“हे परमेश्वर, मलाई जाँच्नुहोस्”
“हे परमेश्वर मलाई जाँच्नुहोस्, र मेरो हृदय बुझ्नुहोस् . . . मलाई अनन्तको चालमा डोर्याउनुहोस्।”—भजनसंग्रह १३९:२३, २४.
१. यहोवाले आफ्नो सेवकहरूसित कस्तो व्यवहार गर्नुहुन्छ?
हामी सबैजना हाम्रो कुरा बुझिदिने, हाम्रो परिस्थितिको वास्ता राख्ने, हामीले गल्ती गर्दा मदत गर्ने र हामीले गर्न सक्नेभन्दा बढी माग नगर्ने व्यक्तिसित व्यवहार गर्न मन पराउँछौं। यहोवा परमेश्वरले आफ्ना दासहरूसित त्यस्तै व्यवहार गर्नुहुन्छ। भजनसंग्रह १०३:१४-ले यसप्रकार भन्दछ: “उहाँले हाम्रो बनोट जान्नुहुन्छ। मानिसहरू माटोनै हुन् भनी उहाँ सम्झनुहुन्छ।” हरेक कुरामा आफ्नो पिताको प्रतिनिधित्व गर्नुहुने, येशू ख्रीष्टले पनि यस्तो न्यानो निमन्त्रणा दिनुहुन्छ: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, [अथवा “मेरो जुवा मुनि बस,” पादटिप्पणी] र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हल्का छ।”—मत्ती ११:२८-३०.
२. (क) येशू ख्रीष्टको र (ख) ख्रीष्टका अनुयायीहरूका सम्बन्धमा यहोवाको दृष्टिकोणलाई मानिसहरूको दृष्टिकोणसँग तुलना गर्नुहोस्।
२ यहोवाले आफ्ना सेवकहरूबारे राख्नुहुने दृष्टिकोण मानिसहरूको भन्दा प्रायः एकदमै भिन्न छ। कुनै पनि मामिलालाई उहाँ अर्कै दृष्टिकोणबाट हेर्नुहुन्छ र अरूहरूले थाहै नपाएका कुराहरू पनि याद गर्नुहुन्छ। येशू ख्रीष्ट यस पृथ्वीमा हुनुहुँदा, “मानिसहरूबाट घृणित हुनुभयो।” उहाँ मसीह हुनुहुन्छ भनेर विश्वास नगर्नेहरूले उहाँलाई “कुनै मोलको” ठानेनन्। (यशैया ५३:३; लूका २३:१८-२१) यद्यपि, परमेश्वरको नजरमा उहाँ “[परमेश्वरको] प्यारा पुत्र” हुनुहुन्थ्यो जसलाई पिताले भन्नुभयो: “तिमीसित म प्रसन्न छु।” (लूका ३:२२; १ पत्रुस २:४) येशू ख्रीष्टका चेलाहरू मध्ये केही व्यक्तिहरू भौतिक तवरमा दरिद्र र धेरै कष्टहरू भोगेका हुनाले मानिसहरू तिनीहरूलाई तुच्छ ठान्छन्। यद्यपि, यहोवा र उहाँको पुत्रको नजरमा त्यस्ता व्यक्तिहरू धनी हुन सक्छन्। (रोमी ८:३५-३९; प्रकाश २:९) यस्तो बेग्लाबेग्लै दृष्टिकोण किन?
३. (क) मानिसहरूबारे यहोवाको दृष्टिकोण मानिसहरूको भन्दा प्रायजसो किन भिन्न हुन्छ? (ख) हामी भित्र कस्ता व्यक्तिहरू हौं भनेर जाँचेर हेर्नु किन अत्यावश्यक छ?
