के वास्तवमा परमेश्वरले तपाईंलाई चिन्नुहुन्छ?
“हे परमप्रभु [यहोवा न्यु व०] तपाईंले . . . मेरो सबै चालचलनको भेद थाहा पाउनुहुन्छ।”—भजनसंग्रह १३९:१, ३.
१. ‘अरूहरूले त बुझ्दै बुझ्दैनन्,’ भन्ने भावना, हामीले सामना गर्नुपरिहेका चिन्ता, समस्या र दबाबहरू कत्तिको व्याप्त छन्?
तपाईंले भोग्नु परेका चिन्ता, दबाब र समस्याहरूलाई के कसैले साँच्चै नै बुझेको छ? संसारभरि लाखौं त्यस्ता जवान र वृद्धहरू छन् जसलाई मर्दापर्दा मदत दिने कोही परिवार अथवा नातेदारहरू छैनन्। परिवार भित्रै पनि कैयन् पत्नीहरू र पतिहरूले समेत आफूमाथि आइपरेको दबाबलाई आफ्नो पति वा पत्नीले वास्तवमा बुझेका छैनन् भनी महसुस गर्दछन्। बेला बेलामा निराश भएर तिनीहरू आवाज उठाउँछन्: “तर तिमीले बुझ्दै बुझ्दैनौ!” अधिकांश जवानहरू पनि तिनीहरूको कुरा कसैले बुझ्दैनन् भन्ने निष्कर्षमा पुगेका छन्। यद्यपि, अरूहरूले आफ्नो कुरा बुझोस् भनेर चाह गरेकाहरूमध्ये त्यस्ता केही व्यक्तिहरू छन् जसको जीवन पछि गएर अर्थपूर्ण भएको छ। त्यो कसरी सम्भव छ?
२. यहोवाका उपासकहरूलाई कुन कुराले सन्तुष्टकर जीवन प्राप्त गर्न मदत पुऱ्याउन सक्छ?
२ यो सम्भव छ किनभने तिनीहरूका सह-मानवहरूले पूर्णतया तिनीहरूका भावनाहरू बुझे या नबुझे तापनि तिनीहरूले भोग्नु परिरहेको कुरा परमेश्वरले बुझ्नुहुन्छ भनेर तिनीहरू ढुक्क छन्। साथै उहाँको सेवकहरू हुनाकारण ती समस्याहरू सामना गर्न तिनीहरू एक्लै छैनन् भनेर निर्धक्क छन्। (भजनसंग्रह ४६:१) यस बाहेक परमेश्वरको वचन र विवेकपूर्ण मसीही प्राचीनहरूको मदतद्वारा आफ्नै व्यक्तिगत समस्याहरूमा मात्र ध्यान केन्द्रित नगर्न मदत पाउँछन्। परमेश्वरको नजरमा तिनीहरूको विश्वासी सेवकाई मूल्यवान छ, येशू ख्रीष्टद्वारा गर्नुभएका प्रबन्धहरू र उहाँमाथि आशा गर्नेहरूका लागि एउटा उज्ज्वल भविष्य छ भनेर बुझ्न तिनीहरूलाई शास्त्रले मदत गर्दछ।—हितोपदेश २७:११; २ कोरिन्थी ४:१७, १८.
३, ४. (क) “यहोवा नै परमेश्वर हुनुहुन्छ” र उहाँले हामीलाई “बनाउनुभएको” हो भन्ने कुराहरूको मूल्याङ्कनले उहाँको सेवामा आनन्दित हुन कसरी मदत गर्दछ? (ख) यहोवाको मायालु हेरचाहमा हामी किन पूर्ण भरोसा राख्न सक्छौं?
