुन चाहन्छौं भने हामी उहाँलाई अप्रसन्‍न तुल्याउने कुराहरूदेखि सकेसम्म अलग रहनुपर्छ।—भजन ९७:१०.

यहोवाले आफ्ना जनलाई आफूतिर खिच्नुहुन्छ

७. यहोवाले कस्ता प्रकारका मानिसहरू खोज्नुहुन्छ र उहाँले तिनीहरूलाई कसरी आफूतिर खिच्नुहुन्छ?

७ दाऊदले आफ्नो एउटा भजनमा यस्तो लेखे: “परमप्रभु उच्च हुनुभए, तापनि उहाँले नम्रहरूलाई कदर गर्नुहुन्छ। तर घमण्डीहरूलाई उहाँले टाढैबाट चिन्‍नुहुन्छ।” (भजन १३८:६) त्यस्तै गरी अर्का एक जना भजनहारले यस्तो लेखे: “हाम्रा परमेश्‍वर परमप्रभुजस्तो को छ? उहाँ ता उच्च स्थानमा विराजमान हुनुभएको छ। औ आकाश र पृथ्वीका कुराहरूमा नजर गर्नालाई निहुरिनुहुन्छ कङ्‌गालीहरूलाई धूलोबाट उहाँलेनै उठाउनुहुन्छ, र दरिद्रहरूलाई घुऱ्‍यानबाट उचाल्नुहुन्छ।” (भजन ११३:५-७) हो, ब्रह्‍माण्डका सर्वोच्च सृष्टिकर्ताले पृथ्वीका कुराहरूलाई नजर गर्न निहुरिनुहुन्छ र उहाँले “सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने” “नम्र” र “दरिद्र” मानिसहरू देख्नुहुन्छ। (इजकिएल ९:४) उहाँले त्यस्ताहरूलाई आफ्नो पुत्रमार्फत आफूतिर खिच्नुहुन्छ। पृथ्वीमा हुनुहुँदा येशूले यस्तो भन्‍नुभयो: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्‍तैन, औ म त्यसलाई पछिल्लो दिनमा बिउँताउनेछु। . . . यदि पिताबाट दिइएको छैन भने कोही मानिस मकहाँ आउनसक्‍तैन।”—यूहन्‍ना ६:४४, ६५.

८, ९. (क) हामी सबै किन येशूकहाँ आउनुपर्छ? (ख) छुडौतीको बलिदानबारे कुन कुरा उल्लेखनीय छ?

८ सबै मानवहरू येशूकहाँ आउनुपर्छ र उहाँको छुडौतीको बलिदानमाथि विश्‍वास राख्नुपर्छ किनभने तिनीहरू जन्मजात पापी हुन्‌ र परमेश्‍वरबाट अलग्गिएका छन्‌। (यूहन्‍ना ३:३६) तिनीहरूले परमेश्‍वरसँग पुनः मिलाप गर्नुपर्छ। (२ कोरिन्थी ५:२०) उहाँसँग मिलाप गर्न पापीहरूले उहाँलाई केही प्रबन्ध गर्न बिन्ती गरोस्‌ भनेर उहाँ पर्खेर बसिरहनुभएन। प्रेरित पावलले यस्तो लेखे: “परमेश्‍वरले हामीतर्फको उहाँको आफ्नो प्रेम उहाँमा यसैमा प्रमाणित गर्नुहुन्छ, कि हामी पापी छँदै, ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। किनकि यदि हामी शत्रु छँदै, उहाँको पुत्रको मृत्युद्वारा हामीले परमेश्‍वरसित मिलाप पायौं भने, त झन्‌ बढतागरी मिलाप पाएका भएर हामीले उहाँको जीवनबाट उद्धार पाउनेछौं।”—रोमी ५:८, १०.