३ यर्मिया ११:२०-ले उत्तर दिन्छ: “परमप्रभु . . . हृदय र मनको जाँच गर्नुहुन्छ।” उहाँले हाम्रो भित्री रूप र अरूहरूको नजरमा लुकेको हाम्रो व्यक्तित्वलाई पनि देख्न सक्नुहुन्छ। उहाँले जाँच्नुहुँदा, उहाँसित राम्रो सम्बन्ध राख्न आवश्यक पर्ने गुणहरू र अवस्थालाई प्राथमिकता दिनुहुन्छ। त्यस्ता गुणहरू हाम्रोलागि अनन्तसम्म फाइदाजनक हुन्छन्। त्यो थाहा पाउनु हाम्रोलागि सान्त्वनादायी अनि विचारणीय पनि छ। यहोवाले हाम्रो भित्री रूपमा ध्यान दिनुहुन्छ। त्यसकारण उहाँले नयाँ संसारमा चाहनु हुने खालका मानिसहरू हामी हौं भनी प्रमाणित गर्नाको लागि हामी भित्री रूपमा कस्ता छौं भनेर जाँच गर्नु महत्त्वपूर्ण छ। त्यस प्रकारको जाँच गर्न हामीलाई उहाँको वचनले मदत गर्दछ।—हिब्रू ४:१२, १३.
परमेश्वरका विचारहरू कति मूल्यवान छन्!
४. (क) परमेश्वरका विचारहरू आफ्नोलागि मूल्यवान छन् भनेर घोषणा गर्न भजनरचयितालाई कुन कुराले उत्प्रेरित गऱ्यो? (ख) हाम्रोलागि पनि ती किन मूल्यवान हुनुपर्छ?
४ परमेश्वरसित आफ्ना सेवकहरूबारे भएको ज्ञानको गहराई र चौडाई साथै तिनीहरूलाई आवश्यक परेको हरेक मदत दिनसक्ने परमेश्वरको अद्भुत क्षमतामाथि मनन गरिसकेपछि, भजनरचयिता दाऊदले यसप्रकार लेखे: “मेरा निम्ति तपाईंका विचारहरू कति अमूल्य छन्।” (भजनसंग्रह १३९:१७क) उहाँको लिखित वचनमा प्रकटित ती विचारहरू मानिसका सबै चतुर विचारहरू भन्दा धेरै नै महान छन्। (यशैया ५५:८, ९) परमेश्वरका विचारहरूले हामीलाई जीवनमा वास्तविक महत्त्वका कुराहरूमाथि ध्यान केन्द्रित गर्न र उहाँको सेवामा जोशिलो हुन मदत गर्दछ। (फिलिप्पी १:९-११) त्यसले हामीलाई हरेक कामकुरामा परमेश्वरको दृष्टिकोण राख्न सिकाउँछ। त्यसले आफूसित इमान्दार हुन, हामी हृदयभित्र वास्तवमा कस्ता व्यक्तिहरू हौं, सो मानि लिन मदत दिन्छ। के तपाईं त्यसो गर्न इच्छुक हुनुहुन्छ?
५. (क) ‘कुनै मूल्यवान वस्तु’ भन्दा कुन कुरालाई जोगाउन परमेश्वरको वचनले आग्रह गर्दछ? (ख) कयिनबारे बाइबलमा दिइएको विवरणले हामीलाई कसरी फाइदा पुऱ्याउन सक्छ? (ग) हामी मोशाको व्यवस्थाको अधीनमा नभए तापनि यहोवालाई कुन कुराले खुशी तुल्याउँछ भनेर बुझ्न त्यसले हामीलाई कसरी मदत गर्छ?
५ मानिसहरू बाह्य रूपलाई बढी महत्त्व दिन्छन् तर शास्त्रले हामीलाई यसप्रकार सल्लाह दिन्छ: “कुनै मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्।” (हितोपदेश ४:२३) सिद्धान्त र उदाहरण दुवैद्वारा बाइबलले हामीलाई त्यसो गर्न मदत दिन्छ। त्यसले हामीलाई कयिनको बारेमा भन्दछ। कयिनले परमेश्वरलाई देखावटी भेटी त चढायो तर उनको हृदयमा भने आफ्नो भाइ हाबिलप्रति आक्रोश र घृणा उम्लिरहेको थियो। र बाइबलले हामीलाई उनी जस्तो नहुन आग्रह गर्दछ। (उत्पत्ति ४:३-५; १ यूहन्ना ३:११, १२) यसले आज्ञाकारिता सम्बन्धी मोशाको व्यवस्थालाई रेकर्ड गर्दछ। तर यसले व्यवस्थाको सबैभन्दा प्रमुख आवश्यकतालाई पनि जोड दिन्छ। त्यो थियो, यहोवाका उपासकहरूले आफ्नो सारा हृदय, मन, प्राण र शक्तिले उहाँलाई प्रेम गर्ने; र त्यसपछि अर्को महत्त्वपूर्ण आज्ञा, आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्ने।—व्यवस्था ५:३२, ३३; मर्कूस १२:२८-३१.