३ भजनसंग्रह १००:२-मा उल्लिखित कुरासङ्ग तपाईं परिचितै हुनुहुन्छ होला। त्यहाँ भनिएको छ: “आनन्दसाथ परमप्रभुको सेवा गर, भजन गाएर उहाँको सामने आओ।” त्यस ढङ्गमा साँच्चै नै कति व्यक्तिहरूले उपासना चढाइरहेका छन्? त्यसो गर्नाको लागि राम्रा कारणहरू पद ३-मा दिइएको छ। त्यहाँ यस प्रकार याद दिलाइएको छ: “परमप्रभुनै [यहोवा न्यु व०] परमेश्वर हुनुहुन्छ भनी जान। उहाँलेनै हामीलाई बनाउनुभएको हो, र हामी उहाँकै हौं। हामी उहाँका प्रजा, र उहाँका खर्कका भेड़ाहरू हौं।” महिमा, प्रतिष्ठा र श्रेष्ठतामा उहाँको महानतालाई सङ्केत गर्दै हिब्रू शास्त्रमा उहाँलाई ’इलोहिम’ भनेर सम्बोधन गरिएको छ। उहाँ एकमात्र साँचो परमेश्वर हुनुहुन्छ। (व्यवस्था ४:३९; ७:९; यूहन्ना १७:३) उहाँका सेवकहरूले सिकाइएको आधारमा मात्र उहाँको ईश्वरत्वबारे जानेका होइनन् तर तिनीहरूले त्यसको अनुभव समेत गरेका छन्। यसको प्रमाण तिनीहरूको आज्ञाकारिता, भरोसा र भक्तिले दिन्छ।—१ इतिहास २८:९; रोमी १:२०.
४ यहोवा जीवित परमेश्वर हुनु भएको कारण उहाँले हाम्रो हृदयभित्र पनि देख्न सक्नुहुन्छ। उहाँको नजरमा केही कुरा पनि लुकेको हुँदैन। हाम्रो जीवनमा के भइरहेको छ सो उहाँलाई पूर्णतया थाहा छ। हामीले भोग्नु परेका समस्याहरूको कारण उहाँ बुझ्नुहुन्छ साथै ती समस्याहरूले गर्दा हुने मानसिक र भावनात्मक उत्पीडन पनि जान्नुहुन्छ। सृष्टिकर्त्ता हुनाकारण हामीले आफूलाई चिनेकोभन्दा पनि राम्ररी उहाँले हामीलाई चिन्नुहुन्छ। हामीले भोग्नु परिरहेको परिस्थितिको सामना गर्ने मदत दिन र चिरस्थायी समाधान कसरी दिने भनेर पनि उहाँ जान्नुहुन्छ। हामीले उहाँलाई पूर्ण हृदयले विश्वास गऱ्यौं भने एक जना गोठालोले भेडालाई आफ्नो काखमा बोकेझैं मायालु ढङ्गमा मदत पुऱ्याउनुहुनेछ। (हितोपदेश ३:५, ६; यशैया ४०:१०, ११) भजनसंग्रहको अध्याय १३९ अध्ययन गर्नाले त्यो भरोसालाई बढाउन निकै नै मदत पुऱ्याउन सक्छ।
हाम्रो सबै चालचलनको भेद थाहा पाउनु हुने
५. यहोवाले हामीलाई ‘जाँच्नुहुन्छ’ भन्नुको अर्थ के हो र हामीले त्यसको चाह किन गर्नुपर्छ?
५ गहिरो मूल्याङ्कनका साथ भजनरचयिता दाऊदले लेखे: “हे परमप्रभु, तपाईंले मलाई जाँचेर चिन्नुभएको छ।” (भजनसंग्रह १३९:१) यहोवालाई दाऊदबारे सतही ज्ञान मात्र थाहा थिएन भनेर दाऊद ढुक्क थिए। परमेश्वरले मानिसहरूलेझैं केवल दाऊदको शारीरिक बनावट, उसको बोल्ने योग्यता अथवा वीणा बजाउने निपुणता मात्र हेर्नुभएन। (१ शमूएल १६:७, १८) यहोवाले दाऊदको भित्री मनुष्यत्वलाई राम्ररी “जाँच्नु” भएको थियो र तिनकै आध्यात्मिक कुशलताको लागि मायालु चासोका साथ उहाँले त्यसो गर्नु भएको थियो। यदि तपाईं यहोवाको एक जना समर्पित सेवक हुनुहुन्छ भने दाऊदलाईझैं तपाईंलाई पनि उहाँले चिन्नुहुन्छ। के यसले तपाईंमा कृतज्ञता र श्रद्धा जगाउँदैन र?