९ परमेश्‍वरले मानिसहरूसँग पुनः मिलाप गर्दै हुनुहुन्छ भन्‍ने अनमोल सत्यबारे प्रेरित यूहन्‍नाले यस्तो लेखे: “यसैमा परमेश्‍वरको प्रेम हामीमा प्रकट भएको छ, कि हामी उहाँद्वारा जिऔं भन्‍ने हेतुले परमेश्‍वरले आफ्ना एकले पुत्रलाई यस संसारमा पठाउनुभयो। प्रेम यसैमा छ, हामीले परमेश्‍वरलाई प्रेम गरेका हौइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्‍चित हुनालाई उहाँका पुत्रलाई पठाउनुभयो।” (१ यूहन्‍ना ४:९, १०) यस्तो अग्रसरता मानिसले होइन परमेश्‍वरले देखाउनुभएको थियो। के तपाईं हामी “पापी” मात्र नभई “शत्रु[हरूलाई]” प्रेम देखाउनुहुने परमेश्‍वरतर्फ आकर्षित हुनुहुन्‍न र?—यूहन्‍ना ३:१६.

यहोवालाई खोज्नुको खाँचो

१०, ११. (क) यहोवाको खोजी गर्न हामीले के गर्नुपर्छ? (ख) हामीले शैतानको दृष्ट रीतिरिवाजप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

१० निस्सन्देह, यहोवाले हामीलाई उहाँतर्फ आउन जबरजस्ती गर्नुहुन्‍न। हामीले उहाँको खोजी गर्नुपर्छ, “सायद छामेर भेट्टाऊन्‌ भनेर उहाँ हामी हरेकबाट टाढा हुनुहुन्‍न।” (प्रेरित १७:२७) हामीबाट अधीनताको माग गर्नु यहोवाको अधिकार हो भनी हामीले स्वीकार्नुपर्छ। चेला याकूबले यस्तो लेखे: “परमेश्‍वरको अधीनमा बस, शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ। परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ। हे पापी हो, तिमीहरूको हात शुद्ध पार, र हे दोमनका हो, तिमीहरूको हृदय पवित्र पार।” (याकूब ४:७, ८) हामीले दियाबलको विरुद्ध र यहोवाको पक्षमा दृढ अडान लिन हिचकिचाउनु हुँदैन।

११ यसको अर्थ आफूलाई शैतानको दुष्ट रीतिरिवाजबाट अलग राख्नु हो। याकूबले यस्तो पनि लेखे: “संसारसँगको मित्रता परमेश्‍वरसँगको दुश्‍मनी हो भन्‍ने कुरा के तिमीहरूलाई थाह छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्‍वरको शत्रु बनाउँछ।” (याकूब ४:४) त्यसकारण यदि हामी यहोवाको मित्र हुन चाहन्छौं भने शैतानको संसारले हामीलाई घृणा गर्ने आशा गर्न सक्छौं।—यूहन्‍ना १५:१९; १ यूहन्‍ना ३:१३.

१२. (क) दाऊदले कस्ता सान्त्वनादायी शब्दहरू लेखे? (ख) अगमवक्‍ता अजर्याहमार्फत यहोवाले कस्तो चेताउनी दिनुभयो?

१२ शैतानको संसारले हामीलाई कुनै खास तरिकामा विरोध गर्छ भने हामीले मदतको लागि विशेष गरी यहोवालाई प्रार्थना गर्नुपर्छ। थुप्रै चोटि यहोवाले उद्धार गर्नुभएको महसुस गरेका दाऊदले हाम्रो सान्त्वनाको लागि यस्तो लेखे “उहाँमा पुकारा गर्ने सबैका नजीक परमप्रभु हुनुहुन्छ, उहाँलाई साँचोसित पुकार्ने सबैका नजीक। उहाँसित डराउनेहरूको इच्छा उहाँले पूरा गर्नुहुनेछ। उहाँले तिनीहरूको पुकारा पनि सुन्‍नुहुनेछ, र तिनीहरूलाई बचाउनुहुनेछ। उहाँलाई प्रेम गर्ने सबैलाई परमप्रभुले जोगाउनुहुन्छ। तर सबै दुष्टहरूलाई उहाँले नाश गर्नुहुनेछ।” (भजन १४५:१८-२०) यो भजनबाट हामीले के थाह पाउन सक्छौं भने, व्यक्‍तिगत रूपमा हाम्रो परीक्षा हुँदा पनि यहोवाले जोगाउन सक्नुहुन्छ र उहाँले “महा संकष्ट[को]” बेला सामूहिक तवरमा मानिसहरूलाई बचाउनुहुनेछ। (प्रकाश ७:१४) हामी यहोवासँग नजिक भयौं भने उहाँ पनि हामीसँग नजिक हुनुहुनेछ। “परमेश्‍वरका आत्मा[को]” डोऱ्‍याइ पाएर अगमवक्‍ता अजर्याहले सच्चाइलाई विस्तृत अर्थमा यसरी लिन सक्छौं भने, “तिमीहरू परमप्रभुसँग हुन्छौ तब उहाँ पनि तिमीहरूसँग हुनुहुनेछ। तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।”—२ इतिहास १५:१, २.