६. हितोपदेश ३:१ प्रयोग गर्दा हामीले आफूलाई कस्ता प्रश्नहरू सोध्नु पर्छ?
६ हितोपदेश ३:१-मा केवल परमेश्वरको आज्ञाहरू पालन गर्न मात्र होइन तर आज्ञाकारिता वास्तवमा हाम्रो हृदयबाट आएको अभिव्यक्ति हो कि होइन भनी पक्का गर्न आग्रह गरिएको छ। व्यक्तिगत तवरमा हामीले आफूलाई सोध्नु खाँचो छ, ‘परमेश्वरको आवश्यकताप्रति मेरो आज्ञाकारिताबारे के त्यसो भन्न सकिन्छ?’ हामी त्रुटिरहित छौं भनेर कसैले पनि भन्न सक्दैन। कुनै क्षेत्रमा हाम्रो प्रवृत्ति अथवा सोचाइ दोषपूर्ण छ भने हामीले यो प्रश्न गर्नुपर्छ, ‘यस परिस्थितिलाई सुधार्न म के गर्दैछु?’—हितोपदेश २०:९; १ यूहन्ना १:८.
७. (क) मत्ती १५:३-९ मा येशूले फरिसीहरूलाई धिक्कार्नु भएकोबाट हाम्रो हृदयलाई सुरक्षित राख्ने मदत कसरी प्राप्त गर्न सक्छौं? (ख) हाम्रो मन र हृदयलाई वशमा ल्याउन कस्ता परिस्थितिहरूमा सशक्त कदमहरू उठाउन खाँचो हुन सक्छ?
७ यहूदी फरिसीहरूले स्वार्थी मनोवृत्तिले उस्काइएका प्रचलनहरूलाई धूर्ततापूर्वक बढावा दिन्थे भने अर्कोतिर परमेश्वरलाई आदर गर्छौं भनेर दाबी पनि गर्थे। यस्ता व्यक्तिहरूलाई येशूले कपटीहरू भनी निन्दा गर्नुभयो र तिनीहरूको उपासना व्यर्थ छ भनेर देखाउनुभयो। (मत्ती १५:३-९) कामुक विलासिताका लागि अनैतिक सोचाइहरूमा तल्लीन हुने तर अर्को तर्फ देखावटी नैतिक जीवन बिताउने गरेर हृदय हेर्नुहुने परमेश्वरलाई खुशी तुल्याउन असम्भव छ भनी येशूले चेतावनी दिनुभयो। हाम्रो मन र हृदयलाई वशमा ल्याउन हामीले सशक्त कदमहरू चाल्नु पर्न सक्छ। (हितोपदेश २३:१२; मत्ती ५:२७-२९) हाम्रो सांसारिक काम, शैक्षिक लक्ष्यहरू, मनोरञ्जनको छनौटको कारण हामी यस संसारको नक्कल गर्ने व्यक्ति भइरहेका छौं र आफूलाई संसारको स्तर अनुरूप ढाल्न दिइरहेका छौं भने हामीलाई त्यस्तो प्रकारको अनुशासन आवश्यक हुन सक्छ। परमेश्वरको पक्षमा छौं भनी दाबी गर्ने तर संसारको मित्र हुन चाहनेहरूलाई चेला याकूबले “व्यभिचारीहरू” भनी सम्बोधन गरेको कुरालाई हामी कहिल्यै नबिर्सौं। किन? किनभने “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।”—याकूब ४:४; १ यूहन्ना २:१५-१७; ५:१९.
८. परमेश्वरका मूल्यवान विचारहरूबाट पूर्णतया लाभ उठाउन हामीले के गर्नु खाँचो छ?