६. हामीले गर्ने सबै कार्यहरू र हाम्रा विचारहरू समेत यहोवालाई थाहा छ भनेर भजनसंग्रह १३९:२, ३-ले कसरी देखाउँछ?
६ दाऊदका कुनै पनि क्रियाकलापहरू यहोवाको सामु लुक्न सकेनन् र यो कुरा दाऊदलाई थाहा थियो। भजनरचयिताले लेखे: “तपाईंले मेरो बसाइ र मेरो उठाइ जान्नुहुन्छ। तपाईंले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ। तपाईंले मेरो चाल र मेरो सुताइ ठीक ठीक गरेर जाँच गरेर चिन्नुहुन्छ, र मेरो सबै चालचलनको भेद थाहा पाउनुहुन्छ।” (भजनसंग्रह १३९:२, ३) यहोवा पृथ्वीभन्दा धेरै टाढा स्वर्गमा हुनु भए तापनि उहाँको सामु दाऊदको क्रियाकलाप र सोचाइ लुक्न सकेन। उहाँले दाऊदको क्रियाकलापहरूको स्वभाव थाहा पाउन दिनरात ‘जाँच्नुभयो’ अर्थात् ध्यानपूर्वक केलाउनुभयो।
७. (क) दाऊदको जीवनलाई आधार मानेर, हाम्रो जीवनमा घट्ने घटनाहरूबारे परमेश्वरलाई थाहा भएको कुराहरूमा टिप्पणी गर्नुहोस्। (ख) यसप्रति सजग हुनाले हामीमाथि कस्तो प्रभाव पार्नु पर्ने हो?
७ परमेश्वरप्रतिको प्रेम र तिनलाई बचाउन सक्नुहुन्छ भनेर उहाँको शक्तिमाथिको भरोसाले जवान दाऊद पलिश्तीहरूसित लड्न अघि सरे। त्यो यहोवालाई थाहा थियो। (१ शमूएल १७:३२-३७, ४५-४७) पछि गएर मानिसहरूको वैमनस्यताले गर्दा दाऊदको हृदयमा ठूलो चोट पुग्यो, दबाब यस्तो तीव्र थियो कि दाऊद रातभरि रोए। यस्तो अवस्थामा यहोवाले तिनको अन्तरबिन्ती सुन्नुहुन्छ भन्ने थाहा पाएर तिनले सान्त्वना पाए। (भजनसंग्रह ६:६, ९; ५५:२-५, २२) त्यस्तैगरि रातभर निद्रा नलागेको बेला कृतज्ञताले भरिपूर्ण हृदयले यहोवाको मनन गर्न दाऊद उत्प्रेरित हुँदा यहोवालाई राम्ररी थाहा थियो। (भजनसंग्रह ६३:६; फिलिप्पी ४:८, ९ तुलना गर्नुहोस्।) एकदिन साँझपख दाऊदले छिमेकीकी पत्नी नुहाउँदै गरेकी हेरिरहेको कुरा पनि यहोवालाई थाहा थियो र दाऊदले एकछिनको लागि मात्र भए पनि आफ्नो सोचाइमा पापी विचारहरू घुस्न दिएर परमेश्वरलाई बिर्संदा के भयो त्यो पनि देख्नुभयो। (२ शमूएल ११:२-४) पछि दाऊदले गरेको पापको गम्भीरता देखाउन नातान अगमवक्तालाई पठाउनुहुँदा यहोवाले दाऊदको मुखबाट प्रस्फुटन भएका शब्दहरू मात्र सुन्नुभएन तर पश्चातापी हृदयबाट आएको भावलाई पनि बुझ्नुभयो। (२ शमूएल १२:१-१४; भजनसंग्रह ५१:१, १७) यो कुराले हामी कहाँ जान्छौं, के गर्छौं र हाम्रो हृदयमा के छ भनेर गम्भीरतापूर्वक विचार गर्न बाध्य पार्नु पर्दैन र?