यहोवा हाम्रोलागि वास्तविक हुनुपर्छ

१३. यहोवा हाम्रोलागि वास्तविक हुनुहुन्छ भनी हामी कसरी देखाउन सक्छौं?

१३ प्रेरित पावलले मोशा “अदृश्‍यलाई देखेझैं गरी . . . स्थिर रहे” भनी बताए। (हिब्रू ११:२७) निस्सन्देह, मोशाले यहोवालाई देखेका थिएनन्‌। (प्रस्थान ३३:२०) तर तिनको लागि यहोवा अत्यन्तै वास्तविक हुनुभएको हुँदा उहाँलाई साँच्चै देखेसरह थियो। त्यस्तै गरी अय्यूबले परीक्षा सहेपछि आफ्नो विश्‍वासको आँखाले यहोवालाई अझ स्पष्टसँग देखे र परमेश्‍वरले आफ्ना विश्‍वासी जनहरूलाई दुःख भोग्न दिनुहुन्छ तर कहिल्यै त्याग्नुहुन्‍न भनी बुझे। (अय्यूब ४२:५) हनोक र नूह “परमेश्‍वरका साथसाथ हिड़थे” भनी लेखिएको छ। तिनीहरूले परमेश्‍वरलाई आनन्दित तुल्याउने र उहाँको आज्ञा पालन गर्ने प्रयास गरे। (उत्पत्ति ५:२२-२४; ६:९, २२; हिब्रू ११:५, ७) हनोक, नूह, अय्यूब र मोशालाई जस्तै हामीलाई यहोवा वास्तविक लाग्छ भने हामीले आफ्नो सबै चालमा ‘उहाँलाई सम्झनेछौं’ र उहाँले हाम्रा “बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”—हितोपदेश ३:५, ६.

१४. यहोवामा “लीन” हुनुको अर्थ के हो?

१४ इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघि मोशाले तिनीहरूलाई यस्तो सल्लाह दिए: “तिमीहरू चाहिं परमप्रभु आफ्ना परमेश्‍वरका मार्गमा हिंड़नू, उहाँको डर मान्‍नू, उहाँका आज्ञाहरू पालन गर्नू, उहाँका वचन मान्‍नू, उहाँको सेवा गर्नू औ उहाँमै लीन भइरहनू।” (व्यवस्था १३:४) तिनीहरू यहोवाको मार्गमा हिंड्‌नुपर्थ्यो, उहाँसँग डराउनुपर्थ्यो, आज्ञा पालन गर्नुपर्थ्यो र उहाँमै लीन हुनुपर्थ्यो। यहाँ “लीन” भनी अनुवाद गरिएको शब्दको अर्थको सन्दर्भमा एक जना बाइबल शास्त्रविद्‌ले बताएअनुसार “हिब्रू भाषामा यसले एकदम नजिक र घनिष्ठ भन्‍ने बुझाउँछ।” भजन रचयिताले यसो भने: “उहाँसँग डराउनेहरूसँगनै परमप्रभुको घनिष्ठता रहन्छ।” (भजन २५:१४) यहोवा हाम्रोलागि वास्तविक हुनुहुन्छ र उहाँप्रतिको प्रेमको कारण हामी उहाँलाई अप्रसन्‍न तुल्याउने काम गर्न डराउँछौं भने यस्तो अनमोल घनिष्ठ सम्बन्ध बनाउन सक्छौं।—भजन १९:९-१४.

यहोवाले गर्नुहुने फिक्रीप्रति के तपाईं सजग हुनुहुन्छ?

१५, १६. (क) यहोवाले तपाईंको फिक्री गर्नुहुन्छ भनेर भजन ३४ ले कसरी देखाउँछ? (ख) यहोवाले हामीतर्फ गर्नुभएको भलाइका कार्यहरू सम्झन गाह्रो भयो भने हामीले के गर्नुपर्छ?