८ यी र अरू विषयहरूमा पनि परमेश्वरका विचारहरूबाट पूर्णतया लाभ उठाउन हामीले ती कुराहरू पढ्न र सुन्न समय छुट्ट्याउनुपर्छ। अझ बढी हामीले त्यसको अध्ययन गर्नुपर्छ, तीबारे अरूहरूसित कुरा गर्नुपर्छ र त्यसलाई मनन गर्नुपर्छ। प्रहरीधरहरा-का धेरै पाठकहरू बाइबलबारे छलफल हुने यहोवाका साक्षीहरूको मण्डलीका सभाहरूमा नियमित तवरमा उपस्थित हुन्छन्। त्यसो गर्न तिनीहरूले जीवनका अरु कामधन्दाहरूबाट समय निकाल्छन्। (एफिसी ५:१५-१७) अनि तिनीहरूले त्यसो गरे बापत पाउने लाभ भौतिक सम्पत्तिभन्दा निकै नै बहुमूल्य छन्। के तपाईंलाई पनि त्यसो लाग्दैन र?
९. मसीही सभाहरूमा उपस्थित हुने कसै कसैले अरूलेभन्दा तीव्र प्रगति किन गर्दछन्?
९ तथापि, यी सभाहरूमा उपस्थित हुने कसै कसैले अरूहरूलेभन्दा तीव्र आध्यात्मिक प्रगति गर्दछन्। तिनीहरूले सत्य कुराहरूलाई आफ्नो जीवनमा पूर्णतया पालन गर्दछन्। यसो हुनुको कारण के हो? प्रायजसो, यसको एउटा मुख्य कारण त तिनीहरूले व्यक्तिगत अध्ययन कार्यमा देखाएको लगनशीलता हो। हामी केवल भोजनले मात्र बाँच्दैनौं भन्ने कुरालाई तिनीहरू मूल्याङ्कन गर्छन्; दिनहुँ आध्यात्मिक आहार लिनु शारीरिक खाना नियमित तवरमा खानु जत्तिकै महत्त्वपूर्ण छ। (मत्ती ४:४; हिब्रू ५:१४) त्यसकारण तिनीहरू प्रत्येक दिन केही समय बाइबल पढ्न अथवा बाइबलका कुराहरूलाई बुझाउने प्रकाशनहरू पढ्न समय बिताउँछन्। तिनीहरूले पहिले नै पाठहरू अध्ययन गरेर, शास्त्रपदहरू पल्टाएर मण्डलीका सभाहरूको लागि तयारी गर्छन्। तिनीहरूले विषयवस्तुलाई सरसरती पढ्ने मात्र होइन तर त्यसको मनन पनि गर्छन्। आफूले पढेका कुराहरूले आफ्नो जीवनमा कस्तो प्रभाव पार्नु पर्ने हो त्यसबारे गम्भीरतापूर्वक सोच्नु तिनीहरूको अध्ययनमा समावेश हुन्छ। जसै तिनीहरू आध्यात्मिकतामा बढ्दै जान्छन्, तिनीहरू भजनरचयिताले जस्तै अनुभव गर्छन्, जसले लेखे: “आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! . . . तपाईंका साक्षी वचनहरू अचम्मका छन्।”—भजनसंग्रह १:१-३; ११९:९७, १२९.
१०. (क) परमेश्वरको वचन अध्ययन गरिरहनु कहिलेसम्म फाइदाजनक हुन्छ? (ख) शास्त्रपदले यसलाई कसरी देखाउँछ?
१० परमेश्वरका विचारहरू हाम्रोलागि मूल्यवान छन् भने हामीले चाहे एक वर्ष, ५ वर्ष अथवा ५० वर्षसम्म परमेश्वरको वचन अध्ययन गरिसकेको भए तापनि त्यो कहिल्यै पनि एकोहोरो जस्तो लाग्दैन। हामीमध्ये कसैले शास्त्रबाट जतिसुकै कुराहरू सिकेको किन नहोस् हामीलाई थाहा नभएको अझै धेरै कुराहरू छन्। दाऊदले लेखे: “हे परमेश्वर . . . तिनीहरूको संख्याको सार कत्ति ठूलो छ। तिनीहरूलाई गने भने, ती बालुवाका संख्याभन्दा बढी छन्।” परमेश्वरका विचारहरू हाम्रो गन्ने क्षमताभन्दा बाहिर छ। यदि हामीले परमेश्वरका विचारहरू दिनभरि गन्दा गन्दै निदायौं भने पनि बिहान उठ्दा अझै सोच्नु पर्ने कुराहरू धेरै हुनेछन्। तसर्थ, दाऊदले लेखे: “म जाग्दा म तपाईंसँगै हुन्छु।” (भजनसंग्रह १३९:१७, १८) अनन्तसम्मै यहोवा र उहाँका मार्गहरूबारे हामीले सिक्नु पर्ने थुप्रै कुराहरू हुनेछन्। हामी सर्वज्ञ अवस्थामा कहिल्यै पुग्नेछैनौं।—रोमी ११:३३.