८. (क) ‘हाम्रो जिब्रोको बोलीले’ परमेश्वरसँगको हाम्रो सम्बन्धलाई कसरी असर गर्दछ? (ख) जिब्रोको प्रयोग सम्बन्धी कमजोरीहरूलाई कसरी जित्न सकिन्छ? (मत्ती १५:१८; लूका ६:४५)
८ हामीले गर्ने सबै कुरा परमेश्वरलाई थाहा हुने हुनाले, हाम्रो शरीरको अङ्गहरूमध्ये सानो से सानो जिब्रोलाई पनि हामी कसरी चलाउँछौ भनेर उहाँ जान्नुहुन्छ। त्यो जान्नु भएकोमा हामी अचम्मित हुनु पर्ने कुनै कारण छैन। राजा दाऊदले यो कुरा बुझे र उनले लेखे: “किनकि मेरो जिब्रोमा कुनै कुरा आउन अघिनै, हे परमप्रभु तपाईंले त्यो जान्नुहुन्छ।” (भजनसंग्रह १३९:४) अरूहरूको निन्दा गरेर एउटा घनिष्ठ सम्बन्धलाई कलङ्कित पार्न नचाहने र बेमतलबका कुराकानीहरू नगर्ने मानिसहरूलाई यहोवाको बासस्थानमा पाहुनाको हैसियतमा स्वागत गरिनेछ भनेर दाऊदलाई राम्ररी थाहा थियो। यहोवाको अनुग्रह प्राप्त व्यक्तिहरू हृदयमा पनि सत्य कुरा गर्नेहरू हुनेछन्। (भजनसंग्रह १५:१-३; हितोपदेश ६:१६-१९) हामी कसैले पनि आफ्नो जिब्रोलाई पूर्ण नियन्त्रणमा राख्न सक्दैनौं। तर आफ्नो अवस्थालाई सुधार्न केही गर्न सकिंदैन भनेर दाऊद कमजोर भएर त्यस्तो निष्कर्षमा पुगेनन्। उनले आफ्नो धेरैजसो समय यहोवाको प्रशंसा भजनहरू लेख्न र गाउन बिताए। परमेश्वरको मदतको आवश्यकतालाई उनले खुलमखुल्ला मानि लिए र मदतका लागि प्रार्थना पनि गरे। (भजनसंग्रह १९:१२-१४) के हाम्रो जिब्रोको प्रयोगलाई पनि प्रार्थनापूर्वक ध्यान पुऱ्याउन खाँचो परेको छ?
९. (क) परमेश्वरले हाम्रो परिस्थितिलाई विस्तृतरूपमा जान्नुहुन्छ भन्ने सम्बन्धमा भजनसंग्रह १३९:५-मा दिइएको विवरणले के संकेत गर्दछ? (ख) यसले हामीलाई कुन कुराप्रति ढुक्क बनाउँछ?
९ यहोवाले हामीलाई र हाम्रो परिस्थितिलाई केवल एउटा सीमित दृष्टिकोणबाट मात्र हेर्नुहुन्न। सबैतिरबाट उहाँले हाम्रो पूर्ण दृष्टि राख्नुहुन्छ। घेराउमा परेको शहरलाई उदाहरण स्वरूप लिंदै दाऊदले लेखे: “तपाईंले मलाई अगि र पछि घेर्नुभएको छ।” दाऊदको सन्दर्भमा यहोवा घेरा लगाउने शत्रु हुनुहुन्नथ्यो बरु एक जना सतर्क रखवाला हुनुहुन्थ्यो। दाऊदले अझै लेखे: “आफ्नो बाहुली ममाथि राख्नुभएको छ।” यसप्रकार उहाँलाई प्रेम गर्नेहरूको अनन्तकालीन फाइदाकालागि परमेश्वरको नियन्त्रण र सुरक्षालाई संकेत गर्दै दाऊदले मानि लिए: “यस्तो ज्ञान मेरो निम्ति साह्रै आश्चर्यपूर्ण छ। ती उच्च छ, म त्यहाँसम्म पुग्नैसक्तिनँ।” (भजनसंग्रह १३९:५, ६) परमेश्वरसँग आफ्ना सेवकहरूको यति पूर्ण र विस्तृत ज्ञान छ कि हामी राम्ररी बुझ्नै सक्दैनौं। तर यहोवाले हामीलाई साँच्चै नै चिन्नुहुन्छ र उहाँको मदत सर्वोत्तम हुनेछ भनी ढुक्क हुन सक्छौं भनेर हामी राम्रैसँग जान्दछौं।—यशैया ४८:१७, १८.
हामी जहाँसुकै हौं, परमेश्वरले हामीलाई मदत गर्न सक्नुहुन्छ
१०. भजनसंग्रह १३९:७-१२ मा दिइएको ज्वलन्त विवरणले कुन प्रोत्साहक सत्यलाई प्रस्तुत गरेको छ?
१० यहोवाको मायालु चासोलाई अर्को दृष्टिकोणबाट हेर्दै भजनरचयिताले अझै लेख्छन्: “तपाईंको आत्माको दृष्टिबाट म कहाँ जाऊँ? अथवा तपाईंको सामनेबाट म कहाँ भागूँ?” यहोवाको सामुबाट भागेर जाने तिनको कुनै इच्छा थिएन; बरु जहाँसुकै भए तापनि यहोवाले थाहा पाउनुहुन्छ र पवित्र आत्माद्वारा मदत गर्नसक्नुहुन्छ भनेर तिनलाई थाहा थियो। तिनले अझै लेखे: “स्वर्गमा उक्लें भने, तपाईं त्यहाँ हुनुहुन्छ, पातालमा आफ्नो ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ। बिहानको पखेटामा उडेर समुद्रको पल्लो किनारामा बसें भने पनि, त्यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्याउनेछ, र तपाईंको दाहिने बाहुलीले मलाई समात्नेछ। यदि म भनूँ, ‘निश्चय अँध्यारोले मलाई छोप्नसक्छ, र मेरा चारैतिरको उज्यालो रातीको अँध्यारोजस्तो होस्।’ तापनि अँध्यारोले तपाईंबाट लुकाउनेछैन, तर रात पनि दिनझैं चम्कन्छ। तपाईंका निम्ति ता रात र दिन एकनासका छन्।” (भजनसंग्रह १३९:७-१२) यहोवाबाट लुकेको वा उहाँको मदतकारी आत्मा पुग्न नसक्ने त्यस्तो कुनै ठाउँ या हामीले सामना गर्नुपर्ने परिस्थिति छैन।
११, १२. (क) योनाले एकछिनको लागि बिर्से तापनि यहोवाले देख्न र मदत गर्न सक्नुहुन्छ भन्ने कुरा योनाको सन्दर्भमा कसरी प्रदर्शन भयो? (ख) योनाको अनुभवबाट हामी कसरी लाभ उठाउन सक्छौं?
११ एक पटक अगमवक्ता योनाले यस कुरालाई बिर्से। यहोवाले तिनलाई निनवेको मानिसहरूलाई प्रचार गर्न अह्राउनुभएको थियो। कुनै कारणवश योनाले सो जिम्मेवारी पूरा गर्न असमर्थ महसुस गरे। सायद अश्शूरीहरूको कुख्यातको कारण निनवेमा गएर प्रचार गर्ने कुराले गर्दा योना डराए होलान्। अतः तिनी लुक्न खोजे। योपाको बन्दरगाहमा तिनले तर्शीश (सामान्यतया स्पेनसित सम्बन्धित अर्थात् निनवेबाट झन्डै ३,५०० किलोमिटर पश्चिमतिर) जाने एउटा जहाजमा ठाउँ भेट्टाए। यद्यपि, योना जहाजमा चढेको र जहाजको तल्लो तल्लामा सुत्न गएको यहोवाले देख्नुभयो। पछि योना जहाजबाट फ्याकिंदा तिनी कहाँ थिए भनेर पनि परमेश्वरलाई थाहा थियो। योनाले ठूलो माछाको पेटबाट आफ्नो वाचा पूरा गर्छु भनी गरेको प्रतिज्ञा यहोवाले सुन्नुभएको थियो। योनालाई जोगाएर सुखा भूमीमा ल्याइसकेपछि तिनलाई पुनः आफ्नो जिम्मेवारी पूरा गर्ने मौका दिइयो।—योना १:३, १७; २:१–३:४.
१२ आफ्नो जिम्मेवारीलाई पूरा गर्न सुरुदेखि नै परमेश्वरको आत्मामा भर गरेको भए योनालाई कस्तो राम्रो हुनेथियो! यद्यपि, पछि योनाले नम्रपूर्वक आफ्नो अनुभव लेखे। त्यस अनुभवले आज धेरै जनालाई परमेश्वरप्रति भरोसा राख्न मदत गरेको छ तर योनालाई त्यो भरोसा राख्न गाह्रो परेको थियो।—रोमी १५:४.
१३. (क) रानी ईजबेलबाट भाग्नुअघि एलियाले कुन जिम्मेवारीलाई विश्वासीपूर्वक पूरा गरेका थिए? (ख) इस्राएल बाहिर लुक्न खोज्दा पनि यहोवाले एलियालाई कसरी मदत पुऱ्याउनु भयो?
१३ एलियाको अनुभव अलि भिन्दै प्रकारको थियो। पापको दण्डस्वरूप इस्राएलले खडेरी भोग्नेछ भनेर यहोवाले दिनुभएको आज्ञालाई विश्वासीपूर्वक तिनले घोषणा गरेका थिए। (१ राजा १६:३०-३३; १७:१) कर्मेल डाँडामा यहोवा र बालबीच भएको द्वन्दमा तिनले साहसीपूर्वक साँचो उपासनाको समर्थन गरे। त्यसपछि तुरुन्त बालका ४५० जना पूजाहारीहरूलाई कीशोन खोल्चामा लगेर मारे। तर ईजबेलले क्रोधित भएर एलियालाई मार्ने सङ्कल्प गर्दा एलिया देश छाडेर भागे। (१ राजा १८:१८-४०; १९:१-४) त्यस्तो संकष्टमय समयमा मदत गर्न के यहोवा साथमा हुनुहुन्थ्यो? अवश्य हुनुहुन्थ्यो। स्वर्गतिर गएझैं गरी अग्लो पहाड चढे पनि; पातालमा झैं पृथ्वीमुनि गहिरो गुफामा लुके पनि; बिहानको किरणको वेगसित कुनै टाढाको टापूमा भागे पनि—एलियालाई बल प्रदान गर्न र डोऱ्याउन यहोवाको बाहुली साथमा हुनेथियो। (रोमी ८:३८, ३९ तुलना गर्नुहोस्) अनि तिनको यात्राभरि भोजनद्वारा मात्र होइन तर उहाँको सक्रिय शक्तिको अद्भुत प्रदर्शनहरू गरेर यहोवाले निश्चय नै एलियालाई बल प्रदान गर्नुभयो। यसरी बल प्राप्त गरेपछि एलिया आफ्नो अर्को भविष्यसूचक जिम्मेवारी पूरा गर्न अघि बढे।—१ राजा १९:५-१८.
१४. (क) परमेश्वर सर्वव्यापी हुनुहुन्छ भन्ने निष्कर्षमा पुग्नु किन गलत हुनेछ? (ख) आधुनिक समयमा आफ्ना सेवकहरूलाई यहोवाले कसरी प्रेमपूर्वक थामिरहनुभएको छ? (ग) हामी पातालमै [शिओल न्यु व०] भए तापनि परमेश्वर त्यहाँ कसरी पुग्नु हुनेछ?
१४ भजनसंग्रह १३९:७-१२ का भविष्यसूचक शब्दहरूले परमेश्वर सर्वव्यापी, अथवा जुनसुकै समयमा पनि व्यक्तिगत तवरमा सबैतिर हुनुहुन्छ भन्न खोजेको होइन। शास्त्रले स्पष्टसित अर्कै अर्थ बुझाउँछ। (व्यवस्था २६:१५; हिब्रू ९:२४) यद्यपि, उहाँका सेवकहरूले सदैव उहाँलाई भेट्टाउन सक्छन्। टाढा टाढा ठाउँहरूमा ईश्वरतान्त्रिक जिम्मेवारीहरू निभाउन गएकाहरूको लागि यो सत्य साबित भएको छ। दोस्रो विश्व युद्ध ताका नाजी यातना शिविरहरूमा निष्ठावान साक्षीहरूको सन्दर्भमा यो सत्य साबित भयो। सन् १९५८ देखि १९६५-तिर चीनमा नजरबन्द राखिएका मिसनरीहरूको सन्दर्भमा पनि यो सत्य साबित भयो। मध्य अफ्रिकी देशका हाम्रा प्रिय भाइ बहिनीहरूमा यो सत्य साबित भयो जसले बारम्बार आफ्नो गाउँ र देश समेत छाडेर भाग्नु परेको थियो। आवश्यक परेमा पाताल [शिओल न्यु व०] अर्थात् चिहानमा पनि यहोवा पुग्न सक्नुहुन्छ र विश्वासी जनहरूलाई पुनरूत्थान गरेर पुनः जीवित पार्न सक्नुहुन्छ।—अय्यूब १४:१३-१५; लूका २०:३७, ३८.
हामीलाई साँच्चै नै बुझ्नु हुने
१५. (क) हामी बनिंदै गएको कति अघिदेखि देखि यहोवाले देख्न सक्नुहुन्छ? (ख) भजनरचयिताले मृगौलाहरू भनी गरेको संकेतबाट परमेश्वरसँग हाम्रो ज्ञान कति विस्तृत छ भनेर बुझिन्छ?
१५ हामी जन्मनु अगावै परमेश्वरलाई हाम्रो विषयमा ज्ञान छ भन्ने तथ्यप्रति भजनरचयिताले ईश्वरप्रेरित भएर ध्यान आकर्षण गरे। तिनले भने: “किनकि तपाईंले नै मेरो अन्तस्करण [मृगौला न्यु व०] बनाउनुभयो। तपाईंले मलाई मेरी आमाको गर्भैमा रच्नुभयो। म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्चर्यका छन्। र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ।” (भजनसंग्रह १३९:१३, १४) सम्भोगको समयमा हाम्रो बुबा र आमाका वंशाणुहरू मिल्दा हाम्रो शारीरिक र मानसिक क्षमतालाई गहिरो प्रभाव पार्ने संरचना बन्दछ। परमेश्वरले त्यो क्षमतालाई बुझ्नुहुन्छ। यस भजनमा मृगौलामाथि विशेष ध्यान दिइएको छ। यसलाई शास्त्रमा प्रायः व्यक्तित्वको भित्री गुणहरू बुझाउन प्रयोग गरिएको छ।a (भजनसंग्रह ७:९; यर्मिया १७:१०) हामी जन्मिनुभन्दा पहिले नै यहोवालाई यी विवरणहरू थाहा छ। आमाको गर्भभित्र निषेचित कोषले भ्रूणलाई ‘बचाउन’ र बढ्दै जाँदा त्यसलाई सुरक्षा प्रदान गर्न सुरक्षित आश्रय बनाउन सकोस् भनेर उहाँले मायालु चासोका साथ मानव शरीरको संरचना गरिदिनुभएको छ। त्यसले नै कोष विकसित हुँदै जाँदा सुरक्षा प्रदान गर्दछ।
१६. (क) परमेश्वरको दृष्टिको गहराईसम्म छेड्न सक्ने शक्तिलाई भजनसंग्रह १३९:१५, १६-ले कसरी प्रकाश पार्दछ? (ख) यो हाम्रो लागि किन प्रोत्साहनदायी हुनुपर्ने हो?
१६ त्यसपछि, परमेश्वरको दृष्टिको गहराईसम्म छेड्न सक्ने शक्तिलाई जोड दिंदै भजनरचयिताले अझ भन्छन्: “जब म गुप्तमा बनिएको थिएँ र पृथ्वीको सबैभन्दा तल्लो भागमा [माटोबाट गरिएको आदमको सृष्टिलाई अप्रत्यक्ष सङ्केत गर्दै आफ्नो आमाको गर्भलाई कवितामय ढङ्गमा गरिएको उल्लेख] अनौठो रीतिले आकारमा पनि बनिंदैथिएँ, तब मेरा हड्डीहरू तपाईंबाट लुकेका थिएनन्। मेरो रचना नभई तपाईंका आँखाले मलाई देखेका थिए, म अपूर्ण रूपमै भएको तपाईंका आँखाले देखेका थिए, र मेरा सबै अङ्ग [शरीरका भागहरू] जो दिन दिन बनिंदै आएका थिए, ती [शरीरको विशेष अङ्ग] नबनिंदै तपाईंका पुस्तकमा ती लेखिएका थिए।” (भजनसंग्रह १३९:१५, १६) यसमा कुनै शङ्का छैन—सङ्गी मानवहरूले बुझे वा नबुझे पनि यहोवाले हामीलाई बुझ्नुहुन्छ। त्यसले हामीमाथि कस्तो असर पार्नु पर्ने हो?
१७. परमेश्वरका कार्यहरूलाई आश्चर्यको रूपमा हेर्दा यसले हामीलाई के गर्न उत्प्रेरित गर्दछ?
१७ आफूले लेखिरहेका परमेश्वरका कार्यहरू आश्चर्यपूर्ण छन् भनेर भजनसंग्रह १३९-का लेखकले मानि लिए। के तपाईंलाई पनि त्यस्तै लाग्छ? आश्चर्यपूर्ण कुराहरूले एक जना व्यक्तिलाई त्यसबारे गम्भीरतापूर्वक सोच्न वा गहिरो चासो दिन लगाउँछ। यहोवाको भौतिक सृष्टिका कार्यहरूप्रति तपाईंले त्यस्तै प्रतिक्रिया देखाउनु हुन्छ होला। (भजनसंग्रह ८:३, ४, ९ तुलना गर्नुहोस्।) मसीही राज्य स्थापना गर्न उहाँले के गरिरहनुभएको छ, सारा संसारभरि सुसमाचार प्रचार गर्न के गर्दै हुनुहुन्छ र उहाँको वचनले कस्तो ढङ्गमा मानव व्यक्तित्व परिवर्तन गर्दछ भनेर के तपाईं पनि त्यस्तै ध्यान दिनुहुन्छ?—१ पत्रुस १:१०-१२ तुलना गर्नुहोस्।
१८. यदि हामीलाई परमेश्वरका कार्यहरू भयानक लाग्दछ भने यसले हामीलाई कसरी प्रभाव पार्दछ?
१८ परमेश्वरको कामलाई विचार गर्दा त्यसले डर अर्थात् तपाईंलाई प्रभावशाली ढङ्गमा प्रेरणा दिने, तपाईंको व्यक्तित्व र जीवन पद्धतिमाथि गहिरो प्रभाव पार्ने स्वस्थकर डर उत्पन्न गराउँछ भनेर के तपाईंले अनुभव गर्नुभएको छ? (भजनसंग्रह ६६:५ तुलना गर्नुहोस्) यदि छ भने, तपाईंको हृदय यहोवाको गुनगान गर्न, उहाँको प्रशंसा गर्न, उहाँको उद्देश्य र उहाँलाई प्रेम गर्नेहरूका लागि उहाँले गर्न लाग्नु भएका अद्भुत कार्यहरूबारे अरूलाई भन्ने मौका खोज्न उत्प्रेरित हुनेछ।—भजनसंग्रह १४५:१-३. (w93 10/1)
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी अफ न्यु योर्क, इन्कर्पोरेटेडद्वारा प्रकाशित इन्साइट अन द स्क्रीपचर्स-को खण्ड २, पृष्ठ १५० हेर्नुहोस्।
तपाईंको टिप्पणी के हो?
▫ “यहोवा नै परमेश्वर हुनुहुन्छ” भनेर थाहा पाउनाले उहाँलाई खुशीसाथ सेवा गर्न कसरी मदत गर्दछ?
▫ हाम्रो सबै काम परमेश्वरले थाहा पाउनु हुन्छ भन्ने कुराले हाम्रो जीवनमा कस्तो प्रभाव पार्नु पर्ने हो?
▫ हामी परमेश्वरको नजरबाट कहिल्यै टाढा हुँदैनौं भन्ने तथ्य किन प्रोत्साहक छ?
▫ मानिसहरूले बुझ्नै नसके तापनि परमेश्वरले हामीलाई किन बुझ्न सक्नुहुन्छ?
▫ यस प्रकारका अध्ययनहरूले हामीलाई परमेश्वरको गुनगान गर्न किन उत्प्रेरित गर्दछ?