१५ शैतानको एउटा धूर्त युक्‍ति हाम्रा परमेश्‍वर यहोवाले आफ्ना विश्‍वासी सेवकहरूको सधैं फिक्री गर्नुहुन्छ भनी बिर्सन लगाउने कोसिस गर्नु हो। इस्राएलका राजा दाऊद सबैभन्दा कठिन परिस्थितिमा पनि यहोवाले प्रदान गर्नुहुने सुरक्षाबारे सजग थिए। गातका राजा आकीशअगाडी बौलाहजस्तो हुन बाध्य हुँदा तिनले असाध्यै सुन्दर भजन रचे जसमा विश्‍वासका यस्ता अभिव्यक्‍तिहरू पनि छन्‌: “मसँगसँगै परमप्रभुको बढ़ाइ गर, र हामी मिलेर उहाँको नाउँ उच्च पारौं। मैले परमप्रभुको खोजी गरें, र उहाँले मलाई जवाफ दिनुभयो, र मलाई मेरा सबै डरहरूबाट छुटाउनुभयो। उहाँसित डराउनेको चारैतिर परमप्रभुका दूतले छाउनी बनाउँछन्‌, र तिनीहरूलाई छुटकारा दिन्छन्‌। पारख गरेर हेर, कि परमप्रभु कस्तो भलो हुनुहुन्छ, उहाँमा भरोसा गर्ने मानिस धन्यको हो। टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्‍चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ। धर्मात्मालाई धेरै दुःख ता हुन्छ, तर परमप्रभुले तिनलाई ती सबैबाट छुटाउनुहुन्छ।”—भजन ३४:३, ४, ७, ८, १८, १९; १ शमूएल २१:१०-१५.

१६ के तपाईं यहोवाको सुरक्षात्मक शक्‍तिबारे विश्‍वस्त हुनुहुन्छ? के तपाईं उहाँको स्वर्गदूतीय सुरक्षाबारे सजग हुनुहुन्छ? के तपाईंले व्यक्‍तिगत रूपमा यहोवा भलो हुनुहुन्छ भनी अनुभव गर्नुभएको छ? यहोवाले तपाईंलाई भलो गर्नुभएको पछिल्लो पटक अनुभव गर्नुभएको कहिले हो? सम्झने कोसिस गर्नुहोस्‌। तपाईं सेवकाईमा जानुहुँदा अब त सक्दिनँ होला जस्तो लागे तापनि जानुभएको अन्तिम घरमा पो थियो कि? सायद त्यहाँ धरधनीसँग तपाईंको असाध्यै राम्रो वार्तालाप भएको हुन सक्छ। तपाईंलाई चाहिएको थप बल र आशिष्‌ दिनुभएकोमा के तपाईंले यहोवालाई धन्यवाद दिनुभयो? (२ कोरिन्थी ४:७) अर्कोतर्फ यहोवाले तपाईंलाई भलो गर्नुभएको घटना सम्झन तपाईंलाई अलि गाह्रो हुन सक्छ। तपाईंले एक हप्ता, एक महिना, एक वर्ष वा त्योभन्दा अघिको कुरा सम्झने कोसिस गर्नुपर्छ होला। त्यसो हो भने, यहोवासँग घनिष्ठ हुन र उहाँले कसरी डोऱ्‍याउनुका साथै निर्देशित गर्नुहुन्छ भनी पत्ता लगाउने प्रयास गर्नुभए कसो होला? प्रेरित पत्रुसले मसीहीहरूलाई यस्तो सल्लाह दिए: “परमेश्‍वरका बलवान बाहुलीमनि तिमीहरूले आफैलाई नम्र तुल्याओ . . . तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।” (१ पत्रुस ५:६, ७) निस्सन्देह, उहाँले तपाईंको कत्तिको फिक्री गर्नुहुन्छ भनी थाह पाएर तपाईं छक्क पर्नुहुनेछ!—भजन ७३:२८.

यहोवाको खोजी गरिरहनुहोस्‌

१७. यहोवालाई खोजीरहने हो भने के गर्नु आवश्‍यक छ?