यहोवाले घृणा गर्नुहुने चीजलाई घृणा गर्ने
११. परमेश्वरका विचारहरू थाहा पाउनु मात्रै होइन तर उहाँका भावनाहरू बुझ्नु किन महत्त्वपूर्ण छ?
११ हामीले केवल टाउकोभरि तथ्यहरू जम्मा गर्ने मनसायले मात्र परमेश्वरको वचन अध्ययन गरेका होइनौं। हाम्रो हृदयलाई परमेश्वरका विचारहरूले छेड्न दिंदा हामी पनि परमेश्वरका भावनाहरू बुझ्न थाल्छौं। त्यसो गर्नु कति महत्त्वपूर्ण छ! हामीले त्यस्ता भावनाहरू विकास हुन दिएनौं भने परिणाम के हुन सक्छ? बाइबलमा भनेका कुराहरू हामीलाई मुखस्त भए तापनि प्रतिबन्धित कुराहरू मन लोभ्याउने हुन सक्छन् अथवा हामीबाट माग गरिएका कुराहरू बोझ लाग्न सक्छ। हो, हामीले गलत कुरालाई घृणा गरे तापनि मानव असिद्धताको कारण संघर्ष गर्नु पर्ने हुन सक्छ। (रोमी ७:१५) तर हाम्रो भित्री स्वरूपलाई ठीक कुरासित समन्वयमा ल्याउन अथक प्रयास गर्दैनौं भने के हामीले “मन जाँच गर्ने” यहोवालाई खुशी तुल्याउने आशा गर्न सक्छौं र?—हितोपदेश १७:३.
१२. ईश्वरीय प्रेम र ईश्वरीय घृणा कत्तिको महत्त्वपूर्ण छन्?
१२ ईश्वरीय घृणा गलत कामदेखि जोगिने शक्तिशाली सुरक्षा हो भने ठीक काम गर्नु आनन्ददायी बनाउने, ईश्वरीय प्रेम हो। (१ यूहन्ना ५:३) बारम्बार हामीलाई शास्त्रले प्रेम र घृणा दुवैको खेती गर्न आग्रह गर्दछ। “हे परमप्रभु [लाई न्यु व०] प्रेम गर्ने हो, खराबीलाई घृणा गर।” (भजनसंग्रह ९७:१०) “जुन कुरो खराब छ, त्यसलाई घृणा गर, जुन कुरो असल छ, त्यसमा लागिरहो।” (रोमी १२:९) के हामीले त्यसो गरिरहेका छौं?
१३. (क) दुष्टहरूको नाश होस् भनेर दाऊदले गरेको कुन प्रार्थनाको हामी पूर्ण समर्थन गर्छौं? (ख) दाऊदको प्रार्थनाअनुसार परमेश्वरले नाश गरोस् भनेर प्रार्थना गरेका दुष्टहरू को थिए?
१३ दुष्टहरूलाई पृथ्वीबाट जरैसमेत उखेलिदिने र धार्मिकताले बास गर्ने नयाँ पृथ्वी स्थापना गर्ने आफ्नो उद्देश्यलाई यहोवाले स्पष्टसित भन्नुभएको छ। (भजनसंग्रह ३७:१०, ११; २ पत्रुस ३:१३) धार्मिकतालाई प्रेम गर्नेहरू उत्सुकतापूर्वक त्यो समयको बाटो हेर्छन्। तिनीहरू भजनरचयिता दाऊदले भनेको कुरालाई पूर्ण समर्थन गर्दछन्। तिनले प्रार्थना गरे: “हे परमेश्वर, निश्चय तपाईंले दुष्टहरूलाई मार्नुहुनेछ, यसकारण हे हत्यारा हो, मबाट पर हट। किनभने तिनीहरूले तपाईंको विरूद्धमा खराबी बोल्दछन्, र तपाईंका शत्रुहरूले व्यर्थमा तपाईंको नाउँ लिन्छन्।” (भजनसंग्रह १३९:१९, २०) दाऊद आफै त्यस्ता व्यक्तिहरूको हत्या गर्न चाहँदैनथे। बदला यहोवाकै हातबाट आओस् भनेर तिनले प्रार्थना गरे। (व्यवस्था ३२:३५; हिब्रू १०:३०) यिनीहरूले दाऊदलाई व्यक्तिगत तवरमा मात्र चित्त दुखाएका थिएनन्। तर तिनीहरूले परमेश्वरको गलत अर्थ लगाएका र उहाँको नाउँ व्यर्थमा लिएका थिए। (प्रस्थान २०:७) बेइमानीपूर्वक तिनीहरूले उहाँको सेवा गर्ने दाबी त गर्थे तर आफ्नै षडयन्त्रहरूलाई सफल पार्न उहाँको नाउँको प्रयोग गरिरहेका थिए। परमेश्वरका शत्रुहरू हुन रोज्ने व्यक्तिहरूप्रति दाऊदको कुनै प्रेम थिएन।
१४. के मदत दिन सकिने दुष्ट व्यक्तिहरू छन्? छन् भने, कसरी?
१४ यहोवालाई नचिन्ने करोडौं व्यक्तिहरू छन्। तीमध्ये धेरै जनाले अज्ञानताको कारण परमेश्वरको वचनले बताएका दुष्ट कामकुराहरू गरिरहेका छन्। यदि तिनीहरू यस्तै कुरामा लागिरहेमा तिनीहरू महा संकष्टमा नाश हुनेहरू मध्ये हुनेछन्। यद्यपि, दुष्टहरू नाश भएकोमा यहोवालाई आनन्द लाग्दैन न हामीलाई नै लाग्नु पर्छ। (इजकिएल ३३:११) समय छउञ्जेल हामी त्यस्ता व्यक्तिहरूलाई यहोवाका मार्गहरू सिक्न र प्रयोगमा ल्याउन मदत दिने प्रयास गर्नेछौं। तर केही व्यक्तिहरूले यहोवाप्रति अचाक्ली घृणा देखाए भने नि?
१५. (क) कस्ताहरूलाई भजनरचयिताले “साँच्चै नै शत्रु”-को रूपमा हेरे? (ख) परमेश्वरको विद्रोह गर्नेहरूलाई हामी “घृणा” गर्छौं भनेर आज हामी कसरी देखाउन सक्छौं?
१५ तिनीहरूबारे, भजनरचयिताले भने: “हे परमप्रभु, तपाईंलाई घृणा गर्नेलाई के म घृणा नगरूँ? र तपाईंका विरूद्धमा उठ्नेहरूलाई के म तुच्छ न ठानूँ? म तिनीहरूलाई औधी घृणा गर्छु, म तिनीहरूलाई मेरो शत्रुनै ठान्छु।” (भजनसंग्रह १३९:२१, २२) तिनीहरूले यहोवालाई अति नै घृणा गरेको हुनाले दाऊदले पनि तिनीहरूलाई घृणाको दृष्टिले हेरे। यहोवाको विरूद्धमा खडा भएर उहाँलाई घृणा गर्नेहरूमा धर्मत्यागीहरू पनि समावेश छन्। धर्मत्याग, वास्तवमा यहोवाको विद्रोह हो। केही धर्मत्यागीहरूले परमेश्वरलाई चिनेको र उहाँको सेवा गरेको दाबी गर्दछन् तर उहाँको वचनमा दिइएका शिक्षाहरू र आवश्यकताहरूलाई भने इन्कार गर्छन्। अरूहरू चाहिं बाइबलमा विश्वास गर्ने दाबी त गर्दछन् तर यहोवाको सङ्गठनलाई इन्कार गर्छन् र त्यसको काममा बाधा पुऱ्याउन खोज्छन्। सही कुरा थाहा पाउँदा पाउँदै पनि स्वेच्छापूर्वक कसैले खराब कुरा छान्छ र अविच्छिन्न भाग हुने गरी खराबी तिनीहरूमा गडेको छ भने खराबीसित अविच्छिन्न सम्बन्ध राख्ने यस्ता व्यक्तिहरूलाई मसीहीहरूले घृणा (बाइबलमा आधारित अर्थ अनुरूप) गर्नुपर्छ। यस्ता धर्मत्यागीहरूप्रति साँचो मसीहीहरूले यहोवाको जस्तै भावनाहरू राख्नुपर्छ। ती साँचो मसीहीहरू धर्मत्यागी विचारहरूबारे उत्सुक हुँदैनन्। बरु, आफूलाई परमेश्वरका शत्रु बनाउनेहरूप्रति तिनीहरू “घृणाको भाव” राख्दछन् तर बदला लिने काम यहोवामाथि छाडि दिन्छन्।—अय्यूब १३:१६; रोमी १२:१९; २ यूहन्ना ९, १०.
जब यहोवाले हामीलाई जाँच्नुहुन्छ
१६. (क) यहोवाले आफूलाई जाँचोस् भनेर दाऊदले किन चाह गरे? (ख) हामीले आफ्नै हृदयबारे पनि कुन कुरा थाहा लगाउन परमेश्वरसित मदत माग्नु पर्छ?
१६ दाऊद कुनै पनि ढङ्गमा दुष्ट जस्तो हुन चाहँदैन थिए। कैयन् मानिसहरू आफ्नो वास्तविक रूपलाई लुकाउन चाहन्छन् तर दाऊदले नम्रपूर्वक प्रार्थना गरे: “हे परमेश्वर, मलाई जाँच्नुहोस्, र मेरो हृदय बुझ्नुहोस्, मलाई खार्नुहोस्, र मेरा विचारहरू जान्नुहोस्। र हेर्नुहोस्, ममा दुराचरण केही रहेछ कि रहेनछ, र मलाई अनन्तको चालमा डोर्याउनुहोस्।” (भजनसंग्रह १३९:२३, २४) हृदयलाई सम्बोधन गर्दा दाऊदले शारीरिक अङ्गलाई संकेत गरिरहेका थिएनन्। तिनले त्यस अभिव्यक्तिको लाक्षणिक अर्थ अर्थात् आफ्नो भित्री रूप वा भित्री मनुष्यत्वलाई संकेत गरिरहेका थिए। त्यस्तैगरि हामीले पनि परमेश्वरले हाम्रो हृदय जाँचोस् र हाम्रो हृदयमा अनुचित इच्छा, स्नेह, भावना, उद्देश्य, विचार अथवा प्रवृत्तिहरू छन् कि छैनन् भनी थाहा लगाओस् भन्ने चाह गर्नुपर्छ। (भजनसंग्रह २६:२) यहोवाले हामीलाई यसप्रकार निमन्त्रणा दिनुहुन्छ: “हे मेरो छोरो, मेरो कुरा ध्यानसित सुन्, र मेरो उपदेश मन दिएर ग्रहण गर्।”—हितोपदेश २३:२६.
१७. (क) हामीलाई खलबलाउने विचारहरूलाई लुकाउनुको सट्टा हामीले के गर्नुपर्छ? (ख) हाम्रो हृदयमा नराम्रा विचारहरू हुँदैमा के हामी आश्चर्यचकित हुनुपर्छ र त्यसबारे हामीले के गर्नुपर्छ?
१७ गलत इच्छाहरू, मनोवृत्तिहरू अथवा हामीले गरेको कुनै गलत आचरणले गर्दा हामीभित्र पीडा र खलबलाउने विचारहरू लुकेका छन् भने त्यस्तो अवस्थालाई सुधार्न अवश्य हामी यहोवाको मदत चाहन्छौं। “कुनै प्रकारको पीडापूर्ण मार्ग” भन्नुको सट्टा मोफट्को अनुवादले “एउटा गलत मार्ग” भन्ने अभिव्यक्ति चलाएको छ; द न्यु इङ्गलिश बाइबल-ले भन्छ: “तपाईंलाई [यानी कि परमेश्वरलाई] दुःखी तुल्याउने कुनै पनि मार्ग।” हामीलाई खलबलाउने विचारहरूलाई आफैले राम्रोसित नबुझेका हुनाकारण आफ्नो समस्या परमेश्वरलाई व्यक्त गर्न नजानेको होलौं तर उहाँले हाम्रो परिस्थितिलाई बुझ्नुहुन्छ। (रोमी ८:२६, २७) हाम्रो हृदयमा नराम्रा झुकावहरू हुँदैमा हामी आश्चर्यचकित हुनु आवश्यक छैन; तथापि त्यसलाई हामीले बहाना बनाउनु हुँदैन। (उत्पत्ति ८:२१) त्यसलाई पूर्णतया निराकरण गर्न हामीले परमेश्वरको मदत माग्नु पर्छ। यदि हामी साँच्चै नै यहोवा र उहाँको मार्गलाई प्रेम गर्दछौं भने “परमेश्वर हाम्रो हृदयभन्दा महान हुनुहुन्छ र सबै कुरा जान्नुहुन्छ” भन्ने आश्वासनकासाथ मदतको निम्ति उहाँलाई पुकार्न सक्छौं।—१ यूहन्ना ३:१९-२१.
१८. (क) अनन्तको मार्गमा यहोवाले हामीलाई कसरी डोऱ्याउनु हुन्छ? (ख) हामीले यहोवाको निर्देशनहरूलाई पालन गरी नै रह्यौं भने हामीले कस्तो न्यानो प्रशंसाको आशा गर्न सक्छौं?
१८ यहोवाले अनन्तको मार्गमा डोऱ्याओस् भनी भजनरचयिताले गरेको प्रार्थना अनुरूप निश्चय नै यहोवाले आफ्ना नम्र र आज्ञाकारी सेवकहरूलाई डोऱ्याउनु हुन्छ। कुकर्मको कारण हुने असामयिक मृत्युबाट मुक्त लामो जीवनको मार्गमा मात्र होइन तर अनन्त जीवनकै मार्गमा उहाँले डोऱ्याउनुहुन्छ। पाप प्रायश्चितका लागि येशूको बलिदानको आवश्यकताको प्रभाव हामीमाथि पर्न दिनु हुन्छ। उहाँको इच्छा गर्न सक्षम हुनको लागि उहाँको वचन र सङ्गठनद्वारा महत्त्वपूर्ण सल्लाहहरू प्रबन्ध गरिदिनुहुन्छ। उहाँको मदतलाई स्वीकार गर्ने महत्त्वमाथि उहाँ जोड दिनुहुन्छ ताकि हामी बाहिर जस्तो छौं भनेर दाबी गर्छौं, त्यस्तै भित्र पनि होऔं। (भजनसंग्रह ८६:११) उहाँले हामीलाई धार्मिक नयाँ संसारमा अनन्त जीवन पाएर सिद्ध स्वास्थ्यका साथ एकमात्र साँचो परमेश्वरको सेवा गर्ने आशा दिंदै प्रोत्साहन दिनुहुन्छ। हामीले उहाँको निर्देशनहरूलाई निष्ठापूर्वक पालन गरि नै रह्यौं भने उहाँले आफ्नो पुत्रलाई भन्नुभएजस्तै हामीलाई पनि भन्नुहुनेछ: “म तिमीसित प्रसन्न छु।”—लूका ३:२२; यूहन्ना ६:२७; याकूब १:१२. (w93 10/1)
तपाईंको टिप्पणी के हो?
▫ आफ्ना सेवकहरूबारे यहोवाको दृष्टिकोण मानिसहरूको भन्दा प्रायः किन भिन्न छ?
▫ परमेश्वरले हाम्रो हृदयलाई जाँच्नु हुँदा उहाँले के हेर्नुहुन्छ भनेर थाहा लगाउन कुन कुराले मदत दिन सक्छ?
▫ तथ्यहरू थाहा पाउन र हाम्रो हृदयलाई सुरक्षित राख्न कस्तो प्रकारको अध्ययनले मदत गर्दछ?
▫ परमेश्वरले के भन्नुहुन्छ त्यो थाहा पाउनु मात्र होइन तर उहाँका भावनाहरू बुझ्नु किन महत्त्वपूर्ण छ?
▫ हामीले व्यक्तिगत तवरमा “हे परमेश्वर मलाई जाँच्नुहोस्, र मेरो हृदय बुझ्नुहोस्” भनी किन प्रार्थना गर्नुपर्छ?
[पृष्ठ १४-मा भएको चित्र]
अध्ययन गर्दा परमेश्वरका विचारहरू र भावनाहरूलाई आफ्नो बनाउने प्रयास गर्नुहोस्
[पृष्ठ १५-मा भएको चित्र]
यहोवाका विचारहरू “बालुवाका संख्याभन्दा बढी छन्”