१७ यहोवासँगको सम्बन्ध कायम राख्न अनवरत प्रयास गरिरहनुपर्छ। येशूले पितालाई प्रार्थनामा यसो भन्‍नुभयो: “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूहन्‍ना १७:३) यहोवा र उहाँको पुत्रलाई चिन्‍ने ज्ञान लिन हामीले निरन्तर प्रयास गर्नुपर्छ। “परमेश्‍वरका गहीरा गहीरा कुराहरू” बुझ्न हामीलाई प्रार्थना र पवित्र आत्माको मदत चाहिन्छ। (१ कोरिन्थी २:१०; लूका ११:१३) “ठीक ठीक समयमा” प्रदान गरिने आध्यात्मिक भोजन लिन हामीलाई “विश्‍वासी र बुद्धिमान दास[को]” डोऱ्‍याइ चाहिन्छ। (मत्ती २४:४५) त्यस माध्यमद्वारा यहोवाले हामीलाई दिनहुँ उहाँको वचन पढ्‌ने, हाम्रा मसीही सभाहरू नियमित धाउने र “राज्यको . . . सुसमाचार[को]” प्रचारकार्यमा पूरा तनमनले भाग लिने सल्लाह दिनुभएको छ। (मत्ती २४:१४) त्यसो गरेर हामीले आफ्नो मायालु परमेश्‍वर यहोवाको खोजी गरिरहेका हुनेछौं।

१८, १९. (क) हामी के गर्न कटिबद्ध हुनुपर्छ? (ख) दियाबल विरुद्ध दृढ अडान लियौं र यहोवाको खोजी गरिरह्‍यौं भने हामीले कस्तो आशिष्‌ पाउनेछौं?

१८ शैतानले यहोवाका जनहरूमाथि सतावट, विरोध र दबाउ ल्याउन आफ्नो शक्‍तिले भ्याए जत्ति सबै गर्छ। त्यसले हाम्रो शान्ति भंग गर्ने र यहोवासँगको हाम्रो सम्बन्ध तोड्‌ने प्रयास गर्छ। निष्कपट हृदय भएका मानिसहरू खोज्ने हाम्रो काम भइरहोस्‌ र विश्‍वव्यापी सार्वभौमिकताको कुरामा यहोवाको पक्ष लेओस्‌ भन्‍ने त्यो चाहँदैन। तर हामी यहोवाप्रति वफादार हुन कटिबद्ध हुनुपर्छ र दुष्टहरूबाट छुटकारा पाउन उहाँमा भरोसा राख्नुपर्छ। परमेश्‍वरको वचनको डोऱ्‍याइ पछ्याउँदै उहाँको दृश्‍य संगठनमा सक्रिय भयौं भने उहाँले सधैं हाम्रो साथ दिनुहुनेछ भनेर निश्‍चिन्त हुन सक्छौं।—यशैया ४१:८-१३.

१९ त्यसकारण हामी सबैले दियाबल र त्यसका धूर्त युक्‍तिहरू विरुद्ध दृढ अडान लेऔं र त्यसका साथै हाम्रो मायालु परमेश्‍वर यहोवाको पनि खोजी गरौं जसले हामीलाई पक्कै ‘स्थिर र बलियो’ गराउनुहुनेछ। (१ पत्रुस ५:८-११) अतः हामी ‘अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशू ख्रीष्टको कृपाको आशा राखी, हामीले आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड्‌ने छौं।’—यहूदा २१.

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• दियाबल शब्दको अर्थ के हो र दियाबलको काम कसरी त्यसको नाउँअनुसार सुहाउँदो छ?

• पृथ्वीका बासिन्दाहरूलाई हेर्ने तरिकामा दियाबलभन्दा यहोवा कसरी फरक हुनुहुन्छ?

• यहोवासमक्ष पुग्न किन छुडौतीको बलिदानलाई स्वीकार्नुपर्छ?

• यहोवामा “लीन” हुनुको अर्थ के हो र हामी कसरी उहाँको खोजी गरिरहन सक्छौं?

[पृष्ठ १५-मा भएको चित्र]

परीक्षाहरूको बावजूद यहोवाले फिक्री गर्नुहुन्छ भनी अय्यूबले मूल्यांकन गरे

[पृष्ठ १६, १७-मा भएका चित्रहरू]

दिनहुँ बाइबल पढाइ, मसीही सभाहरूमा नियमित उपस्थिति र प्रचार कार्यमा जोसिलो सहभागिताले हामीलाई यहोवाले हाम्रो फिक्री गर्नुहुन्छ भन्‍ने सम्झना गराउँछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने